साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

समोसाको साम्राज्य

वास्तवमा समोसा जसको हातमा पुग्यो उसले आफ्नै स्वादमा बनाउने रहेछ । विभिन्न थरीका समोसाको स्वाद चाखिसक्दा लाग्छ, बिचरा त्यो समोसा कति रूपान्तरित हुनुपर्ने होला ? अझै कति यात्रा पार गर्नुपर्ने होला ?

Chovar Blues Mobile Size

नढाँटी भन्नुपर्दा मैले सिंगडा (समोसा) को स्वाद टिनएज सकिन चार वर्ष बाँकी रहँदा मात्रै थाहा पाएको हो । जीवनमा अहिलेसम्म सयौँ परिकारहरू खाइयो होला तर किन किन सिंगडाको स्वाद भने दिमागमा हरदम घुमिरहन्छ। नेपालको पुर्वी जिल्ला झापाको सदरमुकाम चन्द्रगडीमा मैले २०५० सालमा समोसाको स्वाद चाखेकी हुँ । जीवनमै पहिलोपटक पिठोको तेलमा तारिएको तिनकुने समोसा कुरुम कुरुम गर्ने बाहिरी पत्र दाँतले टोकेर छिचोल्दै भित्रको आलु र बदामसम्म पुग्दा स्वाद मुखभरि नै फैलिसकेको थियो । अझै थपेर खाने मसॅग पैसा नै थिएन । त्यो बेलामा पहाडी जिल्लामा सिंगडाको नाम र परिचय खुलेकै थिएन । आलु , मटर , बदाम कसरी भित्र पसेर लुकेर बस्यो भन्ने कुरामा म चकित पर्थेँ । घरमा आटा र आलु प्रशस्तै थियो तर बनाउने ढंग पुगेन । अहिलेसम्म मैले एकपटक पनि सिंगडा बनाउने कोसिस गरेको छैन । बरु यसो दुई चारपैसा खल्तीमा भयो कि फाटेर कुरकुच्चामा प्वाल परेका चप्पल हातमा बोकेर दौड्दै दोकानमा गयो र सिंगडा किनेर खाने गर्थेँ ।

पछि काठमाण्डौँ आएपछि सिंगडा आफैं समोसा बन्यो । सिंगडाभन्दा सहरियाहरु हाँस्थे र पाखे भन्थे । आफु पाखे भनिएर हेपिनबाट बच्न मैले पनि सिंगडालाई समोसा नै भन्न थालेँ । समोसा खाने बानीजस्तै शब्दमा बिस्तारै बानी पार्दै गएँ ।

काठ्माण्डौंको रत्नपार्क , त्रिपुरेश्वर जहाँ पनि समोसा नै समोसा । भन्किरहेका झिंगा धपाउऱ्दै साहुजीले समोसा दिन्थे । म समोसा खाएर दिेउँसो त्यही टेबलमा निदाउँथे । “ए बैनी दुइटा खाएर घण्टौ निदाइदिने ? अरु ग्राहकलाई बस्ने ठाउॅ खाली गर्नुपर्दैन ?” साहुजीले नराम्रो गाली गर्थ्यो । म टाउको कन्याउॅदै उठेरहिंड्थेँ ।

न्यूरोडको टिपटप समोसा त नामी नै रहेछ । लामो लाइन छिचोलेर समोसा भएको ठाउॅसम्म पुग्न झण्डै ४५ मिनेट पनि लाग्थ्यो । यो बेस्टसेलर समोसाको स्वाद र पुर्व पश्चिम राजमार्गमा झुल ओडाइएका समोसाको स्वादमा मलाई केही भिन्नता लाग्दैन थियो । बिरगन्जतिर घुम्न जाँदा त माहुरीजस्तै झिंगा भन्केका समोसा पनि उत्तिकै खपत भैरहेको देख्थेँ म ।

बालुवाटारमा होस वा सिंहदरबारमा हुने पत्रकार सम्मेलनमा २०४६ सालपछिका सबै प्रधानमन्त्री ज्यूहरूले पनि पत्रकारहरुलाई समोसा नै ल्याएर अगाडिलडाइदिएको देखेकी छु । सोल्टी होटेलहरुमा हुने एनजिओ /आईएनजिओका झोले/विकासे कार्यकर्ताहरुलाई पनि समोसा नै खाजा पस्किँदा रहेछन् ।

sagarmani mobile size

यतिबेलासम्म पनि मैले समोसालाई सामान्य नास्ता/खाजा मात्रै सोचेकी थिएँ । तर म गलत रहेछु ।काठमाण्डौंको ठुल्ठुला घरानीयाँ भनिनेहरूका बिहे भोज भतेर सबैमा समोसा नै चालु रहेछ । मैले पनि घरमा आउने पाहुनाहरुलाई समोसा नै स्न्याक्सका रूपमा खान दिन थालेँ ।

तारा भट्टराई (अमेरिका)

यता न्यूयोर्कमा आएपछि त समोसा झनै प्रिय: खाना बन्यो । अफिसमा कहिलेकाहीँ सहकर्मीहरूले पार्टी गर्नेर आ-आफ्नो घरबाट एउटा एउटा खाना पकाएर ल्याउने भन्छन् । म अरुले बोल्न नपाउँदै समोसा ल्याउछु भनेर भनिहाल्छु । पकाउन कुनै मेहनत गर्नै नपर्ने , यहाँको इन्डियन ग्रोसरीमा थरिथरिका स्वाद र साइजका समोसा पाइन्छ । कुनैमा गाईको मासु, कुनैमा भेडाको मासु र कुनैमा कुखुराको मासु, आलु प्याज बदाम धनियाँ जिरा खाँदेर बनाइएको हुन्छ । सबैलाई मन पर्ने । सबैले रेसिपी सोधेर हैरानै लगाउने । कहिलेकाहीँ त लाग्छ सित्तैमा कति विज्ञापन गर्नु यो समोसाको ?

वास्तवमा समोसा जसको हातमा पुग्यो उसले आफ्नै स्वादमा बनाउने रहेछ । विभिन्न थरीका समोसाको स्वाद चाखिसक्दा लाग्छ, बिचरा त्यो समोसा कति रूपान्तरित हुनुपर्ने होला ? अझै कति यात्रा पार गर्नुपर्ने होला ?

काठ्माण्डौंमा जस्तै न्यूयोर्कमा पनि पाहुनाका रूपमा अनेक मान्छेहरु ठोक्किन पुग्छन् । यो सहरमा होटेलअत्यन्त महंगो छ, ठुलो सहरमा बसेपछि एक नेपालीले अर्को नेपालीलाई सहयोग त गर्नै पर्यो । सुरु सुरुमा म हरेक पाहुनालाई समय निकालेर नै भए पनि दाल भात सब्जीजस्ता परिकार बनाएर खुवाउँथे । दु:ख गरेर सेवासत्कार गरे पनि नेपाल फर्केपछि अत्यन्त नराम्रो फिडब्याक दिए । यसमा मलाई मेरा एकजना आफन्त ज्योतिषले उहिल्यै भनेको एउटा कुरा याद आउँछ “ तेरो ग्रहमा जस पाउने भन्ने योग लेखेको नै छैन । अरुलाई जति गरे पनि अपजस मात्रै आउँछ।” मलाई यो सार्है उपयोगी टिप्स लाग्यो र म त्यही कुरा सम्झन्छु र चित्त बुझाउॅछु । यस्तो अपजस सुन्न परेपछि मैले एउटा काइदाको आइडिया निकालेकी छु । अहिले मैले ठूलो फ्रिज किनेर त्यसमा एक वर्षलाई पुग्ने समोसा राखेकी छु । कसैकसैलाई समोसामा एलर्जी हुन्छ र तीनका लागि म:म पनि एक वर्षलाई पुग्ने गरेर राखेकी छु । जब कोही पाउना आउॅछ समोसा माइक्रो वेभमा तताएर अगाडि राखिदिहाल्ने । कसले के भन्ला भनेर फिड्ब्याक नखोज्ने । बरु यो काइदाले चाहिं आफुलाई पनि हाइ सन्चो भएको छ र दुई/चारवटा राम्रा फिडब्याक पनि मैले पाएर मख्ख परिसकेँ ।

न्यूयोर्कमा अहिले महॅगी दोब्बरले बढेको छ । सामान किन्न कमाएको पैसोले पुग्दैन । यस्तो बेलामा समोसा उत्तम खाना रहेछ । आलु, आटा, मटर, धनियाँ , प्याज किन्न २० डलर खर्च गरे करिब १५ दिनको खानाको जोहो हुन्छ । एउटा समोसा बराबर १२३ क्यालोरी पाइने रहेछ ।

राजनीति, अर्थशास्त्र र भूगोलसँग गाँसिएका समोसाका अनेक किस्साहरू बेला बखत सुनिन्छन् । भारतको बिहारदेखि अमेरिकाको ह्वाइटहाउससम्म । एकताका नेपालसँग सिमा जोडिएको बिहार प्रदेशमा लालु यादवको राज चलेको थियो । त्यतिबेला नेपाली जनजिब्रोमा जबसम्म समोसामा आलु रहन्छ तबसम्म बिहारमा लालु रहन्छ भन्ने थियो । गत २०२० मे महिनाको अन्तिमसाता अष्ट्रेलियन प्रधानमन्त्री स्कटमरीसन्ले आलु भरेको भेजिटेरियन समोसा बनाएर सोसल मिडियामा हालेपछि समोसा कुटनीतिका नाममा इन्डिया/अष्ट्रेलियाको राजनीतिमा ठुलै चर्चा पायो। “ScoMosas” नामले चर्चा पाएको थियो । भनिन्छ ब्रिटिस साम्राज्यवादीहरू आफ्नो साम्राज्य फैलाउने क्रममा भारतमा हुँदा खुब समोसा खान्थे रे । अहिले भारतीयहरू संसाररभरि पुगेर समोसा साम्राज्य खडा गरिरहेका छन् । अमेरिकी राजनीतिमा भारतीयहरु निक्कै सक्रिय रहेका छन् र सन् २०१६ मा अमेरिकी संसदमा भारतीय मूलका पाँचजना सांसद चुनिएपछि “समोसाककस” नाम दिइएको थियो । त्यो ककसकी एक सदस्य कमला ह्यारिस अहिले उपराष्ट्रपति छिन् ।

नरेन्द्र मोदीले समोसा भारतको खाना हो भनेर समकक्षी अष्ट्रेलियन स्कट मरिसन्लाई भने । झुट बोल्ने बानी परेका मोदीको कुरा कतिले पत्याए वा पत्याएनन् । तर यदि कमला ह्यारिसले नरेन्द्र मोदीले जस्तै गरेर समोसा इन्डियन व्यञ्जन नै हो भनेर दाबी गरिन् भने त्यो गलत हुनेछ । अमेरिकामा जन्मेकी हुन् उनी , झुट बोल्दिनन् होला । सबैभन्दा सुरुमा इरानले आफ्नो देशको नक्साजस्तै आकारमा मासु भरेर समोसा बनायो । भारत भ्रमण गर्न जाने इरानी यात्रुहररूले समोसा खाजा बोकेर लगेपछि गुजराँतका मानिसहरूले आलु र मटर कोचेर समोसा बनाउन सिके । समोसालाई बिगारेर “हिन्दुकुश पर्वत”जस्तो बनाए । बिस्तारै बिस्तारै इन्डियाका सबै राज्यमा फैलिँदै अफगानिस्तान हुँदै अन्य देशहरूमा फैलियो । छिमेकी देश नेपालमा पनि दरबारियाहरूले समोसा खाजा खान्थे रे । अचेल गोठाला खेताला जाँदा पनि समोसा खान पाइन्छ ।

यति लामो र रमाइलो इतिहास बोकेको समोसाले वास्तवमा पूरै खानाको काम गर्छ । त्यसमाथि पनि जो मोटो मानिस छ उसले समोसाजस्तो विश्वकै नम्बर एक फास्टफुड भेटेपछि उसको दिमागले त्यसलाई नखाने संकेत नै दिंदैन । एकपछि अर्को खाइरहन मन लाग्छ । त्यही भएर पनि समोसालाई आफ्नो साम्राज्य फैलाउन सजिलो भएको छ ।

लेखक परिचय

अमेरिका बस्दै आएकी तारा भट्टराई विशेषतः गैरआख्यान विधामा कलम चलाउँछिन् । अमेरिकी जर्नल 'ग्लोबल प्रेस इन्स्टिच्युट', नेपालको सम्पादक भएर काम गरिसकेकी भट्टराई साहित्यपोस्टमा नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया
Loading...