पारि पहाडका टुप्पाहरुमा सेता मजेत्रो गुथेजस्ता शिखरहरुले  कन्दराबाट उकालो उक्लदै गरेको बोलेरोलाई तेर्सा आँखाले हेरिरहेका थिए, मानौँ हामी वषौं पछि नियास्रा आँखा बोकेर पट्यारलाग्दो पर्खाइ छिचोल्दै गाउँ फर्किरहेका छौं । धादिङ बेसी र काठमाडौबाट गाउँघरका तृष्णाले धापिएका लेखक तथा पत्रकारहरुको एक झुण्ड दार्खा, सत्यदेवी हुँदै सुदुर उत्तरी लेकसम्म पैतालाले नाप्दै थिए । पहिलो दिन मदौरु घामलाई जिस्क्याउँदै दार्खाबाट सत्यदेवीको उकालो उक्लँदै ग्रामीण विकास निर्माणका प्रक्रियाहरुबारे गफिंदै थियौं । कविद्वय राजु झल्लुप्रसाद, कपिल मौन र फोटोग्राफर विपिन र हामीसँगसँगै थिए – खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ । 

झमक्क साँझ परिसकेको थियो । बजारमा बस्ने होटल, लज र व्यवसायिक बासालयहरू पर्याप्त थिए । हाम्रो वाहन भने एक टिनले बनेको रमाइलो कटेज अगाडि रोकियो, जहाँ बस्थे समाज बदल्ने अनौठा योजनाहरु । जहाँ चर्चा भइरहन्थे – कृषि पर्यटन र सांस्कृतिक विरासतका स्वप्नमय समभावनाहरु । त्यसैले पनि हामीलाई त्यो कटेज छोडेर जाने रहर भएन । त्यसमाथि पनि आइहाल्यो अर्गानिक मकै, भटमास, गुन्द्रुकको अचार पनि । सादगी जीवनशैली, मातृवत् स-स्नेह सगतमा उभिनु भयो भाउजू । वास्नादार लेकाली मकैको यो सुस्वागतले झनै हामी लोभियौं । अब त त्यो रातभर नै त्यहाँ बसिरहन मन लाग्यो । स्नेहशील आतिथ्य दिने घर थियो पालिका अध्यक्ष रणबहादुर तामाङको । 

समाचारहरुले भन्छ कि अहिले धेरै भ्रष्टाचार स्थानीय निकायहरूमा भइरहेका छन् । उसमाथि डोजर व्यवसायदेखि कृषि परियोजनासम्म स्थानीय सरकारहरूकै आसपास घुमिरहेको छ । आफन्तहरुकै पोल्टामा बर्षिरहेका छन् तर त्यहाँ ती अव्यवस्थाहरुको कुनै छनक थिएन । आलिशान महलको सपना थिएन । सहिद परिवार हुनुको घमण्ड थिएन । पालिका स्रोतमाथि जथाभावी गर्ने सपना थिएन र राजनीतिलाई व्यवसाय बनाएर अकुत कमाउने लोभ पनि थिएन । त्यसैले होला त्यहाँ प्राप्त भएको मकै भटमासको स्वाद मोहनीमय लाग्यो । आफ्नै माटोमा उब्जिएको स्पन्दनको रुपरेखाजस्तो जो हाम्रो नशा-नशामा ताजगी बनेर बगिरहेको छ । 

सबालहरु उठे कि ग्रामीण पर्यटनको । हाम्रा विद्यालय/महाविद्यालय, आमा समूहहरु दार्जीलिङ, असाम, सिलगुडी भ्रमणमा उक्लिरहन्छन् । नैनीतालका सेरोफेरो चहार्छन् । पोखरा, बागलुङ, बेनी पर्वततिर हानिन्छन् । इलामका चियाबगान र धरान धनकुटा पाख्रिबासको सेरोफेरोमा रमाउँछन् तर गुम्दी, रि, घले दरबार, म्हन्दङ, बिजुलुङ युम्बा, सिङ्ल्हका टुप्पाहरूमा भएका कुंकर, गुम्बा र गुफाहरूमा किन उक्लँदैनन ? यहीँ छ पर्यटनको मिठास । यसैमा छ जीवनको सुगन्ध र, यसमा नै छ भ्रमणको अल्हादक अनुभूति । रणबहादुरको यो तर्कमा हामी सहमत भयौं तर समस्या छ बाटोको  । अनेक घुम्ती र मोडहरु छिचोल्दै उक्लनु पर्ने पहाडका चुलीतिर भनेजस्ता बासालयहरुको अभाव छ । होमस्टेहरु बन्न सकेका छैनन् । हेर्नकै लागि भिन्न भिन्न प्रकृतिका पौराणिक र ऐतिहासिक वास्तुकलाको भनेजस्तो संरक्षण भएको छैन । जबजब सुरक्षित बाटाघाटा बन्नेछन्, पुर्खाहरुबाट सिर्जित वास्तुकला, संस्कृति, सभ्यताको अटल अक्षुण संवर्धन हुनेछ, तब आँखाभर हेरे पनि धीत नमर्ने हाम्रा दूरदराजका यी गाउँघर सधैं पहुनाहरुका पावन पाइलाले कुल्चिरहन्छन् । गृहस्थ र अभ्यागतका समलापका स-स्नेह मिलन भइरहन्छ । हामीले त्यस रात यी र यस्ता कुरा गरेर वार्तालाई निष्कर्ष दियौं । 

दोस्रो दिन,

बिहानै सूर्यरश्मिको आलोकले गणेश हिमाल शिखरमा रक्तिम आभा नपोत्दै हाम्रा नयन खुले । सहरका अनेक रुक्षता र भागादौडलाई केही समय पन्साएर हामी शान्त, शालीन ग्राम्यताको शौम्य सभ्यतामा प्लावित बन्दै थियौ । सिनित्त मनभर त्यहाँको निष्कपट शान्तिलाई पलकभरमा नै मनले प्युन चाहन्थ्यौं । त्यसैले शहरमा जस्तै गरी शयनमा प्रभातीय याम बिताउनु थिएन । प्रकृतिकै कालीन काखमा बिताउनु थियो, उषाका चिर्विराहटमै हराउनु थियो आफूलाई । त्यसैले बिहान छ बज्नु अगाडि नै व्युँझिएर उकालियौं – आदिकालीन घले दरबार निरीक्षणमा । 

घले दरबार जहाँ एकीकरणकाल अगाडि सिद्ध घले राजाको आवास सुरक्षित निवास थियो । थुम थुमका राजाहरुको बेमेल र शक्तिको खिचातानीले तत्काल ग्राम्य सरल जीवन  आकान्त  पनि थियो । तत् समय सामरिक महत्वले पहाडका उच्च शिखरहरु कसरी सुरक्षित थिए त्यसको नमुना नै घले दरबार थियो । घले दरबारको अहिले अवशेष मात्र बाँकि छ । जहाँ  गुराँसका रहरलाग्दा बाटिका छन्, मृग शावकहरुका अकण्टक क्रिडाकार्य छन् र आदिम राज्यव्यवस्थाका इन्ट्री पोष्टका अवशेषहरु छन् । कथनअनुसार, घले दरबारका तीन पर्खाल घेराहरू थिए, सबैभन्दा अगाडिको पर्खाल घेराभन्दा दोस्रोको उचाई दोब्बर थियो ।  दोस्रोको भन्दा तेस्रो पर्खाल घेराको उचाई दोब्बर थियो । 

अब बाँकी छ त त्यसलाई तीन सय साल पूर्वका अवस्थामा पुनःनिर्माण गरेर पर्यटनका अलभ्य लाभ लिन बाँकी रहेछ र त्यसको पनि तत्काल कार्यारम्भ हुन आवश्यक रहेछ ।  

घले दरबारको अवलोकनपश्चात हामीले करिब ११ बजेतिर तल वस्तीमा झरेर स्थानीय खाना खायौं । प्रेमले स्थानीयवासीले तयार गरेका स्नेहशील भोजनले तृप्त भएर हाम्रो यात्रा म्हन्दङ, ल्याक्चे कुण्ड तथा बिजुलुङ युङ्बातर्फ मोडियो ।  

ल्याक्चे कुण्ड आदिकालमा तपोस्थल थियो । यो तपोधाममा वर्तमानमा मानवीय अतिक्रमण  र जल शुष्कताको प्रभावमा परिसकेको छ । नवनिर्माणका केही प्रयासहरू त भएका छन् तर पूर्व परम्पराको मूल्य अनुकुलता र दीर्घजीवि तरिकाले भएका छैनन् । त्यसका लागि थप अध्ययन र प्रयास आवश्यक छ नै । 

नजिकै रहेको  म्हन्दङ जहाँ प्राचीन मन्त्र र इतिहासका पाइलाहरु छन् तिनीहरुको पनि संरक्षण र संवर्धनको आवश्यकता छँदैछ । 

ल्याक्चेकुण्ड तथा म्हन्दङको अलिक तल ७३ मिटर अग्लो विशाल शिला ठिङ्ग उभिएको छ । जसलाई पालिका अध्यक्षले नेपालकै सबैभन्दा विशाल शिला भनेर घोषणा गरेका छन्  र त्यसको पुष्टि हुन बाँकि नै छ । त्यसको माथामा सजाइएको देशको अचल झण्डा नित्य फर्फराइरहेको छ । त्यसको शिखर आरुढ भएर हामी सबैले सगौरव स्पन्दनका आवज जसरी फर्फराइरहेको चन्द्र सूर्य अङ्कित निशानीको प्रणाम गर्यौं र गौरवले फुलेल भयौं । त्यो विशाल देशकै ठूलो शिलाका आसपास जुन किसिमले बगैंचा र सौन्दर्यहरुको सिर्जना गरिनु पर्दथ्यो, त्यसको अभिलेखन,उत्खनन् र महिमा मण्डित गर्न बाँकि नै छ । त्यसपछि हामी फर्किएर पुनः सत्यदेवीमै निवास गरेका थियौं । 

भोलिपल्ट,

बिहानै झार्लाङतर्फ हामी उचालियौं । बाटोमा परेको गाजली खोला (डुन्डुरे खोला) को पुल पार गरेपछि हामी तातो पानीको मुल भेट्टाउन नेत्रावती नदी किनार झर्दै थियौं । डरलाग्दो पहरोलाई काटेर बनाइएको सिढी ओर्लर्दै गर्दा एकपटक मुटुले ठाउँ छोड्ला जस्तै हुने रहेछ । स्रोत र साधनको कमीले नै होला, पहरा खोपेर सिंढी लगाइएको रहेछ ।  त्यसमा क्याटिलिभर प्रविधि जोड्न सकिएको भए अझै सुन्दर देखिने थियो । 

सडकबाट पन्ध्र मिनेट ओर्लिएपछि भेटिने नदी किनार मानव वस्तीबाट एकान्तस्थलमा छ र त्यहाँको कल्लेलपूर्ण जलप्रपातले दीव्यानन्दको मानसिक विरेचन गराइदिंदो रहेछ । तब पो ऋषिमुनिहरूले अरण्यक युगमा मन्त्रदृष्टा बन्न सकेका रहेछन् भन्ने भान भयो । मतापको वाफिलो तातोपानीको तिरतिरे धारामा स्नान गर्न गोर्खा र नुवाकोटसम्मका मानिसहरु आउने रहेछन् । लेकाली धुप र नदी पूजा पनि गर्ने प्रचलन रहेछ । यहाँ स्नान गरेपछि छाला र नसाको उपचार हुने आम जनविश्वास पनि जीवित छ । 

तातोपानीको अवलोकन पछि हाम्रो यात्रा झार्लाङ्तर्फ उचालियो । झार्लाङ एकै गाउँलाई सतसठ्ठी वर्षदेखि निरन्तर चलिआएको पहिरोले एकै मुटुलाई टुक्राए जसरी दुई फ्याक गरिदिएको थियो । त्यो अकण्टक अथक पहिरो छ दशक पार गरेर पनि जेठो थियो र अझै अभिषाप बनेर थर्काइरहेथ्यो सरल ग्राम्य जीवनलाई । अझै हुङ्कारिरहेको थियो दुर दराजका घर, टहरा र सरल जीवन शैलीमा मृत्युका बगर लगाएर । अहिले पनि थाकेको छैन त्यो अघोरी पहिरो । अझै अगाएको छैन, जसले कैयौं निर्दोष जनताको लास धर्तीको गर्तमा बिलीन गरायो । कैयौंका घरबास उठायो । 

हामी त्यही अघोरी पहिरो चिरेर खनिएको बाटो कुल्चिँदै अगाडि बढ्यौं र उक्लियौं । सिङ्ल्ह  गाउँमा, जो दिल खोलेर हामीलाई आतिथ्य पोख्न आतुर थियो । 

सबै घरका घरका दैला बन्द थिए, बिहानैदेखि राती आँखा देखिउञ्जेलसम्म किसानहरु खेतबारीमा नै निमग्न थिए । जोतेर, खनेर, आलोपालो गरेर आलु रोप्न व्यस्त किसानहरुको समर्पणले त्यहाँको आलु संसारमै प्रख्यात बनाउँदै थियो । देश विदेशमा त्यसको स्वादको चर्चा चुलिएको । यस्तो लाग्दथ्यो कि ती सरल किसानहरुमा न लोभ, न ईष्र्या, न तेरो मेरोको छिनाझपटी थियो । थियो त सादा, सरल र आनन्दमय  र सन्तुष्टिको जीवन शैली । माटोमा मिल्नु, माटोसँगै रमाउनु र माटोमा खोस्रेर जीवन खोज्नु नै त्यहाँको सौन्दर्य हो । 

खेतीमा निमग्न किसानहरुलाई देख्दा रसिया युक्रेन युद्ध, कोरोनाको त्राशदीय भय, महिला वा पुरुष हिंसाका तँछाडमछाडको आतङ्कमय छायाँ नै त्यहाँ पटक्क देखिँदैन । त्यसैले  त्यो जीवनको लोभलाग्दो निश्चल भोगाइप्रतिको आत्मसम्मान चुलिएर मनभरि भयो र पोखिएर आलु आलुमा रुपान्तरण हुन पुग्यो ।

सन्ध्याको छड्के किरणले सिङ्ल्हदेवीको चुचुरालोलाई ग्वाम्लाङ्ग अँगालो हालिसकेको थियो । रिमरिम उज्यालोले बाटोघाटोमा गोधुली माधुर्य छरिरहेको थियो । त्यतिबेला हामी मित्र विमल तामाङको पिढींमा झोलीतुम्बा बिसाउन पुगेका थियौं । हँसिला रसिला उनका परिवारसँग हाम्रो आत्मियता छिटै गाँसिन पुग्यो । हामी एकै परिवारजस्तै बन्यौं । 

सिङ्ल्ह माध्यमिक विद्यालयका प्रधानाध्यापक विमलले आफ्नो गाउँमा शैक्षिक आलोक छर्न र समाजमा समरसताको भाव विकास गर्न जे योगदान दिए, त्यसको महनीय मूल्य र उच्च सामाजिक आदर्श स्थापित भएको तथ्य कतैबाट छिपेको छैन । त्यही गाउँमा बस्नुहुन्छ विमलजी अर्थात् विमल तामाङ जसले विद्यालयलाई सकेसम्म सजिलोसँग सामाजिक पँहुचमा लैजान कोसिस गरिरहेका छन् । स्तरीय शिक्षाका लागि अभ्यास गरिरहेका छन् र क्रिश्चियन बहुल गाउँमा बसेर सामाजिक सद्भाव कायम गर्न अर्थात् बौद्ध र क्रिश्चियन समुदायको मेलमिलापको स्नेह सेतु कायम गर्न अग्रसर बन्नुहुन्छ । त्यसैले त नेपाली समाजको वास्तविकता अस्र्थात समाजिक सद्भावको नमुना बनेको छ सिङ्ल्ह गाउँ ।  

अर्कोदिन,

विमलजीको घरमा  पाएको मिठो आतिथ्यता र स्वादिष्ट भोजनको साथमा रात गुजारेपछि हामी सिचेतसम्म पुगेर त्यहाँको गोठ सार्ने व्यवस्थासँग परिचित भयोैं । केही गोठ र चौरहरुमा भ्रमण गर्यौं । 

बाटाभर चरिरहेका र चौरमा पारिलो घामको पहारमा उग्राइरहेको पशुवस्तुहरुको बथान छरपष्ट थिए । गोठमा बसोबास गरिरहेका अव्यवस्थित बसोबास जहाँ मान्छे र वस्तुभाउ सँगसँगै सुत्छन्, खानेपानीको व्यवस्था उस्तै उस्तै छ । सिचेत र यसका आसपास लगभग २०,२२ गोठबासीहरुका लागि शौचालयको बन्दोबस्त छैन । खानेपानीको धारो छैन ।  राताम्मे गुँरासको फेद र वरपर देखिने गाउँवस्तीहरुको तरेलीमा मुग्ध भएपछि फर्कने रहर मर्दै जाँदो रहेछ । हामीलाई लाग्यो झार्लाङको सामाजिकर साँस्कृतिक उन्नयनका लागि त गोठहरु सुधार गर्दै सुविधाजक बनाएर गोठ पर्यटनको  विकास गर्न सके आगन्तुकलाई भिन्न स्वाद दिन पो सकिने रहेछ । त्यसो भैदिए पशुपालन पनि संरक्षित हुने र पर्यटनको नौलो आयाम पनि विकास हुने दोहोरो फइदा पाइने थियो भन्ने सोच मनमा खेलिरह्यो । 

यस्तो लाग्यो कि प्रकृतिकै काखमा न हो विचारका तरेली पर्ने र चेतनाका उभारहरु तँछाडमछाड गर्दै व्युँझने पनि । मनभित्र सामाजिक परिवर्तनका अनेक संभावनाका कल्पना अटेसमटेस गरेर उदाउँदै थिए । सूर्यरश्मीले ओह्रालो पाइला चालेपछि त्यहाँ बसिरहन सम्भव भएन । हामी गिलिञ्चो गुम्बा र नाग दह हुँदै ओरालिन थाल्यौं । 

गिलिङजो गुम्बा वि.सं ७०० भन्दा अगाडि नै बनेको किस्साहरु स्थानीयहरुबाट सुन्यौ तर त्यसको आधिकारिकता पुष्टि गर्ने प्रमाणहरु पाइएको थिएन । त्यससँग जोडिएका अनेक कहावतहरु जनमनमा बग्रेल्ती छाएका थिए । साँस्कृतिक अतिक्रमण हो वा उरण्ठेउलाहरुको निर्ममताको सिकारले हो गुम्बाका मुर्तिहरु तोडिएका थिए । शिरोच्छेदन भएका थिए । गुम्बारुपी छाप्रोमा मादक पदार्थ सेवन गरिएका सिसीका टुक्राहरु यत्रतत्र छरिएका बिद्रुप परिदृष्यले आँखा मन दुबैमा नराम्रोसँग चहर्याउँछ । आशा गरौं सबै किसिमका पुननिर्माण र पुनःरुत्थानले समाजमा नयाँ समरसताको सिञ्चन हुनेछ र सबै जातको फूलवारीको महक लहराउनेछ ।

गुम्वाहरु, चर्चहरु, 

लामाहरु, शिक्षालय….. ।