आदरणीय दाजुहरु, प्रिय बहिनीहरु र भाइ । ढोग, शुभाशिष् ।

आराम रही आरामीको कामना गर्दछु । यसरी चिठी लेख्ने जमाना त गइसकेको हो, तर पनि कहिलेकाहीँ मनमा केकेजाति विषयले ज्यादै हुँडल्छ, के गरौँ के गरौँ हुन्छ र यस्तै नचाहिँदो केही काम गर्छु । धेरै वर्षअघि मैले तपाईंहरूमध्ये शायद सबैलाई नै सम्बोधन गरेर चिठी लेखेको हुँला । म त्यो अनुमान किन गर्छु भने तपाईंहरू नौजनाले नै मलाई कुनै बेला चिठी लेखेको कुरा भर्खरै प्रकाशित मेरो किताब ‘प्रिय चिठीहरू’ले प्रमाणित गरेको छ । मैले पनि पक्कै ती चिठीहरूको जवाफ लेखेको थिएँ हुँला । जे होस्, दशकौँपछि म आज पुरानो ढाँचामा यो चिठी लेखिरहेको छु । कुनैबेला हामी हप्ताहप्ता वा महिना महिनामा कसै न कसैलाई चिठी लेख्थ्यौँ । त्योबेला हामी यसरी नै आराम बिरामको विषय उठान गर्दै लेख्न सुरु गर्थ्यौँ। चिठीको ढाँचा नै त्यस्तै हुन्थ्यो ।

यसो विचार गर्दा आराम छु भन्नु पनि एक प्रकारको ढोँगजस्तो, देखावटीपन जस्तो रहेछ भन्ने लाग्छ अचेल । आराम नभए पनि आराम छु लेखिन्थ्यो, कलमले स्वतः आराम छु, आरामको कामना गर्दछु भनेर लेखिहाल्थ्यो । हामीले परम्परादेखि त्यही सिकेका थियौँ । हुन त त्यो उमेरमा प्रायः शारीरिक स्वास्थ्यको हिसावले आराम नै भइन्थ्यो पनि होला । आराम नरहे पनि परिवारका सदस्यहरूलाई, बुबाआमालाई कुनै चिन्ता नहोस् भनेर आराम रहेको जानकारी दिइन्थ्यो । अलि साह्रै बिरामी नभई वा सामान्यतया कुनै सहानुभूति वा खर्चबर्च लिनु छैन भने विसन्चो भएका सूचना दिइँदैनथ्यो ।

आरामीको कामना गर्नु चाहिँ एक औपचारिकता, कर्तव्य र मनकै भावनाको प्रकटीकरण पनि हो । आफ्ना अतिप्रिय आफन्तजनको स्वास्थ्य ठिकठाक रहोस् भन्ने कामना गर्नु एक सभ्यता पनि हो । आरामीको कामना गर्नु चिठीको एक महत्त्वपूर्ण विषय हुन्थ्यो, अहिले पनि त्यो उत्तिकै प्रयोगमा छ । कोही अस्वस्थ्य भएको कुरा सामाजिक सन्जालतिर आउँदा अचेल पनि हामी कति छिटो ‘शीघ्र स्वास्थ्यलाभको कामना’ गछौँ नि, हैन ?
‘प्रिय चिठीहरू’ प्रकाशन गर्ने क्रममा मलाई के थाहा भयो भने चिठी त लेख्नुपर्ने रहेछ । हामी अचेल फोनमा, भिडियोमा, च्याटमा छोटा औपचारिक कुराकानी गछौँ । कामका कुरा गर्यो, सकियो । प्रेमका कुरा कम गछौँ । व्यवहारका कुरा, समाजका कुरा, पारिवारिक दुखसुखका कुरा कम गछौँ । हाम्रो यत्रो ठूलो परिवार, हामी कसरी गुज्रिरहेका छौँ । विशेषगरी वयोवृद्ध आमाबुबाका बारेमा हामीले कहिले सोच्ने ,अहिले के सोचिरहेका छौँ , यसो सम्झेर ल्याउँदा मनमा धेरै उकुसमुकुस हुन्छ । मनमा खेलेका अनेक तरङ्गहरूले मलाई बेलाबेला धेरै नै बेचैन गराउँछन् । तपाईंहरूलाई पनि पक्कै त्यस्तै हुन्छ । कसलाई सुनाउने ? के भनेर सुनाउने ? कसले सुन्ने ? सुन्ने सुनाउने फुर्सद खोइ हामीलाई ? यस्तै कुराहरूले मन उद्वेलित भएको बेला मनको कुरा बाँड्ने उद्देश्यले चिठी लेख्न बसेको हुँ । लेखेर पनि चिठी पठाउनु कहीँ छैन । खाम कता छ, हुलाक कता छ, अचेल चिठी पठाउन कति पैसाको टिकट टाँस्नुपर्छ वा पर्दैन, पत्र–मन्जुसा लेखिएका राता ढ्वाङ अचेल छन् कि छैनन् बजारमा, केही थाहा छैन । थाहा पाएर पनि गर्नु केही छैन । खाली लेख्नु छ, मनको उकुसमुकुस निकाल्नु छ । लेखिसकेपछि मन अलि शान्त हुन्छ कि भन्ने आशा छ ।

लक्ष्मण गाम्नागे

बुबाआमा हेर्दाहेर्दै वृद्ध अवस्थामा पुगिसक्नुभयो । चौरासी, पचासी वर्ष भनेको वयोवृद्ध अवस्था हो, तर त्यो कुरा स्वीकार गर्न मनले मान्दो रहेनछ । वयोवृद्ध भनेको बूढो भएर थला परेको, हँ हँ गर्दै ओछ्यानमै बसिराख्ने अवस्था होलाजस्तो लाग्छ । हाम्रा बुबाआमाको त्यो अवस्था होइन, कसरी वयोवृद्ध भन्नु हामीलाई हाम्रा बुबाआमा सधैं उस्तै हुनुहुन्थ्यो, उस्तै हुनुहुन्छ, उस्तै रहिरहनुहुन्छ जस्तो लाग्छ । बुबाआमाका अगाडि हामी कोही चौँसठी, कोही साठी, पचपन्न वा पचास वर्षका भइसक्यौँ । तर यो उमेर पनि अब भर्खरको होइन भन्नेतिर ख्याल जाँदो रहेनछ । अङ्कल आन्टी भएको त धेरै वर्ष भइसक्यो, धेरैले बा, आमा भनेर बोलाउन थालिसके । कपालमा यसो रङ्गरोगन नगरी सडकमा निस्कने हो भने हजुरबा हजुरआमा भन्नेहरू पनि फाट्टफुट्ट बजारमा भेटिन थालिसके । नाता पर्नेले भन्दा त नभनिदिए हुन्थ्यो जस्तो लाग्छ, पराइहरूले भन्दा त मन कटक्कै पो हुँदो रहेछ । यसो विचार गरेर ल्याउँदा आफूलाई सधैं उस्तै, सधैं भर्खरकै छु जस्तो लागिरहँदो रहेछ । बुबाआमाका अगाडि त झन् खासै बुद्धि नभएको, ढङ्ग नभएको, अनुभव नभएको बच्चा पो हुँ कि जस्तो लाग्छ हो आफूलाई त ।

कुरा के छ भने, हामी पालोपालो गर्दै बेलाबखत घरमा जाने आउने पनि गरिरहेका छौँ । प्रविधिले ल्याएको सुविधासँगै बुबाआमासँग एकदुई दिन बिराएर टेलिफोन वा भिडिओ कुराकानी पनि भइरहेको छ । फोन गर्नासाथ यताबाट ‘बुबा’ पनि भन्न नपाउँदै बुबाले नै पहिला भन्नुहुन्छ, “नानी, अनि के छ हालखबर ?” पचासी वर्षको उमेरमा बुबाका आँखाको तेज, मष्तिष्कको शक्ति कहीँ कतै एक थोपो पनि कम भएको छैन । आमाको कानको शक्ति अलिकति कम भएको छ, गोडा टेक्नमा समस्या छ तर चेतना, स्मरण शक्ति उहिल्यै हामीले थाहा पाउँदा जस्तो थियो त्यस्तै छ, एकदम टड्कारो । निर्णय क्षमता, नेतृत्व क्षमता त अझ बढेको जस्तो पो लाग्छ आमाको ।

कुराकानीका क्रममा ‘कस्तो छ खबर’ भन्दा बुबाको मुखबाट जहिले पनि ‘ठिक छ, एकदम राम्रो छ, त्यता कस्तो छ’ भनेर उताको भन्दा यताकै चिन्ता बढी रहेको जनाइहाल्नु हुन्छ । अलि लामै कुरा भयो र बुबाआमाको स्वास्थ्यबारे अलि बढी जिज्ञासा राख्यो भने बल्लतल्ल बताउनुहुन्छ, ‘आमालाई अलि बिसन्चो भए जस्तो भएको थियो, अब ठिक भइसक्यो ।’

‘बुबालाई बाच्छाले लडायो भन्ने कुरा मैले त पाँच दिन पछि आजै मात्र थाहा पाएँ, कस्तो छ अहिले’ भनेर थप प्रश्न गरेपछि भन्नुहुन्छ, ‘ए, त्यो सामान्य कुरा । ठीक भइगो नि, अलिकति घुँडामा खोस्रेको थियो, त्यो नाथे दुई दिनमा सद्धे भयो ।’

‘के गर्दै हुनुहुन्छ’ भन्दा रेडिमेड उत्तर आउँछ, ‘केही छैन, बसिएको छ, खाइएको छ, काम नै के छ र ’ ‘साह्रोगाह्रो अप्ठेरो केही छ कि’ भन्ने प्रश्नको उत्तर पनि उही हो, ‘केही छैन, एकदम राम्रो छ । केही परे त भनिहाल्छौँ नि’ आदि । कुनै पनि समस्या वा चिन्ता हामी अरु कसैका लागि चिन्ताको विषय नबनोस् भन्ने उहाँहरूको सधैंको भावना हुन्छ ।

हामीलाई बुबाआमाको वा दिदीको भन्दा पनि कतिपय शुभचिन्तक गाउँलेहरूको चिन्ता पो बढी हुन्छ । नजीकका आफन्त र छरछिमेकी भन्दा पनि अलि परपरका हितैषीहरू जसले हामीलाई अलि सतही रुपमै बुझेका हुन्छन्, तिनीहरूले हाम्रा कुरा धेरै नै काटेको सुनेको छु । साँच्चै भन्ने हो भने हामी कुरा काटिन लायक नै छौँ । हामी दस सन्तान बुबाआमाका, हामी एकजना पनि साथमा छैनौँ ।‘एकजना पनि’ चाहिँ भन्न मिल्दै मिल्दैन, दिदी साथमा हुनुहुन्छ । र दिदीका कर्म हामी बाँकी नौजनाको एक ठाउँ जोड्दा भन्दा कैयौँ गुणा बढी छ । दिदीले सबै छोराछोरीको कर्तव्य एक्लै पूरा गरिरहनुभएको छ । दिदीले हामी सबैलाई छुट्टी दिनुभएको छ । सबैलाई परदेश जान, आआफ्नो उन्नति प्रगति गर्न प्रेरणा दिनुभएको छ । हामी सबै भाइबहिनी र छोराछोरी समेतलाई । उहाँसँग पनि आफ्ना छोराछोरी कोही साथमा छैनन्, सबै देश–विदेशमा छन् । यसरी हामी सबैलाई आआफ्नै स्वार्थ पूरा गर्न छाडिदिएर कठोर शारीरिक श्रम, अनेक चिन्ताहरू र खुसीहरू आफूआफूमा बाँडेर एकदम एकनासे जिन्दगी बिताइरहनुभएको छ, दिदी, आमा र बुबा ।

एकजना शुभचिन्तकले मलाई एउटा कुरा तीनपटक जति सुनाइसक्नुभयो, उहाँ कुनै सामाजिक कामका लागि बुबालाई भेट्न जाँदा बुबा गिलासहरू माज्दै हुनुहुन्थ्यो अरे । उहाँले त्यो कुरा अरुअरु गाउँलेहरूले पनि सुन्नेगरी मलाई सुनाउनुभएको हो । खासमा त्यो उहाँले हामीलाई दवाव दिनुभएको हो, बुबाआमाको यो उमेरमा पनि तिमीहरूले बुबाआमालाई दुःख दिन्छौँ, एक्लै छाड्छौ ? सँगै बस्नु पर्दैन ? बुबाआमालाई कि उतै लानू, कि तिमीहरूमध्ये कोही यतै आएर बस्नू भन्ने उहाँको भनाइ हो । कुरा एकदम मनासिब हो ।

कामका बारेमा चाहिँ के छ भने, दिदी हुँदा भान्साका काम दिदीले गर्नुहुन्छ, हामी हुँदा हामी पनि सघाउँछौँ । कुनै कामलाई सानो ठूलो नठानी बुबा पनि गरिहाल्नुहुन्छ । हामी घरमै हुँदा पनि बुबा भान्सामा पसेर केके काम गर्दै गर्नुहुन्छ । खाना पनि एकदम स्वादिलो बनाउनुहुन्छ । खाँचो पर्यो भने भाँडै माज्न पनि अघि सरिहाल्नुहुन्छ । ती महानुभाव पुगेको बेला त्यस्तै संयोग परेछ, उहाँलाई नरमाइलो लाग्यो । हुन पनि हाम्रो सामाजिक परम्पराको आँखामा त्यो दृष्य अपाच्य नै थियो । एक लोग्नेमान्छे, दुई वृद्ध मान्छे, तीन प्रतिष्ठित पण्डित, गुरु, समाजसेवी । त्यस्तो मान्छेलाई भाँडा माज्ने जस्तो ‘निकृष्ट’ कर्म गर्न बाध्य गराउने हामी छोराछोरी त पापी नै हौँ, समाजको त्यो आँखाले हेर्दा हामी सोझै नर्क जाने भयौँ ।

तर बुबा अर्कै धातुले बन्नुभएको प्राणी हुनुहुन्छ । भन्नुहुन्छ, तिनीहरूका कुरा एक कानले सुनेर अर्को कानले उडाउनू । तिमीहरू कोही नहुँदा पनि दिदी हामीसँगै छन् । हामी पनि सद्धे छौँ, थला परेका छैनौं । केही पर्दा तिमीहरू दौडेर आइपुगिहाल्छौ । छिमेकी छन्, आफन्त छन् । त्यहीँ मास्तिर बजारमा छोरी छन्, ज्वाइँ हुनुहुन्छ । खोई केको कमी छ हामीलाई केही सामान चाहिँदा ट्याम्पोलाई भन्यो भने एकघण्टामा ल्याइदिन्छ । हाम्रो जिन्दगी जसरी जिऊँ, हाम्रो खुसी । हाम्रै वरिपरि, घरकै वरिपरि घुमेर बसेको भए तिमीहरूले आज जुन प्रगति गरेका छौ, के त्यो सम्भव हुन्थ्यो ? कोही प्राध्यापक, कोही शिक्षक, कोही न्यायाधीश, कोही साहित्यकार, कोही पत्रकार, कोही वकील, कोही के, कोही के हुन्थ्यौ ?

बुबाले यति भनेपछि हामीलाई पनि के चाहियो, दुईचार दिन घरमा पाहुना लाग्छौँ र कुदिहाल्छौँ बुबाआमा र दिदीलाई छाडेर आफ्नै संसारतिर ।
हाम्रा पनि आआफ्नै बाध्यता छन्, रहर छन् । कसैका छोराछोरीका, कसैका पढाइका, कसैका कमाइका, कसैका सहरमै बस्ने रहरका, कसैका के, कसैका के । कम्तिमा बुबाआमाले ऊ बेला स्कूल नपठाइदिएको भए, नपढाइदिएको भए, कतै बाहिर जान लाग्दा नजा, हाम्रो हेरचाह कसले गर्छ भनिदिएको भए हामीमध्ये कोही न कोही घरै बस्थ्यौँ होला । जागिर सागिर खाइँदैनथ्यो होला । खेतिपाति गरेर बसिन्थ्यो होला, अथवा जजमानी गरिन्थ्यो होला । तर अब त्यो सम्भावना पनि रहेन । हाम्रा आफ्नै घर, आफ्नै परिवार, आफ्नै छोराछोरी, आफ्नै समस्या, आफ्नै व्यस्तता, आफ्नै अफिस, आफ्नै व्यापार, आफ्नै बैठक, आफ्नै गोष्ठी, आफ्नै भ्रमण, आफ्नै के के जाति । बुबाआमालाई त मनमनमा सम्झिने, फोनमा कुरा गर्ने, सन्चो विसन्चो सोध्ने, सकेसम्म कुनै दुखको, पीरको, बिसन्चोको कुरा सुन्नै नपरोस् भनेर हतार हतार फोन राख्ने । समस्या सुनेपछि पीर लाग्छ, नसुने पछि आनन्द यता सुन्ने र पीर गर्ने अर्को पुस्ताले हाम्रो घर छाडिसकेको छ वा छाड्ने क्रममा छ । छोराछोरीलाई परदेशमा कुनै दुःख भएको सुन्दा मन भक्कानिएर आउँछ नि हामीलाई π हाम्राबारेमा सोच्दा हाम्रा बुबाआमालाई पनि त्यस्तै हुँदो हो । उखान त सुनेको हो, ‘पानी र माया ओरालोतिर बग्छ’ भन्ने, वास्तवमै हो रहेछ ।

बुबाको भन्दा हामी सबै अलि बढी चिन्ता आमाको गछौँ क्यारे । आमाको स्वास्थ्य अलि बढी नाजुक छ । खासगरी गोडा राम्ररी नटेकिने समस्या छ । आमा दुई पटक ठूला दुर्घटनामा पर्नुभयो । पहिलोपटक लडेर तिघ्राको हड्डी भाँचियो । लामो समय थला पर्नुभयो । दोस्रोपटक फेरि लड्नुभयो, त्यही ठाउँमा चोट बल्झिएर फेरि थला पर्नुभयो । अन्य शारीरिक समस्या पनि छन् तर गोडाको समस्याले आमालाई घरमै नजरबन्द जस्तै गरेको छ । फेरि आमालाई गाडी चढ्ने कुरा सम्झिँदै वाकवाकी हुन थाल्छ । आफ्नै गाडीमा बिस्तारै ८–१० किलोमिटर टाढा दमक पुगेर आउँदा पनि आमालाई उल्टी भएर लखतरान बनाएको देखेपछि जाऊँ आमा काठमाण्डौतिर भन्न पनि डर लाग्छ । आमा अन्तिमपल्ट काठमाण्डौ आएर फर्किसकेपछि हामी आमाका तीनचार जना सन्ततिले नयाँ घर बनाइसक्यौँ । आमालाई ती घर हेर्ने रहर पनि छ, हामीलाई एकपटक आमाका पाइताला हाम्रा घरमा टेकाउने रहर पनि छ, तर यात्रा सम्झनासाथ आमाका नौनारी गलेर आउँछन् । अनि कसो गर्ने π एकपटक त जसरी पनि ल्याउन पाए हुन्थ्यो । म त सम्झँदैछु, आमाले मान्नुभयो भने हेलिकप्टरमा ल्याउँ । यस विषयमा पनि हामी एकपटक सल्लाह गरौँ ल !

हामी सबैलाई थाहा छ, आमा मानसिक रुपले एकदम स्वस्थ्य, टाठो र तन्दुरुस्त हुनुहुन्छ । उहाँ जुरुक्क उठेर बिना लट्ठी, बिना वाकर ठमठम हिँड्न चाहनुहुन्छ, दगुर्न चाहनुहुन्छ । आमा एकछिन चुप लागेर बस्न सक्नुहुन्न । उहिल्यै उमेर हुँदाको जस्तै आमाको मन दौडिरहन्छ । भान्सामा पसिरहन्छ । बारीमा पुगिरहन्छ । चुलेसी, तरकारी, कुचो, नाङ्लो आमाकै वरिपरि भइरहन्छन् । बिरालाका शाखासन्तानहरु आमाका छेउछाउतिरै म्याउँम्याउँ गरिरहेका हुन्छन् । तिनीहरूलाई केही न केही चारो दिइरहनुपर्छ । बुबाको वा दिदीको आँखा छलेर आमा कहिले तोरीबारीमा पुगेर तोरी उखेल्न थाल्नुहुन्छ र केही हप्ता कम्मर दुखेर थला पर्नुहुन्छ, कहिले हँसिया बोकेर बाच्छालाई घाँस काट्न तम्सिनुहुन्छ र फेरि केही दिन बसेको बसेकै हुनुहुन्छ ।

हाम्री आमालाई दैनिक स्नान गर्नुपर्छ । आमाको स्नानगृह, शौचालय घरभित्रै बनाइदिनुभएको छ बुबाले आधुनिक कमोड राखेर, तर आमालाई आँगनतिर निस्कन मन लाग्छ । अस्तिको कुरा तपाईँहरू सबैलाई थाहा भयो कि भएन, बुबा, दिदी, दाजु, र म चारैजना दमक जानुपर्ने काम परेर गएका थियौँ, फर्किँदा त आमा टाउकामा यामानको टुटुल्को उठाएर बस्नुभएको । एक्लै भएका बेला आमा घर बाहिरको बाथरुममा नुहाउन पस्नुभएर गोडो चिप्लिएर ड्याम्मै लड्नुभएछ । हाम्रो भाग्य, धन्य कम्मर वा गोडातिर ठक्कर लागेनछ । टाउकामा ठोक्किएर ठूलो टुटुल्को उठेछ, केही दिनमा ठिक भयो । गोडा वा कम्मरतिर ठक्कर परेको भए पुरानो समस्या बल्झिएर आमा फेरि नराम्ररी थला पर्न सक्नुहुन्थ्यो । हस्पिटल भर्ना हुनु पर्ने पनि हुन सक्थ्यो । तर त्यस्तो ठूलो दुर्घटना भएन । यस्ता कुनै पनि खाले घटना कुनै पनि बेला भइरहन सक्ने सम्भावना छ घरमा । त्यसकारण पनि दिदी हरदम तिखा नजर लगाएर घरकै सेरोफेरोमा आफ्ना कामहरू भ्याइरहनुभएको हुन्छ । बुबाले पनि आमालाई निरन्तर सतर्क गराइरहनुभएको हुन्छ ।

यस्ता अनेक कुराहरुले मनमा कोलाहल गरिरहन्छन् र यो मन पनि निरन्तर उतै पुगिरहन्छ, घरकै वरिपरि घुमिरहन्छ । तर हाम्रा तन छन् कताकता छरपट्ट । कोही गौरादह बजारतिर, कोही बिराटनगर, कोही काठमाडौ, कोही भूटानतिर । जसरी उहिल्यैदेखि देश, विदेश, पहाड मधेशमा हजुरबा–हजुरआमाका सन्तानहरू छरिनुभएको थियो, त्यसैगरी हामी पनि छरिएका छौँ । अलिकति उमेर पुगेपछि (कतिजना त आठ–दश वर्षकै उमेरदेखि) परदेश लागेको हाम्रो इतिहास छ । हजुरबा, कुप्राबाकै पालादेखि पैतृक सम्पत्तिका नाममा सन्तानलाई शिक्षा मात्रै दिने गरिएको, भौतिक सम्पत्ति नदिने गरिएकोले होला हामी परिवार कहिल्यै एकैठाउँ भेला भएर बस्न पाएनौँ । दशमा दश हामी छोराछोरी र बुबाआमा समेत एकैपटक घरमा जम्मा हुनु भनेको हाम्रा लागि दुर्लभ घटना भएका छन् । त्योभन्दा मुनिको पुस्तासमेत त आजसम्म एकपटक पनि भेला भएकै छैन र कहिल्यै हुँदैन पनि होला । हामी सबै दशजना जन्मिसकेपछिको साढे चार दशकको अवधिमा दुई वा तीन पटक त्यस्तो साइत जुर्यो कि भनेपछि हाम्रा हजुरबा–हजुरआमा, बुबाआमा र हामीले पनि साथमा सन्तानहरू नभएकोमा गुनासो गर्नुपर्छ भन्ने कुरै थाहा पाएनौ कि क्या हो कसले कसलाई गुनासो गर्ने, किन गर्ने, सन्तानले हेरे हेरेनन् भनेर, सन्तान सँगै भए भएनन् भनेर हामी बुबाआमाका सन्तान पनि चालिसदेखि माथि चौसठी वर्ष उमेरका भइसकेछौँ । अझै पनि हामी बुबाआमाले पोका पारेर दिएका/पठाइदिएका गुन्द्रुक, चामल, बेसार र पिठो खाइरहेका छौँ । हामी अझै पनि केटाकेटी नै छौँ बुबाआमाका अगाडि । अब हामीले कहिले गर्छौँ होला बुबाआमाको सेवा, स्याहार सुसार । हामी कहिले बस्छौँ होला अब आमा बुबाको काखमा, कहिलेसम्म पाउँछौँ होला हामीले त्यो न्यानो छहारी , कहिले तिरिन्छ होला आमाबुबाको त्यो ऋणको भारी । हाम्रा आफ्नै दुःख कहिले सकिन्छन् होला, कहिले हामी यो व्यस्तताको चक्रव्यूहबाट बाहिर निस्कन्छौँ होला , दशजनामा सधैं एउटी दिदीको काँधमा बुबाआमाको सेवाको जिम्मेवारी बोकाएर कहिलेसम्म हामी भागिरहन्छौँ होला परपर । एस्सो फोनमा सन्चो विसन्चोका केही हरफ बोलेर कहिलेसम्म टारिरहन्छौ होला ।

चौसट्ठी वर्ष उमेरकी दिदीले समेत कहिल्यै आराम गर्न पाउनुभएन । वरपर आफन्तहरूकोमा कुनै चाडपर्व, भेलामा गएर एक रात बस्न पनि दिदीलाई फुर्सद भएन । छोराछोरीका घरतिर गएर दुईचार हप्ता, केही महिना बस्ने घुम्ने अवसर पाउनुभएन । हामीले जानीबुझीकन थाहा नपाए जस्तो गरेर दिदीलाई समेत बन्धनमा राखेर छाडेका छैनौँ त ? युवा उमेरमै जीवनसाथी गुमाएर एक्लै कठोर संघर्ष गर्दै आउनुभएकी दिदीको त्यो परिस्थितिको फाइदा पो हामीले उठायौँ कि जस्तो लागेर पनि कहिलेकाहीँ मन बाउँडिन्छ मेरो । भिनाजु हुनुभएको भए दिदी कहाँ कहाँ पुग्नुहुन्थ्यो होला भन्ने पनि लाग्छ, तर अब त्यो कुरा एक निरर्थक कल्पना मात्रै भइसक्यो । खाली कतै हामीले दिदीमाथि अन्याय गरिरहेका छौँ कि भन्ने लागेर यति कुरा लेखेँ । बढी लेखेको भए क्षमाप्रार्थी छु । तर हामीले यो जुनीमा दिदीको गुण, दिदीको योगदान, दिदीको मार्गदर्शनको मूल्य तिरेर सक्ने छैनौं । उसो त हामीले तिर्न थालेका पनि छैनौँ । के गरेर तिर्न सकिन्छ, त्यो पनि हामीलाई थाहा छैन । यो कहिल्यै नतिरिने भयो ।

हामी बेलाबेला आमाबुबा यतै काठमाण्डौतिर आउनुभए पनि हुन्थ्यो पनि भन्छौँ । यो हामीले आफ्नै स्वास्थ्यका लागि भनेका हौँ । यता आएर बसेदेखि हामीले उता गइरहनुपर्ने थिएन । ढुक्क हुने थियो । तर, उहाँहरू यता आइदिनुभएन भन्नुको के अर्थ छ ? किन आउनु ? के कर छ ? तीसौँ, चालिसौँ वर्षदेखि एक्लै र स्वतन्त्र बस्नुभएको छ । गाउँको स्वच्छ सफा र हराभरा वातावरणमा बस्नुभएको छ । एकप्रकारले त्यो एक्लोपन पनि प्रिय होला । त्यो गाउँ प्रिय होला, त्यो घर, त्यो बाटो, ती आफन्त र गाउँलेहरू, त्यहाँको हरियाली, हावा, बोटबिरुवा, गाईबाच्छा, बिराला । यत्रा वर्ष बिताउनुभयो, अब यो वयोवृद्ध उमेरमा गाउँ छाडेर शहरको एक घरको एक कोठामा बन्दी हुन किन आउनुहुन्छ ? हामी छोराछोरी, बुहारी, नातिनातिना मध्ये कसैले पनि कुनै शब्द वा संकेतले वा व्यवहारले अलिकति पनि मन दुखाउने काम गर्यौँ भने …, मलाई त यस्तो कुराको पनि डर लाग्छ ।

हामी आफ्नै सुविधा मिलाएर मात्रै बुबाआमालाई भेट्न जाने गरेको कुरा पनि सत्य हो । यो महिना आउँछु भनेको थिएँ, तर यहाँ यो भयो, त्यहाँ त्यो भयो, एउटाले यसो भन्यो, अर्कोले त्यसो भन्यो, आउन पाइनँ । आगामी महिना पक्कै आउँछु । तर त्यो भयो भने चाहिँ आउन नपाउने हुँ कि विदेश जाने चानस पाइने जस्तो छ, एउटा कार्यक्रम होला जस्तो छ, एउटाले पैसा दिउँला भनेको छ, छोराको गाडीको ट्रायल पर्ने हो कि, त्यो नबिकेको घडेरी बिक्ला बिक्ला जस्तो भएको छ, छोरीको वर्थडे मनाउने भनेर कचकच गर्दैछे, मेरो दाँतमा समस्या आइराछ, उनको अफिसले छुट्टी दिँदैन । इत्यादि ।

आमा बुबालाई के छ के छ तर हामीलाई नै सुगर छ, हामीलाई नै प्रेसर छ, ढाड दुख्ने छ, घुँडो खिएको छ, थाइराइडले सताएको छ, डाक्टरकोमा नाम लेखाएको छ, थेरापी छ, यस्तो छ त्यस्तो छ । त्यस्तो केही नपरे म पक्कै आउँछु भनेर हामी भनिरहेका छौँ । वास्तवमा त्यसो पनि किन पो भन्नु परेको छ र , आमाबुबालाई थाहा नभएको हो र हाम्रा बहानाबाजीका विषयहरू , अथवा यसलाई व्यस्तता नै भनिदिऊँ न । अनि हामी नजाँदैमा वा आउन नसक्ने भएँ भन्दैमा कहिले पो गुनासो गर्नुभएको छ र , कहिले पो कुनै स्पष्टीकरण सोध्नुभएको छ र ? तर पनि हाम्रो काँतर मन, स्पष्टीकरण दिइरहन्छ । जान नसक्नुको कारण पेश गरिरहन्छ ।

ख्याल गर्नुभएको होला, अचेल बेलाबखत हामीले घर छाड्ने बेलामा आमाको आँखामा आँसु देखिन थालेको छ । अस्वस्थ्यता र बुढ्यौलीपन बढिरहेको छ । सायद अझै केही दिन सँगै बस्न पाए हुन्थ्यो भन्ने लागेर होला । ठूली भाउजू अष्ट्रेलिया, दाजु एक्लै काठमाडौंमा, तपाईंहरूकी बुहारी/भाउजू बुटवलमा म यता केटाकेटीसँग काठमाडौंमा, साइँली बहिनी बिराटनगरमा, ज्वाइँ भान्जा काठमाण्डौमा, यस्ता कुराले पनि अमालाई दुखी बनाउँदो रहेछ । मसँग केही पटक यस्ता विषयमा आमासँग कुराकानी हुँदा त्यो महशूस गरेको थिएँ । छोरा बुहारी वा छोरी ज्वाईँले छुट्टिएर बस्नु परेको देखेर, नातिनातिना कता कता विदेश पुगे, देख्न भेट्न पाइएन भनेर, छोराछोरीहरू आउँछन् दुईचार दिन बस्छन्, जान्छन्, फेरि कहिले आउँछन् आउँछन् । यस्तै यस्तै के के कारणले होला आमालाई पिर लाग्ने भन्ने म अनुमान गर्छु । आमा पहिला पहिला हामी हिँड्ने बेलामा हाँसीखुसी नै विदा गर्नुहुन्थ्यो, राम्ररी जानू, पुगेर खबर गर्नु भन्नुहुन्थ्यो । अक्षताका टीका लगाइदिनुहुन्थ्यो । अचेल हामी हिँड्ने बेलामा भित्र कोठातिर पस्नुहुन्छ । ‘गएँ है आमा’ भन्दा मसिनो स्वरले ‘लौ’ भन्नुहुन्छ, त्यति हो ।

चिठी लामो भयो । चिठी लेखेपछि मन हलुका हुन्छ कि भनेको झन् भारी भयो । आज अचानकै यसरी चिठी लेख्नुको पनि विशेष कारण छ, म त्यो कारण खोल्छु । ठूल्दिदी क्यानाडा जाँदै हुनुहुन्छ अबको केही दिनमा, माइला र कान्छा भान्जा परिवारको निमन्त्रणमा । छोराबुहारी, नातिनातिना भेट्न, घुमघाम गर्न । दिदी नहुँदा हामी कोही न कोही बुबाआमासँग साथमा हुनैपर्छ र हामी छौँ माथि उल्लेख गरेका अनेक समस्यामा अल्झिएर कताकता हराइरहेका स्वार्थी सन्तानहरू । जतिसुकै बिते पनि हामीले अबको चार पाँच महिना बुबाआमालाई साथ दिनु नै पर्नेछ । दिदी जानु अघि हामीले एउटा रुटिङ बनाउनु छ । कुन महिनाको कति दिन को बस्ने घरमा , अब हामी त्यो बनाउनेछौँ । त्यसको जानकारी घरमा दिनेछौँ, खासगरी दिदीलाई दिनेछौँ । ता कि दिदीको मनमा ढुक्क होस्, भाइबहिनीले बुबाआमालाई एक दिन पनि साथ छाड्ने छैनन् । दिदीको क्यानाडा प्रस्थान र बसाइ एकदम निश्चिन्तको हुनुपर्छ । दिदीले चाहेजति त्यहाँ बस्न र घुम्न पाउनुहोस् । हामी सबैलाई थाहा छ, बुबाआमाको सबैभन्दा धेरै चिन्ता गर्ने दिदी नै हुनुहुन्छ । अब दिदीको चिन्ता दूर गर्ने जिम्मा हाम्रो भएको छ ।

आजलाई यतिमै कलम बन्द गर्छु । कलम भन्दा पनि ल्यापटप बन्द गर्छु । मेसेन्जर वा मेल मार्फत् म यो तपाईंहरू सबैलाई पठाउने छु । चिठी लेखिसकेर पढ्दा यो त हाम्रो परिवारको निजी मामिला वा समस्या मात्रै नभएर हामी जस्तै धेरैधेरैको साझा अवस्था पनि हो कि झैं लाग्दैछ । त्यसैले यसलाई कतै प्रकाशन गरेर सार्वजनिक गरेँ भने पनि अन्यथा नमानिदिनु होला । लौ त, प्रत्युत्तरको आशा राख्दै बिदा हुन्छु । बाँकी भेटमा ।

तपाईंहरूको प्यारो भाइदाजु

– साइँलो ।