साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

एक घर एक गाँजा

लागुपदार्थको कारोबार, ओसारपसार, दुरूपयोग दुनियामा निक्कै ठुलो चुनौतीको विषय हो । सबै मानिसहरू गँजेडी बन्नुहोस् भनेर मैले पटक्कै भनेको होइन । यदि जीवनमा कुनै पनि शारीरिक कष्ट, पीडा छ भने सहेर नबसौँ । त्यसका लागि गाँजा एउटा सञ्जीवनी बुटी पनि हुनसक्छ ।

Chovar Blues Mobile Size

पात्र नम्बर एक मेरो एकजना साथी छन्, जसले केही दिन अघि मात्रै ४८ औँ जन्मोत्सब मनाए। अमेरिकामा नै जन्मे हुर्केका उनी राम्रो पारिवारिक खानदानका काला जातिका अमेरिकन हुन् । ग्र्याजुएसनसम्मको अध्ययन गरेका उनी राम्रा कविता लेख्छन्, कुनै पनि विषय वस्तुमा कुराकानी गर्दा अत्यन्त रोचक ढङ्गले प्रस्तुति गर्नु उनको कला हो । हतारमा म उनको कुरा कहिल्यै सुन्दिनँ, बरु पछि फुर्सद मिलाएर मज्जाले सुन्छु है भनिदिन्छु। हुन पनि म उनको कुरामा यति मज्जा लिन्छु कि मेरो आफ्नो भोक प्यास सबै बिर्सिदिन्छु । अनि उनी जागिरका लागि मानिसहरूलाई चाहिने बायो डाटा बनाउन पनि पोख्त छन् । पास्ता र लजानियाँ एकदमै मीठो पकाउँछन्।

करिब छ बर्ष अगाडिको कुरा हो । उनी एउटा प्रतिष्ठित अफिसको म्यानेजर थिए। काम गर्ने क्रममा उनको दाहिने खुट्टा अकस्मात दुख्न थाल्यो । करिब ८ महिना पेन किलर खाँदै काम गरे । तर खप्नै नसक्ने गरी दुख्न थालेपछि केही सिप लागेन र अन्त्यमा डाक्टरले खुट्टा काट्ने सल्लाह दिए। उनले दुखाइ सहन नसकेपछि बरु दुख्ने ठाउँ काटेर फालिदिए खुट्टै काटेको सही भनेर अस्पताल भर्ना भए । खुट्टा काटियो । उनलाई पुनर्स्थापना केन्द्रमा पठाइयो। दुई खुट्टाले हिँडिरहेका र सारा संसार हाँक्छु भनेका उनलाई अब अपाङ्ग भैसकेपछि कसरी हिँड्डुल गर्ने ? दैनिक जीवन चलाउने ? लगायत आवश्यक तालिमहरू दिइयो । उनी निको भएर अपाङ्गताको परिचयपत्र सहित घर फर्किए । बिस्तारै सबै कुरा सामान्य बन्दै गयो । तर काटिएको घुँडाको इन्फेक्सन कम गर्ने कडा डोजको एन्टिबायोटिक्स, अन्य शरीर र मांसपेसीको दुखाइ, माइग्रेनलगायत व्यवस्थापन गर्न दैनिक पेनकिलर र अन्य औषधीहरू खान पर्ने भयो । करिब तीन वर्ष औषधी खाएपछि उनलाई किड्नी, लिभर र ग्याष्ट्रिकलगायका समस्या पनि थपिए । उनलाई डाक्टरले दुखाइ कम गर्न दिएको औषधी बन्द गरिदिए । उनी पेन मेनेज्मेण्टमा सल्लाह लिन गए र दुखाइ व्यवस्थापन गर्न अरू नै विकल्पहरूको बारेमा बताए। विकल्पमा एउटा थियो गाँजा । नशाको नाममा कहिलेकाहीँ बियर मात्रै पिउने उनी यो कुराले रातभर बेस्सरी रोए। किनभने उनलाई गाँजाको गन्ध पनि मन पर्दैन थियो । उनले डाक्टरको सल्लाह बिना नै आफैँले पनि दुखाइ कम गर्ने औषधी किनेर खाए ।

तारा भट्टराई (अमेरिका)

एकदिन साँझ ती छिमेकीहरू चोकमा गाँजा तानेर गफ्फिरहेको ठाउँमा उनी पुगे । उनको छिमेकमा बस्ने दर्जनौँ मानिसहरू यस्तै अनेक स्वास्थ्य समस्या आइसकेपछि गाँजा सेवन गर्थे। उनले आफ्नो पनि समस्या सुनाए । कुरा सकिन नपाउँदै टिमले स्वागत गर्यो, “स्वागत छ । तिम्रो खुट्टाको प्रकृति हेर्दा तिमी ढीलो चाँडो हाम्रो टिममा आउँछौ भन्ने कुरा हामीलाई थाहा थियो।” भनेर एक खिली गाँजा थमाइदिए । साथीहरूले बिस्तारै कसरी कति मात्रामा तान्ने भनेर सिकाए । एक सर्को तान्दा निक्कै नै डराए । लागेको पो हो कि भन्दै बिस्तारै तानिरहे। त्यसपछि दिमाग तिरिमिरी भयो। साथीहरूले ओछ्यानसम्म पुर्याइदिएको याद छ, चौबीस घण्टापछि मात्रै उनी ब्यूझे। कैयौँ रातदेखि दुखाइले सुत्न नसकेका उनी भोलिपल्ट उठ्दा फ्रेस भएजस्तो लाग्यो । आफ्नो २४ घण्टा समय कहाँ गयो भनेर हिसाब खोजिरहेका थिए। खानामा पनि रुचि बढन थाल्यो र बिस्तारै उनी पनि गँजडीहरूकै समूहमा प्रवेश गरे । अहिले उनी दैनिक गाँजा तान्छन् । कहिलेकाहीँ आफ्नो गर्लफ्रेण्ड र परिवारका सदस्यलाई भेट्न जाँदा भने गनाउला भनेर पेनकिल्लर नै खाएर जान्छन् । “मैले गाँजा खान थालेपछि चिन्ता पनि आफैँ दूर भएर गयो । जीवन सुन्दर त पटक्कै छैन तर निक्कै सजिलो भने छ।” उनी भन्छन् ।

“के गर्ने जिन्दगी अलिकति भए पनि बाँच्न मन लाग्दो रहेछ । किड्नी फेल भएर डायालोसिसको झन्झटमा फस्नुभन्दा त बरु गाँजा नै सही । उनले अगाडि भने।

sagarmani mobile size

उनलाई दैनिक रूपमा आइलाग्ने काम सम्पन्न गर्न कुनै पनि अप्ठेरो छैन । पहिलेभन्दा अरू बढी नै productive भएको उनी सुनाउछन् ।
गाँजाको सुरमा उनी निक्कै राम्रा कविता पनि फुराउँछन् । कुराकानी गर्दा गन्ध नआउने हो भने उनले गाँजा खाएको कुरा मानिसहरूले पत्ता समेत पाउँदैनन्।

पात्र नम्बर दुई ६७ वर्षका स्पैनिस मुलका मेकानिकल इन्जिनियर हुन् । उनलाई अल्जाइमर, नशा रोगलगायत १६ वटा रोगले गाँजेको छ । उनी २०/२२ वर्षको उमेरदेखि नै जिम गर्ने र स्वस्थ्यकर खाना खाने, चुस्त दुरुस्त राख्ने भए पनि यति धेरै रोग लागेपछि ठूलो पीडा भयो । डाक्टरसे दिएका दुखाइ कम गर्नेऔषधीहरू खाए । केही वर्षपछि डाक्टरी औषधीबाट पुरै सन्यास लिएर पाँच वर्षदेखि गाँजा मात्रै सेवन गर्छन् । “गाँजा खान थालेपछि मेरो सम्झना सक्ति र मन स्थिर छ । म बिहानै जिम जान्छु । लण्ड्री र घरसफा गर्ने पकाउने आफैँ गर्छु । मस्त निदाउँछु र मज्जाले खाना खान्छु। आफैँसँग रोमाञ्चित हुन्छु । खास मानिस पनि कोही चाहिँदैन । दिमागमा धेरै तनावका कुरा पनि आउँदैनन्” उनी भन्छन् ।

अमेरिकामा गाँजा सेवन गरिरहेका हजारौँ पात्रहरू मध्येका उनी एक उदाहरण मात्रै हुन् ।

जीवनमा संयोगवश नै भनौँ मेरो आफ्नो दैनिकी पनि गाँजा सेवन गर्ने गँजडीहररूसँग जोडिन पुग्यो । डाक्टरको सल्लाह बिना आफैँ गाँजा सेवन गर्नेलाई गँजेडी भनिन्छ । सुरुवाती दिनमा म उनीहरूलाई खराब लत भएका नराम्रा व्यक्तिको रूपमा हेर्थेँ ।उनीहरू आफ्ना कथा बेथा सुनाउँथेँ । म अर्कै तरिकाले हेर्थेँ र बुझ्थेँ । म आफैँ पनि हड्डी खिएर कहिले गर्धन दुख्ने, ढाड, घुँडा, कम्मर दुख्नेजस्ता समस्याले पीडित नै थिएँ । दुखाइ कम गर्ने अनेक औषधीहरू किनेर खाने गर्थेँ । कहिलेकाहीँ काममा आय्या भन्ने शब्द मुखबाट आइहाल्थ्यो । यस्तो देखेपछि एकजना मेरा गँजेडी मित्रले आफ्नो कोठामा आउन भनेर बोलाए। डराउँदै भए पनि म गएँ । गाँजाबाट बनेको एउटा मलम दुखेको ठाउँमा लगाइदिए। मलाई एकैछिनपछि दुखाई कम भयो । पेनकिलर खाँदा खाँदा ग्याष्ट्रिक हुने समस्या बढेको थियो । मैले भोलिपल्ट ठेगाना मागेर त्यो गाँजाबाट बनेको मलम आफैँ किनेर ल्याएँ र अहिले पनि दुखेको बेलामा त्यही मलम लगाउँछु।

अनि त्यसपछि मात्रै मैले के रहेछ त भनेर बिस्तारै चासो राख्न थालेँ । समाजका जान्ने बुझ्नेहरूले नै बद्नाम बनाइसकेका कारण सकारात्मक भएर गाँजालाई सम्मान जनक तरिकाले हेर्न पनि मलाई वर्षौ लाग्यो।

गँजेडीहरँसँग सङ्गत हुन थाल्दा मेरो दिमागमा गाँजा र गँजेडी भन्नेशब्द एकदमै कलङ्कित थियो।

म सानी हुँदा हाम्रो बारीमा एउटा वनस्पति झार नरोपिकन आफैँ उम्रन्थ्यो, हुर्कन्थ्यो र बीउ पाकेर आफैँ भुइँमा झर्थ्यो । अर्को वर्ष झन् दोब्बर भएर उम्रन्थ्यो। बाले सबै उखेलेर फाल्नुहुन्थ्यो । अनि एक दुईवटा चाहिँ जोगाएर राख्नुहुन्थ्यो । गाईवस्तु बिरामी भएको बेलामा पात खुवाउनु हुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो यो गाँजा हो, बारीमा राख्नुहुन्न । कानुनमा प्रतिबन्धित छ, कानुन लाग्छ । कानुनले प्रकृतिको नियमलाई किन रोक्न सक्थ्यो होला र ? प्रतिबन्ध गरे पनि हाम्रो गाउँमा प्रकृतिले गाँजा उम्रन कहिल्यै पनि रोकेन । हाम्रो गाउँभरि जता पनि गाँजा आफैँ उम्री नै रहन्थ्यो र अहिले पनि यो प्रक्रिया जारी नै छ । बरु बेला बेलामा स्थानीय पुलिस प्रशासनले फस्टाएको गाँजालाई लठ्ठीले बेस्सरी कुट्थ्यो र दण्ड सजाय स्वरूप आफैँ फडानी गर्थ्यो।

गाँजा यति सजिलै प्राप्त भए पनि मैले गाउँमा एक सर्को कसैले तानेको पनि भेटिनँ । मेरा टाढा/नजिकका कुनै पनि नातेदार गँजेडी थिएनन्। बरु प्राय: दैनिक जीवनमा मानिसहरू रक्सी, चुरोट, खैनी, सुर्तीलगायतको प्रयोग गरिरहेकै हुन्छन् र हुन्थे । तर मैले गाँजा चाहिँ रक्सी चुरोट वा खैनीभन्दा निक्कै नराम्रो कुलत होला वा यसको असर निक्कै फरक र भयानक प्रकारको भएर नै मानिसहरूले प्रयोग नगरेका होलान् जस्तो लाग्थ्यो।

पछि काठमाडौँको पशुपतिमा पारिवारिक जीवनबाट दिक्क भएर जोगी भएकाहरू शिवरात्रिमा खुलेआम गाँजा तानेको देख्दा यो एउटा नशालु पदार्थ हो रहेछ र खानुहुन्न भन्ने मात्रै बुझेँ । यता अमेरिकामा आएपछि जहाँ तहीँ चोक चोकमा ठुस्स बान्ताआउलाजस्तो गरी गाँजा गनाउँथ्यो। अमेरिकामा उपभोक्तावाद, पूँजीवाद, आधुनिकतावाद, प्रतिस्पर्धालगायत अनेक कुराबाट दिक्क भएका मानिसहरू चाहिँ खुलेआम गाँजा तान्नेरहेछन् जस्तो लाग्यो । यस बारेमा मलाई खासै जानकारी पनि भएन र खोजीनीति पनि भएन ।

अहिले संसारका गाँजा विषेशज्ञहरू के भन्छन् र अहिले यस बारेमा के रिसर्च हुँदैछ मलाई त्यो पनि थाहा छैन। तर मलाई यति थाहा छ कि विज्ञलाई राखेर गाँजाका फाइदा र बेफाइदाहरू लेख्न दियो भने १०० फाईदा लेख्दा बेफाइदा ४० मात्रै पुग्लान् । संयुक्त राष्ट्रसङ्घले सन् २०२० मा गाँजालाई औषधीय गुण भएको वनस्पति मान्दै ‘हानिकारक’ समूहबाट हटाइसकेको छ भने शक्तिराष्ट्र अमेरिकामा सन् २०२२ फ्रेबुअरीसम्ममा ३२ वटा राज्यले गाँजालाई औषधीको रूपमा प्रयोग गर्न मान्यता दिइसकेको छ । डाक्टरले सिफारिस गरेको प्रमाण भएपछि गाँजा सेवन गर्न पाइन्छ। तर प्रमाणित नभएकाहरू पनि यहाँ गाँजा तानिरहेका हुन्छन्। मानवअधिकार भएको देशमा अर्कालाई किन गाँजा तानिस् भन्न पाइँदैन । काम गर्ने ठाउँमा यदि गँजेडी न लिने हो भने ड्रग टेष्ट गर्नुपर्छ। फेल भए राख्दैन।

न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डन पूर्व गँजेडी हुन् । चुनावताका उनले उमेरको हद तोकेर गाँजा खुल्ला गर्ने मुख्य एजेण्डा नै बनाएकि थिइन्। त्यो देशमा ८० प्रतिशत जनताहरूले जीवनमा गाँजा तानिसकेको अनुभव छ । अनि अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी, इजरायलजस्ता देशमा पनि गाँजा औषधीको रूपमा प्रयोग गर्न छुट छ । अठार वर्षमाथिको उमेरकालाई गाँजा सेवन गर्न २०१३ मा कानुनी मान्यता दिने पहिलो देश हो उरुग्वे । नेदरल्यान्ड, कोस्टारिका, जमैका, स्पेन, दक्षिण अफ्रिका, कोलम्बियाजस्ता दशवटा देशमा आनन्दसँग लाइटरले गाँजा सल्काएर धुवाँ उडाउँदै हिँड्न पाइन्छ। संसारमा झण्डै ५० वटादेशहरू कुनै न कुनै तरिकाले गाँजा औषधीको लागि प्रयोग गर्छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्राड्यूले गाँजालाई कानुनी मान्यता दिने विधेयक संसदमा पेस गरिसकेका छन्।

यी उदाहरणहरूले के बुझ्न सकिन्छ भने गाँजामा औषधीय गुण छर मानिसहरू यसबाट फाइदा लिन सक्छन् ।

मैले सङ्गत गरेका दशौँ वर्षदेखि गाँजा सेवन गर्ने व्यक्तिहरू त्यसै गँजेडी बनेका होइन रहेछन् । जीवनमा गँजेडी बन्न कसलाई मनपर्छ र ?

उनीहरूको दु:खाइको सहिनसक्नु गहिरो पीडामाऔषधीय प्रयोजन लागि यो लत लगाउन बाध्य भएका रहेछन्। उनीहरु मुड फ्रेस गराउन र धारणा परिवर्तन गराउन पनि गाँजा सेवन गर्छन्। लागुऔषधको लत छुटाउन पनि गाँजा खाएर, लठ्ठिएर बस्थे । क्यान्सर रोगीहरू क्यान्सर फैलाउने कोष मार्नलाई र किमोथेरापी गरिरहेकाहरू चाहिँ किमो दिइसकेपछि हुने वान्तालाई कम गर्न गाँजा सेवन गर्ने रहेछन् । एच आई भीएड्स , कलेजोको रोग, हेपटाईटिस बि, मुर्छा पर्ने, ( छारे रोग) लागेकाहरू, अल्जाइमर्सलगायतका विभिन्न रोगमा पनि गाँजा सेवन गर्ने रहेछन्। गाजा तानेपछि टि एच सी भन्ने तत्व मस्तिष्कको रक्तनलीमा प्रवेश गर्दै मस्तिष्कलगायत शरीरका सम्पूर्ण भागमा रसायन फैलाउएर असर देखाउने रहेछ ।

मैले जीवनमा आफूलाईभन्दा पनि बढी माया गर्ने गरेका प्रिय जनको शररीको दुखाइ र पीडा नजिकबाट देखेँ । त्यो पीडा सहनेलाई मात्रै हैन, हेर्नेलाई पनि गार्हो हुन्छ । मर्फिनले केही घण्टा त काम गर्छ तर त्यसका साइडइफेक्ट धेरै छ । त्यस्तो अवस्थाका लागि पनि मलाई घरभित्र गमलामै भए पनि अचेल एउटा गाँजा रोपेर उमारौँ कि जस्तो लाग्छ। तुलसी पत्र मृत्यू भएपछि स्वर्गजान मुखमा हालिन्छ तर गाँजा चाहिँ पो बरु जीवित हुँदै स्वर्गीय आनन्द आउने अति उत्तम वनस्पति रहेछ । जीवनभरको खाइ नखाइ गरेर कमाइ गरेको सारा पैसा सबै ठूला र नामी भनाउँदा अस्पतालहरूलाई बुझाइ सकेपछिको पीडा भुल्न गाँजा उपयोगी झाररहेछ । मेडिकल साइन्स फेल भएपछि अत्यन्त काम लाग्ने वस्तु गाँजा नामको एउटा झारको शरणमा पर्नुपर्ने रहेछ ।

त्यति मात्रै हैन कि यसको दानाबाट सिलामको जस्तै भुटेर बनाइने अचार पनि मीठो हुन्छ। रेशाबाट कपडा बनाउन र महँगो तेल निकाल्न गाँजा प्रयोग हुन सक्छ ।

लागुपदार्थको कारोबार, ओसारपसार, दुरूपयोग दुनियामा निक्कै ठुलो चुनौतीको विषय हो । सबै मानिसहरू गँजेडी बन्नुहोस् भनेर मैले पटक्कै भनेको होइन । यदि जीवनमा कुनै पनि शारीरिक कष्ट, पीडा छ भने सहेर नबसौँ । त्यसका लागि गाँजा एउटा सञ्जीवनी बुटी पनि हुनसक्छ । धेरै खाए बिष र थोरै खाए औषधी। धेरै खाए चिनी पनि त बिष हुन्छ। अहिले भइरहेको स्थानीय निर्वाचनका नवनिर्वाचित हुने प्रतिनीधिहरूले केही नगरे पनि पाँच वर्षमा एक घर एक गाँजाको बन्दोवस्त चाहिँ गरून् ।

लेखक परिचय

अमेरिका बस्दै आएकी तारा भट्टराई विशेषतः गैरआख्यान विधामा कलम चलाउँछिन् । अमेरिकी जर्नल 'ग्लोबल प्रेस इन्स्टिच्युट', नेपालको सम्पादक भएर काम गरिसकेकी भट्टराई साहित्यपोस्टमा नियमित स्तम्भकार हुन् ।

प्रतिक्रिया
Loading...