“तमोसो मा ज्योतिर्गमय:” वेदको निकै मननीय र अनुकरणीय वाक्य हो । अँध्यारोबाट प्रकाशतिरको यात्रा ।

हरेक व्यक्तिले यो वाक्यलाई मनन् गरेर आफ्नो दिनको श्रीगणेश गर्न सक्यो भने जीवन साँच्चै उज्यालोको मार्गमा दौडिन्थ्यो होला । हामीहरूले वेदको यो वाक्यलाई गहिरिएर अध्ययन, मनन र अभ्यास गर्न जरुरी छ । बेहोसबाट होसतिरको यात्रा गर्नुछ। असम्भवबाट सम्भावनाको ढोका उघ्रार्नु छ । नकारात्मकताको गल्छीबाट सकारात्मकताको सगरमाथा उक्लनु छ ।

“तमसो मा ज्योतिर्गमय:” विराट शीर्षक राखेर टीकाराम यात्रीले एउटा निकै लोकप्रिय कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । प्रायः हामी सबैलाई यो कार्यक्रम मन पर्छ । कतिपय अतिथिहरूको कुराले हृदय छुन्छ, आँखा रसाउँछ । कार्यक्रममा आउने अतिथिहरू महत्त्वपूर्ण र विशेष त हुने नै भए । पृथक् क्षेत्रका विज्ञहरूलाई कार्यक्रममा ल्याइने हुँदा कार्यक्रमले लोकप्रियता निकै बटुलेको छ । प्रायः सबै कार्यक्रम हेर्ने गर्छु । टीभीबाट हेर्न नभ्याए युटुबाट पनि खोजीखोजी हेर्छु । कार्यक्रम निकै ज्ञानवर्द्धक र बौद्धिक लाग्छ ।

कार्यक्रम सञ्चालक टीकाराम यात्री आफैँमा एक अब्बल र लोकप्रिय पत्रकार हुन् । यो कार्यक्रमको लोकप्रियता बढ्नुमा यात्रीको भूमिका अहं छ भन्दा म गलत हुन्न होला ? यात्रीलाई सुन्दाहेर्दा उनको शालीनता, बौद्धिकता, स्थिरता, भाषाको पक्कड अनि बेजोडको प्रस्तुतिले हामीहरूलाई लठ पार्छ । यसै सन्दर्भमा भर्खरै दुईवटा हृदय छुने अन्तर्वार्ताहरू आए । ढाका मोहोन अधिकार र हर्क साम्पाङको । छोरीहरूलाई पनि हेर्न अनुरोध गरें । हामी बुढाबुढीले त पद्मासन लगाएर हेर्यौँ ।

निपेश ढाकालाई सुनेपछि मस्तिष्क रन्थनियो । मातृभूमिमा खुट्टो दह्रो पारेर जो युवापुस्ताहरू विदेश पलायन हुने सपनामात्र पालेर बसेका छन्, तिनीहरूले यो कार्यक्रम हेरून् । सिकून् । अनि समस्यैसमस्याले गाँजेको मातृभूमिलाई समाधानका नयाँ नयाँ उपाय र योजनाहरू निर्माण गरेर सिँगारून । बौद्धिक जमातहरूले पनि हेरेर चिन्तनशील बनून् र आ-आफ्नो क्षेत्रबाट केही न केही गरून् ।

अनिता काेइराला

पचास लाखको गाडी चडेर हुइँकिएका भद्रभलाद्मी पानी खाएर बोतल झ्यालबाट फुत्त बाहिर फालेर दिक्क भएर बोलेको सुनेको छु – “यो देश त खतम भयो, अब यहाँ केही हुदैन । सबै चोरैचोर छन् । इमानदार कोही छैन । काठमाडौँ फोहोरको सहर भयो । भ्रष्टाचार व्यापक छ । जतासुकै देश घिच्न पसेका सलह मात्रै छन।”

मलाई भाउन्न होला जस्तो हुन्छ त्यस्ता सम्भ्रान्तहरूलाई देखेर । यस्ता निराशाजनक सोच बोकेका देशप्रेमीहरूले अझ नछुटाई हेर्न र कान खोलेर सुन्नु अनुरोध गर्छु । केही गर्न नसके पनि कम्तिमा बाहिरफेर हिँड्दा प्लास्टिकका खोलहरू बाटोघाटो र सार्वजनिक गाडीमा अरूले त फालेका छन् भनेर नफ्याँकौँ ।

अहिले देशमा दुई चार जनाले तरङ्ग ल्याएका छन् । यही हो परिवर्तनको सङ्केत । नागरिकहरू सचेत भएका छन्, अब हाम्रालाई होइन राम्रालाई नीतिनिर्माणको तहमा पुर्‍याउनै पर्छ । हरेक क्षेत्रमा युवाहरूको उपस्थिति हुनै पर्छ । यस्तै विचार बोकेर यो कार्यक्रममा आएका अतिथिहरूको प्रसङ्ग फेरि जोड्छु ।

म्यादी प्रहरीमा सामेल भएर चिनिएका एक शिक्षित युवा, जो कामलाई पूजा ठान्छन् । उनको आदर्श भाषणमा मात्र सीमित छैन, कर्म गरेर देखाएका छन। त्रिभुवन विश्वविद्यालयबाट गणित विषयमा स्नातकोत्तर, जर्मनीको म्यूनिख विश्वविद्यालयबाट विज्ञान विषयमा उच्च शिक्षा हाँसिल गरेका, विश्वका अठार देशको भ्रमणका साथै व्यवस्थित शहरीकरण विज्ञ निपेश ढाका उर्फ ढाका मोहन अधिकारी । अन्तवार्ता सुनेर म रोएँ । यस्तो पनि सोच अझ जीवितै छ ? जङ्गलको आगो निभाउन आफ्ना पखेटामा पानी लिएर आउने चराको कथा त धेरै पहिले पढेको थिएँ । कोसिस गर्दा सम्भव केही छैन भन्ने अटल विश्वास, सकारात्मक सोच र कामहरू लिएर उनी नेपाली भूमिमा सक्रिय छन्। दुईवटा विषयमा डिग्री गरेका, व्यस्थित शहरीकरण विज्ञ र छ हजार विद्यार्थीहरूका आदरणीय शिक्षक हुँदा कसैले नचिनेको व्यक्तिलाई म्यादी प्रहरीको बर्दीले हामीमाझ सुपरिचित बनाइदियो ।

हामी आधुनिकताको नाममा होस् या पुरातनवादी सोचको नाममा होस्, सम्पन्नताको नाममा होस् या गरिबीको नाममा, हामी बढी नै निराशावादी हुँदै गएका छौंँ। सायद परिस्थितिले गर्दा पनि होला । हामीहरूलाई अरूको काम, कर्तव्य र धर्म सबै थाह छ । अफसोच ! आफ्नो काम, कर्तव्य र धर्मचाहिँ सबैले भुलेका छौँ अनि भौतारिँदै निराश भएका छौँ । हामीहरू कामलाई सम्मान गर्न जान्दैनौँ । आर्थिक घाटाको समाचार हरेक दिन सुन्छौँ तर बिलासिताका सामानहरू किन्न छोड्दैनौँ । सिकेको कुरा व्यवहारमा उतार्न सक्दैनौँ । परिवर्तनको सुरुवात सबैले आफूबाट गरौं अनि हेरौं त ?

काम सानो वा ठूलो हुँदैन भन्ने चर्को नारा लगाउँछौंं तर मैदानमा जान धेरैलाई गार्‍हो पर्छ । निपेश ढाकाले नारालाई नारामा मात्र सीमित हुन दिएनन्, कार्यान्वयन गरेर देखाइदिएका छन् । पढेको मान्छे हुँ भन्दैमा गजक्क परेर बस्नु पर्दैन, प्रमाणपत्र त सबैको गोजीमा हुन्छ तर वास्तविक शिक्षित धेरैपछि ढाका मोहन अधिकारमा देखेंँ । निपेशले जिराफको उदाहरण दिँदै अभिभावकहरूलाई अपिल गरेका छन् – आफ्नो सन्तानलाई काम गर्न सिकाऊ, काम ठूलो होस् या सानो । उनी भन्छन्, “निपेश ढाका कुनै दिन जुत्ता पोलिस गर्दै गरेको देख्नुभयो भने छक्क नपर्नु होला, त्यहाँ कामलाई मात्र हेर्नु होला।” सलाम छ निपेश ढाकाको सोचलाई । यदि यो सोच नयाँ पुस्ताहरूमा भाइरल हुने हो भने देशले साँच्चै समृद्धिको शिखर चुम्नेछ ।

विडम्बना प्रायः नयाँ पुस्ताहरू जम्मै देश छोड्ने अभियानमा छन् । कोही जीआरई, टोफल त कोही डीभीको आशमा छन् । परिस्थिति पनि उस्तै छ । झन्झट, झमेला, ढिलासुस्ती खेप्दाखेप्दै सबै निराश भएका छन् । विदेशमा बरू भाँडा माझेर बसिन्छ यहाँ केही हुँदैन भन्ने मानसिकता महामारीको रूपमा फैलिएको छ ।

समृद्ध नेपालको अभीसाप राजनीति अस्थिरता नै प्रमुख हो । सानैदेखि सुनेको युवा भनेका देशका कर्णधार हुन्, देश हाँक्ने मजबुत काँधहरू हुन् तर ती युवा परिस्थितिले विछिप्त र लाचार भएको देख्दा उकुसमुकुस हुन्छ । यो कार्यक्रम सुन्दै जाँदा निपेश ढाकालाई सलाम गर्न मन लाग्यो । निपेश ढाका भन्छन् – “चालीस दिनमा सिकेको अनुशासनको पाठ, कपडा, खाना, बर्दी, पहिचान र चालीस हजार रुपैयाँ दिएको छ, यो सानो रकम होइन ।” उच्च महत्वाकांक्षा राख्ने जमातमा यूरो देखेर बसेको एउटा केटो रुखासुखा देशमा केही गरौँ भन्ने भावले फर्कियो, के यो सकारात्मक पाटो होइन ?

अब हर्क साम्पाङ्को कुरा गरौँ । सामाजिक हित र उन्नतिका खातिर एक्लो बृहस्पति भएर धरानको रोडरोड विश्वासको महासागर हृदय बोकेर दुगुरिरहे । साँच्चै हृदयमा इमानदारी, काँधमा जिम्मेवारी र मस्तिष्कमा सम्झदारी भए असम्भव के नै रहेछ र ? बादलमाथि चाँदीको घेरो धरान, काठमाडौ र कैलालीमा देखियो । सादा जीवन र उच्च विचारको नारा हामी सबैले घोकेका छौँ तर हर्क साम्पाङले चरितार्थ गरिदिए । हर्क साम्पाङको जीवनशैली, सोच, विचार सुनेर उनीप्रति अगाध श्रद्धा जागेको छ । प्रार्थन गर्छु, उनको सोच पूरा होस् । उनलाई सबैको सहकार्य प्राप्त होस् । आशाको दियोमा तेल थप्ने काम सबैबाट होस् ।अब यस्ता युवाहरूको सोच र लक्ष्यलाई तुहाऊन राजनीतिको फोहोरी खेल कसैले नखेलून् ।

हर्क साम्पाङको सादगी देखेर आजका जमातलाई सम्झन विवश भएँ । चालीस लाखको गाडी चढ्दा होस् या चालीस हजारको मोबाइल बोकेर हिंँड्दा, कोही खुसी छैनौँ । मान्छेहरू सम्पन्न भएर पनि दुखी छन् । असन्तोषले भ्रष्टाचार मौलाएको छ। अनुसार हरएको छ । इमानदारी लोपोन्मुख हुन लागेको छ । निपेश ढाका भन्छन् युवाहरूले त म्यादी प्रहरीमा निशुल्क सेवा गरेर जीवन जीउने काइदा र अनुसार सिक्नु पर्ने हो । चीन, कोरिया लगायत अन्य मुलुकहरूमा विद्यार्थीहरूलाई सैनिकको तालिम अनिवार्य गरिन्छ । जे होस सकारात्मक कुरा र कामको अभ्यास हुन्छ भन्ने आशमा बालेन साह, हर्क सम्पाङ, गोबिन्द हमाल नयाँ जोस र जांगर लिएर नेपाल आमाको चहर्‍याई रहेको घाउमा मल्हम लगाउन आएका छन् । नवनिर्वाचित नगर प्रमुखहरूलाई हार्दिक बधाई तथा शुभकामना सहित “मेरो सपनाको नेपाल” कविताबाट केही कविताका अंश सप्रेम भेट गर्न चाहन्छु।

यस्तो छ मेरो सपनाको नेपाल
जहाँ अंन्धकारमा सबै हराएका छन्
धम्की र आडम्बरले सबै डराएका छन्
भविष्यको धमिलो चित्रलाई नियाल्दै
कोही यहाँ अमिलो अचार भएका छन्
स्तब्ध अनि स्थिर छ त्यो नेपाल
जसलाई समयको कैयौँ वेगले गिजोलेको छ
मनका हरेक रोगले पिरोलेको छ
सिकिस्त छ त्यो न
अशान्तिको बाढी अनि भेलमा
तैरिएर रोएको बालकजस्तै
अनकन्टार छ त्यो नेपाल
बडो अचम्मको छ, मेरो सपनाको नेपाल
त्यहाँ देश घिच्न ढुकेर बसेका
जिउँदा लासहरू छन्
तर पनि अझै नेपाल बाँचेको हेर्ने चाहने
करोडौं आशहरू छन् , करोडौं आशहरू छन्।

कवि- मीमांसा ढुङ्गेल