शुक्रबार राति ठूलो हावाहुरी चल्यो । विनाश धेरै भए । बाहिर डड्याङ्डुडुङ छ । माथि छतमा पानीको ट्याङ्की हुर्रिएको आवाज आउँछ । वरपरका घरबाट पनि त्यस्तै आवाज आएका छन् । अब घरै उखेल्लिएला जस्तो छ । मन कष्टमा छ, बुबाआमा त्यो अरण्य प्रान्तमा कसो गर्दै हुनुहुन्छ ? हामी त यता रक्षित छौं । परन्तु रक्षित छु भन्ने भाव मनमा कत्ति आउँदैन । उतैको चिन्ताले मेरो मन यस्तो भइरहन्छ ।

घरमा त्यस्तै विनाशक आँधीहुरी चल्दैछ रे । सहरको पक्की घरको अवस्था यस्तो छ भने ढुङ्गा माटाको घर जस्ताको छानो के भए होलान् ? गोठको धन्छारको छानो निश्चय उडायो, हो । ढुङ्गाको छानोलाई भने त्यसले केही नगर्ला । विनाशभन्दा विनाशको सूचक भयङ्कर डरलाग्दो हुने रहेछ । घरमा बुबाआमा मात्रै हुनुहुन्छ । नजिकै वरपर अरू बास छैनन् । यस घडी उहाँहरूले कस्तो अनुभव गर्नुभएको होला ? निश्चय त्यहाँ आतेसलाग्दो भएको छ ।

दिउँसो नजिकैको गोर्खाली मेडिकलमा डब्लु.बी.सी. को मात्रा कति छ, चेक गर्न गएकी थिएँ । न्यूनतम चार हजार सी.एम.एम  हुनु पर्नेमा घटेर तीन हजारमा झरेछ । त्यसले पारेको तत्कालको असर मैले थाहै पाइनँ ।  एलर्जी हुने ज्वरो आउने केही भएन । लक्षण चाहिँ त्यही हो रे । ज्वरो फुटेपछि थामिँदैन रे । ल्याबमा कम्प्युटर अगाडि बसेका मानिसले सोधे – तपाईंलाई ज्वरो छ कि छैन ?

मैले छैन भनेको सुनेर उनले विश्वासै गरेनन् । मैले उनको कुरा नबुझेर हो कि भनी उनले पटक पटक त्यही सोधे । साँच्ची नै ज्वरो मलाई थिएन । विश्वास नलागेर थर्मोमिटर दिए, तापक्रम नाप्न । अनि त उनी आश्चर्यचकित भए ।

एक युवतीले कुहिनामाथि रबरले बाँधेर मलाई मुठ्ठी कस्न भनेकी छन् । एक सिरिन्ज ब्लड निकाल्न पनि उनलाई बडो कष्ट भयो । “किन यस्तो भएको ?” मैले सोधें ।

“शरीरमा ब्लडको मात्रा कम्ती हुँदा यस्तो हुन्छ ” उनको उत्तरले म गम्भीर भएँ । आखिर किन यस्तो भयो ? अघिल्लोपाली डाक्टरले प्रेसक्रिप्शनमा रगत बढाउने औषधि र भिटामिनको नामसमेत लेखिदिएका थिए । त्यो अहिले पनि खाइरहेकी छु । अस्पतालमा धेरै पटक जाँच गरिसकें । बिमार केहो पत्ता लाग्दैन । अब के हुन्छ ? थाहा छैन । अचेल मसँग एउटै रहर छैन । बस्, बाँच्न चाहन्छु, मनमा किन हो यही कुरा मात्र आइरहन्छ । यसअघिका सम्पूर्ण चेक जाँच व्यर्थ भए । मलाई के भएको छ अझै थाहा थिएन ।

भोक कत्ति लाग्दैन । खाना खाँदै गर्दा वृक्षालाई सोध्छु, “नानी ! आजको खाना कस्तो छ ?”  स्वादिलो मानेर खानमै व्यस्त भएकी उनी भन्छिन्, “मीठो छ सानिमा । अचार त झन् बढी ।”

उनका कुरा सुनेर किन हो मलाई एकदम हाँसो लाग्यो । यस्तो खाना के मीठो हुन सक्छ ? उनले भने जस्तै के यो मीठो छ ? विश्वास लाग्दैन फेरि उनको दाजुलाई सोध्छु, “कस्तो छ विवेक ?” उसले पनि बहिनीकै उत्तर दियो । दुई तीन दिनको भोकाले भोजन पाएझैं गरेका विवेक र नानीलाई  मैले त्यस्तो प्रश्न गर्नु ठीक थिएन । वास्तवमा हाम्रो भान्छा स्वादिष्ट थियो थिएन मलाई शंका लाग्छ । मीठो छ कसरी भनौं मलाई मन परिरहेको छैन । नमीठो पनि कसरी ? दाजु बहिनी दुवैले चाख मानेर खाएका छन् । उनीहरूले मुख मिठ्याएर खाएको देख्दा मैले त्यसरी खाने दिन कहिले आउला ? अब के म त्यसरी नै खान सकूला ? मनमा यस्तै अपत्यारिला र अनौठा कुराहरू थिए ।

मुटुको समस्याले पनि खाना अरुची हुन्छ रे । त्यही सन्देह बोकेर बुधबार वीर हस्पिटल गएँ । त्यो मेरै लागि बनिएको अस्पताल जस्तो लाग्छ । त्यसैले होला त्यहाँ जाँदा मलाई आफ्नो हुनुको अनुभूत हुन्छ ।  प्राइभेट अस्पताल देख्यो कि म तर्सिन्छु । त्यतिखेर अजिताले भनेको कुरा अचानक मैले सम्झिएँ । भनेकी थिई, ई.सी.जी गर्दा ब्रा माथि सार्नु पर्दो रहेछ । बाबु छेउमै थियो, मलाई बडो शरम लाग्यो ।

अनिता पन्थी

छातीको भिडियो एक्स रे अनि ई.सी.जी मैले दुवै गर्नु पर्छ रे । डाक्टरले त्यही भनेका छन् । ई.सी.जी रूममा जानुअघि नै मेरो मुटु ढुक् ढुक् गर्दै थियो । अजिताको ई.सी.जी गरेको ठाउँमा एक अधबैँसे पुरुष थिए रे । मैले त्यस्तो नहोस् भनेकी छु । मलाई निकै अप्ठ्यारो लाग्छ । आफ्नो नाङ्गो शरीर देखेर म आफैँलाई लाज लाग्छ । नुहाउने कोठामा जाँदा ऐना अगाडि सम्मुखै हेर्ने आँट अझै आउँदैन । बाथरुममा मात्रै यो देह नङ्गिने गर्छ ।

एक महिला र पुरुष त्यहाँ दुवै थिए । ई.सी.जी.को जाँच निश्चय तिनै महिलाले गर्ने होला ? मन अलिक शान्त भयो । उनी प्रवेशद्वारको मुखैमा थिइन्, बिरामी दर्ता गराउने ढड्डा लिएर बसेकी । ती पुरुष चाहिँ हरियो पर्दा लगाएको शैय्या छेउको कुर्सीमा  थिए । उः बेडमा गएर सुत्दै गर्नु, उनले त्यसो भन्दा मैले छिटो छिटो सास फेरेकी थिएँ । अबोध बालक जस्तै के गरौं कसो गरौं भयो । अलमलमा परें । शंकोचको  भारी बेडमा बिसाएँ । म खुम्चिएकी छु । जुत्ता पनि खोल्नु पर्ने रहेछ । खोलें । व्याग एउटा कुनामा अघि नै राखेकी थिएँ । ई.सी.जी. को विशेषज्ञ हुन डाक्टरी नै गर्नुपर्छ या त सामान्य अध्ययनले पुग्ने होला ? यिनी डाक्टर हुन् कि होइनन् । त्यसो त उनी जेसुकै  होऊन् मलाई किन चासो ? सँगै रहेकी स्टाफसँग उनी गफ गर्दै थिए ।

त्यो शैय्यामा सुत्न मलाई कस्तो दिगदिग लाग्यो । बेडको तन्ना मैलो देखिन्थ्यो । त्यहाँ कस्ता कति बिरामी आएर सुते होलान् ? अझै तन्ना फेरिएको थिएन । म सुत्नु अघि त्यहाँ को आएर सुत्यो ? अनि म गएपछि फेरि को आउने हो ? डाक्टरले तयारी हुन भनेका छन् । म उत्तानो परेर सुतेकी छु । शरीर तन्काए पनि यो मन तन्किएन । ऊ एउटै डल्लो पर्यो, गुडुल्कियो । बाहिरी वस्त्र सहित ब्रामाथि खिच्न भनेका छन् । सार्दा सार्दै घाँटीमै लगेर खाँदें। म आधा भाग पुरै नाङ्गिएँ । झ्याप्पै नाङ्गिन मलाई निकै असहज भयो । सुस्तरी गरें । उनी अगाडि नै थिए, मैले त्यसो गर्दा ।  “यो लुगा माथि सार्नु” शुरुमा त उनैले मेरो लुगाको फेरो माथि सार्न सहयोग गरे । म पानी पानी भएँ । नली खुट्टाको पाइन्ट पनि अल्लि माथि नै सार्न लगाए । कसिलो छ कहाँ सर्छ र ? बलैले माथि तानें । गोलीगाँठादेखि माथि दुवै गोडामा सनासो जस्तो के हो कुन्नि ? त्यसले क्याप्प अठ्याएको छ ।

त्यो चिसो ट्याप्प टाँसिने पथार्द केहो फेरि ? माथिल्लो पेटदेखि वक्षस्थलको फेदैसम्म ठाउँ ठाउँमा ट्याप ट्याप टाँसिएको छ । क्याप्प अठ्याउने चिसो वस्तु । तल्लो पेटमा त्यस्तो केही टाँसेनन् । पाइन्ट त फेरि अलिक तलै झार्न लगाएका थिए । कटीको फेदैमा । त्यसपछि त मुख्य भाग नै देखिने थियो थोरै तल पुर्याएको भए । उनी बेलाबेला छातीतिर यसो आँखा लगाउँथे । आफू त्यहाँबाट कहिले बाहिरिऊँ जस्तो भयो । “कति वर्ष हुनुभयो ?” उनले सोधेका छन् । वर्ष किन चाहियो ? ई.सी.जी का लागि पनि उमेर सोधिरहनु पर्छ र ? किन सोधेका हुन् ? त्यो मनोविज्ञान मैले बुझ्न सकिनँ । फेरि केही बुझेजस्तो पनि लाग्छ । झण्डै डेढ  मिनेटपछि त्यो टाँस्ने कुरा निकाले । ती छोरी मान्छे पर्दा बाहिर थिइन् । अन्तिममा कसरी छोइएला जसरी उनले मुख्य ठाउँमा हात ढेसे । मानौं,  झुक्किएर त्यसो भएको हो जस्तो गरे पनि, झुक्किएर चाहिँ होइन । तर मैले केही भन्न सकिनँ । भन्ने ठाउँ पनि थिएन । आखिर त्यसलाई नराम्रो दृष्टिले हेर्नु पर्ने नै के थियो र ?  त्यही छुनको लागि उनले मलाई निर्वस्त्र हुनु भनेका होइनन् । मेरो मनले अन्यथा सोचेन । सोचेर हुनु पो के थियो  ?  त्यो ठूलो गल्ती होइन । त्यस भन्दा बढी अरू केही हुन्थ्यो भने अर्कै कुरा । उनी नकारात्मक थिए भने पनि मेरो क्षति नै के भयो र ? आफू  सकारात्मक हुन सक्नु पर्छ बस् त्यत्ति हो ? राम्रा नराम्रा कुरा सबै हाम्रै दृष्टि अनुसार अर्थिएका परिभाषा त हुन् नि । हाम्रै दृष्टिले निर्धारण गरेका राम्रा नराम्रा हुन् भने त्यत्तिको भरमा म किन पिरिनु ? मलाई के नै भएको छ र ?  उनले त्यसो गर्दा आफू अरक्षित भएको मैले सोचिनँ । रक्षित अरक्षितको भावना पहिले आफू भित्र हुनुपर्छ । म आफूबाट सदा रक्षित छु । अरक्षित हुँदो हुँ त उनको त्यही स्पर्शले मलाई दुर्बल बनाउने थियो । अनि भन्ने थिएँ, पुरुषले महिलालाई यौनिकताको दृष्टिले मात्र किन हेर्ने गर्छन् ? पुरुषको दृष्टिमा म जस्तो देखिएँ वास्तवमा म त्यो होइन भने उनीहरूको दृष्टिकोणले मलाई कसरी असर गर्न सक्छ ?  उनीहरूको परिभाषामा आफू नअर्थिए पुगेन र ?  मेरो लागि म आफैं परिभाषा बनाउन सक्छु भने उनीहरूको परिभाषा ठीक छ छैन किन व्यर्थको वहस चाहियो ?

महिला र  पुरुषबीचका असमानतामा जति बिबाद हुँदै आएको छ, त्यसमा मेरो कुनै दृष्टिकोण छैन । महिला त्यस विषयमा  जति गम्भीर हुन्छन् उति नै कमजोर सावित भए जस्तो लाग्छ । अझै पनि उनीहरू पुरुषको दृष्टिमा अर्थिन चाहन्छन् । त्यसैले परिभाषा बदल्न विद्रोह गर्छन् । आफूले आफैंलाई हेर्ने दृष्टि निर्माण गर्न सक्थे भने पुरुषको दृष्टि बदलिनु नबदलिनुमा कुनै औचित्य थिएन ।

छिट्टै उठेर लुगा कति बेला माथि सारौं भएको थियो । यस्तो ठाउँमा महिलाको जाँच गर्न महिला विशेषज्ञ  भइदिए कति सहज हुन्थ्यो होला । अब त्यस्तै अलमल परिने ठाउँमा जानु छ, छाती एक्स रे गर्न । केटा मानिस होलान् शायद त्यहाँ पनि । ई.सी.जी गरेको रिपोर्ट उतिनखेरै दिँदा रहेछन् । १०६ नम्बर कोठा खोज्दै गएकी छु एक्स रे त्यहीँ गरिन्छ । म ठीक ठाउँमा पुगिसकेकी छु । मानिसको घुइँचो कम्ती छ । होइन त्यहाँ त स्टाफ बाहेक कोही थिएन । अब कसो गर्न लगाउने हुन् ? सुत्नु पर्ने हो कि उठेरै हुने हो ?  त्यहाँ दुवै स्टाफ पुरुष छन् । अल्मलिंदै ढोकामा पुगेकी थिएँ । एउटा युवक वस्त्र लगाउँदै फुत्त बाहिर निस्कियो । त्यो देखेर मेरो मन अघिको जस्तै भयो । यहाँ पनि लुगा खोल्नु पर्ने रहेछ । म ढोकामै छु, भित्रका ती विशेषज्ञले छाती एक्स रे गर्ने यहीं हो भनी इशारामा बोलाएँ । कता केहो मलाई थाहा थिएन । पहिलो पटक यस्तो अनुभव गर्दै थिएँ । अघिको जसरी वस्त्र माथि सार्नु पर्ने हो कि ?

प्लाइउडले पार्टिसन गरिएको कोठा । पूर्वपट्टि भित्ताको एउटा कुनामा कागजपत्र लिएर एक पुरुष बसेका छन् । उनको अगाडि एउटा कम्प्युटर छ । ठूला ठूला यन्त्र जडिएका ती के हुन् ? छाती एक्स रे गर्ने मेसिन यही होला । अघि इशारामा बोलाएका ती मानिसले माथिको लुगा खोलेर, गाउन लगाएर आउनु भनेका छन् । वस्त्र फार्नेफेर्ने एउटा ट्रायल रुम जतिकै  ठिक्कको छ, प्लाइउडले बारबेर गरेको  । ढोकाको सट्टा पटुका जस्तै खुम्चिएर एकै ठाउँमा सोरिएको हरियो पर्दा छ । गाउनहरू अलपत्र छन् । कति भुइँमा खसेका छन्, सम्याएर नराखिएको उल्टापाल्टी छन् । एउटा चाहिँ किलामा झुण्डिएको थियो । मैले त्यही लगाएँ । रातो पृष्ठभूमिमा घुर्मैलो सेता डोरा भएको । माथिको सर्ट खोलें । ब्रा खोल्नु पर्दैन होला मैले त्यही सोचें । गाउनको तुना पछाडि बाँधे पनि दुवैतिरको फेरो ल्याफ्रयाक्क अगाडि आउन खोज्थ्यो, ठूलो साइजको भएर त्यस्तो भएको होला नि । जेहोस अगाडिको लाज छोपिएको थियो ।

त्यति गरेर म उनको अगाडि तयार भएको देखाउन गएँ । एक्कासी रिसाउँदै ती मानिसले भने, मैले के भनेको थिएँ अघि ? म अक्मकिएँ । उनले के भनेका थिए र ? म सम्झन खोज्छु । केही कुरा पनि मैले सम्झिनँ । उनले भने जस्तै त गरेकी छु नि मैले । के चाहिँ भएन फेरि ? किन रिसाएका हुन त्यसरी ? उनले मलाई एकदम उपेक्षित दृष्टिले हेरेजस्तो लाग्थ्यो । किन त्यस्तो दृष्टि ? मैले के भूल गरेकी छु र ? भूल नै भएछ भने पनि एक पटकको भूल के क्षम्य हुँदैन ?  अस्पतालमा सबै कुरा जानेर को आएको हुन्छ र ? म त पहिलो पटक आएकी हुँ नि । मानिस बडो रिसाहा रहेछन् । म असमञ्जसमा परें । निरीह र अञ्जान मिश्रित स्वरमा भनें, अघि के भन्नु भएको थियो मलाई सम्झना भएन । मेरो यस्तो सोधाइले उनको रीस अझै बढेको थियो । केही दकस माने झैं भने, ब्रा खोलेर आउनूस् ।

उनका कुरा सुनेर म झस्याङ्ग भएँ । माथिको लुगा खोल्नु उनले अघि नै भनेका हुन् । परन्तु ब्रा खोल्नु पर्छ चाहिँ भनेका होइनन्, मैले यही सोचेर खोलेको थिइनँ । भरे त उनी त्यही कारण रिसाएका रहेछन् ।

मेरो ढाड नाङ्गै थियो । यद्यपि मलाई खासै शरम थिएन । सर्माउनु पर्ने त्यहाँ के छ र ? अगाडिको लाज छोपिएकै छ । विश्वास छ अघि झैं अब म नाङ्गिनु पर्दैन । भुइँमा थपक्क गाडिएको एउटा चेप्टो लामो यन्त्रमा चपक्क अँगालो कस्न लगाए उनले लामो सास फेर्ने भनेका छन् । यन्त्रको भित्री भाग तलबाट सर्दै माथि आएको बाहिरैबाट देखिएको छ । ठूलोखाले फोटोकपी मेसिनको भित्री भाग आहोरदोहोर गरेजस्तै लाग्यो । त्यो भित्री भाग छातीबाट माथि पुगिसकेको थियो । अब पर्दैन उनले भने । बल्ल पार पाइयो । मनमा जटिल भार घटेको अनुभव भयो ।

ई.सी.जी मा उतिनखेरै रिपोर्ट पाएको सम्झिएर त्यहाँ पनि मैले उस्तै आशा राखें । आफ्नो वस्त्र लगाएर म अझै काम बाँकी छ भनेर त्यहाँ रोकिएकी छु, उनले त्यही बुझे । भनेका छन्, काम सकियो जानूस् । उनले एक्स रे रिपोर्ट दिन बिर्सिएर अब काम सकियो भनेका हुन् । मेरो यस्तो बुझाइ थियो । “अनि रिपोर्ट” मैले भनें । मान्छे हेर्दैमा रीस उठ्दो अनुहारका थिए । मेरो उत्तर नदिई भित्तामा इशारा गर्दै त्यहाँ हेर्नु भने । त्यो सूचनामा मेरा आँखा पुगेकै रहेनछन् । त्यसमा लेखिएको थियो, आजको एक्स रे रिपोर्ट भोलि बिहान दश बजेपछि मात्र पाइने छ ।

यतिखेर घरमा बुबाआमा दुवै बिरामी हुनुहुन्छ । एक महीना भइसक्यो रुघाखोकी लागेको । अझै बिसेक भएको थिएन । टाउको दुख्ने, ज्वरो आउने, सास फेर्न अप्ठ्यारो हुने, छाती गह्रौं हुने, खान मन नलाग्ने, शरीर गल्ने । मेरो विचारमा उहाँहरूलाई कोरोना लागेको हुनुपर्छ । यद्यपि सिद्धै त्यसो भन्नु भएन । यस कुरालाई उहाँहरूले कसरी लिनु भएको छ कुन्नि ? अहिले मलाई घर नगएकोमा पश्चात्ताप भएको छ । घरमा सहायता दिने कोही छैन । दवाइ पानी दिने कोही नहुँदा मेरो मन कसौंडीको भात जस्तै छड्किरह्यो । छिनछिनमा फोन गरिरहन्छु, अहिले कस्तो छ ? ठीकै छ राम्रो छ उहाँहरूले भने पनि त्यस कुरामा मलाई किञ्चित विश्वास थिएन । हामी आत्तिन्छौं भनेर उहाँहरूले गलत बोल्नु भएको थियो । ती कोरोनाका लक्षण हुन् मैले उहाँहरूलाई त्यसो भनिनँ, त्यसो भन्दा  उल्टो असर गर्ने छ, मनोबल शिथिल हुनेछ । त्यसो त कोभिडको लक्षण उहाँहरूलाई थाहा नभएको कहाँ हो र ? यतिखेर बाहिर हल्ला ठूलो छ, यसपालीको कोभिडले भेटेपछि सिध्याउँछ रे । त्यही कारण मैले यथार्थ बताउन सकिनँ । यो सामान्य रुघाखोकी हो, त्यसका लागि जति सक्दो तातोपानी खाइरहनू, बाफ लिनू त्यसले चाँढै रुघा काट्छ, मैले टाढा बसेर यो बाहेक अरू केही भन्न सकिनँ । न त घर जाने अवस्था थियो । लकडाउन छ । कर्फ्यु छ । यातायात ठप्प छ । यता आफू थुनिनु परेको छ ।  म यस्तै चिन्ताले गलेकी थिएँ । म पनि सद्दे कहाँ थिएँ र ?  बिरामी नै थिएँ । तङ्ग्रिएकी थिइनँ ।

मलाई त्यो कुरा थाहा छ, मैले भने जसरी त्यहाँ केही गर्नु भएको छैन । तातोपानी आमा कत्ति खान चाहनुहुन्न । बाफ त्यो पनि लिनु भएको छैन । बुबाले तातोपानी खानु भएको मलाई विश्वास छ, उहाँ कहिल्यै चिसोपानी खानु हुन्न । बाफ त कुन्नि पत्यार लागेन ।

यदि कोभिड नै रहेछ भने पनि अब डर चाहिँ थिएन । एक महीना नाघिसक्यो । रोग पचाउनु भयो । बिरामी हुँदा पनि नहुँदा पनि बुबाआमा उतिकै काममा खटिनु भएको थियो ।आज सकिनँ, गर्दिनँ भनेर सुख थिएन । खोरभरि बाख्रा छन् । गोठमा गाईवस्तु छन् । यही कुराले मलाई बारम्बार झम्टिरह्यो । थामिन नसक्दा पनि गोठालो गएर आएँ, आमाले यसो भन्दा मैले केही बोल्न सकिनँ । भो त्यसरी काम नगर्नू त म भनुँला नै । तर त्यो मेरो फोस्रो वाणी हुनेछ । भोलि गरौंला पर्सि गरौंला भनेर साँच्न मिल्ने काम थिएन । पालो दिने कोही नभएपछि, मैले यहाँ बसेर त्यसो भन्नु व्यर्थको लोकाचार थियो ।

आखिर यो दुःख उहाँहरूले कसको लागि गर्दै हुनुहुन्छ ? उहाँहरूको लागि यो सब गर्नु अब आवश्यक थिएन, नगरे पनि पुग्ने छ । उसो भए त्यो हाम्रै लागि थियो । त्यसैले पनि होला मलाई फुर्सद लिन  मन लाग्दैन । एकछिन व्यर्थ भुल्दा समेत मलाई  बुबाआमाप्रति अन्याय गर्दैछु जस्तो हुन्छ । यसरी मैले समयलाई महत्त्वका साथ लिने गरेकी छु । केही अर्थपूर्ण कर्म गर्नकै लागि म सहर आएकी नत्र उतै बस्ने थिएँ । समय बडो मूल्यवान छ, त्यसलाई उपलब्धिपूर्ण बनाउनु पर्छ, यही सोचेर म अहिले केही लेखिरहेकी छु । त्यसो त यो गन्थन लेखेरै म अर्थपूर्ण हुन्छु  समय अर्थपूर्ण हुन्छ भनेरै यति कुरा लेखिरहेकी होइन । बस् समय खेर नजाओस्, म कर्ममा अभ्यस्त हुन सकूँ, यत्ति मात्रै । यही अभ्यासले मलाई एकदिन अवश्य राम्रो लेख्न सक्ने बनाउने छ, यही अपेक्षा राखेर म लेखिरहन्छु । निरन्तरको साधनाले केही त निश्चय बनाउला । स्वयं जीवन एउटा साधनारत यात्रा रहेछ ।

मुसी बाख्राले दुइटा पाठा पाएको छ रे । मलाई त अहिल्यै घर जाऊँ जस्तो भयो, तिनलाई खेलाउने इच्छा छ । त्यसो त म खोरमा परिसकेकी छु, जान अब सम्भव थिएन ।

एन फ्र्याङ्कको डायरी भर्खर पढेर सकें । लकडाउनको समयमा एनले मलाई ठूलो शिक्षा दिइनँ । उनले भोगेको दुःखको कुरा पढ्दा मलाई यो कर्फ्यु केही होइन जस्तो भएको छ । उनले कत्रो त्रासदी भोग्नु परेको थियो । त्यति हुँदा पनि उनी निराश थिइनन् ।

दुई साल फिरेछन्, यो परारको कुरा हो, लकडाउन अघि २०७६ फाल्गुन २५ मा भोटाहिटीको एउटा पुस्तक पसलमा मैले एन फ्र्याङ्कको डायरी किनेकी थिएं । चैत छ गते काठमाडौं हुँदै म दमौली गएँ । साथमा विवेक र वृक्षा थिए । हो म उनीहरूकै घर गएकी थिएँ । नौ गते म आफ्नै निवास फर्किएँ, सँगै विवेक थियो  । काठमाडौंछँदैको योजना अनुसार ऊ मामाघर गएको थियो । एघार गतेबाट देश लकडाउनमा परेको समाचार रोडियोले फुक्न थाल्यो । ऐनलाई सहरमै छोडेर म गाउँ गएकी थिएँ । केही समयमै उनलाई पढुला भन्ने थियो, परिस्थिति त्यसको ठ्याक्कै उल्टो भइदियो ।

ती दिनमा लकडाउन भनेको केहो थाहा थिएन । व्याधिले यति लामो समय लेला, त्यो पनि थाहा थिएन । लागेको थियो, म दश पन्ध्र दिनमै सहर फर्किने छु । यही सोचेर घर जाँदा मैले पढ्ने सामाग्री केही लगेकी थिइनँ । साथमा लेख्दै गरेको एउटा डेली डायरी मात्रै थियो । जे कृष्णमुर्तिको ज्ञातदखि मुक्ति र ओशोको गीताः विज्ञान, कला र अध्यात्म यी दुई पुस्तक चाहिँ सम्झिएर व्यागमा राखेकी थिएँ । एनलाई सहरमै आएर पढ्ने विचार गरें ।

हाम्रो इच्छा र यथार्थता बिल्कुल भिन्न कुरा रहेछन् । अज्ञात भविष्य जान्न हामीलाई थोरै पनि अन्तर्दृष्टि दिइएको छैन । छिट्टै पुनरागमन हुन्छु भनेर गाउँ प्रस्थान गरेकी म कोभिडकै कारण ठ्याक्कै एक वर्ष उतै बसें । ढाक्रे जीवन बिताएँ । पोहोरको नियति म अहिले सहरमा भोग्दैछु । हामी अञ्जान छौं, यो क्रम कहिलेसम्म जारी रहेने हो ? वीपी कोइरालाले ‘हामीले बोल्ने वाणी  पनि हाम्रो बसमा छैन’ भनेका थिए ।  उनको बाबु आमा र छोरा उपन्यासमा यही कुरा छ । जुन कुरा मलाई अहिले एकदम घत लागेको छ । नियतिलाई उनले कति धेरै मानेका छन्, कति धेरै बुझेका रहेछन् । हाम्रो बसमा के रहेछ त खै ? हामीले नचाहेरै यस्तो भयावहता भोग्नु परेको छ । यतिबेला म नियतिलाई स्वीकार्न अभ्यास गरिरहेकी छु । यसमा अभ्यस्त हुँदै गएपछि मलाई जस्तो जटिल परिस्थिति पनि सहज होला । त्यसबखत महासंकटको घडी आउँदा समेत अनि म भन्ने छु, जे त होला यो मेरो बसको कुरा होइन ।  अज्ञात रहस्यलाई यस किसिमले सामान्यीकरण गर्न सक्दा म निश्चय निडर हुने छु, निर्भीक हुने छु । यस्तै अपेक्षामा दिनहरू बिताइरहेकी छु ।

एन ! तिमी जुन कष्टमा थियौ, त्यस्तो त मैले थोरै पनि भोग्नु परेको छैन । अचेल म तिमीलाई बडो सम्झिने गर्छु । तिमीले कस्तो अवर्णित विपद् भोग्नु पर्यो । हरेक दिन हरेक रात तिमी नित्य उन्मुक्तिको आशामा थियौ । हामी पनि यतिखेर त्यही उन्मुक्तिको अपेक्षामा  समय कटाइरहेका छौं । तिम्रो सकारात्मक चिन्तन मलाई ज्यादै मन परेको छ । मृत्युको अन्तिम क्षणसम्म तिमीले डायरी लेख्दै थियौ । यता मैले तिम्रो जस्तो डायरी लेख्न सकेकी छैन । यसरी युगौंयुग अमर रहुँला भनेर तिमीले डायरी लेखेकी थिइनौ । नियतिले तिमीलाई जुन अप्रकट दुरुहता भोगायो हो आज त्यसैले तिमीलाई कहिल्यै नमर्ने बनाएको छ । जटिलता तिमीले त्यसरी भोगेकी हुन्थिनौ भने तिम्रो आयु त्यतिखेरै सकिएको थियो । यो लकडाउनको बेला तिमीलाई  म यसरी पढ्न पाउने थिइनँ । नियतिले कठोरता भोग्न लगाएर तिमीमाथि अन्याय गरेको हो म भन्दिनँ । तिमीलाई जुगौंजुग बचान उसले त्यसो गरेको हुनुपर्छ ।

एन ! हेरन हाम्रो निम्ति कोरोना हिट्लर जस्तै भएको छ, एकदमै क्रुर । अचाक्ली निरङ्कुश भएको छ । त्यतिखेर हिट्लर यहूदी विरोधी थियो, यहूदीलाई ऊ निर्मूल पार्न चाहन्थ्यो । त्यही बर्बरतामा तिम्रो अकाल मृत्यु भयो । एन ! अहिलेको हिट्लर त्यस्तो छैन, बेग्लै छ । ऊ सम्पूर्ण मानव विरोधी छ । सृष्टिकै विरोधी छ । मानव सभ्यता खत्तम गर्न चाहन्छ । हिन्दू, बौद्ध, मुस्लिम, क्रिश्चियन ऊ केही भन्दैन । ऊ चक्रवर्ती भएको छ । हेरन दुर्गम गाउँमा समेत ऊ पुगिसकेको छ । हाम्रो गाउँबस्ती पनि उसले देखिसक्यो रे । यस क्षण तिमी जस्ता लाखौंलाख एनहरू थुनिएका छन् । तिमीले चाहे जस्तै उन्मुक्ति उनीहरूले पनि चाहेका छन् । परन्तु तिमी जस्तै अमर त खै को होला र ? म तिमीले जस्तै केही लेख्ने पढ्ने त गर्छु । तर तिमीले गरे जति म गर्न सक्दिनँ । मेरो कर्म त्यस्तो उल्लेख्य हुन किमार्थ सक्दैन । तिमी र ममा केही समता चाहिँ निश्चय छन् । म अहिले तिमी जस्तै स्वतन्त्रताको पर्खाइमा छु । हेरन म पनि तिमी जस्तै छु, गाउँ जान पाएकी छैन । तिमी त कमसेकम बाबु आमाको साथ थियौ । मैले त्यो अमूल्य साथ पाएकी छैन । यो विरानो सहरमा म एक्लै छु । यहाँ मेरो कोही छैन । तिमीले जसरी मैले बाबु आमाको काख पाएकी हुन्थें भने यसरी निराश हुने थिइनँ । प्रत्येक रात आफू बाँच्न पाएकोमा  अदृश्य जगत्पालकसँग तिमीले गरेको प्रार्थना मलाई महान लाग्छ । त्यही महान हुने प्रयासमा मैले फेरेको प्रत्येक श्वासका झोक्कासँग म कृतकृत्य छु । कमसेकम मैले त सजिलै सास फेर्न सकेकी छु नि । त्यही नसक्दा धेरैले यहाँ मृत्यु रोज्नु परेको छ ।

एन ! तिम्रो प्रशंसा जति गरे पनि म थाक्दिनँ । तिमी साँच्चिकै विचित्रकी थियौ । भगवान्ले तिमीलाई एकदमै भिन्न स्वभाव दिएर ठूलो गुन लगाएका थिए । त्यो कुरा तिमीलाई थाहा भयो भएन ? म पनि त्यस्तै भिन्न हुन चाहन्छु । परन्तु भगवान्ले मलाई त्यो वरदान दिएका छैनन् । बेग्लै स्वभावको कारण तिमीलाई तिम्रो घर परिवारले बुझेन । उनीहरू तिम्री दिदी मार्गोटको बानीलाई रुचाउँथे । तिमीलाई बारम्बार दिदी जस्तै बन्नु पर्छ भनेर गाली दिँदा मलाई कति नरमाइलो लागेको थियो । उनीहरूलाई के थाहा भिन्न व्यक्तित्वले नै अरू माझ चिनाउँछ भन्ने कुरा । उनीहरू परम्परा चाहन्छन् । परम्परित स्वभाव मन पराउँछन् । अरू जस्तै भएको देख्न चाहन्छन् । तिमीले त्यो चाहिनौ । तिमी आफू जस्तै हुन खोज्दा उनीहरूलाई मन परेको थिएन । हेरन म पनि आफू जस्तै हुन खोजेकी छु । अरू जस्तो भएर म बाँच्न चाहन्नँ । थोरै समय किन नहोस् म आफू भएर संघर्ष  गर्न चाहन्छु ।

एन ! तिमीलाई समयले जुन परिस्थिति र परिवेशमा जन्म दियो । त्यो भाग्यको कुरा हो । त्यति सानो उमेरमै बाह्य जगत्लाई ख्याल गर्ने तिम्रो तीक्ष्ण चेतना नमन्य छ । तिम्रो उमेरमा हेरन मैले त्यस्तो केही जान्दैनथें । म खेल्न उफ्रनुमै रमाउँथें । आफैंमा सीमित थिएँ । तिमीले जाने जति कुरा मैले अहिले पनि जानेकी छैन । तिम्रो विशाल ज्ञानराशी त्यो मसँग छैन । त्यो उमेरमै तिमीले ग्यालिलियो पढ्यौ । आइन्स्टाइन पढ्यौ । अरू धेरै पढ्यौ, धेरै जान्यौ । त्यसरी अध्ययन मनन गर्ने सभ्यता हाम्रोमा अझै बसेको छैन । तेह्र चौध वर्षको उमेरमै तिमीले लेखे जस्तो डायरी यहाँ कसैले लेख्दैन । यो उमेरमा आएर पनि मैले लेखेकी छैन । लेखें भने पनि त्यो कलात्मक शैलीमा म जान्दिनँ जस्तो तिमीले जानेकी थियौ । म तिमीबाट सिक्दैछु, त्यो पढ्ने सभ्यता । तिमीसँगै लेखेको मार्गोटको डायरीले तिम्री दिदीलाई बचाउन सकेन । बरु तिम्रै अक्षरमा ती बाँचेका छन् । तिम्रो परिवार, पिटर, मिस्टर भान डान, डसल, कुग्लर, क्लिम्यानलाई नत्र कसले पढ्थ्यो, कसले चिन्थ्यो ? आफूसँगै तिमीले उनीहरूलाई पनि चिनाएकी छौ ।

एन ! म पनि त्यसरी अक्षरमा बाँच्न चाहन्छु । यद्यपि तिम्रो जस्तो सार्थक बचाइ मेरो हुन सक्दैन होला । पश्चिमाको उज्यालो ज्योतिमा अक्षरको खेतीसँग बाँच्न जुन सहजता छ त्यो यहाँ छैन । हाम्रोमा अक्षरको कुनै मूल्य छैन । हेरन  अक्षरमा रम्न खोज्दा  मलाई यहाँ व्यर्थको मानिस ठान्छन् । मेरो रुचिलाई रुचि मानिँदैन । हाम्रोमा गतिलो हुन प्रशस्त पैसा चाहिन्छ । मेरो भविष्य निश्चित छ, म किमार्थ गतिलो मानिस हुन सक्दिनँ । तिमी मेरो मित्र, आफन्त कोही हुन्थ्यौ भने मलाई कति धेरै साथ दिन्थ्यौ होला हगी … ।

एन ! समयले मभन्दा तिमीलाई पहिले जन्माए पनि म तिमीलाई सानै देख्छु । म तिम्री दिदी हुँ जस्तो लाग्छ । सानै उमेरमा तिमीले आफूलाई सार्थक बनाउन सक्यौ । हेरन मैले त त्यस्तो केही गर्न सकेकी छैन । गर्नुपर्छ भन्ने मनमा एउटा अठोट छ । किन्तु मेरो अभिष्ट पूरा हुन समयले दिन्छ दिँदैन थाहा छैन । अहिलेको हिटलर बडो आश्चर्यको छ । दृश्यमा ऊ कहीं छैन, अदृश्यमा फेरि ऊ जहाँतहीं छ । हामीले फेरेको सासमा समेत उही छ । आतङ्क ऊ मच्चाउँदैछ । अशस्त्र, शस्त्र, क्षेप्यास्त्र नलिएरै ऊ बडो शक्तिशाली छ । उसले कतिखेर हाम्रो प्राण उठाउँछ कुनै पत्तो छैन । तिमीभन्दा अरू बढी असहाय यतिखेर म भएकी छु । भगवान्को भरोसा गर्नु सिवाय आफूलाई आश्वस्त गराउने मसँग अर्को तरिका छैन ।

एन ! म चाहन्छु एकपटक आफ्नै गाउँ फर्किनँ । महाव्याधि मेरो गाउँबस्तीमा उम्लिन थालेको निकै भयो । म पनि तिमी जस्तै अनन्त आशावादी छु । त्यो दिन निश्चय आउला भन्ने छ । आएनछ भने पनि त्यो म थाहा पाउने छैन । पर्खाइमा बस्दाबस्दै अचानक उसले टिपेछ भने पश्चात्ताप नै के रह्यो र ? प्राणहीन देह त एउटा मुढो भएर लड्ने छ । कुनै कुराको रहर उसले गर्ने छैन । मेरा अन्तिम इच्छा यिनै अक्षरले सुरक्षित राख्लान्, किन्तु यो भौतिक देहले राख्दै राख्दैन । तिमीलाई यसैले त जोगाएर राखेको छ अहिलेसम्म ।

उस्तै त होइन तर उस्तैउस्तै छ तिम्रो र मेरो नियति । विकल परिस्थिति तिमीले जति भोग्यौ त्यो त मैले भोग्नु परेको छैन नै । जीवन बचाइको कठोरता भने उस्तै होला । कुनै निश्चितता छैन यहाँ । मेरो अक्षरको पनि निश्चितता छैन । मसँगै यी अक्षर पनि जान सक्छन् । तिम्रो डायरीको महत्त्व ओट्टो फ्रयङ्क(पिता) ले बुझे झैं मेरो डायरीको महत्त्व कसले बुझिदेला ? के तिमीलाई थाहा छ ? मेरा अरू पनि धेरै डायरीहरू छन् । किन्तु मसँगै यिनको मृत्यु भयो भने जति नै भए पनि के अर्थ ? …