साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

चियाको महिमा

तालीमा चिया, गालीमा चिया, आलीमा चिया ससुरालीमा चिया, जुन नेपथ्यमा बहुचलनमा आएको शान्त प्रकृतिको मुलायम पदार्थ हो । आज खान रुचि छैन, चिया खाऊँ । भर्खर खाना खाएर आएको, चिया खाऊँ । होइन, हाम्रोमा केही नखाई जाने ? चिया खाऊँ । निन्द्रा लागेन ? चिया खाऊँ ।

Chovar Blues Mobile Size

बहुत चल्तीमा रहेको तर खल्ती नरित्तिने, साना गरीबको झुपडीदेखि ठुला महलको भान्साको रिकापीसम्म तयार हुने मीठो तर चर्चा बिहीन तरल तातो खान मिल्ने पदार्थलाई नै चिया भनिन्छ । पास्तामा चिया ,नास्तामा चिया, लतमा चिया कुलतमा चिया । रोडमा चिया, करोडमा चिया, रुटमा चिया चुरोटमा चिया, बहुउपयोगी चिया अहिलेको राम्रो बजार भएको पेय पदार्थमा पर्दछ ।

चियाको इतिहास फर्केर हेर्दा १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरूप प्राप्त भएको चियाको बिरुवा इलामा रोपेपछि नेपालमा चिया खेतीको सुरुवात भएको हो । कर्णेल थापा जङ्गबहादुर राणाका ज्वाइँ हुन् । थापाले जङ्गबहादुरकी जेठी छोरी वदनकुमारीसँग बिहे गरेका थिए । चिनिया सम्राटबाट उपहारमा प्राप्त भएको चियाको बिरुवा जङ्गबहादुरको आदेश इलामका तत्कालीन बडा हाकिम तथा कर्णेल गजराजलाई भएपछि नेपालमा चिया खेतीको औपचारिक सुरुवात भएको देखिन्छ ।

थापाले वि.सं. १९२० मा इलाम चिया कमान र त्यसको दर्इ वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेती बिस्तार हुँदै गयो । वि.सं. २००७ सालमा राणा शासनको अन्त्य भएर प्रजातन्त्र प्राप्ति भएपछि मात्रै नेपालमा चिया खेतीका लागि वातावरण बन्दै गयो । वि.सं. २०१६ मा झापाको रङ्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरमा पहिलो चिया बगान स्थापना गरियो । त्यसै गरी सरकारी स्तरमा वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । सुरुवाती चरणमा प्रशोधन कारखानाको अभावमा दार्जीलिङकै कारखानाहरूमा हरियो पत्ती बेच्नु पर्ने बाध्यता थियो । तर २०३५ सालमा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा प्रशोधन कारखाना खोलिएको इतिहास भेटिन्छ तर वैदेशिक आयातबाट हेर्ने हो भने चिया उपभोग भारतमा बेलायती शासनसँगै सुरु भएको पाइन्छ।

तालीमा चिया, गालीमा चिया, आलीमा चिया ससुरालीमा चिया, जुन नेपथ्यमा बहुचलनमा आएको शान्त प्रकृतिको मुलायम पदार्थ हो । आज खान रुचि छैन, चिया खाऊँ । भर्खर खाना खाएर आएको, चिया खाऊँ । होइन, हाम्रोमा केही नखाई जाने ? चिया खाऊँ । निन्द्रा लागेन ? चिया खाऊँ । म केटाकेटी हुँदा चिया ठुला मान्छेले मात्रै खान्थे । बिहान बुढापाकाको जमघट नै चियामा हुन्थ्यो, त्यसै बेला टोल समाज र घरको समेत न्याय अन्यायका कुरा हुन्थे । चिया खाने पाका उमेरका बा हुने रहर लाग्थ्यो । त्यसैले न्यायको प्रतिमूर्ति समाजको न्यायाधीश र वकालतको वकिलसम्म पनि चिया नै हो ।

चियाका विभिन्न रूपहरू हुन्छन् । कालो चिया, चिसो चिया, रातो चिया, दूध चिया, कागती चिया, चिनी हालेको चिया, चिनी नहालेको चिया, पुदिना चिया, तेजपत्ता चिया, मरिच चिया, अदुवा चिया, सुकुमेल चिया, कुकरमा सिट्टी लगाएको चिया, मड्का चिया, बासको ढुंग्रोको चिया, नुन चिया, ग्रीन टि आदि चियाको प्रकारमा पर्दछन् । यसको प्रयोग ठाउँ,परिवेश र अवस्था अनुसार नै हुने गर्दछ । मेरो चियाको रुटिङ अलि खर्चिलो छ । उपलब्ध र समयको संयोजन नै मेरा लागि चिया हो । तलतलको अर्को उपयोग चिया हो । अहिले समाजको बहुउपयोगी तर हेपिएको पर्दार्थ चिया नै हो । हिमालदेखि तरार्इका जुनसुकै भौगोलिक स्थान र गर्मीदेखि जाडो जुनसुकै मौसममा चुस्की लिन सकिने चिया नै हो । औसत आकडा निकाल्ने हो भने कुल जनसंख्याको सतप्रतिशत सख्याले सरल तरिकाले पिउने पेय पदार्थ चिया हो ।

sagarmani mobile size
गोकर्ण खड्का (चिया-प्रेमी)

यो समय मुना चियाको हो । अब समाचार सुन्नुहोस रेडियो नेपालबाट, बिहानी यसरी सुरु हुन्छ दैनिक कार्यक्रमको । बिहान हरेक टिभिले पत्रपत्रिकाको समाचार प्रशारणमा चिया चुस्की लिँदै वाचन गर्छ्न् । चर्चित टेलिभिजनको कार्यक्रमको नाम छ चिया गफ । मुड अफ भए शक्तिम चिया खानूस विज्ञापन यसरी सुरु हुन्छ । बिहानै आमालाई फोन गर्यो सन्चो बिसन्चोभन्दा पहिला भन्नुहुन्छ, चिया खाइस् बाबू । अमेरिकामा आप्रवासी साथी फेसबुकमा चियाको फोटो हाल्दै भन्छ “चिसोको माहोल”। ऋषि धमला अब भन्नूस् जनता जान्न चाहन्छन् भन्दै चियाकै ठुलो मग उचालेको देखिन्छ । यसरी रेडियोमा चिया,टेलिभिजनमा चिया, पत्रपत्रिकामा चिया, सामाजिक सञ्जालमा चिया, टेलीफोनमा चिया त्यसैले अलौकिक शक्ति भएको चिया अपरम्पार छ ।

चिया गन्तव्यको यात्रा हो । पैदलबाट यात्रा सुरु हुँदै गाडी ,मालबाहक रेल, हवार्इ जहाज हुँदै विश्व भ्रमणमा निक्लन्छ । न चुल्हो , न भान्छे, न चिनी , न चिया पत्ती झोला खोल्यो थर्मस निकाल्यो चियाको चुस्की लगायो । खेतमा पानी चहार्न गएका साइँला दाइ थर्मस निकालेर चिया नै पिउनु हुन्छ । गोठालो गएको ठुले दाइ थर्मसकै चिया पिउनुहुन्छ । गोरुजोत्दा चिया । दाउरा काट्दा चिया । पुजामा चिया । भुजामा चिया । खेलमा चिया । अध्ययनमा चिया । त्यसैले चिया यात्रा हो । जताततै पिछा गरिरहने छाँया बनेर ।

न भेट्दा भेटुँभेटुँ लाग्ने, नदेख्दा देखुँदेखुँ लाग्ने , जतिखेर नि लिइदिऊँ लिइदिऊँ लाग्ने, एकोहोरो बनाउने, हरेक युवाको प्रेमी प्रेमिका भएको छ चिया । अगेनुमा बिरालो छिरेर भाडा खसाल्दा आएको आवाजलाई भित्र चिया पाक्दै छ भनेर मुखिया बा कुरिरहेको घण्टौँ भइसक्यो । अब त सुनिन्छ कतै चिया नखाइ दिसा लाग्दैन, एक कप चिया नखाइ निन्द्रा नै लाग्दैन । टन्न खाजा खायो , चिया नखाइ पेट भरिन्न । खाना खायो फेरि चिया, अबेरमा निन्द्रा लागेन फेरि चिया, अझ निदाएपछि सपनामा चिया । कपमा भए पनि हुने, बटुकामा भए पनि हुने, थालमा भए पनि हुने यति सजिलो बहुगुणकारी, हितकारी, सर्बेसर्बा चिया नै हो ।

नेपालगञ्जको धुप गर्मीमा शरीर भरी पसिना लिएर एकहुल युवा चिया पसल छिर्छन् । चिया खाएर बाहिर निस्कन्छन् । सोलुखुम्बुको नाम्चेमा चिया खानेको पनि उत्तिकै भीड छ । बेहोस भएर ढलेको बिरामी बौरिएर खाना कर गर्दा म खाना खान्न अलिकति चिया बनाइदिनू भन्छ । सुतक परेर न्वारान नगरेको घरमा पनि चियाकै सत्कार चल्छ । वर्ष दिनमा मान्छे मरेको घरमा खुवाइने काट्टोको सट्टा समाधि स्थलमै चिया खुवाइन्छ । महापण्डित जजमान पुजामा आउदा अरू खाने कुरा चल्दैन तर चियाको सुरुप्प सर्को मज्जाले चल्छ । त्यसैले धुपको सर्बत हो चिया । जाडोको तताउने सुप हो चिया । बेहोसीमा बौरिने अमृत हो चिया । जुठोमा चल्ने चोख्याइ र बिकल्प हो चिया । गुरु पण्डितको चोखो अमृत हो चिया । त्यसैले चिया सर्ब गुणकारी छ ।

चुरोटको तलतल लागेमा चिया, खैनीको अभावमा चिया, कसैलार्इ कुर्ने समयमा चिया, बस स्टेण्डमा चिया, जन्म उत्सबमा चिया, मृत्युसैय्यामा चिया, कर्मकाण्डमा चिया, घर गृहस्थिमा चिया, कृषि उपजमा चिया, वनबासमा चिया, सलामीको रोजाइ चिया, मलामीको उपयुक्त पेय पदार्थ चिया । चिया व्यक्तिको उपासना हो । मानिस चियाको उपासक हो । कति महान चिज जति खाएनी सम्पत्ति नरित्तिने । जति खाएनी ऋण नलाग्ने । समाजमा भन्नूस् एकलाखको चिया खाए समाजले पागल भन्छ । त्यसैले चिया आफैँमा इज्जतदार छ । कित्लिमा परेड खेल्छ । थर्मसमा आराम गर्छ । रिकापिमा साथीसँग यात्रा गर्छ । गमक्क परेर कपमा सजिन्छ । जिब्रोको अनुपम स्वादसँगै मानिसको अङ्ग प्रत्याङ्गसम्म रमाउँदै सयर गर्दछ ।

अब त चिया राजनीतिमा हाबी भएको छ हरेक दलको बिधान भएको छ चिया । उखर्मौलो गर्मीमा चिसो पेय पदार्थको ठाउँमा चिया नै मागिन्छ । ठुला औकात बनाएका मान्छेले पनि चिया बेचेरै औकात बनाएका छन् । औकात गिरेर पनि चिया बेच्न आएको हामीले देखेको छौँ । चिया बेचेर व्यावसायिक यात्रा सुरु गरेका व्यक्ति ठुलो उद्योगमा लागेका छन् । ठुलो उद्योगपतिहरू टाट पल्टिएर चिया व्यापारमा झरेको नि हामीले देखेको छौँ । अहिले चिया व्यापार समृद्धि र हैसियतको भर्याङ भएको छ तलमाथि गर्न । हामीले सुनेका छौँ कति चिया पसले राष्ट्रप्रमुख भएको । अब हामीले जर्ज डब्लु बुश, डोनाल्ड ट्रम्प, बाराक ओबामा, किम जोम, सि जिङ पिङ, नरेन्द्र मोदी विश्वका अन्य शक्तिशाली व्यक्तिलाई शान्ति मुलुक नेपालले लुम्बिनिमा चियापान कार्यक्रम राख्नुपर्छ । सगरमाथामामा चिया पिएर विश्व शान्तिको गीत गाउँदै गोस्ठी गर्नुपर्छ । नेपालको अन्तर्राष्ट्रिय सिमामा चियाको चुस्की लिँदै नेपाली वीरताको गाथा सुनाउनु पर्छ ।

देवस्थलमा चिया ,समाधि स्थलमा चिया, रक्सी भट्टीमा चिया, अस्पतालमा चिया, अदालतमा चिया, मालपोतमा चिया, तारे होटलमा चिया, ठेलामा चिया, थर्मसमा चिया किस्तिमा चिया, देवस्थलको गुणकारी पञ्चामृत हो चिया । समाधिस्थलको मोक्ष प्राप्त गर्ने पितृ प्रसाद हो चिया । रक्सी भट्टीको शुरा मनोरञ्जनात्मक खुराक हो चिया, अस्पतालको औषधिरूपी जीवन बुटी हो चिया । अदालतको कानुनी संस्कार हो चिया । मालपोतको रेकर्डर नापी हो चिया, जताततै जुनसुकै काम गर्नु अगाडि चिया पिएर कामको श्रीगणेश गरिन्छ । त्यसैले चिया कपको भगवान् रूपी मूर्ति बनाइनु पर्छ । चिया समबन्धी भजन गाउनु पर्छ यति मात्रै होइन चियाको अन्तर्राष्ट्रिय प्रचार गर्नु पर्छ । नेपाललार्इ विश्वको चियाको गन्तव्य बनाइनु पर्छ । लुम्बिनीमा बुद्धको ज्ञान बुटीरूपी चिया निशुल्क हुनुपर्छ । जानकी मन्दिरको मुख्य प्रसाद चिया हुनुपर्छ । पशुपतिनाथलार्इ विश्वको सबैभन्दा ठुलो चिया गन्तव्य बनाउनु पर्छ । हरेक ८००० मिटरभन्दा अग्ला शिखरमा चिया भट्टी खोल्नु पर्छ । सरकारले चिया दिवस मनाउनु पर्छ । चियालाइ सबै ठाउँमा अनुदान छुटको व्यवस्थापन गर्नु पर्छ, त्यसैले सर्बमान्य पेय पदार्थ हो चिया ।

हिन्दु धर्मको मठ मन्दिरमा चिया, क्रिश्चियन धर्मको चर्चमा चिया, बौद्ध धर्मको गुम्बामा चिया, मुस्लिमको मस्जिदमा चिया गुठीमा चिया, त्यसैले चिया धर्म होइन संस्कार हो । श्रीमान श्रीमानको झगडा पर्यो चिया पकाएर दिनूस मिलापत्र हुन्छ । छिमेकीको झगडा भयो सानो छोरालार्इ चिया पिलाउन बोलाउनूस मिलापत्र, राजनीतिमा कुनै कुरा निचोड निस्किएन चियापान कार्यक्रम राख्नूस् समस्या हल हुन्छ । छोरा बुहारी, छोरी ज्वाइँ , सम्धी सम्धिनीको, कलाकारको, पत्रकारको, नेताको, अभिनेता, केटाकेटीदेखि वृद्ध वृद्धासम्मको रोजाइको खुराक हो चिया ।

सर्वमान्य अनि अपहेलित यो पदार्थ कतै उधारो खायो भने ग्राहकसित पैसा माग्यो, जाबो चियाको पैसा । नयाँ साथी भेटियो जाऊँ कतै चिया खाएर बसौँ । खानापछि चिया, खाजापछि चिया, गर्मी भगाउन चिया जाडो कटाउन चिया, गल्लीदेखि तारे होटलमा सर्वमान्य चियालार्इ जति नै बखान गरे पनि कमी नै हुन्छ । सुकेको रोटीसँग चिया, दालरोटीसित चिया, पाउरोटीसँग चिया, भुटेको मकैसँग चिया, गफमा चिया , मुढ अफमा चिया, सातु मिसाएर चिया, कफी मिसाएर चिया । बिहानीमा चिया, दिनमा चिया, रात्रिमा चिया तर यस्तो चिज हो, जुन चिज बोलीमा हेपिएको छ जाबो चिया जड्याहाले हेपेको छ, चिया त के खानु ? तर यसको माग बढ्दो छ ।

गल्लीको रक्सीले विस्थापित गर्न सकेको छैन विदेशी वाइनले हटाउन सकेको छैन । तारे होटेलमा पार्टी खान गएको मान्छे चिया खाएर फर्कन्छ । हण्डीमा रक्सी पार्न चुल्होमा बस्ने पेमा दिदी त्यही आगोमा चिया बसाल्छिन् । पेट दुख्यो पेटको डक्टर चिया, साथीभाइ भेटियो चौतारीमा चिया । चमत्कारमा चिया, अतिथी सत्कारमा चिया । अल्छी श्रीमतीले खाना बनाउन ढिलो गरिन् भन्रे भन्छिन्, पर्खिनू म चिया बनाएर ल्याउँछु । रोगमा चिया शोकमा चिया व्रतमा चिया त्यसैले यो सर्वसुलभ छ ।

गृहणी भन्छिन् चिनी सकियो, मिस्री हालेर पकाऊँ ,नुन राखेर पकाऊँ, दूधको मात्रै पकाऊँ । फेरि भन्छिन्, चियापत्ती सकियो चिनी डढाएर कालो बनाऊँ । ध्वाँसो हालेर बनाऊँ । खयर हालेर बनाऊँ । यसमा कुनै रेसिपी चाहिन्न । वृद्धले वृद्धभत्ता झिकेर महिनाभर खान पुग्ने । केटाकेटीले आफैँ बनाउन सक्ने, पानी उमाल्यो थोरै चिनी चियापत्ती हाल्यो अनि तयार भइहाल्छ । अनुकूल समय, प्रतिकूल मौसममा पनि कित्ली, थर्मस डाँडापाखा घुमी रहेको हुन्छ । मुड फ्रेस बनाउन पनि चिया ।

गाडीमा चड्यो स्टेशनमा चिया । हवार्इ जहाज चड्यो हवार्इ परिचारिका भन्छिन् चिया लिऊँ । हस्पिटल गयो डाक्टर भन्नू हुन्छ, चिया खाएर औषधि खानूस् । प्रशासन जानूस् अधिकारीजीको चिया मिटिङ छ । मालपोत जानूस् चिया खादै लेखापढी गरौँला । विद्यालय जानूस् आज खाजा के छ चिया रोटी, राजनीतिक दलमा जाऊँ आज चियापान कार्यक्रम छ । धार्मिक कार्यमा चल्ने, पितृकार्यमा चल्ने, सभा सम्मेलनमा चल्ने , भोज भतेरमा चल्ने । गरिबीमा चल्ने, विलासितीमा चल्ने, भोकको निदान गर्न चल्ने । औषधि रूपी बहु गुणकारी चियालाई सरकारले राष्ट्रिय पेय पदार्थ घोषणा गर्नुपर्छ । चिया चिनी र अन्य चियाजन्य वस्तुको आयत रोक्नु पर्छ । चिया चिनी कफी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । चिया व्यापारीलार्इ बिना धितो बिना ब्याज ऋण दिनुपर्छ । यदि चिया व्यापारीलार्इ व्यापार घाटा भएमा सरकारले ऋण मिनाहा गरिदिनु पर्छ । त्यति मात्रै होइन चिया उत्पादकलाई राष्ट्रिय सम्मान गरिनुपर्छ । चिया व्यापारी र ग्राहकलार्इ बुद्धजीवी र पेशालार्इ उत्कृष्ट पेशामा सूचीकृत गराइनु पर्छ ।

त्यसैले चिया विधान हो । कानुनी परामर्श हो । सत्कार हो । संस्कार हो । औषधि हो । डाक्टर हो । व्यवसाय हो । धर्म हो । माया हो । सामाजिक सद्भाव हो । राजनीति हो । प्रशासक हो । शिक्षा हो । समाज हो । संस्कृति हो । प्रहरी हो । राष्ट्र निर्माण कर्ता सैनिक हो । खबरदारी कर्ता हो । समाजको मर्यादा पालक हो । समग्रमा भन्नुपर्दा चिया सर्वभोगी, सर्बसुलभ, गुणकारी ,औषधिजन्य संसारका सबैभन्दा ठुला विद्वान्, वैज्ञानिक, र्इश्वर, साहित्यकारले वर्णन गर्न नसक्ने पेय पदार्थ हो । जय चिया । हरदिन हरमौसममा चिया ।

प्रतिक्रिया
Loading...