एक जना मित्रको सम्झना आउँछ । बडो श्रद्धा थियो शक्तिपीठमा र अवलोकन गर्न गइरहन्थे । तर उनी शक्तिपीठबारे अध्ययन गर्न नभएर श्रद्धावश पूजागर्न जान्थे । यस्तो लाग्दथ्यो उनको आर्थिक हैसियत र समयले साथ दिएसम्मका शक्तिपीठ पुगिसकेका थिए । शक्तिपीठबारे थाहा नपाएर आस्थावश श्रद्धा पूर्वक पुजा गर्ने गरेकोमा मैले व्यंग गर्न खोजेको होइन । जहाँ गएर जति पुजा ग रेपनि संतुष्ट कहिल्यै भएनन् एकाग्र भएर उनी बस्न सकेनन् । शक्ति उपासनासम्बन्धी विशिष्टतम स्थानलाई शक्तिपीठ भनिन्छ । धार्मिक, सामाजिक, ऐतिहासिक र सांस्कृतिक आदि थप विशेषता बोकेका कुनै शक्तिपीठ छन् भने तिनीहरू स्वतः महाशक्तिपीठ हुन पुग्छन् । विद्वानहरूका अनुसार सतीदेवीको शरीरको अङ्ग पतन भएको स्थानमा उत्पत्ति भएका शक्ति पीठहरू ५३ छन् । कतिपय विद्वानका मतमा वाम गण्डस्थल पतन भएको स्थान दोहोरिएकोले पीठहरू ५२ मात्र छन् । शिवचरित्र तथा दाक्षायणीतन्त्र एवं योगिनी हृदयतन्त्रमा यसको संख्या ५१ उल्लेछ छ ।
शक्तिपीठको सङ्ख्या मात्र होइन, सतीदेवीको पतन भएको अङ्ग र स्थानकै बारेमा पनि हाम्रा धार्मिक ग्रन्थहरू बीच व्यापक मतभिन्नता छ । कुनै ग्रन्थमा त्यही स्थानमा सतीदेवीको एउटा अङ्ग पतन भएको उल्लेख छ भने अर्को ग्रन्थमा सोही स्थानमा अर्को अङ्ग पतन भएको उल्लेख भेटिन्छ । कतिपय स्थानको नामको समेत यस्तै अवस्था छ । यसो हुनुको मूल कारण यस्ता ग्रन्थहरू एकै स्थानमा निर्माण नभएका र निर्माणकर्ता पनि भिन्नभिन्न पृष्ठभूमिका हुनु नै हो । ग्रन्थहरू तयार हुँदैछन् भन्ने सूचनाको आधारमा जाने जति थाहा पाए जति, महत्त्वका लागे जति नछुटोस् भनेर संग्रह गरे । समन्वय गरेर सत्य पता नलगाइएको हुँदा डुबे ।
स्वाभाविक हो, निर्माणकर्ताको झुकाव आफ्नो आफ्नो जन्मभूमिप्रति बढी हुनु । यसकारण श्रुति र स्मृतिपरक ग्रन्थहरूमा उल्लेख भएका तीर्थस्थलहरू प्रायः सबै भारतीय भूभागमै रहेका छन् । कैलाश मानसरोवरदेखि दक्षिणमा श्रीलङ्का र इरान, ताजकिस्तान, उज्वेकिस्तानदेखि पूर्वमा म्यान्मारसम्मको क्षेत्र देवभूमि हो, पुण्यभूमि हो, तपोभूमि हो र तीर्थभूमि हो । भागवतमा व्यासजीले यस क्षेत्रमा उदाउने चन्द्र, सूर्य, तारालगायत यहाँका नदी, नाला, पहाडपर्वत, रुख, विरुवा, वनस्पति, ढुङ्गा, माटो, ताल, तलैया सबै तीर्थ हुन् भनेका छन् । धार्मिक ग्रन्थहरूका रचयिता प्रायः सबै भारतीय भूभागकै रहेकोले विषमता कोरिएको हो ।
नेपालमा भएका विद्वानहरूले भरपर्दो तर्क दिएर आफ्नो ठाउँमा भएकाको पनि महत्त्व बुझाउन सकेका छैनन् ।
स्वस्थानी व्रतकथामा शक्तिपीठबारे उल्लेख छ तर ती पीठहरू कुन स्थानमा रहेका छन् भन्ने किटान गर्न गाह्रो छ । आजको आलेखमा शक्तिपीठले प्रवेश पाएको छ । मानिसहरू कुनै न कुनै रूपमा शक्तिको अनुगत भएका छन् । हरेक कुरोमा अब्बल हुन शक्ति चाहिन्छ । शक्तिको अभावमा मानिसले केही गर्न सक्तैन, शक्तिहीन विस्मय–विमुग्ध भएर अरूको प्रगति हेरिरहन्छ । शक्ति र सम्पत्तिको बाटो फरक फरक हो भनी भन्दछन् । तर शक्तिको अभावमा सम्पत्ति संरक्षण पनि हुन सक्दैन ।
शक्तिपीठहरू धार्मिक र सांस्कृतिक दृष्टिले जति महत्त्वका छन् आर्थिक दृष्टिले पनि त्यत्तिकै महत्त्वका देखिन्छन् । धार्मिक ग्रन्थहरूका अनुसार मानव जीवनमा एकपटक सकेको जति शक्तिपीठको दर्शन आवश्यक मानिएको छ । आधुनिकतामा रंगिएका मानिसलाई यस्तो कुरामा विश्वास गर्न गाह्रो हुन्छ । धार्मिक स्थलमा जानु भनेको समयको बर्वादी ठान्छन् । तर यस्तो होइन, ज्ञान प्राप्त गर्न सकिन्छ । कसरी मन्दिर बनेको छ, मूर्ति बनेको छ— सो शील्पबारे ज्ञानप्राप्त गर्न सकिन्छ । मन्दिर र मूर्तिमा प्रयोग गरिएको ढुङ्गा कुन हो, कहाँ पाइन्छ, त्यहाँ कसरी आयो यस्ता जिज्ञासा मनमा उठ्छ । हो यस्ता जिज्ञासा शान्त पार्न सकिएमा मन कति प्रफुल्ल हुन्छ यो अनुभूत गर्ने कुरा हो । सुन्दर कलाकृतिले मन्दिर सिगार्ने अज्ञात कलाकारलाई सम्झँदै प्रार्थना गर्नुको छुट्टै आनन्द छ । मेरो लागि पुराना कुरा अमूल्य हुन् । मेरो मनमा यस्ता कुराको एकदम उच्च स्थान छ । पुर्खाले बनाएर साचेको कुराको वर्तमानमा व्यवस्था गरिएको पाउँदा मेरो मनमा गहिरो चोट लाग्दछ । यही कारणले मूर्त अमूर्त सम्पदाप्रति रूचि जागेको हो । र यो रूचि मृत्युपर्यन्त रहिरहने छ ।
धार्मिक पर्यटनको विशेष स्थान रहेकोले दर्शन पूजन तथा अवलोकन भ्रमण गर्न शक्तिपीठमा मानिसहरूको भीड लाग्ने गरेको छ । धार्मिक यात्रा सहज नहुन सक्छ तर खासै असहज भने हुँदैन । धार्मिक यात्रा सम्पन्न गरी फर्किएकाको कुरा सुन्दा दङ्ग परिन्छ । कलाको पारखीको लागि अज्ञात कलाकारको प्रतिभा देख्ने सुअवसर बन्दछ । निश्चय नै अज्ञात कलाकारको कला हजारौं वर्षसम्म रहिरहनुको पछाडि धर्मको ठूलो हात छ । तर आज त्यति सफाइको साथमा मिहीन कलाकारी गर्ने पाउन गाह्रो छ । उनीहरूको कलाको कदर र परिश्रमको मूल्य हुन सक्दैन । हिजोका संरक्षित वस्तु अवलोकन गर्दा स्वीकार गर्नु पर्दछ विलक्षण छ, हो यही विलक्षणको कारण अवलोकन गर्न पर्यटक आउने गरेका छन् । बचेको छ, अरूभन्दा पृथक् छ— यही विशेषता हो । जति अवलोकन गर्दा पनि हेरिरहने भोक जाग्दछ । आजका योग्यता भनेको हिजोको कला बुझ्न सक्नु पनि हो ।
शक्तिपीठको नाममा रहेको सखडेश्वरी भगवतीलाई छिन्नमस्ता भगवती भनेर पनि पूजाआजा गर्ने गरिन्छ । कहिले पूजा गर्ने, सुख प्राप्त हुनासाथ मनमानी गर्ने, यस्तो कार्यले मन अस्थिर बनाउँछ । अस्थिर मन भएमा रक्षा हुन सक्दैन । त्यस्ताको भलो पनि हुन सक्तैन । यो सत्य हो सखण्डेश्वरीको बारेमा पूर्ण जानकारी हामीसम्म आइपुगेको छैन । हामीले थाहापाउनु पर्छ किनभने हाम्रो सम्पदा हो । मन्दिरमा स्थापित भगवतीको मस्तक (शिर) नभएकै कारण छिन्नमस्ता (छिन्नमस्तीका) भगवती भनेर सम्बोधन गर्ने गरेको भन्ने मान्यता छ । सखण्डेश्वरी भगवती मन्दिर स्थापनाको तिथिको ठोस आधार भेटिएको छैन । यद्यपि मन्दिर निर्माण पुनर्निमाण हुँदै आएको छ । ऐतिहासिक स्रोत एवं प्रमाणको आधारमा सखण्डेश्वरी छिन्नमस्ता भगवतीको स्थापना सिम्रौनगढका कर्णाटवंशी राजा शक्रसिंहले गरेको इतिहासकार प्रा.हरिकान्तलाल दासको कृति ‘सप्तरीको राजनैतिक इतिहास तथा प्रमुख धार्मिकस्थलहरू’मा उल्लेख छ । आफ्नो छोरा कुमार हरिसिंहदेवलाई राजकाजको सम्पूर्ण जिम्मा दिएर शेष जीवन बिताउन यस क्षेत्रमा आएका उनलाई भगवतीले सपनामा दर्शन दिएकी थिइन् ।‘तिमी जहाँ बसिरहेका छौं, त्रिशूल गाडिएको भेटिने छ र त्यसैको छेउछाउ खन , मूर्ति पाउने छौं । मूर्तिको पूजा गरेर बस, तिमीलाई राम्रो हुनेछ’ भनिन् । राजा शक्रसिंहले आफ्नो जिन्दगीमा जे जति गरेका थिए ती सबैको पुण्य भगवतीको कृपाले प्राप्त गरे, व्यर्थ भएन ।
पहिचान गर्न सक्नुपर्दछ शक्तिको नियम जो विधाताको हो शक्रसिंहले चिने । बुद्धि थियो यसकारण । जसले चिन्न सक्दैन भौतारिरहन्छ । भगवतीको निर्देशनअनुसार राजा शक्रसिंहले हालको जलकुण्डको किनारमा मूर्तिहरू भेटेको किंवदन्ती सुन्न पाइन्छ । शक्रसिंहले यस क्षेत्रमा भगवतीको मूर्ति स्थापना गरेर पूजाआजा गर्न थाले । एघारौं शताब्दीको अन्त्यतिर भारतमा मुसलमानहरूको प्रवेश भइसकेको थियो । दिल्ली कब्जा गरेपछि हिन्दु राज्यको अन्त्य र मुसलमानी शासनको बोलवाला बढ्दै गएको थियो ।
नेपाल पनि मुसलमानी आक्रमणबाट अछूतो रहन सकेन । दिल्लीका गयासुद्दिन तुगलक र बंगालको नबाब सम्सुदिनले नेपालमा आक्रमण गरेका थिए । गयासुद्धिन आक्रमणका क्रममा सप्तकोसी नदीको किनारको बाटो हुदै सखडा क्षेत्र आएर शक्रसिंहमाथि आक्रमण गरेका थिए । मन्दिरको मूर्ति तोडफोड गरेर मुसलमानी आक्रमणकारी दल अगाडि बढे । मूर्ति तोड्नु गयासुद्दिनको मनमा थियो । मूर्ति देखेर पनि छाड्नु उसलाई सजिलो थिएन । आफ्नो धर्म पालन गर्न बिचरा अरूको धर्म विनाश गर्दै रह्यो ।
गयासुद्दिनले यही सिकेको थियो, उसको बुद्धि यस्तै थियो— आक्रमण गथ्र्यो र अरूलाई तनाव दिन्थ्यो । आक्रमणकारी दल मूर्तिहरू तोडफोड गर्दै सिम्रौनगढ पुगेका थिए भन्ने प्रा.दासको पुस्तकका उल्लेख गरिएको छ । सिम्रौनगढमा मन्दिर तथा मूर्तिहरू तोडफोड गरेर आतंक मच्चाएका थिए । यसको प्रमाण वर्तमानमा पनि सिम्रौनगढमा देख्न सकिन्छ । शक्रसिंहबाट अपभ्रंश भएर शक्र, सकरा र त्यसपछि सखडा भएको स्थानीयवासीको अनुमान छ ।
मुसलमानी आक्रमणपछि पुनः सखडा क्षेत्र जंगलमा परिणत भएको अनुमान गरिएको छ । अहिले पनि मन्दिरदेखि पूर्वतिर घना जंगलको अस्तित्व देखिन्छ । जंगलबाट पङ्खी सर्प निस्किने गरेको स्थानीयबासी बताउँछन् । केही दशक अघिसम्म मन्दिरपरिसरमा आँपसहित विभिन्न जातका पुराना रुखहरू आफैले देखेको साठीकटेका स्थानीय प्रायः सबैको सम्झनामा बचेकै छ ।
यस क्षेत्रमा मानवबस्ती विस्तारका क्रममा घना जङ्गल सफा गर्दा पाइएको अवशेषलाई स्थानीय बासिन्दाले संरक्षण गरे । तत्कालीन समयमा यस क्षेत्रमा बिर्तावाल परिवारकी च्याखुरी नानी नामकी विधवा बस्दै आएकी थिइन् । ती विधवा धर्मप्रति अत्यधिक आस्था राख्ने गर्थिन् ।
भगवती मन्दिरको पोखरी जीर्णोद्वार गर्ने क्रममा तोडफोड भएको मूर्ति भेटिएको हो । तत्कालीन सेनवंशी राजाहरूले भगवतीको पूजाआजा गर्नका लागि बिर्ता प्रदान गरेका थिए । वि.सं. १८५० सालमा तत्कालीन राजा राजेन्द्रविक्रम शाहको पालामा पुःन बिर्ता थमौती गरियो । कुल १२ विघा बिर्ता मन्दिर संरक्षण तथा पूजाआजाका लागि हेमकुमार, बज्रनाथ र सुरेश उपाध्याय दाजुभाइलाई दिइएको थियो । जसले पनि थाहा पाउने इतिहास यही हो । तर यतिकै भरमा भगवतीको ख्याती चारैतिर पुगेको भने होइन ।
त्यो मन जो धर्मप्रतिको गहिरो आस्थामा रहेको हुन्छ, त्यसले तान्दछ तब हाम्रो आचरण एक किसीमको हुने गर्छ । जब बाह्य हाम्रो मनले चलाउँछ तब व्यवहार अर्को किसिमको हुने गर्दछ । इन्द्रियहरूका सम्बन्ध शायद बाह्य मनको साथमा रहन्छ । सबै इन्द्रियहरू जगत्मा सक्रिय छन् । तिनीहरूकै कारण वस्तु जगत हाम्रो साथमा जोडिएको छ । आँखा छ, यसकारण हाम्रो लागि रूप पनि छ । यस्तो रूप–स्पर्श–गंध–वर्णमय जगत् हाम्रो हुन सक्दैन, यसमा इच्छाको महत्वपूर्ण भूमिका रहन्छ । यसैबाट कर्म जन्मन्छ । वस्तु–जगतप्रति हामी आशक्त बन्छौं र यसरी आफ्नोपनको विस्तार गर्छौं । यसरी मानिस फिजारिन्छ । भन्न सक्दछौं, उसको विस्तार जुन आयाममा हुने गर्छ त्यो देश हो । त्यसमा भएको दृष्टि बाह्य दृष्टि हो । जुन मानिस धेरै गर्दछ त्यो उसको कार्य देशको आयाममा हुने गर्दछ । त्यसबाट राजनीति जन्मन्छ । राजनीतिबाट व्यक्तित्वले विस्तार पाउँछ र संघर्षमा ओर्लन्छ । एउटा क्षेत्रमा ऊ फैलिन्छ त्यसको प्रभाव अर्को क्षेत्रमा पर्छ । आवश्यकता नै आविष्कारको जननी भएको हुँदा इच्छा सहजसाथ पुरा हुन्छ । व्यक्ति फैलिन्छ संसार खुम्चिन्छ । यहाँसम्म कि मानिस ‘म’मा सिमित बन्न पुग्दछ । व्यक्ति सिमित बन्न पुगेको हुँदा नै जनसंख्या वृद्धि भएको हो । सखडेश्वरी भगवतीको महिमाबाट प्रभावित भएर २०४८ सालमा भारतका तत्कालीन रेलमन्त्री ललितनारायण मिश्रले चारैतिर बरन्डा भएको शिखर शैलीको मन्दिर निर्माणकार्य सुरु गराए । तत्कालीन भारतीय रेलमन्त्री मिश्र विमानबाट गइरहेका थिए । विमान चलिरहेको अवस्थामा चालकले दुर्घटनाको आशंका गरी प्यारासुट लिएर हामफाल्न संकेत गरे ।
आपत्कालीन अवस्थामा रेलमन्त्री मिश्रले सखडेश्वरी भगवतीको स्मरण गर्न थाले, विमान सकुशल अवतरण भयो र ज्यान जोगियो भन्ने विश्वास गरिन्छ । दुर्घटनाबाट सकुशल बाँच्न सफल भएल गतै उनी सखडा आएर भगवतीको पूजाआजा गरे । भगवतीको महिमाबाट प्रभावित भएर मन्दिर र धर्मशाला निर्माणको काम अगाडि बढाएका थिए । यसैबीचमा उनको हत्या भएपछि मन्दिर निर्माणले पूर्णता पाउन सकेन । २०४४ सालमा तात्कालीन राजा वीरेन्द्र पूर्वाञ्चल भ्रमणको समयमा सखडेश्वरी भगवती मन्दिर जीर्णोद्वारका लागि पाँच लाख रुपैयाँ प्रदान गरेका थिए । प्राचीन मन्दिर जीर्णोद्वारको लागि समय समयमा धर्मात्माबाट सहयोग प्राप्त नभएको होइन ।
सहयोग प्राप्त हुनु नै थियो । यसको आयाम पनि फरक छ । सखडेश्वरी भगवतीलाई शक्तिशाली शक्तिपीठ भन्न सक्छौं । शक्तिपीठको आयाममा सखडेश्वरीको महिमा विस्तार भएको छ । यदि भक्तको भाकल पुरानभएको हुँदो हो त महिमा उहिल्यै नै खण्डित हुने थियो । भक्तको आस्था प्रधान हुन्छ । विश्वासमा घात हुँदैन, भगवती भक्तको दुःख देख्न सक्दिनन् । दुःखबाट पार पाएको हुँदा नै भक्तजनले भरिभराउँ रहन्छ । सखडेश्वरी भगवती मन्दिर निर्माण तथा विकासमा स्थानिय सत्यनारायण यादवको उल्लेखनीय योगदान छ । वर्तमानमा मन्दिर रेखदेख तथा संरक्षणका साथै साझा सञ्जाल बनाउन पीठाधीश महाकान्त ठाकुर र मन्दिर समितिको महत्त्वपूर्ण भूमिका छ । भगवती मन्दिरको संरक्षण सम्वद्र्धनमा अविनाश प्याकुरेल तथा उनका परिवारजनले पुर्याएको योगदान प्रशंसनीय छ ।
सखडेश्वरी मन्दिरमा भगवतीको कालो रङको मूर्ति स्थापित छ । मूल भगवतीको मूर्तिको खुट्टाको तल राँगाको शिर प्रस्ट रूपमा कुँदिएको देख्न सकिन्छ । शक्तिशाली सखडेश्वरी भगवतीलाई भक्तले दिन होइन शायद माग्न चाहन्छन् । अब भगवतीलाई भक्तसम्ममात्र सीमित नराखेर धार्मिक पर्यटक भित्र्याउने थलो बनाउँनु परेको छ ।
सखडेश्वरी मन्दिरमा स्थापित मूर्ति भैरवी, चामुण्डा, छिन्नमस्ता, दक्षिणकाली र महिषमर्दिनीका मूर्ति रहेका मन्दिरका महन्थ महाकान्त ठाकुर बताउँछन् । मूल मूर्ति शिरबिहीन रहेको कारण भगवतीको नामकरण छिन्नमस्ता गरियो ।
मन्दिरमा स्थापित मूर्ति महिषासुर मर्दिनीको रहेको इतिहासकार प्रा.हरिकान्तलाल दासको दाबी छ । उनका अनुसार मिथीलाञ्चलमा माटोको महिषासुर मर्दिनीको मूर्ति बनाउने परम्परा रहँदै आएको छ । काम धेरै राम्रो गरिहोस्, तर मानिलिऊँ भावना घटिया छ भने त्यो सम्पूर्ण कामको मूल्य राम्रो भन्न सकिन्न । र भएको पनि यही छ । केही व्यक्तिको स्वार्थको कारण प्राचीन सखडेशवरी भगवतीको हुनु पर्ने जति प्रचार हुन सकेको छैन ।
यसकारण कर्म–विचारको लागि धर्म–विचार आवश्यक हुने गर्दछ । धर्मको विचारले वाह्य जगतलाई महत्व दिँदैन । यसले आन्तरिकलाई महत्व दिने गर्दछ । मन्दिरमा सिंह सवार भगवतीले असुर संहार गरिरहेको दृश्यांकित मूर्ति देख्न सकिन्छ । यस्ता तथ्यहरूबाट सखडेश्वरी छिन्नमस्ता भगवतीको स्वरूप महिषमर्दिनी रहेकोमा कुनै शंका छैन ।
प्राध्यापक दासका अनुसार सप्तरीको तिलाठीनिवासी प्रसिद्ध ज्योतिषी यदुनन्दन मिश्रले १९८४ सालमा भगवती मन्दिरमा घन्ट चढाएका थिए । उक्त घन्टमा— ‘जिल्लै सप्तरी प्रगन्ना पकरी मौजे तिलाठी पंडीतजी यदुनन्दन मिश्र तस्य धर्म भार्या जगदम्वा शक्रेश्वरी भगवती महिष मर्दिनी श्री त्यव्रीत यं घंटा सार्पणाम् भैरवी चामरादात् महिष मर्दिनी प्रदाकाली जगदम्बा सरस्वती रषन्तु सर्व कालेषु प्रार्थिता यदुनन्द’ कुदिएको छ । यसमा लेखिए अनुसार मनमा कुनै शंका रहन पाउँदैन । धर्मको लागि स्वयं धार्मिक बन्नुभन्दा बाहेक अर्को उपाए नै रहँदैन । यसबाहेक धार्मिक पर्यटनको सम्बन्धमा जुन प्रचार सम्भावना छ, मधेसी र पहाडीबीच द्वैष होइन खराब प्रवृत्तिलाई निस्तेज पारेर सखडेश्वर भगवतीको मूल्य पहिचान गरी सोहि अनुसारको प्रचार गरिनु पर्दछ । मूल्य नै छैन यस्तो भन्नू गलत हुनेछ । मूल्य र मान्यता पहिचान गरेर नै धार्मिक स्थलमा पर्यटक जाने गर्दछन् । हुन त मूल्य र उपयोग स्वार्थिक हो तर धार्मिक कार्यमा पारमार्थिक बनाउनु पर्छ ।
यदि पारमार्थिक, दृष्टिबाट धर्म बुझ्न सकियो भने हामी देख्न सक्नेछौ, थाहा पाउने छौ विविध धर्म, आफ्नो अलग मन्दिर, तत्त्ववाद र आम्नाय राख्ने विविध मत, मूलतः एउटै भएको । यस मन्दिरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले एकीकरणका क्रममा सखडेश्वरी छिन्नमस्ता भगवतीको दर्शन एवं पूजाआजा गरेर चाँदीको मुकुट चढाएका थिए । राष्ट्रनिर्माता पृथ्वीनारायण भगवतीको अनन्य भक्त रहेको इतिहासमा उल्लेख भएको पाइन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।