
आदरणीय दाइ गगन, परदेशीको मिठो सम्झना अनि न्यानो अभिवादन । साथै हालसालै यहाँको पार्टीमा भएको १४औं महाधिवेशनमा भारी मत ल्याएर महामन्त्री पदमा विजयी हुनुभएको उपलक्ष्यमा हार्दिक बधाई एवं आगामी कार्यकाल सफल रहोस् भनी धेरै-धेरै शुभकामना व्यक्त गर्दछु ।
दाइ, यो खुल्ला पत्र लेख्न जरुरी थियो वा थिएन या मैले सही गरेँ अथवा गलत यसबारेमा म अन्जान छु । कहीँकतै यो खुल्ला पत्रले तपाईँको निजी जिन्दगीमा केही अफ्ट्यारो हुन पुगेमा मलाई माफ गरिदिनुहोला । दाइ सम्बोधन गरेर पुकारी तपाईँलाई । रगतको साइनोदेखि कोसौँ टाढाको भए पनि नेपालको नेपाली भएको हैसियतले दाज्यू सम्बोधन गरेर बोल्ने हक निर्धारण गरेँ मैले । हुन त हाम्रो देशको गजबकै राजनीतिमा ८० वर्षको हजुरबाले ७० वर्षको व्यक्तिलाई बा भनेर बोलाको कुरा थाहा नपाएको चाहिँ होइन मैले । अझ तपाईँको पार्टीमा त दाइ भन्ने शब्द झनै लोकप्रिय छ क्यारे । त्यही परम्परालाई निरन्तरता दिनकै लागि नै भनौँ, तपाईँको जस्तो लोकप्रिय चर्चित युवा नेतालाई दाइ भनेर सम्बोधन गर्ने दुस्साहस गरेको ।
दाइ, म तपाईँको पार्टीमा निहित ७-८ लाख क्रियाशील सदस्यमा पक्कै पर्दिनँ । न त कुनै आदिवासी, पुरावासी, जनजाति, वर्गीकृत, सीमान्तकृत वर्गको प्रतिनिधित्व गर्ने पात्रमा पर्छु । गर्व साथ भन्छु गुन्द्रुक-ढिँडो खाएर पाखादेखि पखेरीसम्म बोलीविहीनको पाठा र बाछासँग जीवनको बालापन बालसखीसँग मज्जाले बिताएको झर्रो नेपाल आमाको पुत्र हुँ । त्यसैले दाइ तपाईँ एक अमुक वर्गको मात्रै होइन समग्र देशको लोकप्रिय नेता भएकाले हो तपाईँको नाउँमा लेख्दै छु खुल्ला पत्र निःस्वार्थी मनले ।
समयको साथ लागेर परिवेशले छुट्याएको आफ्नो कर्ममा परेका भागहरूलाई जतनले समाल्दै-समाल्दै जिउँदै गर्दा जीवन गुजारा चलाउन आधारभूत जरुरत पूरा गर्न प्यासीलाई पानी, रोगीलाई ओखती भनेजस्तै । म बेरोजगारी ठिटोलाई रोजगार भन्ने कुरा अपरिहार्य रहेछ । भन्ने कुराको भरपुर जानकार भएपछि रोजगारको खोजी कार्य जारी हुन थाल्यो मेरो जीवनमा । दाज्यू मनको आंशिक आकाङ्क्षालाई विवशताको कसिलो घैँलामा बन्द गर्दै, सीमित पहुँचवालाको भागमा मात्रै पर्ने स्वदेशी रोजगार मेरो भागमा परिनँ । नपर्नु ठुलो कुरा थिएन । म दूरदराजको मान्छेले भाग्य नै फाटेको सम्झेर बुझाएँ आफ्नो अबुझ मनलाई । चिल्ला कालापत्रे सडकमा चिटिक्कको गाडी चढेर हिँड्ने मान्छेको व्यापार गर्ने मान्छेको कमी छैन हाम्रो देशमा । तिनै चिप्ला कुरा गर्ने दलबहादुर महोदयहरूको उडन्ते कुरामा चुर्लुम्म डुबेर बाउबाजेको निशानी सिम दर्जामा परेको एकै हलको जमिन गाउँकै ठालुकोमा बन्धकी राखेर वैदेशिक रोजगारका लागि लागियो दाज्यू हजारौँ माइल टाढाको देशमा ।

सुशील लामा
दाज्यू, तपाईँको नाममा यो खुल्ला पत्र लेख्नुको कारण यो हो कि तपाईँको व्यक्तित्व तपाईँको बोली अनि तपाईँले भन्नुभएको निश्चित समयावधिपछि सक्रिय राजनीतिबाट विश्राम लिने । ब्रह्मनालमा पुगुन्जेलसम्म राजनीति गर्ने मान्छेहरूका निम्ति दिएको चुनौती नै भन्छु म साह्रै मन छोएको छ तपाईँको कुराले । छ नि दाज्यू साँच्चै भन्दै छु । मलाई न वीपीको समाजवाद के हो भनेर थाहा छ, न मदनको बहुदलीय जनवादबारे जानकारी छ । अझ भन्नुपर्दा तपाईँले गर्दै आएको तपाईँको पार्टीको राजनीतिबारे त कागलाई वेल पाक्यो हर्ष न विस्मात भनेजस्तै हो म बबुरो भुईँ मान्छेका लागि तर किन किन तपाईँले बोल्दै गरेका कुराहरू सुनिरहँदा लाग्छ तपाईँ हाम्रो आशाको किरण हो । हाम्रो आशामा निराशाको झट्टी नफालिदिनुहोला ।
दाज्यू, उता गाउँको गाउँले दलहरूको अझ अलि ठुलो दलेहरूको अनगिन्ती आश्वासनको फूलबुट्टे कुरामा फस्दै लुट्दै । आज पराई भूमिको अपरिचित हप्काइ सहेर नाप्दै छु दूरी जिन्दगीको । सस्तो श्रमबजारमा कबाडीको भाउमा लिलाम हुँदै छ थुप्रै जिन्दगीको महत्त्वपूर्ण समयहरू । छैन रहर अरूको भूमि नेपाली पसिनाले सिञ्चित गर्ने । विवशताको आँसु पिउँदै मध्यपूर्वी अरबको रातो बलौटे मरुभूमिदेखि युरोपको गाह्रो-साह्रो कर्ममा नेपाली सपुतले लेख्दै छ पीडादेखि पीडासम्मको जीवनकथा ।
दाज्यू गगन, मेरो अनि हामीजस्ता थुप्रै युवाको आग्रह यो छ कि केही गर्छु भनेर राजनीति मैदानमा उत्रेको तपाईँ आफ्नो पार्टीभन्दा माथि उठेर सिङ्गो नेपाल अनि नेपालीको दुःखसुखको सारथि बन्नू । लेखिनेछ तपाईँको नाम स्वर्णिम अक्षरले इतिहासको पानामा । हुन त हाम्रो देशको राजनीतिको अग्निपरीक्षा हुने चुनाव ताका मिश्र दाज्यूले भनेजस्तै मेनु पल्टाउँछ पल्टाउँछ लास्टमा मम र चाउमिन झ्यापै रोज्छन् नेपालीले तर अब त त्यसो नहोला अतिभन्दा अति भइसकेछ दाज्यू देशको हविगत । जन्मिनेबित्तिकै हजारौँको ऋण बोकेर जन्मनुपरेको छ नेपालीले । दाज्यू आशा गरेको छु तपाईँबाट ।
दाज्यू, बडो कठिन छ प्रवासी जिन्दगी । हो दाज्यू सम्बन्धहरूलाई म्यासेन्जरको भिडियो कलहरुमा सीमित राख्दा थुप्रै जिन्दगीको कथा अधुरो भएको छ । अरूभन्दा पनि आफन्त सदाका लागि गुमाउँदै गर्दा घुरमैलो फोटो सामाजिक सञ्जालमा अपलोड गरी रिप लेखेर चित्त बुझाउनुपर्दा मन च्यात्तेर आउँछ । कथाहरू धेरै छ दाज्यू परदेशीको । विनाकसुर जेलजीवन बिताइरहेको निर्दोष मनहरूलाई तपाईँ के भन्नुहुन्छ ? साउदीको बालुवाघारीमा उँट र भेडा चराउँदै जीवन बिताउँदै गरेको नेपाली युवाको उद्दार गर्ने बेला भयो है दाज्यू । मलेसियाको जङ्गलमा रबरको रुखबाट झर्दै गरेको चोपको थोपासँगै आँसु मिस्सिएर लेख्न खोज्दा खोज्दै गरेको नेपाली जीवनकथा अधुरो छोडेर जाँदा जिउँदै फर्कदा लास बनेर आएको मान्छेको कथाले दुख्दैन दाज्यू तपाईँको मन ?
दाज्यू, मैले सुरुमै अनुमति लिएर भनिसकेको छु । गल्ती भएमा माफ गर्नू भनेर । लाग्छ गल्ती नै त भएको छैन होला सायद । कत्रा-कत्रा गल्ती गर्नेहरू त छाती चौडा गरेर नयाँ सडकमा नयाँ-नयाँ ब्रान्डेड गाडी चढेर हिँडेको देखेकै हो मैले । त्यसैले दाज्यू परदेश साह्रै अप्ठ्यारो छ । अपवादमा परेको केही होलान् खुसीयाली जिन्दगी । शतप्रतिशत जिन्दगी आफ्नो घरबार बेचेर अथवा धितो राखेर लगानी गरेको खुदको पैसाले खुदलाई नै बाँधो बनाइराखेको छ । संसारमा नै कहलिएको हामी वीर नेपालीको सगरमाथाझैँ उच्च स्वाभिमानको परीक्षा परदेशको अध्यागमनमा हरियो पासपोर्ट उनका हातमा परेपछि परिवर्तन हुने तिनका मुखाकृतिले मुटुमा ४ इन्च लामो धारिलो छुरा प्रहार गरेजस्तै हुँदो रहेछ ।
दाज्यू, मनको बह पोखाइ अन्यथा नसम्झनुहोला है साथै तपाईँका हरेक पाइला-पाइलामा सफताले साथ दिऊन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

