के दर्शनबिना जीवन सम्भव छ ? धेरैले सम्भव छ भन्न सक्छन् । हामीलाई बाँच्नका निम्ति हावा, पानी, वनस्पति, खाद्मान्न, अनुकूल वातावरण आदि चाहिन्छ । सिधै भन्नु हो भने हामी खानेकुरा खाएर बाँच्छौँ, दर्शन खाएर होइन ।
खाएर बाँच्ने काम त पशुपक्षीदेखि लिएर किराफट्याङग्रा समेतले गरिरहेका हुन्छन् । दर्शन कुनै खानेकुरा होइन । मानिस सोच्ने प्राणी भएको कारणले ऊ खानलाई मात्र बाँच्दैन। दर्शनबिना बाँच्न सके तापनि हामीलाई दर्शन चाहिन्छ । ‘के’, ‘कसरी’ अनि ‘किन’ जस्ता प्रश्नसूचक शब्दहरू लगाएर चिन्तन गर्न थालेपछि त्यहाँ दर्शन आफैँआफ बन्न थाल्छ । दर्शन आश्चर्यबाट सुरु हुन्छ । उत्सुकता र प्रश्नहरूबाट सुरु हुन्छ । प्रश्नहरूबाट उत्तरहरू अनि उत्तरहरूबाट विचारहरू अनि सही र मान्य विचारहरूबाट दर्शनको निर्माण सुरु हुन्छ । जहाँ गहन चिन्तन, विचार अनि ज्ञान हुन्छन् त्यहाँ दर्शन हुन्छ ।
जीवनका कुराहरू नै दर्शनका कुराहरू हुन् । कसैले दर्शन चाहिँदैन भन्छ भने पनि त्यो पनि दर्शन नै हो किनकि आफ्नो मतलाई तर्क वा प्रस्तावद्वारा पुष्टि गर्नु (राख्नु) नै आदर्शीकरण गर्नु हो, अनि आदर्शीकरण नै दर्शन गर्ने एउटा विधि हो। त्यसैले विचार दर्शनको पहिलो सिँढी हो । ज्ञान दर्शनको सामग्री हो ।
मानव जीवन अनि संसार सम्बन्धित विषयहरूको गहन अध्ययन नै दर्शन हो । दर्शनले पूर्णतामा जीवनको अध्ययन गर्न खोजिरहेको हुन्छ । यसलाई सारा विषयहरूका विषय पनि भनिन्छ । विज्ञानका सन्दर्भमा कुरा गर्ने हो भने यसले विज्ञानका सारा विषयहरूलाई पनि गहन रूपमा अध्ययन (अनि चिन्तन) गरिरहेको हुन्छ । विज्ञान भाग (पार्ट) हो भने दर्शन पूर्ण (होल) हो । विज्ञानले एउटा भागलाई अझैँ भाग गरेर विशेषज्ञताका रूपमा अध्ययन गर्दछ । तर दर्शनले सधैँ पूर्णतालाई प्राथमिकता दिदंछ । पूर्णता सधैँ सम्पूर्णतासित जोडिएको हुन्छ ।
म को हुँ ? म यहाँ किन र कसरी छु ? कस्तो जीवन उत्तम जीवन हो ? अनि संसारको वास्तविकता के हो ? जस्ता प्रश्नहरूका गहन मनन, चिन्तन, विचार, अध्ययन अनि अनुसन्धान गरेमा दर्शन गरिन्छ । त्यसर्थ अर्थपूर्ण र सार्थक जीवन जिउन हामीलाई दर्शन चाहिन्छ ।
दर्शनको प्रकृति अनि दार्शनिकहरूको कार्य कति ठूला वैज्ञानिकहरूले पनि नबुझेको जस्तो देखिन्छ । स्टेफन हकिङलेधरि ‘द ग्रान्ड दिजाइन’ को पहिलो अध्यायको पहिलो अनुच्छेद (२०१०, पृ. १३-१४) मा नै लेख्नुभएका छन्: “How can we understand the world in which we find ourselves? How does the universe behave? What is the nature of reality? Where did all this come from? Did the universe need a creator? Most of us do not spend most of our time worrying about these questions, but almost all of us worry about them some of the time. Traditionally these are questions for philosophy, but philosophy is dead. Philosophy has not kept up with modern development in science, particularly physics.”
दर्शन कहिल्यै मर्दैन । विज्ञान र दर्शनका आ-आफ्ना अध्ययन क्षेत्र र पद्धतिहरू छन् । भौतिकविज्ञानले जस्तो दर्शनले वस्तु, घटना र विश्वका बारेमा सिधै सक्रिय भएर काम गर्दैन । दर्शनका विधि उत्तरसंज्ञानात्मक (पोस्टकग्नेटिभ) हुन्छ । हामीसित पहिले सङ्गीत हुनुपर्छ त्यसपछि मात्र सङ्गीतको दर्शन हुन्छ । त्यसरी नै हामीसित भौतिकविज्ञान छ र नै भौतिकविज्ञानको दर्शन । भौतिकविज्ञानभन्दा पहिले भौतिकविज्ञानको दर्शन हुन सक्दैन ।
हकिङका ‘द ग्रान्ड डिजाइन’ पुस्तकको पूर्ण अध्ययन गरिसकेपछि एउटा प्रश्न सोध्न सकिन्छ “के यो पुस्तक दर्शनबाट मुक्त छ ?” छैन भने दर्शन कहिल्यै मर्दैन भन्ने कुरा उनीहरूको आफ्नै लेखाइबाट प्रमाणित हुन्छ अनि छ भने त्यहाँ दर्शन र सैद्धान्तिक भौतिकविज्ञानका बीचमा किन यति धेरै समानताहरू छन् ।
सैद्धान्तिक भौतिकविज्ञानले पुरानै ज्ञात तथ्यहरूलाई नयाँ प्रकारले बुझ्ने गरेको छ । यसले नयाँ परिकल्पना (हाइपोथेसिस्) र सिद्धान्तहरू (थ्योरी) को अस्तित्व ल्याउँछ । समीक्षात्मक तर्कसङ्गत प्रतिबिम्बका रूपमा दर्शनले वस्तु, घटना र विश्वका बारेमा हाम्रो ज्ञान वृद्धि गर्दैन तर तिनीहरूका सही व्याख्या र बुझाइमा पुग्न मद्दत गर्दछ । तसर्थ दर्शन न त मरेको छ न त दार्शनिकहरूको योगदान नै कमी भएको छ ।
भौतिकविज्ञान वास्तविकताको प्रतिनिधि (रेप्रेजेन्टेटिभ) बन्छ तर तत्त्वमीमांसा (मेटाफिजिक्स) तथ्यका बारेमा मौन छ । भौतिकशास्त्रीहरूले वस्तु र घटनाहरूको अवलोकनबाट निष्कर्ष निकाल्छन् । तिनीहरूले आफ्ना अनुमान र अवलोकनबाट परिकल्पना (हाइपोथेसिस) निर्माण गर्छन् । विज्ञानमा जस्तो दर्शनमा परिकल्पना पाइन्दैन । दार्शनिकहरूले अवधारणाहरूसँग व्यवहार गर्छन् जसमा अनुभवजन्य अन्तर्बोधको कमी हुन्छ र यसले तिनीहरूको स्थिती अझै अप्ठ्यारो बनाइदिएको छ । इमानुएल कान्टअनुसार दर्शनले विज्ञानका जस्ता थ्योरीहरू बनाउन सक्दैन किनभने यसमा थ्योरीहरूको कुनै स्कोप हुँदैन (क्रिटिक अफ प्योर रिजन, १९५८, पृ. ११)। यो कुरा अल्बर्ट आइन्स्टाइन र म्याक्स प्लाङ्कजस्ता महान् वैज्ञानिकहरूले राम्ररी बुझेका थिए । वैज्ञानिक थ्योरीहरू वस्तुकाबारे नै हुन् अनि अनुभवले कि त प्रमाणित गर्छ कि त खण्डन । दर्शनलाई तथ्यहरूद्वारा प्रमाणित वा खण्डन गर्न सकिँदैन । दर्शन मात्र अवधारणात्मक हुन्छ अनि सबैका निम्ति खुल्ला ।
रेने डेकार्ट्स र डेविड ह्युमजस्ता महान् दार्शनिकहरूले पनि दर्शनलाई विज्ञानजस्तो प्रगतिशील ठानेका थिए तर उनीहरूको त्यो विचार साकार हुन सकेको छैन । दर्शन विज्ञानजस्तो प्रगतिशील हुन सक्दैन । यदि कुनै व्यक्तिले दर्शन र भौतिकविज्ञानलाई एउटै मान्छ भने उसको भूलबुझाइलाई रोक्न सकिँदैन । इतिहासले बताउँछ कि कति दार्शनिक अनि वैज्ञानिकहरूले वास्तविक अवस्था बुझ्ने प्रयास नगरी ‘दर्शन’ र ‘विज्ञान’ जस्ता शब्दहरू विभिन्न अर्थहरूमा प्रयोग गरेका छन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।