
अति अनूप जहँ जनक निवासू ।
बिथकहिं बिबुध बिलोकि बिलासू ।।
होत चकित चित कोट बिलोकी ।
सकल भुवन सोभा जनु रोकी।।४।।
जहाँ जनकजीको अत्यन्त अनुपम महल अर्थात निवास स्थान छ । राजमहलको कोट परकोट यस्तो लागि रहेको छ, जस्तो समस्त लोकको शोभा लिई उभिएको छ । मिथिलाको रङ्गीविरङ्गी झाँकी । विविध पारम्पारिक पहिरनमा सजिएका नरनारी । विवाहपञ्चमी, रामनवमीलगायतका पर्वको झल्को दिने मनमोहक सजावट । तिनमा छठ, जितिया, सामाचकेवा, झिझियाजस्ता झाँकीले नगर परिक्रमा पछि बुधबार मैथिली विकास कोषको जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८ को तेस्रो संस्करण चैत २३ गते सुरु भयो । जानकी मन्दिर प्राङ्गणमा आयोजित समारोहलाई पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरे । ‘मिथिला सभ्यता मुलुककै जेठो सभ्यता हो,’ उनले भने, ‘मिथिला बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक क्षेत्र भएकाले भाषिक, साहित्यिक तथा कला संस्कृतिको विकासका लागि साहित्यिक सांस्कृतिक महोत्सवहरूको आयोजना आवश्यक छ ।’ प्रज्ञा प्रतिष्ठान नेपाली भाषालाई मात्र मलजल गर्यो भन्ने आरोपलाई चिर्न समावेशी बनाउनु पर्ने उनले बताए । कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले साहित्य तथा कला एकेडेमी गठन तथा प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्ने प्रतिबद्धता गरे । ‘विधेयक ड्राफ्ट भइसकेको छ । छिट्टै संसद्मा जान्छ,’ उनले भने ।
कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको समारोहलाई मधेस प्रदेशका मन्त्रीहरू रामसरोज यादव, शत्रुघ्न महतो र वीरेन्द्र सिंहसँगै मधेसी आयोगका अध्यक्ष विजय दत्त, मधेस नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा, राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाभ, भाषा वैज्ञानिक रामावतार यादव, एकीकृत समाजवादीका नेता रामचन्द्र झा, लोकतान्त्रिक समाजवादीका मधेस प्रदेश प्रमुख जितेन्द्र सोनल तथा जनकपुरधाम उपमहानगर प्रमुख लालकिशोर साहलगायतले सम्बोधन गरे । आफ्नो मन्तव्यको क्रममा भाषा वैज्ञानिक प्रा.डा.यादवले भाषिकाहरूको सबलता बिना समृद्ध भाषाको निर्माण हुनै नसक्ने बताए । उनले भने – ‘चाहे जतिसुकै पढेलेखेका जातीय समूहका व्यक्ति नै किनन होस्, उनी भाषिकामात्र बोल्ने गर्छन । भाषिकाहरूको समिश्रणले भाषा बन्दछ । भाषालाई सम्बृद्ध बनाउन भाषिकाहरू समृद्ध हुनै पर्दछ ।’
तीन दिने महोत्सवको क्रममा प्राचीन मिथिलाको राजधानी जनकपुरधाम मिथिला मैथिलीमय बनेको थियो । जानकी मन्दिर प्रांगणमा मिथिला भोजन, मिथिला चित्रकला, मूर्ति कला, मैथिली पुस्तक प्रदर्शनी, कथा र कविता गोष्ठीसँगै रंगारंग सांस्कृतिक कार्यक्रमको आयोजन गरिएको थियो भन्ने जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा नेपाल र भारतका विभिन्न नाट्य समूहद्वारा पाँचवटा नाटक मञ्चन गरिएको थियो । मैथिली भाषा, साहित्य, कला, संस्कृतिको विषयसँग सम्बन्धित १० विषयमाथि गम्भीर विचार मन्थन भएको थियो। उदघाट सत्र पछिमहोत्सवको पहिलो दिन दोस्रो सत्रमा ‘सत्तामा रमाएको विद्रोह’ बहसमा एमाले नेता प्रदीप ज्ञवाली, विश्लेषक सिके लाल, लोसपा नेता जितेन्द्र सोनल, जसपा नेता मनीष सुमन, विश्लेषक रोशन जनकपुरी तथा रमेशरञ्जन झा सहभागी थिए। विमर्शको अर्को मुद्दा ‘नेपाली साहित्यमा मिथिला मधेश’।
चैतको बढदो तापक्रम संग दोस्रो दिन विमर्श जारी रह्यो। दोश्रो दिन बिहीबार जनकपुर उद्योग वाणिज्य संघको गणपति सभाकक्षमा ‘भाषा,भाषिका र मैथिली’ विषयमा गम्भीर विमर्श थालियो । पछिल्ला दिन मैथिली भाषीहरूले समेत आफू अन्य भाषा बोल्ने गरेको दाबी गर्न थालेपछि कोष यस विषयमा महत्त्वपूर्ण विमर्श गराउने निर्णय गरेको थियो। विमर्शमा भाष वैज्ञानिक प्रा.डा. रामावतार यादव, भाषाविद् डा. अमरकान्त झा, भारतीय साहित्य समीक्षक डा. रमानन्द झा रमण, डा. विजयकुमार सिंह र रामचन्द्र झा सहभागी थिए । विचार मन्थनको क्रममा भाषाको मानकीकरण, भाषामाथिको जातीय अहंकार, लोप हुन लागेको मैथिलीको मौलिक लिपि मिथिलाक्षरको विषयमा समेत गम्भीर छलफल भएको थियो । डा. झा, डा. रमण तथा डा. सिंहले मिथिलाक्षरको सट्टा देवनागरी लिपिमा लेखिन थालेपछि मैथिलीमा उच्चारण सम्बन्धी दोष उत्पन्न भएको बताएका थिए । सञ्चालन मैथिली विकास कोषका सदस्री सचिव तथा वरिष्ठ पत्रकर श्याम सुन्दर शशीले गर्नु भएको थियो । विषयको गम्भीरताले निर्धारित समय कम भएको प्रत्यक्ष अनुभव भयो ।
‘पर्यटन विकासक सांस्कृतिक आधार’ माथीको विमर्शमा मधेस सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुघन महतो, निति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा, योजना आयोगका सदस्य प्रा.डा.सुरेन्द्र लाभ, प्रदेश सांसद मञ्जु यादव, युवा राजनीतिकर्मी श्रीप्रसाद साह, एससी सुमन स्वंए पंक्तिकार वरिष्ठ मिथिला चित्रकारको रुपमा सहभागी भए तथा कार्यक्रमको सञ्चालन पत्रकार मोनिका झाले गर्नु भएको थियो । छलफलको क्रममा जनकपुरमा सांस्कृतिक पर्यटनको सम्भावना, समस्या तथा यसको समाधानबारे गम्भीर विमर्श भएको थियो । यस्ता विमर्शहरू आफ्नो निर्धारित समय भन्दा ढिलो सुरु हुने र तोकियेको समय अवधि भन्दा लामो चल्ने गर्थियो । यो कति ठिक कति बेठीक अर्को विमर्शको मुद्दा हुनसक्छ ।
महोत्सवको तेस्रो दिन शुक्रबार पहिलो चरणमा ‘मातृभाषामाथि लगाम’ विषयमा विमर्श भएको थियो । जसमा मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव, मधेसी आयोगका अध्यक्ष विजय दत्त, मैथिली केन्द्रिय विभागका पूर्वप्रमुख परमेश्वर कापडि, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद सदस्य धिरेन्द्र प्रेमर्षि तथा प्रवीण नारायण चौधरी सहभागी थिए।
दोश्रो सत्रमा ‘मैथिली साहित्यमा वैचारिक चेत’ विषयमा विमर्श भएको थियो । जसमा साहित्यकार रामभरोस कापडि, कालीकान्त झा तृषित, अजित अजाद, कमलमोहन चुन्नु, रोशन जनकपुरी र नित्यानन्द मण्डल सहभागी थिए भन्ने तेश्रो सत्रमा आयोजित समाज परिवर्तनमा युवाको भूमिकामा युवा अभियानीहरू रणधीर चौधरी, सुशील कर्ण, सरोज झा, राकेशविक्रम साह, कृष्णा सिंह, जितेन्द्र महासेठ, दिपू कापडि, घनश्याम मिश्र र गायत्री मिश्र सहभागी थिए । यसैगरी अन्तिम सत्रमा आयोजित ‘शून्य सिनेमा,पश्चगामी रंगमंच’ शीर्षकको विमर्शमा महेन्द्र मलंगिया, किशलय कृष्ण, अमितेश साह, पुर्नेन्दु झा, अशोक दत्त र रूपा झा सहभागी भए।
महोत्सवको सब भन्दा सबल पक्ष मिथिला चित्रकलाको कार्यशाला र प्रदर्शनी थियो । हुन त चित्रकला त्यो विधा हो, जसमा सम्पूर्ण भाषा, सङ्गीत र साहित्य अटाएको छ। जसको समग्र चित्र प्रस्तुत भएको छ, जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव–२०७८मा । कलाको सम्बन्ध मानिसको जीवन र जगत संग अन्योन्याश्रित रहेको हुन्छ । हामी कहाँ सरकारी निकायहरूको हेय दृष्टिकोण, ठूलो सङ्ख्यामा बौद्धिक कलाकारहरू र मनग्ये कला संयन्त्रहरूको अभाव संग सगै कलाकारहरूबीच देखिएको सहकार्य र समता भावनाको कमी नै यस क्षेत्रको विकासका लागि हटाउनु पर्ने देखिन्छ। सामान्य मानिसहरूका जिज्ञासु मनले कलाहरू कसरी श्रृजना गर्दछन् भन्ने कुरामा सधैँ कौतुहलतामा नै हुन्छन् । जब कुनै व्यक्ति कलाकार बन्ने लक्ष्य लिई जीवन पथमा हिँडदा, आजीवन संघर्ष रोज्छ र हारको शृंखला, असिम एक्लोपन तथा अन्तहीन तपस्या हात लाग्छ, यसै विच लेखिन्छ युगको कथा ।
मनका कुरा हुन वा कुनै नयाँ विषयवस्तुहरू, लामो समयसम्म घोत्लिदै, आफ्नो सोचाइहरूमा लामो समय रमाउँछन् अनि जन्माउछ सजीव सृजनाहरू । फरक फरक सोचहरू,फरक फरक शिल्प यानी कलाकारहरूको काम गर्ने शैली पोतिनन्छ, सेतो क्यान्भासमा। यिनै कुरालाई मन गरि, तीन दिवसीय महोत्सवमा कला, संस्कृति, साहित्य, नाट्य कला, भाषालगायतका विषयमा गम्भीरता पूर्वक छलफल चलिरहँदा, चित्रकाको टोलीले मिथिला कला, जानकी मन्दिर र जनकपुरका सम्पदा उतारेका छ्न । मिथिला कला हेर्दै आएका जनकपुर वासीको लागि चित्रकारले स्थलगत मठ, मन्दिर, तलाउ सहजताले आफ्नो क्यानभासमा पोति रहँदाको क्षण, नयाँ थियो। चार दिनको बसाईमा चित्रकारहरूको एक समुहले चित्रकार मुन्नी खातुन, विभा कर्ण, रेखा ठाकुर, अन्नु झा, स्नेहा झा, इन्दिरा कर्ण, दिपा कर्ण, कोमल पूर्वे, सुमन कुमारी, सन्जु महासेठ, काजल साह, रुवी पाठकले नेपाली लोक्ता कागतमा परम्परागत मिथिला कला कोरेका थिए, भने अर्को समुहले चित्रकार दिवश प्रधान, विनोद गुप्ता, राकेश चन्द्र श्रेष्ठ, राजेन्द्र याकमी, चन्द्रा श्रेष्ठ, लक्ष्मी प्रसाद खोटेजाले स्थलगत सम्पदा आफ्नो क्यानभासमा उतारेका थिए । कलाकार्यशालामा सृजित कलाकृति माटोको मुर्तिलगायतका कलाकृति प्रदर्शनमा राखिएको थियो । सबै कलाकारले एक्रेलिक माध्यमको प्रयोगले कला सृजना गरेका थिए । जहाँ तीन पुस्ते कलाकारहरूको सहभागिता थियो। कलाभित्रको आशामा बहस र गतिविधिको निरन्तरताले लक्ष्य समक्ष पुर्याउने काम गर्दछ । सो अवसरमा मिथिला लोककलाको क्षेत्रमा योगदान पुर्याएको भन्दै कलाकार मधुमाला मण्डललाई सम्मान गरिएको थियो । जसको संयोजन पंक्तिकार एससी सुमनको नेतृत्वमा कलाकार बिजय दत्त मणि र मनिषा साहले गर्नु भएको थियो।
मिथिला पेन्टिङ धरातललाई समातेर बसिरहेको चित्रकला हो, यसरी संयुक्त रूपमा आधुनिक र पारम्परिक चित्रको कार्यशालाले कल्पनाको उडान र आफ्नो सृजनाको संसारलाई व्यापक बनाउने दिशामा व्यापक सघाउ पुर्याउँछ, भने आधुनिक चित्रकारलाई पनि आफ्नो धरातलीय आधारसँग निकट पुर्याउँछ । दुवैथरीको लागि लाभदायक अभ्यास र समग्र चित्रकलाको लागि राम्रो पहल हो । सङ्गीत तथा नाट्य प्रज्ञा प्रष्ठिानका प्राज्ञ धिरेन्द्र प्रेमर्षीले भनु भयो ।
जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव २०७८ को क्रममा फरकफरक स्वादका पाँच नाटक मञ्चन भए । शुक्रबार अशान्त शर्माको लेखन तथा निर्देशनमा नेपाली भाषाको ‘ढल्केको सालैजो’ र भारत मणिपुरको अखोका थिएटरले मणिपुरी भाषाको इच्चे अर्थात् बहिनी नाटक प्रदर्शन भएको थियो । बिहीबार भने मिथिला नाट्यकला परिषद् , जनकपुरले महेन्द्र मलगिया लिखित तथा परमेश झा निर्देशित ‘गाम नै सुतैए ’, भारत, दरभंगाको द स्पटलाइट थिएटरले मुरारी मोहनको लेखन तथा निर्देशनमा ‘अभिसप्त देवव्रत’ तथा भारत, पटनाको भंगिमा नाट्य समूहले कुमार गगनको लेखा तथा किशोर केशवको निर्देशनमा ‘अनथक यात्रा’ नाटक प्रदर्शन गरेको थियो । पाँचवटै नाटक फरक फरक स्वादका थिए । मिनापद्वारा मञ्चित गामनै सुतैय नाटकमा अव्यवस्थाको कारण खल्बलाएको ग्रामीण परिवेश, राजनीतिमा अपराधीकरण विषयको उठान गरिएको छ भन्ने अभिशप्त देवव्रत महाभारतकालीन कथामा आधारित नाटक हो । अनथक यात्रामा भने सरकारी सेवामा दिइने आरक्षणको गलत प्रयोगबारे चित्रण गरिएको छ । अन्तिम दिन मञ्चित ‘ढल्केको सालैजो’ नाटकमा कोभिड महामारीको कारण आमनागरिकको आर्थिक अवस्थामा परेको प्रभावको हृदयविदारक चित्र प्रस्तुत गरे । मणिपुरको अखोका थिएटरले मञ्चन गरेको इच्चे नाटक मणिपुरी कवि शरतचन्द्रको थियो। कवितामाथि आधारित, मणिपुरमा व्याप्त सामाजिक असुरक्षाको मार्मिक तस्बिर प्रस्तुत भए ।
महोत्सवका तिनै रात रङ्गारङ्गका सांस्कृतिक कार्यक्रम अबेर रातीसम्म चलेको थियो । जसमा नेपाल, भारतका प्रतिष्ठित तथा लोक प्रिय कलाकारहरू सुनिल मल्लिक, डा. आभास लाभ, नवीन मिश्र, ललित कामत, सङ्गिता देव, कुन्ज बिहारी मिश्र, पुनम मिश्र, धिरेन्द्र रूपा, रामा मण्डल, मोहन थपलिया आदिले प्रस्तुति दिएका थिए।
उद्घाटन समारोहमा चार स्रष्टा पुरस्कृत भए । मैथिली विकास कोष भाषावैज्ञानिक रामावतार यादव र साहित्यकार महेन्द्र मिश्रलाई डा. धीरेन्द्र साहित्य–संस्कृति तथा गायकद्वय आभाष लाभ र रमा मण्डललाई सलहेस सांस्कृतिक पुरस्कार प्रदान गरेको हो । पुरस्कारका सम्मानपत्र र जनही ५१ हजार नगद थियो ।
महोत्सव आत्मपहिचानका साथै उन्नयनको ठुलो प्रतिष्ठान बत्र सफल भएको छ । तीन दिनसम्म चलेको जनकपुरधाम कला–साहित्य तथा नाट्य महोत्सव – २०७८ आफ्नै कलासंस्कृतिबाट अनभिज्ञ रहेको बेला आफ्नो जडा, भाषा संस्कृति हेर्न र प्रस्तुत गर्न अवसर प्रदान गरेको छ । तीन दिनसम्म चलेको महोत्सवले आफूभित्र रहेको अन्तरनिहीत विशिष्टतालाई पूर्नताजगी गराउन सफल साबित भएको आयोजक मैथिली विकास कोषका अध्यक्ष जीवनाथले चौधरी बताइरहँदा पङ्क्तिकार एससी सुमन यानी मेरो तैयारीदेखि चैत २५ गते समापनसम्मको स्वयंको अनुभव फरक थिएन । सुखद अनुभूति, पूर्नताजगीसँगै काठमाडौँ फर्केँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

