मेरो एकजना अनन्य मित्र छन् ।
तीनको सानो अनि सुन्दर परिवार लोभलाग्दो छ ।
दुवै दम्पती सरकारी जागिरे हुन् ।
आफ्नै मेहनत, इमन्दरिताले बिस्तारै दुवै नाम र दाम कमाउँदै छन् ।
एक छोरा एक छोरी दुई आँखा बराबर छन् । दुवैजना घर छेवैको स्कुलमा पढछन्।
भाउजूले एकदिन कुरै कुरामा भन्नु भयो,” जब मेरी छोरी मुस्कुराउछिन्, हाम्रो संसार नै उज्यालो हुन्छ । मेरो सानो पुतलीजस्ती नानीलाई कुनै यौन पिपासुको आँखा नलागोस् ।”
“के गर्नु समाजमा के के भइरहेको छ । छोरीहरू बलात्कृत भइरहेका छन् । बलत्कारै गरे पनि कमसे कम मारेर नफालिदिए हुन्थियो ।”
“छोरीको सुन्दर मुहार अञ्जुलीमा थापेर, म धेरैपल्ट रोएकी छु, बाबु।”
“त्रास छ। मनमा शान्ति छैन । कोलाहलको बास छ ।”
वहाँको कुरा सही थियो ।
“हरेस खानु हुन्न भाउजू । बिस्तारै समाज बदलिँदै छ, राम्रो हुँदैछ । सरकारले समस्यासँग जुध्न नयाँ कडा नीति नियम ल्याउँदै छ । हामीले हरेस खानु हुन्न। हामी सबै मिलेर एउटा सुन्दर, शान्त समाज निर्माण गर्नु पर्छ, भाउजू । त्यति पनि गर्न नसके, हामी शिक्षित भएको के अर्थ ?”
मैले आफ्नो सामर्थ्यले भ्याएसम्म एउटा खोक्रो आदर्श लम्पसार पारेँ र त्यसलाई धरहराजस्तै तन्काएर आकाशिन बाध्य बनाएँ ।
” डुब्ने वालोको तिन्केका सहारा हि बहुत । दिल बहल जाए फगत इतना इसारा हि बहुत” भनेझैँ भाउजूको आँखामा मेरो कुरोले आशाको ज्योति टिलपिलाएजस्तो लाग्यो ।
तर तिनी एक शिक्षित महिला जीवन र जगत्को बारेमा थोर बहुत ज्ञान राख्छिन् र म कति पानीमा छु तिनीलाई स्पष्ट रूपमा थाहा छ ।
बिहानको साँढे आठ बजिसकेको थियो । भाउजूले दिनुभएको चिया सकिएपछि मैले त्यहाँबाट बिदा मागेँ ।
अलि पर पुगेपछी फर्केर भाउजूको मुहार हेरेँ ।
मुहारमा स्पष्ट कोरिएको थियो, “तिमीले भनेको कुरा मेल खाएन बाबु । तिमीमा यसरी आदर्श फलाक्ने योग्यता नै छैन । कारण, तिम्रो घरमा खै छोरी मान्छे ? तिमीहरू चार दाजुभाइ मात्र हैन ?
अचानोलाई परेको चोटको कथा धेरैले फलाक्ला तर त्यो चोट, त्यो बेदनाको औडाहा र गहिराइ
अचानोलाई मात्र थाहा हुन्छ । खुकुरीले अचानोको बेदना गाथा गाउनु एक हास्यस्पद कुरो मात्र हो।
यो सरकार,यो समाज एक खुकुरी हो–एक धारिलो खुकुरी ।”
मेरो आफ्नै मनोवाद नै सही, साँझपखसम्म ती कुराले सिर्जना गरेका ज्वारभाटाहरू मनभरि उथुलपुथुल भए । शान्त तलाउमा कसैले एक्कासि ढुङ्गा हानिदिएजस्तै अनेकन् तरङ्गहरूले मनमा तछाडमछाड गरिरहे, धेरै समयसम्म ।
कोठा पुगेर जबरजस्ती पुस्तकहरू झिकेँ, पढ्न खोजेँ, तर पढ्न सकिनँ ।
टाउको एक्कासी भारी हुन थाल्यो । यसो पल्टेको जस्तो गरेँ।
फेरि एठन हुन खोज्यो ।
त्यपछि म जुरुक्क उठेँ । किताबै किताबले च्यापिएको एक वर्ष पुरानो न्युजपेपर निकालेँ र फेरि पेन र हाइलाइटरको सहायताले त्यसलाई कुरूप बनाउन खोजेँ ।
त्यो न्युजपेपरले हाइलाइटर र पेनको पीडा पहिले नै धेरै पटक खेपिसकेको थियो ।
त्यसै गरी त्यस न्युजपेपरमा फगत एउटा सनसनीपूर्ण समाचार बनेकी, निर्मला पन्तले पनि आफ्नो पर्खाइ, न्याय पाउने आश, आफ्नो अस्मिता गुमाइ स्वर्गबास भएको पनि एक वर्ष बितिसकेछ ।
अनि त्यो नरपिसाच पनि आफ्नै धुनमा फेरि अर्को सिकार खोज्दै होला।
आफू नसमातिने कुरामा त्यो ढुक्क होला , किनकि बितेको एक वर्षले त्यसको विकारयुक्त मानसिकतामा लालमोहर लगाइ सक्यो ।
अर्को शब्दमा भनुँ, सरकारले पनि पीडितलाई न्याय दिन नसक्ने नपुंसकता, दण्डहीनता र निकम्मापनको कात्रो ओढेर निधाएजस्तो गरेको पनि एक वर्ष बितिसक्यो ।
त्यो कात्रो सरकारलाई सुहाएको छ । ऊ ढसमस्स मोटाएको छ । धेरै लापरवाह अनि त्योभन्दा धेरै निर्लज्ज छ ।
यो बीचमा सरकारले धेरै चटक देखायो, कहिले के कहिले के बन्यो । अनेक रूप धारण गर्यो।
पोल पोलमा निच्च हाँसिरहेको फोटो टास्न लगाएर आफू यततत्र सर्बत्र छु भनी प्रचारबाजी गर्यो । सरकार सधैँ सरकार मात्र बन्ने होडबाजीमा लाग्यो । अभिभावक बन्ने कुनै प्रयत्न गरेने । अभिभावक नबनिकनै सरकार बुढो भयो । न्यायकी देवीले पनि सहोदर बैनीले जस्तै सरकारकै साथ दिइन् ।
तिनको आँखामा बाधिएको पट्टी कहिल्यै खुलेन वा तिनले खोल्न मन गरिनन् ।
मनमा यी कुरा खेल्दै गर्दा आफूलाई ऐनामा हेरेँ ।
एउटा म भन्दा पनि निरीह प्रतिबिम्बले मलाई गिज्याउन थाल्यो।
“ए मास्टर साब । तिमी त कस्तो ठाटिएका छौ । वाह, त्यो तिमीले भिरेको सेतो सट कस्तो सुहाएको ।
अनि त्यो तिमीले अगाडिको गोजीमा सिउरेको रातो र निलो फाउन्टैनपेनहरू के सारो टल्केको । तिमीलाई कहिल्यै तिमीले एकोहोरिएर सधैँ गरिरहने काम देखेर वाक्क लाग्दैन ? एक दशक बितिसक्यो पढाउन थालेको, खै के लछारपाटो लायौ तिमीले ?” प्रतिबिम्बले सोध्दै गयो । प्रतिबिम्ब क्रुर बन्दै गयो।
निरिह म, अलि टाढा भाग्न खोज्दै ओछ्यानमा पल्टिएँ । प्रतिबिम्ब सिलिङतिर चढेर नाच्न थाल्यो । त्यसले गिज्याउन छाडेन ।
म फेरि जुरुक्क उठेँ र बार्दलीतिर लागे । आफ्नै प्रतिबिम्बबाट त्रसित भई म भाग्न खोज्दै थिएँ ।
प्रतिबिम्ब बादल बनी आकाश ढाक्ने प्रयत्नमा सफल हुँदै गयो।
म झल्यास्स भएँ । यी सबै कुरा मेरो मनको उपज रहेछ ।
मन र मबीचको तानातान अलिक धेरै बेर लम्बिएछ । रातको या भनौँ बिहानको १२ बजिसकेको थियो।
शरीरलाई जबरजस्ती ओछ्यानमा घिसारेँ ।
जबरजस्ती लम्पसार परेँ ।
जे जति प्रयत्न गरे पनि निधाउन सकिनँ ।
मभित्र एक आक्रोस, पीडा र औडाहा दन्किरहेको आभास भयो । अनायासै मनमा एउटा आवेगले बास गर्यो।
मसिन गन लिएर संसद् भवन छिर्ने भावना जाग्यो । डाकुहरू त वास्तवमा त्यहाँ पो बस्छन् ।
“पान सिङ तोमार” भन्ने मुवीमा एउटा सिन छ ।
उक्त सिनमा हिरोले भन्छन “बिहडमे बागी रह्ते है। असली डकैत तो पर्लियामेन्ट मे रह्ते है।”
यो भनाइमा सोर्हैआना सत्यता छ।
मनमा कुरा खेलाउँदा खेलाउँदै कतिखेर निधाए छु पत्तै भएन ।
बिहानिपख जनप्रतिनिधिहरू भुट्छु भन्ने बालहट पनि पानीको फोकाझैँ बिलीन भयो ।
बिहानको चिया पश्चात लेख्न बसेँ ।
बलात्कार के हो ?
बलात्कार अर्थात् “रेप” भन्ने शब्द ल्याटिनको “रेपेर” भन्ने शब्दबाट उद्गम भएको मान्यत छ ।
यसको अर्थ कुनै चिज हत्याउनु वा बलपूर्वक खोस्नु हुन्छ ।
अर्को अर्थमा कसैलाई इच्छा विपरीत जबर्जस्ती गरिने शारीरिक सम्पर्कलाई बलात्कारको दर्जा दिइन्छ।
यो एक दण्डनीय अपराध हो ।
नेपाली क्रिमिनल कोड अनुसार कसैले कसैलाई बलात्कारको अवस्था र उमेरको आधारमा सातदेखि बीस वर्षसम्मको जेल सजाय भोग्नु पर्ने हुन्छ ।
बलात्कारप्रति सामाजिक दृष्टिकोण
जब बलल्त्कार हुन्छ, हाम्रो समाजले झन् उल्टो पीडितलाई नै पीडा हुने वातावरण सिर्जना गरिदिन्छ ।
“त्यो उत्तौली थिई । छोटो कपडा लगाउँथी । राती राती एक्लै लखर लखर हिड्थी । त्यही खोजेकी थियी, त्यै भेटी” जस्ता घिन लाग्दा तर्क बितर्क गर्न थाल्छन् ।
अर्कोतर्फ, आफ्नो गल्ती नहुँदा नहुँदै पीडित बिस्तारै हीनताबोधले मानसिक रोगको सिकार बन्छिन् ।
जसलाई मनोविज्ञानको भाषामा पि टि एस डि अर्थात् पोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर ( कुनै अप्रिय घटना वा दुर्घटनापछि हुने उक्त घटनाको धङधङीले निमत्याउने मानसिक रोग।) भनिन्छ ।
केहीले पीडा सहन गर्न नसकी, आत्महत्या पनि गर्छन् ।
हुन त केही सस्थाहरूले पीडितलाइ समाजमा पुनर्स्थापना गर्ने, पीडितहरूको मनोबल उकास्ने, सिपमुलक तालिमहरू दिने कार्यहरू गरिरहेका छन् ।
केही हदसम्म वहाँहरू सफल पनि हुनुभएको छ ।
तर त्यतिले मात्र पुग्दैन । समाज जस्ताको त्यस्तै छ । आडम्बरको खोल ओढी आदर्श फलाक्नेहरू समाजमा भरमार छन् ।
यसको ज्वलन्त उदाहरण हामीले न्युजपेपरमा “पीडितलाई क्षतिपूर्ति”, “प्रशासनको मध्यस्ततामा बलात्कृत महिला र पिडकबीच आवश्यक क्षतिपूर्ति पश्चात् मेलमिलाप” जस्ता शीर्षकको रूपमा बेलाबेलामा भेटी रहन्छौँ ।
समाज बेलाबेलामा अनेक बकमफुसे नचाहिने कुरामा होहल्ला गर्छ, अराजक बनिदिन्छ । तर बलात्कारजस्तो कुरामा ज्यादतर मौन बस्छ ।
समाज परिवर्तन हुनु भनेको समाजमा रहेकाहरूको सोचमा परिवर्तन हुनु हो ।
जबसम्म त्यो हुँदैन, समाज झन् झन् क्रुर, निर्दयी बन्दै जान्छ ।
मानिसले धेरै मनोविकारहरू समाजबाटै बटुल्दछन् ।
मानिस एउटा सामाजिक प्रणि भएको नाताले उसले गर्ने क्रियाकलापमा समाजको प्रत्यक्ष परोक्षा असर परेकै हुन्छ।
समाज जतिजति शान्त अनि सरल हुन्छ, मानव जीवन पनि त्यही अनुरूप ढल्दै जान्छ । समाज जति अराजक अनि असहज बन्छ,मानव जीवन पनि त्यसबाट अछुतो रहन सक्दैन ।
यस्तो प्रभावलाई “मिरर इफेक्ट” भनिन्छ ।
यसलाई अझै बुझ्ने प्रयास गरौँ ।
मानव मस्तिष्क चुम्बकलेझैँ प्रतिक्रिया दिने गर्दछ ।
जब हामी हाम्रो परिवेशमा क्रिया, प्रतिक्रिया वा लडिढिपी गर्छौ, स्वभाविक रूपमा विभिन्न फलामका टुक्राहरू हाम्रो मस्तिष्क रूपी चुम्बकमा टासिन पुग्दछ ।
ती टासिएका अनावश्यक फलामका टुक्राहरू समाजले थोपरिदिएको मनोविकारहरू हुन् ।
समाजमा भएको कुरीति, कुप्रथा, अन्याय, अत्याचार, बलात्कार मानिसले दिनरात देखे तापनि त्यसको ठोस न्यायोचित समाधानको बाटो पहिल्याउने कोसिस गर्दैन, त्यसले नराम्रो तरिकाले समाजमा आफ्नो जरो गाडिदिन्छ । कालान्तरमा त्यही नै त्यो अराजक समाजको पहिचान बन्दछ ।
बलात्कारीले कसरी सोच्ने गर्दछ ।
सन् १९७० मा अमेरिकि क्लिनिकल साइकोलोजिस्ट स्यामुअल डि स्मिथम्यानले गोप्य रूपमा लगभग ५० बलात्कारीहरूसँग अन्तर्वार्ता लिएका थिए।
त्यो अन्तर्वार्ता मार्फत ती बलत्कारीको मस्तिस्कभित्र छिरी वास्तवमा बलात्कारीहरूले कसरी सोच्दछन् भ्न्ने कुरा पता लगाउन चाहन्थे।
यद्यपि बलात्कारीले यस्तो किसिमले मात्र सोच्दछन् भन्ने एउटा निश्चित प्याटर्न भने उजागर भएन । तर धेरै केसमा बलात्कार पश्चात् बलात्करीले गर्ने प्रतिक्रियामा समानता भेटियो।
ती समानता निम्न प्रकारका छन्,
१) सहानुभूतिको अभाव
२) अपराधीमा रहेको अहङ्कार
३) महिलाप्रति शत्रुताको भावना
४) पुरुषत्व देखाउने होड वा त्यसको गर्व
त्यसैगरी साइकोलोजीका एक प्रध्यापक सेरी हम्बीले गरेको अनुसन्धानबाट उनले बलात्कार
यौन सन्तुष्टि वा यौन इच्छा पूरा गर्न गरिने कार्य नभएर धेरै हदसम्म महिलाहरूमाथि आफ्नो प्रभुत्व जमाउने मनोभावनाबाट प्रेतित भई गरिएको हुन्छ भन्ने कुरा उजागर गरे।
महिलाहरूमाथि पुरुषहरूले हक वा प्रभुत्व जमाउनु पर्छ भन्ने कुरा विभिन्न माध्यमबाट जस्तै धर्मग्रन्थ, पित्रीसतात्मक समाजमा गरिने क्रियाकलाप, सिनेमा, पत्र पत्रिका र साहित्यहरूमा प्रस्तुत गरिएको महिला हिंसा आदि इत्यादिबाट पुरुषमा स्वस्फूर्त रूममा आउने गर्छ।
समाजका एक्सपायर्ड रीतिरिवाजलाई विद्रोह गरी फ्याक्ने सामर्थ्य त्यति सहजसँग उसले जुटाउन सक्दैन।
यो कार्य कसरी गरोस् । उसले यही समाजमा बाँच्नु पर्छ।
धार्मिक पुस्तकमा पनि त्यही पढ्छ अनि ग्रहण गर्छ।
सिनेमा हेर्छ त्यही कुरो सिक्छ।
साहित्य उठाउँछ अनि लेखकको मनोविकारको भारी बोक्न तयार हुन्छ।
र बिस्तारै “यो कुरा ठिकै हो” भन्ने भावनाले जरो गाडिदिन्छ ।
मनिसले समाजबाट जे इनपुट लिन्छ त्यसै प्रकारको आउटपुट दिने गर्दछ ।
वास्तवमा समाज बदल्ने नै हो भने धेरै कुराहरू बदल्नु पर्ने हुन्छ ।
कगनेटिव डिजनेन्स थिवोरी र बलात्कार
साइकोलोजिस्ट लिअन फेस्टिङगरले तिनको १९५७ मा प्रकाशित पुस्तक “अ थिओरी अफ कगनेटीभ डिजनेन्स” मा लेखे अनुसार कगनेटीभ डिजनेन्स थिओरीले मानवीय मनोवृत्ति, सोच र व्यवहारबीचमा हुने मतभिन्नता, परस्पर द्वन्द्वको अध्यन गर्छ ।
तिनी भन्छन,”जब एउटा व्यक्तिको विचार र व्यवहारमा एक रूपता नभई विचार एकातिर र व्यवहार अर्कोतिर भइदिन्छ, उक्त कुराले त्यो व्यक्तिमा एक किसिमको मानसिक असहजता उत्पन्न गरिदिन्छ। पछि त्यो असहजता शारीरिक रूपमा पनि देखिन थाल्छ । सम्भवतः मानव पीडाहरूबाट टाढा रहन चाहन्छ ।
यस्तो दोधारे छटपटाहटको अवस्थाबाट मुक्ति पाएर उसले विचार र व्यवहारमा एकरूपता जसरी भए पनि कायम गर्न चाहन्छ।
कगनेटीभ डिजनेन्सलाई अलि गहिराइमा बुझ्ने प्रयास गरौँ
मानौँ, एकजना अत्यधिक रूपमा चुरोट पिउने व्यक्ति बारम्बार यो सोचेर चिन्तित हुन्छ कि चुरोट त वास्तवमा स्वास्थयको लागि हानिकारक चिज हो । यद्यपि उसले चुरोटलाई सदाको लागि छोडन भने सक्दैन । यस अवस्थामा उक्त व्यक्तिभित्र कगनेटिव डिजनेन्स सुरु हुन्छ । अर्थात् तिनको विचारले चुरोट पिउने कार्यलाई खराब भन्छ तर व्यवहारले त्यो कुरो मान्दैन । फलस्वरूप, उसले चुरोट पिउने कार्य जारी राख्छ । त्यसपछि त्यो व्यक्तिमा हुने विचार र व्यवहारको खिचातानीलाई उसले कुनै पनि हालतमा समाप्त वा सामान्य बनाइ छोड्छ।
खिचातानीलाई समाप्त वा सामान्य बनाउन उक्त व्यक्तिले निम्नलिखित कार्यहरू गर्दछः
चुरोट पिउने कार्य पूर्णरूपमा बन्द गर्छ ।
यो कार्य गार्हो भएको हुनाले सामान्यतया यो त्यति हुँदैन।
चुरोट पिउने कार्यलाई अन्य तर्क बितर्कद्वरा न्यायोचित बनाउने कार्य ।
” मैले दुई चार वटा चुरोट पिएर के भयो ? म बिहानै बेलुकै फलफूल तथा दुध सेवन पनि त गर्छु,” भनेर सोच्नु।
नचाहिँदो बकम्फुसे तर्कद्वारा चुरोटको सेवनले गर्ने शारीरिक हानीलाई महत्त्वहीन बनाइदिनु ।
“दुई दिनको जिन्दगीमा मरिलानु के छ र ? पिउनै नमिल्ने भएको भए यसलाई किन बनाइयो । एक दिन मरिजानु नै छ । चुरोट नपिउने पनि आखिर मरेरै जान्छ । चुरोट पिउने पनि मरेरै जान्छ । तसर्थ चुरोट किन न पिउने ?” भनी सोच्नु ।
बलात्कारीले पनि यसै गरी सोच्दछ ।
जब कसैले बलात्कार गर्दछ, उसको मनमा कुनै न कुनै बेला आफूले गरेको कामले मनभित्र केही न केही हलचल सिर्जना गरिदिन्छ।
त्यसपछि उसले कग्नेटिव थेओरीमा वर्णित भए अनुसार निम्नलिखित कार्यहरू गर्न थाल्छ।
त्यो खट्पटाहटबाट मुक्त हुन उसले आत्मसमर्पण गर्छ । यो कार्य त्यति सरल तरिकाले हुँदैन किनकि यसो गरे बापत उसले अझबढी पीडाको सामना गर्नुपर्ने हुन्छ । तसर्थ यो कार्यबाट पनि उक्त पिडक टाढा रहन चाहन्छ।
त्यसपछि उसले आफूले गरेको घृणित कार्यलाई जसोतसो आफ्नो लागि भए पनि न्यायोचित बनाउन खोज्छ।
“यसमा मेरो मात्र कहाँ गल्ती थियो र ? त्यो पनि त उत्तौली भकिथी” भनेर सोच्नु ।
के एक हातले मात्र ताली बज्छ ?
मन मिलेसम्म चमत्कार र प्यार नमिल्ने बित्तिकै खराब व्यहावार अनि बलात्कार ?
दुनियाँले गरी रहेकै छन् । मैले गर्दा चाँहि के भो र ?
मलाई कसरी सजाय हुन्छ ? मलाई यसबाट उम्किन आउँछ।
कानुनले के नै लछार पाटो लाउँछ र ? निर्मला पन्तको हत्यारालाई खै त अहिलेसम्म खोजेको ?
त्यस्तै परे पैसो दिएर मिलाउँला।
समस्याका कुरा धेरै गरियो । समाधान के ? यो समस्याबाट कसरी पार पाउने ?
भनिन्छ शिक्षा र संस्कारको सही मिश्रणबाट एक असल व्यक्ति निर्माण हुन जान्छ।
हामीले हाम्रा सन्तति हुर्काउँदै गर्दा यी कुराहरूको विशेष ध्यान दिन जरुरी हुनजान्छ।
मानवमा भएको अन्तर्निहित गुण, मानवतालाई सधैँ झकझकाइ दिनुपर्छ । त्यसलाई सधैँ तरोताजा राख्न सबैले सहयोग गरिदिनु पर्छ।
यदी बच्चाले सानो कमिला मार्न खोज्दा पनि “यसो गर्नु हुन्न, कमिलालाई पनि हामीलाई जस्तै दुख्छ।” भनेर सम्झाउनु पर्छ।
समाजका अगुवाहरूले समाज कता जाँदैछ त्यसको राम्रो हेक्का राख्नु पर्छ।
युवा वर्गलाई सिर्जनात्मक कार्यको लागि सदैव उत्प्रेरित गर्नु पर्ने हुन्छ।
समाजका प्रतेक जिम्मेवारहरूले “हम्रो बच्चा ” भन्ने भावनाको विकास आफैँमा गर्नु पर्छ।
“मालाई के को चासो ” भन्ने भावना राख्नु हुन्न।
अभिभावकहरूले स्कुलकै मात्र भरपर्नु हुन्न।
शिक्षकहरूले पनि “स्कुल पश्चात् मेरो डिउटी सकियो” भन्ने भावना राख्नु हुन्न । एक आदर्शवान मेन्टोर भएर सोच्नु पर्छ।
एउटा विचारणीय कुरा, यदी कसैले कसैलाइ कुनै किसिमले पीडा दिन्छ भने त्यो कार्य ,” त्यो मान्छे त मभन्दा फरक हो । त्यसलाई पीडा भए होस्” भन्ने भावनाले प्रेरित भएर पीडा दिइन्छ ।
“त्यो मान्छे पनि मजस्तै हो । जसरी मलाई पीडा हुँदा दुख्छ, त्यसरी नै उसलाई पनि दुख्छ । तसर्थ म तिनको पीडाको कारण बन्नु हुन्न” भन्ने भावना मानवमा जबसम्म जीवित रहन्छ, उसले अरूलाई पीडा दिँदैन।
समाजका अगुवा, अभिभावक अनि शिक्षकहरूले सधैँ मानवता झक्झकाइ दिने अभिभारा लिनु पर्छ।
त्योभन्दा ठुलो अर्को कुनै कर्तव्य छैन ।
जाँदाजाँदै उबुन्टु फिलोसोफीको कुरा गर्छु है ।
उबुन्टु फिलोसोफीले भन्छ,”यदी तिमी साँच्चीकै मानव हौ भने, तिमीभित्र भएको त्यो मानवताले अरू कसैलाई कुनै न कुनै तरिकाले उद्धार गरेकै हुनुपर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।