साहित्यको क्षेत्रमा नियात्रा नवीन र कनिष्ठ विधाको रुपमा स्वीकारिएको छ । विश्व साहित्यमा नियात्रा विधाको अस्तित्व प्राचीनकाल देखि नै भई आएको कुरा कुनै नौलो होइन । अझ स्पष्ट भन्ने हो भने कथ्यको रुपमा, यस बृहत्त संसारमा, मानव लगायत जीवजन्तु, पंक्षी, किराफटेङ्ग्राले उपस्थिति जनायो; त्यही समयदेखि नै नियात्राले आफ्नो अस्तित्व सुरक्षित गरेको पाइन्छ । पूर्वीय साहित्यकै कुरा गर्ने होभने वेदकालीन समयदेखि लेख्यरुपमा आएको पाइन्छ भने त्यसभन्दा पूर्व कथ्यको रुपमा रहेको थियो भन्दा कोही कसैले टाउको दुःखाउनु पर्ने कुरै आउँदैन । यिनै तथ्यहरुलाई मनन गर्दा लेख्यको रुपमा वैदिककालदेखि नै नियात्रा विधाको अस्तित्व आएको पाइन्छ भनी ठोकुवाकोसाथ भन्न सकिन्छ ।

कतिपयलाई लाग्न सक्छ, आखिर नियात्रा भनेको के हो ? साहित्यको छुट्टै विधाको रूपमा किन स्वीकार गर्ने ? विश्वमा यात्रासाहित्य भनेर चिनिँदै आएको साहित्यिक सिर्जनालाई नेपाली साहित्यिक क्षेत्रमा नियात्रा भनेर किन सम्बोधन गर्ने ? यस्ता प्रश्नहरू उब्जनु स्वभाविक छ । यसका उत्तर सहज किसिमले दिन सकिने अवस्थाको निर्माण भएको छ वर्तमान समयमा । यसलाई निम्न कुराहरुले अथ्र्याउन सकिन्छः

प्रथमतः नियात्राको सिर्जना हुनका लागि कोही कसैबाट कुनै स्थान विशेषको यात्रा गरिएको हुनु अनिवार्य छ । यात्राका समयमा नयाँ स्थानमा विविध नवीन र अनौठा कुराहरु देख्न, सुन्न र अनुभूति गरिएको हुनु पर्छ । यात्राको समयलाई माथि उल्लेख गरिएका कुराहरुलाई समावेश गरेर वा यात्राका समयलाई केन्द्रविन्दूमा राखेर साहित्यिक चास्नीमा घोलेर कुनै पनि सृजना तयार पारिन्छ भने त्यो लेखनीलाई नियात्रा भनिन्छ ।

द्वितीयतः नियात्रालाई काव्य, आख्यान, नाटक, समालोचना, निबन्धजस्तै पृथक विधा मान्नका लागि एउटा स्वतन्त्र विधालाई आवश्यक पर्ने सबै अवयवहरु नियात्रामा पनि विद्यमान (विशेषता, आयाम, तत्व, वर्गीकरण, शैली लगायत धेरै सर्जकहरु सिर्जनामा समाहित) रहेकोले साहित्यको पृथक विधाको रुपमा स्वीकार गरिएको छ ।

तृतीयतः विश्व साहित्यमा नियात्रा (नेपाल), यात्रासाहित्य (भारत), यात्रालेख , भ्रमणवृतान्त, यात्राव्यहोरा, घुमाइ , आदि नामले पश्चिमी मुलुकहरुमा चिनिँदै आएको छ । यस प्रकारले जे जुन नामले चिनिने भए पनि नेपाली साहित्यमा यात्रासाहित्यको न्वारन वि.सं.२०२६ मा भाषाविद् प्रा.बालकृष्ण पोखरेलले नियात्रा भनी गर्नुभएको छ । प्रा.पोखरेलले प्रस्ताव गर्नु भएको नामलाई नेपाली विद्वान–विदूषीगणले सहर्ष स्वीकारिएको छ । सोही नामलाई समर्थन गर्दै सयौं संख्याका सर्जकहरुले आफ्ना सिर्जनालाई प्रकाशन गर्दै आएका छन् । तसर्थ यात्रा गरेर तयार पारिएका रचनालाई नियात्रा भन्दा नेपाली साहित्यका सर्जकहरुले अपनत्वको भाव पाएका छन् । तसर्थ नियात्रा शब्दलाई अंग्रेजी, हिन्दी, उर्दू वा अरबीहरुले जुन शब्दले सम्बोधन गरे पनि त्यसमा मतैक्य राख्नु पर्ने कुरै आउँदैन । नाम जेजसरी जुराए पनि रचना गर्भ, रचना तरिका, रचनाका विशेषता र त्यसमा हुनु पर्ने गुणले नै सार्थकता दिन्छ । हज्जारौं मान्छेका नाम वेग्लावेग्लै भए पनि मानिसमा हुनुपर्ने गुण र अवयव भएकाहरुलाई जुनसुकै नामले सम्बोधन गरे पनि मानिस आखिर मानिस नै हुन्छ ।

जय छाङ्छा

यहाँ केवल नियात्राका बारेमा परिचय दिने कार्य भए । तर चर्चा गर्न खोजिएको विषय हो नियात्रा विधाका सौन्दर्य । संसारमा अस्तित्वमा रहेका जुनसुकै चिज वा वस्तुको आआफ्नै गुण, अवगुण, विशेषता, सामन्यता, सौन्दर्यता, कुरुपता लगायत अन्य विविध कुराहरुले सुसज्जित भएका हुन्छन् । सबैमा वा सम्पूर्ण वस्तुहरुमा एकै किसिमका कुराहरु विद्यमान रहन्छ भन्नु वा सोच्नु जत्तिको पाखण्डीपन अरु केही हुँदैन । त्यसैले यहाँ नियात्राका सौन्दर्यहरु के कस्ता हुन्छन् भन्ने कुरामा दृष्टिविन्दु दिन खोजिएको छ । जसलाई यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ ।

१ . नियात्रा विधा प्रथम पुरुष वा कर्तृवाच्यको प्रयोग गरी सिर्जना गरिने एउटा विशिष्ट किसिमको साहित्यिक रचना हो । यसमा स्रष्टाकै देखाइ, भोगाइ र अनुभूतिले महत्त्वपूर्ण स्थान पाएको हुन्छ । यसै सन्दर्भमा प्रसिद्धअमेरिकी नियात्रा सम्पादक जासन विल्सनले भनेका छन्–‘नियात्राहरु, अपरिहार्यरुपमा प्रथम पुरुषमा भनिनु वा लेखिनु पर्छ । यही आधारमा जहिले पनि महत्त्वका चीजहरु कहाँ परेका छन् भन्ने दृष्टिविन्दुले नियात्राकारको शक्तिलाई बुझ्न सकिन्छ । अब्बल नियात्रा कहिले पनि नडराई शक्तिशाली आवाजसहित लेखिएको हुन्छ ।… नियात्राको महत्त्वपूर्ण सन्देश भनेकै यो मेरो यात्रा हो र अरु कसैको होइन भन्ने हो ।’ यस कथनबाट पनि स्पष्ट हुन्छ कि नियात्रा प्रथम पुरुष वा कर्तृवाच्यमा लेखिएको हुन्छ । त्यसैले कर्तृवाच्यको संरचनामा ढालेर सिर्जना गरिनु नियात्राको सौन्दर्य हो भन्न सकिन्छ ।

२. नियात्रा सिर्जना गर्दा गतिको उपस्थिति नङ र मासुकोजस्तै हुन्छ । गति नभई नियात्राको सिर्जना हुन्छ भन्नु आकाश र पाताल एकै स्थानमा रहेको छ भन्नु जत्तिक्कै हुन्छ । नियात्राले एक स्थानबाट अर्को स्थानसम्म पुगेको हुनु पर्ने कुरालाई अनिवार्य रुपमा आफ्नो अभिन्न अङगका रुपमा लिन्छ । अझ भन्ने हो भने प्राणी र अक्सिजनकोजस्तै सम्बन्ध हुन्छ नियात्रा र गतिको । यथार्थपरक गति नमिसिएको नियात्रा प्राण नभएको जीवजस्तै हुन्छ । तसर्थ नियात्रामा गतिको उपस्थिति हुनु भनेको नियात्राको सजीवता हो र यो नियात्रा सिर्जनाको सौन्दर्यता हो ।

३. साहित्यका प्रायः सबै विधालाई ग्रहण गरेर अपनत्व बनाउन सक्ने नियात्रा विधाको अनुपम सौन्दर्य हो । सिर्जनाको अनुकूलतालाई दृष्टिगत गरी यसले काव्य, आख्यान, नाटक, निबन्ध, वार्ता, मिथक, गाउँखाने कथा, विगतका संस्मरणलाई आफ्नै निजी हो भन्ने किसिमले स्वीकार गर्न सक्ने चलाकीपन यससँग रहन्छ । यस सन्दर्भमा प्रसिध्द व्रिटिश सम्पादक वील बुफोर्डको कथन छ– ‘नियात्रा लेखन साहित्यको याचक विधा हो । यसले संस्मरण, समाचारीय ढाँचा र महत्त्वपूर्ण अंशको रुपमा आख्यानबाट सापटी लिन्छ ।’ यस कुराबाट के स्पष्ट हुन्छ भने साहित्यका अन्य विधाभन्दा धनी, उदार र समावेशीको सिर्जना विधा नियात्रालाई मान्न सकिन्छ ।

४. नियात्राको आधारभूमि भनेको यथार्थपरकता हो । नियात्रामा वर्णन भएका कुराहरु काल्पनिक र अनुमानका कुराहरु हुँदैनन् । नियात्राकारले अयथार्थ कुराहरु समावेश गरी सिर्जना गर्ने गर्दछ भने इमान्दार सर्जक होइन भनी ठाडै भन्न सकिन्छ । नियात्रामा जीवीत प्रामाणिकतालाई विश्वास गरिन्छ । अन्य विधामा अनुमान वा कल्पनालाई आधार मानेर पनि सिर्जना गर्न सकिन्छ । तर नियात्रामा उल्लेख भएका कुराहरुको पूर्णरुपमा जिम्मेवारी सर्जकले लिनु अनिवार्य हुन्छ । नियात्रा एउटा साहित्यिक सिर्जनामा मात्र नभई अनौपचारिक इतिहास पनि हो । राजनैतिक इतिहासमा विजयीले मात्र स्थान पाउँछ । नियात्रामा जित्ने, हार्ने, अस्तित्वमा रहेका वस्तु तथा चिजहरु, प्रचलनमा रहेका कुराहरु, भूगोल, जनजीवन आदि सबैलाई यथारुपमा स्थान दिइएको हुन्छ । यसर्थ नियात्राको सौन्दर्य यथार्थपरक लेखन पनि हो ।

५. नियात्राको अर्को सौन्दर्य ‘कसरी, कहाँ, कहिले, किन र को’ आदिको समावेश रहनु पनि हो । यी पाँच प्रश्नहरुको जवाफ नियात्रा भित्र हुनु नितान्त जरुरी छ । यी सवालहरुको उत्तर नियात्रा सिर्जनाभित्र पाठकले पाउँदैनन् भने पूर्ण अङ्गसहितको सिर्जना हो भन्न कदापि सकिँदैन । मानव हुनका लागि पाँच इन्द्रियहरु जति आवश्यक हुन्छन्, त्यति नै आवश्यक एउटा साहित्यिक नियात्रा हुनका लागि उल्लिखित चीजहरुका हुन्छन् ।

६. नियात्रामा वर्तमानकालिक वाक्यको प्रयोग गरेर सिर्जना गरिनु पर्दछ । नियात्रा पठन गर्ने पाठक नियात्राकारसँगै हिंड्न, घुम्न, देख्न र अनुभूति गर्न सफल भएमा मात्र अब्बल नियात्रा दरिन्छ । सर्जकले भूतकालिक वाक्य प्रयोग गर्दा पाठक पनि पुरानो समय वा कालखण्डतर्फ डोरिने सम्भावना रहन्छ । तसर्थ नियात्राकार सदैव चनाखो भई सिर्जनामा लाग्नु पर्ने स्थिति रहन्छ । तर यसो भन्दैमा नियात्राका अन्तरात्मामा भूतकालिक, भविष्यत्कालिक बाक्यको समय र सन्दर्भभित्र अटाउन सकिन्छ । मूल सिर्जनाको मर्म र आशयलाई स्पष्ट पार्न वा बुझाउने ध्येयले भूत र भविष्यत्कालिक वाक्यहरुको प्रयोग गर्नमा कुनै वन्देज छैन । यसो भन्दैमा मूललेखको मर्म, आशय र उद्देश्यमा विचलन वा आघात पुर्याउने गरी प्रयोग गरिन पाइँदैन । वर्तमानकालिक वाक्यको प्रयोग गर्दै नियात्रा सिर्जना गरेमा मात्र अव्वल नियात्राको आत्माले न्याय पाउन सक्छ । यसरी वर्तमानकालिक वाक्यको आग्रह गरिनु नियात्राको मौलिकता, विशेषता र सौन्दर्यता हो ।

७. नियात्रा साहित्यको त्यस्तो विधा हो जसलाई गद्य वा पद्य दुवै प्रकारले गर्न सकिन्छ । यसरी विधागतरुपले लचकताका साथ उदारहृदयको विधा नियात्रालाई मानिन्छ । यसरी विधामा लचकता हुनु नियात्राको सौन्दर्य हो ।

८. कुनै पनि नियात्राकारको प्रवक्ताको भूमिका नियात्रा साहित्यले गरेको हुन्छ । कुनै नियात्राकार आनीबानी, रुचिका विषय, अरुचिका विषय, दृष्टिकोण, अनुभूति गर्ने, बोल्ने वा सोच्ने शैलीदेखि यावत् कुराहरु आफ्नो सिर्जनामा पस्कने गरिन्छ । यसबाट नियात्राकारका तमाम कुराहरु रचनामा आउने हुँदा नियात्राकारलाई आद्योपान्त वा एकप्रकारले वस्त्रहीन अवस्थामा पाठकले जान्न र बुझ्ने मौका पाउने हुन्छन् । यो पनि नियात्रा विधाको सौन्दर्य हो ।

९. नियात्राकार घर छोडी परदेशमा पुग्दा घरको यादले सताउने किसिमले पीडित हुन्छ र एक्लोपनभित्र हराउने हुन्छ । एकातर्फ घरबाट गन्तव्यसम्म पुग्न यातायातका साधानहरुको पनि प्रयोग गर्नु पर्ने भएकोले जेटल्यागको पीडा, कतै दुर्घटनामा परिने हो किजस्ता आशंकाभित्र यात्रा तय गर्नु पर्ने बाध्यता हुन्छ भने अर्कोतर्फ नौलो स्थानको रीतिरिवाज र चालचलन पहिले थाहा नपाएकोले नौलो प्रकारको डर, त्रासका बीच रहनु पर्ने हुन्छ । त्यसरी नै व्यक्तिगत सुरक्षामाथि खतरा आदिको संशय लिएर आफ्ना कार्यहरु सम्पन्न गर्नु पर्ने अवस्था हुन्छ । यसरी साहित्यिक नियात्रा सिर्जनाका लागि बेहोर्नु पर्ने अनावश्यक पीडाआदि पनि नियात्रा विधाका सौन्दर्यहरु नै हुन् ।

१०. नियात्राले साहित्यिक रसस्वादन बाहेक कुनै स्थानको बारेमा पथप्रदर्शकको कार्य पनि गर्दछ । पथप्रदर्शक पुस्तक, जस्लाई ‘व्लु–ट्राभेल’ नेपालीमा ‘व्लु–नियात्रा’ भनिन्छ । त्यस्ता पुस्तकमा नियात्रामा वर्णित स्थानको संक्षिप्तमा भए पनि भौगोलिक, सामाजिक, धार्मिक, आर्थिक, चालचलन वा रीतिरिवाज, खानपान, खर्चहरुका फेहरिस्त समेत उल्लेख गरिएका हुन्छन् । यसरी नियात्रामा ‘व्लु–नियात्रा’ले स्थान पाउनु नियात्राको सौन्दर्य मान्न सकिन्छ ।

११. नियात्राले कतिपय पाठकले जिज्ञासाको जवाफ पाउँछन् । शारीरिक तथा बौद्धिक खुराक वा सत्व, जीवन्त ऐतिहासिक, राजनैतिक र सामाजिक भावनाले ओतप्रोत भएर सिर्जना गरिने हुनाले प्राज्ञिक अध्यापकका रुपमा पनि लिइने गरिन्छ । यस कोणबाट मनन गर्दा नियात्राको सौन्दर्य प्राज्ञिक अध्यापकको रुपमा लिइनु पनि हो ।

१२. नियात्राले पाठकलाई धेरै कुरामा सचेत बनाउन सक्ने सामर्थ्य राख्दछ । जुन कुरा प्रसिद्ध सम्पादक एवं लेखक पाउल फुसेलले भनेका छन् कि– ‘एउटा नियात्राको पुस्तकले पाठकलाई विविध कुराहरुमा सावधान गराउन सक्छन्– पानीजहाजहरु, हवाइजहाजहरु, रेलहरु, गधाहरु, थिलथिलिएका पाउहरु, होटलहरु, लहडी चालचलनहरु र वेढंगका व्यक्तिहरु, अचम्मका मौसमहरु, आश्चर्यमय भवन निर्माण कलाहरु तथा जोखिमयुक्त भोजन आदि ।’

यस कथनबाट के स्पष्ट हुन्छ भने नियात्राले पाठकहरुलाई नयाँ स्थानका भ्रमण गर्दा सावधानी अप्नाउनु पर्ने कुराको शिक्षा दिन्छ । नसोचिएका समस्याहरु आइपर्ने र त्यसबाट कसरी बच्न सकिन्छ भनी नियात्राकारले आफू बच्न अप्नाएका उपायहरु बारे जान्न सकिने अवसर मिल्छ । तसर्थ नियात्राको सौन्दर्य भनेको पाठकलाई सचेत गराउनु पनि हुन्छ ।

१३. नियात्राको अर्को सुन्दर पक्ष भनेको लामो समयसम्म बाँच्न सक्दछ । वेद करिब दश हजार वर्षभन्दा पहिले रचिएको भए पनि त्यसमा वर्णित यात्राहरु अझैसम्म जीवन्त छन् । त्यसरी नै अंग्रेजी साहित्यमा प्रथम नियात्रा सर्जक एवं इतिहासका पिता मानिने हेरोडोटुस (क्राइष्ट पूर्व ४८० ४२५) ले पानी जहाजबाट ग्रीस, उत्तर अफ्रिका, सिसिली र दक्षिणी इटली, व्लाक सी (टर्की), पर्सियन साम्राज्य, सिरिया, प्यालेष्टाइन, बेबीलोन तथा इजिप्टका भ्रमण गरेर लिपिबद्ध गरेका कुराहरुलाई हालसम्म पनि बडो रुचिकासाथ पठन भइरहेको छ । जुन कुरा प्रसिद्ध अमेरिकी नियात्रा सम्पादक श्री जासन विल्सनले आफ्नो पत्रिका द वेष्ट अमेरिकन ट्राभल राइटिङ्को २०१७ को अङ्कमा किटानीकासाथ उल्लेख गरेका छन् । उक्त सिर्जना पठन हुनमा त्यसबेलाको रहनसहन, जनजीवन, इतिहास, भूगोल आदिको यथार्थ जानकारी लिनका लागि नै हो । यस्तै प्रकारले नेपाली नियात्रा साहित्यमा प्रथम मानिएको वि.सं.१५५० मा रचना गरिएको राजा गगनिराजको यात्रा पठनको उद्देश्य पनि त्यससमयको राजकाज चलाउने तौर तरिका, राजा र रैती बिचको सम्बन्ध, राजा महाराजाहरुको यात्रा गर्ने विधि लगायत यात्राका समयमा सम्पन्न गरेका कुराहरुका जानकारी लिनका लागि नै हो । यसबाट स्पष्ट हुन्छ कि नियात्राको कुनै न कुनै हिसावले लामो अवधिसम्म अस्तित्व रहने गरेको पाइन्छ । यसरी साहित्यमा दीर्घायु जीवन भएको नियात्रा विधाको अनुपम सौन्दर्य हो ।

१४. नियात्राको अर्को सौन्दर्य पक्ष भनेको नियात्राकारले यात्रा गरेको नजिकको होस् वा टाढाको, स्वदेशको होस् कि विदेशको, व्यक्तिगत भेटघाटको होस् वा सभा, सेमिनारमा भाग लिन जाँदाको, धार्मिक हिसावको होस् कि पर्यटकीय, जेजस्तो किसिमको यात्रा गरेको भए पनि नियात्रा सिर्जना गर्नलाई केही वन्देज छैन । त्यसैले जो कोही नियात्राकारले एक स्थानबाट अर्को स्थानको भ्रमण गरेर त्यसको रसस्वादन पाठकहरुलाई बाड्न सक्ने भएकोले नियात्राकारले यात्रा गरेर सहज किसिमले सिर्जना गर्न सकिन्छ । यसरी सहज सिर्जनाको अवसर उपलब्ध हुनु नियात्रा विधाको सौन्दर्य हो ।
उपसंहारः साहित्यका विविध विधाहरुका आआफ्नै विशेषता, तत्त्व, शैली, महत्त्व भएजस्तै नियात्रा विधाका पनि आफ्नै मौलिकपनहरु विद्यमान रहेका छन् । फेरि नियात्राको सिर्जना नै कुनै व्यक्ति आफ्नो बासस्थानबाट अर्को नयाँ स्थानको भ्रमण गरेपछि हुने हो । यसरी भ्रमण गर्दा सधैं पुगेको, घुमेको, देखेको स्थानभन्दा पनि नयाँ नौलो परिवेश भएको स्थानको पनि हुन सक्ने स्थिति रहन्छ । नयाँ भूगोल, नयाँ परिवेश र प्रत्येक चिजहरु नयाँमय लाग्ने स्थानमा पुग्दाको क्षण, अवलोकन गरिएका वस्तुहरु, भेटिएका खुसी, पाएका दुःख कष्ट र समस्याहरुलाई नियात्रामा समावेश गरिएका हुन्छन् । तर अपवादका रुपमा केही सिकारु र अघिल्ला पुस्ताका नियात्राकारहरुका सिर्जनाहरु अध्ययन नगरेका आलाकाँचा नियात्राकारहरुले समावेश गराउने कुराहरुलाई महत्त्व नदिई आफ्नै गन्थन मात्र लेखेर परिमार्जित र परिष्कृत नगरी कृति प्रकाशनमा ल्याउने गरेका पनि छन् । यस प्रकारका कृतिले साहित्यिक महत्त्व नपाउने पक्का छ । तसर्थ नियात्राकारले कृति प्रकाशन गर्दा सजग हुनु पर्ने कुरामा दुई मत छैन । नियात्रा पठन गर्दा पाठकहरुलाई के कसरी आद्यन्तसम्म आकर्षण गरिरहन सकिन्छ र कुनकुन कुराहरुलाई समावेश गर्दा पठनीय र जानकारीमूलक हुन्छ । त्यस्ता छुटाउन नहुने कुराहरुलाई सिलसिलेबारमा नियात्रामा प्रवेश गराई सिर्जना तयार गर्नेतर्फ उन्मुख हुनु पर्ने हुन्छ । सम्भव भएसम्म रोचक, जानकारीमूलक, शिक्षाप्रद, व्यवहारिक, अनौठा र रहस्यात्मक कुराहरुको समेत प्रवेश गराएर सिर्जना गर्दा नियात्रा सार्थक हुन्छ । यही नै नियात्रा पाठकहरुको प्राप्ति र स्रष्टाको अब्बल पहिचान हुन जान्छ ।

अस्तु ।