हामी आज मान्छेको ‘पागलपन’ व्यवहारहरूसँग कस्तो व्यवहार गर्छौं ? मलाई लाग्छ,यस प्रश्नको जवाफ दिन त्यति धेरै असहज छैन । पागलपन एक प्रकारको मानसिक रोग हो भन्ने हामी सबैमा बुझाइ रहेको पाइन्छ । कुनै मानिसमा पालगपनको लक्षण देखिएमा उसलाई मानसिक अस्पतालमा जचाउँन सुझाब सल्लाह दिन्छौँ । हामी उसलाई तुरुन्त मानसिक अस्पतालमा भर्ना पनि गर्छौ । अस्पतालमा चिकित्सकले विस्तृत परीक्षण गरेपछि लक्षणका आधारमा उपचार विधि तय गर्छन् र उसको ‘रोग’लाई आधुनिक चिकित्सा पद्धतिको सहायताले नियन्त्रणमा लिने प्रयास गरिन्छ ।

नुवाकोमा तारमा झुन्डिएको प्रसङ्गलाई जोडेर हेर्ने हो भने ककनी गाउँपालिका-७ स्थित बिजुलीको प्रसारण लाइनमा बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय “माइला बिक” दिनभर  झुन्डिएर बसे । उनी बिहानै पोलमा झुन्डिएपछि स्थानीय प्रशासनले बिजुली बन्द गर्न अनुरोध गरेका थिए । जसको कारण प्राधिकरणको झण्डै एक करोड बराबरको क्षति भएको छ। प्रहरी स्रोतका अनुसार बिकको मानसिक सन्तुलन अवस्था गुमेको छ । जसकारण पनि उनको उद्धारमा निकै कठिनाइ भएको थियो । माइला झुन्डिएको करिब करिब ९ घन्टापछि नेपाली सेनाले हेलिकप्टर मार्फत उनको उद्धार गरेको थियो । उद्धारपश्चात् उनलाई पाटन मानसिक अस्पतालमा लगिएको छ ।

माइला बिक तीनखाले समस्याबाट पीडित देखिन्छन् । पहिलोमा माहिलालाई उनका परिवारले बेवास्ता गरेको देखिन्छ, दोस्रो उनी राज्यद्वारा जबर्जस्त पछाडि पारिएको समुदायको मान्छे हुन् । तेस्रो उनी मानसिक रूपमा निकै पीडित व्यक्ति हुन् । यस्तो मानसिक रूपमा विक्षिप्त मान्छेलाई सहयोग,सहानुभूति,प्रेम,सदभाव र उपचारको खाँचो थियो । उनलाई मेरो पनि कोही छ भन्ने विश्वास भरोसा र अपनत्व देखाउन पाएको भए यस्तो अवस्था सिर्जना नै हुँदैनथ्यो । तर सोसियल मिडियाले त यिनको समस्या र पीर व्यथालाई बेचेर ट्रेनिङमा आउने अनेक नचादिदो शीर्षक राखेर न्युजको खेती गरे । पीडित र गरिब व्यक्तिमाथि यस किसिमको व्यवहार गर्नु हाम्रो सामाजिक चेतको सिमा हो । माइलालाई सम्मान गरौँ ।उनलाई प्रेम दिऊँ । उनको उपचार गरौँ ।

नेत्र बुढा

बिकको हर्कत देखेर उनलाई सोसियल मिडियामा विभिन्न प्रतिक्रियाहरु पनि आएका छन् । हेरौँ है त, एक जना अज्ञात मित्र ट्विट गर्दै लेख्नुहुन्छ, ‘हेलिकोप्टर चढ्न बिजुलीको तारमा चढ्नु पर्ने रैछ, आफू भने टिकट काट्न पैसा जम्मा गरिरहे ।’

अर्को  मित्र लेख्नु हुन्छ, ‘हेलिकप्टर चड्न मन लाग्यो ? जुम हिँड्नुहोस् बिनालगानीमा बिजुलीको तारमा झुण्डिन।’

अर्को मित्रको भनाइ छ, ‘हिजो राती २:३६ मा जमिन हल्लाउँदै गयो, त्यसपछि आकाश हल्लाउनेको पालो पनि आयो ।’

एक जना साथी आक्रोश पोख्दै लेख्छन्, ‘हेलिकप्टरबाट भए पनि तल झारी फाँसीको सजाय सुनाऊँ, यदि नभए लडेर मर्छ । किन हेलिकप्टर बोलाउनु, पुलिस बोलाउन, मासु भात दिनु पर्दैन, बत्तीको लाइन छोडे हुन्छ, आफैं तल झर्छ नुवाकोटे, ओलीजस्तै अटेरी रैछ ।’

अर्को अर्यालजी लेख्नुहुन्छ, ‘ओलीजस्तै अटेरी रैछ जा**।’

एक जना खड्का मिस लेख्नुहुन्छ, गाउँ खाने कथा !

तारमा हिँड्छ बिजुली होइन, नुवाकोट हल्लायो भुकम्प होइन ।

मासु भात दिँदा नि झर्दैन एमाले ,काङ्ग्रेस, माओवादी कार्यकर्ता पनि होइन, के होला ?

एक जना बहिनी लेख्छिन्, ‘नयाँ आइडिया अब घरमा रिसाएकी विद्युतको तारमा गैहाल्ने हो । अनि के गर्दा रहिछ्न्, हेर्छु म पनि ।’

बिकले गरेको यो अनौठो हर्कत सायद विश्वमै पहिलो घटना होला । यिनको व्यवहारलाई हेरेर यस्तो गर्नुको पछाडिको कारण र यिनी कसरी कसैले विचार गरेनन् । सामाजिक अभियन्ता, पत्रकार,युवा साथीहरुले यिनलाई दिनभर उडाउने काम गरिरहे । यिनलाई गाली गर्दा यिनको मजाकको धज्जी उडाउँदै गर्दा मानवता भन्ने चिज पनि हुन्छ भन्ने सम्म भुले । थुप्रैले गोली ठोक्दे सरकार, लाइन छोडे आफैं उछिट्टिएर झर्छ सम्म भन्न भ्याए । यस्तै सामाजिक संरचना र समाजले मानिसलाई कसरी पागलपन घोषणा गर्छ र विश्वमा पागलपनको सुरुआत कसरी भएको थियो भनेर अलिकति चर्चा गरौँ । पागलपनबारे हाम्रो समाजमा जस्तो दृष्टिकोण छ, के सधैँ यस्तै थियो होला त ? यदि थिएन भने पागलहरूसँग हामीले गर्ने व्यवहारको स्वरूप विगतमा कस्तो थियो होला ? पागलपनको रोगका रूपमा विभिन्न परिभाषा र यसको उपचार पद्धतिको विकास कसरी भयो  ?

यस्ता प्रश्नले गर्दा फ्रेन्च चिन्तक मिशेल फुको(फुको बिसौं शताब्दिका महान् इतिहासकार र दार्शनिक मानिन्छन् ) ले  युरोपमा पागलपनको इतिहास बुझ्न त्यस बेलाका लिखित सामग्रीको अध्ययनमा प्रेरित गरे । यसका आधारमा सोह्रौं शताब्दीयता इतिहासका विभिन्न कालखण्डमा पाश्चात्य समाजमा पागललाई हेर्ने दृष्टिकोण र उनीहरुलाई गर्ने व्यवहारको वर्णन फुकाले आफ्नो पुस्तक म्याडनेश एन्ड सिभिलाइजेशनमा प्रस्तुत गरेका छन् । अनुसार मध्ययुग (Middle Ages)मा समग्र युरोपलाई कुष्ठरोगले गाँजेको थियो । त्यस बेला कुष्ठरोगको उपचार पद्धतिमा विकास भएको थिएन । मानिसलाई कुष्ठरोग किन र कसरी लाग्छ भन्ने ज्ञान पनि थिएन त्यसको कारण पनि कसैले खोज्ने प्रयास गरिएन । कुष्ठरोगीहरू ईश्वरको श्राप पाएका मानिस भन्ने आम व्यक्तिहरूमा धारणा थियो । त्यसैले उनीहरूलाई समाजबाट (Isolated) अलग गरेर राख्ने प्रचलन थियो ।

कुष्ठरोगीहरूलाई राख्न विशेष घर जसलाई  लाजार हाउस (Lazar Houses) भनिन्थ्यो त्यो बनाएर राख्ने गरिन्थ्यो । तेह्रौँ शताब्दीको अन्त्यमा फ्रान्समा मात्र लगभग दुई हजारभन्दा बढी यस्ता संरचना बनेका थिए । इङ्ल्यान्ड र स्कटल्यान्डमा पाँच लाख जनसङ्ख्याका लागि २२० घर बनाइएका थिए । हरेक लाजार हाउसमा हजारौँ कुष्ठरोगीलाई थुनेर राखिएको थियो । मध्ययुगको अन्त्यमा एकाएक कुष्ठरोगीहरूको सङ्ख्यामा कमी आउन थाल्यो । कुष्ठरोगीलाई अलग्गै राख्न बनाइएका हजारौं यस्ता संरचना खाली हुन थाले । तीमध्ये केही संरचना अस्पताललाई पनि हस्तान्तरण गरियो । केहीलाई भने स्थानीय संस्थाको जिम्मा लगाइयो । त्यसपछि पनि अझै सयौँ रित्ता घर यत्रतत्र उपयोग विहीन थिए । तिनीहरूको उपयोग कसरी गर्ने र सञ्चालन खर्च कसरी जुटाउने भन्नेमा प्रशस्त समस्या थियो ।   कुष्ठरोगको समस्या घट्न थालेको लगभग तीन शताब्दीपछि तिनै घरहरूको उपयोगका लागि केही समाजका अगुवा ,बौद्धिक व्यक्तित्वहरू,राजनीतिक व्यक्तित्त्व,विज्ञहरु र पोलिसी मेकरहरु मिलेर नयाँ योजना बनाउन थाले । चौधौँ शताब्दीमा पुनर्जागरणको सुरुआतसँगै गरिब, अपराधी,डुलुवा र अनियन्त्रित मगज (जसलाई हामी बहुला भन्छौ ) भएकाहरू (Deranged Minds)लाई यस्ता घरमा थुन्ने क्रम व्यापक रूपमा सुरू भयो । जर्मनी,फ्रान्स र इङ्ल्यान्डका लाजार हाउसहरू सडकका मगन्ते, बगलीमार, बरालिएर हिँड्ने मानिस र पागलहरूले खचाखच भरिन थाले ।

मध्ययुगमा पागलपनका लागि अलग शब्द (जस्तै- Madness) थिएन । असामान्य बोलाइ र व्यवहारलाई फोली (Folly) भनिन्थ्यो । फोलीलाई त्यो बेला खासै समस्याका रूपमा हेरिँदैनथ्यो । यसलाई ज्ञानभन्दा माथिको अवस्था मानिन्थ्यो । असामान्य कुरा बोल्न र व्यवहार गर्नेहरू(जसलाई Madmen,Fools , Simpleton भनिन्थ्यो) लाई सत्य बोल्ने मानिसका रूपमा हेरिन्थ्यो र सम्मान गरिन्थ्यो । पन्ध्रौँ शताब्दीको सुरूआतसँगै फोली एकाएक समस्यामा रूपान्तरित हुन थाल्यो । नाङ्गै हिँड्ने बर्बराउने मानिसलाई सहरबाट लखेट्न थालियो । कतिलाई  पानी जहाजमा  राखी एक ठाउँबाट अर्को ठाउँमा लगेर छाड्ने चलन सुरू भयो । यस्ता पानीजहाजलाई शिप अफ फूल्स (Ship of Fools) भनिन्थ्यो । यसरी मध्ययुगमा समस्याका रूपमा नहेरिएको फोली पुनर्जागरणको सुरूआतसँगै समस्यामा रूपान्तरित भयो । फोली मानिसलाई नकारात्मक रूपमा गिज्याउने होच्याउने र हेप्ने गर्ने क्रम सुरु भयो । ‘ रिजन ‘(Reason) लाई उच्च महत्त्व दिएको पुनर्जागरणले फोलीलाई अनरिजन (Unreason) का रूपमा व्याख्या गर्यो । त्यसैले जब कुष्ठरोगीलाई राखिएका घरहरू खाली भए, पागलहरूलाई त्यहाँ राख्न उपयुक्त ठानियो । सत्रौँ शताब्दीमा युरोपभर गरिब, घुमन्ते र पागललाई थुन्ने क्रम व्यापक भयो । फ्रान्समा यस्ता घरहरूलाई होपिटाल जेनेराल (Hopital Général) भनिन्थ्यो यस्ता घरहरूलाई सुधार गृह (Correction Houses)का रूपमा विकास गरियो । यस्ता घरमा त्यस्ता मानिसलाई थुनिन्थ्यो,जो कि आर्थिक रूपमा उत्पादनमूलक काममा संलग्न भएका थिएनन् ।

त्यसैले उनीहरूलाई बन्दीगृहमा थुन्नु आर्थिक रूपमा उत्पादनशील कामलाई समाजले दिएको महत्त्व मात्र थिएन, उनीहरूलाई उत्पादनशील कार्यमा लगाउनु पनि थियो । यस्ता बन्दीगृहहरू स्वयंमा आर्थिक केन्द्र बन्न थाले । सत्रौं शताब्दीमा पागलपनलाई समाजले गर्ने व्यवहारमा दुई महत्त्वपूर्ण परिवर्तन आए । पहिलो , यसलाई अन्य प्रकारका मूर्ख काम (Unreason)बाट अलग गरियो । विगतमा पागलहरूलाई असामान्य काम गर्ने वा समाजका स्थापित नीतिनियम मूल्यमान्यता उल्लङ्घन गर्ने अन्य मानिसलाई जस्तै व्यवहार गरिन्थ्यो । तर सत्रौँ शताब्दीमा यस दृष्टिकोणमा परिवर्तन आउन थाल्यो । पागलहरूले गर्ने व्यवहार जस्तै- बर्बराउने (Delirium) लाई जनावरको व्यवहारसँग तुलना गर्ने क्रम सुरू भयो । त्यसैले जनावरको जस्तो व्यवहारबाट मानिसको जस्तो व्यवहार गर्नमा रूपान्तरण गराउन उनीहरूमाथि सुधारगृहभित्र नियन्त्रणका प्रयास हुन थाले दोस्रो , पागलहरूको व्यवहारलाई नियन्त्रण गर्न कानुन बने र प्रहरीलाई निश्चित जिम्मेवारी दिइयो । सत्रौं शताब्दीमा आएर बल्ल जनताको पागलपन राज्यको औपचारिक दायित्वभित्र पर्न गयो । काम र उत्पादकत्वलाई दिइएको महत्त्वबाट सुरू भएको अनुत्पादक मानिसलाई नियन्त्रणमा राख्ने अभ्यास अठारौं शताब्दीमा अलग स्वरूपमा बिकसित हुँदै गयो ।

पागलपनको वस्तुगत अध्ययन र व्याख्याको विकास भयो । उदासी(Melancholy)हिस्टेरिया (Hysteria),रोगको त्रास(Hypochondria)आदि अवस्थाका लक्षणहरूका आधारमा पागलपनको सही कारण र निदानका उपाय पत्ता लगाउने क्रम सुरू भयो । मानिसको शरीरलाई चार पदार्थ कफ (Phlegm),पित्त (Choler),कालो पित्त (Black Bile)र रगत (Blood)को सन्तुलनका आधारमा व्याख्या गर्न थालियो । यसका आधारमा फरक मानसिक अवस्था कुन पदार्थ बढी वा घटीका कारण हुन्छ भन्ने विस्तृत विश्लेषण तयार पारियो । यही क्रममा मानसिक अवस्थालाई मानिसको जीवनशैली वा सोचाइका आधारमा विश्लेषण गर्ने क्रम सुरू भयो । पागलपनलाई नैतिकता वा सदाचारको अभावबाट सिर्जना हुने अवस्थाका रूपमा व्याख्या गर्न थालियो । पागलपन क्रमशः समाजको भयङ्कर ठूलो समस्याका रूपमा परिणत भयो । उन्नाइसौँ शताब्दीमा पागलपनको उपचार र नियन्त्रणका लागि विस्तृत ज्ञान तथा विधिहरू विकास गरियो । मनोविज्ञान (Psychology) ले नैतिकता र पागलपनलाई जोड्न मद्दत गर्यो । फ्रान्सका फिलिप पिनेल (Philippe Pinel) र इङ्ल्यान्डका स्यामुएल टुक (Samuel Tuke) तथा उनका दाजु विलियम टुक ( William Tuke) ले पागलहरूलाई धर्म र नैतिकताका माध्यमले उपचार गर्न निजी प्रयासमा रिट्रिट (Retreat) हरू स्थापना गरे । यस्ता रिट्रिट वा असाइलम (Asylum)मा ‘पागल’लाई आफ्नो पागलपनप्रति हीनताबोध गराएर ‘सामान्य’ बनाउने प्रयास गरिन्थ्यो ।

नैतिकता र अनुशासन मान्न नचाहने पागलहरूलाई नियन्त्रणमा लिइन्थ्यो र अलग राखेर सजाय दिइन्थ्यो । टुक र पिनेलका ‘रिट्रिट’हरूमा पागललाई अनुशासित गराउन विभिन्न गतिविधिमा संलग्न गराइन्थ्यो । यस्ता गतिविधिमा संलग्न हुँदा उनीहरूले प्रदर्शन गरेका व्यवहार र तिनमा आएको परिवर्तनबारे विस्तृत गरिन्थ्यो । त्यसका आधारमा उनीहरूलाई सामान्य बनाउने प्रभावकारी विधिबारे अध्ययन र अनुसन्धान गरिन्थ्यो । असाइलमभित्र पागलका गतिविधिका यस्तै वस्तुगत अध्ययन तथा विश्लेषणबाट मनोविश्लेषण र मनोविज्ञानका विधाहरूको विकास भयो । यहीक्रममा मनोचिकित्सकहरूले पागलमाथि विभिन्न रूपमा आफ्नो नियन्त्रण स्थापना गरे । पागलपन एक विशुद्ध रोग भयो । मनोचिकित्सा मानिसलाई ‘स्वस्थ्य’ बनाउने माध्यम बन्यो ।      फुकोको दर्शनले उठाएका र यस परिच्छेदको प्रारम्भमा उल्लेख गरिएका तीन प्रश्नमध्ये पहिलो प्रश्नलाई हेरौँ , जसमा फुको जान्न चाहन्थे आजका संस्थाहरू जुन उद्देश्यबाट निर्देशित छन् ,के तिनीहरूको स्थापना यसैका लागि भएको हो ? इतिहासको विस्तृत अध्ययनका आधारमा फुकोले देखाएका छन् पागलपनलाई हेर्ने दृष्टिकोण,आज भएका मानिसक अस्पतालहरू र तिनले प्रयोग गर्ने विधि तथा पद्धतिको सुरूवात आवश्यकता नभएर नितान्त संयोग थियो । त्यसैले तिनीहरूलाई निर्विकल्प सत्य मान्न आवश्यक छैन ।