सोनाम एम. तामाङ

सोनाम एम. तामाङ

एउटा दास स्वतन्त्र भएपछि उसले मालिकको नक्कल गर्न थाल्छ भन्ने प्रचलित भनाइ छ । भारत सन् १९४७ मा स्वतन्त्र भयो । त्यसअघि १९० वर्षसम्म त भारत बेलायतको गुलाम भएर बाँचे । नेपाल कहिले अरुको दास भएर बाँच्नु परेन । औपचारिक रुपमा नेपाल कसैको उपनिवेशिक राष्ट्र भएन तर अनौपचारिक रुपमा अरुबाट अर्धऔपनिवेशिक रुपमा शासित छ भन्ने कुरा त भारत स्वतन्त्र भएपछि सन् १९५० मा नेपालमा प्रजातन्त्र स्थापना भयो, त्यसपछि लगतार भोग्दै आएको छौँ ।
नेपाल त भारत तर्फबाट २००७ सालमा हस्तक्षेप भएको सुन्यौँ, २०४७ सालमा हस्तक्षेप भएको सुन्यौँ, २०६३ सालमा पनि हस्तक्षेप भएको सुन्यौँ । त्यस यता त महत्वपूर्ण परिवर्तनमा मात्र हाईन कि हरेक स—साना विषयमा पनि भारतीय हस्तक्षेप भईरहेको छ । चाहे त्यो कटुवाल प्रकरणमा होस वा सरकार परिर्तनमा होस् यस्तो घटना क्रमले नेपालको प्रत्येक मामिलामा भारतीय भुमिका निर्णायक बन्दै गईरहेको छ । स्व. शुसिल कोईरालाले अन्तरवार्तमा भनेका सुनेको थिए, ‘संविधानसभाको विघटनमा विदेशी शक्तिको हस्तक्षेप भएको थियो । दृश्यमा माओवादी र मधेशी मोर्चा देखिए पनि यसका पछाडी विदेशी शक्तिको हात छ । नेपालका शक्तिहरुलाई जुधाएर अफ्गानिस्तान बनाउन खोजिएको छ ।’ तर नेपाल कहिले दास नभएको कारण स्वतन्त्रताको महत्व पनि बुझिएन ।
छिमेकी राष्ट्र भारतले त सिक्किमलाई आफ्नो २२आँ राज्य बनाउन सफल भए पछि सोही कदम नेपाल तिर पनि बढाएको थियो । २००७ सालमा राजा त्रिभुवनले भारतमा शरण लिदै आफ्नो पद जोगाई दिने भए नेपाललाई भारतमा भाभ्न तयार रहेको भनि अभिव्यक्ति दिँदा भारत अंग्रेजको पञ्जाबाट भर्खर — भर्खर स्वतन्त्र भएको थियो त्यसैले भारतले अहिले यो कार्य अलि गरिहाल्न मिल्दैन भनेर दिएको अभिव्यक्ति विभिन्न पत्रपत्रिका, पुस्तकहरु मार्फत थाहा पाईन्छ । त्रिभुवनको त्यही अभिव्यक्तिबाट नेपालको सार्वभौम सत्तालाई ठाडो चुनौति दिने काम गरेको छ ।
चक्रव्यूहमा चन्द्रसूर्य पुस्तकमा लेखक सरोज अधिकारीले पनि सुचनात्मक ढंगमा नेपालको आन्तरिक मामिलामा आन्तरिक हस्तक्षेप र बाह्य चलखेल उल्लेख गरेका छन् । राजनीतिक घटनाक्रम, मुलुकको राजनीतिक पद्धति, नीतिनिर्माणले समाजमा परेको प्रभाव, राष्ट्र र राष्ट्रियता बारेमा चासो राख्ने जो कोही लाई पनि यो पुस्तकले धेरै कुराहरुको जानकारी दिएको छ । किनभने नेपाल औपचारिक रुपमा कहिले कसैको दास नभए पनि व्यवहारिक रुपमा सधैँ दासत्व स्वीकारेर बस्नुपर्ने स्थितीमा रहेको मुलुकको कथा पनि पाईन्छ ।
विश्वका महाशक्तिशाली मानिएको अमेरिकाले अविस्वासनीय रुपमा नेपाल मामिलामा चासो देखाएर काम गरेको छ । नेपालमा अमेरिकी चासो भनेको तिब्बतको स्वतन्त्रसँग जोडिएको छ । अमेरिका महाशक्तिको रुपमा लामो समय देखी आफुले ओगटीरहेको स्थानलाई चुनौति दिने गरि अघि बढिरहेको चीनलाई तिब्बत मामलामा अल्झाउन चाहान्छ । खाम्पा विद्रोहको काँध थमाउने बलियो केन्द्र नेपाल रह्यो । त्यो बेलामा खाम्पा विद्रोहलाई हतियार सहितका सामाग्री उपलब्ध गराएका अमेरिकी गुप्तचर समुह सीआईए नै हुन् । त्यो किसिमबाट विद्रोह सम्भव नभए तिब्बत मामिालालाई मानवअधिकारसँग जोडेरै भए पनि अन्तराष्ट्रिय रुपमा चीनलाई तल गिराउनु अमेरिका प्रयास त जारी नै थियो ।
अर्को शक्तिशाली राष्ट्र बेलायत, युरोपियन युनियन यिनीहरु नेपालको जातीय, लैंगिक लगायतका मुद्दाहरु उठाउने र क्रिश्चियन धर्म प्रचार अभियानमा बढि सक्रिय छन् । नेपालको जातीय, लैंगिक मुद्दाले सामाजिक विचलन बढाई दिएर नेपालको आन्तरिक सुरक्षामा चलखेल गर्ने उनिहरुको चाहाना देखिन्छ र सुरक्षा दृष्टिले हामी नेपाली खतरनाक मोडमा छौँ ।
चीनका ईन्स्टिच्युट अफ एसिया प्यासिफिक स्टडिजका प्रध्यापकले एउटा अन्तरवार्ताका क्रममा भनेका थिए कि, ‘चीनलाई राम्रो संग थाहा छ भारतले नेपाललाई दोस्रो भुटान या सिक्किम बनाउन चाहान्छ । त्यसमा पनि नेपाल सिक्किमीकरणको प्रक्रियामा जान सक्छ । नेपाललाई सार्वभौम, एकिकृत र र स्वतन्त्र राख्न चीनले सदैव सहयोग गर्छ । त्यसका लागी हस्तक्षेपकारी भुमिका निर्वाह गर्ने बेला आईसकेको छैन । किनभने नेपालमा देशभक्तिको भावना मरिसकेको छैन ।’
अब हामीले बुझ्नु पर्छ कि भारत नेपाललाई जसरी पनि लेन्डुप दार्जी बनाउन चाहान्छ । चाहे त्यो सीमाको विषयलाई प्रोपोगाण्ड मच्चाएर होस् वा आर्थिक नाका बन्दि लगाएर होस् । जवाहरलाल नेहरुले नेपाल, सिक्किम र भुटान भारतमा गाभ्न नसकेकोमा दुखेसो पोखेको थियो । उनकी छोरी ईन्दिरा गान्धिले नेहरुको योजना पुरा गर्न सिक्किम विलयको योजना बनायो र जे भारतले सोचेको थियो त्यही भयो । यस्तो अफर पटक — पटक नेपाललाई पनि ग¥यो । भारतले त यति सम्म खेल खेल्न भ्यायो कि पुर्व राजा ज्ञानेन्द्र शाह र पुर्व राजकुमार पारश शाह लाई अवकाश दिएर नवयुवराज हृदयेन्द्र लाई बेबी किङ बनाउन सम्म सुझाब दिए । तत्कालिन राजा ज्ञानेन्द्र शाह स्वयंले प्रस्ताव अस्विकार गरे पछि भारतले गणतन्त्रमा जान सुझाब दिए । किनकि गणतन्त्रमा कुनै पनि शक्ति सामथ्र्य र सत्ता विरासतको रुपमा प्राप्त हुदैन । सिधा भन्नु पर्दा राजाको छोरा राजा हुनु बाट हट्नु भनेको प्रजातन्त्र÷गणतन्त्रको एउटा पक्ष हो । गणतन्त्र भनेको त कानुनको सर्बोच्चता हो । नेपालमा २०७२ सालमा जारी भएको नयाँ संविधान भारत अनुकुल नभए पछि अघोषित नाकाबन्दि समेत भयो ।
सन् १८१६ मा भएको सुगौली सन्धिको स्पष्ट दस्तावेजहरु हुँदाहुदै पनि सीमाको विषयमा बारम्बार हस्तक्षेप किन गर्नु परेको ? विवादमा रहेको एमसिसिको विषयमा भारतको किन अनुमति चाहिएको ? भन्ने यी यावत विषयहरुको भित्री मर्म भनेको ती देशहरुले आफू दास हुँदा मालिकबाट सिकेर अहिले त्यही नक्कल गर्न खोज्नु हो । यस भित्रको अर्को कुरा भनेको चीनलाई चारैतिरबाट घेर्ने अमेरिकी रणनीति पनि हुन सक्छ जस्को नजिकको फोकस बिन्दु नेपाललाई बनाएको पनि हुन सक्छ । जे होस् नेपालको अस्थिर राजनीतिक झमेलामा र आपत बेलामा सीमाको विषयमा नेपाललाई बारम्बार दुख दिने भारतीय परम्परागत हेपाह प्रवृत्ति नै हो । यसरी पनि बुझौँ कि व्यक्तिगत अथवा पार्टिगत रुपमा बाबुराम भट्टराईलाई एक हिसाबले बाह्य चलखेल लेन्डुब दोर्जी बनाएको नै हो भन्ने कुरा उहाँको सरकार रहेको बेलाको केही गतिविधीहरु राम्ररी हेर्दा पनि बुझ्न सकिन्छ ।
अब यो चन्द्रसूर्यलाई बचाउने एउटै उपाय भनेको नेपाल भित्रको आन्तरिक झमेलाहरु निर्मूल पारी स्थायी सरकार र लम्पसारवाद त्यागेर राष्ट्रिय सुरक्षाको मेरुदण्ड मानिने गुप्तचर संयन्त्र मजबुत बनाउनु पर्छ । विकसित मुलुकमा राष्ट्र र राज्यसंयन्त्रमाथिको सम्भावित खतरा न्यूनीकारण र नियन्त्रणका लागि गुप्तचर सेवालाई अत्यन्त महत्व दिनु पर्छ । भूराजनीतिक हिसाबले उच्च वैदेशिक चासो रहेको र सैन्य हिसाबले नेपाल जस्तो कमजोर मुलुकका लागि राष्ट्रिय अखण्डता जोगाईराख्न चाल्नु पर्ने उपयुक्त कदमका लागि गुप्तचर समुहले महत्त्वपूर्ण भूमिका खेल्नु पर्नेछ ।

(लेखक समाजशास्त्रको विध्यार्थी हुन् ।)