
पाँचथरमा जन्मिएका लक्ष्मीप्रसाद खनाल चालिसको दशकदेखि लोकगीतमा समर्पित छन् । उनले चारओटा “पुर्बेली स्वाद” नामक लोक एल्बम विमोचन गरिसकेका छन् । सयओटा भन्दा बढी लोकगीतहरू आफ्नै सङ्कलन र स्वरमा रेकर्ड गरिसकेका छन् । एल.पी. जोशीपछिका पुर्बेली गायक भनेर चिनिने लक्ष्मी खनाल झापा, दमकका रैथाने हुन् । यस्ता सुस्वादु लोकगीतहरूको संरक्षण, संवर्द्धन र सङ्कलनमा अहोरात्र लागिपरेका खनालको यो “पुर्बेली भाका” नामक लोकगीत सङ्ग्रहभित्र ६३ ओटा गीत समावेश भएका छन् । ओरिएन्टल पब्लिकेसनले हालसालै बजारमा ल्याएको यो पुस्तक गायक खनालको पहिलो कृति हो ।
खनालका लोकभाकामा पुर्बेली लोकलय भेटिन्छ । उनका गीतहरूमा झर्रा ठेट शब्दहरू, ग्रामीण परिवेश, संस्कृति झल्काउने मौलिकपन, बनपाखा, जङ्गल, घाँसदाउरा, मेलापात र विशेष गरी पूर्वको आञ्चलिकता स्पष्टसँग ढुकढुकी बनेर जनमानससम्म आइपुगेको पाइन्छ । झापाको दमकबाट लोकगीतको पुस्तक निकाल्ने उनी दोस्रा स्रष्टा हुन् भने पहिलो एल.पी जोशी हुन् ।
नेपाली गीतको प्रारम्भिक स्वरूप नै लोकगीत हो । यी लोक भाकाहरूभित्र नेपाली माटोको सुगन्ध मगमगाउँछ । यस्ता किसिमका गीतको रचनागत पृष्ठभूमिको अध्ययन गर्दा गीतिकाव्यबाट यसको निर्माणाधार तयार भएको देखिन्छ । पहिले हाट बजार, गाउँ बेँसी जताततै घन्किने लोकगीत नै मनोरञ्जनको प्रमुख साधन थियो, गाउँघरतिर आज पनि यस्ता मौलिक गीतहरूको स्थान कसैले तोड्न सकेको छैन । लोकजीवनका यथार्थ जीवनभोगाइ र दैनिकीको माध्यम भएकाले पनि लोक साहित्य हाम्रो माझ अझै पनि जीवित रहेको छ ।

शशी भट्टराई श्रेष्ठ
“जोन लिडनको भनाइमा, संस्कृतिको असली जरो भन्नु नै लोकसङ्गीत हो । वास्तवमा सबै खालका अरू गीत सङ्गीतहरू नयाँ-नयाँ निर्माण गर्न सकिन्छ तर लोकगीत सकिन्न । यो भनेको त सामाजिक परम्पराको जराबाट पलाएको कुरा एकपल्ट मरेपछि फेरि पलाउन सक्तैन ।” (डा. गोविन्दराज भट्टराईको भूमिकाबाट साभार) (पृ. २०)
मान्छे सामाजिक प्राणी हो । ऊ एक्लै जीवनयापन गर्न सक्तैन । ऊ जहाँ गए पनि आफ्नो गाउँको सम्झना र सानैदेखि मानिआएको चाडपर्व आफूसँगै लिएर जान्छ । झन् गीतसङ्गीतका पारखीहरूको त बनपाखा, मेलापात जहाँ नै पुगे पनि मन माधुर्य बनि आउँछ । आफ्नो कुरा बुझिदिने मायालुलाई सम्झेर त्यो मन त्यसै रमाउँछ पनि । उनी आफ्नी मायालुको मोहनी रूप देखेर गीतका माध्यमबाट यसरी पोखिन्छन् –
तिमी है सँग करोडको रूप छ, करोडको हाँसो छ ,
म दुःखीलाई त, एउटा चोखो मनकै खाँचो छ ।
चैत्र है महिना देउराली माथि ऐँसेलु धेर पाक्यो,
निष्ठुरी ज्यानलाई रात र दिन सम्झाउँदै मन थाक्यो ।
करोडको हाँसो छ … (पृ.२३)
त्यस्तै, आफ्नो देश छोडेर विदेशमा गएर श्रमको खेती गर्ने नेपालीलाई आफ्ना चाडपर्व सम्झिँदा कस्तो हुन्छ भन्ने यथार्थ चित्रण गर्न सफल गायक गीतमा यसरी उतार्छन् –
टाकुरीमा सेतै हिमाल, टल्किराकै होला,
गाउँघरमा दोहोरी गीत, घन्किराकै होला,
तिहारमा फूलको माला लाऊँ लाऊँ जस्तो लाग्छ,
गाउँघरको सम्झनाले फर्की आऊँ आऊँ लाग्छ,
तिहारमा फूलको माला (पृ.३)
कोभिड – १९ ले यो सभ्यता थला परिरहेको र पर्यटन क्षेत्र मरणासन्न भएको वेला उनका गीतहरू आन्तरिक र बाह्य पर्यटनलाई इँटा थप्न आइपुगेका छन् यसरी –
इलामैको माइपोखरीमा पान्डा चर्ने वन छ,
मेरो मन चैँ त्यतै डुल्दै श्रीअन्तु जाऊँ भन्छ,
ल है सखी श्री अन्तु जाऊँ भन्छ इलामैको माइपोखरी ।
एउटा मान्छे जब परिवारबाट टाढा हुन्छ, श्रीमती बित्छिन्, छोरा छोरी आफ्नो करियर बनाउन परदेश लाग्छन् त्यस वेला त्यो एक्लोपन कति अत्यासलाग्दो हुँदो हो, कति पीडादायी हुँदो हो । यस्ता सामाजिक पक्षलाई पनि केलाउँदै उनी आफू प्रतिनिधि पात्र बन्दै गीतमार्फत समाजको बह पोखिदिन्छन् यसरी-
छोरो गयो परदेशतिर, छोरी आफ्नै घर,
जीवनसाथी साथमा छैन अब के नै छ र ?
पानीले …
(पानीले शरीर भिज्यो नि)
२०७६ वैशाखमा आमाको वार्षिक पुण्य तिथि पारेर हामी सम्पूर्ण छोराछोरी दमक घरमा भेला भएका थियौँ । आमाको काम सकेपछि डा. अञ्जना वस्ती भट्टराईको “जीवनका घुम्ती र देउरालीहरू” किताब विमोचनपश्चात् दमकका गायक एल.पी. जोशीहरूले गीत गाइसकेपछि जब लक्ष्मी खनालको पालो आयो । ओहो ! मलाई आजसम्म थाहा थिएन कि लोकगीतको शक्ति यतिसम्म हुन्छ भनेर, त्यहाँ जम्मा हुनुभएका पूर्वाञ्चलका साहित्यकारहरू, उता दार्जीलिङदेखि पाल्नुभएका विदुषी डा. वीणा हाङ्गखिम दिदीहरूको समूह र अरू धेरै साहित्यकारहरू सबैजना आआफ्ना सिटबाट जुरुक्कै उठेर नाचेको मैले देखेँ । हाम्रा दिदीभाउजूहरू गायक खनालको स्वरमा स्वर मिसाएर आँगनमा नाचिरहनुभएको थियो । म चैँ योगेश्वर आमात्यको कन्सर्टमा कलेज बङ्क गरेर नाच्न पुगेको दिन सम्झँदै थिएँ । गायक खनालले लगातार तीन ओटा गीतमा सबैलाई उफारे । बाटामा हिँड्ने मान्छेहरू मेलामा सर्कस हेरेको जस्तै लट्ठै थिए, त्यत्रा मान्छेका भिडबाट वान्स मोर, वान्स मोरको हुटिङ हुँदै थियो । उनीसँग स्टेज तताउने शब्द स्वर साथै सङ्गीतको जादु मिसिएको प्याकेज नै रहेछ जस्तै लाग्यो मलाई । यही वेला मैले उनलाई पहिलोपटक देखेकी थिएँ ।
त्यति बेलै मैले आमाले भनेको कुरा सम्झिएँ, एक जना पुराण वाचकसँग त्यस्तै शक्ति थियो रे, सात दिनको पुराण सकेर घर फर्कँदा धेरै आमा, दिदी, बहिनीहरू डाँको छोडेर रुन्थे रे … आमाले यस्ता पुराण भन्ने गुरुको महिमा वेला-वेलामा सुनाउनुहुन्थ्यो । सायद आमा पनि त त्यसरी नै गुरुप्रति फिदा हुनुभएको थियो होला र त सम्झनुभयो जस्तै लाग्यो यी गायक खनालको स्टेज तताउने शैली देखेर… उनको त्यो स्वर मेरो कानमा आजसम्म गुन्जिरहेको छ । दमक जाने मौका कुनै दिन जुरेछ भने लक्ष्मी खनालको स्वरमा एक दिन विद्याशिल्प एकेडेमी हलमा एउटा कन्सर्ट जरुर बन्नेछ ।
एक दिन मैले घरमा सबै बसेर गफ गर्दैगर्दा यो “पुर्बेली भाका” भित्रको एक-दुई ओटा गीतहरू गाएर सुनाएँ । गीत मन पराएर मेरो छोराले हाँस्तै भन्यो, “आमा यो किताब एक-दुई दिन म लिन्छु ल, पोखराको कलेज ट्रिपमा रमाइलो हुन्छ नि !” … उसले लिएर गयो पनि … फर्किएर आउँदा उसको हट न्युज यस्तो थियो .. “आमा चार दिनसम्मको यात्रामा कलेजभरिका सबै साथीहरू मेरै पछि लागिरहे । गीतका तालमा रातभरि केटाहरू बुरुक्क बुरुक्क उफ्रन्थे, यो किताबसँग हामीले असाध्यै रमाइलो गऱ्यौँ । केटीहरू पनि एकछिन हामीलाई देऊ न त्यो किताब भनेर मागिरहन्थे…।” उसको कुरा सुनेर म अचम्म परिनँ किनकि बलिउड र हलिउडका गीतहरू सुन्दासुन्दै वाक्क बनेका अल्लारे केटाकेटीलाई आफ्नो संस्कृति झल्काउने यस्ता गीतहरूको किताब अर्गानिक खुराक हुनु स्वाभाविक नै हो । पोखरामा नाचेको एउटा गीतको लाइन कण्ठै भएछ उसलाई । गाउँदै सुनायो हामीलाई –
उडूँ उडूँ लाग्छ कान्छी, बादलुको पानी बनेर,
झरूँ झरूँ लाग्छ कान्छी, साउनको झरी बनेर,
जमूँ जमूँ लाग्छ कान्छी, फेवातालको पानी बनेर…
गुराँस फुल्यो हिमाली पाखैमा,
हाँसे मात्रै राख्थेँ नि काखैमा,
हातमा चुरा छ,
भनूँ कि नभनूँ एउटा कुरा छ । (पृ. ७)
लोकगीत भनेको सबैको साझा सम्पत्ति हो, लोकगीतमा सबै नेपालीलाई जोड्ने शक्ति रहेको हुन्छ । उनको यो पुस्तकभित्र देशप्रेम, हाँस्यव्यङ्ग्य सम्बन्धित गीतहरू पनि छन् तर धेरै जसो शृङ्गार रसमा रचिएका गीतहरू छन् । दुई-चार ओटा गीतहरू अर्थ नदिने खालका पनि भेटिन्छन्, आउने कृतिहरूमा त्यस्ता गल्तीहरू पक्कै दोहोरिने छैनन् नै । लोकसङ्गीत एउटा थेरापी हो, मानसिक विकारबाट उन्मुक्ति पाउन सङ्गीतले धेरै मद्दत गर्छ । वास्तवमै पनि आफ्नो मौलिक भाका भनेको आफ्नै हुन्छ, छुट्टै आनन्द दिने खालको । हामी मुडअनुसार गीत छानेर सुन्छौँ, दुःखमा, सुखमा सबैभन्दा नजिकको साथी त आखिर गीत सङ्गीत नै त हो । नेपाली लोकगीतको क्षेत्रमा यस कृतिले आफ्नो विशिष्ट स्थान ओगट्दै समग्र पाठकवर्गलाई मनोरञ्जन दिन सकोस्, हार्दिक शुभकामना ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
