इजरायलमा रोजगारी गर्ने भतिज रमेश नेपालले मलाई बिजुली सन्देश लेखे: ‘अङ्कल’ अफिसलाई नेपालीमा के भनिन्छ ?
मैले उत्तर लेखेँ: कार्यालय/कार्यकक्ष/काममुकाम/गौँडा/अड्डा अनेक शब्द छन् नि ! औपचारिक नेपालीमा चाहिँ ‘कार्यालय’ भनिन्छ । अनि उनले काठमाडौँमा आफ्नी छोरी पढ्दै गरेको विद्यालयमा कक्षा एकमा पढाइने नेपाली किताबमै कार्यालय नलेखेर ‘अफिस’ लेखेको छ त्यही पढाइँदो रहेछ; त्यो त अलिक राम्रो लागेन मलाई भन्ने जवाफ फर्काए । साँच्चै नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रको स्वीकृति, जनार्दन पौडेलको लेखाइ/सम्पादन र कान्तिपुर एजुकेसन डेभलपमेन्ट काउन्सिलको प्रकाशन ‘नेपाली भाषा संसार’ कक्षा एकमा कार्यालयका ठाउँमा अफिसै लेखेको छ त ? यो प्रश्नको उत्तरका लागि त मैले त्यो पुस्तक नै नहेरी कुनै जवाफ दिन सकिनँ तर भतिज रमेशको भनाइमा विश्वासचाहिँ गरेँ किनभने प्रकाशक नै ‘कान्तिपुर शिक्षा विकास परिषद्’ नभएर ‘… काउन्सिल’ भएपछि अफिसै भनियो होला भन्नेमा यसै ढुक्क भएँ । यो बिजुली संवाद र सन्देश आदानप्रदानले मलाई नेपाली भाषाप्रतिको आफ्नै संवेदनामा दह्रो झड्कै लाग्यो – भतिजले ‘अफिस’को नेपाली शब्द ‘अङ्कल’सँग सोध्यो नि त !
भरखरै कुनै इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरी पदको शपथ लिँदा नगरप्रमुख हेमकर्ण पौडेलले आफ्नो पाँचबुँदे कार्यक्रमको एउटा बुँदा उद्घोषण गरे: ‘सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारका लागि पालिकाले ती विद्यालयमा अङ्ग्रेजी भाषाको माध्यमबाट अध्ययन-अध्यापन गर्ने प्रबन्ध गरिनेछ’। यस्तै घोषणा मेरा मूल घर इलाम नगरपालिकाका तत्कालीन प्रमुख महेश बस्नेतले २०७४ मै घोषणा गरेर लागू गरेका थिए।यो पाँच वर्षमा इलाममा अङ्रेजी भाषामा पठनपाठन भएर पालिकाका कति छात्रछात्रा कमजोर विद्यार्थीबाट एकाएक मेधावी विद्यार्थीमा रूपायित भए? पालिकाले पाँच वर्षमा हासिल गरेका उपलब्धि लेखबद्ध र प्रकाशन भएका होलान् – पढेपछि टिप्पणी गर्न मिल्छ, अहिल्यै केही नभनौँ ।
मुलुकमा सामुदायिक विद्यालय भन्दा ‘प्राइभेट बोर्डिङ स्कुल’ बढी छन् र ती भाषामा बाध्यताले ‘नेपाली’ विषय पनि पढाइ हुन्छ भने बाँकी सबै विषय अङ्रेजीमा पढाइ र रोमनमा लेखाइ हुन्छ। नेपालीको ‘क्लास’बाहेक ती ‘स्कुल’का ‘कम्पाउन्ड’भित्र नेपाली बोल्नेलाई ‘फाइन/पनिस’ गरिन्छ। यता थोरै रहेका सामुदायिक विद्यालयमा नेपाली र सामाजिक भन्ने विषय त नेपालीमै पढाइ हुन्छन् तर त्यहाँ पनि अङ्रेजी भाषाको शासन डरलाग्दै हुन्छ। विद्यार्थीले कक्षाबाट बाहिर जान अनुमति माग्दा नेपालीकै ‘सर’सँग पनि ‘सर! मे आई गो टु ट्वाइलेट’? भनेर सोध्नुपर्छ। ‘गुरु! मलाई पिसाब आयो/पाखा जानुपरो/सङ्काले च्यापो, म बाहिर जाऊँ/जान सक्छु ?’ भन्यो भने पाखे/बाहुनबाजेको छोरा/छोरी भइएला भन्ने पिर हुन्छ।
नेपालको शिक्षा क्षेत्रको आम मान्यता नै के हो भने अङ्रेजी भनेकै ज्ञान हो, विज्ञान हो, प्रविधि हो र सारा समृद्धिको एक मात्र साधन हो एक मात्र उपाय हो । अनि, नेपालका मातृभाषाहरू (नेपालीसमेत) भाषै होइनन् यिनमा न ज्ञानविज्ञानको चेतना प्रवाह गर्ने कुनै शक्ति नै छ न त यिनले प्रविधिको कुनै पहल गर्नमै टेवा दिन सक्छन् । यी फगत बाध्यता हुन् हाम्रा । हामी अङ्रेजी पढ्न नपाएकाले पनि अङ्रेजी जान्न पाएका भए र फरर अङ्रेजीमै ‘बिग टक’ गर्न सक्दा कस्तो आनन्द आउँथ्यो हगि – गोरा विदेशीहरू कस्तो मीठो अङ्रेजी बोलिराखेका हुन्छन् । हो नि ! हामी सबै नेपाली समाजका गोख्ते काजी न हौ! हामीलाई एउटा छोरो अमेरिकामा, अर्को छोरो युकेमा र अर्को छोरो अस्ट्रेलियामा ‘सेटल’ भएर आर्जन हुन पुगेको गोख्ते काजीको गौरव हात पार्ने कत्रो धोको छ ।
म देशको सबैभन्दा ठूलो कानुन रे! भनिएको ‘नेपालको संविधान’ नामको एउटा किताब पल्टाउँछु । त्यसको एक नम्बर (धारा १) मा मेरा आँखा पुग्छन् र पढ्छु: “यस संविधानको पालन गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ”। ६ र ७ नम्बरमा आँखा दौडन्छन् र पढ्छु: “नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्र भाषा हुन्” र “देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ”। मेरा आँखाले अझ तीब्र गति लिन्छन् र पुग्छन् नम्बर ३२ मा। मेरा आँखाले मलाई भन्छन्: “प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक” हुन्छ रे त! अनि, थप्छन्: प्रत्येक समुदायलाई आफ्ना भाषा, लिपि, संस्कृति आदिको संरक्षण र संवर्द्धन गर्ने हक पनि हुन्छ रे। राष्ट्रिय शिक्षा नीतितिर मेरा आँखा दौडन्छन् छिनैमा र अडिन्छन् नीति १०.८ मा। “नेपालको भाषिक विविधता, बालबालिकाको रुचि र आवश्यकताअनुसार मातृभाषाको अतिरिक्त मातृभाषामा आधारित बहुभाषिक शिक्षा, नेपाली र अंग्रेजी भाषालाई शिक्षणको माध्यम भाषाको रूपमा व्यवस्थापन गर्ने” यति पढिसक्दा नसक्दै आँखा थाक्छन्। म बुझ्छु: राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार नेपालको शिक्षा प्रणालीमा तीन भाषालाई शिक्षणको माध्यम भाषा मानेको रहेछ।अँ! अब आधारभूत, माध्यमिक, प्राविधिक/व्यावसायिक र उच्च तहका पढाइ, लेखाइ र परीक्षासमेत मातृभाषा र नेपाली भाषामा पनि हुने भएछन्। मेरा यस्ता भाषिक तर्कना कहिल्यै वास्तविकता बन्लान् र ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।