कोटेश्वर, महादेवस्थानमुन्तिर ठूलो घरको सानो, अँध्यारो र चिसो कोठामा म बस्थेँ । घरबाट ल्याएको तोरीको तेलमा बेलुकाको भात भुटेर खाइसकेपछि एकछिन ढल्किएँ ।
मनमा अनेक कुरा खेल्यो ।
दिनभर कोठामै घोत्लिएर बस्नुभन्दा भृकुटीमण्डपतिर घुमेर टाइमपास गर्नु ठिक लाग्यो । तर जाने कसरी ? बसभाडा छैन ।
जान सके त फर्कने बेला बाह्रबिसे जाने बसमा चोकसम्म आएर झर्नु हुन्थ्यो । (बाह्रबिसे जाने बस कोटेश्वर चोकमा रोकिएर धेरैबेर यात्रु कुर्छ । त्यही मौकामा झरेर साइड लाग्न मिल्छ । त्यो बीचमा कन्डक्टरले भाडा उठाउँदैन ।)
धुम्धुम्ती कोठामै बस्नुभन्दा हिँड्दै भए पनि जाने विचार आयो । त्यसै गरेँ । मीनभवन पानी ट्याङ्कीको बाटो हुँदै हिँडेँ ।
दिमागमा एउटा कल्पना आयो, एक करोड भेटेको । सुटकेसभरि लाख–लाखको सयवटा बण्डल । पैसा लुकाउन धेरै मेहनत गरेको कल्पिएँ । जात्रा फिल्ममा ‘फणी’ दाजुलाईभन्दा कठिन भयो मलाई, एक करोड पचाउन ।
सुटकेस कोठामा ल्याएर राखेँ । त्योबाहेक आफूसित एक रुपैयाँ पनि छैन । त्यही बण्डलबाट झिकेर खर्च गर्न मन पनि लागेन ।
खर्च गर्दा पैसाको नम्बर चिनेर मान्छेले पत्ता लगाउलान् भन्ने डर लाग्यो । ‘प्रत्येक ठाउँमा हजारकै नोट खर्च गर्छु । गाडी भाडा पनि हजारै दिन्छु । पसलै पिच्छे सयको रिचार्ज कार्ड किन्छु । यसरी एउटा–एउटा नोट खर्च गर्दा त कसले पत्तो पाउने ? कसले दियो कसले ? साटिएको पैसा चाहिँ बैँकमा राख्छु ।’ यस्तै योजना बनाएँ । त्यसै गरेँ ।
साटिएको पैसा चाहिँ आफ्नोजस्तो, बण्डलको पैसा चाहिँ पराइको जस्तो लाग्यो । करिब एक महिना मिहिनेत गरेपछि सबै हजारका नोट साटेर आफ्नो बनाएँ । दुईवटा बैंकमा खाता खोलेर पैसा राखेँ । कति पैसा त कोठामै राखेँ ।
त्योबीचमा भएका सबै खर्च त्यहीँ एक करोडबाटै गरेँ । अन्ततः एक करोडलाई आफ्नो बनाइसक्दा ९९ लाख ३० हजार बाँकी बसेछ । ९९ लाख ३० हजारको योजना बनाएँ । पेप्सीकोलामा घडेरी किनेँ । एउटा मोटरसाइकल किनेँ । बुबाको ३ लाख ऋण तिरेँ । आफ्ना पुराना खात्राक–खुत्रुक ऋण पनि तिरिसकेँ । लास्टमा, मोबाइल किन्न पैसा पुगेन । मोबाइल किने सापटी तिर्न नपुग्ने भो । यसो गरे पनि हिसाब मिल्दैन, उसो गरे पनि मिल्दैन ।
लास्ट, तनाव भो ।
चिटचिट पसिना आइसक्यो, हिसाब मिल्दैन । अनि यो निष्कर्षमा पुगेँ कि, एक करोड भेटे पनि २५ हजार नपुग्ने रहेछ । अहिले पनि मलाई नपुगेको त्यही २५ हजारजति नै हो– कोठाभाडा, रासनपानीको उधारो र केही मसिना सापटी । एक करोड भेट्दा पनि अभावै हुने रहेछ, तनावै हुने रहेछ ! भनेपछि किन चाहियो एक करोड ? अहिले नै ठिक छ ।
यति कल्पना गरिसक्दा पुतलीसडक पुगिसकेछु । तर, एक करोड भेटेको कल्पनाले गिजोल्न छाडेन । सोच्दै–सोच्दै भृकुटीमण्डप एक चक्कर मारेर पुरानो बसपार्क आएँ । बाह्रबिसे जाने बस चढेँ । कोटेश्वर चोक आएर झरेँ । कन्डक्टरले भागेको देख्छ कि भन्ने डरले फलफूल किन्न लागेजस्तो नाटक गरेँ । कन्डक्टर चुरोट सल्काएर मान्छे बोलाउन थाल्यो । त्यही मौकामा साइड लागेर फुत्तै सडक क्रस गरेँ । पछि–पछि कन्डक्टर आइरहेको पो छ कि भनेर डर लागिरह्यो । सडक पार गरिसकेपछि ढुक्कको लामो स्वास फेर्दै महादेवस्थानको गल्ली छिरेँ ।
हजार रुपैयाँको पाठ !
यो अलि पहिलाकै कुरा हो । अस्तितिरको अर्को घटना पनि रोचक छ ।
अफिसबाट तलब आयो । पहिले अफिसमा कला अनुरागी सरसँग हजार रुपैयाँ सापटी लिएको थिएँ, तिरेँ । उहाँले केदार श्रेष्ठसँग सापटी लिनुभएको रहेछ, तिर्नु भएछ । केदारजीले सिर्जना दुवालसित, सिर्जनाले श्रुति श्रेष्ठसित, श्रुतिले राधिका अधिकारीसित । राधिकाले फेरि मसित सापटी मागेर खर्च चलाएकी थिइन्, मलाई तिरिन् । हजारको नोट त्यही थियो । मसित थियो, मैसित आइपुग्यो ।
बीचमा सबैले त्यो पैसालाई आफ्नो भन्ने ठान्यौँ । सबैका अगाडि सबै जना इमानदार भयौँ । त्यसपछि मैले त्यहीँ पैसा पसलमा तिरेँ । पसलले एकछिन आफ्नो भन्ठान्यो । पसलेले डिलरवालालाई दियो, डिलरवालाले कम्पनीलाई दियो, कम्पनीले बैंकमा राख्यो । बैंकबाट राष्ट्र बैंकमा । अन्तिममा, त्यो यति पत्रु भइसक्यो होला कि राष्ट्र बैंकले त्यो पैसा जलाउने छ, जलाइसकेको पनि हुन सक्छ । त्यसपछि मैले निष्कर्ष निकालेँ– पैसा कसैको हुँदो रहेनछ । एकछिनको भ्रममात्रै रहेछ । यो त काम चलाउने एउटा माध्यम न रहेछ ।
पैसा के–का लागि ?
माथिका दुई सन्दर्भले हामीलाई पैसाबारे बुझ्न केही सजिलो बनाएको हुनुपर्छ । म पैसाविद् वा अर्थशास्त्री त होइन, तर पैसा के–का लागि भन्ने थोर–बहुत बुझेको छु, भोगाइका आधारमा ।
वस्तु विनिमयलाई सजिलो बनाउन पैसाको निर्माण भएको हुनुपर्छ । पहिला सामानसँग सामान साटिन्थ्यो । त्यो झन्झटिलो र अप्ठ्यारो भएपछि पैसा बनाइएको हुनुपर्छ । पैसालाई मानक मानेर सामानको आदान–प्रदान गर्ने प्रणाली बनाइएको हो । सारमा आवश्यकता पूर्तिको लागि सहज माध्यममात्रै हो– पैसा ।
पैसा आफैँमा सम्पत्ति होइन, पैसाका माध्यमबाट आवश्यक पर्ने सामग्री सङ्कलन गर्न सकिन्छ । तर अहिले पैसालाई सम्पत्ति मानिएको छ । र, हामीलाई सम्पत्ति चाहिएको किन ? यो प्रश्न पनि प्रधान हो । सम्पत्ति जीवन यापन गर्न हो । आवश्यकताहरू पूरा गर्न हो । आवश्यकता पूरा गर्नु भनेको खुसी हुनु हो । तर अहिले मान्छेहरू खुसी बन्धकी राखेर सम्पत्ति जोड्न लागि परेका छन् । सम्पत्तिले मान्छेलाई सुखी त बनाएको होला, तर खुसी दिन सकेको छैन ।
पैसा वा सम्पत्तिकै कारण काटमार छ । परिवार विखण्डित छ । मानवीय संवेदना हराउँदो छ । वस्तु विनिमयलाई सजिलो बनाउन बनाइएको पैसा आज खुसी लुट्ने कारण भएको छ ।
जिन्दगीभर दुःख गरेर, बेइमानी गरेर, भ्रष्टाचार गरेर । जसरी भए पनि हामीलाई धनी हुनु छ । अरूभन्दा शक्तिशाली भएको भ्रममा बाँच्नु छ । जस्तै, हामीलाई जसरी नि महङ्गो ठाउँको घडेरी चाहिएको छ । त्यो पनि दुई–चार ठाउँमा । जग्गा चाहिने कि उत्पादन गर्न हो, कि आवादीका लागि अर्थात् घर बनाएर बस्न । तर यहाँ पैसाको चलखेलले जग्गाको टुक्राको मूल्य दिन दुगुणा, रात चौगुणा बढिरहेको छ । जहाँ न घर छ, न कुनै उत्पादन हुन्छ । पैसा कमाउने होडले वस्तुको महत्त्व नै बेग्लै बनाएको छ ।
केही गर्न काम नलाग्ने सुनको मूल्य सबैभन्दा धेरै छ । किन किसानले उत्पादन गर्ने र हरेक दिन नभर्इ नहुने कुराको मूल्य कम छ ? किन सुरुमा पैसाको निर्माण गर्ने बेला यसले निम्त्याउने भयावह स्थितिबारे सोचिएन होला ? यसले समाजमा झन्पछि झन् ठूलो वर्ग निर्माण गर्नेबारे सोचिएन होला । तर, पछि पुँजिपतिहरूले पैसालाई मानक बनाएर निम्नवर्गमाथि खेल्ने, चुस्ने माध्यम बनाए । वा, पुँजिपतिहरूले नियोजित रूपमै पैसाको निर्माण गरेका हुन सक्छन् ।
प्रविधिको पछिल्लो विकासले पैसा देख्न–भेट्न नपर्ने, म्यासेज, विभिन्न कार्ड र एप्लिकेसनमार्फत् कारोबार गर्न मिल्ने बनाएको छ । जहाँ आफूसित ‘पैसा छ’ भन्ठान्ने हो । किनकि, एक क्लिकले एउटाको भनिएको पैसा अर्कैको भइसक्छ । यसले पनि पैसालाई बुझ्न सजिलो हुन्छ ।
सारमा, वस्तु विनियमयलाई सहज बनाउन बनाइएको मानक मात्रै हो, पैसा । पैसाले खुसी दिँदैन । अझ भनौँ, समतामूलक समाज निर्माण गर्ने हो भने पैसा खारेज गर्नुपर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।