चाहेको त गुराँसका राता कोपिलाले भरिएको एउटा सिङ्गो गुच्छा हो । तर अक्करको भीरमा झुण्डिएर गुराँसको गुच्छा टिप्न त्यति सजिलो कहाँ छ र ? सम्बन्धको परिभाषाजस्तै यो पनि अनकन्टार र अखण्डता बोकेर हिँडिरहेको छ । तर हामीले खोजेको समयमा यो सधैँ नदेखिन सक्छ । पन्ध्र दिनमा देखिने पूर्णचन्द्र हरेक रात कसरी आउँछ र ? उसको पनि त आफ्नै नियम हुन्छ ।

कोसीको किनारमा लहलाउने काँसका बोटहरू बाढीमा बगेर समुद्रसम्म पुग्छन् । तर त्यो तातो बालुवाको रापमा तिनीहरूले जीवन फैलाउन सक्दैन । थाक थलो छोड्दैमा सुख पाइन्छ भन्ने भानलाई बिर्सन यो कुरा योग्य हुनेछ । फाँटमा बाढीले काटिएर रहेका काँसहरूको फैलावट सन्तोषजनक रहेको देखिन्छ । त्यसमा फुलेका सेता झुमरहरूले हावाको वयेलीमा अन्तर सुसेली खेलेको हेर्नुको मजा कसैले कल्पना गर्न सक्दैन, यो नै विश्वासको रित हो ।

काटिएका जराबाट नयाँ सृष्टिको संरचना गराउनु आशाको प्रतिफल हो । उनीहरू बगेर जानेको पीर गर्दैनन् । छोडेर जानेलाई निष्ठूरी ठान्दैनन् । आफ्नो कर्मको खेललाई धिक्कारदैनन् । भएको कुराको व्यवस्थापन गर्छन । पुसको ठण्डी र चैत्रको खडेरी सहेर असारमा बग्दै फैलँदै गर्छन । हामीले जीवनको सार्थकता र मोहकता यहीँबाट सिक्नु पर्छ ।

आफै पलाउँदैनन् नयाँ पात पुराना नझरी रुखबाट । नयाँ पलाउनका लागि पुरानाले झरेर नयाँलाई ठाउँ दिन्छन् । झरेको पातको सम्बन्ध अब डालीसँग हुँदैन । उनीहरूको सम्बन्ध जमिनसँग हुन्छ । अब बन्नु छ माटोको साथी र मलिलो पार्नु छ आफ्नै वृक्षको जरा र फैलाउनु छ अलि परसम्म डालीहरू ।  चिस्याएर बढाउनु छ माटोको उर्वरा । यो अनवरत चलिरहन्छ, एउटा रुखको अन्त्यसम्म ।

बोधराज पौडेल

अण्डा नफुटी निस्कन्नन् बचेराहरू । अण्डाबाट निस्केका बचेराहरूले धान्नेछन् आमाहरूको विरासत र हुर्काउनेछन् उसैगरी नयाँ बचेरा । एउटा अन्तर सम्बन्धको कसीमा निरन्तर–निरन्तर । पृथ्वीले सूर्यलाई घुमेजस्तै । यसको अन्त्य हुँदैन । यो अनन्त छ ।

नदीभित्र गोही बस्छ । त्यही बस्छन् माछाहरू । अनि त्यही जन्मिन्छन् तिनीहरूका भुरा । तिनै माछाले आफ्ना भुरालाई आहाराको रूपमा खान्छन् । आफन्तमा आफन्तको सम्बन्धलाई यहाँ वैरभावको रूपमा लिइँदैन । यो प्रकृतिक नियममा बाँधिएको मानिन्छ । यहाँ आत्मीयता नभएको भन्न मिल्दैन । त्यसो त वैरभाव छ भन्ने पनि छैन ।

आगोले तातो दिन्छ । चिसोबाट बचाउन सघाउँछ । मिष्ठान्नहरू पकाएर त्यसको स्वाद चखाउँछ । कहिलेकाहीँ राग बनाउँछ, खानेकुरा । असावधानीमा पोल्छ कहिलेकाहीँ । अमिट छाप हुन्छ पोलेका खतमा । त्यो जीवन पर्यान्त रहन्छ, मेट्न खोजेर सकिन्न । पोलेको चस्काको त्यो निसानी हो । जसलाई हेर्ने बित्तिकै आँखामा घाउ र मनमा चोटको याद आउँछ । को सक्छ बिर्सन यो यादगार स्मरण ।

फूलको लोभमा परेर काँडाको चोट खप्नुपर्छ । फूलको मोहकता छोडिदिने हो भने त्यो काँडाको घोचाइ सहनु नै पर्दैन । तर आँखामा बसेको त्यो अनुरागलाई खुट्टामा लागेको मैलो जसरी पखाल्न नसकेका कारणले नै हो पीडा अनुभूत गर्नु परेको । तर सबै सहने बानी परेको मनमा चोटको कुनै अर्थ छैन । फूलमा काँडा छ भन्ने जानेर पनि त्यसको सौन्दर्यमा लोभिनु भनेको खुङ्गामा पसेर पनि माछोले जीवित हुन्छु भन्नुजस्तै हो ।

नदीको किनारा पानीले जोडिएको हुन्छ । पातलो किनारा नै हो नदीको बाटो बनाउने । किनाराले कटान नगर्ने हो भने नदी कसरी फैलिन सक्छ ? बीचको गहिराइ त केवल ढुङ्गा कुँदेर लोहोरो बनाउने र स–साना ढुङ्गालाई आफ्नो सिपको माध्यमले बालुवा बनाउँछ । ऊ शिल्पी मात्र जान्छन् । उसलाई कटान गर्ने कुराको ज्ञान हुँदैन र त भङ्गालो बनाएर आफ्नै शक्तिको परीक्षा आफैँ लिन्छ ।

लहराले बाँधेर धेरै कुरालाई अड्याएर राख्छ । तर, आफैँ फैलिनका लागि सहारा खोज्छ । सहारा बिना फैलन उसलाई असहज हुन्छ । अरूलाई बाँधेर आफ्नो अस्तित्व राख्न सक्नेले आफैँ उभिन नसक्नु एउटा आश्चर्य हो । अरूलाई बाँधेर राख्न सक्नेले आफैँ उभिएको भए यो संसारलाई पनि त बाँकी नराख्न सक्थ्यो । यो एउटा खोजको विषय हुन सक्छ ।

ढ्याङ्ग्रो बजाउनका लागि गजो चाहिन्छ । गजो बिना त्यो बज्न सक्दैन । जब गजोको तोड त्यसको छातीमा बज्रिन्छ अनि मात्र निस्कन्छ धुन । जसले आलापको बखान गर्छ । आलाप मिठो त हुँदैन तर धामीको बखानसँगै निरन्तर बजिरहन्छ, दुःखको भारी । सोच्न त सोचिन्छ सूर्यजस्तै अस्ताएर जाओस् यो दुःख पनि । तर पुनः बिहानको सूर्योदय पूर्व नै आइपुग्छ आँगनको डिलमा टुप्लुक्क र ढोकाबाट चिहाएरभित्र चुल्होसम्म हेर्छ । जहाँ  उम्लिरहेको हुन्छ भाँडोमा पानी ।

तरकारीमा नुन, मसला र अचारमा अमिलो पिरो चाहिन्छ । यो स्वादका लागि भए पनि राख्नै पर्छ नत्र यो सबै बेस्वाद हुन्छ । खल्लोपनालाई जोगाउनका लागि यो गरिएको हुन्छ । यो आफैँ भएको होइन । परीक्षणको कसिमा धेरै पटक जाँचिएर बनाइएको हो । यसमा परिश्रम र पौरख जोडिएको छ । नत्र, त्यसै कहाँबाट प्राप्त हुन्छ, यो ज्ञान र सौभाग्य  ।

दर्शन ढुङ्गामा चकमकले हानेपछि झुलोमा आगो सल्किन्छ । यहाँ तिनै कुराको संयोजन आवश्यक छ । कुनै एकको कमीमा आगो आउँदैन । यसरी निस्कने आगोको अंश पनि झुलोको अंशसँगै सकिन्छ । त्यसलाई बचाइ राख्ने हो भने अर्को कुनै वस्तुमा त्यसको अस्तित्व कायम गर्नुपर्छ । नत्र त्यो अथक प्रयास त्यत्तिकै खेर जान्छ । आगो परेपछि चकमक र दर्शन ढुङ्गा छुट्टए जस्तै गरेर । आगो आएपछि दर्शन ढुङ्गा अपहेलित छ । उसको सम्बन्ध निरर्थक भो ।

मौरीको महको लोभमा परेपछि उसको टोकाइ सहनु पर्छ । यदि टोकाइ नै नसहने हो भने महको लोभ गर्नु नै हुँदैन । यहाँ मिठो महको लोभमा परेर नै त हो टोकाइको चोट सहनु परेको । नत्र फ्रोसा चाकामा कसको आँखा लाग्ला र ? भरिलो चाका देखेपछि नै त हो टोकाइको चोट सहने हिम्मत जुटेको पनि ।

काटिएको शरीरबाट रगत निस्कनु स्वभाविक हो । त्यहाँ हतियारको दोष देखिन्छ । तर हरियारको धार र त्यसको परिचालन कसरी गरियो त्यसको विश्लेषण गरिँदैन । मात्र दोषारोपण गर्नु नै मुख्य ठानिन्छ । यसको उपयोग, सन्तुलनता र प्रयोगवादी सिपको दोष खोजिन्न ।

सम्बन्ध जीवनको पदचाप हो । यो पूरा बाटो हो यात्राको । यहाँ खोँच, गल्ली, भीर, पहरा सबै भेटिन्न । आमाको प्रेमजस्तो सम्म मैदान सम्बन्धमा कहाँ पाउनु । तसर्थ जहाँ जे भेटिन्छ त्यसैमा रमाइलो मान्नु पर्छ यो नै सत्य हो, एउटा यात्रा र जीवनका लागि । चाहेर पनि आँखामा समुद्र अटाउन सकिँदैन ।

हरेक कुरामा गुण र अवगुण रहेको हुन्छ । सधैँ ध्यान गुणमा रहेका कारण अवगुण धेरै देखिएको हो । यहाँ बुझ्नु पर्ने कुरा के हो भने आधा गिलास पानीमा पानी आधा हो कि भरिन बाँकी चाहिँ आधा हो । कुरो त उस्तै हो । यही कुरा नबुझेर बिग्रिरहेको छ सम्बन्ध ।

उखुलाई जताबाट टोकेपनि आउने उही गुलियो रस हो । कहिलेकाहीँ मुखमा माटोको गन्ध आउने कुरा स्वभाविक हो । त्यो स्वादमा अन्तर खोज्न आएको हो । त्यसलाई आँखा बन्द गरेर स्वीकार गर्नुपर्छ या त खानुपूर्व त्यसको सफाइमा ध्यान दिनुपर्छ । अर्को यसको विकल्प हुन सक्दैन ।

सम्बन्धमा विश्वासको धरोहरमा अडिएको हुन्छ । त्यो सानो कुरामा पनि हलचल भइरहन्छ । तसर्थ ज्ञाताहरूको भनाइ छ, जहाँ माया, स्नेह र सद्भाव हुन्छ त्यहाँ बेलाबेलामा झगडा पनि हुन जरुरी छ । चारैतिरबाट बेरिएर रुखलाई ढाकेर सुरक्षा दिइरहेको रुखको बोक्रा जस्तै छ सम्बन्ध, जीवनमा टाँसिरहने यो कुरालाई बुझ्न सकिएकै छैन ।