भर्खरै रङ पोतेर बेहुलीझैँ सजाएको घरको झ्यालमा पत्तो नपाई कुह्मालकोटीले गुँड लगाएको देख्दा रिस एकाएक उकालो लाग्यो । तैपनि कि त चुप लाग्नु कि त माटोको डल्लोजस्तो देखिने कुह्मालकोटीको गुँडलाई उप्काएर तीन कोश पर हुत्याउनुबाहेक अर्को विकल्प नै के पो थियो र ! झ्यालमा कुह्मालकोटीको गुँड देखेर रिस नै मरेको छैन बुढी औँलाजस्ता मोटा मोटा माउसुली भित्तामा म्याराथुन गर्न थालेको देख्दा रिस सगरमाथाको चुचुरोमा पुग्यो ।
आफ्नो कोठा र झ्याललाई कुह्मालकोटी र माउसुलीले मैदान बनाएर रजाईँ गरेको झोँकमा रिसले घरबाहिर निस्कन लागेको थिएँ, मूल ढोकामै कहिले हो कुन्नि, अरिङ्गालले गुँड पो लगाएर मरिसके छ । झण्डै टोकेको । घरको पिँढीको दलानमा गौथलीले गुँड लगाएर पिँढीभरि फोहोर गरेको वर्ष दिन बितिसकेको थियो । अझै भँगेराका युगल जोडी आफ्नो घरको कुन आँखीझ्याल वा प्वालमा गुँड लगाउन सकिएला भनेर सर्वेक्षण गर्दै थिएँ । अस्ति भर्खर मुसाले काटेर टुक्रा पारेको नयाँ सलवार त्यतिकै बाहिर मिल्काइएको थियो । आजमात्र बिरालोले ओछ्यानमा फोहोर गरेर तनिया बदल्नु परेको थियो ।
यो घर मेरो अर्थात् सर्वश्रेष्ठ मान्छेको घर हो । म मेरो घरलाई सुविधा सम्पन्न, भव्य र आर्कषक बनाउन खोज्छु । तर किन मेरो घरभित्र कुह्मालकोटी, माउसुली, भँगेरा, गौँथली, मुसा, बिरालो घर सम्झेर आश्रय लिन आउँछन् हँ ? के तिनीहरुको घर भनेको मान्छेको घरभित्रै मात्र होे त ? म त संसारकै सर्वश्रेष्ठ मान्छे । मेरो घर मात्र मेरो अधिकार छ । किन आउँछन् किराहरू, चराहरू ? एकाएक मभित्र मान्छे हुनुको अहंले कहाँबाट जरा गाड्यो कुन्नि ? म ती कीरा, चराचुरुङ्गी र अन्य जनावर सबैलाई अस्तित्वहीन पो देख्न थालेछु ।
यो पृथ्वी सबैको साझा घर हो भन्ने भुलेर मात्र मान्छेको एकलौटी घर हो भन्ने सोच्न पुगेछु । अनायसै एउटा सानो मेरो मुखबाट निस्केका थुकका छिटा जत्रा कमिलाले कम्मरमा चिल्दै मैले तोरीका फूल देखेँ । रिसले आँखा नदेख्या बेला एकक्षणमै कमिलालाई कच्याककुचुक पारेर परमधाम पुर्याइदिएँ । र, आफू सर्वश्रेष्ठ मानव भएकोमा गर्वले नाक बडेमानको पारेँ ।त्यसपछि आफूले युद्ध नै जितेझैँ गरी प्रफुल्ल हुँदै घरभित्र पसेको मात्र के थिएँ मोतीले मायाले गोडामा स्पर्स गर्यो । मख्ख परेँ । मोतीलाई काखी च्यापेर कोठामा पसेँ । थचक्क सोफामा बसेर सुमसुम्याउँदै सोच्न थालेँ ।
किन हो कुन्नि आफैँलाई धिर्कान पो मन लाग्यो । भन्न थालेँ – अहो, मान्छे भएकोमा सर्वश्रेष्ठ छु भन्ने कत्रो अहं रैछ मभित्र ।आफ्नो घरमा चाहिं कुकुर , खरायोलाई छुट्टै घर बनाएर पाल्ने । पानीमा रहने माछोलाई पनि एक्वारिम बनाएर आफ्नो घरभित्र बस्ने ठाउँ दिन सक्ने मान्छे । त्यतिमात्र कहाँ हो र ? खुल्ला आकाशमा स्वतन्त्र सयर गर्ने सुँगालाई पनि पिँजडामा कैद गरी घरभित्र बन्दी बनाउँछ मान्छे । हामी मान्छेले नै गाई, भैँसी, कुखुरा, बाख्रा, हाँस सबैलाई अलग्गै बास बनाएर आश्रय दिन्छौँ, आफ्नै घरमा ।
के यो पृथ्वी मान्छेका लागि मात्र हो ? म किन ती माउसुली, कुह्मालकोटी, गौँथली, भँगेरासित रिसाएको होला ? धत्, संसार मेरै मात्र हो भन्ने अहंले मैले कमिलाको हत्या गरेँ । थुक्क मेरो बुद्धि !आखिर यो पृथ्वीमा त सबैको अस्तित्व समान छ नि । हामी सर्वश्रेष्ठ कहलिएका मान्छे पाएसम्म अरुको जमिन हडपेर पनि दरवार जस्तो महल बनाउन पाए मख्ख पर्छो । दुलहीझैँ महल सिगारेर ऐस आरामको स्वर्गजस्तो जिवन जिउन खोज्छौ । धन र बलको आडमा सर्वश्रेष्ठ कहलिएका मान्छेले नै मान्छेलाई दुःख दिएर उनीहरुका गाँस ,बास खोसेर शरणार्थी बनाएका छौ ।के यो पृथ्वीमा मान्छेको मात्र एकलौटी अधिकार हुनुपर्ने हो र ?विचरा ति कुह्मालकोटी ,माउसुली , अरिङ्गाल ,गौथली ,मुसा ,बिरालो ,भंगेरा ,भुसुना , लामखुट्टेले त कहिले पनि मान्छेले जस्तो ऐस ,आराम महल खोजेका छैनन् एकलौटी । तिनीहरुले महलका लागि लडाई पनि त गरेका छैनन् मान्छेले जस्तो । आफ्ना लागि अलग्गै घर मागेर अंशबण्डा पनि त गरेका छैनन् । त्यहि मान्छेका घरभित्र एउटा सानो कुनाकाप्चामा जहाँ भए पनि बास त मागेका हुन नि । मान्छेकै गाँस ,बास र भाग त लुट्न गएका त छैनन् नि । तैपनि उनीहरुले जबरजस्ती हाम्रा घरमा बास लिए भनेर हामी रिसाउँछौं । खेद्न खोज्छौ । आफ्ना मात्र अधिकारका कुरा गर्छो । उनीहरुका अधिकार चाहिं बेकार भन्ने सोच्छौ ।
यही हो हामी सर्वश्रेष्ठ कहलिएका मान्छेको विचार ? मान्छेले सर्वश्रेष्ठको पगरी मात्रै गुथेर नहुने रैछ, मन पनि सफा , सर्वश्रेष्ठ र फराकिलो हुनुपर्दो रैछ । नत्र मान्छे कहिले सर्वश्रेष्ठ हुन सक्तैन भन्ने विचारले मनभित्र भुमरी खेल्न थाल्यो । त्यतिबेलासम्म मेरो अंगालोमा मोती आनन्द मानेर भुसक्क निदाइसके छ । सायद मभित्र सकारात्मक सोचको टुसा पलाउन थाल्यो भन्ने सोचेर होला, भित्तामा माउसुली प्रफुल्ल भएर आफैँतिर नजर मिल्काइरहेकोे थियो । त्यो माउसुलीले आफैँतिर नजर लगाउँदै मान्छे नामले मात्र सर्वश्रेष्ठ हुँदैन है, काम र विचारमा पनि सर्वश्रेष्ठ हुनुपर्छ भन्दै मलाई अर्ति दिइरहेको भान भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।