Chovar Blues Mobile Size

सामान्यतया दर्शन र सैद्धान्तिक मन्थन धेरैका लागि प्रियकर कर्म होइन।  ‘दर्शन’शब्द सुन्ने बितिक्कै धेरैको आँखीभौँ खुम्चिन्छ, नभए दाह्री-जुँगा लामो छैन त दर्शनको कुरा गर्नलाई भन्ने खिसिट्युरी सुन्नु पर्छ ।।  केही  वुज्रुकहरू दर्शन र सिद्धान्तका कुरा कि त राजनीतिक पार्टीमा सिमित भएको सहज मान्छन् या विश्वविद्यालयको कक्षा कोठाहरूमा कैद हुँदा रमाइलो ठान्छन्।तर सर्वसाधारण वृत्तमा दर्शनबारे रुचि भए नि नभए नि दर्शनले तिनका  जनजीवनमा  पर्ने प्रभाव नजर अन्दाज गर्न सकिने खालको सामान्य हुँदैन।

संयुक्त राष्ट संघीय निकाय युनेस्कोको सन् २००२ को साधारण सभाले संसारका सबै दर्शनलाई सम्पदा मान्दै प्रत्येक वर्षको नोवेम्बर महिनाको तेस्रो बिहीबारलाई विश्व दर्शनशास्त्र दिवस मनाउने निर्णयलाई सम्मान गर्दै,   यस वर्ष पनि विश्चभरि नै नोवेम्बर १८ अर्थात मङ्सिर २ मा विविध कार्यक्रम गरी, विश्वदर्शन दिवस मनाए।तर जति चर्चा र महत्त्व यस दिवसले पाउनु पर्ने हो त्यति पाएको देखिएन। नेपालमा पनि अत्यन्त थोरै कार्यक्रम र चर्चा मै विश्व दर्शन दिवस सकियो।यसो हुनुमा माथि भनिए झैँ  दर्शन र सिद्धान्तप्रतिको सचेतना र बुझाइको कमी ले नै हो।

समान्यतया दर्शन भन्नाले कुनै वस्तुलाई हेर्नु भन्ने जनाउँछ तर त्यो हेराइ सामान्य हेराइ नभै  तर्क र विज्ञानको तुलोमा जोखिएपछिको  सूक्ष्म हेराइ हो। नेपाली वृहतशब्द कोशले दर्शन शास्त्रलाई ‘ज्ञान र विज्ञानको अथवा अध्यात्म र भौतिकपक्ष-पक्षान्तरको व्याख्या र विवेचना गरिने शास्त्र’भनी परिभाषित गरेको छ। पश्चिमेलीहरू दर्शन\दर्शन शास्त्रलाई ग्रीक शब्द फिलोस(प्रेम) र सोफिया(विवेक) जोडेर बनाइएको ‘फिलोसोफि’ शब्दले जान्दछन्। मार्क्स ‘हरेक साँचो दर्शन आफ्नो ठोस समयको विश्वको बौद्धिक सारतत्व’ मान्छन्।सारमा  जीवन र प्रकृतिका आन्तरिक तथा बाह्य तत्त्वहरूका बारेमा चिन्तन र अध्ययन गरिने शास्त्र नै दर्शन शास्त्र हो।

धेरैको लागि बौद्धिकविलास देखिने दर्शन किन महत्त्वपूर्ण छ त? वास्तवमा दर्शनशास्त्र आफू र आफ्नो वरपरको प्रकृति र  अस्तित्वबारेको विस्मयले ल्याउने चिन्तन प्रक्रियाबाट शुरू हुन्छ। वैदिक चिन्तन पूर्वेली सभ्यताको दर्शनशास्त्रको उद्गम बिन्दु मानिँदै गर्दा पश्चिममा दर्शनशास्त्रको शुरुवात ई.पु.६०० आसपासका ‘थेल्स’ बाट भएको विश्वास गरिन्छ। पूर्वीय र पाश्चात्य दर्शनशास्त्र दुवैको विशेषता भन्नु नै स्थापित मान्यता,तथ्य र विचारमाथि प्रश्न गरेर तथ्यको अझ नजिक पुग्नु नै हो। ‘वादे वादे जायते तत्त्वबोध’ भन्छन् नै पूर्वमा।

योगेशमान श्रेष्ठ

पूर्वीय दर्शनशास्त्र तर्कशास्त्र र  कल्पनाबाट  प्रभावित भयो। कौटिल्यका अनुसार दर्शनको समकक्षी ‘आन्वीक्षिकी’ विद्या हो। आन्वीक्षिकीलाई तर्क शास्त्र पनि भनिनुबाट कसरी पूर्वीय दर्शन तर्कमा बढी केन्द्रित भयो भन्ने अनुमान लगाउन सकिन्छ। त्यता पश्चिमा दर्शनशास्त्र शुरूमा त तर्क शास्त्र मै बढी निर्भर भयो तर क्रमशः प्रत्यक्ष अवलोकन र जाँचपड्ताल मार्फत तथ्यको पुष्टिमा हिँड्दा क्रमशः यो विज्ञानको बाटो पक्री सर्वस्वीकार्य बन्न सक्यो। तर पश्चिमा दर्शन विकासले हिँडेको बाटो त्यति सरल पनि थिएन, दर्शनशास्त्र र विज्ञान- धर्म  त्यसमा पनि विशेषतः चर्चको चंगुलबाट फुत्किएर विश्वविद्यालयको प्राङ्गण र सार्वजनिक वृतको अङ्ग बन्न हजारौँ वर्षको यात्रापछि इस्वीको १७ औँ शताब्दीमा बल्ल सम्भव भयो। विज्ञान आफैँमा एक विश्वसनीय पद्धतिको रूपमा स्विकारिन पनि सोही शताब्दीसम्म कुर्नु पर्योभन्दा कति विज्ञानकै  विद्यार्थीहरूलाई ताजुव लाग्दो हो।

धेरैले दर्शनशास्त्रलाई वाहियात या बौद्धिक विलासको काम ठान्छन् । तर दर्शनशास्त्रकै जमिन टेकेर आजको विज्ञानको विकास भयो । भलै त्यसले अध्यात्मको विकासमा जति प्रभाव पार्नु पर्ने हो त्यति नपारेको होस् । अध्यात्म भन्ने बितिक्कै धर्मसँग जोडेर दर्शनशास्त्र बरालिदिन्छ कहिलेकाहीँ तर पनि विज्ञानको जे जति विकास र विस्तार अनि त्यसले संसारका विविध पाटोमा पारेका प्रभावहरू छन्, ती सबको प्रत्यक्ष अप्रत्यक्ष जस दर्शनलाई जान्छ। थोमस् जेफर्सनले ‘स्वतन्त्रताको घोषणापत्र” के दर्शनशास्त्री डेभिड ह्युमसँगको संगत र अर्थशास्त्री एडम स्मिथको ‘आर्थिक स्वतन्त्रता’को विचार नपढेका भए के यस्तै लेख्थे होलान्? एडम स्मिथले साहुमहाजन प्रधान अर्थतन्त्रको विकल्पमा आर्थिक स्वतन्त्रताको वकालत नगेरका भए के संसारको अर्थतन्त्र र जीवनस्तर उही पुरातन कालकै रहन्न थियो र?वाष्सईन्जिनले आर्थिक स्वतन्त्रताको विचारसँग हातेमाले नगेरको भए के औधोगिक क्रान्ति सम्भव हुन्थ्यो र? तसर्थ दर्शनशास्त्रको योगदान हटाइदिने हो भने आजको विश्व शायद कुरूप हुन्थ्यो।

तर दर्शन धर्मको पञ्जामा कैद हुँदा कसरी प्रश्न गर्ने हिम्मत हराउँछ र लामो समय संसार कतै बरालिरहन्छ भन्ने तथ्य भू-केन्द्रित सौर्यमण्डलीय  मोडेल हेरे पुग्छ। दर्शनशास्त्र अन्तर्गत तत्वमीमांसाको हाङ्गा ‘ईश्वर विज्ञान’ को निष्कर्षको रूपमा ईश्वरबाटै संसारको रचना भएको विचार  स्थापित हुन पुग्छ।यही कारण टोलेमीको  इस्वीको दोस्रो शताब्दीतिरको  पृथ्वी ब्रम्हाण्ड\सौर्यमण्डलको केन्द्रमा रहेको सौर्यमण्डलको मोडेल लगभग १४०० सय वर्षसम्म टसकोमस नभएर संसारलाई गिज्याइरहन्छ। भगवान्ले पृथ्वीसहितको सृष्टिगरे, ईश्वरको प्रिय सृष्टि मानवको लागि प्रकाश चाहिएर सूर्य, पानी चाहिएर समुद्रलगायत  विविध वस्तुको सृष्टि भयो भन्ने पृथ्वी केन्द्रमा भएको सिद्धान्तको  उपजले, प्रभावित  विचारले, मानवलाई यति निरंकुश बनाइदियो कि, यस पृथ्वीमा भएका अन्य प्राणी र बोटविरूवाको स्वतन्त्र अस्तित्व एवं मान्छेको जस्तै अधिकार छ भन्ने स्विकार्न हालसम्म पनि मानिसहरू चाँहदैनन्। संसारमा भएका सारा वस्तु मान्छे मात्रको लागि बनेको भन्ने विचारले गर्दा साझा पृथ्वीको दिगो भविष्य नै शंकाको घेरामा छ। अन्यथा शाकाहारी अभियान, भेगन अभियान, मिनिमालिस्ट आन्दोलनने व्यापकता पाइसक्थ्यो होला। प्रयोगशालामा मासुजन्य पदार्थको विकासले तीव्रता लिइसक्थ्यो होला। भलै निकोलस कपर्निसले आफ्नो खगोलशास्त्रीय अध्ययनको निचोड स्वरूप उद्घाटित, केपलरको गणितीय प्रमाण र ग्यालिलियोको दुरदर्शक यन्त्र प्रयोगको नतिजाले बल्ल सूर्य केन्द्रिमा रहेको मोडेल स्थापति भइसक्दा पनि, सूर्य केन्द्रमा रहेको तथ्य क्याथोलिक चर्चहरूले सन् १९९२ मा मात्र स्विकारेर बल्ल आफ्नो बाइबलमा परिमार्जन गर्नुले  गलत विचार कति दीर्घकालिक हुनसक्छ भन्ने देखाउछ । सूर्य केन्द्रमा छ भन्ने पुष्टि भएको ४००  वर्षपछि पनि नलजाइ “सूर्य पूर्वबाट उदाउँछ” भन्नुले पनि देखाउँछ, मानौँ सूर्यले हामीलाई  घुम्दैछ अझै!

तसर्थ दर्शनलाई जडताको रूपमा लिनु हुन्न । दर्शनलाई जडताको रूपमा लिइदिँदा पूर्वले त अधिकांश दर्शनलाई धर्म र दर्शनशास्त्रीलाई भगवान्  बनायो जुन समाज रूपान्तरणको बाधक हो । तसर्थ संशयको संस्कारलाई सहज रूपमा पुर्नस्थापित गर्दै दर्शन र सिद्धान्तलाई सबै प्रकारको जडताबाट मुक्त गर्दै दर्शनमाथिको मन्थन आमवृतमा पुर्याउन सकियो भने सम्भवतः समाजमा व्यक्ति विशेषको देवत्करण र समाज परिवर्तनको लागि पद्धति विकासभन्दा नायकको आशा गर्ने  लोकतन्त्र विरुद्धको डरलाग्दो प्रवृति  केही हदसम्म नियन्त्रित हुनेछ।नत्र स्थापित तथ्य र ज्ञानमाथि संशय पूर्वक प्रश्न गर्ने रूचि र हिम्मत हरायो भने कि त विकाशको गति रोकिन्छ कि ढिलो चाँडो अनिश्चित विद्रोह भोग्नु पर्छ। तसर्थ प्रश्न गर्ने हिम्मत जुटाऔँ, आफ्नै आस्थामाथि संशय गरौँ, शस्त्रार्थभन्दा शास्त्रार्थले संसार बनाऔं, साझा पृथ्वीको सचेत प्राणीको कर्तव्य पूरा गरौँ । जय दर्शन !