लताको नेपाली कनेक्सन

लताले पहिलोपटक सुमनाञ्जलि फिल्म्स्का निम्ति जनरल नरशमशेरको आग्रहमा माइतीघरका निम्ति टाइटल गीत गाएकी थिइन्, जयदेव यस फिल्मका सङ्गीतकार थिए ।

माइतीघरपछि उनले हेमन्तकुमार कालीदास मुखर्जीको सङ्गीतमा मवीवि शाहको शब्दमा दोस्रो नेपाली गीत गाइन्,

आकाशका तिरमिरे तारा म गन्न सक्दिनँ
हातमा हात परेको वेला म भन्न सक्दिनँ …

माइतीघरपछि उनले प्रकाश थापाको निर्देशनमा बन्न लागेको फिल्म “मेरो देश” का निम्ति अम्बर गुरुङको सङ्गीतमा गाउने तय भयो, उनी गीत रेकर्डिङको मुहूर्तमा पनि आइन् तर गीत रेकर्ड हुन सकेन । “मेरो देशमा” लताबाहेक फत्तेमान राजभण्डारी, निर्मला श्रेष्ठका स्वर पनि समाहित हुने क्रममा थियो ।

बम्बईमा लामो समयदेखि सङ्घर्ष गरिरहेका रञ्जीत गजमेरको सङ्गीतमा जीतेन्द्र वर्देवाको शब्दमा मेरो आशले मेरो भाग्यले पर झन् पर छोडिरहेछ …गाउने तय भएको थियो, धर्मा फिल्म्स्बाट निर्माण गर्न लागेको पिरती फिल्मको यो गीत पनि उनले गाइनन् ।

लताले आफ्नो इच्छाले गायक नारायण गोपालसित युगल गीत गाउने रहर सङ्गीत संयोजक मनोहरि सिंहमार्फत प्रस्ताव गरेकी थिइन् तर नारायण गोपालले हिन्दी गीत गाउन अस्वीकार गरेपछि यो सत्कार्य पनि रोकियो ।

उहाँले गायक रामकृष्ण ढकालसँग युगल गीत गाउनुभएको थियो । “मैले ११ वर्षअघि उहाँसँग गीत गाउने अवसर पाएको थिएँ । ‘फूल भन्छ फुलिरहूँ…’ गीतका सङ्गीतकार शिखर सन्तोष र म लता मङ्गेशकरले दिएको समयअनुसार मुम्बईतिर गएका थियौँ । उहाँले मुम्बईको स्वरलता स्टुडियोमा बोलाउनुभएको थियो । उक्त स्टुडियो उहाँकै हो । त्यहाँ जाँदा मैले लता मङ्गेशकरलाई पशुपतिनाथको फोटो र रुद्राक्षको माला लगिदिएको थिएँ । गीत रेकर्ड गराएपछि मेरो उहाँसँग भेट भएन । अप्रत्यक्ष रूपमा उहाँबारे सोध्ने र कुराकानीचाहिँ भएको छ ।“(नयाँ पत्रिका, २०२२ -०२-०८)

आश्वासन दाहाल

वि.सं. २०५९ सालतिर तत्कालीन राजा ज्ञानेन्द्र शाहको शब्दमा जीवन प्रधानको सङ्गीतमा एउटा रेकर्ड हुने कुरा व्यापक हल्लामा आए पनि साकार हुन सकेन ।

बलिउड फिल्ममा सङ्गीत गर्ने एक मात्र नेपाली सङ्गीतकार भोलानाथ श्रेष्ठको सङ्गीतमा लताले “ये बस्ती ये लोग” मा “दिल जलेगा तो जमाने को उजाले होगा” गाएकी थिइन्, प्रसिद्ध गायिका पूर्णीमा (सुषमा श्रेष्ठ) का पिता भोला श्रेष्ठ ललितपुर तजाःफल्चाका निवासी हुन् । भोला श्रेष्ठ खेमचन्द्र प्रकाशका शिष्य थिए ।

गैर-फिल्मी यात्रा

लताले फिल्ममा बाहेक गैर फिल्मी गीत पनि गाएकी छिन्, त्यसमध्ये मीरा भजन, चला बाही देश, लता सिङ्ग्स् गालिब, ध्यानेश्वर मौली, कोली गीति, गणपति आरती, अभङ्ग तुक्याचे, शिव कल्याण राजा, राम श्याम गुणगान, सज्दा, श्रद्धाञ्जलि अनि सादगीमा पनि गाएकी छिन् ।

गजल गायक जगजीत सिंहको सङ्गीतमा गाएको सज्दा र मयूरेशको सङ्गीतमा गाएको सादगी उनका लोकप्रिय अल्बम हुन् ।

लताले आफैँ पनि सङ्गीत गरेकी छिन्, सङ्गीतकारका रूपमा उनले आफ्नो नाउँ आनन्दघना राखेकी छिन् । सङ्गीतकार आनन्दघनालाई घरमा उनका बाबुले दिएको नाउँ हृदया हो ।

लतालाई गिनिज बुक अफ वर्ल्ड रेकर्डस् ले सर्वाधिक गीत गाउने गायिका भनेर घोषणा गरेपछि त्यसमा ठुलो विवाद र आपत्ति जनाइएको थियो तर पछि लताभन्दा धेरै गीत गाउने गायिकामा आशा भोसलेको नाम अगाडि आएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्डस् त्यसमा भूल सुधार गर्नुपरेको थियो ।

गायिका लताको सबैभन्दा मन पर्ने राग हंसध्वनि हो, उनको जीवनी लेख्ने राजु भारतनले आफ्नो नयाँ घर बनाएर घरको नाम हंसध्वनि राखेर लताको जीवनी लेखे, ‘लता मङ्गेशकर : अ बायोग्राफी’ ( सन् १९९५ ) ।

लताका बारेमा सर्वाधिक मेहनत गरेर लेखिएको पुस्तकमा सुमन चौरसियाको ‘लता समग्र’, डा मन्दार भी बिच्छुको ‘लता भ्वाइस अफ द गोल्डेन इरा’ अनि यतीन्द्र मिश्रको ‘लता सुर-गाथा’ चर्चित छन् ।

लताको धेरै कार्यक्रममा उद्घोषक बनेर यात्रा गरेका हरीश भिमानीले पनि उनको जीवनी लेखेका छन् ।

धेरै कुरा लेखिएर पनि धेरै कुरा नलेखिएकी एक पात्र हुन् लता ।

भारत सरकारले दुई दिन राष्ट्रिय शोक घोषणा गरी २१ तोपको सलामी सहित लतालाई अन्तिम बिदाइ गऱ्यो । पण्डित नेहेरुकी प्रिय गायिका लताको अटल बिहारी वाजपेयी (भारतका पूर्व प्रधानमन्त्री) सँग पितापुत्रीको जस्तो सम्बन्ध थियो । उहाँले लतालाई भन्नुभएको थियो “ अङ्ग्रेजीमा मेरो नाम उल्ट्यायो भने तपाईँ र मेरो नाम उस्तै हुन्छ ।” धेरैले लतालाई सङ्गीतको ताल पनि भन्छन् । भारतरत्न लताको निधनले विश्व सङ्गीतमा ठुलो चोट पुगेको छ । उहाँमा हार्दिक श्रद्धाञ्जलि ।