हिजोआज नेपाला युवापुस्ता रोजीरोटीका लागि खाडी मुलुक हानिन्छन् । खाडी मुलुकका रापिला बालुवा मुस्ने काम नेपाली युवाका आँसु र पसिनाले गरिरहेको छ । मलेसियाका जङ्गलमा सर्प र बिच्छीहरूसँग उत्तिकै पौँठेजोरी खेल्छन् नेपाली युवाहरू ।

भर्खरै बिहे गरेकी श्रीमती, वृद्ध बुबाआमा, कलिला लालाबाला सम्झदै विदेशको भूमिमा श्रम गर्छन् र गुनगुनाउँछन् ‘चालीस कटेसि रमाउँला…’

यो त्यो समयको कुरा हो जतिबेला खाडी मुलुकले विदेशी कामदारलाई काम दिन सक्ने बनेकै थिएन । उनीहरू आफैँ मरुभूमिमा तड्पिरहेका थिए । आजभन्दा ८ दशक अगाडिसम्म नेपालीहरू काम खोज्नका लागि उत्तरी हिमाल र पठार मरुभूमि नाघेर तिब्बतको ल्हासा पुग्थे । हिउँदभरि हिउँले पुरिने ल्हासामा जाडो सकिनासाथ पुग्ने नेपालीहरु लगगभ ८ महिना काम गरेर हिउँ पर्न सुरु गरेपछि उही बाटो नेपाल फर्कन्थे।

यही वियोगान्त पीडालाई वि.स. १९९१ मा महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन लेखेर युवापुस्ता नेपालीको पलायत संस्कृति र बाध्यता उजागर गरेका थिए। त्यही मुनामदनले सम्भवतः पहिलोपटक नेपाल र चीनलाई साहित्यमार्फत् जोडेको हो ।

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरसम्म कसरी फैलिएको छ भन्ने कुरा मुनामदनमा मिहिन ढङ्गमा व्यक्त गरिएको छ । पैसा कमाउन तिब्बत गएका मदन बिरामी पर्दा एकजना तिब्बती (भोटे) ले गरेको सेवाले दुई देशबीचको नागरिक सम्बन्धलाई बिम्बात्मक रूपमा उभ्याएको छ । नेपाली झ्याउरे लयमा लेखिएको मुनामदन अहिलेसम्ममा सबैभन्दा बढी बिक्री हुने कृति पनि हो ।

नेपाल र चीनलाई साहित्य जोड्ने मुना मदनलाई अङ्ग्रेजी र त्यसपछि चिनियाँ भाषामा पनि अनुवाद गरिएको छ । चिनियाँ भाषामा चाहिँ एक दशक अगाडिमात्र अनुवाद भएको हो ।

लिउ चिआन

चीनको सामाजिक विज्ञानको चिनियाँ प्रतिष्ठानअन्तर्गत राष्ट्रिय संस्थाको अन्तर्राष्ट्रिय रणनीतिका प्राध्यापक लिउ चिआनले मुनामदनलाई चिनियाँ भाषामा अनुवाद गरेका हुन् । उनले अनुवाद गरेको मुनामदन खण्डकाव्य सन् २०११ को डिसेम्बरमा चिनियाँ भाषामा प्रकाशन भएको छ । प्राध्यापक लिउलाई मुनामदन अनुवाद गर्नका लागि चीनका लागि तत्कालीन नेपाली राजदूत टङ्क कार्कीले अनुरोध गरेका थिए । कार्कीको अनुरोधलाई स्वीकार गर्दै लिउले छोटो समयमै मुनामदन अनुवाद गरेको बताउँछन् ।

मुनामदनका सर्जक लक्ष्मीप्रसाद देवकोटा र यसका चिनियाँ अनुवादक लिउ चिआनका बीचमा एउटा गजबको समान संयोग मिल्न आउँछ । लक्ष्मीप्रसाद देवकोटाले मुनामदन लेख्दा उनी कहिल्यै ल्हासा गएका थिएनन् । तर उनले त्यहाँको चित्रण सजीव ढङ्गले गरेका छन् । साँझको बेला पोतला दरवारमा बलेका दियोहरूले झलमल्ल देखिएको कुरादेखि चौरीगोठ र पशुपालक तिब्बतीको दैनिक जीवनलाई देवकोटाले जीवन्त उतारेका छन्।

मुनामदन प्रकाशन भएको ७५ वर्षपछि चिनियाँ भाषामा अनुवाद गर्दा प्राध्यापक लिउले नेपाल टेकेका थिएनन् । उनले त्यस अगाडि रवीन्द्रनाथ टैगोरका तीनवटा कृति चिनियाँमा अनुवाद गरिसकेका थिए । उनी दक्षिण एसियाका बारेमा खोजअनुसन्धान गर्ने विज्ञ त थिए तर त्यतिबेला आफूलाई नेपाली साहित्य र संस्कृतिका बारेमा त्यति धेरै ज्ञान नभएको उनले यो स्तम्भकारसँग बताए ।

प्राध्यापक लिउले बङ्गाली र हिन्दी साहित्यबाट पनि चिनियाँ भाषामा अनुवाद गरेका छन् । त्यसो त उनलाई चिनियाँ र अङ्ग्रेजीबाहेक बङ्गाली भाषा पनि आउँछ । उनी भन्छन् ‘नोवल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको साहित्यभन्दा मुनामदन धेरै उत्कृष्ट छ । मैले टैगोरका किताब पनि अनुवाद गरेको छु तर देवकोटाको मुनामदनजस्तो रसिलो र मन छुने भाव मैले कहीँ पनि पाइँन ।’ मुनामदनको वियोगान्त कारूणिक कथा नै यसको बहुमूल्य विशेषता भएको उनको ठम्याइ छ।

अनुवाद गर्नुअगाडि लिउलाई मुनामदनका बारेमा केही पनि थाहा थिएन । उनले न त नेपालको भ्रमण गरेका थिए न त नेपाली साहित्यका बारेमा बुझ्ने कुनै अवसर नै पाएका थिए । उनले भने ‘मैले देवकोटाको पागल कविता अङ्ग्रेजीमा पढ्न पाएको थिएँ ।’

सन् २०१० तिर नेपालबाट एउटा सांस्कृतिक प्रतिनिधिमण्डल बेइजिङ्ग आएको रहेछ । त्यतिबेलाका राजदूत टङ्क कार्कीले उनलाई पनि सो सांस्कृतिक कार्यक्रम अवलोकन गर्न बोलाएका रहेछन् । संयोगवश त्यहाँ मुनामदन गीतिनाटक पनि प्रस्तुत गरियो र राजदूत कार्कीले यसलाई चिनियाँ भाषामा अनुवाद गर्न आफूलाई आग्रह गरेको उनले सुनाए ।

मुनामदन गीति नाटकले उनको मन तानिसकेको थियो । उनले मुनामदन खण्डकाव्यको अङ्ग्रेजी अनुवाद पढे। जम्मा एक हजारभन्दा केही बढी लाइन मात्र भएको यो खण्डकाव्य चिनियाँमा अनुवाद गर्न उनले प्रतिबद्धता व्यक्त गरे । नभन्दै उनले तीन महिनाको समय लगाएर अनुवाद सिध्याए र सन् २०११ को डिसेम्बरमा मुनामदनको चिनियाँ अनुवाद प्रकाशनमा आयो ।

मुनामदन अनुवाद गर्दा आफूले नेपालका विभिन्न डकुमेन्ट्री हेरेको प्राध्यापक लिउले सुनाए । यसको उद्देश्य नेपाल बारेमा धेरै बुझ्ने चाहन्थे उनी । मुनामदनमा नेपाली समाज, गरिबी, नेपाली माया, धरातल, घर र आँगनलाई जीवन्त उतार्नु पर्ने भएकाले उनका लागि यो निकै चुनौतिको विषय थियो । किताब प्रकाशन गरेर मात्र सन् २०१२ मा पहिलोपटक नेपाल पुगेका प्राध्यापक लिउलाई त्यतिखेर ढुक्क लाग्यो जतिखेर उनले कल्पना गरेको नेपालीपनलाई प्रत्यक्ष नियाल्दा खासै फरक पाएनन् ।

उनले नेपाल भ्रमणका क्रममा डिल्लीबजारमा रहेको लक्ष्मीप्रसाद देवकोटाको घर र त्रिचन्द कलेजको पनि अवलोकन गरेको बताए । उनले अवलोकन गरेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको डिल्लीबजारको घर नेपाल प्रज्ञाप्रतिष्ठानले भत्काइसकेको छ । त्यहाँ देवकोटा सङ्ग्रहालय निर्माण हुँदैछ । त्यो सङ्ग्रहालययले देवकोटा निवासको पुरानो तत्वलाई कति बोक्ने हो त्यो हेर्न बाँकी छ ।

प्रख्यात चिनियाँ साहित्यकार लु सुनको घरलाई चीन सरकारले संरक्षण गरेर लु सुन संग्रहालय बनाएको छ। बेइजिङ, शाङहाई र क्वाङचौमा रहेका लु सुनका तीनवटै घरलाई चीन सरकारले सङ्गहालय बनाएर लु सुनको जीवनी झल्किने सबै कुराको संरक्षण गरेको छ।

पहिले नेपालको बारेमा खासै चासो नराख्ने प्राध्यापक लिउलाई मुनामदन अनुवाद गरेपछि भने नेपाल जाने हुटहुटी नै चलेको बताउँछन् । मुनामदन अनुवाद गरेको केही महिनापछि नै आफू नेपाल भ्रमणमा गएको उनले सुनाए ।

अनि अर्को रमाइलो संयोग के छ भने उनी अझै तिब्बतको ल्हासा पुगेका रहेनछन् । उनले ल्हासा जाने रहर लागेको तर अहिलेसम्म नजुरेको बताए । नेपाल र तिब्बत (भोट)लाई प्रत्यक्ष जोडेको मुनामदन अनुवाद गरे पनि आफू अहिलेसम्म तिब्बत नपुगेको कुरा उनले खुलाए ।

प्राध्यापक लिउको जन्म चीनको वल्लो शान्सी प्रान्तमा भएको हो । उनले कर्मथलो चाहिँ बेइजिङलाई बनाएका छन् । बेइजिङमा बस्ने भएकाले उनी नेपालबाट आएका साहित्यकार तथा साहित्यमा रुचि राख्ने प्रायःलाई भेट्ने गर्छन् । त्यस्ता भेटमा उनको गफको मुख्य विषय नै लक्ष्मीप्रसाद देवकोटा र उनको मुनामदनका बारेमा हुने गरेको उनले सुनाए । भविष्यमा अझै धेरै नेपाली साहित्यलाई चिनियाँ भाषामा अनुवाद गर्नुपर्ने आवश्यकता देख्ने प्राध्यापक लिउले केही सुझाव पनि दिएका छन् । उनी भन्छन् ‘चिनियाँ भाषा र नेपाली भाषा राम्रो जान्ने व्यक्तिसँगै साहित्यमा रुचि राख्ने व्यक्तिहरुको एउटा समूह बनाउनुपर्छ । नत्र सोझै नेपालीबाट चिनियाँमा अनुवाद गर्न गार्‍हो छ ।’ अनूदित साहित्यले दुई देशबीचको सम्बन्धलाई अझै मजबुत बनाउने उनको ठहर छ ।

बेइजिङस्थित नेपाली दूताबासले आयोजना गर्ने विभिन्न समारोहहरूमा सहभागी हुने गरेका छन् प्राध्यापक लिउ । दक्षिण एसियाको साहित्य तथा संस्कृतिमा उनीसँग लामो अनुभव छ । नेपाली झ्याउरे लयको लोकप्रिय कृति मुनामदनलाई चिनियाँ भाषामा अनुवाद गरेर उनले दुई देशबीचको साहित्यिक तथा सांस्कृतिक सम्बन्धमा नयाँ इँटा थपेका छन्  ।