रोचक लाग्छ यो कहावट-

एकपटक पाब्लो पिकासोले एउटी महिलाको चित्र बनाइदिए बापतको पारिश्रमिक एक मिलियन डलर मागेका थिए रे । महिलाले तर्क गर्दै भनिछिन्, “जाबो दस मिनेटमा बनाएको चित्रको मूल्य एक मिलियन डलर ?”

“माफ गर्नुहोला म्याडम ! जुन चित्र मैले दस मिनेटमा बनाएँ त्यो सिक्न मलाई तीस वर्ष लागेको छ ।”

यद्यपि ती महिलाले चुपचाप (मूल्य नतिरिकनै) त्यो चित्र लिएर गइन् । पछि चित्र किनबेच गर्ने बजारमा गएर उक्त चित्रको मूल्य सोध्दा एक मिलियन पर्न सक्ने जवाफ पाइन् ।

सुनेको थिएँ, पिकासो चित्र बनाउनमा यति लीन हुन्थे कि आफ्नो पूरा जीवनमा उनले चित्र बनाउने बाहेक अरू काम गरेनन् । सुत्नुअघि चित्र, बिउँझिसकेपछि चित्र । खाना खानुअघि चित्र, खाना खाइसकेपछि चित्र । कहीँ जानुअघि चित्र, कतैबाट फर्केपछि पनि चित्र । जतिबेला होस्, चित्र बनाउनमै लीन ।

लेखको शीर्षकले सिर्जनात्मक स्वाभिमानको उत्तर मागिरहेको छ । कतै पिकासोले एउटै चित्रको मूल्य एक मिलियन डलर तोक्नु उनको सिर्जनात्मक स्वाभिमानकै प्रतिबिम्ब त होइन ?

होइन । त्यो होइन भन्नकै लागि यो उदाहरण यहाँ उल्लेख गरेको हुँ । नाथे एक मिलियन डलर सिर्जनात्मक स्वाभिमानको मूल्य कसरी हुन सक्छ ? संसारका कुनै पनि मूल्यले स्वाभिमानलाई किन्न वा बेच्न सक्दैनन् । यदि किनिन्छन् वा बेचिन्छन् भने ती स्वाभिमान होइनन् ।

म सिर्जनात्मक स्वाभिमानको कुरा गर्दैछु । यही मौकामा दुइटा कुरा भनिहालौँ है । पहिलो- आफ्नो सिर्जना उपयुक्त समय र स्थानमा मात्र देखाउनु । र दोस्रो- सिर्जना अब्बल र विशिष्ट हुनु तर आफ्नो सिर्जनाको तारिफ आफैँले नगर्नु ।

यति भएपछि कसैले आफ्नो सिर्जनाको प्रतिष्ठा र महत्त्वमाथि गौरव गर्न पाउँछ ।

पहिलो सर्त अर्थात् ‘आफ्नो सिर्जना उपयुक्त समय र स्थानमा मात्र देखाउनू’ । मानौँ कुनै व्यक्तिलाई दर्शनको बारे केही थाहा छैन । ऊ दर्शनबारे जान्न पनि चाहाँदैन । उसलाई आफ्नो दैनिकीसँग सम्बन्धित समस्याहरू सामना गर्नमै भ्याइनभ्याइ छ । अब उसलाई रोकीरोकी उसँग मैले दर्शनको कुरा गरेँ भने म मूर्ख कहलिन्छु । चाहे म सुकरात नै किन नहूँ !

चिन्तन नेपाल

एकजना साथी कविहरूदेखि साह्रै खिन्न रहेछन् । एकदिन त्यो खिन्नता पोख्दै भने– यी कविहरू एक नम्बरका तुच्छ प्राणी हुन् । यिनीहरूलाई कसैले ‘अबको दस मिनेटमा महाप्रलय हुँदैछ, तपाईंको अन्तिम इच्छा के छ’ भनेर सोध्यो भने तुरुन्त भनिहाल्छन्- ‘उसो भए मेरो एउटा कविता सुन्दिनोस्’ ।

यद्यपि ती साथीले यो कुरो मजाककै शैलीमा भनेका थिए । तर यसभित्रको अन्तर्य गम्भीर छ ।

साँच्चै ! केही कविहरूलाई कविता लेखिनसक्दै सुनाउन हतार हुन्छ । मानौँ कि कविता भनेको केवल सुनाइफाल्ने चिज हो । भनौँ न युज एन्ड थ्रो । अझ यसरी बुझ्दा पनि हुन्छ- कविताको प्रयोजन नै के हुन्छ र ! सुनाउनु नै त्यसको प्रयोजन हो । यानेकि ‘युज’ भन्नु पनि सुनाउनु ‘थ्रो’ भन्नु पनि सुनाउनु ।

त्यस्तै कविहरूलाई हो साथीले ‘तुच्छ’ भनेको । त्यसमा म पनि पर्न सक्छु । जसले ‘म कविता लेख्छु’ भन्ने आडम्बर देखाउनकै लागि कविता लेख्छ नि उसले मान्छे भेट्यो कि कविता सुनाउन सुरु गरिहाल्छ । बीचबीचमा आफ्नै कविताको व्याख्या पनि गर्छ । तर सुन्नेले केही बुझ्दैन । यो बिडम्बना मैलेझैँ राम्रोसँग कल्ले बुझेको होला !

होइन होइन, तपाईंले पनि बुझ्नुभएको छ ।

केही मान्छेलाई स्वाभिमानी हुन कति सजिलो ! उनीहरूका लागि ‘मही मागेर ढुङ्ग्रो लुकाउनु’मा पनि स्वाभिमानी हुनुकै गर्व छ ।

हँ ? यो भनेको चाहिँ के?

एकजना कविलाई आफ्नो कविता पत्रिकामा छाप्न मन लागेछ । सम्पादकलाई भनेछन्- “मेरो एउटा कविता छाप्दिनोस् त ।”

सम्पादकले कविको अनुरोध स्वीकार गर्दै भनेछन्- “आफ्नो कविता मेरो इमेलमा पठाउनोस् ।”

“अहँ, म कविता इमेलमा पठाउँदिनँ । तपाईंले नै मेरो एउटा कविता छानेर छाप्दिनोस् । मेरो आफ्नै सिर्जनात्मक स्वाभिमान छ ।”

बुझ्नुपर्ने कुरा यहाँनेर के छ भने ती कविको स्वाभिमान बनावटी स्वाभिमान हो । कविता छाप्देऊ पनि भन्ने फेरि कविता माग्दा चाहिँ ‘म दिन्नँ, मेरो सिर्जनात्मक स्वाभिमान छ’ भन्ने? मही मागेर ढुङ्ग्रो लुकाएको होइन यो ?

स्वाभिमान हुनको लागि एउटा मान्छेमा इमान हुनु अनिवार्य हुन्छ । अझ सर्जककै हकमा भन्ने हो भने एउटा सर्जक ‘स्वाभिमानी’ नभए पनि हुन्छ । तर ‘इमानदार’ हुनैपर्छ । के मही मागेर ढुङ्ग्रो लुकाउनु इमानदार हुनु हो ? या स्वाभिमानी हुनु हो ?

दुवै होइन ।

सिर्जनात्मक इमानको मामिलामा मैले नारायणगोपाल जत्तिको उत्कृष्ट उदाहरण अरू भेटेको छैन । उनले गाएको गीत ‘साउनको झरी बनी तिमी आऊ न’ को लागि गीतभन्दा पहिले सङ्गीत रचना गरिएको हो रे । नारायणगोपाल आफैँले त्यसको सङ्गीत कम्पोज गरेर गीत लेखिदिन भनी थुप्रै गीतकारहरूलाई दिएछन् । झण्डै १० जना गीतकार (एकिनका साथ भन्न सकिनँ) । ती गीतकारहरूमा गोपाल योञ्जन (नारायणगोपालका मित) पनि थिए रे । तर नारायणगोपाललाई उनीहरूले लेखेका गीतमध्ये एउटा पनि चुत्त बुझेन । अन्त्यमा त्यो सङ्गीत दिनेश अधिकारीलाई दिएपछि मात्र लेखियो ‘साउनको झरी बनी तिमी आऊ न’ । बल्ल यस गीतलाई नारायणगोपालले स्वीकार गरे र यसैमा स्वर दिए, जुन आजपर्यन्त अजरअमर गीतहरूको सूचीमा श्रेणीबद्ध छ ।

अँ, यो त रह्यो उनको सिर्जनाप्रतिको बफादारी । उनको सिर्जनात्मक स्वाभिमानबारे त भन्नै बाँकी छ ।

महारानी ऐश्वर्याले लेखेको गीत ‘एउटा मान्छेको मायाले कति….’ गाइसकेपछि एकदिन नारायणगोपाल रानी ऐश्वर्यालाई भेट्न दरबारमा गएछन् । रानीको सचिवले नारायणगोपाललाई रानीसँग भेट्ने अनुमति दिएनछन् । किन भनेर सोध्दा ती सचिवले भनेछन्- “महारानीले दरबारिया पुरुषबाहेक अरू कुनै पुरुषसँग भेट गर्नुहुन्न ।”

त्यस दिनदेखि जति अनुरोध गरे पनि नारायणगोपालले रानीका कुनै गीत गाएनन् रे ।

हामीकहाँ एउटा कुरूप संस्कृति के छ भने हामी स्वाभिमान खोज्छौँ । तर त्यो स्वाभिमानको लागि हामीमा के इमान छ ? त्यतातिर सोच्न भ्याउँदैनौँ ।

एउटा कविले फेसबुकमै लेखेको देखेँ- “नाथे झमक घिमिरेका कृति मैले पनि पढेको छु । के छ र तिनमा राज्यले उनलाई दुई करोडको घर दियो?”

हाय मानसिकता !

झमकको त्यो असाधारण क्षमता, विचारप्रतिको दृढता, ती अकल्पनीय भोगाइ, र लेख्नकै लागि गरेको त्यो सङ्घर्ष नाथे दुई करोडमा मूल्याङ्कन गर्न मिल्दैन । उनी संसारकै असाधारण प्रतिभामध्येकी एक हुन् । “झमकका कृति मैले पनि पढेको छु” भन्ने मेरो कविले झमकका कृति भनेर अरू कसैका ख्यासख्यास साहित्य त पढेन ? शङ्कै लाग्छ ।

सुनेको छु – राज्यले दिएको घरमा बस्नुको हिनताबोधले झमक घिमिरे आफ्नै घरमा बस्दै आएकी छिन् । यति हुँदाहुँदै पनि उनीमाथि प्रहार गर्न छोडेनन् मेरा प्रिय कविले ।

फेरि यस्तै बकम्फुस्रे कविबाट आउँछ सिर्जनात्मक स्वाभिमानको कुरो । विश्वसाहित्यले देखेको एउटा गौरवपूर्ण अपवादको नाम हो ‘झमक घिमिरे’ । के जाँड खाएको सुरमा अर्काको स्वाभिमानमाथि धावा बोल्ने छुट छ कविहरूलाई ?

यहाँनेर अचम्मको कुरो त के भने “मेरो आफ्नै सिर्जनात्मक स्वाभिमान छ” भन्ने व्यक्ति र “नाथे झमक घिमिरेका कृतिमा के नै छ र राज्यले दुई करोडको घर दियो?” भन्ने व्यक्ति एकै हुन् ।

अर्काको स्वाभिमानमाथि प्रहार गर्नेले ‘मसँग सिर्जनात्मक स्वाभिमान छ’ भन्नुअघि धेरैपटक सोच्नुपर्ने हुन्छ । के अहङ्कार र स्वाभिमानलाई एउटै अर्थमा प्रयोग गर्न मिल्छ? पटक्कै मिल्दैन ।

कविशिरोमणिको उपाधि सुरुमा लक्ष्मीप्रसाद देवकोटालाई दिने प्रस्ताव गरिएको रहेछ । तर देवकोटाले त्यो उपाधि लिन अस्वीकार गरे । कारण के त भन्दा उनी आफूभन्दा धेरै अब्बल ठान्दा रहेछन् कवि लेखनाथ पौड्याललाई । त्यसैले त्यो उपाधि लेखनाथलाई दिनु न्यायोचित ठाने र आफूले अस्वीकार गरे । पछि देवकोटाकै सल्लाह मुताबिक कविशिरोमणिको उपाधि लेखनाथलाई नै दिइयो पनि । देवकोटालाई महाकविको उपाधि त त्यसको धेरै समयपछि प्राप्त भएको थियो रे । सिर्जनात्मक स्वाभिमान हुनेहरू अर्काको सिर्जनशील उचाइको यसरी सम्मान गर्छन् ।

नोबेल पुरस्कार पाएर समेत अस्वीकार गर्नेहरू पनि छन् इतिहासमा । आफ्नो सिर्जनशील उचाइलाई पुरस्कार नामको थाङ्नो ओढाउन चाहाँदैनन् उनीहरू । सिर्जनात्मक स्वाभिमान भनेको त्यो हो ।

मेरो कविता छाप्देऊ भनेर हारगुहार गर्नेहरू, मैले पुरस्कार पाइनँ भनेर पीर गर्नेहरू, मिडियाले मेरो बारे केही लेखेन भनेर रुनेहरू कसरी स्वाभिमानी सर्जक हुन सक्छन्?

कुनै निर्णायक युद्ध जितेर फर्केको योद्धा आफ्नो जितलाई कुनै पनि मूल्यमा बेच्न सक्दैन । त्यस्तै हो स्वाभिमानी सर्जक पनि । नाथे दुई करोडको घर अथवा दस मिलियन डलर सिर्जनात्मक स्वाभिमानको मूल्य हुन सक्दैन । न कविशिरोमणिको उपाधि न नै नोबेल पुरस्कारको राशी ।

सिर्जनात्मक स्वाभिमान त सिर्जनाप्रतिको इमान, विशिष्ट सिर्जनशील चेतना, अर्काको स्वाभिमानप्रतिको सम्मानलगायतका विशेषताहरूको मिश्रणबाट निर्माण हुने कुरा हो ।

अँ, मही मागेर ढुङ्ग्रो लुकाउने स्वाभिमान बेग्लै कुरो ।