यतिबेला बजारमा एउटा गीतले बडो चर्चा पाइरहेको छ । हरेक पटक आफ्नो सिर्जनामा नयाँपन दिन खोज्ने गायक प्रकाश सपुतको, पछिल्लो समय बजारमा आएको “पीर” बोलको गीतले नेपाली साङ्गीतिक आकाश तातेको छ । त्यसका आ-आफ्नै कारण छन । एउटा विषय वस्तुलाई सबैले उही दृष्टिकोणबाट हेर्छन भन्ने छैन र त्यो हुन पनि सक्दैन । बुझाइमा फरक नहुँदो हो त यो संसारमा वादविवाद र वहस चल्दैन्थ्यो होला । यस गीतलाई लिएर हरेकले आ-आफ्नो धारणा राख्दै छन्, राखिरहेका छन । जति धेरै विवाद भनौँ वहस पैरवी चल्छ सर्जकलाई उति नै फाइदा पनि भइरहेको छ । यस अर्थमा गायक सपुतसहित उहाँको टिम निश्चय नै खुसी हुनुपर्छ, गीतले यति धेरै चर्चा पाइरहेको छ । यस गीतले माओवादी जनयुद्धलाई गलत ढङ्गले व्याख्या गरेको भनेर कतिले आलोचना गरेका छन् । कतिले पूर्व माओवादी महिला लडाकुलाई यौन व्यापारमा संलग्न देखाएर उनीहरूको अपमान गरियो भनेर आलोचना गरेका छन् । कतिले भन्दै छन्, देह व्यापारले सिङ्गो नारी जातिकै अपमान भएको छ । फेरि कतिपयले तीन महिना श्रीमती साथमा नहुँदा, अन्त मन डुलाउने कस्तो पुरुष मानसिकता हो भनेर पनि गाली गरेका छन् । यसरी विविध कुराहरूले गीतलाई चर्चाको शिखरमा पुर्यायो । समग्रमा भन्नुपर्दा गीतलाई गाली गर्नेभन्दा माया गर्नेहरू धेरै देखिए सञ्जालमा, किनभने यसले धेरैहदसम्म सत्य बोलेको छ । धेरै विवादमा परेपछि गीतका केही दृश्य सम्पादन गरेर पुन: यूट्युबमा राखिएको छ ।
गीतको कुनै शब्द, संवाद अथवा कुनै दृश्यप्रति मेरो आपत्ति छैन । तर गीत हेरिसकेपछि एउटै प्रश्न मनमा उब्जियो, “के परदेश भनेको दुःख पाउने ठाउँ मात्रै हो” ? गीतको अन्त्यतिर महिला पात्र पैसा कमाउन विदेश गएको र विदेश जानासाथ अलपत्र परेर उद्धारका लागि गुहार मागेको देखाइन्छ । बस, यही दृश्यले मन बिथोलियो । दृश्यमा देखाए जस्तो घटना परदेशमा नहुने होइनन्, हुन्छन, भइरहेका छन र भोलिका दिनमा पनि यो क्रम रोकिनेवाला छैन । किनभने हामी वैदेशिक श्रमको सवालमा गतिलो विदेशनीति नभएको देशका नागरिक हौँ । यसकारण हामी विश्वको जुन कुनामा पुगे पनि कुनै न कुनै रूपमा हामीले हेपिनु पर्छ, त्यसमा कुनै शंका छैन । तर के गीतले देखाए जस्तो विदेश भनेको दुःख मात्रै हो त ? भन्ने सवालमा म केही लेख्न लागिरहेको छु । गायक प्रकाश सपुतको गीतसँग यस लेखको लिनुदिनु खासै केही छैन । विगत ७/८ वर्षदेखि खाडीमै रहँदै आएको नाताले प्रवास भनेको दुःख मात्र होइन है, यसका राम्रा र सकारात्मक पाटाहरू पनि छन है भन्न खोजेको मात्र हो ।
परदेशमा दुःख जरुर छ, तर केवल दुःख मात्रै चाहिँ छैन । परदेशका अँध्यारा पाटाहरू पनि छन र ती पनि लेखिनु पर्छ । तर अँध्यारो मात्र लेखिनु चाहिँ राम्रो नहोला भन्ने मेरो बुझाइ हो । स्वदेशमा रहनुभएका सर्जक हुन् अथवा प्रवासमै रहनुभएका सर्जक प्रायः सबैले प्रवासका दुःख र पीडालाई मात्रै विम्बको रूपमा प्रयोग गरेर, सिर्जना गरेको पाइन्छ । चाहे कविता लेख्ने होस् अथवा कथा लेख्ने । यसमा म स्वयम् पनि अछुतो छैन । अपवादका रूपमा मैले पनि परदेश सम्बन्धी केही सिर्जनाहरू गरेको छु । जसमा अरूले जस्तै मैले पनि यसका नकारात्मक पाटोलाई उजागर गरेको छु र त्यो सत्य पनि हो । तर त्यसैमा मात्र केन्द्रित भएर लेख्नु भनेको आफ्नो अन्नदाता भूमिप्रति एक किसिमको बेइमानी हो भन्ने लाग्छ । प्रवासले नेपाली समाज र देशलाई धेरै राम्रा कुराहरू पनि दिएको छ । तर त्यो कतै आउँदैन । स्वयम् परदेशमा हुनेले पनि त्यसलाई आम पाठकमाझ पुर्याउनु पर्छ भन्ने खासै सोचेको पाइँदैन । उता पत्रकारिताको हालत पनि उस्तै छ । उसले पनि परदेशमा भएका नकारात्मक घटनाहरूलाई नै धेरै फोकस गरिहेका हुन्छ ।
संसारमा यस्तो कुनै चिज नै छैन होला जसको केवल राम्रो मात्रै पक्ष होस् अथवा नराम्रो पक्ष मात्रै होस् । हरेक कुराको पछाडि एउटा पाटो राम्रो अथवा सकारात्मक र अर्को नराम्रा अर्थात् नकारात्मक हुन्छन । यो कुरा हामी सबैले बुझ्दैनौँ फेरि । कि त हामी राम्रो पाटो मात्रै देख्छौँ कि त नराम्रो पाटो मात्रै । हरेक कुराको राम्रो पक्षलाई मात्र ध्यान दिने हो भने अथवा राम्रो र नराम्रो दुवै पक्ष हुन्छन भन्ने कुरा बुझ्ने हो भने, संसारमा मानसिक दुख भन्ने कुरा कसैलाई हुँदैन थियो होला । अझ दार्शनिकहरूको कुरालाई आधार मान्ने हो भने त संसारमा राम्रो-नराम्रो भन्ने त्यस्तो चिज नै हुँदैन । त्यो त केवल त्यस वस्तुप्रति आफ्नो बुझाइ अथवा भनौँ दृष्टिकोण कस्तो छ भन्ने मात्र हो । जस्तो कि विवाह गर्नु ठिक कि बेठिक ? भन्ने कुरा त्यसप्रति आफ्नो बुझाइ कस्तो छ त्यसैले निर्धारण गर्ने हो । विवाहप्रति सकारात्मक धारणा बनाउनेहरूले विवाह गर्छन । नकारात्मक धारणा बनाउनेहरू विवाह नगरी बस्छन । यो प्रवास पनि लगभग यस्तै कुरा हो । प्रवासको बसाइलाई मैले कसरी व्याख्या गर्छु त्यसैमा भर पर्छ, यो राम्रो कि नराम्रो भन्ने कुरा । त्यस्तै अर्को के छ भने, प्रवास राम्रो कि नराम्रो भन्ने कुरा तुलनामा पनि भर पर्छ । नेपाल हुँदा आफूले गरेको काम र काम गर्दा पाएको दुःख अथवा सहजतासँग यदि उसले प्रवासको कामसँग तुलना गर्न थाल्छ भने, उसलाई पक्कै पनि परदेश सजिलो नलाग्न सक्छ । किन भने यहाँ थोरै मेहनतले पैसा कमाउन सकिँदैन । नेपालमा जे जस्तो भए पनि काम गरेको अनुभव छ भने उसलाई फेरि प्रवासमा खासै गाह्रो महसूस हुँदैन पनि । किन भने उसलाई काम गर्ने बानी परिसकेको हुन्छ । नेपालमा पनि त मेहनत त गर्नै पर्छ नि ।
तर नेपाल छँदा कुनै पनि काम नगरेको र घरायसी काम गर्ने बानी पनि नपरेको मान्छे विदेश आयो भने उसलाई विदेश पहाड लाग्न सक्छ । किन भने यहाँ कम्पनीको कामसँगै आफ्ना व्यक्तिगत सबै काम आफैँले गर्न पर्छ । घरमा सिन्को पनि नभाँच्ने र ढलेको गिलाससम्म उठाउने बानी नभएकाहरूलाई परदेशका सुरुवाती दिनमा बडो सकस भएको पाइन्छ । किन भने उसलाई काम गर्ने आदत छैन । यदि मेहनत गर्नुलाई नै दुख भन्ने हो भने प्रवास साच्चै नै दुख हो । किन भने यहाँ धेरै कुरामा मेहनत नगरी हुँदैन । तर मेहनतलाई दुःखको रूपमा नबुझ्ने हो भने प्रवास दुःख होइन । बेलाबखत समाचारमा आउने दुखत घटनालाई छोड्ने हो भने प्रवासले लाखौँ नेपालीको घरबार चलेको छ । थोरै भए पनि आफ्नो आर्थिक हैसियत माथि उठाएका छन् । समाजले थोरै भए पनि गन्न थालेको छ । आर्थिक रूपले कमजोर भएकै कारण समाजमा अपमानित भएर बस्नुभन्दा ८/१० वर्ष प्रवास बस्नु खासै ठुलो कुरा हो जस्तो लाग्दैन । किन भने खाडीको घामलेभन्दा, छिमेकी र आफन्तको व्यवहारले धेरै पोल्छ मान्छेलाई ।
परदेश कमाएको पैसाले, श्रीमतीले राम्रो सारी लाउन पाएकी छन् । छोराछोरीले बोर्डिङ स्कुल पढ्न पाएका छन । घरमा बिहान बेलुकै मिठो पाक्न पाएको छ । सधैँ हेपिरहने छिमेकीले हेप्न छोडेको छ । पेल्न छोडेको छ । कहिल्यै पाहुना लाग्न नआउने आफन्तहरू बेलाबखत आएर हालखबर सोध्न थालेका छन । अलिकति हावाहुरी आउनसाथ छानो उडाउला कि भन्नु परेको छैन । कता-कता छानो चुइयो भनेर बोटुका थाप्नु परेको छैन । यी सबै कुरा परदेश बसेर कमाएको पैसाले नै सम्भव भएको छ । तर यस्ता कुरा न त कुनै पत्रिकाले आफ्नो समाचारमा लेख्छन् न त कुनै टेलिभिजनले देखाउँछन् । न त कुनै कविले आफ्नो कवितामा यस्ता विषय उल्लेख गर्छ । न त कुनै कथाकारले यसलाई आफ्नो कथामा लेख्ने कोसिस गर्छ । नेपाली साहित्यमा सायद अहिलेसम्म कसैले पनि परदेशले ल्याएको सकारात्मक परिवर्तनलाई समेटेर लेखेका छैनन् होला । यदि कसैले लेखेको भए उहाँप्रति नमन छ । गीत बनाउनेले पनि परदेशलाई सधैँ दुखको रूपमा मात्रै देखाउँदै आएका छन । फिल्मको पनि हालत उस्तै छ । एयरपोर्टमा लासको एउटा रातो बाकस देखियो भने त्यो राष्ट्रिय समाचारको विषय बन्छ र परदेशलाई मृत्युको भूमिकाको रूपमा व्याख्या गराइन्छ र जनमानसमा एक किसिमको भ्रम र त्रास फैलाइन्छ । तर त्यो रातो बाकससँगै पछि-पछि मुस्कानसहितको सयौँ सुट्केस पनि जहाजबाट ओर्लिरहेका हुन्छ । त्यसमा न कुनै पत्रकारको कलम तेर्सिन्छ न त क्यामेरा न त विचार नै । मर्न त देशमै पनि दैनिक थुप्रै मान्छे अनेक कारणले मरिरहेका हुन्छन। त्यो कहिल्यै समाचार बन्दैन अपवाद बाहेक । के परदेशमा मर्नु र स्वदेशमा मर्नुमा कुनै खास फरक छ र ?
मिडियाले परदेशका दुखलाई मात्र कसरी प्राथमिकता दिन्छन् भन्ने एउटा सानो घटना सुनाउन चाहन्छु । समय थियो कोरोना लहरको सुरुवाती चरण । कोरोनाले विश्वलाई आफ्नो नियन्त्रणमा राख्ने क्रम भर्खर सुरु भएको थियो । त्यसको केही असर युएईमा पनि देखा पर्न थालिसकेको थियो । रोगको बारेमा धेरै कुराहरू बाहिर नआइसकेकोले त्यतिबेला मानिसमा रोगलेभन्दा पनि रोगप्रतिको बुझाइले ज्यादा मानसिक तनाब दिइरहेको थियो । युएईमा रहेका नेपालीहरू पनि त्यो मानसिक पीडाको सिकार बन्न सुरु भइरहेका थिए । त्यही बेला अनलाइन पत्रिकामा काम गर्ने एक जना महिला साथीले मलाई कोरोना अनुभवबारे मेरो र मेरा साथीहरूको भनाइ लेखेर पठाइदिन अनुरोध गरिन् । त्यसमा उनले केही प्रश्नहरू पठाएकी थिइन् । त्यही प्रश्नलाई आधार मानेर जवाफ पठाउनु पर्ने थियो । मैले पनि म बाहेक अन्य चार जनाको जवाफ पठाएँ । त्यसमा दुई जना महिला साथी थिए । पत्रकार साथीको रिपोर्ट छापिएर पनि आयो । तर त्यसमा मैले सङ्कलन गरेर पठाएका ५ जनामध्ये मेरो र अर्को एक जना साथीको भनाइ छापिएन । सोधेँ, किन हाम्रो भनाइ नराखेको भनेर । उनको जवाफको आशयले के बुझियो भने हामीले सकारात्मक अनुभवसहितको जवाफ लेखेर पठाएका कारण नछापिएको हो । हुन पनि हो, म र अर्को एक जना साथीले कोरोनाबाट आफूहरू त्यतिधेरै नआत्तिएको र यसमा त्यस्तो धेरै डराउनु पर्ने कारण पनि नभएको भन्ने आशयको जवाफ पठाएका थियौँ । बाँकी तीन जना साथीहरूले भने कोरोनाबाट आफूहरू त्रसित भएको भन्ने खालको जवाफ लेखेका थिए र उनीहरूको छापियो पनि । त्यतिबेला म अचम्ममा परेको थिएँ, मिडियाले नकारात्मक कुरालाई मात्र किन प्राथमिकता दिएको होला भनेर । वास्तवमा कोरोना लहर चलिरहँदा त्यो रोगले जति मान्छेलेलाई त्रसित बनायो त्यो भन्दा धेरै यसका समाचारले मान्छेलाई आतङ्कित बनाएको मैले महसुस गरेँ । समाचार प्रकाशन र जनतालाई सूचना दिने नाममा अधिकांश मिडियाले अहिले पनि आम मानिसलाई आतङ्कित पार्ने कुरा नै छपाइरहेका छन् । चाहे त्यो कोरोनाको होस् अथवा युद्धका हुन् या अन्य घटना दुर्घटनाका समाचार नै किन नहुन् । यसैको सिकारमा परदेशमा रहेका नेपालीहरू पनि पर्ने गर्छन । परदेशमा अनेक किसिमका घटना दुर्घटना भइरहन्छ । त्यो सामन्य प्रक्रिया हो । त्यो त आफ्नै देशमा पनि भइरहन्छन् ।
स्वदेशमा नहुने अनि परदेशमा मात्रै त्यस्ता घटना हुँदा हुन् त्यसलाई अलिक फरक ढङ्गले हेर्दा ठिकै हुन्थ्यो होला । नेपालमा पनि दुर्घटनाबाट या अन्य कुनै कारण दैनिक रूपमा मान्छेको मृत्यु भइरहेको हुन्छ । त्यो त्यति ठुलो चासोको विषय बन्दैन कसैलाई पनि । हामी त्यसलाई सामन्य रूपमा लिन्छौँ छोडिदिन्छौँ । तर परदेशमा महिनामा एउटा मात्रै कुनै नेपालीको कारणवश मृत्यु हुन पुग्यो भने त्यो राष्ट्रिय कभरेज बन्छ समाचारहरूमा । यसरी समाचार फैलाइन्छ मानौँ ऊ विदेश नगएको भए उसको मृत्यु नै हुने थिएन । मृत्यु आफैँमा सुखत कुरा त पक्कै पनि होइन । तर मृत्युलाई टार्न पनि त सकिँदैन जहाँ बसे पनि । परदेशमा बसेर पत्रकारिता गरिरहनु भएका साथीहरूले पनि यहाँ भएका नेपालीहरूका थुप्रै राम्रा पक्षहरूलाई छोडेर प्रायः मरण संवादको समाचार लेखेको पाइन्छ । संसारमा अपवाद भन्ने कुरा हरेक ठाउँमा हुन्छ । परदेसिएका नेपालीको हकमा पनि त्यो लागू हुन्छ । तर हाम्रो बानी भनौँ अथवा मानसिकता भनौँ या जे भनौँ, सकारात्मकभन्दा नकारात्मक कुरामा बेसी ध्यान दिइरहेका हुन्छौँ । यसो हुनुमा मिडियाले देखाउने र प्रकाशन गर्ने सामग्रीहरूको ठूलो हात रहन्छ भन्ने मलाई लागेको कुरा हो । फेरि परदेशमा रहेका नेपालीहरू सबैको कामको प्रकृति एउटै नहुने भएकोले पनि, परदेश सम्बन्धी अलगअलग धारणा बन्न गएको हो । यसको मतलब के नेपालमा चाहिँ काम गर्न सजिलो छ र ? नेपालमा चाहिँ पैसा कमाउन सजिलो छ र ? त्यही सजिलो नभएर त लाखौँ नेपाली रोजगारका लागि देशभन्दा बाहिर छन् ।
नेपालीलाई परदेश दुःख लाग्नुका कारण धेरै छन । अपवादलाई छोड्ने हो भने अधिकांश परदेशका नेपाली कामको कारणलेभन्दा पनि मानसिक रूपले बढी पीडित भएको पाइन्छ । काम राम्रै हुन्छ । नेपालको तुलनामा आम्दानी पनि उसले राम्रै गरिहेको हुन्छ । उसका परिवार पनि खुसी नै देखिन्छन । फेरि पनि ऊ मानसिक रूपले पीडित देखिन्छ । उसलाई आफू परदेशी हुनु परेकोमा सधैँ हिनताबोध भइरहन्छ । यसकारण पनि ऊ प्रवासमा आरामले निदाउन सक्दैन । जब कि पहिले परदेश जान पाऊँ भनेर सरकारले तोकिदिएकोभन्दा कैयौँ गुणा धेरै रकम मेनपावरलाई बुजाएको उसले बिर्सिन्छ । हजारौँको भीडबाट आफू अन्तर्वार्तामा छ्नौट हुँदा खुसी भएको कुरा उसले बिर्सन्छ । आफूसँगै अन्तर्वार्तमा सहभागी भएको साथी पास हुन नसक्दा ऊ निराश हुन्छ, साथीको मलिन अनुहार सम्झिएर । उसलार्इ परदेशको बसाइ असहज लाग्दैन । किन भने कैयौँ ठक्कर र हण्डर नखाई यही खाडी मुलुक पनि आउन पाइँदैन । परदेश आउनको लागि स्वदेशमा भोगेका सकस सम्झिने हो भने परदेश बसाइ रमाइलो लाग्न सक्छ । नेपालमै केही गर्छु भन्दा ऋण नपत्याउने र परदेश जानेलाई जति पनि ऋण दिन सक्नेहरूको अनुहार सम्झिने हो भने पनि परदेशको बसाइ असहज लाग्दैन ।
परदेश बसाइ असहज लाग्नुका धेरै कारण हुन सक्छन् । पहिलो कुरा त आफ्नो परिवारभन्दा टाढा हुनु परेको छ । देश छोड्नु परेको छ । सात जुनिसँगै जिउने बाचा गरेर ल्याएकी श्रीमती र आफ्ना सन्तान छोड्नु परेको छ । यी कारणले पनि परदेशीलाई मानसिक रूपमा तनाब हुन्छ। त्योभन्दा पनि मुख्य कुरा, परदेशप्रतिको हाम्रो बुझाइ नै गलत हो जस्तो लाग्छ । त्यसमाथि खाडी मूलुकलाई हेर्ने हाम्रो समाजको दृष्टिकोणले ठूलो काम गरेको छ । “छोरो कहाँ छ ?” खाडीमा.. ए ! भन्दै छिमीकीले नाक खुम्च्याउँदा घरका मान्छेमा पनि एक किसिमको तनाब पैदा भएको पाइन्छ । अरूका छोराछोरी ठूलो देशमा गएर प्रगति गरेको देख्ने परिवार, आफ्ना सन्तानले पनि त्यसै गरिदिएको भए हुन्थ्यो भन्ने चाहनाले पनि परदेशीको मनोबल गिराउँछ र आफूलाई कमजोर सम्झिन पुग्छन् । तुलना गर्ने परिपाटीले पनि हामी सबैलाई एक किसिमले मानसिक रोगी बनाइरहेको छ, हामी पत्तै पाउँदैनौँ । तर यही तुलना आफूले आफैँसँग गर्न सक्ने हो भने फेरि सन्तुष्टिको आभास हुन सक्छ । तर हामी प्रायःले त्यसो गर्दैनौँ । हिजो म के थिएँ र आज के हुँदैछु भनेर आफैँले आफैँलाई नियाल्ने हो भने, दुखी हुनु पर्ने अन्य कुनै कारण छ जस्तो लाग्दैन । युरोप, अमेरिका, अस्ट्रेलिया गएर त्यतै घरजम गरेका आफ्नै साथीभाइलाई हेरेर, हामी खाडी मूलुकका प्रवासी दुखी हुने चलन पनि कम छैन । सके आफू पनि जान प्रयास गर्ने हो । जान नसके, यो पनि कम दुःखले पाएको चिज होइन भनेर चित्त बुझाउने हो भने, खाडीका नेपाली दुखी हुनु पर्ने अवस्था आउँदैन र हामी दुखी नभएपछि मिडियाले पनि हाम्रो दुखको मात्र समाचार छाप्न पाउने थिएनन् ।
फेरि युरोप, अमेरिका, अस्ट्रेलिया, कोरिया, जापानलगायतका समृद्ध देशमा जान पाउँदा आफूलाई भाग्यमानी ठान्ने, हामी नेपाली, खाडी मुलुक आउनुलाई बाध्यता ठान्छौँ । भन्न त नहुने हो तर यो मानसिक दरिद्रताको एउटा नमुना हो । कामकै हिसाबले हेर्ने हो भने खाडीमाभन्दा धेरै दुःख ती ठूला देशमा छ, त्यहाँ गएका साथीहरूको भनाइलाई आधार मान्ने हो भने पनि ।
विश्वका थुप्रै देशबाट वार्षिक रूपमा लाखौँ पर्यटक आउँछन् बुर्ज खलिफाको टुप्पोमा पुग्नलाई । हामी त्यसैको फेदमा बसेर पनि त्यसको महत्त्व र त्यसको फेदमा हुनुलाई गर्वको विषय ठान्दैनौँ । पर्यटकहरू एकपटक चढ्नलाई लाखौँ खर्चेर आफ्नो देशबाट आउँछ्न । हामीले चाहने हो भने वर्षमा दुई-चारपटक चढ्न सक्छौँ । तर हामी चढ्दैनौँ । “माल पाएर चाल नपाएको” भन्ने नेपाली उखान यहीँनेर फिट हुन्छ सायद । यो त हामीले सगरमाथाको महत्त्व र यसबाट लिन सकिने फाइदा नबुझे जस्तै हो ।
हामी कुनै पनि घटनालाई सहज रूपमा स्वीकार गर्न सक्दैनौँ । सक्दौनौँभन्दा पनि स्वीकार गर्न जान्दैनौँभन्दा ठिक होला । नआउनु परदेश आइसकेपछि यसलाई सहर्ष स्वीकार गरेर काम गर्ने हो भने पक्कै पनि हामीले मानसिक रूपमा पीडित हुनु पर्छ जस्तो लाग्दैन । आफ्नो वर्तमान परिस्थितिलाई स्वीकार गर्न नसकेकै कारण हामी दुःखी हुनु परेको हो भन्ने मेरो अनुभव छ ।
छिमेकीले राम्रो लाएको देखेर, राम्रो खाएको देखेर त्यस्तै गर्ने सपना बोकेर पैसा कमाउन परदेश आउनु बाध्यता कसरी हुनसक्छ ? त्यो त रहर भएन र ? छिमेकीले दुईतले घर बनाउँदा अर्को छिमेकीलाई कति दिनसम्म निन्द्रा लाग्दैन । त्यही निन्द्रा नलागेको झोकमा ऊ पनि विदेश जाने र विदेशबाट कमाएको पैसाले छिमेकीको जस्तै घर बनाउने सपना देखेर परदेश आउनु कसरी बाध्यता हुन सक्छ ? त्यो पनि एउटा रहर नै हो नि, होइन र ? केही पाउन केही गुमाउनु पर्छ भन्ने कुरालाई हामीले नबुझेका कारण पनि परदेश बसाइ असहज लागेको हो खासमा ।
त्यसो त नेपालदेखि बाहेक भारत, पाकिस्तान, बङ्गलादेश माल्दिभ्स, सुडान, मोरोक्कोलगायतका नागरिक पनि यहाँ काम गरिरहेका छन । “ये हमरा मजबुरी है” भनेको प्रायः सुनिन्न उनीहरूको मुखबाट । आफूलाई ठूलो र सम्पन्न ठान्ने अमेरिका, बेलायत, चीन, फ्रान्स, रुस, युरोपलगायत देशका मान्छे पनि यहाँ छन रोजगारीका लागि । उनीहरू बडो बिन्दास पारामा काम गरिरहेको पाइन्छ । उनीहरूको कामको प्रकृति र उनीहरूले थाप्ने तलबसँग हाम्रो स्तर नमिल्न सक्छ । त्यो आफ्नो ठाउँमा छ । उनीहरूको काम र दाम राम्रो हुन्छ त्यसकारण उनीहरूले यहाँ काम गर्नुलाई आफ्नो बाध्यता नठानेको हो भन्ने हाम्रो बुझाइ छ । त्यो अर्ध सत्य मात्रै हो । मुख्य कुरा त आफूले गर्ने काम कस्तो छ भन्दा पनि कामप्रतिको आफ्नो दृष्टिकोण कस्तो छ त्यसमा निर्भर रहन्छ सुख दुख भन्ने कुरा । काम जति राम्रो र सजिलो भए पनि त्यसप्रतिको बुझाइ सही भएन भने त्यसले सधैँ दुख दिइरहन्छ मान्छेलाई । हामीलाई परदेश दुःख लाग्नुको मुख्य कारण परदेशप्रतिको हाम्रो बुझाइ सकारात्मक नभएर नै हो भन्ने मलाई लाग्छ । नत्र भने खाडीमा पनि प्रशस्त सम्भावना र अवसरसँगै खुसी पनि उत्तिकै छ । बस्, त्यसलाई ग्रहण गर्ने आफ्नो क्षमता कति छ भन्ने मात्र हो । आफ्नो क्षमता र दक्षता अनुसारको काम र दाम सबैले पाइरहेका छन ।
अन्त्यमा, मैले परदेशलाई कहिल्यै पनि बाध्यताको नाम दिएको छैन । किनभने कसैले मलाई जबर्जस्ती जहाजमा चढाएर परदेश पठाएको होइन । म आफैँ आफ्नो मर्जीले आएको हुँ । त्यो पनि ऋण काढेको ४/५ लाख रुपैयाँ मेनपावरलाई बुजाएर । केही खुसी किन्न सकिएला कि, केही रहर पूरा होलान् कि भनेर । जुन दिन त्यस्तो कुनै बाध्यता महसूस हुनेछ त्यसैदिन म यो भूमि छोड्ने छु । तर यही भूमिमा बसेर यही भूमिलाई गाली गर्न चाहिँ मेरो नैतिकताले दिँदैन । यो त काठमाडौँलाई गाली गरेर कुनै कविले कविता लेखेजस्तै हो, जो राजधानीमै घर बनाउने सपना बोकेर गाउँबाट आएको हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।