
मान्छेहरू कति अजीव । म अहिले देखिरहेछु अद्भुत मूर्तिकलाहरू । मान्छेहरू तस्वीर खिचिरहेछन्, मूर्तिरूपको भावना वरिपरि, भावना बिहीन बनेर । एकैक्षण पनि त्यस ढुङ्गामा कुदिएको भावलाई बुझिरहेका छैनन् । बुझ्ने प्रयास पनि गरेका छैनन् । कस्तो देह भाव ! त्यहाँ थियो मलेसीयन मूर्तिकार म्यक्सिनले बनाएको अद्भुत कला । उक्त कलाले आलिङ्गनलाई बुझाइरहेको थियो । आलिङ्गन । यसको कत्ति अर्थहरू लगाउन सकिन्छ । पृथ्वीले जीवहरूको रक्षाको निम्ति गर्नुपरेको आलिङ्गन । आमाले बच्चालाई गर्नुपरेको आलिङ्गन । यौवनले उत्पीडित भर्इ गर्नुपरेको आलिङ्गन । अथवा । सहनुपरेको आलिङ्गन । स्वीकारोक्तिको आलिङ्गन । नजाने कस्तो कस्तो आलिङ्गन । तर मान्छेहरू कत्ति साह्रो जड भएका । कति देहवादी भएका । फेरि तिनीहरू नै प्रेमका कुरा गर्छन् । मानौँकि, प्रेम प्लास्टिकको फोहोर झैँ जताततै छरपस्ट भएको छ । उनीहरू नै जोडी भएर हिँडेका छ्न् । नाच्दै , गाउँदै अनि जिस्किँदै । बच्चाजस्तै उन्मुक्त र जीवनको गहिराइ पनि बच्चा जस्तै । म सोच्छु हाँस्न, नाच्न, रमाउनु छ भने जत्ति बच्चा भयो त्यति काइदा । यसो भनेर म उनीहरूको निन्दा गरिरहेको छैन । म चाहन्नँ कसैको निन्दा गर्न । म त चाहन्छु उनीहरूको इज्जत गर्न । तर न म उनीहरूलाई निन्दा नै गर्न सकिरहेकोछु न इज्जत नै गर्न । किनभने उनीहरू कति निर्दोष छ्न् । सुन्दर देखिन्छन् । मलाई के लाग्छ भने हरेक निर्दोष सुन्दर हुन्छन् । त्यस्तै हरेक सुन्दरहरू निर्दोष हुन्छन् ।

निमेश बास्तोला
हाँस्नु , रमाउनु मात्र छ भने निर्दोष हुनुपर्यो । बच्चा झैँ । तर यदि योभन्दा माथि जीवनको गहिराइका साथ बाच्ने हो भने हाँसो उड्न पनि सक्छ । साथहरू टाढा हुन पनि सक्छन् । जीवन त यति विशाल छ कि यसभित्र घटित हुने अनुभवहरूलाई पूर्वानुमान गर्न नै सकिँदैन । अनि कसरी जीवन हाँसो मात्र हो भन्न सकिन्छ । पूर्वानुमान गर्न नसकिने गतिविधिमा सामेल हुन लाग्दा के हाँसो के दु:ख । जीवनको भोगाइका क्रममा जे आउँछ त्यसैलाई नै स्विकारिन्छ । मानिसको जीवन भनेको मस्तिष्कको अनुग्रह हो । मस्तिष्क नै मान्छेको विशेष अङ्ग हो । यसैले नै जीवनमा अद्भुत बनाउने छ । जति मान्छेको मस्तिष्क विकसित हुँदै गयो त्यति नै ऊ समयलाई अघि बढाउँदै लैजान्छ । समय अरू के नै हो र ? मान्छेको मस्तिष्कको परिसूचक । अनि मस्तिष्क विचारको उद्गम स्थल । जति मान्छेको मस्तिष्क विकसित हुँदै जान्छ त्यति नै वयस्क हुँदै जान्छ । अर्को शब्दमा , मेरो आँखा अगाडि घटेको घटनालाई लिएर भन्नु पर्दा मान्छेको मस्तिष्क जति वयस्क हुँदै गयो त्यति नै उसले मानव भावनाहरूलाई बुझ्छ । कलामा लुकेको भावलाई महसूस गर्छ । जति मान्छे प्रकृतिको छुद्रतामा वशीभूत छ त्यति नै उसमा पशुत्व छ । बच्चापना छ । निर्दोषता छ । जति नै अद्भुत कलाहरू किन नहुन ऊ त्यहाँ लुकेको सन्देश बुझ्दैन । ऊ बरु त्यसलाई तस्वीर खिच्ने स्थान र भोजखाने स्थान भनेर स्विकार्छ ।
मान्छेमान्छेबीच विचारहरूमा कत्ति धरै अन्तर छ । मलाई के लाग्छ भने विचारले नै मान्छेबीच अन्तर सृजना गर्दछ । मान्छेले जति नै समानताको कुरा गरे पनि मान्छेमान्छे कहिल्यै एउटै हुन सक्दैन । कसरी मान्छेहरू एउटै हुन सक्छन् ? शरीरको जैविक बनावट हेर्दा मात्र मान्छे एउटै होला तर प्रत्येक मान्छेको मस्तिष्कबाट प्रकम्पित विचारहरू अलग छन् । अर्थात् मन । मन भनेको मस्तिष्कले उत्पन्न गरेको विचारहरूको भण्डार हो । अथवा मस्तिष्कको तरङहरूको कुञ्ज हो । अनि मान्छे त्यही विचारहरूको निरन्तर प्रवाहको प्रतिफल हो । मान्छे जन्मिँदा निर्दोष भएर जन्मन्छ अनि हुर्कने क्रममा प्राप्त भएको शिक्षाबाट वयस्क हुँदै जान्छ । सबै मान्छे समान जैविक प्रक्रियाबाट गुज्रिने हो फरक यति हो कि हुर्कने क्रममा उनीहरूले वातावरणबाट कस्तो विचार प्राप्त गर्दछ्न् ।
मलाई अनुभव तथा विचारहरूको अवलोकनपश्चात के लाग्दछ भने, मान्छेले मानेको र चाहेको खुसीमा अहंको ठुलो भूमिका हुँदोरहेछ । मान्छे खुसी त केबल स्वयंलाई बढावा दिन पाउँदा मात्र हुँदो रहेछ । विचारहरूको भुमरीमा परी स्वयंको मौलिकता नै हराएर विचारहरूको धुलोले दिग्भ्रमित हुँदोरहेछ । अनि यसैलाई ऊ एकमात्र सत्य मान्दो रहेछ । जति यस अहंलाई पालनपोषण गर्न पायो त्यति खुशी हुँदोरहेछ । हाँस्ने र खेल्ने गर्दो रहेछ । इथोपियाको कुनै आदिवासी गाउँमा बस्नेहरूसँग न आधुनिक वैज्ञानिक ज्ञान छ न त व्यवहारमा, सत्यसँग कुनै नाता । उनीहरूलाई जनावरको सिकार गर्नुपर्दछ र त्यहीबाट जीविका गुजार्नु पर्दछ । उनीहरूले कृषिको नाममा केही जनावर पाले पनि त्यसैको दूध , रगत , छाला र हड्डीमा निर्भर रहनुपर्ने हुन्छ । फेरि सभ्य मानिने आधुनिक विज्ञानको जानकार, म घाँस मात्र खाने शुद्ध खसी मात्र खान्छु, त्यसैले शाकाहारी हुँ भन्ने तर्क दिएर आफू गर्वान्भित पनि हुँदोरहेछ । जे पनि तर्क दिएर आफूलाई सही दाबी गर्न सकिन्छ । तर अस्तित्व जान्ने क्रममा इमानदार हुँदा भने अनेक समस्याहरूको समाधान गर्नु पर्ने हुन्छ । कहिलेकाहीँ त आफ्नो अज्ञानको हिनताबोधले शिर निहुराएर हिँड्नु पर्ने पनि हुन्छ । यदि जीवनलाई ठट्टा नै बनाउने हो भने अस्तित्वको अगाडि ऊ पनि एउटा ठट्टा मात्रै हुनपुग्छ । तर जीवन के हो ? अनि कस्तो जीवन उच्च स्तरको हुन्छ ? जीवन यति विशाल छ कि यस बारेमा दिइएको र दिन सकिने सम्पूर्ण अर्थहरू यसभित्र अटाउँछ्न् । त्यसैले म जीवनलाई मस्तिष्कको, तरङ्गहरूको प्रतिफल भन्छु । बस्, म इमान्दार हुन चाहन्छु । आफ्ना विचारहरूप्रति । अनि आफैँप्रति ।
यदि मान्छेको जीवनको उद्देश्य केबल खुसी हुनु नै हो भने बजारहरू खुला छन् । बजारमा मान्छेका आधारभूत आवश्यकता मानिने साधनदेखि लिएर कल्पना गर्नसम्म सकिने सम्पूर्ण साधनहरू छन् । बस् त्यसलाई उपभोग गर्ने पात्रता आफूमा हुनुपर्यो । उक्त पात्रता निर्माण गर्न कै खातिर आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नु पर्यो । साधन जीवनको सहजीकरणको निम्ति हुनुपर्ने तर अहिले हेर्दा साधन नै जीवनको सम्पूर्ण अर्थको अभिभारा बोकेको प्रतीत भएको देखिन्छ । यदि मान्छेले आफ्नो अहंलाई निरन्तरता मात्र दिने हो भने, उसको जीवन खुशीले भरिन्छ । अस्तित्वलाई जान्ने क्रममा स्वयंका विचारहरूलाई केन्द्रमा राख्ने अथवा मैले जानेको नै एक मात्र सही हो भन्ने हो भने पनि जीवन हाँसो नै हाँसो छ । सत्य बोल्नु पर्छ भनिहिँडेका मान्छे कसैका विचारहरू तथा विभिन्न विश्वासहरूलाई पक्डेर पनि हाँस्न सकेका छन् । तर यदि अस्तित्वलाई यथारूपमा बुझ्ने हो अथवा बुझ्न चाहने मात्र हो भने पनि हामीले जीवन हाँसो मात्र हो भन्ने मानेर भुल गर्नु भएन । किनकि जे पनि त हुन सक्छ ।
मान्छे भएर मान्छेकै बारेमा लेख्न कति कठिन छ । मान्छेहरूले जनावरहरूको अध्ययन गर्छन् र त्यहीबाट मान्छेको मनोवैज्ञानिक पक्षबारे पनि निष्कर्ष निकाल्छ्न् । मलाई त आफू नै बुझ्न मुस्किल भइरहेछ । म त केबल प्रयास गर्दछु आफ्नो अनुभवबाट अस्तित्वलाई बुझ्ने । यो कठिन छ । मलाई थाहा छ । तर असम्भव भने छैन कि कि मान्छेको विचारको कुञ्ज फरक होला तर प्रक्रिया भने उही हो । मस्तिष्कको प्रकृति उही हो । बस्, बुझाइमा इमानदारी चाहियो । म आफूलाई कत्ति पनि माथि नउठाइ, बुझ्ने प्रयास गर्दछु । मैले यो बुझ्न जरुरी छ कि विचारहरूबाट म जे निर्णय निकाल्ने छु त्यो कुनै पुर्वाग्रह बिनाको होस् ।
मैले यो लेख्दै गर्दा करिब पाँच मिटरजति पर, एउटा स्त्री पनि आफ्नो डायरीमा लेख्दै थिर्इ । एक्लै , सुनसान अनि गम्भीर । यस्तो मैले कहिल्यै देखेको थिइनँ । सायद हाम्रो केही विचार मिल्न सक्थ्यो कि ! यदि म केबल आनन्द चाहने भएको हुँदो हुँ सायद बोल्ने थिए । उसको नाम सोध्ने थिएँ । फेसबुकमा मित्रताको आग्रह गर्ने थिए । अनि त्यसपछि त्यही हो । के भन्न जरुरी छ र । तर न मैले बोल्ने हिम्मत नै गरेँ न उसले नै गरी । तर अब यो यथार्थमा सम्भाव छैन, किनकि धेरैबेरको बसाइ पश्चात् ऊ भर्खरै यहाँबाट उठेर गइसकी । हो, यही त छ । के हाँसो के दु:ख । अनि फेरि यसैले गहिरिएर सोच्ने बनाउँछ । साँच्ची नै वास्तविकता जान्न चाहनेले, यस्ता घटनाहरूलाई हाँसो र दु:खको बीचमा रहेर जिउनु पर्दछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

