आमाको कोखबाट छुट्टिएर स्वरूप प्राप्त गर्दैगर्दा लिङ्गकै आधारमा सर्वप्रथम ‘छोरी’ शब्दले परिचित गरायो ।

जन्मनेबित्तिकै छोरी भएर जन्मिएकै कारणले भएँ तिरस्कृत

बारम्बार पाइलैपिच्छे अलच्छिनाको उपनामले भएँ पुरस्कृत

त्यसपछि  नतिनी, भातिजी, बहिनी, भान्जी, नन्द, आवश्यकता र समय अनुसार मेरो भूमिका र परिचय थपिँदै गयो । दिदी, बिद्यार्थी साथी, प्रेमिका, श्रीमती, बुहारी,  माइजू हुँदै म आमा बन्ने भएँ । त्यसदिन कोको खुशी भए थाहा छैन, शायद परिवार आफन्त सबै हर्षोल्लासमा रमाए तर म खै किन हो एक प्रकारको अन्योलमा अल्मलिइ राखेको थिएँ सबै खुशी थिए तर म……… ?

के म एउटा असल आमा बन्न सक्छु ? सत्र वर्षमा बिहे भयो परिवारको रोजाइमा सम्बन्ध र कर्तव्यको दायरा बुझ्न नसकी उन्नाइस वर्षमा आमाको भूमिका, यतिबेलासम्म न मैले आमाको महत्त्व बुझेको छु न कुनै दायित्वको बोध नै भएको छ । के मैले सन्तानको असल पालनपोषन र उचित संस्कार दिन सक्छु यस्तै प्रश्नहरूमा गाँजिदै र आतिदैँ पनि थिएँ ।

के तँ खुशी छेस् ?

सबै खुशी छन् श्रीमान्, आमा, सासू, ससुरा, हजुरआमा, हजुरबुवा सबै आफन्त एकदमै खुसी छन् ।

हैन, मलाई मात्र तेरो भावनासँग मतलब छ, के त साँच्चै खुशी छेस् ? ऊ मेरो जिन्दगीमा केही दिनको पहुना थियो तर पनि जिवनभरि कसैले अनुभूत नगराएको अनुभस्ति गराएर गयो ।

म मौन बसेँ किनकि मसँग त्यसको कुनै उत्तर थिएन तर यही एउटा प्रश्नले उसको अस्थित्वको कुनै अवशेष जिन्दगीमा नरहे पनि ऊ र उसको याद वर्षौंपछिसम्म पनि मेरो हृदयमा अमर अजर रहिरहनेछ ।

न ऊ कुनै मेरो अभिभावक आफन्त वा पारिवारिक सम्बन्धको मान्छे नै थियो । छोटो समयमा मेरो मनमा आत्मीयता देखाएर अविस्मरणीय खुसीयाली दिएर गएकाले त्यस दिनदेखि जिन्दगीमा खुशी भएर बाँच्न सिकेँ र आजसम्म मैले कुनै दुःखको पल महसूस गरेकी छैन ।

मेरो मनस्थितिको हेक्का कसलाई हुँदो हो । कठै ! सम्झन्छु, आजका मितीसम्म कसैले नसोधेको प्रश्न थियो । सायद त्यही एउटा प्रश्नले मैले आफ्नो लक्ष्य पहिल्याएर जीवनमा सफलता हाँसिल गरेँ ।

म फेरि जन्मिएँ…….. आफ्नै कोखबाट, छोरीको रूपमा । अब मलाई ‘म’ भएर जिउनु थियो,  केवल आफ्नो निर्णयमा रमाउनु थियो । केही वर्ष आफ्नी छोरीसँगै बालापनमा गएर बालकजस्तै भएर जिउनु थियो । त्यसैले तात्कालीन कार्यालयमा गरिरहेका काम छोडिदिएँ किनकि मेरो पालनपोषण र हुर्काइको क्रममा भएका कमिकमजोरीहरूलाई सच्याउनु थियो । धनसम्पत्तिमा मात्र खुसी भइन्छ, टन्न बैंक ब्यालेन्स, राम्रो घर, महँगो गाडी हुनुपर्छ तर छोरीलाई साधारण स्कुलमा पढाइन्छ । जग्गा बेचेर छोरीको बिहे गर्न तयार हुन्छन् तर खर्च गरेर पढाउन तयार छैनन् , हो  यस्तै समाज र परिवेसमा हुर्केकी म, अब फेरि त्यो दुनियाँको छायामा पर्न चाहन्नँ । समय र  परिस्थिति एकनासको नभए पनि जीवनमा जस्तोसुकै आरोह अवरोह आए पनि मेरो अठोट केवल लिङ्गकै आधारमा अवसरबाट बञ्चित बन्न नपरोस् छोरा र छोरीको भेदभावले छोरीहरूको आत्मविश्वासमा कमी कुनै पनि हालतमा हुनुहुँदैन भन्नेमा दृढ छु । हुन त समय, परिवेश र परिस्थिति बदलिसकेको छ तर पनि कतै न कतै त्यसको ओसले चिस्याइरहेको छ अझै पनि समाजको सोचलाई ।

सुषमा आचार्य (अंशु)

सबै मिलिरहेको थियो, उनको तोतेबोलीमा मैले जिन्दगीका शब्दहरू पाउथेँ उनले टुकटुक  हिँड्न सिक्दै गर्दा मैरो जीवनको सारा यात्राहरू सफल भएको भान हुन्थ्यो । बाहिरी दुनियाँलाई भुलरे म केवल ‘म’ भएको थिएँ । सायद म सन्तानको प्रेममा यति डुबेछु कि मैले चाहँदा चाहँदै पनि समय दिँदा दिँदै पनि वैवाहिक सम्बन्धबाट उत्रनु पर्यो । कठै ! कस्तो नियति सँगै एउटै घर एउटै ओछयानमा बिताएको बाह्र वर्षपछि  सम्बन्धको फैसला अदालतले गरिदिनुपर्ने । म सन्तानलाई हुर्काउन व्यस्त हुँदा मैले जीवन  सुम्पिएको मान्छेको प्रेम अरू कसैमा हुर्केछ । हजारौँको आँखाको उपचार गर्ने आँखाको डाक्टर उसको आँखाले नै धोका दिएछ । आफ्नो हृदयको भावलाई बुझ्न सकेन सही र गलत छुटाउन सकेन । हाम्रो सम्बन्ध तोडिनुको पछाडि कतै न कतै दोषीको लाञ्छन समाज र परिवारले फेरि लिङ्गकै आधारमा मैँमाथि थुपारिदियो । मैले सन्तुष्ट गराउन नसकेकै कारण उसले अर्को विकल्प रोजेको रे ।

अचम्म लाग्दछ, यदि तिनीहरूलाई विकल्पको सही अर्थ थाहा हुँदो हो त यहाँ हजारौँले आत्महत्यालाई विकल्प बनाउँदैंन थिए होलान् । कुनै गुनासो छैन प्रजातन्त्र, पञ्चायत, बहुदलदेखि लोकतन्त्र, गणतन्त्रसम्म आइपुग्दा सबैलाई आफ्नो ढङ्गले सोच्ने र निर्णय गर्ने छुट हुनुपर्छ भन्ने धारणाकी मैले आजाद गरिदिएँ मसँगको सम्बन्धको बन्धनबाट । मुक्त भयो ऊ । उसको अंश मेरी छोरीको मनबाट मुक्त हुन सकेन । छोरीले पनि निर्णयको अधिकार पूर्ण रूपले पाएकी थिई जे निर्णय उसले गर्थी त्यो मलाई स्वीकार्य थियो । किनकि म फेरि उही कथा दोहोर्याउन चाहन्नथेँ जहाँ कुनै निर्णयमा मेरो अनुमति लिइएन । मेरो बिवाहजस्तो जीवन बिताउने कुरामा एकवचन मेरो सुनिएन र मलाई रोजाइएन पनि । भौतिक सम्पत्ति र पदको लालसामा एउटा जिन्दगीलाई जिम्मा लगाइयो । हुन त मेरा बा–आमालाई  पनि के थाहा भक्षकहरूको कमी छैन यहाँ भन्ने कुरा । बस् ! यही कारणले छोरीलाई  स्वतन्त्र र आत्मविश्वासी बन्न सिकाएँ । उसलाई निर्णयको हक दिलाएँ । उसले आफ्नो स्वेच्छाको अधिकारले पितालाई रोजी ।

म एक्लिएकी थिएँ तर मलाई एक्लोपन भने महसूस भएको थिएन किनकि मैले  एक्लोपनलाई  साथी बनाएँ । दैनिकीलाई साधारण रूपमा लिएर अगाडि बढ्न थालेँ आफ्नो कामलाई निरन्तरता दिन थालेको थिएँ । कहिलेकाहीँ छोरी आउँथिन् उनको साथमा  मन प्रसन्न हुन्थ्यो । कति बुझकी कलिलैमा परिपक्व भएकी थिई । सबै बुझेकी छे उसको पिताको सम्बन्ध फेर्दै हिँड्ने बानी भइसकेछ कोही स्थायित्व गरी बस्दैनन रे कसैलाई श्रीमतीको रूपमा घरमा भित्रयाउने  आँट पनि त गरेको थिएन ।

एक्लै बाँच्नभन्दा पनि एक्लोलाई बच्न गाह्रो हुँदोरहेछ । समाजले हेर्ने दृष्टिकोण पुरुषहरूले हेर्ने सिकारी नजर पाइलैपिच्छे जाल थापेर बसेका जलारीबाट बच्न सजिलो छैन यहाँ । पापी नजरबाट बच्न झन् कठिन छ विधवा र एकल महिलाहरूलाई । चिच्याई चिच्याई प्रश्न गर्न मन लाग्छ ती पुरुषहरूलाई किन देवीको मन्दिरमा गएर बली चढाई शिर झुकाउछौ ? यदि महिलाको शरीरलाई  भोग गर्ने साधनको रूपमा मात्र लिन्छौ भने ।

नारी परुष एक अर्का पर्यायवाची हुन दुईको मिलनबिना सृष्टि अगाडि बढ्न सक्दैन । नारीपरुष दुवैको उतिकै आवश्यकता र महत्त्व छ प्रकृतिमा । परापूर्वकालमा परिस्थितिको आधारमा कार्यहरू विभाजन गरियो तर त्यसलाई आफ्नो अनुकुलता अनुसार मिलाउँदै आफ्नो सहजताअनुसार सामाजिक नियमहरू बन्दै आयो, जसमा महिलालाई दोस्रो श्रेणीमा राखियो । छोरा जन्माउने होडबाजीमा छोरा जन्माउने छोरी मान्छेले नै हो भन्ने कुराको नजरअन्दाज भइरहेको छ ।

न समयले कुर्थ्यो न हामीले समयलाई रोक्न सक्थ्यौँ । निरन्तर बगी नै रह्यो समय । घाम  पानी जाडो गर्मी केही नभनी समयसँगै निरन्तर गतिमा जीवन चली नै रह्यो । परिवार र समाजले फेरि हामीलाई जोड्न खोज्दै थिए । जीवन यसरी हुँदैन, उसको पनि घरजम भएको छैन । के भो त गल्ती हुन्छ मान्छेबाट, माफ गरेर अब सँगै बस्न पर्छ, बुढेसकालमा कसरी हुन्छ नानीको लागि भए पनि एक हुनुपर्छ रे ।

पाउनु, गुमाउनु अनि गुमाएका कुराहरूलाई फेरि प्राप्त गर्नु, प्राप्त गरिसकेपछी त्यसको महत्त्वको स्थायित्व पहिलाझैँ नरहनु चाहे त्यो प्रेम होस् चाहे सम्बन्ध चाहे यात्रा । प्रथम पटककोजस्तो रोमाञ्चकता दोस्रो पटकमा कसरी आउन सक्छ । सम्बन्धको रसिलोपना फोस्रिसकेको हुन्छ, अब मलाई जोडिनु थिएन । फुस्रो प्रेम मलाई स्वीकार्य थिएन देखाबटी प्रेम दिई बनावटी सम्बन्धमा झन् आफैँ पीडित बनेर फेरि पिडक कहलाउनु थिएन ।

मलाई एक्लै जिउने बानी परेको थियो अब जोडिएर उसको सेवाको निम्ति आफूलाई सेविकाको रूपमा अब म प्रस्तुत हुन चाहन्नथेँ । प्रेमिका र श्रीमती अब म बन्न सक्दिनँ । टुक्रिएको काचँको भाडा होस् या सम्बन्ध एकपटक फुटेपछि जोडिन असम्भवजस्तै हुन्छ । पुरुषको छाया अनि संरक्षणमा मात्र सुरक्षित भइन्छ डोलीमा चढेर दुलही बनेर जुन घरमा भित्रिएका हुन्छौँ  श्रीमानबाट र परिवारबाट छुट्टि नपाई निस्कनु भनेको कात्रोमा बेरीएर निस्कने हो भन्ने पुरातन भावलाई जे होस मनमा आउन दिइनँ ।

जीवनले धेरै कुरा सिकायो धेरैसँग भेट गरायो, छुटायो कोही खास बने कोही छायामा कोही मायामा कोही हृदयमा अटाए कोही फेसबुकमा जोडिए कोही इन्स्टाग्राम, भाइबर, स्काइप, ह्वाटस्याप, टुइटर कोही कन्ट्याक लिस्टमा भने कोही मेलबक्समा । जो जहाँ जहाँ जोडिन चाहे जोडिँदै गए तर मेरा हृदयमा खास बनाएर जोडाउन चाहिनँ किनकि त्यसको न कुनै गन्तव्य नै थियो न कुनै लक्ष्य,  मात्र सृजना हुन्थ्यो द्वन्द्वको । चाहे त्यो अन्तर्मनको होस या आफूपछाडिका सम्बन्धहरूसँग जो स्थायी थिए । कसले भन्यो जिन्दगी सोचेको जस्तो हुदैँन भनेर  जिन्दगी त सोचेको जसरी नै चल्ने रहेछ । सोचमा सकारात्मकता भने अवश्य हुनु पर्दछ । छोरीको भविष्य सुनिश्चित नै थियो । उसलाई मैले सबै संस्कार दिएकै थिएँ । जे होस् जस्तोसुकै परिस्थितिमा पनि निडर भएर बाँच्न सिकाइसकेकी थिएँ । भविष्य सुनिश्चित भई उसले आफ्नो बाटोमा गती लिइसकेकी थिई ।

म समाजसेवीको उपनामले चिनिएछु । मलाई लाग्छ सृष्टिकर्ताले श्रेष्ठ कर्मको लागि नारीहरूलाई अघि सारेका हुन् । उनीहरूको शक्ति विनाशक नभई उन्नतिशील र प्रगतीशीलको मार्ग हो । ती नारी मात्र एक प्राणी हुन् जो अरू प्राणीहरूका पालनकर्ताका निम्ति आफ्नो सर्वस्व समर्पण गरिरहेका छन्, गरिरहन्छन् र गरिरहनेछन् । यो प्राकृतिक नियम पनि हो जसलाई कसैले नकार्न सक्दैन । बलात्कारमा परेका, शोषित, पीडित नारीको उत्थानमा जुटेको छु किनभने मेरो जात भनेको मानव हो, मैले जानेको धर्म मानवता हो ।  बलात्कारीहरूले नारीको शरीरलाई नङ्गयाउन सके पनि मनलाई नङ्गयाउन सक्दैनन् । यदि सक्थे भने यहाँ बलत्कारीलाई अपराधी मानिँदैन थियो ।  बलात्कारको शिकारमा बच्चादेखि वृद्धसम्म कोही मुछिन पर्दैन थियो ती बलात्करीहरूलाई भन्न मन लाग्छ यहाँ सजिलै शरीर पाउने ठाउँहरू छन्, छ्यास छ्यास्ती जहाँ निस्फिक्री बलात्कारी नकहलाइकनै आफूलाई तृप्त बनाउन सक्छौ आफ्नो प्यास मेटाउन सक्छौ । तर आइन्दा कुनै निर्दोषको सम्मानमा ठेस नपुर्याऊन्, कसैको इच्छाविपरीत उनीहरूको जिन्दगीमाथि नखेलून् ।

कुनै समयमा मेरो पति कहलिएको पुरुषको दिनचर्यामा कुनै परिवर्तन थिएन रे, छालाहरू चाउरी परे पनि उसको स्फूर्तिपनमा ह्रास अलिकति आएको छैन रे । उसको कुण्ठाले भरिएको मनलाई तृप्त बनाउन उसको सम्पत्तिले अझै खरिद गर्न पुगेकै छ रे । बिना अपराधी कहलाइ समाजमा इज्जतको शिर उठाइ बाँचेको छ  । यस्तै छ चलन यहाँ यही हो लिङ्गको आधारमा भएको भेदभाव ।

अबको जिन्दगी पीडित नारी र बृद्ध बुवाआमाको सेवामा जीवन बिताउने अठोट लिएकी छु जसबाट शान्ति मिल्छ मलाई । जीवनको सार्थकता र आत्मसन्तोषको निम्ति निरन्तर सेवामा लागिरहनेछु । यहाँ पनि प्रेम छ । यहाँ पनि विपरीत लिङ्गप्रतिको आकर्षण छ । एउटा छुट्टै प्रकारको आत्मीयता छ तर स्वार्थको अवशेष भेटिँदैन । अब न केही पाउने आश छ न केही गुमाउने त्रास, बस् निस्वार्थ प्रेम छ । वातावरण शान्त छ, त्योभन्दा पनि मेरो अन्तर्मन झन् शान्त छ । अब मलाई ‘म’ भएर जिउनु छ ।