कहिलेकाहीँ कविता कविका मानसिक अनि भौतिक अनुभूतिका कथाजस्तो लाग्छ । कथाको एउटा काव्यिक स्वरूपजस्तो लाग्छ । कविभित्र र बाहिरका अनुभूतिहरूबाट उत्पन्न भएका भावहरूको एउटा भिन्नै कथनजस्तो लाग्छ ।

मानसिक अनि भौतिक अनुभूति माझको अन्तर्क्रिया यति सशक्त हुँदो रहेछ कि त्यसलाई सिधै कथामा रूपान्तर गर्न सकिँदैन । त्यस्तो स्थितिमा हामीलाई अर्कै माध्यम चाहिँदो रहेछ । कविता बुझ्न र बुझाउनलाई कवि र कविताका सिर्जना पल, स्पेश, समय, वस्तु, घटना, विषय र अनुभूतिका कथाहरूसित जोड्नुपर्दो रहेछ ।

कविता मानिसका भावना, भोगाइ, अनुभूति, कल्पना, बुझाइ, दु:ख-सुख, रिसराग आदिको भाषिक अभिव्यक्ति हो । कविता जीवन, जगत्, घटना, स्पेस र समयका कुराहरू हुन्, अनि यी सबै कुराहरू जीवनकथाका कुराहरू नै हुन् । जीवन हुनु नै जीवनका कुराहरू हुनुको प्रमाण हो ।

सत्य एउटा मानव अवधारणा हो अनि जीवन पनि । सत्यलाई परिभाषित गरिए तापनि यो वास्तवमा के हो भन्न गाह्रो हुन्छ । तर सत्यका थ्योरीहरू छन् । मानिसको मृत्युलाई परमसत्य मानिए तापनि यसलाई भ्रम मान्नेहरूको पनि कम छैन । त्यसरी नै कुनै एउटा कथामा भएको सत्यलाई कतिका निम्ति सत्य हुन सक्छ त कतिका निम्ति कथा मात्र । तर एउटा कुराचाहिँ के हो भने सत्य बोल्न र सुनाउनलाई हामीलाई कथनको खाँचो पर्दछ । कथा बनाई सुनाएर मानिसले कत्रा ठूल्ठूला विश्वासहरूको निर्माण गरिरहेको हुन्छ, अनि त्यही विश्वास कतिका निम्ति सत्य बन्दछ । त्यसरी मानिस आदर्शवादी, मानवतावादी र आतङ्कवादी बन्दछ ।

इगम खालिङ (दार्जीलिङ)

कथा कथामा मात्र नभएर कवितामा पनि पाइँदो रहेछ । त्यसरी नै कथाभित्र कविता (आंशिक रूपमा भए तापनि) पाइँदो रहेछ । कविताका संरचना, अर्थ अनि अवधारणाद्वारा कविता बुझिए तापनि अझैँ बृहत् रूपमा बुझ्नलाई कथाको जरुरत पर्दो रहेछ । कवितामा पनि कथा पाइन्छ भनेर कविता नै कथा हो भन्नु खोजेको चाहिँ कदाचित् होइन । कथा र कविता माझमा स्पष्ट भिन्नता पाइन्छ ।

कविताका मनोस्थिति, परिस्थिति, अनुभव, तनाव, स्वत:प्रवृत्ति, पृष्ठभूमि, सिर्जना समय र स्पेसको चर्चा गर्दा हामीले धेरै कुरा (खोजेर) सुनाउनुपर्ने अथवा अनुमान लगाएर व्यक्त गर्नुपर्ने हुँदो रहेछ । त्यस्तो अभिव्यक्ति विधि कथानक हुँदो रहेछ । कविले परिस्थिति, मनोस्थिति, अवधारणा, बौद्धिकता, आध्यात्मिकता, स्पेस र समयका उपस्थितिहरू जोड्न सक्छ । फेरि पाठकले कविता वा पाठको संरचनालाई जति नै ध्यान दिए तापनि अनि आफ्ना योग्यता र प्रकारले जति नै बुझे तापनि कविलाई सहजै भुल्न सक्दैन । पाठक र समाजप्रति समर्पित भए तापनि कवि आफ्नो मृत्युपछि पनि कवितामा बाँचिरहँदो रहेछ।

कविताको सिर्जना स्रोतसम्म पुग्नलाई हामीले आफूभित्र खोदाल्नुपर्छ । कवि प्रथमत: व्यक्ति भएर मात्र कवि भएको हुन्छ । ‘व्यक्ति’ भन्दा हामी शरीर र मस्तिष्क दुवैलाई बुझ्छौँ । आत्मालाई खोज्दछौँ । दृश्य अनि अदृश्य (तत्त्व अनि सत्त्व) दुवैलाई मान्दछौँ । प्रकृतिलाई अनुभूत गर्दछौँ । वास्तवमा प्रकृति, समय र स्पेस व्यक्तिभित्र हुन्छ अनि बाहिर पनि ।

व्यक्तिको मस्तिष्कभित्र चेतना, भावना, स्मरण, अवधारणा, अस्थायित्व, निरन्तरता, संवेदनशीलता र बुझाइ पाइन्छ । कवितालाई व्यक्ति अनि कविका संसार र वस्ताविकतासित जोडेर हेर्यौँ भने त्यो अझै पराभौतिक (मेटाफिजिकल) बन्दै जान्छ किनकि व्यक्ति एउटा अवधारणा पनि हो । कवितालाई कविताका भाषा र संरचनाभित्र मात्र राखेर हेर्ने हो भने पनि ती हेर्ने पाठक, अध्येता र समालोचक सबै व्यक्तिहरू नै हुन् । वर्तमानमा हामीसँग र हामीअघि उपस्थित व्यक्ति हामीले देखिरहेको व्यक्ति मात्र नभएर उनका विगत, वर्तमान, अवधि र अनिश्चित भविष्य पनि हो । कविको इतिहास वा व्यक्तिगत कथाको समय मापन आयामभित्र राखेर वस्तुगत समयसित गरिन्छ, जसले उनको अस्तित्वलाई निर्धारित गरिरहेको हुन्छ । जसरी कवितालाई आफ्नो रचयितासित अलग गरेर पनि गर्न सकिँदैन त्यसरी नै कविलाई आफ्नो कविताका स्पेस र समयभित्रका अनुभूतिहरूसित । पाठक, वस्तु र अन्य व्यक्ति पनि स्पेस र समयमा नै हुन्छन् । त्यसैकारण कविले आफ्नो कविताभित्रको कथामा अनुभव गरेका वस्तु, घटना र युगको व्यक्तिगत प्रकटीकरणलाई खोजेर निकाल्न सकिन्छ ।

कविका अस्तित्व, स्पेस र समयको सचेतनाले हामीलाई कविताभित्र कथा खोज्न मदत गर्दछ, अनि खोजिएको कथाले कविता र कविका जीवनसंसारसित जोड्न । कविताभित्रको कथा एउटा बृहत् कथाको नित्य प्रक्रियाभित्र चुडाइएको मानव सिर्जनामात्र हो ।