ट्वाक ट्वाक !  यो मध्यरातमा कसले ढोकामा हिर्काइरहेछ । कहीँ चोर त होइन ? होइन होला, चोर ढोकाबाट किन आउँथ्यो । झ्यालबाट आउँछ नि ।  होइन, त्यो त पहिला पहिलाको चोर, अहिलेको प्रजातान्त्रिक चोर त ढोका ढकढकाएरै आउँछ । होइन मैले किन यस्तो नकारात्मक सोच ल्याएको ? कुनै साधु, सन्त, माहात्मा पनि त हुन सक्छ ।

फेरि म किन डराएको ? मसँग छँदै छ नि दिनलाई यदि लिन आएको हो भने अनि मलाई दिन आएको पनि त हुन सक्छ । ढोका खोलेर हेर्नै पर्यो ।

“ओहो! नमस्कार पोषण  दाइ ! यतिबेला ?”म विस्मय मुद्रामा सोच्न थाल्छु।  “यस्तो मध्यरातमा, यतिबेला, म त झसङ्ग भएँ दाइ!”

“कतिबेला?  यो बेला ! बेला या अबेला  के ले तय गर्छ  अभि भाइ ?  आउँदो समयको लागि यो प्रथम प्रहर हो । अबेला कहाँ  हो र , म त बेलै मा आएको छु । तिमी जागा हुँदैमा म आइपुगेँ, ढोका खुल्यो, त्यो नै काफी छ मलाई ।

तिमीले  आज दिउँसो मेरो ३० औँ स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथि भएर दिएको मन्तव्यले मेरो हृदय छोयो जसले मलाई यहाँसम्म डोर्याएर ल्यायो । ऊ हेर त त्यो परको हुललाई, समुद्रमा पौडी रहँदा आफूले भेटेको सिपी र शंख तिमीलाई सुम्पन लम्की रहेछन् ।  तिमीजस्तो समीक्षकबाट आफूलाई समीक्षा गराउन ।

ओहो ! धन्य भएँ दाजु,  त्यो दिउँसोको मन्तव्य मेरो संस्मरण झ्यालको थुप्रै मध्येको एउटा आँखी थियो जसबाट चिहाएर मैले केही बोलेँ र त्यही निहुँमा मैले दाइलाई अझै गहिरिएर बुझ्ने मौका पाएँ । आफूले गरेको समीक्षाको समालोचना त म आफैँ के गरौँ ।

तिमीले सही भन्यौ भाइ । समालोचना हर कोहीले गरेका हुन्छन् । तर डुबुल्की मारेर, गहिरिएर, खोजेर भेट्टाउने, यो सिद्धान्तले होइन हृदयबाट गरिने कुरा हो ।

दाइको विचारसँग म सहमत छु । समालोचना त विश्वासले हुन्छ ।  यसको लागि नेपाली विभागमा डिग्री लिएर पढ्नु पर्दैन यसको पुष्टि त आजै मभन्दा अघिल्लो प्रस्तोता युवराज मैनालीको मन्तव्यबाट पनि भइसकेको छ नि । रिटायर्ड प्रशासकले उच्च समालोचना गरेर सुनाउनु भयो यो धेरै मान्छेलाई ‘आइओपनर’ (eye-opener ) होस भन्छु म त दाइ ।

अवश्य ! त्यसमा कुनै शंका छैन ।  फेरि थप तिमीजस्तो अन्तर्राष्ट्रिय ख्यातिप्राप्त समीक्षकले  पश्चिमा दार्शनिक साहित्यकारलाई पढ्दै पूर्वमा समीक्षा गर्दा अझै चाखलाग्दो भएको पाएँ । यसरी हामीले सोचाइको नयाँ पारालाई दिशा दिनै पर्छ भाइ र यसरी नयाँ पाराको सोचाइबाट मूलभाव भूमिको घेरामा नयाँ चमक आउन सक्छ र आजको मानिसलाई यसबाट ‘हिजो’ थाहा लाग्न सक्छ ।

हो नि  दाइ। ओहो ! मैले त भित्र पनि नबोलाई सङ्घारमै उभ्याएर पो कुरा गरेछु । भित्र बसौँ दाइ म  चिया बनाउछु ।

होइन भाइ, अहिले हामी आ-आफू यही ठाउँमा रमाऔँ ।  तिम्रो लागि म बाहिर मेरो लागि तिमी बाहिर । को बाहिर को  भित्र ? जे होस हामी यसै दुरीमा रहेर कुरा गरौँ न है । बाँकी रह्यो चिया , मैले पिउन छोडिसके भाइ । बरु चियाको कुरा आउँदा तिमीले दिउसो हरिभक्तको प्रसङ्ग निकालेको बडो सान्दर्भिक लाग्यो ।  कार्यक्रममा कटुवाल पनि मसँगै थिए ।

रन्जु पाण्डे

ए हो र दाइ ! रमाइलो मान्नु भयो नि ?

अत्यन्त !  वरिष्ठ विद्वान अनि साहित्यकार अभि सुवेदीले प्रमुख अतिथ्यता गरेको कार्यक्रमलाई किन छोड्थे र ऊनी । तिमीले भनेको एउटा कुराले हामी दुवैलाई बढो मज्जाले स्पर्श गर्यो । जब जीवन र साहित्य बीचको कम्प्रोमाइजको कुरा तिमीले गर्यौ त्यो साह्रै महत्त्वपूर्ण विषय उठायौ ।  तिमीले म र म जस्ता स्रष्टाको जीवन र साहित्यबीचको धारलाई बहुत राम्रोसँग बुझेको मैले पाएँ ।

होइन त  दाइ, भयङ्कर साधना गरेर प्राप्त  हुने यस्तो साहित्यलाई जीवनसँग आत्मसात् गर्नु, यो त पहिचान र खुबीको कुरा हो  जसलाई बहुत सहज रूपले प्रयोग गर्नुभएको छ दाइ तपाईँले । विना कुनै बहाना सलल बगेको छ दाइको लेखाइमा जुन त्यो कवितात्मक आकर्षण हो ।

” आँखा साट्न मिल्दैन, मन सार्न मिल्दैन ।  मन त सारै कमलो छ, मनको जरो उखेल्न मिल्दैन” आहा! हेर्नू त यस रचनामा कुनै प्रयोगको बहाना देखिन मैले त ।

तिमीले ठिक भन्यौ  भाइ । खास गरेर काव्य साहित्यमा प्रयोगवाद प्रायशः चमत्कारको रूपमा लिन थालिएको होला कि मलाई यसमा उति सारो मोह रहेन र म आफैँ पनि काव्य क्षेत्रमा स्वच्छन्दतावादी प्रतीकवादको धारा प्रभावित भएको मै रुचिकर ठान्दछु  ।

ऊ कटुवाल पनि आइपुगे । ल हरिभक्त  तिमीले मातृभूमिलाई म्वाई खाएको बारे अभिले गरेको चर्चा कस्तो मान्यौ आफैँ बताइदेऊ ।

मैले के भन्नु अभि भाइले मेरै मनका कुरा बोलेका छन । अभि, तिमीले भनेझैँ मैले साहित्य र जीवनलाई केही मात्रामा सन्तुलन कायम गर्न नसकेकै हो । नत्र हेर त अघिल्लो दिन सडकमा प्रकृतिलाई म्वाई खाँदै गरेको मलाई तिमीले  डेरा पुर्याएर फर्केछौ । भोलिपल्ट मेरा सुन्निएका आँखालाई हेरेर नबुझ्नेले धेरै कुरा काटे । घरबेटीले वचन लगाउँदै भने ‘सधै यस्तो भए डेरा छोडेर जानु ‘।

हो त नि ! भोलिपल्ट तिमीलाई म भेट्न आउँदा तिम्रा ती सुन्निएका आँखामा जब घामको न्यानो स्पर्श पर्छ त्यसपछि त्यो आँखाले हेरेको  दृश्य औल्याउँदै तिमी ले जे भन्याथ्यौ मलाई अझै सम्झना छ ” उ त्यो फूलमा पानी हाली रहेकी ती महिलालाई देखिस्, त्यसलाई  हेरेर मैले एउटा गीत रचेको छु ” तिमीले रचेको त्यो गीत आज दिक्कालजय भएर हरेकको ओठ  हुँदै मुटुसम्म पुग्ने गर्छ ।

“पोखिएर घामको झुल्काभरि सङ्घारमा

तिम्रो जिन्दगीको ढोका खोलु खोलु लाग्छ”

हो नि ! तर के गर्ने भाइ , म लडिरहँदा सबैका आँखाले  मैले मातृभूमिलाई माया गरेको हेक्का राख्दैनन् । म लडनुलाई मेरो कमजोरी ठानेर वा म निदाएको मौकामा आफू उदाउन दौडिएकाले मलाई छोडेर जान्थे ।  तर पनि म सकार्छु कि तिमीले भनेझैँ म साहित्यलाई जीवनसँग अलि असाध्यै गास्थेँ। ओहो ! म त लक्ष्मी दाइलाई चुरोट लिनआएको कुरैकुरामा अलमलिए छु  । म हिँडे है अहिले ।

पोषण दाइलाई कस्तो लाग्यो हरिभक्त दाइको स्वीकारयुक्ति ?

कटुवाल भाइको कुरा बिलकुल सही मानेँ मैले । साहित्य यात्रामा हिँड्दा आफू स्वयं नै एउटा घटना भइन्छ र  आफ्नो रचना घटना प्रक्रियामा बाहिरिएको हुन्छ । यसरी आफैँ घटना बनेर साहित्यमा यात्रा गर्दा हामीलाई असन्तुलित बनाउने थुप्रै बाछिटाले हामी रुझ्ने गर्छौंँ । तर यस्ता बाछिटामा रुझ्दारुझ्दै पनि साहित्य सिर्जना गर्नुले एउटा गतिलो सन्देश के  दिएको हुन्छ भने कमल हिलोमा फुलोस या पानीमा आखिर दुवै उत्तिकै पूज्य हुन्छन। हो , बरु अवश्य कहिलेकाहीँ भने त्यही कमलमा अल्मलिएको कमिलाले पनि शिवजीको माथमा पुगेपछि चन्द्रबिम्ब चुम्बन गर्न पाउँछ ।

आहा कति मिठो तर्क !  दाइको मलाई अर्को मन परेको पक्ष तार्किकता पनि हो । लय अनि घटनामा  दाइको कविताले नै विषय उद्घोष गर्छ त्यसमा बहाना हुन्न । काव्य समीक्षात्मक चेतनाको दुरी पनि त्यहाँ हुँदैन । पश्चिमी ब्रिटिश कविहरूको रचनामा तार्किकताको प्रयोग बढी हुन्छ । नेपाली कवितामा पनि तार्किकताको प्रयोग छ तर पोषण दाइको तार्किकताको प्रयोग नितान्त आफ्नो हुन्छ ।  यस्तो तर्क गर्नुहुन्छ कि कुनै शास्त्र पढेर आएको तर्क नै होइन । नितान्त भोगेको तर्क । भोग्दा पनि त्यस्तो सारै भित्रिएर, चिरिएर, पछारिएर भोगेको पनि होइन । त्यसभित्रको नदेखिएको/ छोपिएको कुरा देख्नु भो अनि लेखु भो बस् ! यो कस्तो उपहार दिएको ईश्वरले दाइलाई ।

हा ! हा ! भाइले बडा मज्जाले मेरा सृजनाहरूको सफल शल्यक्रिया गर्यौ ।  यो पनि भाइलाई ईश्वरले दिएको उपहार नै हो । यो खुबी पनि सबैमा कहाँ हुन्छ र ?

मलाई लाग्छ कविता वस्तुको विषय होइन कविता अनुभूतिको विषय हो ।  त्यसैले अनुभूतिको अभिव्यञ्जना प्रतीकात्मक रूपमा व्यक्त गर्नुमा मेरो रुचि रसाउँछ । यस्तै छ भाइ मेरो स्वभाव ।

हो नि दाइ १ ल हेर्नु त वासु शशीले लेख्नुभएको एउटा  कविता “पानी हो त्यो चल्छ, विणा हो त्यो बज्छ ,  विणालाई चिथोर… यस्ता केही छन् तर दाइको सबैजसो कविता यस्तै छन् । महात्माहरू कहाँ छन शीर्षक कविताको यो पङ्क्ति  “तपस्याको फूलमा पनि त काँडा लाग्छ, काँडा लाग्छ भनेर के फूल फुल्न छोड्छ ”

आहा!  यसमा पनि तर्क छ ।  प्रकृतिको सरल ‘फेनोमेना’ हो काँडा र फूल । त्यसलाई भाषामा अनुभूति, रूपान्तरण गर्नु सजिलो छैन जुन दाइले आफ्नो कवितामा सहजै गर्नुभएको छ नेपाली साहित्य जगतमा अमेरिकी कवि रोबर्ट लि फ्रस्ट ( Robert Lee Frost) लाई सम्झाउने गरेर। यसमा के भन्नुहुन्छ दाइ ?

अभि भाइ यति हुदाहुँदै पनि साहित्य लेखनमा मेरो प्रेरणाको श्रोतहरू भन्नुपर्दा म  रबिन्द्र नाथ ठाकुरको गीतान्जली कविता र उनको होम कमिङ नामक लघु कथा लाई मान्दछु । त्यस्तै बिलियम वर्ड्स्वर्थ ( William Worssworth) को लुसी ग्रे (Lucy Gray) कविताले  पनि मेरो सुरुको मानव मानसमा निक्कै प्रभाव पारेको थियो भने खलिल जिब्रानको काव्यात्मक दार्शनिक अभिव्यक्तिबाट पनि अपरोक्ष रूपमा मैले प्रेरणा पाएको छु ।

ओहो ! दाइ ले त मैले छुटाएको कुरा पो बताई दिनु भयो त  यस्ता कुराले नवप्रतिभालाई समेत प्रेरणा मिल्दछ ।

अर्को एउटा कुरा नि पोषण दाइ , म जस्तो कलाको समीक्षा गर्ने मान्छेलाई  दाइको एउटा कविताले निक्कै हल्लायो, त्यो कविताको शीर्षक हो ‘ लाटो भित्ता’ हो र ! लौ, मैले यसको चर्चा सुन्न छुटाए छु ।  म बाहिर गएको बेला परेछ कि ।

अब हेर्नू न भित्ता चित्रकलाको सारै महत्त्वपूर्ण विषय हो । दुरुह अमुर्त चित्रकला र थीम राखेको चित्रकलामा कुन बढी अर्थपूर्ण हुन्छ भन्नेमा ठूलो बहस चल्ने गर्छ । पिकासोले भित्तामा त्यत्रो वार (war) को चित्रण गरे ।  भित्ता चित्रकला जस्तो महत्त्वपूर्ण विषयमा दाइले कविता लेख्नुभएको मलाई सम्झना थिएन । ‘ लाटो भित्ता’ कवितामा त्यो मान्छेको भित्तालाई दाइले क्यानभास जस्तो देख्नु भाछ । लाटो भित्ता भनेको फ्ल्याट क्यानभास हो । त्यहाँ के लेख्नु भएछ त भनेर यसो हेरेँ ।त हेर्दाखेरि,

“मान्छेको भित्ताले

मान्छेलाई ड्वाङ्ड्वाङ्ती पार्दै

एउटै खुल्ला कोठामा हुत्याउँछ

हुर्याउँछ

लाटो भित्ता

बाठो भित्ता

जिउँदो भित्ता

नाङ्गो मानिस ”

अन्तमा गएर दाइले जुन जोडिदिनु भएको छ नि ” नाङ्गो मानिस” यहाँनेर चित्रकलाको अत्यन्त राम्रो संरचना भेटेँ मैले । भित्तासँग, आफ्नो परिवेशसँग आफ्नो दर्पण राख्न खोज्ने मान्छेको प्रकृति । साहित्यमा हामी माध्यम खोज्छौँ। कथा, कविता, नाटक सबैमा माध्यम खोज्छौँ।  यस्तो चित्रकलाको क्यानभासमा यस्तो कविता छ भन्ने मलाई थाहा थिएन । आज बोल्ने सन्दर्भ नपरेको भए .. ।

हा! हा ! कुनै बेला लेखिए छ यस्तो कविता पनि, मलाई पनि सम्झाई दियौ। आज तिमीले बोलेका हरेक कुराहरूलाई  मेरो छायाले राम्रो अनुभूत गर्यो । यसलाई बयानको रूपमा मात्र हेरेनौ। तेस्रो आँखाले हेर्दा यसमा दृश्य र दृष्टिकोणको राम्रो संयोजन मैले पाएँ । विषय र घटनाको राम्रो चिरफार भएको छ। यस्तो मन्तव्य अनि चिरफारले नव पुस्ता जस भित्रका अथाह भावनाहरू अनि जीवनका भोगाइहरूले निकासा खोजिरहेछन् उनीहरूको लागि एउटा सशक्त स्रोत/ फर्मुला हुनेछ । आफूमाथि गरिएको अभिव्यक्तिलाई आफैँले केलाउने र केही भन्ने हुटहुटी जाग्यो र फर्केपछि तिमीले बताएको मेरा साहित्यिक व्याख्यासँग मेल खाने आफ्नो संस्मरणको डायरी पल्टाएँ, पाण्डुलिपि  खोतलेँ । सायद यो पनि मेरो लागि एउटा मार्ग होला तिमीसम्म पुग्ने । अब छाया सम्मेलनमा फेरि भेट होला है । ओहो!  कुरै कुरामा भुलेछु छाया सम्मेलन भनेपछि पो सम्झेँ । देवकोटाजीले पठाउनुभएको यो पत्र तिमीलाई दिनु भनेर ।

पत्र ? के रहेछ दाइ यसमा ?

“विचरा दुनियाँले मलाई चिनेन कर्म खोटो मलाई चिनेन चिनेको भए संसारले दुःख पाउने थिएन। मलाई बुझेको भए बुझेका कुरा बाँकी रहने थिएनन् ।  तर किन हो मायावी जाली दुनियाँको आँखामा रहेकै छ।

उ चिन्न पनि चाहन्छ , चिन्नदेखि डराउँछ पनि  । ….. हामी देख्न चाहन्छौँ तर नानी नै यस्तो छ कि उज्यालो पर्दै खुम्चिन्छ ।  हामी अज्ञानलाई जीवन बनाउन चाहन्छौँ ”

ओहो ! देवकोटाज्युको यो भनाइ त मैले उहाँको निबन्ध “मान्छे जादू “मा सुनेको हो । अनि अहिले यो पठाएर किन सम्झाए बूढाले यो कुरा मलाई ?

हा ! हा !  बुझ अभि यसको सङ्केत, ठ्याक्कै त मलाई पनि थाहा छैन । बरु अलिकति खेस्रा कागज छ भने मागेर ल्याउनु भन्नू भाको छ देवकोटाजीले ।

हो र के लेख्दै हुनुहुन्छ र वहाँ आजभोलि  ?

छाया सम्मेलन हुँदै छ उहाँलाई प्रमुख अतिथि बनाइएको छ ।  भानु, भूपि व्यथित, लामिछाने, भिक्षु सबै उपस्थित हुनेछन् ।

धेरै राम्रो भएछ दाजु यो कार्यक्रम कसले आयोजना गर्दैछ ?

आयोजक त अझै तय भएको छैन ।…

ल त भाइ शुभ बिहानी !

ट्वाक ट्वाक ! …

शुभ बिहानी , चिया तयार भो ।

*******

सन्दर्भ : ३० अौं पोषण पाण्डे स्मृति दिवस – २०७९/१/७