एकैछिन सानो प्रसंग जोडौँ । त्यसपछि मूल विषयमा जाऊँला । कुरो के भने प्राचीन समयमा कालिगढहरू किन ढुङ्गा वा धातुकै मूर्ति बनाउँथे होलान् ? सजिलो र मितव्ययी त माटोको मूर्ति बनाउँदा हुन्थ्यो होला नि ! अथवा त्योभन्दा कम सजिलो काठको हुन्थ्यो होला । तर पनि ती मूर्तिकारहरूले धातु वा ढुङ्गाकै मूर्ति कुँदे । किन?
कुरो स्पष्ट छ- माटोले बनाएका मूर्तिसँग युग धान्ने तागत हुँदैन । मूर्ति भन्नु कुनै अजेय पात्रको अमर अभिलेख न हो । कच्चा पानामा लेखिएको अभिलेख अमर हुन सक्दैन । पानीको थोपाकै स्पर्शमा क्षय भएर जाने माटोले के सहला भूकम्प ? आँधीबेहरी ? छाल र बाढीका लहरहरू ?
उसो त इतिहासमा माटोकै मूर्ति पनि कति बनाइए होलान् कति । सानोमा मैले खिहिरेखोलाको किनारमा माटो मुछेर केही थान थाली र बटुकाहरू बनाएझैँ । ती थाली र बटुकाहरू बनाएकै भोलिपल्ट नामेट भए । तर ती बटुका माटोका नभई ढुङ्गाका हुन्थे भने ती आजपर्यन्त बाँचिरहेका हुन सक्थे, र तिनमा मेरो बाल्यकाल अझै खेलिरहेको हुन्थ्यो ।
खैर ! म सिर्जनाको कुरा गर्न आएको हुँ । अझ भनौँ कविताको । साहित्य लेखनको । कुरो मूर्तिकै जस्तो हो । कमजोर सिर्जना माटोको भाँडो । अर्थात् क्षणभङ्गुर । अझ सिर्जनाले झेल्नुपर्ने घामपानी, आँधीबेहरी, छाल र भूकम्प माटोले सहने घामपानीभन्दा कठोर छ । किनकि सिर्जनालाई सर्जकले छाता ओढाउन मिल्दैन । उसले त बजारमा नाङ्गो उभ्याउने हो । र पाठकले त्यसलाई केलाउने हो । तर पाठकको त्यो निर्मम समीक्षालाई आँखा चिम्लेर स्विकार्ने र उनीहरूका प्रश्नहरूप्रति जवाफदेही बन्ने क्षमता सर्जकमा छ कि छैन ? छ भने उसमा सर्जकमा हुनुपर्ने विशिष्टता छ । अन्यथा, भीडमा मिसिएर धूलो उडाउनतिर लागे हुन्छ ।
कहिलेकहीँ देख्छु सञ्जालतिर । अफवाहसँगै बरालिइरहेकाहरूको भीडको एउटा सदस्यले कविता भनेर पोस्ट गर्छ । बाँकी भीडले ‘संसारकै उत्कृष्ट कविता’ भनेर कमेन्ट गर्छ । शेयर गर्नेले त झन् ‘ब्रम्हाण्डकै उत्कृष्ट कविता’ बनाइदिन्छन् । के के न रहेछ भनेर कविता हेर्यो, सुरुदेखि अन्त्यसम्म पढ्दा पनि त्यस्तो ‘विशेष चिज’ केही भेटिँदैन । दोहोर्याई तेहर्याई हेर्यो । अहँ, शून्य । सास गइसकेको मान्छेको फोक्सोमै छामी हेर्नुस्, सास भेटिँदैन । कतिपटक छाम्नु ?
बुझ्नुपर्ने कुरा के हो भने पाठकको समयको पनि मूल्य हुन्छ । कविता भनेर पोस्ट गरिसकेपछि पक्कै धेरैले पढ्छन् । त्यसमा समय खर्चिन्छन् । त्यसैले कविता भनिएको त्यस ‘चिज’मा मूल्य भर्न सक्नुपर्छ । होइन भने आलोचनालाई प्रेमपूर्वक स्विकार्नुपर्छ । तर पटकपटक पढ्दा पनि केही भेटिन्न र झोक चढ्छ । अनि कमेन्टमा लेख्दिन्छु- ‘निरर्थक ‘। जवाफमा तुरुन्तै खनिन्छन् ढुङ्गामुढा ।
भन्छन्, “संसारमा सबैभन्दा घृणा तटस्थ बुद्धिजीवीलाई गर्छु ।”
हाहा ! यूट्युबमा भाइरल छन् नि अघोरी बाबा । जसलाई पनि “जहाँ भेट्यो त्यहीँ हान्दिन्छु” भन्छन् । तर उनको धम्कीले भुत्लै तर्सिँदैन ।
ती अघोरी बाबाजस्तै कवि भनिनेले “म कविभन्दा पहिले मान्छे हुँ” भन्ने स्वघोषणा फलाकिरहेको देखिन्छ । कसैले ख्यालख्यालमै ‘तिमी कवि होइनौ’ भन्दिनुपर्छ, ऊ यति आक्रामक भैहाल्छ कि, मान्छे पनि हो कि होइन छुट्याउन गाह्रो पर्छ । फेरि यस्तैले उडाएको धूलोले छोपेको छ वास्तविक कविहरूको अनुहार ! हाय !
भन्छन्, “म कवि हुँ । एउटा कवि बौलायो भने संसार जलाइदिन्छ । म अब बौलाएँ ।”
हाँसो उठ्छ । संसार जलाउन सक्ने क्षमता यिनीहरूसँग हुन्थ्यो भने आजसम्म कतिपल्ट जलाइसक्थे होलान् । सम्झन्छु- अमेरिका, रुस, चीन, जापान लगायतका महाशक्ति राष्ट्रहरूका सरकारमा बस्ने व्यक्तिहरू कति धीर होलान् । हाम्रा स्वघोषित कविहरूजस्तै हुन्थे भने आजसम्म पृथ्वी कतिपटक जलिसक्थ्यो होला !
कहिलेकहीँ लाग्छ, बौलाहा कवि बन्नुभन्दा सद्दे कुकुर बन्नु कम हानिकारक छ ।
अँ क्यार ! फेरि कुकुरमा पनि बौलाहै कुकुर बनेर निस्केला भन्ने डर ।
तर यस्तो दुर्गन्धित भीडभन्दा निकै पर, दूर एकान्तमा सम्भावित भविष्य बोकेका केहीजोर आँखाहरू मौन र सम्यक साधना गरिरहेका छन् । ती रत्न हुन् । पढौँ न आरती आचार्यका यी शब्द :
प्याउली
………………………
धेरै भयो सरकार ,
मेरो पसिनाले सिञ्चेर उब्जाएको
बाली बेचेर तिरेको करले
तिमीले गुलाफ आयात गर्न थालेको ।
अब एकपटक हाम्रातिर पनि फर्केर हेरिदेऊ,
मेरो घरमाथिको खहरेखोलाको आसपास
सुन्दर प्याउलीहरु फुल्छन् ।
चिसो, निर्जन एकान्तमा कसैले नहेरे पनि फुल्ने धर्म छोड्दैनन् यी ‘फूलहरू’ । आखिर अँध्यारोमै पनि फुलिरहेका छन् पारिजात । आरतीले आफैँलाई कहिल्यै ‘कवि’ भन्दिनन् । यी शब्द पनि उनलाई थाहै नदिई ल्याएको हुँ यता ।
“तपाईंलाई मनपर्ने कविता मात्र कविता हुन् र ? कवि वा लेखकको निजी विचार हुन्छ नि ।”
निजी विचार हो भनेरै पन्छिने भए त सार्वजनिक नै किन गर्नु र ! कवितामा व्यक्त गरिएको कुराले साझा अनुभूतिको प्रतिनिधित्व गर्न सक्नुपर्छ । कविताका हरेक कमजोरीलाई ‘निजी विचार’को थाङ्नोले छोप्न मिल्दैन ।
कविता लेख्छु भन्ने अहम् प्रदर्शन गर्नकै लागि कविता लेख्नेहरू आफ्नो कविता ‘संसारकै उत्कृष्ट’ भन्न रुचाउँछन् । उनीहरूको कवितामा आलोचना गर्नु अरिङ्गालको गोलोमा हात हाल्नु जस्तै भइदिन्छ । कसैले आलोचना गर्यो भने उसलाई तथानाम गाली गर्दै भन्छन्- “अर्काको रचनाको निर्मम हत्या गर्छस्?”
कमजोर रचनाको हत्या हुन जरुरी छ । सबका सब अमर हुने भए त अमरत्व पनि अर्थहीन हुन्छ । जसको बध गर्नै सकिँदैन, ऊ मात्र अमर हुने हो ।
उहिलेको जमानाका एक राजाले एउटा भारी सभा गरेर भनेछन्- “मैले भगवान्को दरबारबाट अमर हुने मन्त्र ल्याएको छु । तपाईंहरूमध्ये कसैलाई अमर बन्न मन छ भने हात उठाउनुहोला ।”
अमर हुन को नचाहन्थ्यो ? सबैले हात उठाएछन् ।
राजाले फेरि भनेछन्- “जसलाई यो मन्त्र पाउन इच्छा छ, उसले दरबार नजिकैको सवा एक किलोमिटर अग्लो प्राचीरबाट हाम फालेर दौडेर यहाँ आउनुपर्नेछ ।”
उठेका सबै हातहरू तल झरे । त्यत्रो अग्लो पर्खालबाट हाम फालेपछि को चाहिँ पो बाँचिरहला ? र राजासँग आएर अमर हुने मन्त्र पाउला ? देउता पर्मेश्वरी ! भो, चाहिएन अमरत्व ।
अमर हुनु भनेको त मृत्यु जित्नु पो त । मृत्युसँग पहिल्यै डराउनेहरू कसरी जित्छन् मृत्यु ? कसरी बन्छन् अमर ?
टनी मोरिसनको विश्वप्रसिद्ध उपन्यास ‘बिलभेड’की पात्र सेठीले आफ्नै छोरीको हत्या किन गर्छिन्, थाहा छ ? किनकि उनलाई थाहा छ- उनकी छोरी डेनवरलाई त्यो समय र समाजको ज्यादती सहन आफूलाई जस्तै गाह्रो पर्नेछ । त्यसैले जीवनभर मृत्युको किनारैकिनार हिँड्नुभन्दा बच्चैमा उनको हत्या गरिदिनु कम पीडादायी हुनेछ । हुन त उक्त उपन्यासको मर्म फरक हो । तर यस आयामबाट पनि हेर्न सकिन्छ ।
बर्खामा भत्किने घर आजै भत्काइदिनू र नयाँ बनाउन सुरु गर्नू ।
कमजोर रचनाको हत्या गरिनुपर्छ । कमसेकम यो दुस्साहस समीक्षकहरूले नछोडून् ।
बौलाउने कवि- रिप ! संसार जलाउने कवि- रिप !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।