एक्कासि बिहान के बिउँझेको मात्र थिएँ, मेरो मोबाइल फोन ‘अन’ गर्नेबित्तिकै बग्रेल्ती फेसबुक मेसेजहरू आए, चिनीमा कमिला आएजस्तो । बिहान उठ्नेबित्तिकै मैले पिउने भनेको चैँ चिनी नहालेको कालो कफी हो । म त्यस वेला अमेरिकामा थिएँ । यसो हेरेको त एक ‘विद्वान्’ प्राध्यापक तथा समालोचकले मेरो भर्खरै आएको कृति ‘मोचन’ लाई चोरीको आरोप लगाउँदै आफ्नो फेसबुक पेजमा “चोरेर चोर मात्र भइन्छ, लेखक भइँदैन” भनेर पोस्ट्याएका रहेछन् । मेरा शुभचिन्तकहरूले दुःखी भएर ‘यो भएको के हो ?’ भन्दै मेसेज पठाएका रहेछन् बग्रेल्ती । त्यो देख्नेबित्तिकै मलाई मानसिक र मनोवैज्ञानिक तनाव भो, यो अर्थमा होइन कि मैले साँच्चै चोरी गरेको हुँ वा थिएँ । यो अर्थमा कि मैले साँच्चै चोरी गरेको थिइनँ ।

मलाई झनक्क रिस उठ्यो । त्यो स्वाभाविक पनि थियो सायद, कुनै कसुरबेगरै आरोपित हुनुपर्दा वा भूलवश हुन गएका त्रुटिमाथि ‘विद्वान्’ मित्रको विवेकको प्रयोग नहुँदा । मैले त्यो आरोपलाई बेवास्था गरिदिएको भए पनि हुन्थ्यो तर नराम्रा प्रतिक्रियाहरू उनले राखेको स्ट्याटसमा स्याउँस्याउँ किराजस्तो आउन थालेपछि मेरो धर्यको बाँध फुट्यो र मैले ती ‘विद्वान्’ लाई नै ट्याग गरेर लेखिदिए अङ्ग्रेजीमा “म पनि अमेरिकाको कलेजमा कपिराइट कानुन र सञ्चार विषय पढाउँछु र मैले पनि बुझेको हुँला चोर्नुहुन्छ हुँदैन भनेर, एकछिन हिरो पल्टिएर र सोसल मिडियामा वाही–वाही कमाएर केही हुन्न, सबै समयले नै बताउँछ । तपाईँले आफ्नो समय करियर र स्वास्थ्यमा फोकस गरे राम्रो ।” लुजा ! आँधीजस्तै खनिएँ म पनि । तत्क्षण ममा कुनै घमन्ड थिएन, मात्र रिस आगाको लप्काझैँ माथि उठेको थियो ।

डा. तुलसी आचार्य

मैले त्यस्तो स्ट्याटस राखेको केही छिनमै सञ्चार विषयका प्राध्यापक मित्रले क्यानाडाबाट फोन गरे, “होइन भएको के हो ?”

“के हुनु यार ! मैले मेरो उपन्यास ‘मोचन’ मा त्यहाँको पात्र जीवनले कुनै साथीले भोगेको घटनालाई, जुन घटना नेपालको कुनै अनलाईन पत्रिकामा छापिएको थियो, उद्धृत गरेको थियो तर प्राविधिक त्रुटि भएछ त्यो मलाई पछि महसुस भयो कि सन्दर्भ र उद्धरण चिन्न छुटेछ । दोस्रो संस्करणमा सच्याउने तयारी हुँदै थियो तर सोसल मिडियामा पोस्ट गर्नुपहिले उनले मलाई एकचोटि पनि सोध्न जरुरी ठानेनन् कि खासमा यो के भएको थियो ?” मैले फोनमै व्याख्या गरेँ ।

“तपाईँसँग उनको चिनजान छ र ?” मित्रले प्रश्न गरे ।

“किन नहुनु, दुई-तीनचोटि भेटेर त गफै भाको छ नि” मैले उत्तर दिएँ । यति वेलासम्ममा म किचनमा गएर कालोकफी बनाएर पिउन थालिसकेको थिएँ । सुरुप्प पारेँ ।

“यसो गर्नोस्, त्यस्तो मान्छेलाई ट्याग गरेर, त्यो पनि तपाईँजस्तो मान्छेले रिस पोखेकै सुहाउँदैन । त्यो हटाइदिनोस् र अहिले तपाईँले मलाई जे भन्नुभयो त्यही नेपालीमा लेखेर उसैको स्ट्याटस तल कमेन्ट गर्नुहोस् ।” र मित्रले फोन राखे ।

“टेन्सन नलिनुहोस्, कहिलेकाहीँ यस्ता त्रुटि हुन्छन् । केही मानिसहरूले त्यो अवसर खोजिरहेका हुन्छन् ।”

मित्रले मनैबाट त्यस्तो सल्लाह दिएपछि म एकछिन ‘कुल’ भएँ, मानौँ मेरो १०४ डिग्रीको ज्वरो घटेर ह्वात्तै ९२ भयो । “अरे हो त । मेरो व्यक्तित्व त त्यो होइन । यदि म सही र इमानदार छु भने कसैले आफूलाई ‘विद्वान्‌’ देखाएर सोसल मिडियामा एकछिन वाईवाई खानलाई कसैको चरित्रहत्या गर्न खोज्छ वा मानसिक र मनोवैज्ञानिक तनाव दिन खोज्छ भने, इमानदार र राम्रो लक्ष्य हासिल गर्न अगि बढेको मान्छेले त्यो मान्छेसँग रिसाउने होइन, बरु पाठ सिक्ने हो ।”

मेरो मनले भन्यो र मैले तुरुन्तै स्ट्यास्टस हटाइदिएँ । मौसम चिसो भएर होला कफी पनि सेलाईसकेको थियो र मनमनै धन्यवाद दिएँ ती मित्रलाई जसले मभित्रको ‘म’, म हुनुको ‘म’, मलाई ‘म’ बन्न सहयोग पुऱ्याए तर मैले स्पष्टीकरणसहित ती ‘विद्वान्‌’ को स्ट्याटसमा कमेन्ट गर्दा पनि उनले अझै हटाएका थिएनन् तर एक-दुई जना विद्वान्‌ साथीहरूले भने आफ्नो कमेन्ट डिलिट गरेको देखेँ । सायद मेरो स्पष्टीकरणमा इमानदारी झल्क्यो । खुसी लाग्यो, चिसो कफी सबै पिएँ र कपलाई सिन्कमा लगेर पखालेर राखेँ ।

खैर जे होस्, ‘म ‘म’ भएर बाँच्ने हो’ मैले सोचेँ तर आफू सही छु भन्दाभन्दै पनि गलत र भ्रमित आरोप लाग्दा मन भने पोलि नै रह्यो । म यता भतभत पोलेको मन लिएर किन कुरै नबुझी मलाई आरोप लगाइयो भनेर मानसिक र मनोवैज्ञानिक तनावलाई शान्त पार्न गहिरो सास लिँदै थिएँ भने उता ती ‘विद्वान्‌’ ‘लेखकले साँच्चै चोरेको हो भन्ने प्रमाणित गर्न र यतिका कमेन्ट बटुल्न सकेँ भनेर छाती नै सगरमाथा हुने गरी गहिरो सास लिइरहेका थिए । मलाई मेसेजमा साथीहरूबाट आएका जिज्ञासाको स्पष्टीकरण दिन पनि सम्भव थिएन, न त उचित नै लाग्यो (यो लेख पनि सबैका लागि सायद उत्तर हुन सक्ला भनेर लेखेको हुँ ) ।

नेपालको मध्यरातमा अर्का मित्रले फोन गरे “होइन के भाको हो ? तपाईँजस्तो अनुसन्धानमा जुटेको मान्छे, अन्ताराष्ट्रिय स्तरमै पुस्तक निकालिसकेको मान्छे, पी.एच.डी गरिसकेको मान्छे त्यो पनि अमेरिकाको विश्वविद्यालयबाट, फेरि प्रोफेसनल राइटिङ र कपिराइट कानुनजस्ता विषय पनि पढाउनुहुन्छ अमेरिकामै, होइन कसरी चोरी गर्नुभयो ? यो त लाजमर्दो कुरा भयो ।”

मसँग उत्तर दिन केही बाँकी नै थिएन । मित्रले नै सबै भनिसक्नुभएको थियो प्रश्नमै । त्यस्तो मान्छेले त्यति तलसम्म गिरेर के चोरी गरुँला र मुला चारओटा छोटा–छोटा वाक्य ? चोरेर साठी हजारभन्दा बढी शब्दको उपन्यास लेख्न म कसरी सकुँला ? फेरि मैले मेरो उपन्यासमा सुरुवातबाटै हरेक अनुसन्धान र व्यक्तिलाई उद्धृत गर्दै ल्याएको छु । बाँकी रहेको ४ बाक्यलाई उद्धृत गर्न मलाई केको गाह्रो । फेरि मैले कलेजमा पढाउने पनि यस्तै विषय हो । सबै थाहा छ । के दशा लागेछ ! भावुक भएँ ।

एक मनले सोच्यो “ती ‘विद्वान्‌’ ले राम्रै त गरे । त्यस्ता कुरा बाहिर आउनैपर्छ । किनकि यहाँ यस्ता लेखकहरू छन् सोधपत्रदेखि पुस्तकसम्म अरूकै अंश मात्रै चोरेर आफूलाई लेखक र अनुसन्धानकर्ता घोषित गर्छन् । यसका बारेमा नघचघचाए कसले खबरदारी गर्छ ? यो त हुनैपर्छ । जे गर्नु थियो त्यही गरे उनले । यति भएपछि पुस्तक छापिनु पहिले मैले पनि घोरिएर कुनै प्राविधिक त्रुटि छ कि छैन डबल कन्फर्म गरेर मात्र पुस्तक प्रकाशनमा लानुपर्छ” अनि मैले मनमनै ती ‘विद्वान्‌’ को प्रशंसा गरेँ र धन्यवाद दिएँ, “यो मेरा लागि ठुलो शिक्षा हो सही गर्नुभयो ।”

फेरि अर्को मनले सोच्यो, ती ‘विद्वान्‌’ को कुनै नियत त होइन मलाई त्यसरी खसाल्ने, नत्र उनले त्यही कुरा सभ्य भाषामा किन लेख्न सक्दैनथे वा मसँग फेसबुक मेसेन्जरमा कुरा भइराख्ने एकचोटि त्यसरी निर्णय गर्नुपहिले, “मैले त यस्तो पो पाएँ त तुलसीजी खासमा के हो ?” त्यसो गरिदिएको भए र मैले उनलाई मात्र भन्न पाएको भए सबैतिर राम्रो सन्देश जान्थ्यो । साहित्यमा जुटेका लेखकबिच सुमधुर सम्बन्ध हुन्थ्यो । राम्रो सृजना कसरी गर्ने र नेपाली साहित्यको आकाश अझ उज्यालो कसरी बनाउने त्यतातिर मस्तिष्क घुम्थ्यो । समयको सदुपयोग हुन्थ्यो । शक्तिसञ्चय हुन्थ्यो । ईर्ष्या, रिसरागले कुनै ठाउँ पाउँदैनथे । एउटा बुद्धत्व प्राप्त हुन्थ्यो ।

यस्तै कुरा सोच्दै गर्दा अध्यात्मलाई सुन्दर जीवनको कला मानेका एक मित्रले मेसेन्जरमा ‘भ्वाइस मेसेज’ छोडेछन्, “मैले तपाईँले के पोस्ट गरेको देखेको थिएँ अलिक आवेगमा आएर, पछि हटाउनुभएछ । हरेक राम्रो काममा यस्ता बाधाहरू आउनु ठुलो कुरा होइन । तपाईँको लेखनको भविष्य मैले उज्ज्वल देखेको छु । तपाईँलाई आक्रामक भएको सुहाउँदैन । अरूले जे भनून् तपाईँ इमानदार भएर अगाडि बढ्नुहोस् ।”

उनले मेरो उपन्यास ‘मोचन’ पढिसकेका थिए केही समयपहिल्यै । ती शब्दहरू सुन्नेबित्तिकै मलाई काँडाकोबिचमा फुलेको फूलजस्तो महसुस भयो वा हिलोबिचको कमलको फूल । त्यो रिस र आवेगमा आएर आफूलाई केही बेर अनियन्त्रित बनाएकोमा म आफैँलाई आत्मग्लानि भयो । मलाई ठुलो गल्ती गरेजस्तो त्यहाँ पो भयो । म त “विद्वान्‌” मित्रसँग जोरी खोज्न पो पुगेछु । ‘थुक्क मेरो बुद्धि’ आफैँलाई धिक्कारे ।

नचाहँदानचाहँदै कहिलेकाहीँ गल्तीहरू हुन्छन् तर स्विकार्नुपर्छ र ती गल्तीहरू अर्कोचोटि दोहोऱ्याउनु हुँदैन । सिक्ने गल्तीबाटै हो । कोही कसैको गल्ती खोजेर हिँडिरहेका हुन्छन् भने कोही भेटिएको गल्तीको कारण बुझेर त्यसलाई सच्याउन सल्लाह दिइरहेका हुन्छन् । कसको गल्ती कहाँ छ भन्दै खोजेर हिँड्नेहरूको नियत नराम्रो पनि हुन सक्छ, तर गल्तीको कारण खोज्नेहरूको नियत जहिल्यै राम्रो हुन्छ । अलेक्जेन्डर पोपले भनेको सम्झेँ “जो सकारात्मक सोच्छ, ऊ हरेकका माझ विश्वसनीय हुन्छ ।” मेरो मस्तिष्कलाई तत्क्षण नकारात्मकताले शासन गरेको थियो सायद ममा रिसको आगो उठ्यो ।

अँ म ती ‘विद्वान्‌’ को कुरा गर्दै थिएँ । उनको नियतको । सायद उनको त्यो नियत नहुन पनि सक्छ, सायद आदत हुन सक्छ । गल्ती देख्नेबित्तिकै सम्भावित कारण, त्योसँग जोडिएको व्यक्तिको शैक्षिक तथा व्यावसायिक पृष्ठभूमि नै याद नगरी झ्वाम्मै सबैलाई थाहा दिइहालौँ । यसमा पनि के हुँदो रहेछ भने कसैले त्यसो गर्दा त्यसबाट हुने लामो फाइदा के छ त्यो हेर्छ, त कसैले छोटो र तुरुन्त हुने फाइदा हेर्छ । हामीले पाउने फाइदाहरू सबै चिरस्थायी हुँदैनन् । क्षणभङ्गुर हुन्छन् । आँधीको झोक्काजस्तो, कि दर्के पानीको दुर्बल फोकाजस्तो । जब विद्वान्‌को विद्वत्ता आँधीजस्तो हुन्छ तब त्यसले सब उडाएर लान्छ केही राख्दैन त्यही भएर मलाई लाग्छ विद्वत्ता त आँधी गइसकेको अवस्थाजस्तो हुनपर्छ । देख्दा उराठ लागे पनि संयमित भएर सामना गर्ने खालको, सहने खालको, धर्य गर्ने खालको र समयलाई पर्खने खालको । हावाहुरी, बतास टिपेर ल्याउने गीत जस्तो होइन । हो त आजीवन चलिराख्ने गजलजस्तो । यस्तै सम्झेँ मैले र मन हलुका बनाएँ । सिमलको भुवाजस्तै र उडाएँ कहीँकतै माथि आकाशतिर जहाँ उडिरहेको थियो ‘हमिङ्ग्बर्ड’ अर्थात् मलाई मन पर्ने चरी । “हमिङ्ग्बर्ड” को हुल नै छ म बस्ने घरको आडमा फैलिएको एउटा सानो बगैँचामा, जसको आडमा छ एउटा शान्त तलाउ जहाँ तिनै चराहरू आउँछन्, बुर्कुसी मार्छन् र फेरि कतै भुरुरु उडेर जान्छन् ।

के ती ‘विद्वान्‌’ को नियत खराब थियो त मलाई सोसल मिडियामा अप्रत्यक्ष्य रूपले ‘चोर’ भन्नुपछाडि ! यसो सम्झेँ । ती ‘विद्वान्‌’ आएका थिए मेरो पुस्तक विमोचनमा पनि । पुस्तक किनेर पनि लिएर गए । त्यही दिन साँझ उनले फेसबुकमा पोस्ट्याए गाताको पछाडिपट्टिको लेखकको बायोको फोटो खिचेर र एक अनुच्छेदमा व्याख्या गरे भाषाको व्याकरण अशुद्ध भनेर । त्यहीँबाट मेरो उनीसँग चिनजान सुरु भयो । मैले उनलाई मेसेन्जरमा धन्यवाद दिएँ र मेरो सम्पादकलाई गाली गरेँ सप्रेम किनकि यतिको गतिलो उपन्यास बनाइदिने उनै थिए मेरा सम्पादक । त्यस्तै वेला मलाई अलिअलि महसुस भयो भाषाका ‘विद्वान्‌’ हरू पनि धेरै छन् कि क्या हो विभिन्न धार समातेका भनेर । एउटाले सही भनेको अर्काले गलत भनिदिन्छ त म के भनूँ ?

खैर जे होस् मैले धन्यवाद दिएपछि ती विद्वान्‌ मित्रले पनि भने “माफी चाहन्छु मैले सुरुवात नै अलिकति नकारात्मकताबाट गरेँ ।”

“अरे वा साँच्चै राम्रो मान्छे फेला पारेँ” भन्ने भो मलाई, त्रुटि मेरो उपन्यासमा छ माफी उनी माग्छन् । खास विद्वान्‌ त त्यो पो हो त भन्ने लाग्यो ।

“नो ओरिज, तपाईँले यो भन्नैपर्थ्यो, नत्र अर्कोचोटि पनि यस्तै हुन सक्थ्यो । म खुसी भएँ ।” मैले खुल्ला हृदयले भनेँ ।
त्यसको केही हप्तामै उनले फेरि मेसेज गरे र भने “साँच्चै राम्रो उपन्यास लेख्नुभएछ, मलाई मन पऱ्यो ।” म फुरुक्क परेँ एउटा विद्वान्‌ले त्यसो भनेपछि । मलाई हौसला मिल्यो । मेरो नेपाली भाषाको पहिलो उपन्यास लेखाइमै समालोचक, प्राध्यापकबाट त्यति मिठो प्रतिक्रिया आएपछि यो मन त्यसै उड्यो, पुतलीजस्तो तर मलाई थाहा थियो पुतलीलाई जसले पनि समातिदिन सक्छ । सानो छँदा मैले पनि धेरै पुतली समातेको थिएँ । त्यही भएर त्यति धेरै हौसिहालिनँ । फेरि

ती ‘विद्वान्‌’ले भन्न थाल्नुभो-

“मलाई तपाईँको टेक्निक मन पऱ्यो ।
मलाई तपाईँको फ्ल्यासब्याक मन पऱ्यो ।
मलाई तपाईँको न्यारेटिभ स्टायल (कथा भन्ने शैली) मन पऱ्यो ।
म लेख्छु रिभ्यु तपाईँको उपन्यासमा
फेरि दोहोऱ्याएर पढ्न मन लाग्यो, पढ्दै छु ।”

यस्तै-यस्तै

मलाई मनमा लागिरह्यो मेरो उपन्यास यत्तिको मन पराएपछि त एउटा रिभ्यु आइदिहाले हुन्थ्यो । नआए पनि यति मिठो कुरा ‘म पढ्दै छु है, मलाई यो यो मन पऱ्यो” भनेर सोसल मिडियामा यसो राख्दिहाले हुन्थ्यो । हुन्छ नि हैन एउटा लेखकलाई । आखिर यो मेरो नेपाली भाषाको पहिलो कृति भएर पनि होला त्यस्तै भयो । फेरि आश र पर्खाइ भनेको डरलाग्दो चिज हो यसले १ दिनलाई पनि तन्काएर १ वर्ष बनाइदिन्छ । बरु अरू नै ‘पुस्तक पढ्दै’ भन्ने तस्बिर आयो तर मसँग मलाई नै त्यत्रो तारिफ गरेर त्यति साह्रो मन पराएको पुस्तक आएन । पर्खाइले मान्छेलाई बच्चा पनि बनाउँदो रहेछ । विद्वान्‌बाट बच्चा बनेको म आफैँले थाहा पाइनँ । हैट् । पर्खाइ एउटा रोग नै रहेछ । आत्मालापको रोग । ‘मोचन’ ले मलाई नार्सिस बनाएको थाहै पाएको रहेनछु ।

मलाई बिच-बिचमा लाग्यो पनि ‘यो तारिफ मलाई गर्नुको सट्टा अरूलाई सुनाइदिए हुने नि । मलाई त बरु कहाँ बिग्रिएको छ, कहाँ भत्किएको छ त्यो भनिदिए हुने नि !’ पहिला पहिला पुरानो बानेश्वरे हाइटमा गुरुकुलमा नाटक हेर्न जाँदा अन्तिममा सुनिल पोखरेलले भन्नुहुन्थ्यो क्या “यो नाटक तपाईँलाई कस्तो लाग्यो ? मनपऱ्यो भने अरूलाई गएर भन्नुहोला, मन परेन भने हामीलाई आएर भन्नुहोला ।” तर ती ‘विद्वान्’ ले त ठिक उल्टो गरे । तीन महिनापछि स्वाट्टै सोसल मिडियामा मलाई चोरीको आरोप लगाए । थाहा छैन ती ‘विद्वान्‌’ को त्यसो गर्ने नियत थियो वा आदत र भोलिपल्ट हटाएछन् ।

“ऊ जितेर गई या, हारेर गई, नतिजा आफैँतिर पारेर गई” त म किन भनूँ तर जे होस् ती ‘विद्वान्‌’ ले मेरो आँखा भने खोलिदिए । आज त्यो घटना नभइदिएको भए यो ‘इपिफ्यानी’ यो ‘इन्लाइटेन्मेन्ट’ यो ‘बुद्धत्व’ म कहाँबाट पाउन सक्थेँ र ? हरेक घटना हुनुपछाडिको कारण हुन्छ । त्यो प्रायः कहिल्यै नराम्रो हुँदैन । मलाई मायाँ गर्ने विद्वान्‌ मित्रहरू तथा मेरा आँखा खोलिदिने ‘विद्वान्‌’ मित्रलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु ।

लेखक अमेरिकामा व्यावसायिक लेखनका प्राध्यापन गराउँछन् । उनको नेपाली उपन्यास “मोचन” प्रकाशित छ ।