मध्यरातमा एक्कासी बिउँझन पुगेँ । आफैँले थाहा नपाउने गरी कछुवाको गतिमा तल- माथि गरिरहेको श्वासलाई चित्रमा कोरेर कोमल ढङ्गले स्पर्श गरेँ । मेरा शरीरका हरेक अङ्गलाई नियालेँ । अहो, लाखौँ भिन्नभिन्नै कोषहरू आफू-आफूमा घुलेर, सिङ्गो म पो बनेको रहेछु है ! सबै कोषहरु आफ्नै आफ्नै शैलीमा रमाइरहेका थिए । पिसाबले च्यापेझैँ लाग्यो । उठेर कर्सानेर गई तुरुक्क तुर्काएँ ।
झ्याउँकिरीहरु आपसमा बढो सुन्दर ढंगले गुनगुनाई रहेका थिए । केही वर्ष अगाडि, साँझ परेपछि गाउँमा हामी युवायुवतीहरु एकैठाउँमा जम्मा भई झ्याम्रे गाएको सम्झेँ ।
आकाशमा हेरेँ, ताराहरुले जूनलाई जिस्काइ रहेका थिए ।
अँ साच्चै, बचपनमा मैले पनि कम्ता जिस्काउँथें, मेरा कक्षाकी हाँस्दाखेरि दाइने गालाको मध्य भागनेर डिम्पल पर्ने लड्किलाई । ऊ पनि जुन जस्तै थिइ, जुन जसरी नै लजाँउथी ।
पिँढीनेर बसेँ, चुरो टसल्काएँ, भित्रैसम्म तानेर भित्रैबाट धुवाँलाई आकाशतर्फ धकेलिदिएँ । धुवाँ बतासको अङ्गालोमा अङ्गालिएर आकाशतर्फै उड्यो ।
मेरो मनमा अनेक कुराहरु ताल मिलाएर नाच्न थाले ।
म एकाएक यो सुनसान र अँध्यारो रातमा मुसुक्क मुस्कुराउन पुगेछु ।
मुस्कुराइ रहेकै बेलामा सोचेँ, कुनै दिन र केही समयपछि त म यसरी मुस्कुराउन सक्ने छैन । म मनमनै सारै दुखी भएँ । दुखी भइरहँदा पुनः झल्यास्स सम्झिएँ, कुनै दिन र केही समयपछि त म यसरी दुखी पनि त हुन सक्नेछैन । म सम्झँदै जाँदा सम्झन पुगेँ, कुनै दिन र केही वर्षपछि त मैले बिर्सन नचाहेका कुराहरु पनि सम्झने छैन ।
मैले बिर्संदै जाँदा फेरि सम्झिन पुगेँ, कुनै कुनै यादहरु त मैले बिर्सन चाहेरै पनि त बिर्सनसक्ने छैन ।
मलाई यो एकान्त र अँध्यारो रातमा झनै एक्लिएको महसुस भयो ।
अरे ! यो कस्तो नीति ! यो कस्तो सोचाइ ! यो कुन किसिमको पागलपन !
चुरोट सक्किनै आटेको थियो । पिइरहेकै चुरोट पिइरहँदा लाग्यो, कुनै दिन मैले यसै गरी, यसरी नै, यहीँ बसेर चुरोट पिउन पनि सक्नेछैन ।
सजिलैसँग उकालो ओरालो गरिरहेको श्वास, कुनै दिन लठ्ठीटेकेरै भए पनि उकालिन सक्नेछैन, ओरालिन सक्नेछैन र बीच बाटोमै विश्राम लिनेछ ।
ग्यालरी खोलेँ, श्रीमतीलाई अङ्गालोमा बेरेका फोटोहरु जुनइन, जुनआउट गर्दै हेरिरहेँ र टोलाइरहेँ, कुनै दिन जीवनभर एक हुने बाचा कसमगरेकी मेरी श्रीमती मलाई यो लोकमा एक्लै छोडेर, मलाई थाहै नदिई परलोकमा अवतरण गर्नेछे । मैले यसै गरी उसलाई यौनको मैदानमा चुर्लुम्मै डुबेर चुम्बन गर्न सक्नेछैन ।
श्रीमतीसँगको मात र उत्तेजना पनि गाला चाउरिए जसरी नै चाउरिने छ ।
मेरो यो उखरमाउलो बैँस पनि कपालका रौं फुले जसरी नै फुल्नेछ ।
मातापितालाई सम्झिरहँदा सम्झिन पुगेँ, यी पनि त क्षणिक रहेछ नक्यारे । कुनै दिन, स्वयं म आफैंले, मेरै मातापितालाई चितामा चढाइ उहाँको अनुहारमा आगोले झोस्नु पर्नेछ । मेरै आँखा अगाडि उनीहरु मुढो जसरी गङ्याङ्ग ढल्नेछन । म जतिसुकै हारगुहार गरे पनि मेरो आवाज उनीहरुको कानसम्म पुग्नेछैन । आज म जहाँ रहँदा, जस्तोरहँदा पनि, मेरो आवाज बिना नै मलाई बुझ्न सक्ने मेरै मातापिताले मेरो रोइकराई सुनेर पनि नसुनेजस्तै गर्ने छन ।
हत्तेरी ! यो कस्तो बिडम्बना !
अरे यार ! केही वर्षपछि त यो रातको, यो अन्धकारको, यो सुनसानको पनि त आयु रित्तिनेछ । त्यो डाँडापारिबाट घाम झुल्कने छैन, किन भने घाम पनि दिनहुँ हामी जसरी नै बूढो हुँदैछ । ती सुकिला हिमालहरु सधैंभरिको लागि सुक्नेछन । पल्लाघरे काका सुल्पामा बिँडी भर्दै गनथन गर्न चौपारीसामु पुग्ने छैनन । यी कमिलाहरु यसै गरी चर्नेछैनन् । यी फुलिरहेका फूलहरु ओइलाएरै खस्नेछन् र यहीँ कतै बिलिन हुनेछन । यो हावा यसैगरी बहकिन सक्नेछैन । यो आकाश यसैगरी पृथ्वीको ओत बनेर बसिदिने छैन । यो खोला यसैगरी बग्न छैन । ती टाढाटाढा बलिरहेका बत्ती पनि आफ्नो काल आएपछि निभ्नेछन, सधैंभरिको लागि ।
ती ताराहरुले पनि अहिले नै त हो, जूनसँग मायापिरती जमाउने । केही वर्षपछि त, तिनको पनि त आयु सक्किनेछ । यी झ्याउँकिरी गुनगुनाउने पनि अहिले नै त हो । केही दिनपछि त, यिनको गलामा पनि गाठो पर्नेछ ।
यहाँ सबथोक, सबथोक सकिने छ; यहाँ सबथोकको आयु मेटिने छ, यहाँ केही चिजको पनि नामनिसाना रहने छैन ।
यहाँ त हर चीज क्षणिक पो रहेछन् ।
अनि म ?
मैले दुखीहुँदै स्विकार्न पुगेँ,
म पनि त कुनै दिन अरु मरे जसरी नै मर्नेछु । मलाई पनि त अरुलाई जसरी नै मर्न पर्नेछ ।
म आखिर पाहुना न रहेछु, हिजो यहाँ आएँ, आज अबेरसम्म यहीँ कतैरहने छु, भोलि झिसमिसे उज्यालो नहुँदै यहाँबाट बिदाबारी हुनेछु ।
अँ साच्चै, मरेपछि मान्छे कहाँ जान्छ होला है !
त्यो ‘अर्कैब्रह्माण्ड’ कुन आकारको होला ! कस्तो रङको होला !
हामी सबैलाई क्षणिक बनाउने भगवान् आफू पनि क्षणिक रहेछ्न क्यारे ! अझ, उनी अर्कै ब्रह्माण्डमा उक्लिएको त सयौं वर्षभन्दा पनि बेसी भैगयो ।
हामीलाई लिन काल आउँछ । काललाई लिन चाहिँ को आउँछ होला है !
पुनःअर्को चुरोट सल्काएँ, ओठको कापमा चुरोट च्यापेँ र अगेनानेर पुगेँ, एकगिलास मनतातो पानी पिएँ, आफूलाई ठण्डा बनाउदैँ पिँढीनेर टुक्रुक्क बसेँर सोच्दै गएँ, –
मरण छ र त जिउनुको पनि मज्जा रहेछ । यहाँ अजम्बरी नै त के रहेछ र ! तर, जो जिइरहेछन, खुसीकासाथ जिइरहेछन् । खुसी हुँदै जिउन खोजिरहेछन् ।
अनि म ??
यो समय, यो बार, यो मिति त आज आयो । अब कहिल्यै न आउने गरिजाँदैछ ।
आज मसँग यौवन छ, बैँस छ, तागत छ र मुख्य कुरो उमेर छ ।
भोलि भविष्यले वर्तमान र भूतलाई हेर्दा मुस्कुराइ दियोस, त्यत्ति भएपछि पुग्छ ।
कति बाचियोभन्दा पनि कसरी बाचियो भन्ने न हो ।
मलाई पनि कुनै दिन मर्नु त छँदैछ ।
मलाई पनि अरु जसरी काल आएपछि सकिनु त छँदैछ ।
मेरो काल त परलोकबाट हिँडिसक्यो होला है । म पनि त यो लोकमा जन्मिएकै दिनदेखि नै हिँडिरहेकै त छु । एकदिन अवश्य पनि, चाहेर/नचाहेरै पनि कालसँग जम्काभेट हुनेछ मेरो ।
हो । यहाँ सबथोक क्षणिक र नासवान रहेछन् । जबसम्म मसँग रहन्छन्, म यिनको सही र उचित सदुपयोग गर्नेछु । मसँग एकदमै थोरै समय छ । भएको समयको पनि पूर्णरुपमा भरछैन । म अब जति बाँच्छु, बबाल ढङ्गले बाच्छु । जबसम्म, मसँग मेरो जिन्दगी हुन्छ, म मेरो जिन्दगीमा लिक बन्छु । जिन्दगी नियन्त्रण गर्ने रिमोट मेरै हत्केलामा फिटगर्छु ।
मलाई थाहा छ, रिमोटमा ‘ननरिचार्जेवल ब्याट्री फिट’ गरिएको छ । जतनले प्रयोग गर्छु र आफूलाई मनपरेका च्यानलहरु मात्रै प्रशारण गर्छु ।
म छु वर्तमानमा तर मेरो मन र मस्तिष्क कि भूतमा अल्झिरहन्छ कि भविष्यतर्फ दौडिरहन्छ ।
मिल्ने भए म पनि ‘टाईमट्राभल’ गरेरै कि ४/५ बर्ष अगाडि जान्थेँ, कि आफूलाई ४/५ वर्षपछाडि धकेलेर नयाँ गोरेटो समात्थेँ । के गर्नु, मिल्दैन !
भूतमा अल्झेर बस्नुको अर्थ के नै छ र, सम्झनलायक नहुन पनि सक्छ ।
भविष्य सम्झेर पनि बस्नु किन र, यहाँ कसको केनै ठेगान छ र !
आजको पनि अहिलेलाई ज्यादै व्यस्त बनाउन सकेँभने भूत वा भविष्यबारे सोच्न मलाई फुर्सद पनि हुने छैन ।
त्यही एकमुठी श्वास र अलिकति आस हुन्जेल सके दौडिएरै, नसके हिंडेरै, अझै नसके घर्स्रिंदै अगाडि बढिरहन पर्ने चोला रहेछ ।
जो, जेसुकैहोस्, जहाँसुकैहोस् जस्तोसुकैहोस् ।
सकेसम्म, मिलेसम्म मुस्कुराउँदै सन्तोषकासाथ श्वासफेर्न जान्नुपर्दो रहेछ ।
मैले बिर्सेको छैन, कुनै दिन मलाई पनि मर्नु पर्नेछ ।
मैले बिर्सेको छैन, कालसँग भेटहुँदासाथ म आफैंलाई थाहै नदिई कालले मलाई उठाएर लैजानेछ ।
यो जिन्दगीको रीत रहेछ, मैले जन्मदा पनि म जन्मदैछु भन्ने थाहा पाइनँ ।
म मर्दा पनि, मलाई मेरो मरणबारे पत्तो हुने छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।