आज एकजना उपबुज्रुक भेटिए । उनले प्याच्च भने, “कता नाचिएको छ फिरफिरेजी ?”

उनी प्रायः यसरी नै प्याच्च बोल्छन् र प्रतिक्रिया नआउँदै स्वाट्ट भागिहाल्छन् । आलोचना गर्नु उनको सबैभन्दा प्रिय विधा हो तर आलोचना सुन्दा हिसाब गर्दा पिसाब आएजस्तै हुन्छ उनलाई । उनका शब्दकोशमा ‘सुन्नु’ शब्द छैन । यसको मतलब उनी वर्तमानका सामान्यतः असलै मान्छे हुन् !

उनको भगाइमा पनि एक तमासको मनोविज्ञान छताछुल्ल भएको देख्न सकिन्छ । उनी अनाहकमा कसैको हृदय हल्लाएर भाग्छन् । सायद उनलाई मज्जा आउँछ होला तर जसले सुन्नुपर्छ त्यसलाई भने मन्दविष झैँ लामो समयसम्म असर गरिरहन्छ । पेसाले उनी प्राध्यापक हुन् तर उनमा प्राध्यापकको कम र प्रापकको ज्यादा विशेषता पाइन्छ ।

मेरो प्रतिक्रिया नपर्खीकन नै उनले सुइँकुच्चा ठोकिहाले । उनी त गए तर उनले छोडेका शब्दले मेरा मनमस्तिष्कमा सन्देहको सुनामी चलाए ।

नाच्नु सामान्य कुरा हो । यत्तिकै हल्लिँदै हिँड्दा पनि कसैले नाचेको सम्झिन्छ भने त्यसमा मेरो के दोष ? तर उनले असाध्यै जोड दिएर ‘फिरफिरे’ शब्दको प्रयोग गरे । कहिल्यै कसैको सम्मान गर्न नजानेका यी उपबुज्रुकले मेरा नामका पछाडि ‘जी’ लगाएर मेरा अभिमानको गला निमोठिदिए ।

फिरफिरे शब्दसँग मेरो बाल्यकालदेखिको साइनो छ । अझैसम्म मसँग फिरफिरेका असाध्यै मार्मिक संवेदना र अनुभूतिहरू छन् । बाल्यकालमा कहिलेकाहिँ बाँसका सुत्ला काटेर मधेसे सिउँडीको काँढा बिचमा घोची फिरफिरे बनाउँथेँ मैले । अनि आफ्नो बोइलर हुन नसकेको ज्यानले हावाको गजबार भाँच्दै दुवै हातमा आफैँले बनाएको फिरफिरे नचाउँदै दौडिन्थेँ । मान्छेहरू, दौँतरीहरू भन्थे, ‘यल्ले बना’को फिरफिरे त निकै राम्रोसँ नाच्च ।’ मेरा आँखामुनि टाँसिएको नाक मात्र होइन, ढिकुरे छाती पनि पुलकित हुन्थ्यो । एकछिन पुनः त्यसैका ऊर्जामा हुर्रिन्थ्यो बेतोडसँग । त्यही ऊर्जाले पुर्जा ढिला गरिसकेपछि मेरो ज्यान जमिनमा गएर तोरीफुला देखिने गरी पछारिन्थ्यो । ज्यानको माटो टक्टक्याउन नभ्याउँदै चुत्राको झ्याङबाट अघि नै दुवै फिरफिरेले मलाई नै खुच्चिङ गरिसकेका हुन्थे ।

डा. बालाकृष्ण अधिकारी

दुईचार वर्ष बुढो भइयो । अब बाँसका सुत्लाको होइन, कागजको, विभिन्न रङ्ग मिसिएको आकर्षक फिरफिरे बनाउन जान्ने भइयो । उस्तै सिप, उस्तै कला, उस्तै गति र उस्तै ऊर्जाका साथ त्यसलाई नचाइन्थ्यो । उस्तै प्रशंसाले पुलकित पार्थ्यो र उसरी नै तोरीफुला देखिने गरी भुइँमा गएर म्वाइँ खाइन्थ्यो । धत्तेरी ! तैपनि फिरफिरे बनाउन र नचाउन चाहिँ छाडिएन ।

सात कक्षामा पूर्वव्यावसायिक शिक्षा पढाउने गुरुले सिकाउनुभएको यो कागजे फिरफिरेकला दश कक्षासम्म पनि ज्युँका त्युँ तरोतगडा भएर जागृत भइरह्यो । टेस्ट परीक्षाको तयारीमा नलागी एकदिन त्यही तरोतगडा सिपको उच्चतम प्रयोग गर्दै उस्तै गति र ऊर्जा लिएर हुइँकिँदै थिएँ, शारीरिक शिक्षा पढाउने गुरुका हातको पाँचबित्ते बेतको लौरी ढाडमा बज्रियो । ओहो, कस्तो तोरीफुला देखेको त्यतिबेला !

जबजब म फिरफिरेसँग ऊर्जावान् र गतिवान् हुन्छु तबतब यो तोरीफुला मेरो उमङ्गमा छिर्के हान्न आइहाल्छ । शारीरिक शिक्षा पढाउने गुरुको बेतको लट्ठीले मेरो फिरफिरे कला र त्यसलाई नचाउने ऊर्जाका सबै पुर्जा ढिला गरिदिए । जुन दिन मलाई यो फिरफिरे र तोरीफुलाका बिचमा निकै घनिष्ट साइनो भएको बोध भयो, ठिक त्यसै दिनदेखि लागु हुने गरी मैले मेरा दिलदिमाखबाट फिरफिरे भन्ने चिजै हटाइदिएँ ।

उति पुरानो यो फिरफिरे साइनो आज यी उपबुज्रुकले अकस्मात् ‘प्याच’ गरिदिए । यहाँ फिरफिरे नचाएको र बनाएको नभएर आफैँ फिरफिरे बनेको कुराले पो मलाई हैरान बनायो ! डाक्टरलाई देखाऊँ कि वैद्यलाई देखाऊँ वा झाँक्रीकोमा जोखाना हेराऊँ, के गरूँ के गरूँ भयो । फेरि फिरफिरे बनाउने झन्झट भने गरिएन । एकपटक मस्तिष्कका तन्तु र मनोग्रन्थिले पूरै जोड लगाएर फिरफिरे बनाउनु-नचाउनु र फिरफिरे हुनुका बिचको अन्तर्य खोतल्न मन लाग्यो । एक झमट लाग्न पनि थाल्यो, ‘जाऊँ कि क्या हो बुढाकोमा साष्टाङ्ग दण्डवत् गर्न !’

वास्तवमा मलाई ती उपबुज्रुकसँग कुरा गर्न त्यति मन पनि लाग्दैन । मन न हो, लाग्नु र नलाग्नुसँग मेरो कुनै व्यक्तिगत रूचि र अधीनस्थता छैन । आफूलाई मन नपर्ने मान्छेसँग वा यसो भनौँ आफूलाई साष्टाङ्ग दण्डवत् नगर्ने मानिससँग शब्दैपिच्छे व्यङ्ग्य र हेयका व्यञ्जना घुसाएर अपमान गर्न तिनलाई हज्जार जिब्रा भएका शेषनागले पनि भेट्तैनन् । तिनीसँग गएपछि एकसरो नमस्ते गरेर पुग्दैन । पाँचपटक ‘नमस्ते’ भन्दा पुलुक्क हेर्छन् र नौपटक नमस्ते गर्दा बल्ल टाउको हल्लाएर बुद्धको पोज दिन्छन् ।

आऽ ! कति नमस्ते गर्ने ? एक दिन उनलाई जम्मा दुईचोटि मात्र नमस्ते गरेँ । बुढाले हेरेनन् । नहेरेपछि मलाई देखेकै छैनन् होला भन्ठानेर मैले अरू पटक नमस्ते गर्ने लठारो गरिनँ । भोलिपल्टै जोडतोडले पिटिएको बजारहल्ला सुनेँ, ‘त्यो बडो ठुलो भएको छ, कहाँ गएर तोरीफुला देख्छ !’

साँच्चै तोरीफुला देखेँ । जानाजान बुढालाई किन चिढाउने ? पञ्चायतदेखि बहुदल, राजाको प्रत्यक्ष शासनकाल, गणतन्त्रकाल, काँग्रेसको सरकार, माओवादीको सरकार, एमालेको सरकार; जतिबेला पनि उनका शक्तिको महिमागान भइरहन्छ । उनको व्यक्तित्व नै खतरनाक छ । यस्ताउस्ता विद्यावारिधिलाई उनी गन्दै गन्दैनन् । उनका अघिल्तिर मै हुँ भन्ने मन्त्रीको पनि केही लाग्दैन । ठुला पदमा भएका मान्छेसँग ‘निहुरीमुन्टे न’ हुँदै चाप्लुसी बजाउन उनी माहिर छन् । साना मान्छे जोसँग उनी आफ्नो स्वार्थपूर्ति हुने देख्दैनन्, त्यस्तालाई पातालमा पुग्ने गरी पेल्नका लागि उनी न्वारनदेखिको बल लगाउन पनि पछि पर्दैनन् । मलाई पनि यताउतिहुँदो पेलिदिए वा पेल्न लगाइदिए भने म नाथेको त जिन्दगी नै स्वाहा हुने भयो !

सोच्दासोच्दै सास बढेर आयो । भनन्न रिँगटा चलेर लडुँला झैँ हुन थाल्यो । आफू उभिएको जमिन भासिँदै गएको पो हो कि झैँ लाग्यो । मेरी आम्मै, बित्यासै परेछ नि ! रातभरि निद्रा परेन । भोलिपल्ट कागले … नखाँदै बुढाका ‘छाप्रा’ मा गएर साष्टाङ्ग दण्डवत् चढाएँ । साउँब्याज असुल हुने गरी अठारचोटि नमस्ते टक्र्‍याएँ । बाह्र चोटिसम्म सुनेनन् वा नसुने झैँ गरे । पन्धौँचोटिमा यस्सो पुलुक्क हेरे । अठारौँपटक पुग्दा बुढाले बुद्धको पोज दिए र टाउको हल्लाए । म धन्य भएँ । जीवनमा गरेको यो महाअपराधको बोझबाट अल्लि हलुको अनुभव भयो ।

बुद्ध फिरफिरे थिए कि थिएनन् वा उनलाई कसैले फिरफिरे भने कि भनेनन् मलाई थाहा छैन । अनि बाल्यकालमा मैलेजस्तै फिरफिरे बनाएर नचाउने क्रममा तोरीफुला देखे कि देखेनन् त्यो पनि थाहा छैन । तर यशोधरालाई फिरफिरे भएर नाच्न बाध्य पारे र राहुललाई तोरीफुला देख्न बाध्य पारे, यतिचाहिँ थाहा नभए पनि अनुमानका आधारमा भन्न सक्छु । समग्र मानव हितका लागि जाबो आफ्नी श्रीमती र छोरालाई फिरफिरे बनाउनु र तोरीफुला देखाउनु उनका लागि नगण्य भयो । अचेल त्यस्ता मान्छे खोजेर कहाँ पाउनू ? उनले यशोधरा त्यागिदिए । अचेलका नवबुद्धहरूलाई भने एउटी मात्र यशोधराले पुग्दैन । न त आजका नवयशोधराहरूलाई एउटै बुद्धले पुग्छ । आजका नवबुद्धहरू प्रत्येक चौतारीमा यशोधराहरू नवयौवना भएर पर्खिरहून् भन्ने चाहन्छन् र आजका नवयशोधराहरू प्रत्येक चोकमा बुद्धहरू ह्यान्डसम मोटरसाइकल लिएर पर्खिरहून् र त्यसका बुइमाथि चढाएर निर्जन कुनामा लगी आफूसँगै तपस्यामा लीन होऊन् भन्ने चाहन्छन् । आजभोलिका बुद्धले यशोधरालाई र यशोधराले बुद्धलाई फिरफिरे सम्झिन्छन् र नचाइरहन्छन् यताउता अनि दुईतीन महिना नपुग्दै दुवैले तोरीफुला देख्छन् । त्यसपछि नवबुद्धको ऊर्जा पनि खतम, नवयशोधराको पुर्जा पनि खतम र फिरफिरे बन्ने-बनाउने खेल पनि खतम । तर पनि समाजमा संस्कृतिको बिँडो थाम्ने अत्यन्त कुशल नयाँ पिँढीको विकास भने भइसकेको हुन्छ नै ।

तब बुढाले अभेद रूपकको प्रयोग गरी मलाई किन ‘फिरफिरेजी’ भने त ! उनका शब्दको सोझो अर्थ बुझ्नु भनेको सिसाको ढोका नखोलीकन भित्र छिर्नुजस्तै हो, पानी निचोरेर लड्डु बनाउनुजस्तै हो । म कसरी फिरफिरे भएँ त भन्ने कुरा टाउको जति नै फुट्ने गरी सोच्दा पनि टुङ्गो लाग्न सकेन । अनि पराजित बोद्धाजस्तै भएर बन्द गरिदिएँ शब्दकोश र व्याकरणका ठेलीहरू, शास्त्र अनि सिद्धान्तका नालीबेलीहरू ।

चकमन्न रातमा चन्द्रमालाई साँची राखेर, टन्टलापुर घाममा सूर्यलाई चिनो राखेर आफूसम्मको त्रिकोणात्मक रेखा खिचेँ । अनि देखेँ, मेरो देश त्रिभुजाकार चन्द्रसूर्य अङ्कित झण्डाभित्रै निस्सासिइरहेको । मेरो स्वाधीनता नुन र सुनमा साटिइसकेको । मेरो आस्थाको सगरमाथा खाडीमा भेँडा चराइरहेको । मेरा रक्तकोशिकाजस्तै कोसी, गण्डकी एवम् कर्णालीले जवानीको चिनोका रूपमा एड्स पहाड र हिमालसम्मै बोकेर आइसकेको । धर्मनिरपेक्ष देशका राष्ट्रपति क्षमापूजा गर्दै हिँडेको । देशका प्रधानमन्त्रीहरू स्वास्थ्य उपचार र उखानटुक्काले नै देश चलाउन कम्मर कसेको । देशका मन्त्री कहिले हिलो दल्न, कहिले अख्तियार छल्न र कहिले आफ्नै बच्चाबच्चीमा विद्वत्ता मौलाएको देखेर विदेशमा देशको प्रतिनिधित्व गराउने कागजपत्र मिलाउन तँछाडमछाड गरेको । अनि मजस्तै पौने तीन करोड जनता रित्ता सिलिन्डर र चिसा चुह्लाहरूले थिचिइरहेको । मेरो देशको झण्डा च्यातेर लगौँटी बनाउन खोज्ने केही भूतहरू एकापसमा को ठुलो हुने भन्दै झगडा गरिरहेको । नजरबन्दमा राखेर आफ्नै आमालाई श्राद्धमा खिर खुवाउने सपना बाँड्ने पाखण्डी छोराछोरीहरू, देशलाई बन्दक बनाएर अधिकार खोज्ने र खसोखास भूमिपुत्र हुँ भन्ने पाखण्डी नेताहरूले नाटक मञ्चन गरिरहेको । मानवता ढलेको भुइँबाट पुलुक्क हेरेँ, वर्गीय मोह र मुक्तिका सपनाहरू निस्सासिइरहेको कुइनेटाबाट खुसुक्क चिहाएँ— भोको, लखतरान, बेरोजगार तथा विवश एक्काइसौँ शताब्दीको निरीह नेपाली शरीर अनि चुत्राको झ्याङबाट मेरो देशका शासकको अकर्मण्यता र निरीहतामा खुच्चिङ मारिरहेको पराधीन फिरफिरे ।

उपबुज्रुक महोदय ! खै, फिरफिरे हुन सकेँ कि सकिनँ ? बरु यस्सो कुनै दूतावासबाट तलब मिल्ने भए कुरा अगाडि बढाइदिनु होला । यहीँबाट अनुरोध टक्र्‍याउँछु ।

(लेखक त्रिभुवन विश्वविद्यालय, केन्द्रीय विभागमा प्राध्यापनरत हुनुहुन्छ ।)