अचेल आफू बूढो हुँदै गएजस्तो लाग्न थालेको छ । आफ्नो बारेमा यस्तो भन्न वा लेख्न कोही पनि मान्छे हम्मेसि चाहँदैन । मान्छेसँग हमेसा टाँस्सिएर रहने एउटा आदत छ, त्यो हो – मोहको आदत । मोह पनि कस्तो भने सधैंभरि हरियो देखिनुपर्ने चाहना राख्ने,सधैंभरि भरिलो र रसिलो देखिनु पर्ने रहर गर्ने अथवा जवान भइरहन चाहने । यहीँ ‘मोह’ अथवा ‘लोभ’ नै हो जसले मान्छेलाई कँज्याएर राखेको छ ।
पुस-माघ महिनाको जमाउने ठण्डीमा बिहानीले रातलाई राम्ररी बढार्न नपाउँदै सडकमा ‘मर्निक वाक’ हिँड्नेहरुको ताँती जब हेर्छु,स्याँ-स्याँ लामो सास तान्दै जिमखाना कसरत गरिरहेकाहरुको बगेको पसिना जब देख्छु तब यो मोहको तारिफ नगरी कसरी रहनु । आखिर यी सबै बाँच्नकै लागि त हुन् नै,अझ केही अगाडि नै गएर नधकाई भन्नपर्दा ‘जवान’ देखिनका लागि गरिएका यत्नहरु नै त हुन् । यहाँ मैले आफ्नो बारेमा यति भनिसक्ता-नसक्तै मन कुटुक्क दुखिसकेको छ,मनैदेखि नियास्रो भरिएर आइसकेको छ आँखासम्म एकपल्ट उठेर ऐना हेर्न मन लागिहाल्छ । म पनि मोह र रहरको नियन्त्रण भन्दा बाहिर कहाँ छु र । उठेर गएँ ऐना छेउ र उभिएँ ऐना अगाडि । त्यसै घलेगुरुङको अनुहार हो मेरो अलिअलि धर्काधर्की त देखिन्छ नै अनुहारमा । तर हाँस्दाखेरि त निकै धेरै मुजा परेको जस्तो पो देखिन थालेको अनुभव गरें अहिले त । यस्ता झस्काउने अनुभवहरुका चाँडै रहेछन् मसँग । यसरी ऐना अगाडि उभिँदा उभिँदै जब ती एकएक गर्दै थुप्रिँदै गए सम्झनामा आएर,तब मात्र पो अनुभव गरें मैले त । नत्र त कतिकति अवस्थामा प्रसङ्ग-प्रसङ्गमा कुरा उठ्थे । हाँस्यो एकछिन र भुलिदियो गरिँदो रहेछ,गम्भीरतापूर्वक त हेर्दै नरहेको रहेछु । तर यस्ता सपना र नोटिस नगरिएका कुराहरूले पनि जीवनमा कति-कति महत्त्व राख्दा रहेछन् जस्तो अहिले लागिरहेको छ । मान्छेलाई हिँड्न मन लागे पनि नलागे पनि ‘समय’ त हिँडिरहन्छ नै । आफू पनि सँगसँगै हिँड्ने कि कुनै किनारमा पुगेर मिल्किने र छाडिने भन्ने कुरा आफैंमा भर पर्ने हो । यो माया-मोह,यो सपना र त्यसलाई भेट्न चाहने हतार,यो इर्ष्या र तँछाड मछाड,यी सबैले ‘समय’ हिँडेको पत्तै हुन दिँदा रहने छन् मान्छेलाई । जन्मदिन मनाउने भन्यो,विवाह र त्यसको वार्षिकी दिवस भन्यो,के के के के उत्सवहरु भनेर अलमलिँदा-अलमलिँदै आफ्नो रङ्ग उडेको र बदलिएको, प्वाँख झरेको र बाटाका दृश्यहरु फेरिएको थाहै नहुँदो रहेछ । कहिलेकाहीँ तन्द्राबाट ब्यूँझेजस्तो झसङ्ग भएको बेलामा जब छयाङ्ग हुन्छ वरिपरि ऐंठन लागेजस्तो हुँदोरहेछ ।
आफैँलाई हेर्दा, छाम्दा, अनुभूत गर्दा कस्तो-कस्तो रमाइलो पनि, उदेक पनि र न्यास्रो पनि लाग्दो रहेछ । सात वर्षको छोरीसँग खेलिरहेको थिएँ । आइतबार बिदाको दिन घरकै बरण्डामा माघ महिनाको न्यानो घामको छहारीमुनि । कसैले घरको दैलो ढकढक्कायो । दैलो खोलेपछि पाएँ शुभ-विवाहको निमन्त्रणा पत्र रहेछ । छोरीले सोध्यो तोते बोलीमा – ” त्यो के हो बाबा ?”
… “भोज खाने निम्तो” । छोटो जवाफ दिएँ र उसलाई सुमसुम्याएँ । उसले के बुझ्यो कुन्नि,फेरि प्रश्न गरेन । आफू भने झस्कें एकपल्ट । साथीको छोरीको बिहे गर्ने उमेर पनि भइसकेछ । ओहो ! अब पुरानो हुन थालिएछ ।
पहिला-पहिला निकै फुर्सद हुन्थ्यो । विधार्थी जीवनकाल थियो । पढ्ने बाहेक अन्य जिम्मेवारी थिएन । पैसाले रित्तो खल्ती भरिभरि सपना र रहर बोकेर हिँडियो यो राजधानी गान्तोक शहरका सडक र गल्लीहरुमा । बिहान,दिउँसो,साँझ र मध्यरातमा समेत खुबै हिँडियो । न केहीको डर थियो,न त कुनै चिन्ता नै । तर अचेल त कहाँ सकिन्छ र त्यसरी हिँड्न ? घरले तानिहाल्छ,घरले बाँधिहाल्छ,कर्तव्य र जिम्मेवारीले झकझक्याउँछ र साँझभन्दा पहिले नै घर पुग्न मन लाग्छ हरेक दिन । साहित्य,कविता र लेखतिर मन गयो सानैदेखि । अलिपछिदेखि निबन्ध र संस्मरण लेखनतर्फ पनि रमायो मन । रहरले लेखें ‘कविता’ कहिले,कहिले ईखले लेखें,जिम्मेवारीले लेखें,कहिले र कहिले त बाध्यताले समेत लेखें । निबन्ध र संस्मरण लेखन पनि त्यस्तै हुन् । तर जहिले र जुन प्रेरणाले लेखेको भए पनि आफ्ना कुराहरू नै लेखें सधैंभरि । आफूलाई लागेका कुराहरू नै लेखें । म त जहिले पनि लेखकको चरित्र र स्वाभावसँग लेखनको तादात्मय हुनुपर्छ भन्ने मान्छे । आफैंलाई झुक्याएर मैले कहिल्यै पनि लेखिन ।
तर महिना,दिन र वर्षका खुड्किलाहरु चढ्दै माथि गइरहँदा दृश्यहरु,विचारहरु र त्यस्तै भावनाहरु पनि उठ्तै,फुट्तै र छुट्तै जाँदा रहेछन् ।
… मेरा धेरै फुटकर रचनाहरु विभिन्न समाचार पत्र अनि लोकप्रिय साहित्यिक पत्र-पत्रिकाहरुतिर छन् , त्यसलाई सिङ्गो पुस्तकारको रुपमा दिन सकेको छैन । मेरा समकालीन मित्रहरूले जसमा प्रवीण राई ‘जुमेली’ अनि टी.बी.चन्द्र सुब्बा र अमर बानियाँ ‘लोहोरो’ – ले नेपाली साहित्यमा धेरै उन्नति र प्रगति गरेको छ । उहाँहरुलाई बधाई अनि शुभकामना छ । नेपाली दैनिकी समाचार पत्रहरुमा सुनचरी, आजभोलि, अब, सगरमाथा, खबरपत्रिका, हाम्रो पहाड, स्वर्णभूमि, आजको सिक्किम, हिमालय दर्पण, हाम्रो प्रजाशक्ति, समय र हिमालीबेला आदिमा मेरा धेरै लेखहरु अनि व्यङ्ग्यहरु प्रकाशित भयो ।
साहित्यिक पत्रिकाहरुमा – स्रष्टा,दियालो,प्रक्रिया,तीन थुम्का,युग,सञ्जीवनी,स्पन्दन ( जो अन्तर्राष्ट्रिय पत्रिका कुवैतबाट प्रकाशित हुने) तालु ( हाँस्य-व्यङ्ग्य) बार्दली,सुमन,परिमल,ढोल-ढयाङ्ग्रो,प्रदीपिका,पूर्णिमा,हतार,भानु आदि पत्रिकामा प्रकाशित भइसकेको छ । त्यसैको प्रतिरुप जम्मै फुटकर रचनाहरुलाई संकलन गरेर २००८ मा मेरो पहिलो कविता संग्रह “आव्हान एउटा क्रान्तिको” छापिँदा त्यसभित्र रुमानी अनुभूतिहरु धेरै छन् भन्थे पाठकहरु र समालोचकहरु । त्यसताकका कविता,व्यङ्ग्य,समीक्षा,घुँयेत्रो,घलेभाइको डायरी,तर्क-वितर्क प्रतिक्रियाहरु अनि अन्तर्वार्ताहरु पनि त्यस्तै । त्यसको केही वर्षपछि फेरि गीत,गजल,प्रेमका कविताहरु लेख्न भावनाहरु आउन थालें । लेख्दै गएपछि एउटा सङ्ग्रह तयार गर्ने विचार आयो । डी.टी.पी गर्ने मेरोमा पैसा-रुपियाँ थिएन । मेरो आर्थिक अवस्था पूर्णत:सुविधाजनक नभएकाले मेरा कृतिहरु समयमा निस्कन सकेन । मैले भूमिकाको निम्ति प्रवीण राई जुमेलीकोमा गएँ । उहाँले मेरो कविताको डायरी दुई-हप्ताह राख्नु भयो । तर भूमिका लेख्नु भएन । त्यो भन्दा अगाडि कवि कमल चामलिङ ‘कामराङ्गे’ अनि तारा साम्पाङका कृतिमा आफ्नो भूमिका लेखिसक्नु भएछ । मलाई मन दु:ख भएन । त्यहाँ पनि एउटा उच्च पदमा विराजमान साथै लेखकको धर्मभित्र भनाइ र गराइमा कुनै सामञ्जयस्ता देखिन । त्यहाँ पनि कवि लेखकमा
जातिवादी, साम्प्रदायिकता,अहङ्कारी, आडम्बरीको खोलमात्र देखियो । अहिले त्यो कृति ‘क्रान्तिका समवेत स्वरहरू’ कविताको भूमिका नेपालका वरिष्ठ साहित्यकार कृष्ण धराबासीले लेखिदिनु भयो । उहाँ धन्यवादका पात्र हुनुहुन्छ । तर अभाग्यवंश त्यो मेरो कृति प्रेसमा छन् । विश्व महामारी कोभिड – १९ ले गर्दा दुई वर्ष बितेर गयो । उक्त क्रान्ति भन्ने शब्दले कोरिएको आवरणलाई परिवर्तन गरेर नयाँ आवरण बनाएर सिलगडी प्रेसमा पुर्याएको छु । तर खै त प्रतिभाको कदर भन्ने कुरा बुझ्न सकिन्छ ? विचार दोहोर्याउन नहुने,अनुभूति र लय पनि दोहोर्याउन नहुने । फेरि कविताको संरचनामा पनि त्यतिकै ध्यान दिनुपर्ने । मेरो लेखन प्रक्रिया त फेरि एकालाप किसिमको पनि छैन । पाठकहरुको सम्भावित स्तर र चेतना प्रक्षेपण गरेको हुन्छु मैले लेख्न बस्दा । त्यसो भएपछि लेखनमा जिम्मेवारीपन,गम्भीरता एवम् जवाफदेहिताको दबाब पर्छ । आफ्ना रचनाहरुप्रति जवाफदेही सबै लेखकको लेखनवृति कहीँ न कहीँ त यस्तै किसिमको हुन्छ होला जस्तो लाग्छ हुनाले प्रेमका कविताहरुको सङ्ग्रह बनाउने सोच बनाएपछि पच्चीसवटा कविता लेख्छु भनेको त हिमाल उक्लने जतिकै कठिन पो भयो यो यात्रामा त । पच्चीसवटा ‘कविता’ पुर्याउन नसकेर कतिपल्ट त हैरान भएँ । फेरि कतिपय लेखकहरु हुन्छन् नि लेख्छु भनेर कापी,कलम लिएर बसेपछि लेख्न सकिहाल्ने । म आफू त्यस भाग्यमानी कोटीको लेखक परिनँ । विचार,भावना र अनुभूतिहरुले प्रशस्त खेलिसकेपछि लेखुँ लेखुँ जब लाग्छ तब मात्र लेख्न सक्छु म र नै त्यो स्वाभाविक र सुललित बन्छ भन्ने मेरो अनुभव छ । यसरी प्रेमका पच्चीसवटा ‘कविता,गीत पुर्याउन ज्यादै कठिन भइरहेको बेलामा अन्त्यमा बठयाइँ गर्दै ‘कविता’ लेख्न नसकेको कुरा नै कवितामा लेखेर सङ्ग्रह पूरा गरेको छु मैले ।
त्यसपछि भने त्यस्ता भावनाहरु मनबाट उडेर कहाँ गए, ती सकिए । अहिले लाग्छ- समयसँगै गए होलान् ती पनि नफर्कने गरी । आजभोलि त केकेकेके अरु नै कुराहरू पो लेख्न आउँछ, लेख्न मनलाग्छ । दु:खहरु र तिनले जन्माएका अनुभूतिहरु, अलि गम्भीर लाग्ने र देखिने कुराहरू धेरै लेख्न आउँछ । हाम्रो राजधानी गान्तोकबाट निडर,निर्भीक समाचार पत्र हाम्रो प्रजाशक्तिमा एउटा रचना लेखें । छापिएपछि धेरै पाठक,शुभचिन्तकहरुले एकदिन भेट हुँदा भन्नुभयो – “तपाईँको लेख पढ्दैछु, घलेभाइको त्यो रचना/लेख राम्रो लाग्यो । दर्शन धेरै छ त्यसमा ।”
त्यसो त राज्य त्यसो त राज्य गान्तोक सिक्किममा यसरी लागेको प्रतिक्रिया दिने चलन ज्यादै कम छ । यो कमीकै बीचमा पनि प्रा.तेजमान बराइली सरले सिलगडीबाट फोनमा भन्नुभयो – तपाईँको लेख पढे, नेगेटिभ पात्र”, धेरै राम्रो लाग्यो,तपाईंको आफ्नै कथा रहेछ तर विचार पो अलि बढी भयो कि ।” खोइ, अचेल त यस्तै लेख्न मन लाग्छ,कि त लेख्नै मन लाग्दैन । यो विचार पनि अनुभव र अध्ययनले नै त जन्माएको होला । यो सिक्किमको गाउँ-घरको सेरोफेरो तीता-मीठामा भोगेका कठिनाइले उपहार दिएका भावनाहरु होलान् यी र अर्को किसिमले विचार गर्दा आफू पुरानो र बूढो हुँदै गएको संकेत पनि त होला । लेखक भएपछि साहित्यिक कार्यक्रमहरुमा पनि निम्तो आउनु र निम्तो मान्न जानु स्वाभाविकै हो । एउटा समय थियो,हामी नगईकन साहित्यिक कार्यक्रमहरु नै सम्पन्न हुँदैनथे जस्तो लाग्थ्यो र जहाँ पनि पुगिन्थ्यो – कार्यक्रम हुने थाहा पाउने बित्तिकै । आजभोलि त थाहा पनि धेरै हुँदैन । निम्तो आउन पनि पातलिन थालेको छ । सबै निम्तोमा कुदिहाल्ने रहर पनि लागिहाल्दैन । फेरि उमेरले अलिअलि गर्दै खुड्किलाहरु उकाल्दै लगेपछि काँध पनि चौडा जान्छ कि के हो,जिम्मेवारी र कामहरु पनि बढ्दै जाँदा रहेछन् । सरकारी नोकरी त मेरो छैन तर ‘म’ के सार्हो बीजी भाको । प्राइभेट कम्पनीमा काम गरेर आफ्नो जहान परिवार धान्नमै व्यस्त छु । प्राइभेट कम्पनीबाट फुत्त निस्केर हिँडिहाल्न पनि मिल्दैन त्यसैले कतिपय निम्तोहरु मान्न चाहेर पनि भ्याइँदैन ।
एकपल्ट नगएपछि अर्कोपल्ट किन बोलाउने ? भन्ने प्रश्न पनि सही नै हो । र कहिलेकाहीँ सबै तारतम्य मिलेर कार्यक्रमहरुमा जाँदा नयाँहरुको त्यतिकै ताँती लागेको देख्छु । नयाँहरु आयोजक र नयाँहरुकै सक्रियता साहित्यको विकासका लागि यो धेरै राम्रो कुरा त हुँदै हो, हामी लेखिराखेकालाई काँध थापेर माथि उठाउने र बचाउने पनि उनीहरूले नै हो, तर यो जान्दा-जान्दै पनि धेरैजसो त आधाभन्दा बढी उपस्थिति नचिनेका र नयाँ अनुहारहरु देख्न थालेपछि अलि पुरानो भइएछ,लाग्न थालिहाल्छ । आसमलिङ्जे भुसुक नान्डोकमा मूल घर भएपछि त्यहाँ गइरहनु स्वाभाविक हो । आफूले आँखा त्यही खोलेको,बोली त्यही टिपेको,त्यहीको माटो अनुहार र जीउभरि दलेर रङ्ग पाएको,अक्षर चिनेको र आफूले बाल्यकाल बिताएको ठाउँ । जुनै दिन पनि पखेटा हालेर उडिहालूँ त्यतैतिर लागिरहन्छ । तर यस्तो सुअवसर सधैं कहाँ मिल्छ ? यस्तै अवसर मिलेको एउटा समयमा ‘म’ अहिले चालीस वर्ष पुगे ।
***
– मेरो जन्मदिने आमाले भन्नेगर्छ – “तँ पनि हेर्दाहेर्दै बूढो भइस् । यो वाक्यले त त्यति रमाइलो परिवेशमा एकाएक तीखो कोर्रा पो हान्यो मलाई र ‘म’ अनायास झस्कें डराएजस्तो गरी । हो त, चालीस लागेछ । आधा जीवन सके त्यो भन्दा पनि पढी नै पो हो कि,बाँचिसकेछु । अब कति नै होलान् र मसँग उमेरका पत्तीहरु । त्यो ठूलो छहारी भएर बाँच्नु भएका मेरी प्यारो आमा । आमाको ७५ वर्ष बाँच्नु भएका आमाको उमेरसँग बाँचुला र म । एकपल्ट फेरि हेरे आमालाई ।
उहाँको अनुहारको भावमा कुनै परिवर्तन थिएन गम्भीरता बाहेक ।
सम्झेँ – म उहाँको कान्छा छोरा । प्यारो छोरा । पाँच छोरामध्ये मेरी आमाले मलाई धेरै माया गर्नुहुन्थ्यो । अझै पनि मलाई धेरै माया गर्नुहुन्छ । त्यसपछि धेरै वर्षसम्म उहाँको घरमा खुसीको विशाल पुञ्ज बोकेर आएको उहाँहरूको भविष्य म । कति धेरै खेलेँ होला मैले उहाँसँग । कति हँसाएँ होला र कति दु:ख पनि दिएँ होला । कति कुराहरू त म पनि अहिले सम्झन्छु भने उहाँहरुको त बाँच्ने मीठो सहारा यो सम्झना । शायद सम्झनाका सबै चक्काहरु फनफनी घुमे होलान् , उहाँको स्मृतिमा यतिबेला । मेरो यो ठूलो छहारी, मेरो पूर्ण आडभरोसा र सुरक्षा मेरी जन्मदिने आमालाई । अहिले उमेरले कँज्याएर घरको परिसरभित्रै सीमित गरिदिएको सम्झँदा मन कुटुक्क दुख्यो । उहाँको मायाले र आफू पनि त्यसरी बूढो हुँदै गइरहेको तीतो यथार्थको बोधले पनि । फेरि मनलाई थुमथुम्याए – “होइन,अझै आमाको शीतल छहारी र सुरक्षा प्राप्त गरिरहेकै छु भने आफन्तहरुले भनेरै मात्र कहाँ हुन्छ र ? सन्तानहरु बाबु आमाको लागि सधैं बच्चै हुन्छन् भन्ने आव्हानलाई सम्झँदा मेरा आफन्त भन्नाले बुजुर्ग त अझै बच्चै हुनुहुन्छ आमाका लागि भने मैले त कहाँ बूढो हुन पाउँछु र अहिल्यै आमा र आफन्तहरु पनि त्यतिकै जिस्क्याउनु हुन्छ । मनको आशङ्काको मैलोलाई यसरी टक्टक्याएर पनि अलिअलि तुष त बाँकी रहि नै हाल्यो मनमै बेला बेलामा झस्काउनलाई पुग्ने गरी ।
ऐना हेर्छु हरेक दिन बिहान बेलुकै । त्यसो त सबै मानिसले यसरी नै हेर्दा हुन ऐना । देख्छु कपालमा हिउँ पर्दै गएको छ र त्यो झनझन थपिँदै गएको छ दिनदिनै । सुरुसुरुमा त वास्तै गरिएन त बिस्तारै हिउँ वर्षा बाक्लिन थालेपछि कालो भाग कम र सेतो भाग बढी हुन थालिहाल्यो । उमेरको स्वाभाविक उपहार हो भनूँ भने त्यो पनि होइन,बेलै भएको छैन । फेरि हरेकपल्ट कपाल काट्न जाँदा नाइ भाइले “सरको कपाल धेरै फुल्यो,रङ्ग लगाइदिऊँ ?” भन्न थालेपछि नजानिँदो किसिमले आफूभित्र तनाव उत्पन्न हुन थालेको महसुस हुन थाल्यो । के गर्ने, समयको कुरा हो ।
आफ्ना लागि भन्दा पनि अर्काका आँखाका लागि राम्रो भइदिनुपर्छ । केही शीप नलागेपछि एक दिन कपाल कालो बनाएँ र फुरुङ्ग परें । तर के गर्नु अर्को महिना फेरि उस्ताको उस्तै । यो चालिसेले छोएको बेलामा मन पनि कहाँ-कहाँ पुग्छ भन्छन् । कपालको पछि लाग्नै छोडिदिउँ भने जस्तो पनि नलागेको होइन,तर फेरि अर्काकै लागि उम्रिनुपर्ने समस्या पनि साथै छ । यो रङ्ग लगाइरहनु पर्ने बाध्यता पनि थपिएको छ । आजभोलि जसरी जाडोयाममा आरामसँग सिरकको न्यानोमा बस्न छोडेर चिसो ठिहीमा काम्दै प्रभातकालीन भ्रमणमा नियमित हिँड्नुपर्ने बाध्यता समेत थपिएको छ यसै पालादेखि । बूढा पाकाहरुले भनेको सुन्थे – “घर बनाएपछि र बच्चा हुर्काएपछि मान्छे परिपक्व हुन्छ ।” अनेक दु:खले थुक पसिना गरेर बल्लबल्ल एउटा स्थायी बासको जोहो गरिएको छ । यसअघि जुत्ताको तलुवा फटाउँदै यति धेरै घरहरू र तिनका डिजाइनलाई नियालियो,भनि साध्य छैन ।
…. मेरो त स्थायी घर पनि छैन,जमीन पनि छैन । म त सुकुम्बासी हुँ । अहिलेसम्म म डेरामा छु । अर्थात् घर-किरायामा बसिरहेको छु । मलाई त जमीन दिएर घर बनाइदिन्छु भन्ने चुनाव भोटको समय एन.के.प्रधान,मनिता प्रधान,नन्दुथापा,छितेन लेप्चा,आर.ओङमु , निमथित, हाम्रा लालबजारका कर्मठ पार्टीका कार्यकर्ता सपोर्टसहरुमा टीका सुब्बा,स्व.हरि सुब्बा,रामेश्वर तामाङ,रवि सुब्बा,सानो लाक्पा तामाङ, नाकचुच्चे सुभाष तामाङ, समाजसेवी आरिथाङ पञ्चायत मीना तामाङनी दिदीले सहयोग नगरेको होइन,गरेर नै पूर्व सरकार एसडीएफ पार्टीका अध्यक्ष/ मुख्यमन्त्री पवनकुमार चामलिङको २५ वर्ष बितेर गयो । मैले अफिस नधाएको होइन । हरेस खाएर बसेको मात्र हुँ । त्यसैगरी तीन छोरीहरुले हाम्रो सानो घर उज्यालो पारेका छन् र ती हुर्कदैँ गइरहेका छन् । घर बनाउँदा अनेक थरीका धूर्त र चण्डालहरुसँग व्यवहार गर्दागर्दै निकै शिक्षा पाइँदो रहेछ । त्यसैले,लाग्छ बूढाहरुले अनुभवै भनेका रहेछन् । आफूले यी दुवै कुरा गरेको हुनाले परिपक्वताका रङ्गहरुले कतैकतै त रङ्गिएको पनि होला । यसलाई सोझै भन्दा बूढो हुँदै गएको भन्न सकिएला । तर हाम्रा पुर्खाहरुले पनि कम्ती बाठा त कहाँ हुन र । बूढो नै हुन त ती पनि चाहँदैन्थे होलान् । त्यसैले भनिदिएँ, “परिपक्व” ।
अस्थायी नोकरी सिक्किम पुलिसको होमगार्डमा १४ वर्ष काम गरियो अर्थात् पेन्सन छैन । प्राइभेट दबाई कारखानामा अस्थायी सुपरभाइजर सेकुरीटी गार्डको नोकरी २ वर्ष काम गरें । तर त्यहाँ इ.पी.एफ.कर्मचारीहरुको भविष्य निधि रहेछन् । सिक्किमको राजनीतिमा धेरै लामो समयसम्म सत्तामा बसेका एसडीएफ पार्टीको विरुद्ध सत्ता परिवर्तन हुनुपर्छ भन्ने लागेर २००९ देखि क्रान्तिमा बुद्धिजीवीहरुको संगोष्ठीमा काम गरियो । पूर्व सरकारमा प्राइभेट जागिर खाएर निवृत्त हुने अवस्थाको नजिक पुग्नु भनेको यसो विचार गरेर हेर्दा जीवनमा परिपक्व भएको अवस्था हो । मान्नु-नमान्नु आफ्नो मनको कुरा हो । तर अर्को किसिमले सोच्दा त पेन्सन नपाउनु भनेको ‘बूढो’ हुँदै गएको अवस्था पनि हो । जीवनमा यस्ता घटनाहरु र अनुभूति भावनाहरु धेरै छन् । अठारह – बीसको उमेरको विधार्थी जीवनमा युनियनको चुनावमा अर्को पक्षसँग लडेर,भिडेर,हार्न नचाहेर कुनै डरभर बिना रात-रातभरि निन्द्रामाथि टेकेर जुलुसमा हिँडेर,नारा उरालेर,नाचेर हिँडिएको सम्झना पनि एकातिर छ । त्यस्तै, अचेल जतिसुकै रङ्गीन कुरा गरे पनि राजनीतिक दलहरूका आमसभा र भाषण सुन्न जान्न मन नलाग्ने मनस्थिति पनि अर्कोतिर छ ।
डेराबाट बिहान निस्केको मान्छे दिनमा गान्तोकका अँध्यारा गल्लीहरुमा बसेर दिनको दुई पटकसम्म भिडियो हलमा “हिन्दी” सिनेमा हेरेर राती ११-१२ बजे लुरुलुरु एकघण्टा भन्दा बढी हिँडेर घर पुगेको स्मृति पनि ताजै छ भने आजभोलि साँझ पाँच बज्नसाथ अँध्यारोमा असुरक्षा बढेको छ भन्दै घर पुग्न हतार लाग्ने गरेको डर पनि छँदै छ । आफ्ना वरिपरि हरबखत साथै रहने यी अनुभूति र परिस्थितिहरुको मूल्यांकन गर्दा समयले आफूलाई पनि साथसाथै डोर्याएर निकैमाथि पुर्याइ सकेको लाग्दो रहेछ र यो लाग्नुसँगै एउटा “परिपक्वता” र “बुढयौली” को आभास पनि हुन थाल्दो रहेछ । सक्रिय जीवनको मध्य अवस्थामा पुगेको यो बेलामा यतातर्फ धेरै सोचियो भने त धेरै निराश पनि हात लाग्ला र भोलिको बाटो अँध्यारो लाग्न जस्तो पनि लाग्छ । त्यसैले,कहिलेकाहीँ यसो जीवनलाई पाटापाटा जोडेर सिङ्गो हेर्ने र फेरि छुट्ट्याएर टुक्राटुक्रामा पढ्ने जमर्को गरे पनि यस्ता निराशा लाग्ने कुरातर्फ भने धेरै अलमलिनु हुँदैन भन्ने पनि लागिरहेको छ । गर्नुपर्ने त अझै कति हो,कति धेरै छ,सोचिएका कुराहरू त कहाँ कहाँसम्म पुग्ने छन् । देखिएका सपनाहरू त कति सुन्दर छन् कति । तीमध्ये थोरैमात्र टिप्न,भेट्न र गर्न सकिए मात्र पनि कति जाती हुन्थ्यो होला ।
+++
चालीस वर्षे उमेरसम्मका उकाली-ओर्हालीहरुमा लगातार हिँडेर यहाँसम्म आइपुग्दा पनि अगाडिको गोरेटो त झनझन् अगाडि पो गइरहेको छ र आकाशमा ताराको प्रज्वल ज्योति अझ अग्लो भइरहेको छ । ‘म’ जीवनका उतार-चढावहरु बीचमा आफूले भोगेका अनुभूतिहरुमा आउने परिवर्तनलाई समेटतै हरबखत त्यस उज्यालोलाई नियालीरहेको हुन्छु । त्यस उज्यालोलाई पाउने मभित्रको लोभ घटेको छैन र उमेरले माथि चढाउँदै लगेर कहिलेकाहीँ अनौठो भावनाहरु मनमा आएपनि लेकाली कुइरो झैं ती फेरि उडेर गइहाल्छन् पनि । उमेर त केही गरेपनि,नगरेपनि आफैमाथि चढ्दै जान्छ नै ।
… प्राकृतिक रुपमा नै उमेरमाथि चढ्दै गएपछि रुप,रङ्ग,दृश्य र भावनाहरुमा पनि “परिवर्तन” आउने नै भयो । तर जीवनलाई कति सक्रियतासाथ बाँचिन्छ र आत्मविश्वास तथा निरन्तरतासाथ कर्मको यात्रामा हिँड्न सकिन्छ, त्यसैले वास्तवमा मान्छे कति जवान वा वृद्ध छ भनेर हेर्न सकिन्छ भनेर सोच्नु ठीक भन्ने मलाई लाग्न थालेको छ । र उमेरले आफ्नो स्वाभाविक यात्रा हिँडिरहें तापनि व्यवहारमा सक्रिय र जवान भइराख्ने त्यही लोभले मलाई फेरि पनि ताजा एवम् स्वस्थ बनाइ राख्न मद्दत गरिरहेको छ भन्ने निष्कर्षमा आइपुगेको छु यसबेला ।
ghalebhaigurung@gmail.com
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।