हाम्रो नेपाल राष्ट्र, एक हिन्दू राष्ट्र भनेर संसारभरि नै चिनिएको छ । हिन्दू राष्ट्र भए तापनि यहाँ अरू धर्मावलम्बीहरूलाई पनि आफ्नो धर्म मान्ने पूर्ण स्वतन्त्रता छ, सम्मान छ  । तर केही आन्तरिक र बाह्य विधर्मी शक्तिहरू एवं केही धर्मछाड़ा राजनीतिज्ञहरूको स्वार्थ एवं अदूरदर्शिताका कारण अनेक चलखेल हुँदै यो राष्ट्र आज धर्मनिरपेक्ष राष्ट्र भनेर नेपालको संविधानमा लेखिएको छ । के यो लेख्न आवश्यक थियो ? के जनताले यस्तो लेख्नु भनी सांसदहरूलाई बहुमूल्य मतदान दिएर पठाएका थिए ? तर, जे होस् वास्तविक धरातलमा त नेपाल हिन्दू राष्ट्र नै थियो र रहने छ । यो तथ्यलाई कसैले मेट्न सक्दैन् । आफ्नो मौलिक सनातन हिन्दू धर्म र ॐकार परिवारको महत्त्वलाई बुझेर पनि आफ्नो निजी स्वार्थका लागि देशको धर्म र संस्कारलाई नै दाउमा राखेर राजनीति गर्ने धर्मछाड़ाहरू आज उनै हिन्दूहरूको बहुमतको सहाराले जितेर यहाँ हालीमुहाली गरिरहेका छन् । अबोध तथा गरिबीको चपेटमा परेका हिन्दूहरूलाई अनेक प्रलोभनमा पारेर धर्म पविर्तन गराउन र विधर्मीहरूलाई यहाँ आफ्नो धर्म फैल्याउनमा सहयोग गरिरहेका छन् । इस्लाम तथा इसाई धर्मावलम्बीहरूले हिन्दू धर्मलाई अँगालेको बिरलै देखिन्छ । तर, हिन्दूहरू विभिन्न प्रलोभनमा परेर सहजै आफ्नो धर्म त्यागेर अरू धर्म अँगाली हाल्छन् । त्यसैले हामी हिन्दूहरू अब घरघरबाट जागरुक भएर आफ्नो धर्मको रक्षार्थ उठेनौँ र सक्रिय तथा सजग भएनौँ र यसरी नै आर्थिक लोभमा परेर आफ्नो धर्म परिवर्तन गर्नेतर्फ लाग्यौँ वा लाग्न दियौँ भने, निकट भविश्यमा हिन्दू धर्म धरापमा पर्ने छ । यो हिन्दू राष्ट्रको पहिचान पनि हराउने छ ।

हाम्रो राष्ट्रियताको बारेमा सबैले कुरा त गर्छन् तर यसप्रति उत्तरदायी भएर संवेदनशील भएको भने विरलै देखिन्छन् । हाम्रा नेताहरू सधैँ राष्ट्र र राष्ट्रियताको कुरा गर्छन्, तर व्यवहारमा त्यो देख्न पाइएको छैन् । एउटा राष्ट्रिय पोषाकसम्म लगाएर आफ्नो मौलिकता एवं राष्ट्रियता प्रदर्शन गर्न पनि लाज मानेजस्तो गर्छन् । हिजो फाटेका चप्पल र थोत्रा लुगा लगाउने नेताहरू हाम्रो सदियौँदेखि चलिआएको राष्ट्रिय पोशाक नलगाई आज सुकिलो मुकिलो विदेशी पोशाक लगाएर यहाँ राष्ट्रियताका कुरा गर्दै हिँडेका छन् । राष्ट्रिय पोशाक लगाउँदा आफूलाई सानो भएको ठान्दछन् कि कसो ? विदेशीहरूको आर्थिक, धार्मिक तथा राजनैतिक कृपा–कवचमा रक्षित एवं पृष्ठपोषित हुँदै आएका नेताहरूले गर्दा आज नेपाल राष्ट्रको अस्मिता नै धरापमा परेको छ । छिमेकीहरूले सीमा मिच्दा पनि केही बोल्न् सक्दैनन् र वार्ता गर्न पनि डराउने नेताहरू आज देशभक्ति र राष्ट्रिय सुरक्षाको कुरा गर्दै हिँड्छन् । नेपाल आमाको गुन्यु कसैले तान्दा पनि सत्ता लुलुप्त नेताहरू भिष्मपितामहजस्तै मुकदर्शक भइ बसेका छन् । भोलि यसले अर्को महाभारत ननिम्त्याउला भन्न सकिन्न ।

डा. कालु शर्मा सुवेदी

हाम्रो धार्मिक परम्परा अनुसार दान दिनु नै हाम्रो उच्चतम संस्कार हो । कुनै बेला अरूलाई ज्ञान दिने र अन्न दान दिने हाम्रो नेपाल राष्ट्र आज भिखारी राष्ट्र भएको छ । हुन् त हामीसँग नपुग्दो केही छैन्, तर भ्रष्टाचारी नेताहरू र मगन्ते संस्कारी सरकारले गर्दा विदेशीको द्वारमा हात पसार्दै भिक्षाटन नगरी आफ्नो पेट पाल्न यो राष्ट्र आज असमर्थ हुँदै गएको छ । संसारमा जलश्रोतको धनी मानिने नेपाल राष्ट्रले अहिले विदेशबाट मँहगो मूल्यमा बिजुली र अन्य विद्युतीय सामानहरू किन्नु परेको छ । कैयौँ कुरामा आत्मनिर्भर हुन् सक्ने राष्ट्र आज तिनै वस्तुहरूको लागि अरूमाथि निर्भर हुनु परेको छ । विभिन्न अन्तर्राष्ट्रिय तत्त्वहरूको संक्रमणले गर्दा नेपाललाई राष्ट्रियताको सुकेनास रोग लागेको छ । आफूसँग प्रभावकारी जड़ीबुटी हुँदाहुँदै पनि वैदेशिक आशिर्वादको उपचारको भरमा बाँच्नु परेको छ । अतः यहाँको अर्थ व्यवस्थामा कहिले अनर्थ होला केही भन्न सकिन्न । यो नेपाल राष्ट्र कहिले कसरी उठ्ने हो वा ढल्ने हो कुनै नेतालाई थाहा छैन् । नेतै नेता भएको देशमा एक इमानदार राजनेताको अति खाँचो छ । तर कहाँबाट खोजेर ल्याउने हो कसैलाई थाहा छैन् । पशुपतिनाथको कृपाले चलेको यो देशको भविष्य पनि कसैलाई थाहा छैन् ।

त्यसैले नेपाल आमाको ‘म मर्दै छु’ भन्ने क्रन्दनलाई सुनी हामी सबै देशभक्तहरू सचेत हुन् आवश्यक छ ।

हाम्रो सनातन हिन्दू धर्म, जसलाई परापूर्वकालदेखि विश्वका ॐकार  परिवारहरूले मान्दै आएका छन् । यो धर्मलाई मान्नेहरूले देवी देवताहरूमा मात्र नभइ प्रकृतिलाई पनि पुज्ने गर्दछन् । प्रकृतिमा भएका बोट बिरुवा, पर्वत, नदी–नाला, भूमण्डलीय ग्रह, तारा र नक्षत्र आदिलाई समेत सदियौँदेखि पूज्दै आएका छन् । तर, अचेलका भौतिकवादी र नास्तिकहरूले देवी देवताहरूको कुनै आस्तित्व हुँदैन् र यी कथामा मात्र सिमित छन् भन्दै धर्ममा विश्वास गर्न छाड़ी सकेका छन् । मन्दिरमा पूजा–आजा गर्न जाँदैनन् । गइहाले भने पनि देवी देवताहरूको मुर्तिलाई ढोग्न आवश्यक नठानी बाहिरबाटै ठाढो नमस्कार गर्दै फर्कन्छन् । तर दुःख परेको बेला वा प्राकृतिक प्रकोपको बेलामा तिनीहरू नै हे भगवान ! वा राम ! राम ! आदि भन्दै आफ्नो मनलाई शान्त गर्ने प्रयास गर्दछन् । भौतिकवादी नास्तिकहरूले आफ्ना आमा–बुआलाई समेत दैवीय अंश मान्न तयार छैनन् । देवी देवताहरूको कुनै आस्तित्व नै नहुने भए भौतिक विकाशवादी एवं विकसित मानिएका पश्चिमा मुलुकका मानिसहरूले किन ईश्वरमा विश्वास गर्छन ? किन आफ्नो धर्मलाई संसारभरि फैल्याउँदै प्रभुको भजन गाउँदै हिँडेका छन् ? अचेल हामीहरू जताततै मन्दिर बनाउँदै हिँड्छौँ तर त्यहाँ जानेहरूको आस्थाको विकास गर्ने संस्कार तर्फ लाग्दैनौँ । के मन्दिर बन्दैमा धर्मको संरक्षण हुन्छ र ? त्यसैले आज मन्दिरहरू खण्डहर बन्दै गएका छन् । धर्मको रक्षार्थ त सर्वप्रथम आफू र आफ्नो घर–परिवारमा धार्मिक समर्पण हुनु पर्यो । ठूलाहरूमा मात्र नभइ सन्तानहरूमा पनि सानैदेखि आफ्नो धार्मिक र मौलिक संस्कारहरूप्रति माया र आस्था जगाउनु पर्यो । उनीहरूमा हाम्रा धार्मिक तथा मौलिक संस्कारहरू क्रमशः स्थानान्तरण गराउँदै जाने वातावरण सिर्जना गराउँदै जानु  पर्यो ।

हाम्रो सनातन हिन्दू संस्कारको आफ्नै छुट्टै पहिचान छ । सनातन हिन्दू संस्कार अनुसार बिहान उठेर नुहाइ धुवाइ गरी ईश्वरको प्रार्थना वा पूजा–आजा गरेर मात्र खाने र काममा जाने चलन हो । सूर्योदयभन्दा अगाडि़ सकेसम्म अमृत बेला छोपेर शैक्षिक तथा आध्यात्मिक कर्महरू गर्ने र त्यसपछि आफ्नो दिनचर्या सुरु गर्ने हाम्रो संस्कार हो । तर अहिलेको विकसित एवं व्यस्त संसारमा यी संस्कार र चलनहरू लगभग हराउन लागेको वा बिल्कुल पाश्चात्य शैलीमा परिवर्तित भइसकेको देखिन्छ । अचेलको विकसित समाजमा धेरैजसो मानिसहरूले व्यस्तताको नाटक गर्दै राती ढिलोगरी सुत्छन् र बिहान सुर्योदय पछाडि़ नै उठ्ने गर्छन् । पूजापाठ त परै जाओस नुहाई धुवाई समेत पनि गर्न भ्याउँदैनन् । ईश्वरलाई पनि नसम्झी हतार हतार खाना खाँछन् र खाना तयार गर्नेलाई समेत धन्यवाद दिन बिर्सन्छन् । कति व्यस्त जीवन हो, जसले आफ्नो संस्कार पनि अँगाल्न नसक्ने । आफूले मानेनन् र गरेनन्, तर आफ्ना संतानहरूलाई पनि आफ्नो धार्मिक र मौलिक संस्कारहरू नसिकाउनाले आज हाम्रा धार्मिक र मौलिक संस्कारहरू हराउँदै जाँदै छन् । यही चाला रह्यो भने त एकदिन हाम्रो मौलिकता पूर्णरूपले लोप भएर जाने छ र हाम्रा सन्तानहरू विधर्मी वा अधर्मी भएर जान सक्ने छन् । यसतर्फ हामी बेलैमा सचेत हुन अति आवश्यक छ ।

हाम्रो सनातन हिन्दू संस्कारमा उमेर र सम्बन्ध अनुसार अभिवादन गर्ने तरिकाहरू पनि फरक फरक छन् । आफूभन्दा ठूला–बडा, आमा–बुआ, गुरु र तत्समानका मान्यजनहरूलाई चरण स्पर्श गर्दै ढोग्ने, आफ्ना समकक्षीलाई अङ्गालो मारेर अभिवादन गर्ने र अरूलाई शिर नुघाई दुईहात जोडेर नमस्कारले अभिवादन गर्ने संस्कार छ । परापूर्व कालदेखि नै चल्दै आएका यी हाम्रा पारम्परिक संस्कार र परम्पराहरू विश्वमा अरूको भन्दा भिन्न छन् । मनोवैज्ञानिक एवं स्वास्थ्यको दृष्टिकोणबाट पनि निकै वैज्ञानिक एवं आत्मीयता दर्शाउने खालका छन् । कोरोनाको संक्रमणकालमा त नमस्कार गरी अभिवादन गर्ने चलनको महिमा र उपयोगिता बुझेर नै होला विश्वका धेरै ठाउँहरूमा यसलाई अङ्गाली सकेको पनि पाइन्छ । तर हाम्रो समाजमा आज किन यी संस्कारहरू लोप हुँदै गएका छन् ? आमा–बुवा, गुरु तथा अन्य मान्यजनहरूलाई ढोग्ने चलन त हराइ नै सक्यो । अभिवादन गर्ने विभिन्न पश्चिमा र थरीथरीका अन्य तरिका र संस्कारहरू भित्रिँदै छन् । कोही हात मिलाएर अभिवादन गर्छन् त कोही मुड्की ताकेर । कोही हात उठाएर त कोही मुखले मात्र नमस्कार भन्दछन् । के हामीले आफ्नो मौलिक संस्कार बिर्सेकै हो त ?

हाम्रा श्रव्य–दृश्य सञ्चार माध्यमहरूले हाम्रो सनातन हिन्दू संस्कारको महिमालाई अझै बढ़ी उजागर र संरक्षण गर्दै जनमानसमा सचेतना फैल्याउनु पर्ने हो । तर  उनीहरूले नै समाचार वा कुनै कार्यक्रम सुरु गर्दा दुईहात नजोड़ी मुखले मात्र नमस्कार भन्दै कार्यक्रम सुरु गरेको देख्छौँ । हात नजोड़ी अभिवादन गर्दा आत्मीयता भन्दा अहङ्कारको आभास हुन्छ । यसले जनमानसमा पनि राम्रो सन्देश दिन् सक्दैन्, जो एक विचारणीय कुरा हो । त्यसैले दुईहात जोड़ेर अभिवादन गर्ने हाम्रो मौलिक परम्परालाई जोगाई राख्न आवश्यक छ । पढेर वा धन कमाएर ठूलो मान्छे हुँदैमा आफ्नो परम्परा नै बिर्सनु आवश्यक छैन् । जापानीहरूले आजको आधुनिक युगमा पनि आफ्नो परम्परालाई छाडेका छैनन् ।

हाम्रो विक्रम सम्वत मौलिक एवं राष्ट्रिय स्तरमा प्रयोग भइरहेको विश्वकै सबैभन्दा पुरानो पञ्चाङ्ग हो, जो ईसा पूर्वदेखि नै हिन्दूहरूको समाजमा चलिआएको छ । हाम्रो विक्रम सम्वत निकै वैज्ञानिक तथा तथ्यगत छ । अहिले केही विधर्मी तत्त्वहरूले आधुनिकता र अन्तर्राष्ट्रिय चलनको हवाला दिँदै यसलाई हटाएर नेपालको सरकारी कामकाजमा पनि इस्वी सन्लाई नै प्रतिस्थापन गर्ने प्रयास गरिरहेका छन् । हुन् त नेपालका धेरै संघ संस्थाहरूले विक्रम सम्वतको साथसाथै अङ्ग्रेजी पञ्चाङ्ग वा पात्रो पनि प्रयोग गरी नै रहेका छन् । तर, वर्षौंदेखि हामीले प्रयोग गर्दै आएको हाम्रो मौलिक पात्रो नै सरकारी कामकाजमा प्रयोग गरिरहे के नै बाधा हुन्छ र ? हामी चनाखो भएनौँ भने हाम्रा नेताहरूले विभिन्न लोभमा परेर यसलाई पनि विस्थापित गर्न बेर लाउँदैनन् र यो बिलाएर जान पनि कत्ति बेर लाग्दैन् । उनीहरूलाई हाम्रो मौलिकता भन्दा अरू नै कुराको बढ़ी लोभ होला । त्यसैले हामीले आफ्नो दैनिक जनजीवनमा यसको प्रयोग तथा संरक्षण गर्नमा हमेशा तत्पर रहनु आवश्यक छ ।

हाम्रो सनातन रीति रिवाज, जसको आफ्नै छुट्टै मौलिक पहिचान छ । तर अचेलको यो हाम्रो आधुनिक समाज पनि कस्तो ? समाजमा जति प्रतिष्ठित र लोकप्रिय भयो त्यति नै लोकाचार पनि देखाउनु पर्ने चलन आएको छ । प्रतिष्ठामा आँच नआओस् भनी, भए नभएको मिथ्या नवसंस्कार अङ्गाल्नु पर्ने । उदाहरणको लागि कुनै धार्मिक वा सामाजिक अनुष्ठान गर्नु पर्यो भने आफ्नो मौलिक संस्कारलाई बरु थाँती राख्ने तर सामाजिक प्रतिष्ठा जोगाइ राख्न केही न केही तड़क–भड़क सहितको रमाइलो कार्यक्रम गर्ने चलन छ । अनावश्यक बाह्य संस्कारहरू भित्र्याएर खर्चिलो धुमधड़ाका देखाउनु पर्ने र पैसाको खोलै बगाउनु पर्ने बाध्यता छ । हामी सनातनिक हिन्दू संस्कार र परम्परा अनुसार पूजा, हवन र यज्ञादि गरेर पनि यस्ता कार्यक्रमहरू रमाइलो गरी मनाउँदै आएका थियौँ र अहिले पनि गर्न सक्छौँ । तर किन हो किन हामी पाश्चात्य संस्कारलाई पछ्याउँदै आँखा चिम्लेर त्यसैको पछि दौड़ीरहेका छौँ । यसरी हाम्रो सनातनिक हिन्दू संस्कार र परम्परा बिस्तारै लोप हुँदै गएको देखिन्न र ?

नववर्षकै कुरा गर्ने हो भने विक्रम संवत अनुसार बसन्त ऋतुको आगमनसाथ प्रत्येक वर्ष चैत्र महिनाको अन्तमा घर र वरिपरि सरसफाइ गरी बैसाख संक्रान्तिका दिन पूजा–पाठ गर्ने, यज्ञ र होमादि गर्ने एवं मन्दिर तथा तीर्थको दर्शन गर्ने वा कतै घुम्न जाने चलन छ । तर अचेल हाम्रो आफ्नो मौलिक नववर्षलाई भन्दा अङ्ग्रेजी (ईस्वी सन्को) नववर्षलाई बढी ग्राह्यता दिएको पाइन्छ । अङ्ग्रेजी नववर्षभन्दा विक्रम संवत अनुसारको हाम्रो नववर्ष धेरै मौलिक र सामयानुकूल देखिन्छ । वास्तवमा बसन्त ऋतुको आगमनसाथ बोट–बिरुवाहरूका नयाँ पालुवाले नै प्राकृतिक रूपले नववर्षको आगमनको संकेत गर्दछ । जाड़ोको मौसममा पर्ने अङ्ग्रेजी नववर्षको अवसर पारेर ठाउँ–ठाउँमा मेला र महोत्सवहरू गर्ने चलन छ । तर हाम्रो मौलिक विक्रम संवतको बसन्त ऋतुमा पर्ने नववर्षको अवसरमा यस्ता कार्यक्रमहरू बिरलै गरेको देखिन्छ । अचेल जनै पूर्णिमा, रामनवमी, चैतेदशैँ आदि जस्ता आफ्ना मौलक चाढ–पर्वहरू मनाउनुभन्दा पनि पाश्चात्य संस्कृतिका भ्यालेण्टाइन डे, क्रिसमस दिवस र अङ्ग्रेजी नववर्ष आदि मनाउने तर्फ हाम्रा युवाहरू बढ़ी सक्रिय देखिन्छन् । के हामीले पनि हाम्रो नववर्ष र अन्य मौलिक चाढ़पर्वहरूमा ठाउँ–ठाउँमा यस्ता मेला–महोत्सवहरूको व्यवस्था गरी हर्षोल्लासका साथ मनाउन सक्दैनौँ ? थरीथरीका मिष्टान्न तथा स्वादिष्ट परिकारहरू तयार गरी आफन्त र साथी–भाइहरूसँग स्नेहमिलन गर्दै हर्षोल्लासका साथ यस्ता चाढ–पर्वहरू मनाउँदै आफ्नो मौलिक परम्पराको परिचय दिन सक्दैनौँ ? पाश्चात्य संस्कारका चाड़–पर्वहरू नमनाउने भनेको पनि होइन तर यसरी हामीले आफ्ना मौलक सम्पदा, चाड़–पर्व र परम्परालाई बिर्सेर वा महत्त्व नदिएर वाह्य परम्परालाई बढ़ी महत्त्व दिन थाल्यौँ भने एकदिन हाम्रो सनातन हिन्दू सभ्यता, संस्कार र परम्परा सबै हराएर जाने छ । एक अनुसन्धानको विषय मात्र बनेर रहने छ ।

हाम्रो सनातन हिन्दू धर्ममा गर्भाधानदेखि मृत्युपर्यन्त र मरणोपरान्तसम्म धेरै प्रकारका रीति रिवाज र संस्कारहरू छन् । तर अचेल अरूको देखासिकी गर्दै पाश्चात्य संस्कारको बढ़ी अनुकरण गर्ने गर्छन् । आफ्नो संस्कार बिस्तारै छोड्दै जान थालिएको कुरा सर्वविदितै छ । अचेल कतिपय ठाउँहरूमा ती रीति रिवाज र संस्कारहरू हामीले शास्त्र अनुसार अवलम्बन गर्न छाड़ी सकेका छौँ । अन्य धर्म र संस्कृतिको प्रभावमा तिनीहरू परिवर्तित हुँदै वा लोप हुँदै गइरहेका छन् ? उदाहरणको लागि कसैको जन्मदिवस किन नहोस्, घर वा मन्दिरमा दियो–बाती बालेर अष्ट–चिरञ्जीवी देवताहरूको पूजा–आजा, होमादि तथा ग्रहशान्ति आदि अनुष्ठान गरेर मनाउने हाम्रो परम्परा हो । तर अचेल त्यसको सट्टा जन्मदिवस हुनेको नाम र उमेर लेखेको आकर्षक केकमा उमेर अनुसारको मैन बत्ती बालेर, बलेको बत्ती निभाएर जन्मदिवस मनाउने चलन आएको छ । हाम्रो हिन्दू संस्कारमा बत्ती निभेकोलाई अशुभ मानिन्छ । अचम्मको कुरा त के छ भने, आफ्नो मौलिक संस्कृत, नेपाली वा अन्य मातृभाषामा शुभ जन्मोत्सवका शब्दहरू, आशीर्वचन अथवा पवित्र मन्त्रहरू समेत उच्चारण नगरी अङ्ग्रेजी भाषामा ‘ह्यापी बर्थ–डे’ भन्दै गीत गाउँछन् । त्यसमाथि घातक बारुदी बत्तीहरू बालेर केकमाथि लेखिएको आफ्नो नाम चक्कुले आफैँ काटेर ह्याप्पी बर्थ–डे भन्दै अङ्ग्रेजी भाषामा गीतहरू गाउँदै दिर्घायुको कामना गर्दछन् । पूजा–आजा वा ग्रहशान्ति गरेको प्रसाद वा मिष्ठान्न भोजन घरमा आएका पाहुना र टोलबासीहरूमा बाँड्ने चलन त लगभग हराइ नै सक्यो । बरु, विभिन्न प्रकारका मांसाहारी भोजनको साथै अनेक प्रकारका अप्राकृतिक पेय पदार्थ एवं हाम्रो संस्कारमै नभएको मदिराजन्य पदार्थको सेवन गर्ने चलन त हाम्रो समाजमा निकै प्रचलित भइसकेको छ । के यस्तो चलनले मानिसको आयुमा राम्रो प्रभाव पार्छ होला ? आफ्नो मौलिक संस्कारको हत्या गरेर निकै राम्रोसँग जन्मदिवस मनाइयो भन्ने नाटक गरेर के दीर्घायु भइन्छ ? यस्ता क्रियाकलाप र कुसंस्कारहरूबाट क्षणिक खुसी प्राप्त हुन सक्ला, तर कसैलाई दीर्घायु भने पक्कै बनाउँदैन् । अपितु कसैको जीवन–ज्योति छिटै निभ्ला । के हामी आफैँलै समाजमा आफ्नो संस्कारको हत्या गर्ने काम गरिरहेका छैनौँ र ? हाम्रो संस्कार त मर्ने भयो नि ! त्यसैले आजको युगमा हामी हिन्दूहरू अर्काको लहलहैमा नलागी सजग र जागरुक भएर आफ्नो धर्मको रक्षार्थ लाग्नु आवश्यक छ ।

हाम्रो सनातन हिन्दू संस्कार अनुसार मानिसको मृत्युपछि विधिपूर्वक दशगात्र क्रिया–कर्म गरेर १३औँ दिनमा जुठो उम्कने अर्थात् शुद्धा–शुद्धि गर्ने चलन छ । तर अचेल शास्त्रीय बिधिलाई बेवास्ता गरी आफूखुसी क्रिया अवधि छोट्याउने वा क्रिया–कर्म नै नगरे हुन्छ भन्ने चलन समेत आइसकेको छ । अज्ञानी वा अधर्मी यजमानको भनाइ अनुसार विधि नपुर्याइ कर्म गराउने ती लोभी र अज्ञानी पुरोहित कस्ता ? अरूको कुरा त परै जाओस् ब्राह्मण थरका कम्युनिष्ट तथा क्रान्तिकारी भनाउँदाहरू समेतले आधुनिकता एवं क्रन्तिकारी विचारधाराको हवाला दिँदै पितृ उद्धार हेतु दशगात्र क्रिया–कर्म र श्राद्ध समेत गर्न छाड़ेका उदाहरणहरू समाजमा प्रसस्तै देखी राखिएका छन् । यसरी मान्छेको साथमा हाम्रो संस्कार पनि मर्ने भएन् र ? पितृको श्राद्ध नगर्ने नवसंस्कारले भोलि उनीहरू प्रतिको श्रद्धा, सम्झना र सम्बन्धको नाता पनि हराउने भएन् र ?

हामी नेपाली जाति भनेर गर्व गर्छौं र हामीलाई संसारभरिका मानिसहरूले गोर्खाली भनेर पनि चिन्ने गर्छन् । पृथ्वीनारायण शाहले नेपालका सानातिना बार्इसी–चौबिसी राज्यहरू एकीकरण गरी एक वृहद् र सिंगो नेपालको निर्माण गरे । त्यहाँ भएका चार जात र छत्तीस वर्णका फूलबारीबाट सबै जात–जातिहरूलाई सङ्गालेर एउटै सिङ्गो र गौरवशाली नेपाली जातिको मालाको निर्माण गरेका थिए । अहिले हाम्रा केही नेताहरूले विदेशी शक्तिहरूको आड़मा आफ्नो राजनैतिक स्वार्थ परिपूर्ति गर्नका लागि जातीय भेदभावको अवस्था सिर्जना गर्ने काम गरे । विभिन्न जात–जातिको बीचमा सदियौँदेखि भइरहेको आपसी मेलमिलाप तथा आत्मीयतालाई भत्काएर जातीयताको आधारमा राजनैतिक  र सामाजिक मतभेदहरू पैदागरी अन्तरद्वन्द्वको वातावरण सिर्जना गरे । फलःस्वरूप सिङ्गो नेपाल राष्ट्रलाई जातीयताको आभारमा टुक्राएर विभिन्न गणराज्यहरू बनाउने प्रयासहरू भएको सर्वविदितै छ । यसरी हामीहरू राष्ट्रियताप्रति गम्भीर भएनौँ भने त भविष्यमा एकदिन नेपाल नै नरहने हो कि भन्ने डर पनि छ । नेपाल नै नरहे नेपाली जातिको पहिचान कहाँ रहला र !

हाम्रा नाता–गोताका कुरा गर्दै जाँदा अचेलको जमाना अनुसार हाम्रा मौलिक नाताहरू पनि हराउँदै गइरहेका छन् । शहर–बजारको कुरा परै जाओस, गाउँघरमा पनि आमा–बुवाहरूलाई ड्याडी र मम्मीहरूले धपाई सके । अङ्कल आण्टीहरू आएपछि त ठूलाबा, सानाबा र काका–काकीहरू पनि पलायन भइसके । धन्न मामा र माइजुहरू कसो गएनछन् । साना साना दूधे बाल–बालिकाहरूलाई आफ्नो मौलिक परिचय नगराइ आफ्नो मातृभाषा, नाता–गोता र संस्कार मर्दै गएको थाहा नपाउनेहरूले बच्चाहरूको मुखबाट ड्याडी र मम्मी भनेको सुन्दा मक्खै पर्ने गर्छन् । बच्चाहरूलाई अनेक अर्ती दिने यी आमा–बुआहरूको आफ्नो मौलक संस्कार जोगाउने, सिकाउने र शिक्षा दिने दायित्व के उनीहरूको होइन र ! कसरी, किन र कहाँबाट आयो यस्तो संस्कार ? के हामी आफैँ यसका दोषी होइनौँ र ?

हाम्रो गुरुकुल शिक्षा र हामीले पढ्ने गरेका पाठशालाहरू पनि लोप हुन् लागिसकेका छन् । गाउँ–घरमा कखाराको वर्णमालाको किताब पनि हराएर अचेल ABCD को नयाँ बुक आएको छ । हाम्रा विद्यालयहरूका मौलिक नामहरू पनि फेरिएका छन् । वाल्मिकी, वेदव्यास, धनवन्तरि, द्रोणाचार्य, शुक्राचार्य, वृहस्पति, सरस्वती, लक्ष्मी आदि जस्ता हाम्रा नेपाली मौलिक नामहरू भएका विद्याश्रमहरूको नाम फेरिएर अचेल, st. Xavier, St. Luice, St. Marry, St. Francis, Oxford आदि जस्ता इसाई र पश्चिमा मुलुकहरूबाट आयातित नामहरू राख्ने चलन आएको छ । यस्ता नामहरू राखेर हाम्रा शिक्षाप्रेमीहरूले शिक्षामा के नै आमूल परिवर्तन गर्न खोजेका होलान् ? न यिनको बारेमा शिक्षक र शिक्षाविदहरूलाई केही थाहा छ, न विद्यार्थीलाई नै यिनको महिमा बारे केही थाहा छ । न हाम्रो समाजमा यिनको केही योगदान थियो । शैक्षिक क्षेत्रमा हाम्रा ऋषिमुनि तथा विभुतिहरूको अगाडि़ पश्चिमा सन्तहरूको योगदान बिल्कुल नगण्य छ । कुनै न कुनै धार्मिक वा अन्य कुनै स्वार्थ बिना यि नामहरू नेपालमा यसै आयातित भएर प्रयोग भइरहेका छैनन् । हाम्रा देवी–देवता, ऋषिमुनि तथा विभुतिहरूको नाम राख्दा जुन नेपाली मौलिकताको अनुभूति हुन्छ त्यो इसाई र पश्चिमा मुलुकका नामहरू राखेर कदापि हुँदैन् । यसतर्फ हाम्रा शिक्षाप्रेमी तथा शिक्षाविदहरूको ध्यान किन नगएको होला ? अज्ञानताले गर्दा हो वा अरू कुनै स्वार्थले ?

विद्यार्थीहरूको वेशभुषाको कुरा गर्दा आधुनिक शिक्षा व्यवस्थामा यसतर्फ अनावश्यक र आमूल परिवर्तन भएको देखिन्छ, जस्मा कुनै मौलिकता देखिन्न । यसले शिक्षालाई झनै खर्चिलो बनाएको छ । सादा, सरल र नेपालीपन झल्कने वेशभुषा प्रयोग नगरी थरीथरीका वेशभुषा लगाउन बाध्य बनाएर कस्तो संस्कार ल्याउन खोजिएको हो ? कुनैकुनै विद्यालयका छात्राहरूको वेशभुषा देख्दा त हेर्न पनि लाज लाग्ने जस्ता छन् । आखिर यस्ता अभद्र वेशभुषा लगाउन लगाएर विद्यालयले के शिक्षा दिन खोजेको होला ? छात्रहरूको शिरमा नेपाली टोपी छैन्, तर गलामा त्यो घाँटीपासो जस्तो टाई अवश्य देखिन्छ । यस्ता वैदेशिक वेशभुषाले नेपालीको कुनै मौलिकता वा राष्ट्रियताको आभास गराउँदैन् । अपितु पाश्चात्य संस्कारको संक्रमणले राष्ट्रियता ह्रास हुँदै गएको आभास गराइ रहेको छ । के यसतर्फ विद्यालय, शिक्षक र शिक्षाविदहरूको ध्यान जान आवश्यक छैन् ? कहिलेसम्म आँखा चिम्लेरै बस्ने हो त ?

आधुनिक पाठ्यक्रममा हाम्रो मौलिक संस्कृतभाषा र नैतिक शिक्षाको पनि अभावको अनुभूति भएको देखिन्छ । तर हाम्रा सांसद्, मंत्रीज्यू तथा शिक्षाविदज्यूहरूलाई यसको अनुभूति हुन् सकेको छैन् । हुन् त उनीहरूलाई यसको ज्ञान नभएको पनि होइन् । आफूले पनि पढेरै आएका हुन् । अचेल अमेरिकालगायत अन्य पश्चिमा मुलुकहरूमा संस्कृतको महत्त्व बुझेर त्यहाँ यसको अध्ययन अध्यापन भइरहेको छ र अनुसन्धानहरू भइरहेका छन् । तर यहाँ भने, यो लोप हुँदै गएको तथ्य कुनै शिक्षाविद् र नेताको नजरमा किन नपरेको होला ? हुँदाहुँदा हाम्रा विद्यालयहरूमा नेपाली माध्यम पनि हराउन लागिसकेको र त्यहाँ अंग्रेजी माध्यमले ठाउँ ओगट्न लागिसकेको छ । आधुनिक शिक्षाको नाममा वैदेशिक शिक्षा नीति लादेर हाम्रो गुरुकुलमा आधारित शिक्षालाई ओझेलमा पारिएको छ । आजको शिक्षा नेपालमुखी नभएर विदेशमुखी भएको छ । शिक्षा प्राप्त गरेपछि नेपालमा सेवा गर्नु भन्दा विदेशै जाने प्रवृतिले विद्वान तथा अन्य श्रोतव्यक्तिहरू नेपालबाट पलायन भइरहेका छन् । वास्तवमा आधुनिकताको नाममा नेपाली अभिभावक तथा विद्यार्थीहरूलाई भ्रम पार्ने कामहरू भइरहेका छन् । यसतर्फ नेता, शिक्षाविद तथा सरकारको दीर्घकालीन र ठोस चासोको आवश्यकता देखिन्न र ?

नेपालको प्राकृतिक सौन्दर्य र अलौकिक दृश्यलाई देखेर संसारभरिका मानिसहरू मोहित हुन्छन् । त्यसैले लाखौँको संख्यामा आउने गर्छन् । तर अहिले हामीले गर्दा हाम्रो प्रकृति संकटमा परेको छ, पर्यावरण बिग्रेको छ । जता हेर्यो उतै फोहर र दुर्गन्ध मात्रै देखिन्छ । यहाँसम्म कि हिमाली क्षेत्रहरूमा समेत फोहरका डङ्गुरहरू थुप्रिएका छन् । हाम्रै फोहरी व्यवहारले आज हाम्रा ताल तलैयाहरू पनि प्रदूषित भइरहेका छन् । नदी–नालाहरू पनि दुर्गन्धित भएका छन् । त्यहाँको पानी पिउन त परै जाओस् नुहाउन समेत अस्वस्थ्यकर भएको छ । वन–जङ्गलहरू मासिँदै गएका छन् । पानीका श्रोतहरू सुक्दै गएका छन् । एकातिर सरसफाईका कार्यक्रमहरू चलिरहेका छन् भने, अर्कोतिर हामी आफैँले गरेका फोहरका डङ्गुरहरू थुप्रिरहेका छन् । जबसम्म हाम्रो मानसिकतामा स्वस्थ्य संस्कार आउँदैन् तबसम्म यो स्वच्छ राष्ट्रको परिकल्पना गर्न सकिन्न । यस्तै चाला हो भने त नेपालको प्राकृतिक सुन्दरता पनि एकदिन लोप भएर जाने छ र नेपालको मौलिकता नै हराउने छ । हाम्रो देशको सुन्दरता नै गयो भने त एकदिन हामी पनि रोगी भएर मर्ने छौँ । के यसतर्फ हामीले केही सोचेका छौँ ?

हाम्रो परम्परागत आहार विश्वमै नेपाली खाना भनेर प्रख्यात छ । आहारको कुरा गर्ने हो भने हाम्रो खानेकुराको परिकारहरू यति धेरै छन् कि दिनको एउटा परिकार खाने हो भने पनि वर्ष दिनलाई पुग्नेछ । यही नेपाली खाना खाने नेपालीहरू गोर्खाली भनेर संसारभरि चिनिएका छन् । प्रथम तथा द्वितीय विश्वयुद्धमा सफलता हासिल गराउने प्रमुख योद्धा पनि नेपाली खाना खाने यिनै गोर्खाली हुन् । तर अचेल हाम्रो भान्सामा ती परम्परागत परिकारहरू पाक्न छाड़ेका छन् । बजारमा अनेक प्रकारका अप्राकृतिक र आयातित तयारी तथा शिघ्र तयार गर्न मिल्ने खालका विदेशी र अनेक प्रकारका रसायनयुक्त अस्वस्थ्य खानेकुराहरू उपलब्ध छन् । गाउँ–घरमा दूध, दही र मही खोजे पाउन मुस्किल भइसक्यो तर मदिराहरू खोज्नै नपर्ने सर्वसुलभ उपलब्ध छन् । मदिरा सेवनको बानीले समाजमा अनेकौँ विकृतिहरू आएका छन्, तर सरकारले यसको उत्पादन र प्रयोगमा नियन्त्रण गर्न सकेको छैन् । त्यस्तै अचेल ढिँढ़ो खान बजारमा निकै डुल्नु पर्छ तर पिजा र बर्गर भने गल्ली गल्लीमा पाइन्छन् । हाम्रा बच्चा र युवाहरू त यसमा झनै आकर्षित भइरहेका छन् । अचेलका युवा–युवतीहरूलाई यस्ता पारम्परिक भोजन र परिकारहरू बनाउने ज्ञान र चासो पनि छैन् । यस्तै अप्राकृतिक तथा अस्वस्थ्यकर र विशेषगरी अस्वस्थ्य मांसाहारी भोजन प्रयोग गर्नाले अनेक प्रकारका घातक र दीर्घरोगहरू देखापर्न थालेका छन्, जो पहिले धेरै कम देखिन्थे । अचेल यस्ता पारम्परिक खानेकुराहरू सर्वत्र सर्वसुलभ नहुँदा खोज्दै हिँड्नु पर्ने देखिन्छ । जापानजस्तो विकसित देशमा पनि यस्ता बाहिरी देशका परिकारहरू भित्रिएका छन् । तर त्यहाँ पारम्परिक खानेकुराहरू सर्वत्र सर्वसुलभ पाइन्छन् र उनीहरू आफ्नै पारम्परिक तथा प्राकृतिक वस्तु प्रयोग गरिएका खानेकुराहरू प्रयोग गर्न रुचाउँछन् । यसरी पाश्चात्य संस्कृति र विलासपूर्ण जीवनशैलीको प्रभावले गर्दा हाम्रा पारम्परिक परिकारहरू हाम्रा भान्साबाट लोप हुन् थालेका छन् ।