महाआकाशको पर शून्यतामा प्रकट भयो पृथ्वी । अहिले पनि आकाशको त्यही शून्य विन्दुमा लट्किरहेको छ । शून्यमा खुल्यो अङ्कको जादू शून्यबाटै सुविचारित भई उठे –सय, हजार, लाख, करोड, अरब, खरब, निल, पद्मका झल्झलाकार ज्योतिहरु । अस्तित्वमा शून्य नभइदिएको भए अङ्कको अगणित खेल अवरुद्ध हुन्थ्यो । जगत्का सबै हिसाब किताब गोलमान बन्थे ।
मान्छेका खोज र प्राप्तिहरु एकदिन अवश्य शून्यमा विलीन होलान् । शून्यबाट उठेका पूर्णाङ्कहरु शून्यमा सकिन्छन् । यही शून्यको ज्योतिमा बुद्धले पूर्णता पाए । त्यसैले अस्तित्वमा शून्यको सघन घनत्व कायम छ । यसलाई कसैले नजर अन्दाज गर्न सक्दैन ।
आज यस विन्दुमा आएर सोच्छु – मान्छेको सबैभन्दा ठूलो सफलता – शून्यमा बाँच्ने क्षमता निर्माण गर्नु हो । कुरुप आकांक्षा अभीप्सा गिराएर आफूलाई शून्य बनाउनु, अहङ्कार गिराएर आफूलाई शून्यमा झार्नु, विचार वासना विलीन गराएर आफूलाई शून्य पार्नु, चाहना आशक्तिको अवसान गराई आफू शून्य बन्नु, यो भन्दा ठूलो उपलब्धी के होला र ? सायद कृष्णले पनि फलाकांक्षारहित कर्म गर भन्नुका पछाडि आफ्ना इच्छा, आकांक्षा, चाहना, उद्देश्यलाई शून्यमै झार, शून्यमै विलीन गर भनेको न हो ।
गणितमा पनि जतिसुकै ठूलो अंक वा संख्याले शून्यलाई गुणा गर्दा त्यसले प्रतिफल शून्य बनाइदिन्छ । अर्थात् गुणनफललाई शून्यमै झारिदिन्छ । यसको ठूलो अर्थ छ । आखिर जति नै ठूलो प्राप्ति र सफलता हासिल भए पनि शून्यमा विलीन हुने घडीमा त्यो शून्यसित गुणन हुन जान्छ र शून्यमै बिलाउने गर्छ । यो अर्थ अभिव्यञ्जना बुझेको मानिस लाभा लाभौ जया जयौबाट निस्पृह बसेर केवल अस्तित्वको खेल हेर्ने गर्छ ।
देवकोटा महोदयले किन शून्यमा शून्यसरी बिलाएँ भनेका होलान्, त्यसको निहितार्थ अलि अलि बुझ्न थालेको छु ।
त्यत्रो विराट् साहित्य लेखेर पनि त्यसमा उनले कुनै सार्थकताको रस भेटेनन् । अन्त्यको बखतको यस आर्तनादबाट जीवन छँदै शून्यको अनूभूति गर्न नसकेको औडाह भेटिन्छ । परम् शून्यतामा डुब्न नसकेको पश्चाताप पाइन्छ ।
आखिर हामी शून्यपथका पथगामी न रहेछौँ । कास ! एकदिन शून्यमा विलीन हुन्छौँ भन्ने सत्यलाई सजिलै भुलिदिन्छौँ । यसरी भुल्छौँ, जीवनको थोरै उसमा बाँकी रहुन्जेल पनि हामीलाई यसको याद रहन्न, त्यसको बोध जाग्दैन । तर जब जीवनको आखिरी ऊर्जा निख्रिएर जाने घडी हुन्छ, त्यो बखत अनुभूति हुन्छ – आखिरी जीवन शून्यबाट आई शून्यमै हराउने चिज रहेछ ।
शून्य गोलो छ । वर्तुल आकारमा घुमेको छ । शून्यको कुनै लम्बाइ चौडाइ हुँदैन । न यसको फेँद टुप्पो नै हुन्छ । न यो लम्बजस्तो ठडिन नै सक्छ । न क्षितिज रेखामा तन्किन नै सक्छ । यो बाटुलो घेरामा हिँड्छ । गोलाकार पथबाट यात्रा गर्छ । त्यसैले यसमा यात्रा गर्नेको लागि कुनै श्रेणी छैन, कुनै पदसोपान छैन । कोही पहिलो पनि हुन्न । कोही अन्तिम पनि हुन्न । यो पथगामीको लागि सबै प्रथम सबै अन्तिम ।
शून्य सन्नाटामा पनि एक आवाज छ रे । एक ध्वनि छ रे । ज्ञानीजनले त्यो आवाजलाई अन्तरमा पक्रिन सकेका छन् रे । झेन फकिरहरु आफ्ना शिष्यहरुलाई एक हातको तालीको आवाज सुन्न उत्प्रेरित गर्छन् भन्ने सुनेको छु । एक हातको ताली कसरी बजाउने होला । ताली बजाउन त दुई हातको जरुरत पर्छ । दुई हातको संयोगविना ताली नै बज्दैन । हामी निपट अज्ञानीले बुझ्ने सिधासिधा कुरा यही नै हो । सायद त्यही शून्यबाट निर्मित ध्वनिलाई ती फकिरहरुले एकहातको ताली भनेका होलान् । शून्यताको त्यो ध्वनि सायद ध्यानको अतल गहिराइबाट प्रस्फुटित हुँदो हो ।
मृत्युपछि शून्यमा विलीन हुने कुरा त छँदैछ । जो कोही होस् मरेपछि शून्यमा विलीन हुन्छ । पञ्च भौतिक तत्त्वले बनेको शरीर प्रकृतिका पाँच तत्त्वमै मिल्दछ । तर जीवित रहँदै सास फेर्दा फेर्दै शरीर शून्यताको स्थितिमा पुग्नु, विचार शुन्यताको अनूभुति गर्नु, भाव शून्यताको स्थितिमा रहनु एक अभिनव अनुभवको कुरा हो । आखिरमा ती सारा अनुभूतिहरुलाई पनि शून्यमा गिराएर त्यसको भोक्ता प्रयोक्ता मात्र होइन कि सिर्फ गवाही बन्नुको एक स्वाद रे ।
त्यही स्वादमा एकहातको तालीको अनुगुञ्जन घन्किन्छ रे । सायद मुक्ति चैतन्य त्यसकै नाम होला । यो परत्रमा घट्ने नभै यही लोकमा यसै शरीरमा घट्ने घटना हुनुपर्छ ।
हाम्रा पुर्खाहरुले कानमा एक पहेलो धातुको गहना झुण्डयाइदिएर “सुन” भने । त्यो शून्यलाई सुन भनेको हो । उनीहरुले आफैँभित्रको आवाज सुन भनेका’थे । तर भित्रको सुनलाई नसुनेर बाहिरको पहेलो निर्गन्ध धातुको पछाडि हामी बेतोड दौडियौँ । दौडिरहेछौँ । अहिले आएर त्यही सुनले भित्रको अनमोल शून्यतालाई फक्रिन दिएन । सुनले प्रतीकमा अर्थहरु बोलेको थियो । श्रवण इन्द्रियको खातिर कानमा त्यसलाई जोडिएको थियो । तर हाम्रो डेढ अक्कली बृद्धिले यसलाई आफैँ बाँधिने दाम्लो बनाइरहेको छ । त्यसैले फकिरीजनले शून्यका बाधाका रुपमा काञ्चन कामिनीलाई नै ठानेको होलान् ?
आकाशभन्दा विराट चिज ब्रह्माण्डमा अरु के होला ? तर त्यो विराट चिज आफैँमा शून्य छ । आफैँमा खोक्रो खाली छ । त्यहाँ केही पनि छैन भन्दा आश्चर्यको भाव उठ्ने गर्दछ । त्यो आकाशमा छाम्न छुन लायकको कुनै खँदिलो वस्तुको सत्ता छैन । हामीले खँदिला ठानेका ध्वनिहरु हाम्रा भौतिक अभौतिक कीर्ति सुकीर्तिहरु, ख्याति प्रख्यातिहरु, नाम सुनामहरु, प्राप्ति अप्राप्तिहरु सबै शून्यमा शून्य सरि विलीन हुँदा रहेछन् । सबै शून्यमा मिल्छन् । हामी शून्यमा विलीन बन्छौँ । त्यसैले यो देह छोडी जानु अगाडि नै आफू भित्रको शून्यतालाई समात्न सक्न पाए हुनेथियो, त्यो शून्यताको परम् अनुभूति थोरै भए पनि चाख्न पाए हुने थियो । त्यसैले रागलाई राख बनाऊँ भन्छु, आफूभित्रको कालो कोइला जिउँका तिउँ छ, पचिसकेको छैन । द्वेष दर्पलाई दफ्न्याउन खोज्छु, सफल हुन सकेको छैन । सपना शून्य बनाऊँ भन्छु, त्यसमा पनि असफल छु । एउटै चाह शून्यलाई सुनुँ, शुन्यलाई गुनुँ, शून्यलाई बाँचुँ, शून्यलाइ नाँचु भन्ने छ । तर त्यो सीमान्त विन्दुसम्म पुग्न सकेको छैन ।
अरुहरु लाख करोड, अरब खरबको खोज र प्राप्तिमा अन्फनाइरहेको बेला, त्यसकै सपना जपनामा अहोरात्र दौडधुप मच्चाइरहेको बेला म शून्य प्राप्तिको विषयमा यो कहाली लाग्दो निशान्त घडीमा चिन्तनरत छु । देख्नेको लागि यो उल्टो यात्रा हो । जोड्न थप्न जोर जुलुसले कुदिरहेको मान्छेको बिचमा म भने सबै सबै चिजलाई कसरी शून्यमा झार्ने त्यसकै ध्यान गरिहेछु ।
पछिल्लो समयमा आखिर मभित्र शून्यप्रति किन लगाव बढेर गयो ? शून्यप्रति किन यत्रो मोहको जागृति भो ? सोच्छु, गम्छु, एउटै उत्तर पाउँछु– शून्यबाट मिलेको जीवन शून्य मण्डलमै विलीन हुँदो छ । नजाने कति पूर्वजहरु शून्यबाट आए, शून्यमै बिलाए । म पनि अनन्त शून्यमा विलीन हुँदैछ भने त्यस शून्यतालाई सास फेर्दै, धुकधुकी चल्दै थोरै आस्वादन किन नगरुँ ? यही भाव गहिरो गहिरो बन्दैछ, यही संकल्पको धुन भित्रबाट उठ्तैछ ।
विगत बत्तीस वर्षदेखि म नानीहरु पढाउने मेलोमा छु । बिदाको दिन बाहेक अरुदिन बिहान उठेदेखि राति सुत्नु अघिसम्म पढाउने कर्ममा जुटिरहेको छु । कक्षाको कालोपाटी र सेतोपाटी अगाडि उभिएर अक्षरहरु लेख्नु भेट्नु लेख्नु मेट्नुको गोरखधन्दामा म आबद्ध छु । हरेक दिन बोर्डमा अक्षर लेख्यो, शब्द लेख्यो, वाक्य लेख्यो, अनुच्छेद र संकथनहरु जन्मायो । त्यस उपर केही घण्टा बड्बडायो । अनि डस्टर दल्यो । र कक्षाकोठाबाट बाहिर निस्क्यो । यही वर्तुल चक्रमा म घुमिरहेको छु । यसरी कालोपाटी र सेतोपाटीमा लेखेका चिजको आयु त्यति लामो हुन्न । तत्क्षण त्यसलाई डस्टर दलेर पुनः पुन लेख्छु, पुनःपुन मेट्छु । सिङ्गो दिन लेख्ने मेट्ने लेख्ने मेट्ने कार्यमा समर्पित छ । घण्टाभरि जे जे कुरा जति जति कुरा लेखे पनि आखिरमा सबैलाई शून्य बनाई कोठाबाट निस्किन्छु । अर्थात् पाटीलाई डस्टरले पुछेर कोरा शून्य बनाई हिँड्छु । अन्य साथीहरुलाई लेख्नलाई सहज अवस्था मिलोस् भन्ने मेरो ध्यान छ । उनीहरु पनि आफ्नो पालो अनुसार अनेकन अंक र अक्षरका बिस्कुन लगाउँछन् । त्यसको व्याख्या हाल्छन् र त्यसलाई मेटेर बाहिर निस्किन्छन् ।
प्रकृतिको छातीमा अक्षर, शब्द र सङ्कथनजस्ता मान्छे छन् । तिनउपर अस्तित्वले दिनदिनै डस्टर दल्छ । धर्तीको सेतापाटीबाट नामेट गर्छ । त्यो रिक्त स्थानमा फेरि नयाँ अक्षर जन्माउँछ । फेरि मेट्छ, फेरि जन्माउँछ । एक अध्यापकभन्दा कम गतिलो छैन यसको अदृश्य व्यवस्थापक । प्रकृतिको लय आखिर शून्यमै सिर्जित छ र शून्यमै हुन्छ विलीन ।
मान्छेको मस्तिष्कले पनि चौबिस घण्टा विचारको उत्पत्ति गर्ने र त्यसलाई विलीन गर्ने खेल रचिरहेको छ । पलपलमा नव नव विचारका शृङ्खलाहरु निस्किरहेका छन्, एकातिरबाट । फेरि अर्कातिरबाट त्यसको नामेट र विलयनको प्रक्रिया पनि साथसाथै चलिरहेको छ । मनोवैज्ञानिकहरु भन्छन्, एकमिनेटमा सरदर पच्चीसदेखि तीसओटा विचारहरु मस्तिष्कले जन्माइरहेको हुन्छ । चौबिस घण्टामा लगभग साठीहजार विचारहरु चल्छन् अरे । मस्तिष्क पनि एक अध्यापकजस्तो लगातार विचार जन्माउने र मेट्ने कार्यमा तल्लिन छ । मलाई लाग्छ सपनामा पनि यसलाई शान्ति छैन । विश्राम छैन । अचल भएर सुतेको छ तर अनेकन विचारका भावहरुले उसलाई घायल गरिरहेको हुन्छन् ।
सचेतन विचार मेट्ने काम असाध्यै जटिल छ । विचार भेटेर निर्विचार शून्यता ओर्लिनु बुद्ध पुरुषहरुले आफ्नो परम् लक्ष्य बताए । आफूलाई मेटेर शून्यता भेट्नुजस्तो महान् काम अरु केही छैन भने । साँचो सुख र साँचो आनन्द स्व मेटिएर शून्यता हुनुमा छ भन्ने निष्कर्ष दिए । तर यो गहन काम हुँदा हुँदै, महान् काम हुँदाहुँदै दुरुह र कठिन काम अवश्य नै हो भन्ने मेरो ठहर छ ।
विचारबाट विमुक्तिमा एक अभिनव शान्तिको उद्धार खुल्दछ रे । ज्ञानीजनले यही भने । भाव मेटेर निर्भाव चैतन्यमा स्थित एक प्रमाणिक पुरुषार्थ ठहर्दछ रे । आजको मान्छेलाई अन्तहीन विचारको बाढीले रुग्ण बनाउँदो छ । विचारको विपिन झोरमा भट्केर विक्षिप्तता बेसाउँदो छ । शान्तिको अवतरण छैन मनमा, आनन्दको संचरण छैन हृदयमा । मस्तिष्कमा छुट्ने हजारौँ हजार विचारको बगालमा कामकाजी विचार थोरै छन्, सार्थक र सारवान विचारहरु थोरै छन् । पत्रु विचारको चापमा मान्छे दिनदिन पङ्गु पुङमाङ बन्दो छ । महान् विचारक नित्से किन बौलायो होला ? त्यसको रहस्य भर्खर खुल्न थालेको छ । विचारमाथि विचार गरेर आखिर पुग्ने ठाउँ कहाली लाग्दो विक्षिप्तावस्थामा नै हो ।
चित्तको विक्षिप्त स्थितिबाट मुक्त नभै जीवनमा हाँस परिहाँस मिल्दैन । त्यो भनेको असंगत विचारका संजालहरुलाई शून्य पार्नु समथल पार्नु भन्दा कुनै अर्को उपाय छैन मान्छेसित । फेरि विचारको सिलसिला छक्क लाग्दो गरी छुट्छन् मनबाट । एसोसियनको अद्भूत कला जानको छ मस्तिष्कले, एउटा विचारको तन्द्रामा बगेपछि त्यसले अनेकन विचारका सन्दर्भहरु तान्दै जान्छ, एउटा घटनाको स्मरणमा अनेकन घटनाका क्षितिजहरु टाँगिदै जान्छन् उदाहरणको लागि एकदिन मैले मैले बाटो हिँड्दा एक लोभ लाग्दो कुकुरको छाउरो देखेँ, अनि मनले एसोसियन गर्न थाल्यो । बाल्यकालमा रुम्जाटारे गुरुङहरुले भेडाहरुसितै ल्याउने भोटेकुकुर र त्यसका छाउराहरुको सन्दर्भ सम्झे, पिताजीलाई टोक्ने भोटेकुकरको अनुहार सम्झेँ । फेरि मनले क्षणभरमै कुकुरको सन्दर्भ छाडेर भेडालाई सन्दर्भ ठोक्किन पुग्दछ । जुन भेडीले खोलामा छलाङ्ग मार्दा पाठो जन्माउने र सिंहको बथानमा त्यो हुर्किन्छ । त्यहाँबाट पनि विचार आफ्नै बेगमा बुर्कुसी मार्छ, जीससले भनेको भेडी गोठालोको कथा स्मृतिमा नाँच्छ । हजारौँ भेडाहरुको बथानमा सबै भेडा घर फर्किन्छन् तर एउटा भेडो हराउँछ । भेडी गोठालो अरु भेडाको सुर्ता चिन्ता गर्दैन । हराएको भेडाको बढी खातिरदारी गर्छ । अर्को सन्दर्भले अवरुद्ध नपारुन्जेल मस्तिष्कमा एउटै विचारको संजाल बुनिँदै जान्छ बुनिँदै जान्छ । हामी सचेतन नबन्दासम्म यो कार्य जारी रहन्छ ।
झन् साहित्यमा एक हातको ताली सुन्ने गर भन्छ क्यार । सिधा अर्थमा एक हातको ताली नै हुन्न । ताली बज्नको लागि त दुई हात नै अति जरुरी हुन्छ । तर यसको प्रतीकात्मक अर्थ छ । दुई हातको तालीबाट निस्किने आवाज विचारमाथि विचार टक्राएर निस्कने आवाज हो । दुईवटा वस्तुको टक्कर र संघर्षणबाट निस्कने ध्वनि आहत ध्वनि हो, विना संघर्षण, विना टकराव निस्कने ध्वनि अनाहत ध्वनि हो । एक हातको ताली निर्विचार सन्नाटामा फलित हुने एकान्तको आनन्द हो । यो विचारलाई नपुछी संभव हुन्न । यो विचारलाई शून्य नपारेसम्म अनुभूत हुन्न ।
दुर्इमा द्वन्द्व छ एकमा एकत्व छ । एकत्वको आवाज शून्यको आवाज हो । शून्यको यही मर्मर ध्वनिमा शान्तिको आवास छ । सायद झेन गुरुहरुले हातमा डण्डा लिई लिई टाउको ठोकेर शिष्यलाई त्यो अवस्थासम्म पुर्याउँदा हुन् ।
फेरि अर्को आयामबाट सोच्ता विचारले नै मानिसलाई महान् बनाउँछ । संगत विचारले मानिसलाई सज्जन बनाउँछ, असंगत विचारले मानिसलाई मनुष्यत्वबाट तल गिराउँछ । संगत असंगत दुवै विचारका धाराहरुलाई सडक किनारामा बसी अवलोकन गर्नुमा जीवनको अर्थ खुल्दछ । संगत र समृद्ध विचारले मान्छेलाई ऊर्धतलमा यात्रा गराउँदछ । कुरुप पतनशील विचारले मान्छेलाई पताल धसाइदिन्छ ।
बारीमा उम्रेका बिरुवा गोडेजस्तो मनसजगत्मा विचारको गोडमेल प्रक्रिया चलाइरहनु छ । फल दिने उपयोगी बिरुवालाई जोगाई जेगाई त्यस वरिपरिका अनावश्यक झारपात उखेले जस्तै असंगत र खराव विचारका बेर्नाहरु गोडमेल गर्नुछ । सार्थक सुन्दर विचारलाई मलपानी हाली हाली हुर्काउनु बढाउनु छ । फलाउनु फलाउनु छ । विचारले नै मान्छे सुन्दर पनि देखिन्छ, विचारले नै मान्छे कुरुप पनि देखिन्छ । सुन्दर विचारको आलोकमा शून्यवत उभिएर शून्यपथको यात्रा यो घडी सोचिरहेछु, गुनिरहेछु । जय शून्यता ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।