केही नजान्नू, केही नबुझ्नू, अथवा कुनै कुराप्रति अनभिज्ञ रहनु, कुनै कुराको परिणाम थाहा नहुनु, वा देश दुनियाँबाट टाढा रहनु – कस्तो होला ? मलाई त सुखी भइन्छ जस्तो लाग्छ । थाहा पाउँदा हुने डर, कुतुहलता, व्यग्रता अथवा त्यो चीज पाउने लालसा या त्यस्तो परिणाम न आए हुन्थ्यो भन्ने भयले बढाउने बेचैनीभन्दा त अनभिज्ञता नै प्यारो !
आफू जन्मेको ठाउँ छाडेर भूगोलको अर्को पाटोमा अहिले आएर थन्किनु परेको तीतो तथ्यले भने बारम्बार यही भनेजस्तो लाग्छ मलाई । अलि अलि कुरा थाहा नभएको भए पढ्ने, जागिर खोज्ने या यस्तै अन्य बहानामा यति टाढा पुगिने थिएन कि ! न आफू खेलेको आँगन छ, न माया गर्ने आफन्तीहरू, न आफूलाई चिन्ने बाटो-घाटो, छन् त केवल पत्र पत्र भएर मस्तिष्कमा भरिएका कहिल्यै नसकिने यादहरू मात्र । उसै महाकवि लक्ष्मिप्रसाद देवकोटाले भनेका थिएनन् होला “हे ईश्वर मलाई भेडो बनाऊ”। मेरो भेडाप्रति कुनै खालको नकारात्मक धारणा छैन, चलन चल्तीको भाषा भएकोले मात्र प्रयोग गरेको हुँ।
बहस गर्ने प्रशस्त ठाउँ छन् । असहमत हुने पनि अझ धेरै कारणहरू होलान् । मेरो बुझाइलाई झन् एकोहोरो या मूर्ख बुझाइभन्दा पनि स्वीकार्य छ मलाई । मैले मेरो यो तर्क, विचार, या मेरो मनमा लागेको कुरालाई व्यक्त गरेर हल्का हुन खोजेको मात्र हो ।
बुझेर हामीले जीवनलाई हिसाब बनाएका छौँ । हरेक विषयलाई कहिले भाग गर्यो, कहिले गुणन गर्यो, अझै पुगेन कहिल्यै जोड्यो, त्यतिले पनि नपुगे रेखाहरूको साध्य बनाएर घोक्ने गर्छौं हामी । तर प्रतिफल भने झन् दुख, झन् तनाव, झन् व्यग्रता मात्र पर्छ हाम्रो हातमा। जीवन हिसाब जस्तो नहुने रहेछ भनेर बुझ्न पनि कम हिसाब गर्नु परेन, अब भने अलि अलि बुझेजस्तो लाग्छ कमसेकम अर्को समस्या नआउन्जेल सम्मलाई ।
म ६, ७ वर्षको हुँदा हाम्रो घरमा एकजना पाहुना जो तत्कालीन राष्ट्रीय पञ्चायत सदस्य, त्यसमा पनि ठकुरी (राजा) थिए, आएका रहेछन् । आगोमा ढाड सेकाएर बसेका उनको पछिल्तिर मेरो चकचक धेरै भएछ । आमाले मलाई चुप लाग्ने सङ्केत गर्दै कानमा “चुप लाग्, राजाको अगाडि हल्ला नगर” भनेर भन्नु भएछ । मैले भने ठूलो स्वरमा “मलाई यिनको के को डर, मलाई त मुकुन्द सरको मात्रै डर लाग्छ” भनेछु, ऊनै “राजा” ले सुन्ने गरेर । “मुकुन्द शाह” भने मेरो त्यो बेलाको शिक्षक हुनुहुन्थ्यो।
आमा त्यसपछि रिसाएको मेरो सम्झनामा त छैन अहिले, बरु त्यो बेलाको मेरो अनभिज्ञताले निम्त्याएको आमाको सकस र मेरो बालापनको निस्फिक्री व्यवहारको भने म कल्पनासम्म गर्न सक्छु। बाल्यकालको समय मलाई उसै पनि मजा लाग्छ। न डर, न परिणामको मतलब, न भविष्यको चिन्ता- सायद यो सबै मज्जाको रहस्य त्यही अनभिज्ञता नै होला।
हामी आफैँ जीवनलाई जटिल बनाउँछौँ । हामी सफलता खोज्छौं, उँचाइ खोज्छौँ, खुसी खोज्छौँ, केही न केही खोजिरहन्छौँ जीवनभरि । हामी आफैँ सिमाना बनाउँछौँ, मापदण्ड तयार गर्छौ, अथवा मूल्य तोक्छौँ आफैँले र त्यसैमा आफ्ना प्राप्तिहरूलाई तौलिरहन्छौँ- हामी आफैँलाई थाहा हुँदैन कि हामी कति अनुत्पादक काम गरेर आफूलाई दुखी बनाइरहेका छौँ भनेर । सञ्चारको क्षेत्रमा भएको विकास भनौँ या उपभोक्तावादी संस्कृतिको प्रभावले होस्, आफूसँग भएका कुराहरूमा मात्र हामी खुसी हुन सक्दैनौँ । साना कुराहरूभित्र भएको अनगिन्ती खुसीहरू कहिले कहीँ धेरै नबुझ्दा नै पो मिल्ने हो कि ?
मेरो बुवा अहिले ९६ वर्षको हुनुभयो। त्यस बेला क्यानडामा हामीसँगै हुनुहुन्थ्यो वहाँ । सात वर्षअघि ८९ वर्षको उमेरमा उहाँलाई पहिलो पटक हृदय घात भयो । हृदय घात दिउँसोको समयमा घरमै भएको थियो । म र मेरी श्रीमती काममा थियौँ, छोरीहरू पनि स्कूलमा । बालाई छातीतिर गाह्रो भएछ, कहिल्यै नभएको जस्तो पिडा । के भयो ? किन भयो ? भनेर बा तल र माथि गर्नु भएछ । हामीलाई बोलाउन पनि काममा गएकालाई किन बोलाउनु ? आफैँ एकछिनमा ठीक भई हाल्छ भनेर बोलाउनु भएन छ । ग्याँस भरिएर अप्ठ्यारो भएको हो कि भनेर पानी खाएर बान्ता गर्ने कोसिस गर्नु भएछ । टाउको तात्तिएको महसूस भएर चिसो पानीलेसमेत नुहाउनु भएछ । केही उपाय नचलेपछि भने बुहारी (मेरी श्रीमती) लाई फोन गरेर बोलाउनु भएछ ।
म घरमा पुग्दा बा सबै जनासँग सोफामा बसिरहनु भएको थियो । कहिल्यै नभएको जस्तो अप्ठ्यारो भएको र अहिले औषधि खाएपछि सन्चो भएको कुरा बताउनु भो । “अहिले ता सबै निको भैगो” – हाँस्दै भन्नु भो । म पनि ढुक्क भएँ केही क्षण । पछि छोरीको सल्लाह अनुसार नजिकै भएको “अर्जेन्ट केयर” मा लगियो । एकैछिनको जाँच चेकपछि ठूलो अस्पताल लग्नु पर्ने र यो हृदयघात भएको जानकारी हामीलाई दिइयो।
मैले निकालेको यो प्रसङ्ग बाको हृदयघातप्रतिको अनभिज्ञतासँग सम्बन्धित छ। त्यस अघि बालाई हृदय घात के हो, यसका लक्षणहरू के हुन्, यसको परिणाम कतिसम्म खतरनाक हुन्छ- केही पनि जानकारी थिएन । जानकारी भएको भए, त्यसबाट हुने त्रास, मृत्यु नजिक पुग्दाको भय र लाग्ने अत्यास धन्न बाले महसूस गर्नु परेन त्यस बेला । अनभिज्ञताले सहजजस्तो भएको त्यो घटनापछिको, अस्पतालको बसाइ बरु गाह्रो भयो बाको लागि ।
पछि मलाई बाको जस्तै मुटुको समस्या देखियो । तर त्यो समस्या देखिनु अघि अलिअलि छाती दुख्ने बित्तिकै मुटुको नै समस्या होला भनेर करीब २०औँ पटक आकस्मिक सेवामा अस्पताल पुगेँ होला । जब कि मेरो हृदय घात नभएर मुटुमा रगत पुर्याउने भल्भ बन्द हुन थालेको अवस्था रहेछ । मैले २०१९ मा एन्जियोप्लाष्टी गरेँ, तर मेरो आकस्मिक सेवाको अस्पताल यात्रा भने लगभग १० वर्ष अघिदेखि शुरु भएको थियो । हृदयघात हुन लागेको हो कि भन्ने पीडाले कति सतायो, अहिले त्यो विषयमा कुरा नगरूँ । जे होस् अलिअलि थाहा पाएर भएको त्रास अत्यन्त डरलाग्दो थियो।
मान्छेलाई के कुराले दौडाउँछ होला जीवनमा ? भोकले, डरले, केही रहरले, बाध्यताले, मायाले या उसै ? उत्तर जे पनि हुन सक्ला । तर सबैको साझा कुरा भनेको दौडिने नै रहेछ। बरु फरक जानेर या नजानेर या नबुझेर दौडिने कुराको होला । सानोमा गाउँ, पाखा, खोला छिमल्दै दौडिनु र अहिले विभिन्न कारणले दौडिनुमा ठूलो फरक होला सायद । उदेश्य बिहीन सानोको त्यो कुदाइ र अहिले विभिन्न कुराले दौडाइ रहेको जीवनको दौड फरक होला सायद । मजा त उसै पनि नजानेर या नबुझेर दौडिनुकै रहेछ !
विदेश बसेको २० वर्ष नाघ्यो । कहिले त भोलि नै नेपाल फर्कौंजस्तो हुन्छ । यता दुःख भएर हैन, तर केके नमिलेजस्तो भई रहन्छ । के नपुगेजस्तो, केही छुटेजस्तो, केही अपूरो भैरहन्छ यता । तर फर्किने कुरा गर्यो फेरि डरले घेर्छ । यो डर केही बुझेर भएको होला सायद । यही डरले लखेट्दै लखेट्दै यहाँ पुर्याएको छ अहिले । डर के भनौँ ? बुझाइले !
कहिले त लाग्छ, यो विकास किन भएको होला । बाटो नबनेको भए, प्लेन नपुगेको भए रहरहरू कसरी उड्थे होलान् र पुर्याउँथे होलान् यहाँसम्म ? कसरी बिग्रन्थ्यो होला र गाउँ, कसरी ठाउँ ठाउँमा सर्थे होलान् र आफन्तीहरू नभेटिने गरी ? एकातिर सञ्चारले जोड्दै अर्कोतिर कसरी टुट्दै जान्थ्यो होला र सम्बन्धहरू ? अनगिन्ती प्रश्नहरू छन् ।
नबुझ्ने भए रिस नउठ्दो हो, रहरहरू नहुँदा हुन्, डर नलाग्दो हो, घृणा नआउँदो हो, लोभ नपलाउँदो हो, माया नहुँदो हो, मोह नहुँदो हो केही केहीमा । लाग्छ बुझेर नै घेरिएका छौँ हामी दुःखको जञ्जालमा ।
हुन त यो बुझाइ असलमा बुझाइ नभएर भ्रम पनि हुन सक्ला । सबै बुद्ध पनि त हुन सक्दैनन् असलमा जीवन बुझ्ने ! मेरो त झन् के कुरा भयो र ? विकास हामीले रोकेर पनि रोकिँदैन, हुने कुरा हुन्छ नै। यहीभित्र बसेर हामीले खुसी खोज्नु बुद्धिमानी होला । गति रोक्ने धृष्टता कसले पो गर्न सक्ला ? तर अहिले भने मलाई अबुझ बनेर निस्फिक्री, निरुद्देश्य दौडी रहन मन छ बाल्यकालमा झैँ । नरोकिइ पुग्न मन छ आफ्नै गाउँ र गएर बनाउन मन छ बालुवाको सुन्दर घर !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।