किसिपिडी काठमाडौँ जिल्लाको चन्दागिरी नगरपालिका वडा नम्बर पाँचमा अवस्थित एक सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाले सुसज्जित सुन्दर बस्ती हो । नेवारी समुदायको बाहुल्यता रहेको यो बस्तीमा अरू जातजातिहरू पनि उत्तिकै रमाएर बसेकाछन् । प्रायः बौद्ध र हिन्दु धर्मावलम्बीहरूको बाक्लो उपस्तिथि भएको यो ठाउँमा अरू धर्मावलम्बीहरू पनि हाँस्दै बसेका छन् ।

मन्दिर, चैत्य, गुम्बा, देवालय, शिवालय र प्रार्थना गृहहरूले यो ठाउँलाई निकै सुन्दर बनाएको छ बहुभाषिक र बहुसांस्कृति विविधतालले धनी किसिपिडीले इतिहासमा पनि विशेष स्थान ओगटेको छ । किसिपिडीलाई नेवारी भाषामा किपुल्चा पनि भनिन्छ । यो ठाउँका बासिन्दाले हातीलाई घाँस राख्न जाने भएकोले यो ठाउँको नाम किसिपिडी रहन गएको हो रे ।

विविध विशेषताहरूले बेहुलीझैँ सिङ्गारिएको छ किसिपिडी । धार्मिक सहिष्णुताको राम्रो उदाहरण प्रस्तुत गरेका छन् किसिपिडीवासीले । साँच्चै यहाँका बासिन्दाहरूले चारजात र छित्तस वर्णको साझा फूलबारीलाई जोगाएर राखेका छ्न् । यसको भावना र अवधारणालाई चरितार्थ पनि पारेका छन् ।

अनिता कोइराला

मन्दिरहरूको शहर भनेर विश्वमाझ चिरपरिचित छन् यहाँका शहरहरू । अझ यी शहरहरूमा प्राण भरेका छन् यहाँका जाडपर्व र जात्राले । साँच्चै जीवन्त छन् यहाँका संस्कृति । यी शहरहरूको आत्मा बसेको हुन्छ यहाँको जाडपर्व ,रीतिरिवाज, संस्कृति र परम्पराहरूमा । जात्राहरूले अझ विशेश महत्त्व राख्छन् । स्थानीयवासीहरू परापूर्व कालदेखि जात्राप्रति गहिरो आस्था र विश्वास बोक्दै आएका छन् । अनि नयाँ पुस्तालाई आफ्नो संस्कार र सभ्यता हस्तान्तरण गर्न दत्तचित्त भएर लागेका छन् ।

प्राचीन संस्कृति र सभ्यताको संरक्षण हरेक समाजको दायित्व हो । संस्कृतिको सम्बर्धन र प्रबर्द्धन प्रत्येक समाजको कर्तव्य पनि हो । हामीले गर्व गर्नु पर्छ यहाँका युवा पुस्ताहरूलाई, आफैँ अग्रसर भएर आफ्नो संस्कृतिको संरक्षण र सम्बर्धनको लागि कटिबद्ध छ्न् । वास्तवमा नेवार समुदायले जीवित राखेको छ संस्कृति र परम्परालाई । सभ्यताको रक्षक नेवार समुदाय हो भन्दा गलत पक्कै नहोला ।

विभिन्न जात्रामा यहाँका युवा पुस्ताहरूको उच्च सहभागिता देख्दा सम्मान ओर्लेर आउँछ । मनोरञ्जन त एक बहाना मात्र हो । यो जात्राले हाम्रो परम्परालाई सजिलै अर्को पुस्तामा हस्तान्तरण गरिरहेको छ । सभ्यता र संस्कृति बिर्सनु भनेको आफ्नो पहिचान गुमाउनु हो । पहिचानबिनाको मान्छे केवल बुख्याँचा मात्र हुन्छ । जात्रा एक धार्मिक र सांस्कृतिक मनोरञ्जनको पर्व हो । मनोरञ्जनका साथ सिकेका ज्ञान दीगो र चिरस्थायी रहन्छ । कालिका भैरवको जात्रा ,गाईजात्रा, घोडे जात्रा यहाँका प्रमुख जात्रा हुन् । यी जात्राहरू निकै हर्सोउल्लासका साथ मनाइन्छ । सुख,शान्ति र स्वास्थको कामना चाडपर्व र जात्राको आधार हो ।

यहाँका बासिन्दाहरू धर्म र संस्कृतिका मात्र धनी छैनन् । मानवीय गुणले पनि सुसज्जित छन् । सरल स्वभाव र सहयोगी मनका धनी यहाँका बासिन्दाहरूलाई परोपकारको अर्को गहनाले अझ सुन्दर पारेको छ ।   मानवीय गुणले भरिपूर्ण मानव हृदयहरू जताततै मुस्कुराइ रहेकाछन् । करुणा, माया, प्रेम र भाइचाराले ओतप्रोत पवित्र आत्माहरूले बास गरेको छ यहाँ । यो समुदायको अर्को पहिचान सामुहिकता हो । गुठी कस्तो राम्रो संस्कृति छ । धार्मिक र सामाजिक कार्यमा एकाअर्कालाई गर्ने सहयोग सह्रानीय र अनुकरणीय छ ।

कालीका र भैरवको कथाले अझ यो ठाउँलाई विशेष बनाएको रहेछ । कालिका भैरव जात्र हेर्न र बुझ्न् आवश्यक छ । किम्बदन्ती अनुसार परापूर्वकालमा नुवाकोटबाट भगवान् भैरव किसिपिडीमा घुम्म आउनु भएको थियो रे । अनि परमसुन्दरी कालिकामाईसँग निकै आकर्षित हुनुभएछ । कालिकाको रूपमा मोहित भएर लठ्ठ पर्दा अँध्यारोमा घर फर्कन बिर्सनु भएछ। कालिकासँग गफ गरेर बस्दा समय बितेको पत्तै भएन छ । उज्यालो भएपछि कालिका र भैरवलाई कसैले देख्यो भने नराम्रो हुने । अनि समाजमा निकै ठूलो बदनामी हुने डरले भैरव परालको टालमा छोपिएर बस्नु भएको थियो रे । भैरव निकै चिन्तित हुँदै अब कसरी जाने होला नुवाकोट भन्दै गर्दा । कालिकाले आश्वासन दिनु भएछ । कालीकासँग बाउन्न रोपनी जग्गा थियो रे । अनि भैरवलाई भन्नू भएछ – ” तिमी यहीँ बस, नुवाकोट फर्किनु पर्दैन । तिमीलाई बसिबसी खान पुग्छ । वर्षमा एक पटक मात्र तिमीले नाचे पुग्छ । ” भन्ने श्रुतीकथाका आधार यो जात्राको प्रारम्भ भएको रहेछ । कालिकाको पालादेखि नै यो जात्रा आरम्भ भएको जनविश्वास रहेछ । आज पनि भैरवलाई छोपेर राखेको छ । अरूबेला भैरवलाई कसैले हेर्न नहुने पूर्णविश्वास रहेछ । आज पनि वर्षको एकदिन मात्र भैरव बाहिर निस्केर नाच्छन् भन्ने मान्यतामा भैरवको नृत्य प्रस्तुत गरिन्छ किसिपिडीमा ।

यहाँको अर्को विशेषता भनेको पार्टी, पौवा, देवल र चैत्यहरू हुन् । गाउँको बीचको भाग प्रायः खाली छोडिएको छ । त्यो खुल्ला ठाउँले यहाँका स्थानीय बासिन्दाहरूको विशाल हृदयलाई संकेत गरेझैँ लाग्छ । यहाँका बृद्धबृद्धाले एक्लोपन झेल्नु पर्दैन । ठाउँ ठाउँमा  पाटीको निर्माण गरिएको छ । सामूहिक भवनहरू यत्रतत्र छन् । गाउँलेहरू साँझ बिहान जम्मा भएर दु:ख ,सुखका गफ गर्ने । छलफल गर्ने खुल्ला वातावरण छ । आत्मीयता र भातृत्वको भावना साटासाट गर्ने रमाइलो वातावरण छ ।

म प्रायः साँझ बिहान घुम्म जाँदा देख्ने गर्छु, यहाँको एकता । जेष्ठनागरिकहरू त्यहीँ बसेर गफ गरिरहेका हुन्छन् । सीप हुनेहरू त्यहीँ बसेर काम गरिरहेका हुन्छन् । आमाहरू कोही बत्ती कात्दै हुन्छन् , कोही गुन्द्री बुन्दै बसेका हुन्छन् । अलि जवान महिलाहरू पोते बुन्दै गरेको देख्छु कोही कुरुस काँटा चलाई रहेको देख्छु । सानै  भए पनि अर्थोपार्जनको लागि क्रियाशील भएको देखेर मख्ख पर्दै अगाडि बढ्छु । कति दूरदृष्टि रहेछ हाम्रा पुर्खाहरूको । कति उच्च सोचका धनी रहेछन् हाम्रा अघिल्ला पिँढीहरू ।

जबजब म किसिपिडीबाट गुज्रन्छु यो समाज ,समुदाय र संरचनालाई झुकेर सलाम गर्न मन लाग्छ । आजको अव्यवस्थित शहरीकरणका ठेकेदारहरूले हाम्रा पुराना शहरहरू हेरेर पाठ सिके मात्र पनि उपलब्धि हात लाग्ने थियो ।

आफ्नो संस्कृति र सभ्यतालाई जोगाएर राखेको छ यो समुदायले । अझ यो सुन्दर मनलाई बचाइ राखेको छ सङ्गीतले । गौंडै पिच्छे भजन मन्डलीहरू छन् । असी वर्षका बृद्धदेखि सत्र अठार वर्षका युवाहरू पनि सङ्लग्न छन् । यो पाटो निकै महत्त्वपूर्ण हो तर हाम्रो समाजले बेवास्ता गरिरहेको छ । आजको अशान्त समयमा सङ्गीत एक उपयुक्त माध्यम हुने छ शान्तीको लागि । सङ्गीत ध्यान हो । जो सङ्गीत सुन्छ, गाउँछ बजाउँछ उसको दाहिने मस्तिष्क सक्रिय हुन्छ । दाहिने मस्तिष्क सक्रिय हुनु स्वस्थ र सक्षम मान्छेको पहिचान हो । सङ्गीत सुन्दा मात्र पनि तनाव केही कम हुन्छ । सङ्गीत त्यो साधन हो जसले पत्थरमा पनि प्राण तरङ्गित गर्छ । सङ्गीत र अध्यात्मको अन्तरसम्बन्ध बलियो हुन्छ । आधुनिकताको नाममा हामीहरू भड्किलो र अशान्त हुँदै गएका छौँ । दिनानुदिन हरेक उमेर समुह तनावग्रस्त हुदैछौँ । तनावबाट बच्नको लागि कुनै न कुनै वाद्यवादन सिकेर प्रयोग गर्दा उत्तम हुन्छ । हिजोआज म्युजिक थेरापीको नयाँ चलन आएको छ ।

हामी पैसा तिरेर थेरापीमा जान तयार हुन्छौँ । तर हाम्रै घर आँगनमा हाम्रा पितापुर्खाले सञ्चालन गर्दै आएको भजन मण्डलीमा गएर बस्न सङ्कोच मान्छौँ । हामीसँग राम्रो कामको लागि समय हुँदैन । भजन किर्तन गर्ने समूह काम नभएर बसेको जस्तो ठान्छौँ तर होइन यो निकै ठूलो सोच हो, एक स्वस्थ समाज निर्माणको लागि । तर हामीले बुझ्ने कोसिस गर्दैनौँ ।

किसिपिडिको छिमेकी गाउँहरू बालागाउँ, गुर्जुधारा, बलम्बु , मत्स्ये गाउँहरू छन् । सबैतिर भजन खल लोकप्रिय छ । यो ठाउँको साझा विशेषता रहेछ वाद्यवादन र मिठो सङ्गीत । चार वेदमध्ये सामवेदले सङ्गीतको व्याख्या गरेको छ । मानव जीवनमा सङ्गीतले कस्तो प्रभाव पार्छ हामी सबैलाई विदित नै छ । संसारमा सङ्गीत मन नपराउने को होला र ? हिटलर जस्तो क्रूर शासक पनि अत्यधिक तनाव हुँदा सङ्गीतको शरणमा जान्थे रे । सङ्गीतको कुनै भाषा हुँदैन् । सङ्गीत विश्वव्यापी छ । सङ्गीत त त्यो शब्द ब्रम्ह हो जुन अनहद छ । यो ब्रह्माण्डमा सङ्गीत समाहित छ । हरेक मानवभित्र सङ्गीत लुकेको छ । त्यसैले भूगोल, भाषा, धर्म, जात भन्दामाथि छ सङ्तीत । साँच्चै सङ्तीतका सात सुर बुझ्न सके जीवन एक उत्सब हुने थियो ।

इन्द्रको स्वर्गको बयान गर्दा पनि सङ्तीत र सुरलाई प्रमुख स्थान दिइन्छ । सङ्तीतमय समाज इन्द्रको काननझैँ सुन्दर हुने रहेछ । तर खोइ हामीले बुझेको ?  हार्मोनियमको सुमधुर धुनले बिहान सकारात्मक उर्जा फैल्याउँछ । सङ्तीतको महत्त्व बुझेका ती हाम्रा अग्रज पुस्तालाई बारम्बार नमस्कार छ । भजन समूहको संस्कार र सोचलाई प्राथमिकतामा राख्नै पर्छ । समृद्ध समाजको लागि सङ्तीत र ध्यान अपरिहार्य छ । किसिपिडीमा हस्नापुर भजन समूह छ । यसको स्थापना २०१८ सालमा भएको रहेछ । यहाँ २०१७ सालमा भव्य बुद्धको मूर्ति पनि स्थापन गरिएको छ । साँझ र बिहान स्थानीयवासीहरू हार्मोनिय, तबला,  झ्याली बजाएर चारैतिर सङ्तीत छरेर वातावरणलाई पवित्र बनाउँछन् ।

यस्ता संरचनाहरूको संरक्षण र प्रबर्द्धनमा स्थानीय तहले पनि पहल गर्नु पर्छ । हरेक वडामा ध्यान, योग, साधना र भजन किर्तन गर्ने स्थानको निर्माण गर्नु पर्ने देखिन्छ । अनि यो पवित्र स्थानमा बालक, युबा, वयस्क र जेष्ठनागरिकहरू सबैको सहभागितालाई प्रोत्साहन गर्नु पर्छ । अनि बल्ल स्वास्थका चारै खम्बा शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थले मान्छे परिपूर्ण हुन्छ र समाज बलियो हुन्छ ।