मेरो खासै पठनीय परिचय छैन । मेरो पारिवारिक पृष्ठभूमि पनि खासै महत्त्वपूर्णको छैन । मेरो बुबा, आमा भने पूर्वी नेपालमा राम्रै ख़ानदानको हुनुहुन्थ्यो । निरक्षर आमाले सधैँ “छोरी राम्रो पढेर ठुलो मान्छे बन्नुपर्छ, खर्चपर्चको चिन्ता नगर” भन्नुहुन्थ्यो तर मलाई खासै पढाइमा रुचि नै जागेन । स्कुलमा बल्लतल्ल क्लास उक्लेको देखेपछि मैले हाइस्कुल सकेर कलेजको ढोका टेक्न नपाईकन बुबाले बिहे गराइदिनुभयो । मेरो शैक्षिक इतिहास पनि जीवनमा खासै महत्त्वपूर्ण बन्न सकेन ।

बिहे भएको घरमा पनि खासै सुख/खुसी मिलेन । बिहे भएको केही महिनापछि देखि नै श्रीमान्‌ले पनि अर्कैसँग लसपस गर्न थालेपछि कुरै मिल्न छाड्यो । सासूससुराले पनि खासै मन पराएनन् । मैले पनि रिझाउन सकिनँ । क़रिब १५ वर्षअगाडि म एउटा एनजिओमा भोलेन्टियरको काम गर्थेँ । त्यसैताका अमेरिका आउने एउटा प्रोग्राम पारेर भिजिट भिसामा अमेरिका छिरेँ । यहाँ आएपछि यतै बस्न मन लाग्यो । अब जीवनमा कतै पनि सफल नभएपछि मैले जसरी पनि अमेरिका बसेर देखाउने अठोट गरेँ तर काग़ज़ पत्रविहीन भएर यहाँ बाँच्न अत्यन्तै मुस्किल थियो । केही चिनजान भएका नयाँ इष्टमित्रहरूले कामको चाँजोपाँजो मिलाएर एक जना इन्डियनको घरमा महिनाको ९०० डलर र खान बस्न पाउने गरी घरको काम गर्ने र ७ जनाको परिवारलाई खाना पकाएर खुवाउने काम पाएँ तर बाथरुम सफा गर्न नजानेर साहुनीको गाली खाएँ । ऱ्याकमा राख्नुपर्ने जुत्ता बेसमेन्टमा राखिएको फ्रिजमा राखेका कारण म कामबाट फायर भएँ ।

फायर भएपछि मेरो जाने ठाउँ थिएन । मलाई ट्रेन/बस चढेर अर्को ठाउँमा कसरी जाने भन्ने पनि थाहा थिएन । त्यस रातम ट्रेन स्टेसनमा नै यताउता गरेर रात बिताएँ । भर्खरै हिउँद सकिएकाले जाडो थिएन । एउटा झोला र के पर्ला पर्ला भनेर बिहेका गहना बेचेर साटेको र २/४ सय डलर थैलीमा भित्र च्यापेर राखेकी थिएँ । अर्को दिन ट्रेन स्टेसनमा नै एक जना बङ्गाली मुलका हिन्दी बोल्न जान्ने मानिस फेला परे । म स्कुलमा हुँदा आमाको पैसा चोरेर क्लास बङ्क गर्दै हिन्दी सिनेमा हेर्न जान्थेँ । त्यही भएर मेरो स्कुलमा उपस्थिति वर्षमा ९० दिन पनि मुस्किलले हुन्थ्यो । मैले हेरेका हिन्दी सिनेमाका डाइलग सबै मलाई अहिले पनि कण्ठैजस्तो छ र हिन्दी पनि राम्रोसँग बोल्न सक्छु म । बिहे भइसकेर पनि हिन्दी सिरियल हेर्ने बानीले नै मेरो घरबार बिग्रेको हो भन्ने मलाई लाग्छ । मैले आफ्नो कहानी बताएपछि ती बङ्गालीले मलाई क्विन्स काउन्टीको फार रक वे भन्ने ठाउँमा आफ्नो डेरामा लगेर गए । उनी जोन अफ केनेडी एयरपोर्टमा सेक्युरिटी गार्डको काम गर्दा रहेछन् । केही दिन उनकैमा बसेपछि उनले नै एउटा पाकिस्तानीको घरमा बच्चा हेर्ने बेबिसिटिङको काम खोजिदिए । मैले लगातार पाँच वर्षसम्म उनले लगाइदिएको त्यहीँ घरमा बेबिसिटिङ गरेँ । त्यही बङ्गालीसँग ४४ हज्जार डलर तिरेर कागजी विवाह पनि गरेँ र ग्रिन कार्ड पनि निकालेँ । कागजी सर्त भए पनि यो सहरमा मेरो आफ्नो भन्ने कोही नभएकाले मेरो नजानिँदो तरिकाले ऊसँग गहिरो प्रेम बसिसकेको थियो ।

तारा भट्टराई

प्रेमभन्दा पनि ऊसँग बिताएका पलहरू ज्यादै महत्त्वपूर्ण थिए । शारीरिक सम्पर्क त उसले आफ्नो डेरामा लगेर गएको दिन रातिदेखि नै भएको थियो । किनभने उसको जम्मा एउटा सानो कोठामा पलङ मात्रै थियो । श्रीमान्‌बाट पनि अलग्गै हुन थालेको बर्सौँ भइसकेको थियो । अर्को लोग्ने मानिससँग यसरी एउटै पलङमा रात बिताउने क्रममा ख्याल-ख्यालमै म आफैँ ऊसँग पग्लिएकी हुँ । मध्यरातसम्म त म सम्हालिएर श्वास दबाएर अर्कोतिर फर्केर सुतेकि थिएँ । ऊसँग मेरो शारीरिक सम्पर्क हुनुमा उसको कुनै दोष पनि छैन । कसैको भरोसा, सरसहयोगको आडमा पनि मनमा आफैँ प्रेम पलाउँदो रहेछ र सधैँ गुनासो, आरोप, प्रत्यारोप, मतभेद, कलह, असन्तोष, शङ्काले एउ टैओछ्यानमा सुते पनि जीवन पीडादायक हुन्छ । म आफ्नै बिहे गरेको लोग्नेसँग यौनसम्पर्क गर्दा यातनाजस्तै लाग्थ्यो । बङ्गालीको सहयोग र सद्भावले म आँफै जीवनमा पहिलोपटक पग्लिएँ र शरीर पनि उसैलाई समर्पण गरेँ जुन मैले हनिमुनको रात पनि गर्न सकेकी थिइनँ । ऊ अमेरिकी समाजमा अभ्यस्त रहेछ । मलाई दुई-तीनपटक सोच भनेर भन्यो । ऊ पनि कैयौँ वर्षदेखि एक्लै रहेछ । मलाई पाएर हल्का भयो ।

फेरि उसले फ्ल्याटमा बस्ने अरू मानिसहरूलाई मेरो गर्लफ्रेन्ड इन्डियाबाट आएको भनेर चिनाइसकेको थियो । खानाबाहिरै रोटी चपाती खाएर आउँदो रहेछ । मलाई पनि बाहिरबाटै ल्याइदिन्थ्यो ।

म हरेक छुट्टीमा त्यही बङ्गालीसँगै जान्थेँ । उसले पछि अलिकति फराकिलो र राम्रो कोठा भाडामा लिएको थियो । ऊसँगै घुम्न जान्थे । उसकै कुममा मेरो भारी टाउको बिसाउँथेँ । अँगालोमा बेरिएर बस्थेँ । हप्ताभरिलाई पकाएर राखि पनि दिन्थे । ऊ पनि मलाई भेटेपछि दङ्ग थियो । मेरो उता नेपालमा लगभग सबै जनासँग सम्पर्क टुटिसकेको थियो । आमाबा पनि घर गरिखान नसकेर बरालिएकी भन्थे । अरू नातागोता सबै बेखबर थिए । सहरमा अरू कोही पनि चिनेको थिइनँ । हप्तामा ६ दिन काममा नै हुन्थेँ । एकदिनको छुट्टीमा बङ्गालीसँग आउँथेँ ।

क़रिब सात वर्षपछि बङ्गालीले अब आफू ६२ वर्ष पुगेर रिटायर्ड भएको र आफ्नो देश फर्केर जाने निर्णय सुनायो । ऊ अमेरिकामा पैसा कमाउन मात्रै आएको र उसको श्रीमती र छोराछोरी सबै बङ्ग्लादेशमा भएकाले अब नफर्कने गरी घरमा जाने बताएपछि म छाँगाबाट खसेजस्तै भएँ । मैले घर किनेर व्यवस्थित भएर यतै बसौँ बरु घरमै बेबिसिटिङ गरुँला भनेँ । उसले यो देशमा पैसा मात्रै कमाउने हो बस्न त आफ्नै गाउँठाउँमा जानुपर्छ भन्यो । मानेन । तैपनि अब एयरपोर्टसम्म पुगेर बाई गर्नैपऱ्यो । म गएँ र उसलाई भारी मनले बाई गरेँ । म यति वेलासम्ममा अमेरिकाको नागरिक पनि भइसकेकी थिएँ र अलिकति बैङ्क ब्यालेन्स पनि जम्मा भइसकेको थियो । मेरो जीवनमा बङ्गालीकै योगदान छ ।

बङ्गाली उसको देश हिँडेपछि म एक्लै भएँ । एक्लै भएपछि म अलिकति धेरै सोच्ने पनि भएकी छु । म अहिले टाइम्सस्क्वायरनजिकै एकदमै धनी श्वेत अमेरिकनको घरमा बेबिसिटिङ गर्छु । खान बस्न मेरो एक पैसा खर्च हुन्न । म काम सकिएपछि रोजगारदाताले दिएको लग्जरी अपार्टमेन्टमा बस्छु । पैसा कमाइ पनि भने भन्दा राम्रो छ तर मलाई कता-कता मेरो पहिचान सङ्कटमा परेको जस्तो लाग्छ । सङ्कट भनेको के हो भन्ने पनि मलाई राम्रोसँग थाहा छैन तर मेरो क्षमता र प्रतिबद्धताबिच सन्तुलन भने पटक्कै छैन ।

मलाई लेखक भएर समाजमा प्रतिष्ठा आर्जन गर्ने लालसा जागेर आएको छ । लेख्नलाई अध्ययन, चिन्तन र मनन चाहिन्छ तर मसँग त्यो केही पनि छैन । किनभने मैले सुनेकी छु र फेसबुकमा देखेकी पनि छु, धेरै मजस्ता बेबिसिटर र नेल्स सैलुनमा काम गर्नेहरू रातारात कोही घोस्ट राइटरले लेखिदिएर त कोही आफ्नै श्रीमान्‌ले लेखिदिएर ठुलै पुरस्कार हात पारिसकेका छन् । दिनदिनै फेसबुकमा कविता मुक्तक पनि पोस्टिएका हुन्छन् । कम्तीमा मलाई त सानैदेखि रहर नै भनौँ, आमाले मेरी छोरी पढेर ठुलो मान्छे बन्नुपर्छ भन्दा लेखक बन्नुपर्छ जस्तो चाहिँ लाग्थ्यो । कहिलेकाहीँ कविता पनि कोर्थेँ र मेट्थेँ । अनि च्यातेर फाल्थेँ । मैले बेबिसिटिङ गर्ने घरको मालिक पनि पैसावाल व्यापारी हो । लेखेर बस्नलाई न त उसको समय छ न त चिन्तनमनन गर्ने धैर्य न त सोच्ने हृदय नै छ । उसको आफ्नै बच्चालाई टाइम दिन सकेको छैन तर पनि उसको नामको किताब डाइनिङ टेबुलमा देखेकी छु । फोनमा “कन्ग्राचुलेसन” आइराखेको हुन्छ । मालिकनीले मलाई “हि इज ए गोस्टराइटर” भनेर परिचय पनि गराएकी थिई । त्यो गोस्ट राइटर धेरैजसो गार्डेनमा, कहिले बैठकमा एक्लै ल्यापटपमा घोक्लिएर बसेको हुन्थ्यो । मेसिनबाट कडा कफी बनाएर पिउँथ्यो र मालिक आएपछि अगाडि बसेर घण्टौँ कुरा गर्थ्यो । अनि धमाधम टेबुलमा किताबहरू मालिकको नाममा जन्मिन्थे तर त्यो गोस्ट हैन घोस्ट राईटर रहेछ भन्ने बुझ्न पनि मलाई बर्सौँ लाग्यो ।

मैले जीवनमा कुनै उद्देश्य पनि भेट्टाइनँ । बच्चाको डाइपर फेर्नेबाहेक मैले कुनै गतिलो काम पनि पाइनँ । अरू सिप केही पनि छैन । रहर र उद्देश्यविना बाध्यताको जीवन बिताएँ । एक जनासँग बिहे भयो तर अर्कैलाई पति मानियो । अहिले म सिङ्गल पनि छु, मसँग चाहिने जति बैङ्क ब्यालेन्स पनि भयो तर नाम भएन । सिर्फ मलाई एउटा छाया लेखक (घोस्ट राइटर) चाहिएको छ । जसले मलाई रातारात चर्चित लेखक बनाएर हिट बनाओस् । मलाई चर्चित लेखिका भएर शिर निहुऱ्याएर खादामाला पहिरिएर मञ्चमा गमक्क परेर आसीन हुन मन छ । अन्ताराष्ट्रिय गोष्ठी र सेमिनारहरूमा भाग लिन कहिले लन्डन त कहिले टोकियो अनि कहिले न्युयोर्क उड्न मन छ । मदन पुरस्कार/जगदम्बा पुरस्कार भएभरका पुरस्कार सबै मेरै हातमा परून् ।

समग्रमा म एउटी अत्यन्तै सफल महिला भएर समाजको अघिल्तिर उभिन मन छ । धुरन्धर विदुषी कहलिएर ठुलाबडाहरूसँग कुम जोड्दै हिँड्दा क्या मज्जा आउँथ्यो होला । अनि माइक समातेर आफ्नो पुस्तकको दुई-चार बट्टा कुरा रटेर भाषण गर्दै गर्दाको लाइभ पत्रकारहरूले टिभीमा देखाउँदा देशविदेशका मानिसहरूले मलाई वाह ! वाह ! भन्थे होलान् । पत्रपत्रिकाको मुख्यपृष्ठमा फोटो छापिएपछि मेरा नातागोताले देख्दा कस्तो होला । म यो जुनीमा मात्रै होइन म मेरो मृत्युपछाडि पनि अब्बल लेखिकाको अग्रपङ्क्तिमा उभिइरहने छु । त्यसैले मैले व्यक्त गर्न नसके पनि मलाई मेरो अनुहार, हाउभाउ हेरेरै भए पनि मेरो हृदय छताछुल्ल पार्न सकोस् । मनमस्तिष्क निचोर्न सकोस् । यसरी अव्यक्त कुराहरू कागजमा उतारिदिने घोस्टराइटर चाहिएको छ । यदि कोही घोस्ट राइटर हुनुहन्छ भने आजै सम्पर्क गर्नुहोला ।