पिताजी एकानब्बे वर्ष लाग्नुभयो । यो उमेरमा पनि शारीरिक तवरमा सरदर स्वस्थ हुनुहुन्छ, हामी सन्तानका लागि योभन्दा सुखद सौभाग्य अर्को के हुन सक्छ । वेला-वेलामा वयोवृद्ध पिताजीका नङ काटिदिन्छु । केश खौरिदिन्छु । दारी बनाइदिन्छु, नुहाइदिन्छु, कपडा धोइदिन्छु । पिताजीलाई पाँच-सात वर्षदेखि नित्य सेवा गरिआएको छु ।

एक जना गाउँले बाहुनी बजै आएर कारुणिक लयमा सहानुभूति बर्साउँछिन् ।

“बाउले नानीलाई धेरै सताए । तिमीले धेरै दुःख गर्‍यौ कान्छा ! बाबुका लागि । बरा ! अझै कति सास्ती बेहोर्नुपर्ने हो ! अझै गुहुमुतमा त डुब्नै बाँकी छ…………. ।”

बजैका कुराले मेरो रगत भित्रभित्रै भकभक उम्लिन्छ । रननन पारो तातेर आउँछ । बाउलाई दली दिँदै गरेको साबुनको डल्लाले बुढी बाहुनीका नाकैमा झटारो हानी दिऊँ कि, यस्तो आक्रोश पनि नआएको होइन तर विचरा बाहुनीले मप्रति करुणा देखाएकी हुन् । मप्रति टिठ देखाएकी हुन् । मलाई सहानुभूति राखेकी छन् । मैले मुखमा औँलो टाँसेर भनेँ-

“भयो भयो बजै ! तपाईँ बढी बोल्नुभयो, जानुस् घर । मेरा पिताजीले मलाई कुनै दुःख दिनुभएको छैन । बरु उहाँले मलाई भारी सुख खन्याइरहनुभएको छ । त्यो तपाईँका आँखाले देख्न सक्तैन ………” मेरो आवाजमा आक्रोश घोलिएको थियो । एक आवेग छल्किएको थियो । एक अस्वीकृति पोखिएको थियो ।

“कुरा त मैले ठिकै गरेकी हुँ, तर कान्छा रिसायौ पो क्यार !” यति भनेर उनी मेरो सामुबाट ओझेल परिन् । एकानब्बे वर्षका पिताजीलाई नुहाइदिनुको अपार सुख सँगालिरहेको बखत केही बेर भए पनि बजैले मेरो माथा खराब गरिदिइन् । वृद्ध बाउको पालनपोषणमा गौरवबोध गरिरहेको बखतमा बाउबाट तिमीलाई सारै दुःख भो, तकलिफ भो भनेर सहानुभूति बर्साउन आउने उपर म के भनूँ ? मैले पिताजीको राम्रो सेवाशुश्रूषा नगरेको भए पनि यिनीहरूले मप्रति नै आक्रमण बोल्थे, त्यो मलाई राम्ररी थाहा छ । मेरो निन्दा र भर्त्सनामा नाभिदेखिको बल झिकेर मेरो बद्ख्वाइँ गर्थे ।

पुण्य कार्की

अचेलभरि चाहिँ पिताजीको कुरासित जोडेर मलाई सहानुभूति टकार्न आउने उपर एउटै वाक्य वोल्न थालेको छु ।

“उहाँ मेरो आफ्नै बुबा हो नि, अर्को मान्छे होइन त ।”

यो कथन बोल्न मलाई एउटी सात वर्षकी बच्चीको कथाले उकासेको छ । एक दिन त्यो बच्ची आफ्नो पिठयुँमा तीन वर्षको भाइलाई बोकेर कुनै पहाडी उकालो चढिरहेकी थिई । एउटा जोगी पनि खलखली पसिना काढेर काँधमा आफ्नो ओढ्ने ओछ्याउने कपडाको गुन्टा बोकेर त्यही उकालो चढिरहेको थियो ।

सानी भुन्टी केटीले भाइलाई पिठ्युँमा बोकेर असिनपसिन हुँदै उकालो हिँडेको देखेर जोगीको मनमा करुणा पलायो र बोल्यो- “तिमीलाई गाह्रो भयो नि नानी !”

बच्चीले भनी- “अरे ! कस्तो कुरा गर्नुभएको बाबा ! यो त मेरो आफ्नै भाइ हो ।”

मेरो आफ्नै भाइ हो, एउटै सरल वाक्यमा जोगीलाई हजार अर्थ खुल्ने जबाफ दिएको छ । बच्चीको जबाफ साह्रै घतलाग्दो थियो । यो कथा पढेपछि वेला-वेलामा मउपर सहानुभूति राख्नेलाई यही वाक्य पैँचो लिएर भन्छु- “उहाँ मेरो आफ्नै बुबा हो नि ।”

आफ्नो मान्छेको सेवा गर्नुमा दुःख होइन सुख मिल्दछ । आफ्नो मान्छेको उपकार गर्नुमा पीडा होइन, आनन्द मिल्दछ र आफन्ती परिजनको दुःख निप्टाउनु मनुष्य जातिको पुनीत कर्तव्य पनि हो । यसबाट कोही पनि कदापि च्युत बन्नु हुन्न । कर्तव्यबाट च्युत बन्नेहरू अक्सर यस्ता सुकर्महरूलाई दुःख ठान्छन् । तकलिफ मान्छन् र यसबाट पन्छिनुमा अहोभाग्य ठान्छन् ।

कसैले कोहीप्रति सही रूपको सहानुभूति राख्नु निश्चय नै नराम्रो कुरा होइन । सहानुभूति गलत पनि हुन्छ र ? तपाईँ प्रश्न गर्नुहोला । मेरो विचारमा गलत सहानुभूति पनि हुन्छ । माथिकै घटनामा मउपर बजैले राखेको सहानुभूति गलत सहानुभूति थियो । त्यसलाई सही सहानुभूति म किमार्थ मान्न सक्तिनँ ।

सही सहानुभूतिले अरूको दुःखमा तकलिफमा पीडामा सहोदर अनुभूति गर्न सक्तछ । दुःखको समान अनुभूतिमा संवेदित हुन सक्तछ । त्यसमा बनावटीपनको कुनै ढोँग हुन्न । अरूको दुःख र वेदनामा पनि रुन सक्ने आँखा हुन्छन् । त्यसरी नै भक्कानिन सक्ने हृदय हुन्छ ।

फेरि सुखमा सहानुभूति हुन्न । दुःखमा मात्रै सहानुभूति हुन्छ । सहानुभूतिका लागि आफ्नो सहोदर चिनारु आफन्त या बिरन्तरी जो होस्; ऊ दुःखपूर्ण अवस्थाबाट गुज्रेकै हुनुपर्छ । ऊ अप्ठयारो अवस्थामा फसेकै हुनुपर्छ । अनि त निस्किन्छ सहानुभूति । अनि त पोखिन्छ करुणा भाव ।

कोही आफ्नो आत्मीय-जनको सेवाचाकरमा गद्गद खुसी छ । त्यस्तो सेवामा आफैँभित्रबाट आनन्दित छ । उसलाई कुनै दुःख भए पनि त्यसप्रति कुनै खेद खिन्नता छैन । कुनै मानसिक दुःखको अनुभूति छैन भने त्यस अवस्थामा बाहिरबाट कसैले फोस्रो सहानुभूति बर्साउनु कति उचित होला ? ऊ आपत्‌मा छ कि आनन्दमा छ, ऊ कष्टमा छ कि आह्लादकारी स्थितिमा छ, त्यसको कुनै लेखाजोखा नगरी सहानुभूति टक्र्याउनु आफैँमा बेकार कुरा हो । सही ठाउँमा पोखेको सहानुभूति सही सहानुभूति हो । गलत ठाउँमा पोखेको सहानुभूति गलत सहानुभूति हो ।

अहिले त फेरि ढोँगी खालको सहानुभूतिले बजार पिट्दै छ । सहानुभूति हृदयको केन्द्रबाट होइन । पाखण्डी मनबाट प्रकट हुन थालेको छ । मानौँ सहानुभूति पनि एक व्यापार बन्न लागेको छ । कतै पढेको छु, विकसित युरोपेली देशहरू त्यसमा पनि खास गरी बेलायतको लन्डनमा व्यावसायिक रुने कराउने, आलापविलाप गर्ने र आँसु झार्ने मान्छे भाडामा लिन सकिन्छ अरे । काहीँ मरु परेको छ, त्यहाँ त्यस मृतक मान्छेको नाममा रुनु कराउनु आलापविलाप गर्नुपर्‍यो भने तिनै भाडाका मानिस लगेर रोदनप्रक्रिया पूरा गराइन्छ । व्यावसायिक मान्छेबाट अश्रुपात गराइन्छ । दुनियाँ यहाँसम्म आइपुग्यो । मान्छे यस्तोसम्म भइसक्यो । सभ्यता र विकसित मनुष्यको यो गति कति दयनीय छ ।

सभ्य बन्ने नाममा मान्छे ग्लिसिरिन दलेर रुने अवस्थामा पुगिसक्यो । आफ्ना मातापिता आफन्तजनको मृत्युमा भाडाका मान्छे किनेर शोकाकुल दृश्य सिर्जना गर्ने अवस्थामा पुगिसक्यो । यसबाट के अन्दाज लगाउन सकिन्छ ? ठोकुवा गरी भन्न सकिन्छ मान्छेले हृदयबाट सहज संवेदना गुमाइसक्यो । सहज करुणाभाव भुलिसक्यो । सहज सहानुभूति बिर्सिसक्यो । मान्छे दिनप्रतिदिन हृदयहीन बन्दो छ । जड र संवेगहीन दिशातिर ओरालो झर्दो छ ।

कलाकारहरूले नाटक र मुभी मञ्चन गर्दा वियोग र वेदना देखाउन आँसु झार्नुपरेमा आँखाबाट प्राकृत आँसु नफुट्ता आँसु झार्ने रसायन दल्छन् भन्ने सुनेको हुँ । यो त अभिनयको संसारमा पूरा गरिने रीत हो तर यथार्थमै मान्छेका आँखाबाट आँसुको कुण्ड सुक्तै गएको यथार्थलाई कसैले पनि नकार्न सक्तैन । मान्छे बिस्तारै यथार्थको मनुवा गणबाट नाटकचटकको नटनटीमा परिणत हुँदो छ । उसका क्रियाकलाप सहज संवेदनाबाट भन्दा पनि ढोँग र अभिनयबाट परिचालित बन्दै छन् ।

सहानुभूतिको भोक चढेका एका थरी मनुष्य गणका तृषित नजरले मलाई पनि घोच्ने गर्छन् । एक थरी मान्छेको स्वभाव नै यस्तो हुन्छ, जो अरूबाट हरबखत सहानुभूति लुट्न आतुर रहन्छन् । आफ्नो दुःखपूर्ण अवस्था अरूसामु उदाङ्गो पार्न मरिहत्ते गर्छन् । अरूको सहानुभूति बटुल्नुमा उसलाई मिठो रस मिल्दछ । अरूका कठैबरा ! शब्दध्वनिमा तिनका जीवनको नाद बज्दछ । हुन त सहानुभूति पाउने भोक बालवयमै जाग्छ क्यारे ! कहिलेकाहीँ बच्चाहरूको विचित्र लीला हेर्ने गर्छु । कुनै बच्चा खुर्र दौडिँदादौडिँदै भुक्लुक्क लड्छ । त्यसलाई आसपासका मान्छेहरूले ध्यान दिएर हेरिदिएन भने जतिसुकै साह्रो लडेको भए पनि यताउता पल्याकपुलुक हेर्छ । अनि जुरुक्क उठेर कुद्छ । रुनुको नाममा चुँ पनि गर्दैन तर ऊ लडेको दृश्य कसैले देख्यो ।

“आम्मै नि ! नानी त लडिहालेछ नि ज्या है !” भनिदियो भने लम्पसार परेर चीत्कार निकाल्न सुरु गर्छ । अरूले गएर नउठाएसम्म आफैँ उठ्ने कोसिस पनि गर्दैन । बच्चा स्वभावैले मायाँ र सहानुभूतिको भोको हुन्छ । आवश्यकताभन्दा बढी सहानुभूतिले बच्चालाई काँतर पनि बनाउँछ । रुन्चे पनि बनाउँछ । त्यही काँतरपन उसको अन्तरमा यसरी गढेर बस्छ; वयस्क बन्दा पनि ऊ अस्वाभाविक सहानुभूतिको भोको रहन्छ ।

फेरि मानवचरीको मनोविज्ञान यस्तो छ, अरूलाई सहानभूति बर्साउनुमा भारी रस मिल्दछ । अरूको सुखमा, सफलतामा हाई-हाई गर्न बरु हिचकिचाउँछ तर अप्ठ्यारो समयमा, अक्करमा अड्किरहेका वेलामा फोस्रो सहानुभूति दर्साउन कुदेर पुग्छ । जीवनको अँध्यारो गुफामा उकुसमुकुस हुने गरी छटपटिएको समयमा सहानुभूतिमा गुलदस्ता टक्र्याउनेहरूको कमी हुँदैन । चाहिएको थियो त सहाराको सानो सूत्री चाहिएको थियो । चाहिएको थियो त उसलाई सहयोग र भरथेगको हात चाहिएको थियो तर आफ्नो हात लुकाएर पुग्छ मान्छे त्यहाँ । खालि खोक्रो शब्दावलीको सहानुभूतिसिवाय केही दिँदैन ।

असहाय अवस्थामा तड्पिएको मान्छेलाई निख्लो आवाजमा ओकलेको सहानुभूतिले के लछारपाटो लाउँछ र ? अन्न खोजिरहेको पेट खोक्रो शब्दावलीले भरिँदैन । अस्कोट मागिरहेको आङ निस्तो बोलीले कदापि ढाकिँदैन । साँच्चै नै हृदयबाट करुणाभाव उम्लिएको हो भने आफूसित जे छ मानोमुठी, आनासुकी र चिथ्रा लुगा, त्यसलाई अर्पण गर्न सक्नुपर्छ आर्तउपर तर कृपण मान्छे बोलीदान गर्न महारथ छ । वस्तुदानमा चुइँया छ । तिनका सहानुभूतिमा यहीँनेर घृणा सुसाउँछ । त्यसैले खोक्रो सहानुभूति कहिल्यै मन परेन मलाई । बोक्रे सहानुभूतिपनि कहिल्यै मन परेन ।

आफ्नो दुःख अरूलाई फिँजाएर बेफ्वाँकमा सहानुभूति बटुल्ने कर्मप्रति पनि कहिल्यै रस जागेन । सच्चा सहानुभूति र कच्चा सहानुभूतिलाई राजहंसले दूध र पानी छुट्याएजस्तो छुट्याउन सक्ने विवेकको वकालत गरिरहेको छु म । मानिसको परीक्षा अतिशय कठिन क्षणमै हुने गर्छ । सजिलो समयमा त जसले पनि शब्दका बत्ती जलाउन सक्छ । अप्ठ्यारो समयमा दुःख र विपत्तिको आँधीहुरी सनसनाइरहेको बखतमा सहयोगको दियो जलाउने मनुवा मेरा लागि आदरणीय बन्दछ । असहज अवस्थामा पिठ्युँ फर्काएर हिँड्ने तर सहज अवस्था आएपछि के कस्तो छ, सहयोग के चाहिन्छ भनी सोधनी गर्ने मान्छे पनि देखेको छु, चिनेको छु तर मलाई आफ्नै पैतलाप्रति अथाह भरोसा छ । आफ्नै पसिनाप्रति विश्वास मात्र होइन, हृदयको श्रद्धाभाव छ । कसैका रङ्गिन बैसाखी टेक्नु नपरोस् भन्छ मनले ।

सद्दे मान्छेलाई अपाङ्ग बनाएर बैसाखी बाँड्ने ढोँगी समाजसेवी पनि देखेको छु । साथै आफ्ना साङ्ग पाउ कुँज्याएर काठे बैसाखीको याचनामा गिडगिडाइरहेका दुःखी मनुवाको पनि खाँचो छैन यहाँ । यी दुवै मानव प्रवृत्ति गलत छन् । घातक छन् र विनाशकारी छन् । यसबाट मुक्त नभै हाम्रो चेतनाले ऊर्ध्वतलमा खुट्टा राख्न सक्तैन ।

दुःख-दैन्यको भवसागरमा डुबेका बखत मलाई सहानुभूति दिने प्रशस्त मित्रहरू छन् । साँच्चै मेरा दुःखमा रुने आँखा पनि छन् । मेरो पीडा र वेदनामा शब्दकै सही दिलैबाट मलमपट्टी लाउने ओठहरू पनि छन् तर मेरो आग्रह मलाई, तपाईँले सहानुभूति दिइरहँदा म तपाईँको दयाको पात्र बन्न इन्कार गर्छु । म तपाईँको प्रेमको पात्र बन्न चाहन्छु र तपाईँलाई पनि दया होइन, हृदयको सच्चा प्रेम अर्पण गर्न चाहन्छु ।