
हिजोआज नेपाली भाषामा सिर्जनात्मक अभिव्यक्तिका धेरै माध्यम प्रयोगमा आएका छन्, आइरहेका छन् । ती कुनमा कति नेपाली भूगोल, प्रकृति, संस्कृति छ त्यो समयले बताउला ! स्रष्टा र पाठकमाझ साइनो कविताको लोकप्रियता देखेर प्रेरित भई प्रस्तुतिमा देखापरेका फरक शैलीका प्रस्तुति सबैलाई स्वागत गर्दै साइनो कविताले अँगालेको नेपाली मौलिक स्वरूप र सांस्कृतिक उद्बोधनबारे विमर्शमा केही अभिमत राख्ने अनुमति माग्छु –
अनन्त छन् जिज्ञासा !
छ कतै मेट्ने योजना ?
हामी सधैँ दोबाटे यात्री ??
सर्जक स्वभावैले नयाँ अनुभव लिएर पाठकमाझ पुग्ने प्रयत्न गर्छ । विषय उनै र उस्तै हुन्छन् । सर्जक भोगाइ, अनुभूति र शैली भिन्नतामा भिन्न स्वाद पस्किइन्छ । पाठक बेग्लै स्वाद खोजिरहन्छन् । सर्जक निजत्वमा रमाउँछ । सिर्जना मौलिकतामा फक्रन्छ । यसैमा जीवन सजिन पाउँछ । जीवन सजाउने रहरले सर्जक र पाठक दुवै मन तानिरहन्छ । मन न हो ! सम्बन्धहरूको पोयो बाटेर सिङ्गै मान्छे डोर्याउँछ । हिजोका मान्छे डोर्याएर आजसम्म ल्यायो । आजका मान्छेलाई भोलिसँग जोडिदिन्छ । त्यही मान्छे पृथ्वीको एउटा कुनामा जन्मेर पल्लो कुनासम्मको यात्रामा दौडन्छ । दौडमा भेटिएका मान्छेसँग गाँसिँदै-गासिँदै पर पर पुग्छ र नयाँ भुईँमा उभिएर आफूलाई खोज्न थाल्छ ।
सिकौँ जीवन बाँच्न
बनौँ न मान्छे नै मान्छे
उठाई माटो रमौँ मान्छे !
हो नि ! स्रष्टा सिर्जनाको विशाल मैदानबाट अनुभूतिका थुँगा बटुलेर कल्पनासँग सोपान चढिरहन्छ । ऊ स्वभावैले नवीनता तर्फ उन्मुख भइरहन्छ, नयाँ प्रस्तुतिले जीवनमा उत्साह भर्न चाहन्छ । आफ्नै परिवेशमा नयाँ विषय र शैलीको खोजी गरिरहने उसको प्रवृत्तिले सिर्जनालाई रुचिकर बनाएर पाठकप्रिय बनाउन चाहन्छ । सामाजिक सांस्कृतिक सहिष्णुताका लागि ऊर्जा थपिरहन्छ । निरन्तर सक्रिय रहेर विशाल भूगोलमा फरक शिल्पशैलीले आफ्नो उपस्थितिलाई नवीन अनि विशेष बनाउन चाहन्छ । सर्जकेच्छामा साहित्यिक सिर्जनाले जीवनजगत्का यावत् पक्ष समेट्ने हुँदा अझ बढी व्यापकता लिएको हुन्छ । परिणामस्वरूप पछिल्लो समय नेपाली भाषामा सुरु भएको नवीनतम प्रयोग साइनो कविताले पनि छोटो समयमा धेरै स्रष्टा, पाठक र भूगोल प्राप्त गरिसकेको छ ।
हाँडी टाल्ने दाउ छ
शरीरभरि घाउ छ
बहुरूपी हाउभाउ छ !

छायादत्त न्यौपाने ‘बगर’
साइनो गण्डकी प्रदेशमा प्रचलित ‘सैना’ शब्दको विकसित रूप हो । यसको अर्थ अरू नाता/सम्बन्ध नभएका छोरी मान्छेले आपसमा सैना (मित) लाएर जोडिएको सम्बन्ध भन्ने हुन्छ । बृहत् नेपाली शब्दकोशमा उल्लिखित साइनु/साइनोको कोशीय अर्थले पनि नाता/सम्बन्ध जनाउँछ । आज यो परम्परित अर्थ व्यक्ति-व्यक्तिबिचको नाता/आफन्तमा सीमित छैन । विगत केही समयदेखि यसले आफ्नो अर्थ विस्तार गरी सिङ्गै जीवनजगत्सँग जोडिएर सिर्जनात्मक अर्थमा सृष्टिका सम्पूर्ण प्राणी र प्रकृति, संस्कृति, इतिहास, विज्ञान, राजनीति, अर्थशास्त्रसमेत यावत् विषयसँग सम्बन्ध जोड्ने नातेदारका रूपमा आफूलाई चिनाउँदै आएको छ । साइनो कविता नेपाली, थारु, बाजुरेली, संस्कृत, हिन्दी, अङ्ग्रेजी र मलेसियन लगायका भाषाहरूमा लेखिँदै आएको छ ।
यी मनमौजी मान्छे
हार चुँडालेर दाइँ
घैँटे र घैँटाको भिडन्त !
साइनो कविताले प्रवर्तन भएको छोटो समयमै व्यापक बनेर लोकप्रियता पाइसकेको छ । यसले स्रष्टा मस्तिष्क र पाठक मनमा पसेर नवीन अनुभूति सम्प्रेषण गरिरहेको छ । आधुनिक प्रविधिसँगै सामाजिक सञ्जालमा उम्रेर त्यसैमा झाँगिन भ्याउनु यसको फरक विशेषता हो । आज साइनो कविता चार बर्से स्कुल जाने शिशु कक्षाको उमेरमा हजारौँ स्रष्टाको प्रिय अभिव्यक्ति बनेर फक्रेको छ । यसलाई पाठकले विश्वभरिबाट पछ्याइरहेका छन् । पढिरहेका छन्, यसको नौल्याइँप्रति मनन गररिहेका छन् । यसले नयाँ सर्जक जन्माइरहेको छ । पहिला रुचि नभएकाहरू पनि साइनोमा साङ्लिएपछि साहित्यकार बनेका छन् ।
साइनो कविताले स्रष्टा र पाठक दुवैलाई दुइटा प्रभाव दिएको अनुभव गर्न सकिन्छ । एउटा हो, यसको सात, आठ र नौ अक्षरी संरचना सजिलो छ । यसको रचना सजिलै गर्न सकिन्छ भन्ने सोचाइ । अर्को हो, यसका तीन शब्दगुच्छाको स्वतन्त्र संरचना र अन्तःसम्बन्धित अर्थ गाम्भीर्य जटिल छ । स्तरीय साइनो सिर्जना सजिलो छैन भन्ने बुझाइ पनि छ । यो बुझाइमा परिपक्वता पनि छ । यी दुवै धारणाले आंशिक सत्य बोकेको पाइन्छ भने दोस्रो बुझाइको अन्तर्यमा पसेर मसिनो अध्ययन गरी हेर्दा साइनो कविताले खास अनुभूति दिएको पाइन्छ । यसैमा छ यसको आकर्षण पनि किन भने अक्षर सङ्ख्या मात्रले साइनो कविताको पूर्ण परिचय दिँदैन ।
जनता जाग्ने कैले ?
बाटो छेक्दै कमिसन !
बन्छ र देश यो चालले ?
व्यञ्जना शब्दशक्तिबाट निःसृत व्यङ्ग्य चेतना साइनो कविताको मूल मर्म हो । यसमा हुने व्यङ्ग्यात्मक र ध्वन्यात्मक अर्थ पहिल्याउने कुराले विशेष एवं गहन परिचय बोकेको हुन्छ । त्यो भनेको तीन पङ्क्तिका प्रत्येक शब्दगुच्छाले दिने स्वतन्त्र अर्थसँगै सात, आठ र नौको योग चौबिस अक्षरी विषम संरचना विधि नै हो । सामान्यतः यसको सप्ताक्षरी कथनलाई यसरी पनि हेर्न सकिन्छ –
क) साइनो कविता नेपाली मनमाटाले उमारेका कविताको नवीन प्रयोग हो । साहित्यको माध्यमबाट नवीन प्रस्तुति दिन खोज्ने स्रष्टा मनोवृत्तिको सूत्रात्मक अभिव्यक्ति साइनो हो । भनिन्छ साहित्यले जीवनको आलोचानात्मक यथार्थसँगै कल्पनातीत मनोविज्ञानको पनि अध्ययन गर्छ । साइनो पनि सिङ्गै जीवनको चित्रण गर्ने गरी संरचित सूत्र कविता हो । हुन त स्रष्टा सदैव साधनारत रही नवीनता पछ्याइरहन्छ । यसै सिलसिलामा नवीन प्रस्तुति कला पछ्याई पाठकलाई घत पार्ने विचारले सूत्रात्मक साहित्यिक अभिव्यक्ति स्वरूप साइनोको आविर्भाव भएको हो । यसको संरचना, स्वरूप र नामले निजत्व बोकेर प्रस्फुटन भएको छ । यो नौल्याइँको आफ्नै संरचना स्वरूप, तिथिमिति र नेपालीपन छ । यसैमा समस्त नेपाली वाङ्मयप्रेमीले गौरवबोध गर्न सक्ने सुगन्ध अटाएको छ । यसले नेपाली वाङ्मयी सम्पदा साइनो सबै नेपालीको साझा हो भन्ने अनुभूति दिलाएको छ । यसलाई देशविदेशमा रहेका नेपालीले अपनत्व दिएर मलजल गरिरहेको पाइन्छ ।
ख) साइनो कविता नेपाली भाषाले जन्माएको पछिल्लो समयको लोकप्रिय सिर्जात्मक प्रस्तुति हो । नेपाली समाजमा प्रचलित शब्द साइनोले साहित्यिक विधा विशेष कविताको नाम संवहन गरेपछि यसको विस्तार भएको हो । यसलाई नयाँ संरचना र नामबाट बहुचर्चित विधा कविताकै उपविधाका रूपमा चिन्ने/चिनाउने गरिएको छ । यसको जन्म विज्ञानको नवीनतम चमत्कार (फेसबुक वाल) अनुहार किताबको भित्तामा भएको हो । यसले धेरै स्रष्टा एक ठाउँ जोड्ने/जोडिने सेतुको काम गरेको छ । यसलाई अल्पायुमै विश्वव्यापी बनाउने बलियो जग पनि यही अनुहार किताबले जोडेका स्रष्टाहरू नै हुन् । तोते बोली उमेरको साइनो आज नेपाली भूमि र नेपाली भाषामा सीमित छैन । भूमिको कुरा गर्दा यो विश्वव्यापी भएको छ र भाषाको सन्दर्भमा पनि बहुभाषामा प्रयोग भइसकेको छ ।
ग) साइनो, कविताको सानो रूप हो । यसको संरचना निश्चित अक्षर सङ्ख्यामा गरिन्छ । बिम्ब, प्रतीक, अलङ्कार, ध्वनिजस्ता कविताका अन्तर्वस्तुले यसलाई पनि सिँगार्छन् । लय, अनुप्रास यसका पनि प्रिय अङ्ग हुन्, यिनले संरचना सुन्दर बनाउँछन् । यसमा शृङ्गार, वीर, हास्य आदि नवै रसको प्रयोग गर्न सकिन्छ । वाचन विधानमा प्रत्येक गुच्छाको अन्त्यमा विश्राम दिएर (पहिलोमा विश्राम, दोस्रोमा विश्राम दिने र पहिलो, दोस्रो र तेस्रो-तेस्रो गरी) वाचन विधि अपनाउँदा एकरूपता कायम हुने देखिन्छ ।
स्वादिलो फल कर्म
स्वाभिमानी शिर देश-२
पुरुषार्थी फल इमान , पुरुषार्थी फल इमान ।
घ) कतिपय सर्जक/पाठकले सात, आठ नौ अक्षरकै संरचना किन भन्ने जिज्ञासा राखेको पाइन्छ । यस सन्दर्भमा सातले (आइत,सोम आदि) सात वारका नाम र समय जनाउँछ । आठले (पूर्वपश्चिम आदि) आठ दिशा जनाउँछ भने नौले साहित्यमा प्रचलित (शृङ्गार, वीर आदि) नवरस बुझाउँछ । यी तीनैको संयोग चौबिस अक्षरले चौबिस घण्टाको समय बताउँछन् । यसरी हेर्दा साइनोले गणितका उच्चाङ्क लिएर संरचना बनाएको विशेष प्रकारको शैलीका रूपमा आफूलाई चिनाउँछ । आध्यात्मिकहरूले सातबाट सप्तर्षि, आठबाट अष्टचिरञ्जीवी र नौबाट नवदुर्गा भन्ने अर्थबोध पनि गर्न सक्छन् । जसले जसरी बुझे पनि साइनो गणितका जेष्ठअङ्कहरूको विषम तर विशिष्ट संरचना हो । यो नेपाली भाषाको मौलिक रूपमा प्रस्तुत भई सामाजिक सांस्कृतिक पक्षसँग पनि जोडिएको छ । नाता सम्बन्धसित साङ्लिनु साइनो शब्द र सिङ्गै वाङ्मयको पनि निजत्व हो ।
ङ) साइनो छोटो समयमा सिङ्गै भूगोलमा फैलिएर धेरै स्रष्टा र पाठकप्रिय विधाका रूपमा अगाडि आएको छ । यो आजको व्यस्त पाठकले खोजिरहने मानवीय स्वभावअनुसारको फरक साहित्यिक स्वाद लिएर रमाउन सकिने नवीन तर छोटो संरचनाको विशिष्ट प्राप्ति हो । यसको छरितो संरचना र अर्थ गाम्भीर्यले धेरै पाठकको मन जितेको छ । यसमा रमाउनु स्वाभाविक पनि हो । यो सूत्रात्मक स्वरूपको कसिलो रचना स्रष्टा र पाठक दुवैको मनोविज्ञानअनुकूल भएकाले यथाशीघ्र विस्तार हुन सकेको हो । यो छोटा तीन पङ्क्तिको पूर्ण संरचना हो । पाठकले थोरै समयको लगानीमा साहित्यिक स्वाद प्राप्त गर्न सक्छन् ।
च) साइनोका सात, आठ र नौ अक्षरी संरचनाको अक्षर गणना नेपाली व्याकरणको सामान्य नियमलाई आधार मानेर गरिन्छ । प्रयोग आधा अक्षर, चन्द्रविन्दु, शिरविन्दु वा संयुक्त अक्षरको पनि गरिन्छ तर गणना सग्लो (स्वर अक्षर अ आ इ..र स्वर जोडिएका क का कि ..व्यञ्जन) अक्षरको मात्र गरिन्छ । साइनोमा दिइने भावार्थले मागेबमोजिमका लेख्यचिह्न (। पूणर्विराम, ? प्रश्नवाचक, ! आश्चर्यबोधक, अल्पविराम आदि) प्रयोग गर्न सकिन्छ भने सामान्यावस्थामा तेस्रो पङ्क्तिको अन्तिममा (।) पूणर्विराम प्रयोग गर्नु उपयुक्त देखिन्छ । अन्त्यमा अरू चिह्न नभएको अवस्थामा पूणर्विराम अनिवार्य गरिएको छ । साइनोका तीन शब्दगुच्छामा अन्तर्निहित अर्थ अभिधामा सीमित नरही लक्षणा र व्यञ्जनाबाट निस्कने ध्वन्यार्थ प्रबल रहन्छ । यसका त्रिपद स्वतन्त्र हुन्छन् । प्रत्येक पदको अर्थ स्वतन्त्र र एकमुस्ट अर्थ दुवै लाग्छ । यस विधिअनुसारको सिर्जनाले साइनो कविताको साख राखेर साहित्यमा सौन्दर्य भर्छ । यसको तात्पर्य हामी अनेक थरी नेपालीमा रहेको सहिष्णु एकत्व पनि हो । यी तीन पङ्क्ति हिमाल, पहाड, तराई, भूगोल र शीत, समशीत, समशीतोष्ण हावापानीका प्रतीक पनि हुन् । यसरी हेर्दा तीनको अर्थ जातीय र भौगोलिक एकतासँगै सत्त्व, रज, तम गुणी स्वभावजन्य मान्छे हामी नेपाली भनेर मान्न सकिन्छ ।
जोत्दैन, हलो भाँच्छ !
डुक्रन्छ मैमत्त साँढे !
खेतभरि मौलायो झार ?
छ) विद्युतीय सञ्जालबाट सुरु भएको साइनो यसमै झाँगिँदै छ । यतिखेर पर…पर धेरै परसम्म पुगिसकेको छ । अलमल नगरी भन्न सकिन्छ साइनो कविताले यति छोटो समयमा विश्वभरिका हजारौँ स्रष्टासम्मको यात्रा, सामाजिक सञ्जालबाटै सम्भव भएको हो । कापी, कलम र किताबविनै प्रचारप्रसारले शिखर छुन सक्नु यसको अनुपम उपलब्धि मान्नुपर्ने हुन्छ । यसले यति सजिलोसँग हामी साइनोकारलाई जोडेर आत्मीय बनाइदियो कि बयानै सम्भव देखिन्न । भौगोलिक हिसाबले पर..पर रहेका हामीलाई मित्रताको सूत्रले कसी नेपालीपनसित लछ्रप्प भिजाएर वाङ्मयको श्रीवृद्धिमा समर्पित गराएको छ । यसरी साइनेप्रेमीका रूपमा स्थापित गर्न/गराउन सक्नु नै यसको ऐतिहासिक प्राप्ति हो । साइनो कविता प्रयोगमा आएपछि यसलाई पछ्याएर अरू धेरै नयाँ-नयाँ प्रयोग पनि आइरहेका छन् । यसबाटै पुस्ट्याइँ मिल्छ कि साइनोले नयाँ स्रष्टाहरू मात्र जन्माएको छैन नवीन शिल्पशैलीको प्रयोगमा पनि ऊर्जा दिइरहेको छ । नेपाली वाङ्मयलाई समृद्ध बनाइरहेको छ ।
गहन भाव बोक्न सक्ने साइनो कविता नेपाली जनजीवनको मार्मिक अनुभूतिलाई मूर्तरूप दिने साहित्यिक कर्म हो । यसले अवलम्बन गरेको उल्लिखित मानक पछ्याएर सिर्जना हुँदै जाँदा निकट भविष्यमै समग्र नेपाली परिचय उचालिने विश्वास लिन सकिन्छ । यो समस्त नेपालीले नेपाली माटो खोस्रेर हुर्काएको साहित्यिक बिरुवालाई आवश्यक मलजल गरी स्थायित्व दिने साझा जिम्मेवारी निर्वाह सदैव सबैतिरबाट हुन सकोस् । यहाँ यही अनुरोधात्मक शुभेच्छा व्यक्त गर्न सकिन्छ ।
आज साइनो धेरै स्रष्टाको प्रिय कविताका रूपमा अगाडि आएको छ । कति स्रष्टा त कस्तो गति लिएर कहाँ पुग्ला ? भनी जिज्ञासु आँखा लिएर चौतारीमा पर्खँदै पनि छन् । जसले जहाँ बसेर पर्खे पनि अहिलेको व्यस्त समयबिच सूत्रमा प्राप्त साइनोको साहित्यिक खुराकले पाठक मन जितेको छ । यही नै साहित्यको पछिल्लो नवीन शिल्पशैलीको साइनोलाई जीवन्त बनाउने बलियो आधार हो । स्रष्टा-साधनाले यसको मानक समाइदिए भविष्य आफैँ उजेलिँदै जानेछ । निरन्तर साधनाले साइनोलाई परिपक्व बनाउँदै लानेछ । प्राज्ञिक व्यक्तित्वहरू पनि यस विषयमा आकर्षित हुँदै छन् ।
साइनो सिर्जनाले अग्रज स्रष्टाको स्नेह र नवीन स्रष्टाको स्याहार पाएको छ । कतिपय स्रष्टको प्रथम कृतिका रूपमा साइनो सङ्ग्रहहरू प्रकाशित भएका छन् । राष्ट्रिय रूपमा धेरै स्रष्टाका रचना र सैद्धान्तिक लेखसहित साइनो सारथि पनि प्रकाशित भएको छ । यसै गरी जिल्लास्तरमा पनि संयुक्त साइनो सङ्ग्रहहरू सार्वजनिक भइसकेका छन् । विभिन्न गोष्ठीहरूमा पनि यसले उच्चसम्मान प्राप्त गरिरहेको देखिन्छ । दसौँ पुस्तक, एउटा विशेषाङ्क समेत दर्जनौँ पत्रिकाले स्थान दिएर प्रचारप्रसारमा सघाउँदै आएका छन् ।
मान्छे छैन इमानी
न छ सहरमा धन
न त झोपडीमा पिसानी ।
यो साइनो कविता इतिहासको प्रथम ऐतिहासिक रचना हो । प्रथम प्रयोक्ता छायादत्त न्यौपाने ‘बगर’ हुन् । यो उनीद्वारा २०७६/०४/१६ मा रचित सामाजिक सञ्जालबाट प्रसारित पहिलो साइनो रचना हो । यहीँदेखि क्रमशः विकसित हुँदै आएको साइनो यसैमा सीमित छैन । छापा पत्रपत्रिकाले पनि विशेष महत्त्वका साथ स्थान दिँदै आएका छन् । विभिन्न साहित्यिक मासिक पत्रिकाहरूमा शब्दाङ्कुर, शृङ्खला, अग्निचक्र, पुस्तकालय आवाज, जनमत, शब्द संयोजन, बालप्रज्ञा, मधुपर्कहरूले स्थान दिएका छन् । यसै गरी साइनोलाई प्रहरी, समष्टि, लोक भाका, नवप्रज्ञापन, लहरा, हिमाली गुराँस, द्वैमासिकहरू र गाउँले देउराली साप्ताहिक, परेवा पाक्षिकहरूको साथ लागेर धेरैतिर पुगेको छ । कति दैनिक, साप्ताहिक तथा अनलाइन पत्रिकाहरूले साइनो कविताको विकासमा अतुलनीय योगदान पुर्याउँदै आएका छन् । यिनै पत्रपत्रिका र यिनका सम्पादकको उल्लेख्य देनकै प्राप्ति हो साइनोको यो जीवन्त लोकप्रियतासँग भएको व्यापक विस्तार । यतिखेर साइनो कविता धेरै बौद्धिकहरूको चासो र चर्चाको विषय बन्दै गरेको पाइन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० पुष २०८२, बुधबार 





