Chovar Blues Mobile Size

भुलभुलैया हो यो बेमौसमी संसार । एउटा पज्जल मेज जस्तो । आकस्मिकतालाई अंगालेर अचानक कतैबाट गिरेर हामीहरू यस संसारमा आइपुग्यौं । भुलिन, भुल्न अनि भुलाउन । यस संसारभित्र रहेका अनेकन थोकहरूमा हामीहरू अर्थ न वर्थ भुलिरहेका छौः– नीति–नियममा, राजनीति र धर्मकर्ममा, कर्तव्य र दायित्वमा, उत्तराधिकारी र जिम्मेवारीमा, मिहिनेत र परिश्रममा, शिक्षा र दीक्षामा, विज्ञान र प्रविधिमा, व्यापार–व्यवसायमा, गीत–संगीतमा, माया र मोहमा, रोजी र रोटीमा, पहिरन र सौंदर्यमा, शान र शोमा, मान र पदवीमा, विचार–सिद्धान्त र दर्शनमा, मत र सम्प्रदायमा, पहिचान र प्रभुत्वमा, कला र सीपमा, भोक र गरीबीमा, भोग विलासमा अनि रोग र व्यग्रतामा । भुलिरहेछन्, मानिसहरू जीवनका विभिन्न मिथ्या जगत्मा झुलिरहेछन् । जगत्मा अल्मलिने क्रममा धेरै जना जीवनसँग ब्यूँझिए पनि मृत्युसँगै निदाइरहेछन् । हामीहरू भुलिँदा–भुलिँदा मानवताको अस्तित्वलाई नै भुलिसकेका छौं । लत्याइसकेका छौं । आफूलाई अनि अरूलाई कल्पितकोल्याजभित्र कैद गरिरहेछौं ।

भुलैया र भ्रममा अल्मलिनु नै जीवनको साहसिक रोमाञ्चचकता हो । जीवनको काल्पनिक सत्य हो । प्राणको वास्तविक असत्यता हो । आत्माको अलङ्कारिक यथार्थ हो । दर्शनको प्रस्फुटिकरणीय अनुभूति हो । किनकि जीवनलाई भुलाइरहनु पर्छ सानुबालकलाई भुलाए जस्तै । खेलाइरहनुपर्छ विरालोले मुसालाई खेलाए जस्तै । यसलाई संगालेर अंगालेर अञ्जुलीमा थम्याएर संरक्षण गरिरहनुपर्छ । फुत्कन दिनुहुन्न । कोहीकोहीले आफू बाहिरको भ्रममा अति अल्मलिएर आफूभित्रको सुन्दर जीवनलाई फुत्काइ पठाएका पनि छन् । फूलेपछि ओइली झर्ने जीवन्त प्राकृतिक नमूना जस्तै हाम्रो जीवन ओइली झर्छन् अनि कथाको सारमा उतारिन्छन् । कथाको पात्रभएर जिउन बाध्य हुन्छन् ।

हिमाल ओरिसिस्

यथार्थ होस् या व्यर्थ अनि सत्यता होस् या असत्य सब भ्रमात्मक खुराक हुन् । यहाँ केही छैन भए पनि  ‘छैन’ भन्ने कुरा मात्र छ । किनकिन थिङ्गनेस नै सबै कुराभन्दा सामर्थ्यवान हुन्छ । सबै कुरा नथिङ्गनेसबाट नै समथिङ्गमा रूपान्तरित भएर अस्तित्वमा सृजिएर बाँचेका हुन्छन् । अनि सबै कुरा नथिङ्गनेसमा नै घोलिएर विलय हुनुपर्ने हुन्छ । तसर्थ नथिङ्गनेस नै वास्ववमा वास्तविक सत्यता हो । के मृत्युको अस्तित्व हुन्छ ? हुँदैन । त्यो नथिङ्गनेस हो । जीवनको अभाव नै मृत्यु हो । जीवनको अनुपस्थितिमा मात्र मृत्यु बाँच्ने गर्छ । के कुनै खराब कुराको अस्तित्व हुन्छ ? हुँदैन । असलको अभाव हुनु नै खराब हुनु हो । खराब नै चाहिँ कतै हुँदैन । वास्तवमा असल र खराब केही हुँदैन । खाली नियतमात्र हुन्छ, नियत । अनि नियत अनुसार नै असल र खराबबीच रेखा खिचिने हो, निर्धारण हुने हो । किनकि नियतले नै असललाई खराब र खराबलाई असल बनाउन पनि सक्छ । अनि अर्को कुरा शास्त्रले भने जस्तो पाप पनि हुँदैन । भए पनि मानिसको नियतले आविष्कार गरेको एउटा अदृश्य औजार मात्र हो ।

संसारमा मानिसको सबैभन्दा ठूलो कर्तव्य बल्ल–बल्ल पाएको जीवनलाई जसोतसो पालेर बाँच्नु हो । सबैभन्दा ठूलो कुरा आफू  ‘म’हो । आफू ‘म’ छ भने मात्र आफ्नो लागि सारा जगत् हुन्छ । आफू छैनभने सबैकुरा भएर पनि केही हुँदैन । वास्तवमा  ‘म’ के हो ? एउटा मरणशील विवेकले भन्न सक्तैन, बताउन सक्तैन, सुनाउन सक्तैन, विश्लेषण र अनुसन्धान अनि अभिव्यक्त गर्न पनि सक्तैन । किनकि ‘म’ भित्र सारा ब्रम्हाण्ड अटेको हुन्छ । त्यो कल्पनादेखि बाहिरको विशाल ब्रम्हाण्डलाई स”क्ष्म विवेकले छानविन गर्न सक्तैन । इनभेस्टिगेट गर्ने प्रक्रिया पूरा गर्न पनि जान्दैन ।

कल्पनाको माइक्रोकोज्म अवस्था कस्तो हुन्छ ? कल्पनालाई मेटामोर्फोसिसको रुपमा लिन सकिन्छ कि मेटाफिजिक्सद्वारा बनिएको एक सुन्दर फूलको रुपमा लिन सकिन्छ ? मानिसहरू कल्पनामै मम्बोजम्बो गर्छन् । किन गर्छन् ? केलाई गर्छन् ? उसैलाई राम्रो ज्ञान छैन । के कल्पनाका कुरा सबै मिथ हुन् ? कि साँचो हुन् ? साँचो हो भने कल्पनाका कुरा पनि साँचो मान्नु पर्ने हुन्छ । मिथ हो भने जगत\ नै मिथ हो । किनकि यहाँ सबै कल्पनाद्वारा बनिएका थोकहरू अस्तित्वमा छन् । मानिसले जे बनाए ती सब मानिसकै कल्पनाका उपज हुन् । ईश्वरले जे बनाए ती सब ईश्वरकै कल्पनाका उपज हुन् ।

अंग्रेजीशब्द ‘मिथ’ (Myth ) वास्तवमा ग्रीकशब्द  ‘मिथोस’ (Mythos ) बाट आएको हो । जसको अर्थ शब्द÷वचन, वृतान्त, कथा, बोलीवचन हुन्छ । जुनै पनि घटनालाई अब्जेक्टिभ रूपमा साहित्यकार, इतिहासकार र चित्रकारले वर्णन गरेका विषयहरू  ‘मिथोस’ अन्तर्गत पर्दछन् अथवा पारियो । अर्को ग्रीकशब्द  ‘लोगोस’ (logos) जसको अर्थ पनि शब्द÷वचन नै हुन्छ । तर दार्शनिकहरूले वर्णन गरेका कुराहरू चाहिँ यस ‘लोगोस’ अन्तर्गत पर्दछन् । वास्तवमा वास्तविक इभेन्टस् र इन्सिडेन्टलाई नै वर्णन गर्ने क्रममा रूपक तथा उपमाको रूपले वर्णन गरेको हुनाले पछिबाट यसलाई मिथ या काल्पनिक असत्य कुराहरू हुन् भनीमान्न थालियो । के कल्पना असत्य हो ? हो भने सारा ब्रम्हाण्ड र सृष्टि असत्य र मिथ्या हो । भ्रम हो । भ्रममा अल्मलिनु अल्झिरहनु पनि भ्रम नै हो ।

हामी भ्रमको हातमा छौँ । भुलभुलैयाको फन्दामा छौँ । यहाँ भुलिएर, भुलाएर र भुलेर भुलिञ्जेल सबै कुरा गरे हुन्छ । तर विवेकशील भएर,ूपले गर्नुपर्छ । विवेकहीन विवेकशून्य भएर होइन । अनि विवेक विगारेर विवेक विग्रिने गरी पनि होइन । हामीले स्वीकार गर्नै पर्ने हुन्छ । हामी कल्पनाको कोल्याजमय अमूर्त चित्रमा चित्रित छौं । त्यो विख्यात चित्र शायद भ्यानगग्को एउटा काननभएको सेल्फपोट्रेट पिकासोको क्युविजम्मा अट्याचमेन्ट भएर मोनालिसाको वक्षस्थलमा मुस्काइरहेको हुनुपर्छ । तसर्थ हामी कल्पनाको कोलाइडमा अंकित हुने र चित्रित हुने भोग्य डिजाएरबाट डिस्कनेक्ट हुन जीवनको स्वीचअफ गरौं । ता कि हामी कल्पित कोल्याजमा खुलेआम मग्न भएर सदैव स्वप्निल स्वर्गलाई हरियाली बनाउन सकौं ।