मनको क्यानभासमा अनुशासनको आकृति:

पदार्थको सबैभन्दा सानो रूपलाई परमाणु भनेजस्तै यौगिकको सबैभन्दा सानो रूपलाई अणु भनिन्छ । मानिस मानसिक, भौतिक र रासायनिक तत्त्वहरूको एक जटिल मिश्रित संरचना हो ।  त्यसैले मानिसको जीवन विविध भौतिक तथा मनोवैज्ञानिक अणुहरूले बनेको छ भन्दा फरक पर्दैन ।  अनुशासन शब्द अनु उपसर्ग र शासन प्रत्यय मिलेर बनेको छ ।  सामान्य रूपले हेर्दा अनुशासन भन्नाले अणुमाथिको शासन, अणुमाथिको आधिपत्य, अणुमाथिको अनुगमनको रूपमा अर्थ्याउन सकिन्छ ।  सामाजिक जीवन व्यवहारमा अनुशासन भन्नाले हामी स्थान, समय र समाज सुहाउँदो आचारण व्यवहारलाई बुझ्दछौँ । समाज विकासको क्रमसँगै हामीले विविध खाले अनुशासनहरूको अवलम्वन सामाजिक संस्कार, सांस्कृतिक परम्परा र मान्यताहरूको रूपमा गर्दै आएका छौँ ।  वैयक्तिक र सामाजिक अनुशासनले समाजमा सौहार्दता, सहजता, सहअस्तित्व र सामञ्जस्यको अनुभूति दिलाउँछ ।  यहाँ अनुशासनलाई मन, तन र धनको सेरोफेरोमा राखेर विचार र विश्लेषण गरिने छ ।

मन हाम्रो जीवनको वास्तवमै अत्यन्त जटिल वास्तविकता हो । वाह्य जगत्मा हुने कुनै पनि जीवन व्यवहार क्रिया र प्रतिक्रियाहरू मनको केन्द्रमा नै सिर्जित हुन्छन् र परिस्थितिको आवश्यकता र अनिवार्यता बमोजिम विवेकले बाह्य व्यवहारसम्म प्रक्षेपण गर्दछ । बुद्धि खुकुरीजस्तै र विवेक धारजस्तै हो। बुद्धि र विवेकको उपस्थितिले नै मानिसलाई अन्य प्राणीहरूबाट छुट्टयाएको छ । विवेकको आधारशिलामा नै अनुशासनको जन्म हुन्छ । देश, काल र परिस्थिति अनुसार अनुशासनको सिमा र परिधीहरू फरक फरक हुन सक्दछन् । कार्यक्षेत्रमा अनुसरण गरिने अनुशासन, गाउँ समाजमा आवलम्वन गरिने अनुशासन, घर व्यवहारमा, साथी-सङ्गी, प्रेमी प्रेमिका र श्रीमान श्रीमतीमा देखाइने र देखिने अनुशासनका प्रकृति फरक फरक हुन सक्दछन् ! मान्छेको मन बलियोमा अत्यन्त बलियो र नाजुकमा अत्यन्त नाज़ुक वास्तविकता हो । मनमा उठ्ने सकारात्मक वा नकारात्मक विचारहरूको प्रभावले मानिसहरू अनुशासनको सिमा र दायराहरूलाईलाई नाघ्न पुग्दछन् र फलस्वरूप व्यक्ति, समाज र समुदायमा अवाञ्छित क्रियाकलापको जन्म गराउन पुग्दछन् ।  यौन र मनोरञ्जन मनको अत्यन्त सहज अवतरण र विचरणको क्षेत्र हो । अक्सर मानिसहरू भन्ने गर्छन कि प्रेम अन्धो हुन्छ । वास्तवमा प्रेम होइन, वासना अन्धो हुन्छ । वासना यौनको सारथी हो । प्रेम र वासनाबीचको दूरी यत्ति छोटो हुन्छ कि मनलाई ती अलग अलग विषयहरू हुन् भनी खुट्टयाउन समेत गाह्रो हुन्छ । मनले नै पहिचान नगरेको विषयमा बुद्धि र विवेक निष्प्राण प्राय: हुन्छन् । विवेकको अनुपस्थितिमा वासनाले  गति र वेग लिन्छ र त्यही आवेगमा मान्छे अनुशासनका सारा सिमाना र परिधीहरू नाघ्न पुग्दछन् ।

धन लामा (अमेरिका)

स्वधर्म र मन :

धर्मको अर्थ यहाँ समाजमा प्रचलित संगठित धर्म होइन । धर्म भन्नाले यहाँ जीव या पदार्थको आफ्नो प्राकृतिक स्वभाव वा गुणलाई बुझ्नु पर्दछ, जस्तै आगोको गुण जलाउनु हो र पानीको गुण भिजाउनु वा गलाउनु हो । आफ्नो प्राकृत गुणमा अवस्थित हुनु वस्तु अथवा पदार्थ प्रकृति प्रदत्त अनुशासनमा हुनु हो । समुद्र जबसम्म आफ्नो तटीय मर्यादामा रहन्छ तबसम्म सुनामी र सामुद्रिक आँधी आउँदैनन्  र प्राकृतिक विनाश लीला पनि निम्त्याउँदैन । तर घामको राप र हावाको झोक्का प्रति जब ऊ लालायित र उत्प्रेरित हुन्छ तब समुद्र आफ्नो तटीय अनुशासनको सिमाना नाघ्दछ र सुनामी र सामुद्रिक आँधीको सिर्जना गर्दछ, परिणाम प्राकृतिक विनाश हुन्छ । मानिसको मन सागरजस्तै हो जबसम्म वासनाको हावाले उत्तेजित  बनाउँदैन अनि राग र द्वेषको रापले आन्दोलित बनाउँदैन तबसम्म मन अविचल र आनन्दित रहन्छ तर जसै ती विषयहरूले मनको सागरमा प्रवेश गर्छन् तब वचन र तनको अणु, अणुमाथिको शासन र व्यवस्थालाई तरङ्गित बनाइ दिन्छ र मानिसलाई अनुशासनको सिमा नाघ्न विवश बनाउन सक्छ भलै भविष्यमा पश्चातापको आगोमा जल्नु किन नपरोस् ।

शास्त्रमा भनिएको छ – शरेयान सवधर्मॊ विगुणः परधर्मात सवनुष्ठितात सवधर्मे निधनं शरेयः परधर्मॊ भयावहः

अर्थात: आफूलाई तर्क संगत नलागे तापनि आफू आवद्ध संगठनले सुम्पेको ज़िम्मेवारी वहन गर्नु पर्दछ, न कि तर्क संगत लागेर अरूको । युद्ध मैदानमा उत्री सकेको सैन्य जवानले बुद्ध वचनहरू याद गरेर हुँदैन आफ्नो अफिसरले दिएको आदेशलाई शिरोधार्य गर्नु उसको परम धर्म र अनुशासन हो । त्यसले मात्र ऊ आफूलाई र आवद्ध संस्थालाई बचाउन सक्दछ । आफ्नो धर्म र आफ्नो आत्मानुशासनमा रहँदा यदि घाटा नै बेहोर्नु परे तापनि त्यो उत्तम नै हुन्छ, अरूको स्वार्थ र सिद्धान्त अनुकूल भइदिएर नाफा आर्जित गर्नुभन्दा, किन कि अरूको पथको पथिक हुनु भनेको चरम विनाशको आमान्त्रण गर्नु हो ।

यो ब्रह्माण्ड र सृष्टि त्यही स्वधर्म र अनुशासनको पृष्ठभूमिमा एक लयबद्धताका साथ चलिरहेका हुन्छन् । सम्पूर्ण ग्रह तथा नक्षत्रहरू आ-आफ्नो कक्ष र लक्ष्यमा ब्रह्माण्डीय नियम, अनुशासन र स्वधर्ममा रहेर रौँ बराबरको पनि फरक नपारी आफ्नो कर्तव्य निभाई रहेका हुन्छन् । यदि सृष्टिको सानोभन्दा सानो पिण्ड, पदार्थ, ग्रह तथा नक्षत्र आफ्नो लक्ष्य र कक्ष भुलेर, आफ्नो स्वधर्म वा अनुशासनलाई अलिकति मात्र तलमाथि गरेमा सृष्टिकै महाप्रलय हुन्छ । एक दिन थकाई लाग्यो भनेर चन्द्र वा सूर्य नउदाउने हो भने ( प्रतिकको रूपमा बुझ्नु होला, पृथ्वीले सूर्यलाई घुम्छ ) यो सृष्टिको अवस्था कस्तो हुन्छ ? हामी कल्पना पनि गर्न सक्दैनौँ ।

मनको आकाशमा जागरणको जुन:

भनिन्छ, मन सबै समस्याहरूको जड हो र समस्या समाधानको धरातल पनि । मनकै आकाशमा विचारका बादलहरू मडारिन्छन् । मनकै तलाउमा स्मृतिका प्रतिविम्बहरू आवर्तित हुन्छन् र वासनाका तरङ्गहरू तरङ्गित हुन्छन् । अनि  मनकै क्यानभासमा कल्पनाका आकृतिहरू कोरिन्छन् । मनको रङ्ग हुँदैन स्वच्छ र सफ़ा पानीजस्तै । पानीमा जुन रङ्ग मिसायो त्यही रङ्गको भइदिन्छ पानी । त्यस्तै गरी मन लोभसँग लोभी भइदिन्छ, पापसँग पापी भइदिन्छ मन । वासना, रिस, राग र ईर्ष्याजस्ता विषयहरूसँग मनले आफ्नो रूप एकाकार गराई आफूलाई त्यसैको रूप, रङ्ग र गुणमा अनुवाद गरिदिन्छ । मन जब कञ्चन पानीजस्तै शुद्ध हुँदैन, अनुशासित हुँदैन, आफ्नो स्वाभाविक स्वरूप वा धर्ममा हुँदैन तब मानिस त्यही विषयहरूको तरङ्गहरूमा तरङ्गित हुँदै अनेक कुकर्महरूमा सरिक हुन्छन् । अध्यात्मको सारा प्रयास मनलाई उद्वेलित र उत्तेजित गर्ने विषय रूपी बादलहरूमा चाँदीको घेराजस्तै जागरणको जून देखाई होसको दीप बाल्नु हो । जसरी फिलिमको पर्दामा देखिएको दृश्य र घटनालाई परिवर्तन गर्नको लागि पर्दामै चाहिँ हामी केही पनि गर्न सक्दैनौ । त्यस्तै गरी विषयहरूको प्रभावमा गरिएका कर्महरूप्रति हाम्रो कुनै अधिकार रहँदैन तर परिणाम र प्रभावहरूको आवर्तनबाट भने हामी बच्न सक्दैनौ । त्यसैले कुकर्मबाट बच्नको लागि र हाम्रा कर्महरू सुकर्महोस् भन्नको लागि मनको मन्दिरमा होसको दीप बालेर जागरणको प्रकाश बढाउनाले वासनाका हावा र वतासहरू अनि विषयका बादलहरू स्वयं हट्दै जान्छन् र मनको शान्त तलाउमा जागरणको जूनको प्रतिविम्ब प्रतिविम्बित हुन थाल्दछ । मानिसले मनको तरङ्गबाट मुक्त भएर निर्वाणको झलक पाउँछन्, निर्वाणिक मन या त निर्माण गर्छ या त निर्वाणमा नै स्थित रहन्छ ।