साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

निबन्ध : प्रेमको पर्खाल

पर्खाल भत्कने अर्को कारण हो, सम्बन्धमा अभिनयले प्रवेश पाउनु । कहिलेकाहीँ पर्दामा वा टेलिभिजनमा देखिने कलाकारहरूको दाम्पत्य जीवन कस्तो हुँदो हो भन्ने मलाई लाग्छ । सारा दिन अभिनय गरेर परस्त्रीलाई प्रेम गरेको नाटक गरेर फर्केको नायकले आफ्नी सङ्गनीसँगको व्यवहारमा अभिनयको अंशलाई शून्यमा कसरी झार्दो हो ?

प्राकृतिक उज्यालो भित्र्याउने उदेश्यले मेरो कार्यालयको भित्ताको पर्दा खोलेको थिएँ । सिसाबाहिर एक जोडी ढुकुर देखिए । कार्यालय भवनको पश्चिमतिरको पाखोमा केही रूखहरू छन् । जमिनमा घाँस पनि छ । सायद ती पन्छीले यिनै जैविक वस्तुको साहारा पाएकोले त्यहाँ आउने आँट गरेका थिए । अहिलेसम्म अनुभूति नगरिएको त्यो रोचक परिस्थितिले मेरो ध्यानाकर्षण गर्यो । केही काम गर्ने सोच थियो । त्यसलाई प्रणयसुखको त्यो दृष्यले एकाएक विस्थापन गरेको थियो । खुला आकाशमा वा वनमा वा खेतबारीमा भएको भए म उनीहरूलाई त्यति नजिक भएर अवलोकन गर्न सक्ने थिइन् । यो पारदर्शी पर्खाल अर्थात गरिएको बन्द झ्यालको सिसामार्फत म उनीहरूको क्रियाकलाप हेरेर मन्त्रमुग्ध भएको थिएँ । आफ्नो कार्यमा कुनै बाधा पर्न सक्ने सम्भावना सायद उनीहरूले अनुमान गरेका थिएनन् । उनीहरू चलायमान थिए । सायद आहारा टिप्दै थिए ।

चराको प्रसङ्ग आएपछि मलाई कवि शिरोमणी लेखनाथ पौड्यालले लेखेका तलका हरफको सम्झना हुन्छ –

bahulako diary small and inside post

जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफूल ।  

चुचो बायो, गायो मधुर सूरमा तृप्ति-गजल ।।

कति स्वच्छन्द जीवन । न बासको चिन्ता । न गाँसको । यी दुई विषयहरू मान्छेको जीवनबाट निकालिदिने हो भने उनीहरूले पनि चराकै जस्तो दिनचर्या पाँउथे होला । जुन वनमा गए पनि हुने । जुन रूखमा गुँड बनाए पनि हुने । न आगतको चिन्ता छ । न विगतको विरह छ । मान्छे पनि जुन गाँउमा या सहरमा पुगेको छ त्यहीँ बस्न मिल्ने भए कस्तो हुन्थ्यो होला ? एक जमाना थियो जो जहाँ पुगे पनि बास पाइने । अतिथिको स्वागत हुने । जे पाकेको छ बाँडेर खाने । २०४७ सालमा जाजरकोटको साल्मा गाविसको एक घरमा एक रात बास बसेको थिएँ । पहिला त म उनीहरूलाई दुख दिन आएको मान्छे हुँ कि भनेर झण्डै बास नदिएका । तर पछि पाइयो । एउटै कोठा भएको घर थियो । हाम्रो आतिथ्य सत्कारका लागि जोगाएर राखेका चामल र कालो दालको सितनको व्यवस्था भयो । त्यो रात वनबाट भैँसी आइपुगेनन् । नत्र राति नै खीर पाक्थ्यो । अहिले सम्झदा त्यो अमृत जस्तो लाग्छ । चराले नचिताएको चारो भेटेको जस्तो । अँगेनाको वरिपरि हामी परिवारकै सदस्यहरूकै समिपमा सुतेका थियौँ । त्यस घरका छोरी र बुहारीले भाका हालेर गीत सुनाएका थिए । साल्माको त्यो बास जीवन-यात्राकै एक अविस्मरणीय अंश भएर रहेको छ ।

डा. नवराज खतिवडा

मैले प्रणयसुख त भने, शब्दकोशले भन्छ- प्रणयसुख भनेको प्रेमबाट पाइने सुख हो । प्रणय भनेको प्रेम, माया वा पिरती हो । तर ती ढुकुरका जोडी प्रेमी-प्रेमिका वा पति-पत्नी थिए वा दौँतरी मात्र थिए । मलाई थाहा हुने विषयवस्तु भएन । मान्छेको जस्तो विवाहपश्चात सिर्जना हुने पति-पत्नीको नाता चराहरूमा हुन्छ कि हुँदैन् ? म अनभिज्ञ थिएँ । तर म उनीहरूको गतिविधि एकटक लगाएर नियालिरहेको थिएँ । हुन त माया या पिरती भन्ने शब्दहरू प्रेमी-प्रेमिकाको सम्बन्धइतर पनि प्रयोग हुन्छ । हामी आफ्ना सन्तानलाई पनि माया गर्छौँ । जन्म दिने आमाले भर्खर जन्मेको शिशुलाई संसारकै सबैभन्दा बढी माया गर्छिन् । चाहे ती मान्छेको तुलनामा कम चेतनशील पशु वा चराचुरुङ्गी नै किन नहुन । या त नाजायज सम्बन्धको कारण वा बाध्यतावश कुनै परिबन्दमा परेर पैसाको लागि गर्भ बेचेकी वा बलात्कारीप्रति जतिसुकै घृणा बोकेकी भए पनि बलात्कारपश्चात रहेको गर्भबाट जन्म भएको सन्तानकी आमा नै किन नहुन् या काँचो यौवन जबरजस्ती पस्केकी कुमारी आमा या जथाभावी सहवास गरेर कसको गर्भ हो भनी जानकारी नभएकी आमा हुन्; सन्तानलाई गर्ने आमाको माया नै मायाको परिभाषाले समेट्ने सबैभन्दा विशिष्ट माया हुनुपर्छ । यस्तै प्रेमीले प्रेमिकालाई गर्ने वा प्रेमिकाले प्रेमीलाई गर्ने प्रीति नै प्रणयको सबैभन्दा विशिष्ट रूप हुनुपर्छ ।

ढुकुरका ती जोडीको एकआपसको प्रेमलाई प्रेमी र प्रेमिकाको या दम्पतीको प्रणयसँग तुलना गर्न पुग्छु । तीनले गर्ने प्रेम र नारी-पुरुषले गर्ने प्रेममा के समानता होला ? के भिन्नता होला ? के तिनको एकआपसको मायाको आयतन पनि नरनारीको जस्तो घटबढ हुन्छ ? कुनै एक समयमा इष्ट देवताको आँगनमा कसम खाई प्रणयसूत्रमा बाँधिएका जोडीहरू मायाको मर्करीलाई शून्यमा झारेर बिछोडिन पनि पुग्छन् । वियोग हुन्छ । बाध्यात्मक बिछोड हुन्छ । आफूले गरेको प्रेम पश्चातापमा बदलिन्छ । प्रश्न उब्जिन्छ, किन भत्किन्छ प्रेमको पर्खाल ? किन पर्खालका जोर्नीलाई विष मिसिएको द्रव्यले गाल्दै लान्छ ? कुनै समय एउटै ओत लागेका कतिपय दम्पत्ति किन कालान्तरमा एकअर्कालाई  घृणा गर्दै प्रणयसुखलाई प्रणयकलहमा परिवर्तन गर्छन् ? जटिल छ ।

डा. गोविन्दराज भट्टराईले लेखेका छन, “धेरै विवाहित नरनारी सन्तुष्ट छैनन् । ….. पहिले ती खुसीले भेट हुन्छन्, बन्धनमा बाँधिन आतुर हुन्छन् तर समय व्यतीत हुँदै गएपछि एउटाको सुख अर्कोले भाँचिदिएजस्तो ठान्न थाल्छन् । एउटाको सौन्दर्य र यौवन अर्काले निष्ठुर भएर पिउँदा पिउँदै सुकाइदिए जस्तै ठान्दछन् ।”

एक अध्ययनले पुष्टि गरेको छ । जीवनसाथी भेट्टाएको बेला मान्छेको खुसीको उचाई सर्वाधिक हुन्छ । सायद चराहरू या जनावरमा पनि यही हुन्छ । भालेले पोथीलाई पूर्ण प्रेम गर्छ । प्रियतमाले प्रियतमलाई शत्-प्रतिशत माया गर्छे । समर्पणमा कुनै कमी हुँदैन । दुई मन जोडिन्छन् । संसार जितेको आभाष हुन्छ।

यस्तै परिवेशलाई उनेर नारायण गोपालले गाएका छन् –

मेरा सारा जीवन सबै तिमीलाई !

मीठा मीठा क्षणहरू सबै तिमीलाई !!

यसरी एकले अर्कालाई “मीठो क्षण” पस्कने काम हुन्छ ।  त्यो पलमा वा सातमा प्रेमी भित्रको सम्पूर्ण चाहनाबाहिर प्रस्फूटन हुन्छ । प्रेमिकाभित्र लुकेर लाज र कुरीकुरी सतहमा पोखिन्छ । आकांक्षा अकास्सिन्छन् । वाचा हुन्छन् । बन्धन कसिँदै जान्छ । मायाका र संवेगका इँटाहरू थपिदै जान्छन् । आकर्षण उत्कर्षमा पुग्छ । समर्पणका लेपहरू लाग्दै जान्छन् । प्रेमको पर्खाल पहाडमा परिवर्तन हुन्छ । सबैले ठान्छन् – हाम्रो प्रेमले त चुरे पहाड मात्र होइन, हिमाल नै बनाएको छ ।

तर सबैको प्रेमको पर्खाल कङ्क्रिटको हुँदैन । पर्खालको एउटा मात्र इँटामा धमिरा लाग्यो भने वा अलिकति पनि लेप सिमेन्टको नभएर माटोको पर्यो भने त्यो अंश कमजोर बन्न पुग्छ । शङ्का र अविश्वास बढ्दै जान्छ । कमजोर सतह फैलिँदै गयो भने एक दिन प्रेमको पर्खाल गर्ल्यामगुर्लुम भत्कन्छ । प्रेम विग्रह हुन्छ । पहाडमा पहिरो जान्छ । प्रेमशून्यको स्थिति सिर्जना हुन्छ ।

वयस्क युवक वा युवतीले एकअर्कालाई मन पराएर नजिकिनुका केही विशेष कारणहरू छन् । ती हुन – रूप, गुण, स्वभाव, सामिप्य वा कामवासना । यिनको प्रकृति सधैँ एकै नाशको हुँदैन । समय बित्दै गएपछि यी आकर्षणका कारकहरूको पूर्णतामा क्षयिकरण हुँदै जान्छ । अर्थशास्त्रको उपमा लिने हो भने उपयोगितामा ह्रास आँउछ । विपरीत लिङ्गी साथीको मन र शरीरले आरम्भमा जुन आश्चर्य र चमत्कार पस्कन्छ, त्यसको आयू दीर्घकालीन हुँदैन । कसैले यो यथार्थलाई आत्मसात गर्दैन वा आफ्नो जोडीमा यी अवयवहरू क्षयीकरण भएको सम्झिन्छ भने प्रेमको पर्खाल भत्कन त्यहीँबाट सुरु हुन्छ । क्षयीकरण त समयको हुने हो । कालखण्डको हुने हो । जसले आफ्नो जीवनसाथीमा रूप या यौवन बुढो भएको देख्छ, त्यो समानान्तर हिसाबमा उसको पनि भएको हुन्छ । अनुभूति गर्न नसकिनु छुट्टै विषय हो ।

पर्खाल भत्कने अर्को कारण हो, सम्बन्धमा अभिनयले प्रवेश पाउनु । कहिलेकाहीँ पर्दामा वा टेलिभिजनमा देखिने कलाकारहरूको दाम्पत्य जीवन कस्तो हुँदो हो भन्ने मलाई लाग्छ । सारा दिन अभिनय गरेर परस्त्रीलाई प्रेम गरेको नाटक गरेर फर्केको नायकले आफ्नी सङ्गिनीसँगको व्यवहारमा अभिनयको अंशलाई शून्यमा कसरी झार्दो हो ? र, त्यो दिनको तमाशा हेरेकी जीवन सङ्गिनीले नायकको व्यवहारलाई कसरी वास्तविक ठान्दी हो ? यसको ठीक विपरीत, वास्तविक र व्यवहारिक सम्बन्धमा अभिनयले प्रवेश पाउनु भनेकै ओरालो यात्राको सुरुवात हो । कुनै दम्पत्तिको रङ्गमन्चमा नाटकले प्रवेश पाउनु भनेको दुईमध्ये एक पात्रको वा दुवैको अर्को संसारमा नयाँ सम्बन्धको सुरुवात भएको सङ्केत हुन सक्छ ।

मेरा एक मित्रले एकदिन भन्नुभयो – “मेरी श्रीमतीले लिएको निर्णयमा वा उनले गरेको काममा म प्रश्नै गर्दिनँ । किनभने उनी एक नारी पात्रमात्र नभएर हाम्रो दाम्पत्य जीवनकी पूर्ण पात्र हुन् । उनी एक धरोहर हुन् । उनले हामीलाई अहित हुने निर्णय लिने एक रत्ती पनि सम्भावना छैन ।”

पूर्णताको प्रसङ्गमा नारायण गोपालको गीत सम्झेँ पुग्छ । ग्रन्थमा गीता । दर्शनमा बुद्ध । अग्लाईमा सगरमाथा । कालजयी गीतमा यो पुगेन भन्ने या सगरमाथाको अरू २ मिटर अग्लो भएको भए राम्रो हुन्थ्यो भन्ने अभिव्यक्तिको सामान्य व्यक्तिलाई कुनै अर्थ लाग्दैन । यस्तै दाम्पत्य जीवनमा प्रवेश गरेका नरनारीले आफ्नो सहयात्रीमा अन्तर्निहित पूर्णता देख्नुभनेको अचल र अभेद्द भुइँ चट्टानमा उभिएको अति नै बलियो कङ्क्रिटको पर्खालको सूचक हो ।

मैले कतैबाट टिपेर धेरैलाई भनेको छु- “घनिष्ट साथी वा जीवनसाथी त्यसलाई नरोज्नु जो तिमीभन्दा बढी धरापमा छ।”

यो सूत्रलाई आत्मसात् गर्ने हो भने आफूभन्दा कम समस्यामा विद्यमान सहयात्री खोज्न सकिन्छ । आफूभन्दा बढी समस्या भएको व्यक्तिमात्र आफूसँग नजिकिन्छ । कम भएकालाई त आफूले खोज्न पर्छ । विकल्प असङ्ख्य हुन्छन् । किनभने एउटा वयस्क विपरीत लिङ्गी जसको पनि जीवनसाथी बन्न सक्ने सम्भावना लिएर हिँडेको हुन्छ ।

सम्बन्ध चिसिनुको अर्को कारण हुनसक्छ, “यान्त्रिकीकरण” । कुनै कारण विशेषले जस्तै:  अवसाद वा डिप्रेसन वा असाध्य रोग वा मनमा कुनै गम्भीर समस्याको कारण वा कुनै अप्राकृतिक वा कृत्रिम सम्बन्ध स्थापित गर्ने उदेश्यले सम्बन्ध यान्त्रिक भएर जान सक्छ । बाध्यता सिर्जना हुन सक्छ । डर या त्रास सिर्जना हुन सक्छ । यान्त्रिक सम्बन्ध भावनात्मक रूपमा कमजोर हुन्छ । व्यवहार स्वतस्फूर्त हुँदैन । कसैको पूर्वयोजना अनुरूप काम हुन सक्छ । योजना गरेर भएको प्रेमको पर्खाल बनावटी हुन्छ । यसको जोड्नीमा सिमेन्टको सट्टा माटो हुन सक्छ ।

एक विदेशी संस्थासँग काम गर्ने उर्लँदो बैँस लगभग पार गरेकी विदेशी मुलकै महिलाले नेपालमा भएकै बेला बच्चा जन्माउने रहर गरिन् । दाम्पत्य जीवन सफल पार्ने उनको ध्येय थिएन । खालि सन्तानको रहर थियो । मातृत्वको चाह थियो । उनले खोजेको केटाको जीवनस्तर महिलाको तुलनमा धेरै कमसल थियो । केही समयको संयुक्त वासपछि उनले छोरा जन्माइन् । केटा खोज्नुपूर्व उनले आफ्ना दौँतरीलाई सुनाएकी थिइन् – मलाई सन्तानको रहर हो, लोग्नेको होइन । तिनले स्थापित गरेको सम्बन्धमा ढुकुरका जोडीजस्तो या वयस्क जोडीले दाम्पत्य जीवनको जोहो गर्ने उदेश्यले सिर्जित बन्धनमा जस्तो प्राकृतिक अवयवहरूको अंश कम हुनु स्वभाविक हो ।

सिद्धिचरण श्रेष्ठले लेखेका छन्-

तरुणीजनले बालकहरूमा के रस पाउँदछन् साथी

संकटदेखि थिचिनेहरूमा संकटको मिल्छ र छाती ?

सङ्कटलाई केन्द्रमा राखेर लेखिएको यी हरफमा कसकाे, कोसँग जोडी मिल्नसक्छ भन्ने वा कस्तो सम्बन्ध प्राकृतिक हुन सक्छ भनेर नौजवान पात्रलाई बालकसँग दाँजिएको छ । म ढुकुरका ती जोडीमा कृत्रिमता या अभिनयको अंश हुन्छ कि हुँदैन भनेर आफैँलाई प्रश्न गर्छु । तर उत्तर पाउँदिनँ । कुनै चराविद्ले यो लेख पढेमा मेरो मनमा उब्जेको माथिको प्रश्नको उत्तर अवश्यै दिनु होला ।

प्रतिक्रिया
Loading...