गाउँमा एक जना दाजै छन् । कस्तै अवस्थामा पनि उनलाई विचलित बनेको देखेको छुइनँ । जस्तै संकटका घडीमा पनि उनी शान्त रहन्छन् । जस्तै विपतका घडीमा पनि उनी धीरज राख्छन् । उहाँको जीवनमा अनेकन शोकका घडीहरु आएका छन्, ती क्षणमा पनि उहाँलाई अकम्प अविचल देखेको छु । शौखको घडी होस् या शोकको घडी होस् दुवै अवस्थामा एकनास मुद्रामा रमण गरिरहेको देख्छु ।

जीवनका कस्तै प्रतिकूलताले पनि उनलाई आजसम्म डम्मगाउन सकेको छैन । कष्टका अनन्त कहरले पनि उनलाई छुन सकेको छैन । केही समयको अन्तरमा पहिले पत्नी गइन् । फेरि आमा गइन् । फेरि हुर्के बढेको छोरा गयो । मानिसलाई त्यो भन्दा ठूलो वियोग के हुन सक्छ । वियोगका ती कारुणिक क्षणमा पनि उनी समालीनसक्नु रुपमा रोएनन्, कहालिएनन्, आलापविलाप गरेनन् । जसरी एक भयानक आँधी आएर फूलवारीका फूल लछारपछार पार्छ । फूलका डालीहरु चुडाउँछ । फूलका हाँगाहरु लछार्छ । त्यो घडी फूलको मालीले साक्षी भावले चुँडिएका फूलहरु हेरिरहेको छ । लछारिएका हाँगाबिगाँलाई समाली रहेछ । घाउमा मलमपट्टी गरिरहेछ ।

आशक्तिवश जिउ छाडेर रोदन–क्रन्दनको दहमा उनी पौडी खेलेनन् । भन्नलाई कति मान्छेले यिनलाई कठोर मनको मान्छे पनि भने । भन्नलाई कति मान्छेले दरो मन र मुटु भएको मान्छे पनि भने । कतिले निष्ठुरी पनि भने । कतिले हृदयहीन पनि भने । कतिले छातीमा पत्थर भएको मनुवा पनि भने । तर कसैको भनाइप्रति पनि उनले पर्वाह गरेनन् । कसैको राम्रो टिप्पणी होस् या नराम्रो टिप्पणी होस्, त्यतातिर ध्यान दिने फुर्सतै रहेन । आफ्नो कर्तव्य के हो ? आफ्नो जिम्मेवारी के हो ? त्यसको निर्वाहामा सुरुसुरु लागिरहे ।

म उनलाई कठोर र निर्दयी छन् भनी मान्न तयार छुइँन । चाहे त्यो छोराछोरीको निम्ति गरेको उनको कठोर त्याग र संघर्षको कुरा होस् । चाहे पत्नि थलिएपछि उनको स्याहार सुसारमा दिनरात खटेको कुरा होस् । या गुहु मुत थलाको थलै भएकी आमालाई उनले वर्षौँ गरेको सेवाचाकारको कुरा होस् । काहीँ पनि उनले आफ्नो तर्फबाट गर्नु पर्ने सेवासुश्रुषा र कर्तव्यलाई रौं बराबर पनि कमी हुन दिएनन् ।

घरपरिवारका निम्ति त उनी सुयोग्य र मायालु पुत्र, पति, पिता, थिए । छरछिमेक र टोलका पनि सहयोगी सेवक र भरोसा योग्य संरक्षक थिए । छरछिमेकको लागि पनि यिनको समर्पण र खटाइ बेजोड थियो । परेको बेला अरुलाई आफ्नो आधा मासु काटेर दिएको पनि थाहा पाउदैनन् ।
दुःख र वियोगमा त यिनी रत्तिभर डग्मगाएन । सफलता र खुशीका क्षणमा पनि यिनी उत्तेजित बनेको दुखेको छैन । स्वभावैले मान्छे दुःखमा रुन्छ । सुखमा हाँस्छ । पीर परेको बेलामा अत्तालिन्छ । खुसीको बेला उमङ्गले चिउचिउ बन्छ । जीवनले सफलताका उत्कर्षहरु छोएको घडी पनि यिनी कहिल्यै भूइँमा न भाँडामा बनेनन् । सुखलाई पनि शान्त र समभावका आँखाले हेरिरहे । दुःखका क्षणलाई पनि तिनै आँखाले हेरिरहे ।

पुण्य कार्की

उनका जीवनमा छाएको विचित्र सम्यकत्वले मलाई भित्रैबाट विमोहित गर्छ । आकर्षण गर्छ । कारण उनकै अगाडि कसैले उनको निन्दा बखानेपनि मतलव छैन । प्रशंसाको पुल कसे पनि कुनै चासो छैन । यिनले कस्तो मनोदशाको शिखर आरोहण गरिरहेका छन् । म अलिकति पनि भेउ पाउन सक्तिन । यिनको स्वभाव हेर्दा कतिपय क्षण् त यस्तो लाग्छ, यिनी मान्छेको तलमा बाँचिरहेका छैनन् । अर्कै तलमा पो बाँचिरहेका छन् । नत्र स्वभाविक रुपका मानवीय राग द्वैष, तृष्णा, आशक्ति, माया, मोह, क्रोध, ई ष्र्या र संघर्षका केही न केही भाव हुनुपर्ने हो । फेरि पनि यिनी यही समाजमा छन् । परिवारमै छन् । घरसंसारमै छन् । पेशा र काममै छन् । आफ्नो एउटा काम पनि छोडेका छैनन् । र पनि यिनी फेरि यो संसारबाट निकै टाढा पुगिसकेको अनुभूति मिल्दछ ।
गाउँमा यिनलाई पनि पढाउने एक वृद्ध गुरु छन् । गुरुले पनि यिनलाई खुब मान्छन् । गुरुलाई पनि यिनी खुब मान्छन् । सम्मान गर्छन् । मेरो मनमा धेरैदिन देखिको एक जिज्ञाशा थियो । जुन ती वृद्ध गुरुसित सोध्न चाहन्थेँ ।
“पत्नी आमा छोराको मृत्युमा यी दाजै किन रोएनन् गुरुबा ?”

गुरुले भने –“किन रोएनन् सुन । मान्छे दुई थरिका हुन्छन् एउटा काँचो इँटा जस्तो अर्का पाकेको इँटा जस्तो । तिमी हामी संसारी मान्छे काँचो इँटा जस्ता छौँ । यिनी भने काँचो इँटा होइनन्, पाकेको इँटा हुन् । यो जगत्मा विरलै मान्छेहरु पाकेको इँटा जस्ता हुन्छन् । नत्र त सवै काँचै इँटा हुन् ।”
उनी अर्थका निहित संकेतहरु उधिन्दै गए, म सुन्दै गएँ । काँचो इँटा पानी पर्यो भने फुट्छ, गल्छ, चर्किन्छ । पानीले यसलाई खण्डित गरिदिन्छ । पानीले यसलाई पगाली दिन्छ । तर पाकेको इँटालाई हजारौँ वर्षको हावा, हुरी होस्, असिना पानी होस्, त्यसले गलाउन सक्तैन । त्यसले पगाल्न सक्तैन । त्यसले चर्काउन फुटाउन सक्तैन । तिमी मोतीगडाको खण्डहरमा गएर हजारौँ वर्ष अघिको इँटा हेर या लुम्विनी र कुशिनगर गएर त्यहाँको वुद्धकालीन पर्खालमा जडित पुराना इँटा हेर । ती इँटाहरु पानीले कहिल्यै गलेनन् । ती इँटाहरु घामले कहिल्यै चर्केनन् । आज हजार हजार वर्षपछि पनि यथावत रुपमा तपिरहेका छन् । चम्किलो आभा फिँजाएर खपिरहेका छन् ।

सानो दुःखमा रुने कराउने मान्छे, सानो कष्टमा कोकोहोले मच्चाउने मान्छे, सानो विपतमा आत्तिने मान्छ काँचो इँटा हुन् । जीवनका जतिसुकै ठूला विपत्ति, आँधी हुरी, हुण्डरी र चोटसित किञ्चित नगल्ने मान्छेहरु पाकेका इँटा हुन् । तिमीलाई थाहा छ । काँचा इँटाले आगोको राप भेटेकै हुँदैनन् । काँचा इँटाहरु अग्नितापबाट सयहात पर छलिएर रहेका हुन्छन् । तर पक्का इँटाहरु आगो भट्टीमा आगो पिएर राताराता बनेका हुन्छन् । पाकेको इँटा तुल्य मान्छे पनि जीवनको भट्टीमा संघर्षको आगोले हजारौँ डिग्री सेन्टीग्रेडमा तातिएर, रापिएर, पोलिएर राताराता बनेका हुन्छन् ।

पाकेका इँटा तुल्य मानिसका भित्री तरंगहरु शान्त भएर ऊ निस्तरंग मनोदशामा पुगेको हुन्छ । अब उसलाई कुनै पनि दुःख कष्ट र शोक पीडाले तरंगित गर्न सक्तैन । उसको हृदय मात्र होइन, नख शिखान्त सवै ठाउँ अकम्प स्थितिमा अडिग बनिसकेको हुन्छ । त्यही कारण तिम्रा दाजै शोकका घडीमा पनि रोएनन् भन्ने मेरो ठहर छ नानी ।”

गुरुका कुराले मेरो मनलाई पनि थोरै उज्यालो बनायो । गुरुले अर्का गुह्य कुरा पनि खोले –“हेर नानी ! जब मान्छेले अनावश्यक पकड छाड्दै जान्छ । अनावश्यक लालचा विसर्जन गर्दै जान्छ । ऊ क्रमशः दिन प्रतिदिन पाक्तै जान्छ । जतिजति ऊ पाक्तै जान्छ । त्यतित्यति उसलाई प्रकृतिले नै रेखदेख गर्न सुरु गर्छ । संसारको निपट क्षुद्रता छोडेपछि अक्षुण्ण बन्न थाल्दछ । सोच्ने देखभालको व्यवस्था स्वयम् अस्तित्वले आफ्नो हातमा समाल्दछ ।”

सुन एउटा हरिणको कथा म भन्छु– “जंगलमा एक गर्भिणी हरिणलाई प्रशव वेदनाले च्याप्यो । सुत्केरी व्यथा लागेपछि जंगलबाट अत्तालिदै खोला किनारमा झरी र लम्पसार बनी । त्यहाँ चौरी पनि थियो । नदी पनि बगिरहेको थियो । चौरीमा पल्टिरहेकै बखतमा पश्चिमतिरबाट एक व्याधाले बन्दुक ताक्यो । पूर्वतिरबाट एउटा हिंस्रक बाघ उसलाई झम्टिन तयार थियो । उता दक्षिणतिरको जंगलमा त्यहीबेला डँढेलो सल्केर अग्निज्वालाले सिंगो बन लपेटिएको थियो।

उत्तरतिर खोलो बगिरहेको छ । चारैदिशा उसको निम्ति भयानक बनेर उभिएका छन् । सुत्केरी व्यथाले आक्रान्त त्यो हरिण चौतर्फी सङ्कटहरूले घेरिएकी छ । एकातिर प्रशव वेदनाको पीडा छ । अर्कातिर कुनै पनि दिशा भागेर जाने ठाउँ छैन । एकातिर बाघ छ । अर्कातिर व्याधा छ । अर्कातिर आगोको ज्वाला छ । अर्कातिर नदीको भेल छ । ऊ एकदमै आत्तिई । सहाराविहीन बनी । अब बाँच्ने कुनै उपाय रहेन । बाघबाट हो कि व्याधाबाट हो ? भन्ने कुरामात्र बाँकी रह्यो ।

त्यस संकटको अतिशय दुर्लभ क्षणमा उसको बाँच्ने लालसा पनि सकियो । आशा पनि सकियो । आँखा चिम्लेर आकाशलाई, प्रकृतिलाई आफ्नो जीवन समर्पण गरी । आकाश धुम्मिएको थियो । गड्याङ्गुडुङ मल्याक्मुलुक बिजुली चम्किरहेको थियो ।

यता बाघ पनि पूर्वादिशाबाट उसलाई झम्टिन तयार थियो । त्यसको विपरित दिशाबाट शिकारी पनि बन्दुक हान्न तम्तयार अवस्थामा थियो । सोही बखत झिलिक्क बिजुली चम्केर चट्याङ्ग हान्यो ।

शिकारीले पड्काएको बन्दुक चट्याङ्गको आवाजले असन्तुलित बन्छ । फलस्वरुप मृगलाई लाग्नुको साटो उतापट्टीको बाघको छातीमा लाग्छ । बाघ मुर्छा पर्छ । एकातिर बाघ मुर्छा पर्छ । अर्कातिर चट्याङ्ग लागेर शिकारी मुर्छा पर्छ । सोही बेला आँधीहुरीपनि आउँछ । आँधीले यामानको रुख लडाइदिन्छ र नदीको वल्लो किनाराबाट पल्लो किनारासम्म तेर्सो पारिदिन्छ । अर्थात् नदीमा रुख ढलेर पुल बन्छ । अब मरेँ भनेर आँखा चिम्लेको हरिण, आफूलाई पूर्णरुपमा प्रकृतिको काखमा समर्पण गरेको हरिण, किन मृत्यु ढिला भो भनी आँखा खोल्छ ।

आँखा खोल्दा देख्छ एकातिर शिकारी चटयाङ्ग लागेर मुर्छित छ । बाघ पनि गोली लागेर ढलिसकेको छ । जंगलको आगो पनि बर्षातले निभ्दै गएको छ । भाग्ने दिशा हेर्दा खोलामा रुख लडेर पुल टाँगिएको छ । हरिण सकल अस्तित्वप्रति आभारी बन्दै त्यही रुख तेर्सिएर बनेको पुलबाट खोलो तर्छ र सुरक्षित जग्गातिर बाटो लाग्छ ।

सुन नानी, यदि हरिण सुरुमै आत्तिएर भाग्न संघर्ष गर्न खोजेको भए, त्यो कोही न कोहीबाट अवश्य मारिने थियो । तर उसले आखिरमा आँखा चिम्लेर स्थीतप्रज्ञ बन्यो । जसले गर्दा उसलाई जोगाउन प्रकृति स्वयम् अगाडि सर्यो । पाकेका इँटाजस्ता मान्छेहरु आफ्नो मर्जीबाट भन्दा पनि प्रकृतिको निसर्ग लयबाट चल्दछन् । अस्तित्वको आदेशअनुसार कर्म गर्दछन् । तर सबै मान्छे यो स्थितिमा पुग्न पनि सक्तैनन् । त्यसरी बाँच्न पनि सक्तैनन् । तिम्रा दाजैले चाहिँ त्यो प्रज्ञा हासिल गरिसकेको मेरो अनुमान छ ।”

गुरुका कुराले म अवाक् बनेँ । त्यो दिनदेखि दाजैलाई पाकेको इँटाको बिम्बका हेर्नथालेँ ।