मानिस सम्पन्न होस् या विपन्न उसभित्र असल गुण पनि हुनसक्छ ,खराब गुण पनि हुनसक्छ । राम्रो हुनु पनि उसको चरित्र हो भने खराब हुनु पनि चरित्र नै हो मानिसको । यसरी मानिसहरूमा सकारात्मक अर्थात् असल गुणको कमी हुनुलाई चरित्रहरूको खलनायकिपन हो भन्दा अत्युक्ति नहोला ।
यस धर्तीमा जति पनि मानिसहरू छन् कतै न कतै उनिहरूभित्र असल चरित्रको सट्टा नकारात्मक प्रभावले जरा गाडेर बसेको छ । फलतः मानिस ठान्छ ऊभन्दा विद्वान त यो दुनियामा कोही छैन । उसको दिन रातको कोसिस नै यो हुन्छ कि उसको सोचलाई अरूले अनुसरण गरून् ,आँखा चिम्लेर वाहवाही गरून् । ऊ ठान्छ कि मैले जे लेखे जे पढे पनि यो समाजले पचाउँछ ,हस हजुर ,जिउ भनेर स्याबासी दिन्छ । यही भ्रमले उ आफैंलाई चिन्दैन । साथीलाई चिन्दैन र अरूलाइ पनि ।
समय – दहमा जमेको पानी होइन । परीस्थिती – पिन्जराको सुगा होइन । प्रेम – विनिमय वस्तु होइन । जात – सर्वश्रेष्ठ पुरस्कार होइन । होहल्ला – युगिन परिचायक होइन । कर्तव्य – अर्ती उपदेश होइन । धर्म – निर्जीव वस्तुलाई मात्र पुजिने जडता होइन । शिक्षा – विश्व बिद्यालयको प्राङ्गण मात्र होइन । भिड -सबै चिजको रक्षार्थ होइन । तर सबै बुझेर पनि मानिस यी सारा कुरा सुन्न चाहंदैन । हरेक कुराको बिकल्प हुँदैन भने जस्तो ठान्छ । मान्छे जर्मन सम्राट एडोल्फ हिटलरले म नै जर्मन हुँ ,राजा लुइ चौधौंले म नै राज्य हुँ भनेझैँ अरूको अगाडि यस्तो हर्कत प्रस्तुत गर्न कति हिचकिचाउँदैनन् । यसरी हर मानिसमा कुनै कुनै न रूपमा बढी रहेको छ चरित्रको खलनायकिपन ।
मानिसमा कति सम्म आडम्बर रहेको हुन्छ भने अकबर र बिरबलको यौटा कथामा जाऊँ ,एक पल्ट अकबर राजा र मन्त्री बिरबलको बाजी परेछ ।समुद्रमा बिरबलले पुरै रात बसेर उज्यालो बनाउनु पर्ने तब मात्र बिरबलले जितेको राजाले पत्याउने । बिरबले पनि राजा अकबरसँगको शर्त मानेर समुद्रमा रात भर बसे छन् । राजाले सोधपुछ गरे, तिमी कसरी यस्तो मध्यरातमा यो अँध्यारो समुद्रमा बस्न सक्यौ ? अनि बिरबलले भनेछ्न् सरकार मैले हजुरको दरबारमा बलेको बत्ती हेरेर रात काटें । तब राजाले भनेछन् धत् मेरो दरबारको उज्यालो हेरी कसरी जित्यौ बिरबल तिमीले ? यो त तिम्रो सरासर हार हो ,तब बिरबल राजासँग सकिदैन भन्दै अर्को जुक्ति गुथ्ने प्रयासमा लागेका थिए रे । हो अकबर राजाको जस्तो नहुने अड्डी लिने ,सामान्य कुरा पनि ग्रहण नगर्ने मानिसको स्वभावले नै चरित्रहरूमा खलनायकिपन अस्वभाविक रूपमा विकसित भई रहेको छ ।
एउटा धनाढ्य मानिस आफ्नो धनलाई नै परिष्कार ठान्छ । ऊ ठान्छ कि ऊ जतिको सर्वगुण सम्पन्न मानिस नै कोही छैन ।अनि त ऊ पढ्नु पनि आवश्यक ठान्दैन । कुनै कुरालाई दोहोर्याएर सोच्ने दृढता नै लिंदैन । मानवता ,दर्शन ,दुख सबै फजुल सम्झन्छ । एउटा गरीब ब्यक्ति आफूलाइ यस्तो मान्छ कि सबै धनीहरू उसका विरोधी हुन् ,उसलाई नकारात्मक रूपले मात्र हेर्छन् । अथवा म जतिको दुख अरूले पाएकै छैन भन्ने सोच्छ । एउटा नेता ठान्छ कि जनतालाई नारा बाँडे पुग्छ ,धर्म, जाति, भूगोलको कुरा निकालेर लडाए हुन्छ ,यिनीहरू यस्तै हुन् विकास भाडामा जाओस् । एउटा लेखक आफूलाई मात्र अरूले मानी दिऊन् ,अरूले आलोचना नै नगरून् ,पाठक मुलासित किन बोल्नु भनेर आफूलाइ नै सर्बोपरी मान्छ ।
यस्ता अनेकन कथित विचार र सोचका धरातलहरू छन् । अहिले मानिस चरित्रहरूको खलनायकिपनमा दगुर्नमै अभ्यस्त छ ।
समय गतिशील छ । अठतिस वर्षीय चाइनिज बिलिनियर जिह्याङ यिमिङ्गले सन् २०१६ मा टिकटक उत्खनन् नगरेका भए अरूको गीत र स्वरमा लिप्सिङ्ग दिने आजका करोडौं युवा युवतीहरू त्यतिकै निश्चय बस्ने थिएनन् कतै न कतै कुनै आधुनिक विज्ञान प्रविधिसित झुम्दै बस्थे होलान् । कुनै कुराको सफलताको अन्त हुँदैन र त्यो तोडिँदैन भन्ने पनि होइन । यसो हुँदो हो त तीस वर्षीय अमेरीकन युवतीले एक्लै प्लेनमा तीन वर्ष लगाएर विश्व भ्रमण गरेको रेकर्ड केवल पाच महिनामा उन्नाईस वर्षकी किशोरी बेल्कियम युके नागरिक जारा रुथफोर्डले पक्कै तोड्ने थिइनन् ।चाह्यो भने हर कुरा सम्भव छ यी कुराहरू सकारात्मक सोचका उपज हुन् ।
चरित्र निर्माणको लागि मेहनत र साधना दुवै आवश्यक छ । योगा जिम र प्रशिक्षणका महंगा कक्षाहरूले शरीर र दिमागलाई तेज त बनाउलान् तर मनभित्रको पवित्रतालाई शुद्ध नै बनाउँछ भन्ने ग्यारेन्टी ऊ स्वयममा निर्धारण गर्छ । जिम गरेको व्यक्ति विनम्र हुनुको सट्टा अहंकार बोक्ने भयो भने चरित्रको खलनायकिपन नै झल्कन्छ । अरु महिलालाई सीप तालिम सिकाएर आफू भने अर्कै दुनियाकी नारी सम्झने युवतीमा पनि खलनायकिपनको गन्ध छैन भन्न सकिन्न ।
कुनै पार्टी सरकार ,संगठन ,कार्यलय, अफिसमा मै मात्र छु ,म बाहेक अरुबाट चल्दैन ,मैले रोजेको मानिस चाहिन्छ, नभए हुँदैन जस्ता मिथ्या आवाजहरूले वर्तमान अशोभनीय हुँदै गएको छ । तर असल सोचका परिकल्पनाकारहरू कुनामा बसेर पनि संसारलाइ उज्यालोको किरण बाड्न सधैं प्रयत्नरत हुन्छन् । आज हिजोको होइन ,आजकै हो ,भोलिको हो ,तर हिजोको कथ्यलाई नजर अन्दाज गर्न सकिँदैन ।हिजोको अतीतले भोगेको सकारात्मक नकारात्मक पाटोबाट वर्तमानमा चाल्ने कुरा ,अनि भविष्यलाई पनि वर्तमानले दिएको मानचित्रबाट सूक्ष्म रूपमा अध्ययन गर्दै अघि बढाउन सकिन्छ ।
चरित्र कथा ,उपन्यास, नाटक या फिल्ममा मात्र कैद हुने विषय होइन । यो त लेखकको रचना हो ,कलाकारको अभिनय हो । यसर्थ चरित्र निर्माण गर्ने व्यक्ति स्वयम् मानिस हो । यसरी जति मानिसको चरित्रमा ह्रास आउन्न , ऊ चरित्रहरूको नालायकिपनबाट बच्छ । कृष्ण एउटा चरित्र ,कृष्णको सोह्र सय गोपिनीको पछि लाग्नु ,राधा हुँदाहुँदै रुकमिणी ल्याउनु खलनायकीपन हो ।अर्जुन एउटा चरित्र द्रौपदी हुँदा हुँदै कृष्णकी बहिनी सुभद्रा ल्याउनु ,कर्णलाइ रथ ठेल्दा ठेल्दै बाण हान्नु खल चरित्र ,लोग्ने अन्धा भए भनेर जीवन भर पट्टी बाध्ने गान्धारी त्यागको चरित्र तर दुःशासन र दुर्योधनप्रतिको पुत्र मोह खल चरित्र ,देवव्रत राजकुमार भीष्म पितामह बन्न बिहे र राजकाज नगर्ने दृढता असल चरित्र तर भारी सभामा द्रौपदीको बेइज्जत हुँदा उनको मौनता खल चरित्र । इतिहास र वर्तमानमा हजारौं असल र खराबका इतिवृत्त छन् । कथा र किंवदन्ती लेखिएका छन् ।
स्वतन्त्र मनको स्पर्श योग्य चिज नै अरूलाई ग्रहण गर्न सक्नु हो । अरूलाई मानव सम्झनु गर्वको विषय हो । शिक्षा साधनालाई खराब हुनबाट जोगाउनु जुझारूपन हो । भुइँ या अग्लो धरातल होइन सबैलाई हृदयतः स्वागत गर्नु चरित्रहरूको खलनायकिपनबाट बच्नु हो । यसैले विशुद्ध रूपमा हट्नुपर्छ तपाईं हाम्रो मन मस्तिष्कबाट चरित्रहरूको खलनायकिपन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।