एक अर्को दिन गयो ।

२०७८ साल ००७ महिना ००७ गते ।

बिहानको गल्लीमा नगरकोटी भेट भयो ।

‘को ? उनै कुमार ?’ आकासगङ्गाबाट गङ्गेश्वरीले प्रश्न गरिन् ।

‘हो ।’ जो आफ्नो कुमारी मन लिएर बेफ्वाकका पाइला कतैका फुर्सदिला गल्लीहरूमा लस्काउँदै हिँड्छन् ।

सुनेको छु उनी पहिला लास्ट स्टेसनतिर घुम्थे ।

सुनेको छु उनी भोलि मैथुन भएर हिजो जन्मेका रे ।

आजकाल म्यामले उनको जीवन वर्तमानको पार्देकिछन् अरे ।

आजकाल उनका मन परेका गन्तव्यहरू सेकेण्ड लास्ट भएका छन् अरे । स्कुलको फिरन्ते विद्यार्थी भड्किएर हु केयर्स बन्ने सपना तिलाञ्जली दिइसकेको छ रे । आफ्नो गोत्र कासीको ढल पानीमा डलर साटेझैँ एक्सचेञ्जड भइसकेको छ अरे । महान लेखक बनिसकेको छ अरे ।

‘अरे यार लास्ट सिटले नेता मात्र जन्माउछ र ? राइटर पनि जन्मन्छ के ।’ गङ्गेश्वरीले उत्तर टुपुल्क्याइन् ।

कुमारः नो ट्रेस पासीङ्ग डिएर । यो मेरो इलाका हो । राजा बन्नु छ भने पहिला आफ्नो राज्य बनाउनू ।

अर्को उपाय पनि छ ।

कुमारः के ?

राजालाई विस्थापित गर्नु ।

कुमारः बेस्ट अफ लक ।

कुमारजीको मुडुलोजी मुस्कुरायो ।

डा. विनोद ढकाल (विधा)

खैर आफू घाटतिर नजाने जन्तु ।

…गल्लीतिर गइयो, भेट भइयो ।

उनी आफ्नै अन्दाजमा लेमन अन टु स्टिक्स जस्तो घ्याम्पो सानो मोडमा झुण्ड्याउँदै थिए ।

‘नगरकोटी सर । मेक माइ डे स्पेशन ।’ मैले धम्काउँदै भनेँ –‘अदरवाइज आइ विल मेक योर डे स्पेशल ।’

‘को तोर्पे मेरो हिँड्ने तन्द्रालाई डिस्टर्ब गर्न आउछ ये !’ भन्ने भाव देखाए कुमारजीले । ‘कुन मुडमा बेलुनको कथा लेख्छु भन्ने सोचिरहेको थिएँ फुस्स उडाइदियो ।’

‘हु केयर्स ।’आइ गेभ द टेस्ट अफ हिज ओन मेडिसिन । मैले उनको गुलियो यास्पिरिन उनैलाई चोरेर सिलौटोले थिचेर दिएँ । उनले ओठ लेप्राए ।

‘जाऊँ हिड्नुस् म तपाईँलाई सिकारमा लान्छु ।’ म रौसिएँ ।

लेमनमा दुर्इतिर घुस्रिएको टुथपिक हिँड्नलाई अनकन गरिरहेको थियो ।

‘खानाको सिकारमा के । धेरै लोयल नसोच्नुस् ।’

‘मलाई नयाँ फ्लेभर चाहिन्छ ।’ उनले भाव देखाए ।

हिजो भर्खर एक केटीले पशुपति प्लाजामा लान लगाएर … खुवाएकी थिर्इ – नयाँ फ्लेभर । बुढीको स्कुटरले उसैलाई तान्न सक्ने थिएन । मभने लेमनलाई त्यही पुतपुतेमा बोकेर मास्टर तान्ने डिजाइन गर्दै थिएँ ।

लेमनको मन डिकोडिङ गर्दै थिएँ ।

अनायासै मनको अहङ्कार नगरी कक्षा आयो । कुमार अक्षरलाई रिकोडिङ गर्थे म परस्पर विरोधी विद्यार्थी । आफ्ना विद्यार्थीहरूलाई सिकाउन अपठ्यारा अक्षरहरूलाई डिकोडिङ गर्ने गर्थे । एक दिन एक विद्यार्थीले कक्षामै भनिदियो । डिकोडिङ गर्दिनुस् सर ।

सोचेँ – ती तोर्पेहरू मलाई आफ्नो गनाउने होस्टलको खोरमा डिकोडिङ सर भनेर गिज्जाउँदा हुन् ।

यसै लोलाएका आँखा लिएर टोलाएँछु । फेरि याब्सेन्ट माइन्डबाट झस्किएर भनेँ –‘जाऊँ हिड्नुस् शिकार गर्न । बाँचेर के लानु भा छ र ?

कुमारः ‘विवाहेत्तर अनैतिक सम्बन्ध स्विकार्य छैन । भलै त्यो खानाको होस् ।’

उनले आफूभित्र आफू लुकाए । फेरि मनको लहरीमा सोच डलरमा परिवर्तन भयो ।

म त अरूको पल विशेष बनाइदिने जन्तु । यस्ता फासफुसले प्रयास गर्छु भन्दा डराउने । अन्ततः । राजा बन्नु छ भने पहिला आफ्नो राज्य बनाउनु पर्छ । म नार्इ भन्न सक्दिनँ । म चैतन्य कुमार पो हुँ त ।

उनको स्वाभिमानले दाह्रा किट्यो –‘आइ विल मेक योर जीवन स्पेसल ।’

हामी ललितपुरको बगैँचामा हिँड्दै गयौँ ।

‘मलाई एक प्रहर दिनुस् ।’उनी फेरि के सोचे सुस्त भए । विलाए, मेरो सोच नगरीबाट टेलिपोर्टेड भए ।

दृष्य परिवर्तन भयो ।

उनी चुरोट पिउने घामको किरण खोज्न लागेका रहेछन् । त्यो किरण जुन उनलाई चुरोट डिकोडिङ गर्न थालेको दिनदेखि इन्तजार थियो । छेउबाट विष्णुमतिको ठसठस बासनाले आकास मृदुल बनाइरहेको थियो । उनले सानो ठुटोमा दागबत्ती दिए ।

छेवैमा पुगेर म पाइलट उडाउन लागेँ ।

पाइलटको गन्ध सुध्ने बित्तिकै उनले भने –‘धेरै भएछ शिव बन्न नपाएको ।’

आफूले तान्दै गरेको  औँलाका काप्चाहरू मैले उनी तर्फ बढाएँ । उनी तान्न लागे । गुव्वाराको कथा गाँजाको बादलमा कतै गुम भयो ।

मुड चेन्जड्– तुरुन्तै ।

पुरानो बसपार्कको पुरानो पार्कमा बन्दै गरेको महलबाट प्रदर्शनिमार्ग जाँदाको बाटो आयो । बाटोमा भेटिने ठुटे बाबा आए । उनी कस्ता भने रावणका नौ टाउको मुण्डन गरेकाजस्ता । न दाइने हात भएको न दुवै गोडा भएको । सधैँ एक ठिटोले भ्यानमा लेराएर उनलाई रोडमा सुताएर जान्थ्यो । ठुटे बाबा भन्थे –‘चुरोट छोड्न सक्दिनँ सर । यसले मलाई मेरो बेस्ट फ्रेण्ड भेटाइदिएको छ । बर्जर रोग मेरो शिप हो ।’

उनले मागेरै चुरोटले तानेर नसकिने पैसा कमाएका छन् अरे ।

उनी धेरै भयो नदेखिएका । उनी कता होलान् आज ? सायद इन्द्रको सडकमा भीख असुल्दै छन् ।

जय मगन्ते भेष । जस्तै मेरो स्वाभिमानी देश ।

कि आज म फुर्सदिलो छैन ?  हँ ?

औँलाबाट उनै सुगन्ध उठाउँदै कुमार शिव बने । शून्यबाट आएका थिए । शून्यमा बिलाउँदै थिए । अहिले मात्र हो मैले बाटोमा रोकेको । उनी मेरो गुच्चानगरीबाट अलबिदा  हुने बित्तिकै अन्तर्धान हुनेछन् । कुनै गुव्वाराको कथा भित्र ।

मेरो अगाडिको स्टिक फेरि नगरकोटी पारामा हिँड्ने गर्छ । म पछिपछि, पछि लाग्छु ।

कुनै जमानामा चार्ली च्यापलिन लुक एलाइक प्रतियोगिता भएको थियो अरे । त्यस प्रतियोगितामा भाग लिन टाढा टाढाबाट मानिस आएका थिए अरे । टाढाटाढाका मानिसले टाढाटाढा गाउँका रैथाने च्यापलियन प्रहशन गरेका थिए अरे । प्रतियोगितामा स्वयं भोलेनाथ पनि प्रतियोगी थिए अरे ।

‘उत्तर के आयो थाहा छ ।’ मैले नगरकोटीको पदचापलाई प्रश्न गरेँ ।

‘छु ढ्याऊ ।’ च्यापलिनको भौतिक जड सिल्टिमुर खाएको पनि बसौँ भयो ।

‘तेस्रो भए नि लाउरे । आफैँ आफू बन्ने प्रतियोगितामा च्यापलिन तेस्रो भए । त्यस दिन आफू आफैँबाट हारे च्यापलिन ।’ मैले भनेँ ।

‘त्यस प्रतियोगितामा उनी अन्तिम हुन पर्ने हो ।’ नगरकोटीको पदचापले प्रश्न गर्यो –‘आफू आफू बन्ने प्रतियोगितामा हर कोही अन्तिम हुन्छ । हुनु पर्छ । कोही आफू आफू जस्तो हुन्छ र ?आफू त आफूनै हुन्छ ।’कतैबाट वाद आयो ।

‘हो र ?’ कोटीले पत्याएनन् ।

‘नगरकोटी लुक एलाइक प्रतियोगितामा को प्रथम हुन्थ्यो होला है ?’ आकासगङ्गाबाट कुमारी माताको  सृजना आयो ।

मनको हावा नगरीमा केही नामहरू आए – गए । फेरि अरू आए – गए । अनि प्रथम, दृतिय , तृतिय भए ।

प्रथमः अमिताब बच्चन ।

नगरकोटीः उहाँ जहिले पनि प्रथम । हम जहा खडे होते हे लाइन वहिसे सुरु होते हे… । मेरे भि ।

द्वितीयः लाफिङ बुद्ध

कुमारः बस् बस् । रुलाएगा क्या ?

तृतीयः कुमार जीको आज्ञा ।

कुमारः तिमी महान् रहेछौँ । कुनै वादको समर्थक होइन रहेछौ ।

म अकमक्म परेँको देखेर उनैले हाँस्दै भने –जस्तै मार्क्सवाद, लेनिनवाद, नातावाद कृपावाद । जिन्दावाद ।

फेरि केरमेट केरमेट केरकेट गरेँ । अरे अमेरिकामा त नातावाद कृपावादलाई सिस्टमाटाइज गर्देका छन् । रिफेरेन्स लेटर भनेर । मेरो दुनियामा म किन आफू नबन्ने । फेरि अर्को लिस्ट बनाएँ ।

प्रथमः लेमन

दोस्रोः सेक्स इन अ लेमन

तेस्रोः सुरेन्द्र केसी  । (आइ एम सरी बुढा)

सान्त्वनाः भन्नै परेन को ।

कुमारः को ?

म पनि लेमन अन टु स्टिकस् हो नि । खुट्टा स्टिक जस्तो पातलो । जिउ लेमन जस्तो खाते पिते ।

‘अनि तालु नि ?’

किन नहुने ? आलु, तालु, कालु, ठुलु, सबै छ ।

जय गुरुदेव । मेरो धृष्टतालाई क्षमा गर्नुहोस् ।

म त नमस्कार गरेर निहुरेको निहुरै भएछु । ढाड उठाउनै पो सक्दिन त ए गाठेँ । काम गर्ने मान्छे सधैँ पेलानमा पर्छ भन्थे । हो रहेछ ।

फल हसुर्ने मान्छे सधैँ हसुरिरहन्छ । सोच्दै थिएँ लेमन गुल्टि सक्नुभएछ …पर पर ।

कुनै रोमान्टिक गल्लीमा म भीड पन्छाउँदै थिएँ । उनी सुनसान मनोलहरमा अन्धकार बोकेर उही कोटीयन पारामा हिँडेछन् । उनी पर पर गएको म वर वरबाट हेरिहेको थिएँ ।

‘हु इिज दिस ठिस्?’ एक अर्ध जवान बुढोको स्वरले मलाई प्रश्न गरेको जस्तो लाग्यो ।

‘त्यही  भन्दिनुहुन्छ कि भनेर म गुच्चानगरीमा आएको ।’ पुलुक्क फर्केर भनेँ । फर्कँदा  आफ्नै गुरु लेमनलाई उत्तर फर्काएकोपो देखेँ ।

के हो उहाँलाइ पढ्न थालेपछि जता ततै उहाँनै देख्छु त । असारमा पढ्न बसेको गुरु झै ।

वहानको अघिल्लो झ्यालमा ऊ झुण्डिरहेको थियो –लेमनको झुप्पा तुर्लङ तुर्लङ । अनायास, अबिरल, अकिञ्चक, अबिच्छिन्ह । बहान ड्राइभर खलिल छेउका कुमारजीलाई बोकेर लादै थिए मयूरमा ।

आजकाल रेसलिङबाट अवकास पाएपछि बाहान चलाउन थालेछन् ए गाठेँ ।

‘आजकाल भोल्कस्वागेनमा लाने पैसा छैन यार । जिब्रोलाई ढिकिच्याउँ गराउँदै खलिलले पिपलपाते लेप्राय –‘अक्षरगञ्ज पनि कति लानु तिमीलाई । हामी दुईको यात्रा वर्षैाको बुढो बुढाबुढी जस्तो भयो । घुम्न गयो शून्यता बाहेक केही हुदैन । बुझ्न, छाम्न… हैन हैन बारम्बार बुझ्न र बारम्बार नछामेको ठाउँ छैन ।’

‘यो नाथे बबुरोलाई पनि लिएर जाम । केही गरिहाल्छ कि ? केही गर्न सकेन भने यो मोतिराम भट्टको टाइम्स अफ अक्षरगञ्ज बेच्दै बस्छ ।’

मैले अघिल्लो सिटमा हेरेँ । बुढा मलाई पछाडि फर्केर मै जसरी हेरिरहेका थिए । उनलाई हेर्दा मनले एक डाइलग गुनगुनाइ रह्यो –‘राजा बन्नु छ भने पहिला आफ्नो राज्य बनाउनु ।’

राजा.. बन्नु छ.. भने आफ्नो.. राज्य बनाउनु ।

….हो राजा…

… म राजा ?…

अल्छिः नाइँ म त युवराज बन्ने ।

मः किन ?

अल्छिः एक पटक युवराज सधैँ युवराज । राजा आउँछन मर्छन् जान्छन् । युवराज नेभर गेट्स ओल्ड । सलमान खान जस्तै । फेरि सबै राजा बन्ने हो भने कुमार राजाले कसलाई सासन गर्ने?

कल्पनै त हो ।

गुच्चा नगरीमा टियूव लाइट बल्यो । म त आधुनिक अस्टबक्रियन एकलब्य ।

गुरुलाई खोजी हिँड्नभन्दा । उनैले बोलाउन् …

गुरुलाई सतत नमन ।