मान्छे मायामा किन दुःखी हुन्छ ! यसका पछाडि थुप्रै कारण छन् । पहिलो त साँच्चिकै आत्मिक मायामा अन्तरघात भयो भने मान्छे दुःखी हुन्छ, विक्षिप्त हुन्छ । तर कहिलेकाँही कसैले कसैलाई आवश्यकता भन्दा बढी माया गर्यो र जसले जस्तो व्यवहार चाहान्छ र जस्तो व्यवहारका लागि ऊ योग्य छ त्यसलाई त्यस्तै व्यवहार गर्न नजान्दा र कतिपय अवस्थामा नसक्ता पनि मान्छे अत्यन्त दुःखी हुँदो रहेछ। निराकार र निःशब्द हुँदो रहेछ ।
जब मान्छेले हरेक पलमा आफूसँगै उसलाई र उसको सुन्दर भविष्यलाई हृदयङ्गनम गरेर सोच्दो रहेछ अनि नजानिदो गरी उसलाई आफूजस्तै देख्दो रहेछ । उसको पीडा आफ्नोजस्तै हुँदो रहेछ र उसको खुसी पनि आफ्नो खुसी जस्तै होस् भन्ने कामना हुँदो रहेछ । तर त्यो त्यतिबेला सम्भव हुँदो रहेछ जतिबेला दुवैको भावना, सोच्ने शैली अनि समभाव परिपूरक हुँदो रहेछ । किनकि ताली बज्न पनि दुई हात चाहिने रहेछ भन्ने कुरा त्यतिबेला अनुभूति हुँदोरहेछ ।
भिन्नरुचिर्हः लोकाः भने झैँ लोकमा मान्छेका भिन्न भिन्न रुचि र सोचाइ हुन्छन् । त्यो नै विविधताको सौन्दर्य पनि हो। मान्छेका सोच, शैली र व्यवहार फरक-फरक हुन्छन् । अझ दम्भ, अहङ्कार र अपनत्वले भरिएको मान्छेलाई समभाव, सहृदयता र स्नेहपूर्ण व्यवहार गर्नु अत्यन्त घातक हुँदो रहेछ । आफ्नो इन्धन जलाएर उसलाई उज्यालो देखाउँछु भन्नु त उसलाई मेरो खोट देखाउँन यसले बत्ती बालेको छ भन्ने अनुभूति हुँदोरहेछ । उसले त्यो उज्यालोमा सुन्दर भविष्यको कामना भन्दा मेरा गोप्यता र मेरा निजत्व माथिको आक्रमण हो भन्ने सम्झिदो रहेछ । मान्छे संसारमा दुःखी र सुखी कसैलाई केही गरूँ र उसलाई पनि खुसी पारूँ , आफू पनि खुसी बनूँ भनेर सोही अनुकूलको व्यवहार गर्नु बेकार रहेछ । त्यही भएर तत्त्व ज्ञानीहरू ‘अहं ब्रह्मस्मि’ बनेर आँखा चिम्लदा रहेछन् । चर्मचक्षु अगाडि देखिने सब चीजलाई बेवास्ता गर्दा रहेछन् । त्यसो गर्न नसकेर कोही दुर्वचन र दुर्व्यवहारको रागबाट सुन्दर र सुमधुर वाणी र व्यवहार प्रष्फुटन हुन्छ भन्नु कागले कुनै दिन सुमधुर वाणी निकाल्छ भनेर कोइली बसिरहनु तुल्य रहेछ । विधाताले सबलाई फरक फरक रङ्ग, रस र गुण दिएका छन् । त्यो नै प्रकृतिको सुन्दर नियम हो । यद्यपि त्यसको विपरीत जानसक्ने भनेको मान्छेमात्र हो । त्यो मान्छे पनि साँच्चिकै मान्छे होस् – बुद्धि, विकेक, माया करुणा, सहृदयता र सहानुभूतिशीलताले ओतप्रोत भएको होस् । त्योभन्दा पनि माथि कृतज्ञता होस् । तर कृतघ्नताले भरिएको मान्छे धर्ति छाडेर आकाशमा उड्दोरहेछ- हावाले भरिएको बेलुनजस्तै । उसलाई दम्भ हुँदोरहेछ म आकाशमा पुगेँ अरु सबै तल धर्ति मै छन् । ‘म’, ‘म’ र ‘म’ को मपाइत्वले मलजल गरेपछि ‘म’ निकै मौलाउँदो रहेछ । जसले वरिपरि ‘म’ बाहेक केही पनि देख्दो रहेनछ। यदि देखिहाले पनि ‘तँ’ मात्र देख्दोरहेछ, अझ त्यो तँ पनि ‘निरिह तँ’। जब उसले आफू रस र रागले युक्त सुगन्धित फूल ‘म’ र बाँकी त्यही फूलमा झुम्मिने फगत भमरा देख्दो रहेछ । उसलाई फूलको क्षणभङ्गुरता र सुन्दरताको एक निमेष अनुभूति पनि हुँदोरहेनछ । किनकि ऊ त कृत्रिम प्लाष्टिको फूल हो। जसले साँच्चिकै फूलमा जस्तै आफूमा पनि भमरा आकर्षित भएको फगत अनुभूति गर्दोरहेछ । उसले सुगन्धित फूलको डाह गर्दो रहेछ। मौका पायो भने हात्तीले कमलको फूलको डाँठ निमोठेजस्तो गरी निमोठ्न मुर्मुरिदो रहेछ ।
आफूलाई फूल जस्तै सुन्दर र बलुनजस्तै ऊर्ध्वारोही ठानेर अहङ्कारको च्यादर ओडेर दिउँसै सुतेको त्यो भयानक ‘महामानव’ जब एकदिन दिवास्प्नामा कुनै छेस्कोले छ्यास छुन्छ र फुस्स हावा खुस्किन्छ तब त्यो बलुनको दम्भ सकिन्छ तब उसले आफूलाई हेर्छ र सोच्न थाल्छ अनि भन्छ यति सुन्दर फूल ममा किन भमरा झुम्मिएनन् ? सारा सृष्टिका सब थोक ममा हुँदा पनि मैले किन वाहवाही पाइनँ ? अनि आफुले आफेलाई सुँघ्न थाल्छ, बुझ्न थाल्छ अनि क्रमशः आफूलाई कृत्रिम दम्भ र अहङ्कारको प्लाष्टिको फूल भएको थाहा पाउँछ । अनि बल्ल उसले ‘म’ बाट मेरा र मेरा लागि सोच्नेहरूलाई खोज्न थाल्छ तर समय धेरै घर्किसकेको हुन्छ । घाम डुबिसकेको हुन्छ । तारा टिल्पिलाइसकेका हुन्छन् । मपाइत्वको ‘म’ खुइलिसकेको हुन्छ ।
त्यसैले दुःखी हुनु र खुसी हुनुमा पनि सहानुभूतिशीलता र सहृदयसंवेदनशीलता भएका व्यक्तिहरूको गुण हो, महानता हो । भलै कुनै मपाइत्वको नजरमा निरिहता किन नकहलओस् । दुःखी हुँदा र खुसी हुँदाको फरक-फरक अनुभूति पनि त्यसलाई मात्र हुन्छ जो हृदयले बाँचेको हुन्छ न कि फोस्रो दम्भ र अहङ्कारको मपाइँत्वले।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।