यस लेखनीको आरम्भ बिन्दु सिंहदरबारको मूल भवनको दक्षिण पश्चिम कुनाबाट रेडियो नेपालतिर तन्किएको बाटो हो । बाटोको आडमा एउटा होचो सेतो रङ्गको पर्खाल छ । यो पर्खालसँग जोडिएको कुरा गर्ने बेलामा पर्खाल यति होचो थिएन । पछि पुरपार पारेर होचो भएको हो । यो पर्खाल गएर रेडियो नेपालको गेटमा जोडिएको छ । अहिले सधैँजसो खुला देखिने यहाँ ग्रिलले बनेको गेट थियो । त्यही गेटको आडमा थियो, एउटा पाले घर ।

अब पर्खालको कुरा गरौँ । पर्खालमा लहरै बसेका हुन्थे बालबालिकाहरू । धेरै बालक अनि केही बालिका । उनीहरूको हातमा हुन्थ्यो कविता कोरिएको चिर्कटो । अलिक पुरानो र परिचित भैसकेकोले कविताको सङ्कलन गर्थ्यो र पालेघरमा रहेको व्यक्ति वा स्वयम् वासुदेव मुनालको हातमा थमाउँथ्यो । केही छिनपछि छानिएका कविताहरू वाचन गर्न बोलाइन्थ्यो ।

जम्मा एक पटक हो यो पङ्क्तिकार कविता पढ्न भनेर त्यो पर्खालमा बस्न पुगेको । नत्र त ऊ कथा लेख्न नै रूचाउँथ्यो त्यस बेला पनि । तर आज सिंहदरबारको त्यो होचो पर्खाल र त्यस दिन पढेको कविताबाट नै कुरा शुरू गरौँ ।

विश्‍व कुइकेल

त्यतिबेला बालबालिकाले लेख्ने कविताहरूको विषयवस्तु कि त देश सुन्दर भएको विषयमा हुन्थ्यो कि हामी साना भएको विषयमा । यति पनि नभए मेरा साथी, बा, आमा र दिदी बहिनीको विषयमा । यति पनि नभए त्यही सुन्दर देशको कुनै सुन्दर खेलमैदानमा खेल खेल्ने विषय । उसको त्यो कविता पनि मेरो देश सुन्दर भएको नै विषयमा थियो । स्वाभाविकरूपमा त्यसमा हिमाल, पहाड र तराईका कुरा थिए । यहाँका जातजातिका कुरा थिए । धर्मकर्म र मिलेर बसेका मानिसका कुरा थिए । सामाजिक सम्बन्धका कुरा थिए । जे होस्, त्यसका अधिकांश हरफहरू लेखककै थिए तर बीचमा दुई लाइन कविता भने उसका बाका कविताबाट थियो । शायद यो उसमा परेको बाको छापको प्रभाव थियो ।

वास्तवमा उसलाई मेरो देश सुन्दर छ भन्ने पढाइएको थियो । यो पढाउने उसको विद्यालयका गुरु मात्र नभई उसका निजामती सेवामा भएका बा पनि थिए । उसले काँठको भूगोलबाट चिहाउने सुन्दरीजल, नगरकोट र तारेभीर सुन्दर नै देखिन्थ्यो । वरिपरिको अरू दृश्य पनि सुन्दर नै देखिन्थ्यो । हिउँदको हरियो गहुँ र बर्खाको धान सुन्दर देखिन्थ्यो । फुल्चोकी, नगरकोट र तारेभीरमा हिउँदमा पर्ने हिउँ सुन्दर देखिन्थ्यो । शायद जीवनहरूको तुलना गर्ने तागत नभइसकेर होला बाँकी जीवन पनि सुन्दर नै लाग्थ्यो उसलाई ।

पञ्चायतकालको जागिरे उसका बाले पनि सायद नेपाल सुन्दर देखेर नै होला नेपाल फुलबारी हो भन्दै कविता लेखेका थिए जसको दुई लाइन खुसुक्क उसले सारेको थियो । नेपालका धेरै कुनामा जागिरे जीवन विताएका बाले सायद नेपाल सुन्दर नै देखेका होलान् । त्यसैले त आफ्नो जागिरे जीवनको पचहत्तर प्रतिशत समय उपत्यकाबाहिर नै बिताएका । त्यो पनि दार्चुलादेखि संखुवासभासम्म । बाले देखेको सुन्दर नेपाल खोज्दै तीस प्रतिशत समय त उसले पनि नेपाल खोज्दै बिताइसक्यो र अझै पनि उसको त्यो भोक हराएको छैन ।

बाको पालामा भूगोल सुन्दर थियो, मान्छेका व्यवहार पनि सुन्दर थिए । मान्छेका दु:ख भने पक्कै सुन्दर थिएनन् । वहाँलाई मान्छेका ती दु:ख सुन्दर नभएको हेर्ने मन सुन्दर बनाइदिन निजामती सेवाले शायद सकेको थिएन । आफ्नो विवेकबाट त्यो देखेको पनि हुनसक्छ, जुन अलग्गै कुरा हो । जागिरेले सेवा दिनेका लागि त्यो समय सुन्दर पक्कै थिएनन् सेवा लिने हिसाबले पनि। तत्कालीन समयको सेवाको संरचनाको हिसाबले पनि त्यो थिएन ।

जागिर खानेलाई सुन्दर नै हुनुपर्छ किनकि उनले विभागका महानिर्देशकभन्दा माथि भेटेको कुरा सामान्यतया: गर्दै गरेनन् । उनका जागिरे समस्याहरू शायद महानिर्देशक वा सचिवको नै तहबाट समाधान हुन्थ्यो कि ! त्यसमा अड्चन ल्याउने पक्षहरू शायद धेरै कम पो थिए कि !

होचो पर्खालमा एक पटक मात्र बस्न पुगेको केटो कालान्तरमा निजामती सेवामा नै पुग्यो । उसका लागि पनि ती परिवेशहरू जोडिएर आउने नै भए । यही होचो पर्खालले छुट्याएको एकातर्फ लामो समय सामान्य प्रशासन मन्त्रालय बस्यो । पर्खालको दायाँबायाँ रहेका घरहरूमा सर्न उसले त्यो पर्खाल पारिको मन्त्रालयमा पनि पुग्यो । तर त्यो बिन्दु तय गर्न उसले मन्त्रालयको सचिवको मात्र भर नपरेको नै हुनुपर्छ ।

“निजामती सेवा त एकपुस्ते सेवा हो । फेरि तपाईं किन आउनुभयो यसमा ?” एक जना मित्रले उसलाई सोधेका थिए ।

उसले भन्यो, “मलाई नेपाल सुन्दर छ भनेर निजामती सेवामा रहेका बाले भनेकोले आएको हुँ ।“

यो प्रश्न र उत्तरको बीचमा सङ्गति छ कि छैन उसलाई थाहा छैन तर यो लेख्दै गर्दा उसले कुल छयाननब्बे पृष्ठमध्ये झण्डै पचास प्रतिशतमा निजामती सेवा कसरी निकम्मा भएको छ व्याख्या गर्नमा नै खर्च गरिएको पत्रिकाको अङ्क पढिसकेको छ । निजामती सेवामा तीस प्रतिशत मात्र इमान्दार कर्मचारी छन् भन्ने आलेख पनि पढिसकेको छ र अधिकांश राजनीतिक नेतृत्वले कर्मचारीतन्त्रले गर्दा काम गर्न सकिएन भनेको सिनी पनि सकेको छ ।

कवितातर्फ नै फर्कौँ एकपटक । त्यो होचो पर्खालमा बस्नेले बाल्यकालमा लेखेको वा उसका बाले लेख्नेभन्दा फरक कविताहरू लेखिन्छन्,  अझ भनौं छापिन्छन् पनि ।त्यतिबेला कोही कसैले लेखे पनि नछापिने खालका यी कविताहरूमा देश सुन्दर भएका भन्दा देश कुरूप बनाउन लागिपरेकाहरूको ब्याख्या धेरै हुन्छ । तब उसलाई फेरि पनि कविता लेख्न मन लाग्छ । प्रत्येक शब्दले गम्भिर अर्थ दिने कविता । केही लाइन लेखिसकेपछि उसले आफू निजामति सेवामा रहेको कुरा सम्झन्छ र लेखिसकेपछि उत्पन्न हुने असर सम्झन्छ । उसका एक पत्रकार मित्रले घरीघरी भनेको एक संवाद पनि सम्झन्छ ।

“जेसुकै भन्नूस् गुरू! यो देश बिगार्ने कर्मचारी नै हो”

त्यसपछि लेखिसकेको केही हरफ मेटिन्छन् र कविता असमयमा नै सिद्धिन्छ । फेरि पनि उसले बाको जस्तै नेपाल सुन्दर भएको कविता उसले लेख्नै सक्दैन किनकि यहाँ मान्छेहरूको पीडा पनि छ ।

एक पटक उसले आफ्ना बाका कुनै सहकर्मीलाई कुनै जिल्लामा कुनै दलको कार्यकर्ताको रूपमा भेटेछ । उनले भनेछन्, “बुझ्नुभयो, तपाईंका बा र हामीसँगै काम गर्दा निक्कै रमाइलो थियो ।”

यति सुनेर पुलकित भएको उसले त्यो ठाउँ सुन्दर भएको कविता लेख्न तयार भएछ । केही दिनमा नै ती मान्छेले उसलाई खोलाका विभिन्न भागमा डोजर लगाउन नराम्रोसँग दबाब दिएछन् । यसका लागि उसका आफ्ना वर्गका  मान्छेहरूलाई पनि प्रयोग गरिएछ । त्यसपछि ऊबाट कविता लेखिएनछ । विभिन्न पेशा, वर्ग, क्षेत्र र लिङ्गका मान्छेहरू समय समयमा औँला ठडाउँदै उसलाई चेतावनी दिएछन् ।

“खबरदार! कविता लेख्लास् ।नलेख नेपाल सुन्दर भएको कविता जहाँ कर्मचारीतन्त्रले गज्जब काम गरेको होस् ।”

तथापि उसलाई कविता लेख्ने हुटहुटीले अझै छोडेको छैन । यसका लागि सुन्दरता खोज्ने हुटहुटीले पनि छोडेको छैन । सैयौँ सुन्दर मान्छेहरू भेटेको छ उसले जो निरासाको बादलबाट बाहिर निक्लिन नै सकेका छैनन् । विभिन्न पेशा, वर्ग र क्षेत्रमा भेटेको छ । राष्ट्रसेवकको रूपमा पनि भेटेको छ । युवाहरूको लाइन विमानस्थलमा राहदानी बोकेर बस्दा पनि एउटा आशावादिता देखेको छ उसले । भिजिट भिसामा दुबई जान कस्सिएकी युवतीको आँखामा पनि देखेको छ । विद्यालय शिक्षा सक्दै गरेको छात्रछात्राको आँखामा र भर्खर जागिर प्रवेश गरेको नवप्रवेशीको आँखामा आशावादिता देखेको छ । पहिलो कथा लेख्दै गरेको व्यक्तिमा वा पहिलो चित्र कोर्दै गरेको चित्रकारमा सबैमा देखेको छ । टिकटक भिडियो बनाउँदै गरेको युवतीमा र एक अन्तरा गीत गाउँदै गरेको युवामा देखेको छ । पहिलो रिपोर्टिङ्ग गर्दै गरेको पत्रकार र स्टार्टअप व्यवसायको बारेमा सोच्दै गरेको युवामा आशावादिता देखेको छ ।

साच्चै ती सपना देख्नेका आँखाहरू सुन्दर छन्, नेपाल सुन्दर भए जस्तै । कविता लेख्नलाई ती पर्याप्त छन् । तर केही छिन वा दिनमा तिनको सपनाहरू उजाड देखिन्छन् । उनीहरूका संघर्षका कथाहरू सुन्दा लाग्छ, त्यसलाई टेको दिने हात नै फेला परेन । एउटा मान्छे पनि फेला परेन । वा जो फेला पर्‍यो त्यसले पनि भुवँरीमा परेर टेको दिन नै सकेन । अन्तिममा एउटा निचोड सहितको लेख पनि पढ्छ उसले जसको निचोड हुन्छ, अप्रभावकारी सार्वजनिक सेवाको कारण तिनका सबै सपना तुहिए ।

त्यो होचो पर्खालको पश्चिमपट्टि नै सामान्य प्रशासन मन्त्रालय रहँदाको कुरा हो । एक कार्यक्रमको प्रमुख अतिथि थिए, सामान्य प्रशासन सचिव । पन्ध्र वर्ष अघिको त्यो कार्यक्रम थियो, नवप्रवेशी शाखा अधिकृतको दीक्षान्त समारोह ।

उनले विद्यार्थी सङ्गठनका सभापतिकै शैलीमा भाषण गरेका नवप्रवेशी अधिकृतहरूलाई औँला ठड्याउँदै भने, “खुब धार छ तिमीहरूको खुकुरीमा । आजको पाँच वर्षपछि यही धार भएको खुकुरी बोकेर मलाई भेट्न आउनू ।“

उसलाई लाग्छ, पाँच वर्षपछि कोही पनि आफ्नो धार भएको खुकुरी बोकेर ती पूर्व सचिवलाई भेट्न गएनन् । बरू निजामति सेवातर्फ शक्ति निश्रित हुने अमुक स्थानतर्फ खुकुरीमा धार लगाउन र पाइन हाल्न पुगे होलान् ।

अब कविताको अन्तिम कुरा गरौँ।

सिंहदरबारभित्रको त्यो होचो पर्खालबाट लगभग दुई सय मिटर पश्चिमतर्फ लागेपछि एउटा ठूलो गेट भेटिन्छ । यो गेटको बाहिर एउटा पूर्व शासकको शालिक सँधै औंला ठड्याएर उभिएको हुन्छ । त्यसको काखमा केही प्रहरी निरन्तर सिट्ठी फुकेर सवारी धपाइरहेका हुन्छन् । त्यहीँ नजिकै नेपालको सर्बोच्च न्यायालय पनि छ । इतिहासको साक्षी टुकुचा पनि बगिरहेको छ । त्यहीँनेर उभिएर उसलाई एउटा कविता पढ्न मन लागेको छ । त्यो कवितामा सैयौं भाषणहरूको निचोड होस् जसमा मान्छेहरू आफ्ना कमजोरीको घोषणा गरून् । सैयौं आत्मवृत्तान्तको निचोड होस् जसमा यो देश फलानाले बनाउन खोजेको थियो, मैले रोकेको हुँ भन्ने स्वीकारोक्ति होस् । सैयौँ लेखहरू जसले कुनै पनि विषय निरपेक्ष हुँदैन भन्दै सापेक्षताको वकालत गरेको होस् । विचौलियाहरूको तागतको सविस्तार व्याख्या गरिएको होस् । र यसले अन्तिममा नभनेको होस्, निकम्मा कर्मचारीतन्त्र, विकासको बाधक।

हो, त्यो कवितामा रेडियो नेपाल जाने बाटोको पश्चिमतर्फको होचो पर्खालमा बसेर बाल कार्यक्रममा वाचन गर्न बुझाएको त्यही कवितामा जस्तै नेपाल सुन्दर भएको व्याख्या होस् । फेरि पनि एक पटक त्यस्तै व्याख्या होस् जसको वाचन गर्दा भन्नु नपरोस् “मेरो कविताको शीर्षक छ: सुन्दर नेपाल र निकम्मा कर्मचारीतन्त्र”।