साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पर्दा हटेपछि

चर्खामा मसिना रौँहरू जेलिएसरि जेलिइरहेको छ जीवन । बिहानको मिर्मिरेमा जागा भएको चेष्टा रातमा किराहरूको आवाज सुनेरमात्र घरको प्रवेशद्वारबाट भित्र छिर्छ । यो हरेका दिनको दैनिकी हो । यति नगरे उसको चुलोमा आगो बल्दैन ।

Chovar Blues Mobile Size

चर्खामा मसिना रौँहरू जेलिएसरि जेलिइरहेको छ जीवन । बिहानको मिर्मिरेमा जागा भएको चेष्टा रातमा किराहरूको आवाज सुनेरमात्र घरको प्रवेशद्वारबाट भित्र छिर्छ । यो हरेका दिनको दैनिकी हो । यति नगरे उसको चुलोमा आगो बल्दैन । भाँडो बस्दैन । यो रीतको अन्त्य हुँदैन । निरन्तर-निरन्तर चलिरहेको छ ।

खेल्नका लागि धेरै साथीहरू छन् । पढ्नका लागि किताबका ठेलीहरूको कमी छैन तर गोधूलिदेखि झम्केँ साँझसम्म उसले कहिल्यै किताब समाउन पाएन र त जहानले फिलिम हेरेर राखेको टिकटलाई पनि महत्त्वपूर्ण कागज सम्झेर जतनले सिरानीमा राख्छ । कुनै वेला काम लाग्ला भन्ने सोचेर ।

निस्पट्ट अँध्यारामा रातजस्तै निदाउँछ । यति वेला सिधैँ बिर्सने गर्छ म परिवारसँग छु । मेरो घरमा जहान र साना नानीहरू छन् । यति नगरोस् त बिहानको सूर्योदयपूर्व ऊ कसरी काममा जान सक्छ र । यसै कमजोरीको फाइदा उठाउँदै आफ्नै धन्दामा व्यस्त छे उसकी जहान ।

जहान के गर्छे कहाँ जान्छे ऊ केही सोध्न चाहँदैन । घर फर्केपछि मिठो बोलेर पस्किदिएको भात खानु जीवनको जित हो उसका लागि । ऊ अतीतमा जान चाहँदैन । वर्तमानमा जे छ त्यसमै रमाउनुमा आफूलाई श्रेयस्कर ठान्छ ।

फाटेको भोटोको गोजीमा अडिन्न रुपैयाँ पैसा । हुन त गोजीमा राख्नका लागि पैसा पनि हुनुपर्‍यो । पैसा नभए राख्नुपर्ने झन्झटै साफ सायद यस्तै सोच्दो हो । र त दिनमा जति जम्मा भए पनि भोलि कमाउँला भन्ने भानमा जहानको हातमा हालिदिन्छ ।

sagarmani mobile size
बोधराज पौडेल

कहिल्यै भन्दैन नमिठो छ, जे छ कपाकप खान्छ । भन्दैन मेरो बिस्तरा मैलो भो, नयाँ फेरिदेऊ । सम्झन्छ म यहाँ बसेपछि त बिस्तरै नभए पनि निदाइहाल्छु । सायद गोजी फाटेकै कारण हुनुपर्छ सानो डोरीमा अड्याएर बाँधेको छ सोते । यो यसको साथी हो, दिनको एकान्तमा । अनि न जतनले राख्छ आफ्नो मुटुको छेउमा राति पनि ।

घरिघरि छामिरहन्छ भुईँमा झर्‍यो कि भनेर तर सानो डोरीमा बाँधिएको त्यो सोते जीवनको अभिन्न अङ्ग हो । अझ भनौँ त्यो नै जीवन हिँडाउने सारथि हो । यस्तो चिज वा वस्तुले उसलाई यति सजिलै कहाँ छोड्न सक्छ र ? छाम्नु नपर्ने हो उसले पनि । बिचराको यो भन्दा नजिकको अर्को कोही छैन । सायद यसैले त प्रियाको झल्को मेटाउँदो हो ।

यो सोते सल्केको समय आनन्दले तान्छ । त्यो वेला यति जोड लगाउँछ, सायद बह्माण्डको सारा शक्ति खिचेर आफूभित्र लिन चाहन्छ । जीर्ण शरीरले त्यसको भार थाम्न सक्दैन भन्ने जानेर नै होला । ऊ बिस्तारै आफूमा लीन हुन लागेको त्यो धुवाँलाई बाहिर छोडिदिन्छ ।

जसले मेटाउँछ, मनको तलतल । छोप्न खोज्छ त्यो धुवाँमा सारा समस्याहरूलाई तर ती किटिएर बसेका बर्सौँ पुराना अवशेषलाई फाल्न सक्दैन । छोप्न सक्दैन । एकैछिन अलप हुन्छन् फेरि उसको शरीरमा आइहाल्छन् । जे गरे पनि नजाने भनेको उसको हातको ठेला मात्र हो । जुन झन्‌-झन् गाडिन्छ । अहिले त ठेला पनि उठ्दैन । उसलाई थाहा छ ढुङ्गामा ढुङ्गा टाँसिन्न भन्ने कुरा ।

कहिलेकाहीँ सोते बल्दैन । पानीमा भिजेको सोते बलोस् पनि कसरी ? हरेक कोसिस गर्छ, जहानलाई फकाएको जसरी तर आफ्नो अनुहार कहिल्यै हेर्न नमानेकी जहानलाई के गाली गर्नु भन्ने ठान्छ र सोतेलार्ई अगेनको छेउमा सेकाउन थाल्छ । पक्कै सेकेपछि बल्छ भन्ने उसको आशा अझैँ जीवित छ । मनको अन्तस्करणमा जहानको मायाँजस्तै ।

रुखको डालीलाई थाहा छ उसले अन्दाजेर हानेपछि छिन्नुपर्छ । ढुङ्गालाई थाहा छ, उसले उचालेर राखेपछि मिल्नुपर्छ । पानीले नापिसकेको छ उसको आँकडा । र त ऊ हेलिएपछि शान्त बनिदिन्छ । भारी सजिलो भएर पिठ्युँमा थपक्क बस्छ । उसले भनेको कुरा आजसम्म कसैले नमानेको छैन तर घरकी त्यही एउटी आइमाइले हो उसको कुरामा ध्यान नदिएको ।

कला नै नभएको हो भनौँ भने बहर गोरु मेलोमा सरासर जोतिन्छ । बाँसको घनाले डोको दिन्छ । फलामका औँजारहरूले जे भन्यो, जहाँ ताक्यो र जुन आकारमा भन्यो त्यही काम गर्छन तर घरको हाल उस्तै छ । ऊ यही कुराको तारतम्य बुझ्न खोजेको समय एक बिसबाट माथि भइसककेको छ ।

ससुरालीमा साला जेठान थिएनन् । सासूससुरा पहिल्यै बितेका थिए । परिवारकी कान्छी छोरी थिई उसकी जहान । ऊ कहिल्यै झगडा गर्न चाहँदैन थियो । एकदमै कम बोल्थ्यो । एक दिन अँध्यारामा ओछ्यानको मुनि भएको खुकुरीले खुट्टा काट्दा पनि अरूको निद्रा बिच्कन्छ भनेर हैट् ! खुट्टाले आँखा देखेन काट्यो कि क्या हो मात्र भनेको थियो । उता जहानले थाहा पाई कि क्या हो । मन्डीले छोपेको टाउको देखाएजस्तो ठानेको थियो । जूनको टहकमा त्यति राम्रोसँग त ठम्याउन सकेन ।

सानो घरमा मालताल मिलाएर राख्नुपर्ने । त्यो गर्न नसक्दा चोट लागेको मनले ठान्यो । भोलि मिलाउँछु भन्यो र खुट्टा छाम्यो । चिसो पाएन । ओभानो भएकोमा खुसी भयो । धन्न काटेन छ । काँडा त बिझ्न छोडेको थियो । खुट्टा बलियो नै रहेछ । यस्तै सम्झियो ।

मेरो हातले पहरालाई फोर्न सक्छ । खुट्टाले काँडा टेक्न सक्छ । हुँदा-हुँदा आज खुट्टले खुकुरी टेक्यो । मेरो त अहो ! सबै कुरा बलियो छ । तर यो सम्बन्ध किन कमजोर भयो । एकछिन सोचमा डुब्यो । सोतेको आगाले कालो पारेजस्तै थियो खुट्टा पनि । सान्त्वना भन्दा ठुलो औषधि छैन । मनमा आफूमाथि कसैको कृपा छ भन्ने ठान्यो ।

बाहिर हावा चलेको त थिएन । तर शरीरमा सिरेटाले हानेजस्तो काडा उम्रिएको ठान्यो । दोलाईलाई अलि बेरर ओड्यो । सकेको च्याप्यो सायद चलमलाएको कारण चिसो भएको होला भन्ने ठान्यो । बिस्तारै निदाउने चेष्टा गर्दै थियो भालेले बिहानको सङ्केत गर्‍यो । परेवाका बचेराहरू पनि जुरमुराए । बाहिर कुकुर भुकेको आवाजले होला डोकोले छोपेको कुखुरा चलमलायो । कुखुराको फटफटाहटले कुकुरको छाउरो तर्सेर आँगनतिर दौडियो ।

जहान चेतना भएर पनि निर्जीवजस्तै थिई । उसले त्यसको कारण जान्न चाहेको भए पनि सकेको थिएन । एकपटक डाक्टरकामा जाऊँ भनेको थियो । जहानले पर्दैन भनेको सम्झियो । बाँकी कुरा ऊ केही जान्दैन ।

कुन सालमा विवाह भएको हो, त्यो साल भुल्यो उसले तर याद छ त्यही वर्ष हो खोलो खेतको बाटो भएर बगेको र त्यही खोलो खेत बनाउँदा देखि हो उसको जहानसँग सम्बन्ध बिग्रेको पनि । मानजित काकाले कहिलेकाहीँ भन्थेँ, तिमी विवाह गर्दा उन्नाइस वर्षका थियौ । अहिले तिम्री छोरी बाइस वर्षकी भई । एउटी छोरीबाहेक उसका अरू सन्तान थिएनन् । त्यही भएर डाक्टरकामा जान भनेको थियो ।

छोरीको नाम सुनेर कतै टोलाएजस्तो गर्छ । अहिलेसम्म एक रात म जहानसँग सुतेको छैन, छोरी बाइस वर्षकी भइसकिछ । म कस्तो हुस्सु छु । सुत्केरी हुँदा घरको भाले सानो हुन्छ भनेर मानजित काकाले नै त एउटा छरिउम्रेको भाले दिएका थिए । पछि मैले बेँसीमा दुई मेलो काम गरेर छिनेको थिएँ । यो कुरा झन्डै भुलेछु । बर्सौँदेखि अल्झिएर बसेको मनको पर्दा यति वेला खुल्ला भएको छ ।

प्रतिक्रिया
Loading...